(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
बुटवलको जेसिस चोकमा अटोरिक्साको स्टेयरिङ समातेर उनी यात्रु पर्खिरहेकी थिइन्। मलाई नजिक आएको देखेर सोधिन्, 'अटो चाहिएको हो?'
मलाई उनको अटो होइन, उनको कुरा चाहिएको थियो।
मैले आफ्नो परिचय दिँदै भनेँ, 'अटो चाहिएको होइन, तपाईंसँग कुरा गर्न खोजेको।'
उनी आफ्नो कुराकानी प्रकाशन हुन्छ भनेपछि अलि हच्किइन् र भनिन्, 'मलाई त केही कुरै गर्न आउँदैन, नाइँ मलाई केही नसोध्नुस्।'
मैले जीवनका उतारचढाव र सुखदुःखका कुरा गर्ने भनेपछि बल्ल उनी राजी भइन्।
पाल्पाको माडी घर भएकी उनी २० वर्षदेखि बुटवलमै बस्दै आएकी रहिछन्।
नाम — शोभा थापा
उमेर — ४० वर्ष
हाम्रो कुराकानी यसरी अगाडि बढ्यो —
यो अटो तपाईंको आफ्नै हो?
आफ्नै हो। पाँच वर्ष पहिले किनेको।
कतिमा किन्नुभएको थियो? लगानी उठाउनुभयो?
चार लाख रूपैयाँमा किनेको। लगानी त दुई वर्षमै उठिसक्यो।
कत्तिको चलेको छ नि?
अहिले त पहिलेजस्तो राम्रो छैन। बजारमै चहलपहल नभएपछि अटो चढ्ने यात्रु कहाँबाट पाउनु! सबै क्षेत्र चलायमान हुनलाई त पहिले बजार चलायमान हुनुपर्यो नि!
अटो चलाउनुभन्दा पहिले के गर्नुहुन्थ्यो?
म कामका लागि कुवेत गएकी थिएँ। तीन वर्ष कुवेतमा बसेर फर्किएपछि अटो चलाउन थालेको।
पहिले त अटो चलाउने महिलाहरू धेरै थिएनन्, कसरी हिम्मत जुट्यो?
मलाई महिलाले यस्तो काम गर्न सक्दैनन्, उस्तो काम गर्न सक्दैनन् भन्ने नै लाग्दैन। मौका मिल्यो भने जस्तो पनि काम गर्न सकिन्छ। श्रीमानले चलाउने अटो बाहिर-भित्र सार्दा सार्दै मैले पनि चलाउन सिकेँ। सिकेपछि आफैंले किनेर चलाउन थालेँ। मैले चलाउन थाल्दा यहाँ चार-पाँच जना मात्रै महिला चालक हुनुहुन्थ्यो। अहिले ५०-६० जना महिला छौं। एक-दुई जनाले गर्दा अरूलाई पनि साहस जुटेको छ।
अटो चलाउनेबाहेक अरू के काम गर्दा रमाइलो लाग्छ?
बिहानैदेखि यही काममा व्यस्त हुन्छु। अरू काम गर्ने फुर्सद नै हुँदैन।
फुर्सद बेला के गरेर मनोरञ्जन लिनुहुन्छ?
फुर्सद भयो भने समाचार हेर्छु। दिनभरि कहाँ के घटना भयो, कुन नेताले के भन्यो भनेर साँझ घर गएपछि समाचार हेर्न मन लाग्छ। घरमा टिभी, मोबाइल दुइटैमा समाचार हेर्छु। मलाई टिभीमा नाटक, फिल्म केही हेर्न मन लाग्दैन।
सबभन्दा मनपर्ने खानेकुरा के हो?
माछामासु मनपर्छ। घरमै पकाएर खान्छौं। होटलमा गएर खाने फुर्सद पनि हुँदैन।
पछिल्लोपटक कहिले खानुभएको थियो?
एक-दुई दिनमा खाइरहन्छौं। धेरैजसो कुखुराको मासु खान्छौं। त्यसलाई धेरै दिन पर्खिनु पनि पर्दैन। हरियो तरकारी किन्ने पैसामा थोरै थप्यो भने कुखुराको मासु आइहाल्छ।
घरमा को को हुनुहुन्छ?
१६ वर्षकी छोरी छन्, ११ कक्षा पढ्छिन्। श्रीमान हुनुहुन्छ। उहाँ पनि अटो चलाउनु हुन्छ।
श्रीमान, श्रीमती दुवैले अटो चलाउँदा कसले धेरै कमाउनु हुन्छ?
