(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वीरेन्द्रनगर नगरपालिका-४ का राजु सार्की जुत्ता सिलाउँछन्। सधैंजसो शान्त रहने धमला चोकमा बसेर उनी १० वर्षदेखि यही काम गरिरहेका छन्।
उनी बिहान १०-११ बजेबीच चोकमा आइपुग्छन्। सडक पेटीमा बसेर जुत्ता सिलाउने सामग्रीसहितको झोला खोल्छन्, धागो र सियो फिजाउँछन्।
उमेरले ४५ वर्ष पुगेका राजुले जीवनका १५ वर्ष भारतमा बिताए। २०५२ सालमा भारत जाँदा उनी १७ वर्षका थिए। नयाँदिल्लीमा बसेर उनले विभिन्न क्षेत्रमा मजदुरका रूपमा काम गरे।
कुराकानीको सुरूमा मैले सोधेको थिएँ, 'जुत्ता सिलाउन आउनेहरूले कस्तो व्यवहार गर्छन्?'
जबाफमा उनले भने, 'दस वर्ष भयो यही ठाउँमा बसेर काम गर्न थालेको, अहिलेसम्म कसैले हेपेर बोलेको थाहा छैन। सबैले दाइ वा भाइ भन्छन्। बालबालिका आए अंकल भन्छन्। कोही त आफ्नो जुत्ता सिलाएर सकिने बेलासम्म मिठा मिठा गफ गरेर समय बिताउन सजिलो बनाउँछन्।'
त्यसपछि हाम्रो कुराकानी यसरी अगाडि बढ्यो —
आम्दानी कस्तो छ?
दैनिक ५ सय रूपैयाँभन्दा बढी कमाइ हुन्छ। एक हजार भने कहिल्यै नाघेको छैन।
परिवारमा को को हुनुहुन्छ?
दुई छोरा, श्रीमती र म छौं।
यति आम्दानीले परिवारको खर्च चलाउन पुग्छ?
अहिलेसम्म पुगेको छ। आफ्नै घर छ, भाडा तिर्नुपर्दैन। खर्च पनि त्यति ठूलो छैन। भाग्यवश अहिलेसम्म ठूलै खर्च उठाउनुपर्ने समस्या पनि आइपरेको छैन।
छोराहरू पढ्दै हुनुहुन्छ?
जेठो छोराले भर्खरै नेपाली सेनामा जागिर खाएको छ। कान्छो छोरा ८ कक्षा पढ्दैछ।
मनोरञ्जनमा के गर्न मन पर्छ?
गीत सुन्न र नाच हेर्न मन पर्छ। आफूलाई गीत गाउन भने आउँदैन। कहिलेकाहीँ विवाहमा जाँदा गाएको र नाचेको हेरेर मनोरञ्जन लिन्छु।
खानेकुरामा के मन पर्छ?
मेरो धूमपान, मद्यपान गर्ने बानी छैन। आफ्नै भान्सामा दाल, भात, तरकारी, रोटी नै खान्छु। मलाई मासु मन पर्छ। तर म सातामा एक दिन शनिबार मात्रै मासु खान्छु। त्यही भएर मेरो शरीर फिट छ। कहिलेकाहीँ पाहुना आएको छ भने मात्र साताको अरू दिन मासु पाक्छ।
स्वास्थ्य कस्तो छ?
म भारतमा हुँदा खुट्टामा चोट लागेको थियो। त्यसले अहिले पनि कहिलेकाहीँ समस्या बल्झाइरहन्छ। केही दिनअघि एउटा मुढा उठाउँदा ढाडमा समस्या भएको थियो। बिस्तारै निको हुँदैछ।
राति राम्रोसँग निद्रा पर्छ?
राम्रोसँग पर्छ। बेलुकी समयमै सुत्छु। बिहान ५ बजे उठिहाल्छु।
काममा कति बेला आउनुहुन्छ?
बिहान १० वा ११ बजेतिर आइपुग्छु। बेलुकी काम धेरै भयो भने ७ बजेसम्म बस्छु। नत्र ४–५ बजे घर गइसक्छु।
धेरै पैसाको होइन, ठिक्क पैसाको केही कुरा किन्न पाए हुन्थ्यो भन्ने मनमा लागेको छ?
खानेकुरामा त्यस्तो विशेष केही लाग्दैन। लगाउने कुरामा भने कोट-पाइन्ट मन पर्छ। छोराहरूलाई थोरै महँगो पर्ने कोट-पाइन्ट सिलाएर दिन पाए हुन्थ्यो भन्ने लागेको छ। मलाई पनि कोट-पाइन्ट लगाउन मन छ। तर अहिलेसम्म किन्न सकेको छैन।
तपाईंलाई खुसी भएको समय वा घटना याद छ?
छोराहरूले भनेको मान्छन्। यसले नियमित खुसी बनाइहाल्छ। गएको माघमा एकदमै खुसी भएको थिएँ। त्यो बेला जेठो छोराले जागिर खाएको थियो। आमाबालाई हेरोस् कि नहेरोस्, मतलब भएन। सन्तान आफ्नो खुट्टामा उभिए यसै खुसी लाग्छ।
एकदमै दुःख लागेको वा मनमा पिरोलिरहेको केही कुरा छ?
त्यस्तो त अहिलेसम्म छैन।
मन पर्ने नेता को छ?
रवि लामिछाने र ज्ञानेन्द्र शाही मन पर्छ।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
एमालेलाई भोट दिएँ।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ?
रवि लामिछानेप्रति आशा छ। उम्मेदवार भए भने राष्ट्रिय स्वतन्त्र पार्टीलाई नै भोट दिन्छु होला।