कमाइ त मेरै धेरै हुन्छ। श्रीमानले दिनमा ५-६ सय कमाउनुहुन्छ। मेरो हजार, १५ सयसम्म हुन्छ। पहिले त मैले एक्लै २ हजार, २५ सयसम्म कमाउँथेँ।
श्रीमानको भन्दा तपाईंको पो धेरै आम्दानी हुने रहेछ त?
खोई, मेरो अटो धेरै चलेर होला नि! महिलाले चलाएको अटोमा बसिदिऊँ, दुई-चार रूपैयाँ भए पनि महिलाहरूले कमाऊन् भन्ने यात्रुहरू पनि भेटिनुहुन्छ। यात्रुहरूलाई महिलाले सुरक्षित रूपमा अटो चलाउँछन्, दुर्घटना गराउँदैनन् भन्ने पनि छ। त्यही भएर पनि मेरो अटो त्यति धेरै खाली बस्नुपर्दैन।
कमाएको पैसा के गर्नुहुन्छ?
अहिले त बैंकमा खाता खोलेर बचत गरेका छौं। दुवै जनाको बचत मेरो नाममा जम्मा गरेका छौं। श्रीमानको खाता अहिलेसम्म खोलेको छैन।
तपाईंको स्वास्थ्य कस्तो छ नि?
भगवानको कृपाले अहिलेसम्म ठिक छ। कहिलेकाहीँ ज्वरो आउने, रूघाखोकी लाग्ने त सामान्य नै भयो, तर ठूलो रोग लागेर कुनै औषधि खानुपरेको छैन। कहिल्यै खानु पनि नपरोस्।
राति कत्तिको निदाउनुहुन्छ?
निद्रा त राम्रै लाग्छ। साँझ १० बजेदेखि बिहान ६ बजेसम्म निदाउँछु। अहिलेसम्म निद्रा नलाग्ने, मनमा कुरा खेल्ने समस्या केही पनि भएको छैन।
ठिक्क पैसाको के किन्न मन छ?
कुनै पनि चिज खान र लाउन मन लाग्यो भने म तुरून्तै किनिहाल्छु। यस्तो किन्न पाए हुन्थ्यो भनेर मनमा राख्दिनँ। अस्ति जाडोमा लङकोट किन्न मन थियो, किनिहालेँ। अब गर्मी आउँदै छ, हिँड्दै जाँदा राम्रो चिज देखेँ भने किनिहाल्छु। यस्तो लाउन, खान मन छ भनेर मनमा साँचेर राख्दिनँ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
अटो किनेको दिन सबभन्दा धेरै खुसी लागेको थियो।
चित्त दुखेको क्षण नि?
त्यस्तो चित्त दुखेको क्षण त छैन। सधैं एकनास छ। तर देश छाडेर कुवेत उड्दा दुःख लागेको थियो। धेरै बस्न भने परेन।
घरपरिवारबाट कुनै चित्त दुखेको छैन?
छैन। सँगै बसेपछि अलि अलि ठाकठुक त भइहाल्छ। सामान्य ठाकठुकमा चित्त दुखाएर पनि भएन।
तपाईंको मनमा बसिरहेको, पिरोलिरहेको वा यस्तो भइदिए हुन्थ्यो भन्ने केही छ?
त्यति ठूलो पिर त केही छैन। छोरीलाई राम्रोसँग पढाउन पाए हुन्थ्यो, काम गरेर खान रोकिनु नपरे हुन्थ्यो भन्ने लाग्छ।
तपाईंलाई आफ्नो गाउँ-समाज कस्तो लाग्छ?
रमाइलो लाग्छ। तर आफू अटो लिएर हिँड्नुपर्छ।
राजनीति कस्तो लाग्छ?
राजनीति त ठिक लाग्दैन। राजनीति गर्छु भनेकाहरू कसैले देशमा केही गरेका छैनन्।
देशको नेतामा तपाईंलाई को मन पर्छ?
बालेन शाह र हर्क साम्पाङ मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
त्यति बेला त सबै माहोल राष्ट्रिय स्वतन्त्र पार्टीको थियो, उसैलाई दिइयो।
अहिले चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
अहिले चुनाव भए त कसलाई दिने खोई! नयाँहरूको पनि काम देख्न पाएको छैन। पुराना सबै उस्तै छन्। चुनाव भयो भने भनौंला।
***