(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनलाई मैले कपिलवस्तु र अर्घाखाँचीको सिमाना पत्थरकोट बजारमा भेटेकी थिएँ।
भर्खरै खेतको काम सकेर फर्किएका उनी घर अगाडिको सडकमा टहलिँदै थिए। खरानी रङको टिसर्टमाथि कालो इस्टकोट र कालो हाफ-पाइन्ट लगाएका उनी हेर्दै मेहनती देखिन्थे।
'नमस्ते दाइ, एकछिन कुरा गरौं है,' कहिल्यै नदेखेको मान्छेले एक्कासि कुरा गरौं भन्दा उनी यताउता हेर्दै अलमलमा परे।
मैले आफ्नो परिचय दिएँ र उनीसँग कुरा गर्न खोज्नुको कारण बताएँ।
सुरूमा 'मजस्तो किसानसँग के कुरा गर्नुहुन्छ' भन्दै तर्किएका उनी केही बेरमै राजी भए। सडकमा उभिएका हामीले बजारको चोकमै रहेको काठै काठको प्रतीक्षालयमा बसेर कुराकानी सुरू गर्यौं।
उनी हुन् — नेत्रप्रसाद भट्टराई
उमेर — ५९ वर्ष
घर — कपिलवस्तुको बुद्धभूमि-१, पत्थरकोट
तपाईं के पेसा गर्नुहुन्छ?
किसानको के पेसा हुनु, खेतीकिसानी गर्छु। दुई-तीनवटा भैंसी पनि छन्।
कस्तो चलिरहेको छ कृषि पेसा?
कृषि त खत्तम छ। अहिले सबभन्दा बढी मार खाने भनेकै किसान हो। समयमा मल, बीउ केही पाइँदैन। नगरपालिकामा जनप्रतिनिधि आएपछि कुलोहरू बनिरहेकाले यहाँ अहिलेसम्म सिँचाइको भने सुविधा पुगेको छ।
खेत कति छ, के खेती गर्नुहुन्छ?
खेत त १० कठ्ठा मात्रै छ। परम्परागत खेती हो। घरपरिवारलाई दाल, चामल, तरकारी किन्न पर्दैन।
खेतीकिसानी बाहेक अरू के गर्दा रमाइलो लाग्छ?
रमाइलो गर्ने शक्ति घट्यो, अब त समाजसेवा गर्ने हो। गाउँघरमा हुने पूजाआजा, विवाह-ब्रतबन्धमा सहभागी हुने; त्यसैमा रमाइलो लाग्छ। बूढापाकासँग कुराकानी गर्दा पनि रमाइलो लाग्छ।
सबभन्दा मन पर्ने खानेकुरा के हो नि?
पहिले त बजारको मिठाई धेरै मन पर्थ्यो, मिठो लाग्थ्यो। अहिले घरमै पकाएको परौठा सबभन्दा बढी मन पर्छ।
परौठा दिनदिनै खानुहुन्छ?
दिनदिनै त खाइँदैन। हप्ता-दस दिन बिराएर खाने गरिन्छ। खेतमा बेथेको साग पलाएको थियो। चार-पाँच दिनअघि त्यही साग उसिनेर परौठा बनाएर खाएको साह्रै मिठो लाग्यो। आलु, मुला राखेर पनि परौठा बनाइरहन्छु।
परौठा आफैं बनाउनुहुन्छ?
आफैं पनि बनाउँछु। श्रीमतीले पनि बनाउँछिन्। मलाई यो काम मैले गर्ने होइन भन्ने लाग्दैन।
घरमा को को हुनुहुन्छ?
हामी श्रीमान, श्रीमती र दुई छोरा छन्। दुइटी छोरी थिए, विवाह गरेर घर पठाइसकियो।
छोराहरू के गर्छन्, उनीहरूबाट कत्तिको सन्तुष्ट हुनुहुन्छ?
सन्तुष्ट छु। ठूलो छोराले मास्टर्स गरेको छ, जागिर पनि गरेको छ। कान्छोले ब्याचलर पढेको छ।
तपाईंको स्वास्थ्य कस्तो छ?
तीन-चार वर्ष पहिलेसम्म ठिकै थियो, अहिले त्यति राम्रो छैन। एक वर्षअघि अचानक छाती दुख्यो। काम गर्दा थकान महसुस हुन्थ्यो। अस्पताल गएर जचाउँदा डाक्टरले मुटुको समस्या छ भनेर औषधि दिएर पठाए। एक महिना खाएँ, त्यसपछि योगतिर लागेँ। ब्लडप्रेसर पनि बढेको थियो। औषधि चाहिँ खाएको छैन।
त्यसपछि फलोअपका लागि अस्पताल जानुभएन?
फलोअपका लागि गएको छैन। अहिले के छ भन्ने थाहा छैन। एक वर्ष भयो योग गर्न लागेको। त्यसले ठिक गर्यो कि भन्ने लागेको छ।
राति कत्तिको निदाउनुहुन्छ?
किन हो कुन्नि, आजभोलि अलि धेरै निद्रा लाग्छ। शरीरमा शक्ति हुँदा कम निद्रा लाग्थ्यो, शक्ति घट्दै गएपछि धेरै निद्रा लाग्ने रहेछ कि! ब्लडप्रेसर बढ्दा पनि धेरै निद्रा लाग्छ भन्ने सुनेको छु, त्यसैले हो कि! साँझ ९ बजेतिर सुतिसक्छु, बिहान ४-५ बजेतिर उठ्छु।
आँखा खुलेपछि उठिहाल्नुहुन्छ?
पाँच बजेतिर त उठ्छु। गोठ घरदेखि अलि पर छ। तीनटा भैंसी छन्। तिनलाई कुँडो पकाउने, खान दिने, गोबर सफा गर्ने, दूध दुहुने गर्दा बिहान बित्छ।
तपाईंका लागि सबभन्दा बढी खुसीको क्षण कहिले थियो?
म २०३६ सालमा काम खोज्दै भारतको राजस्थान गएको थिएँ। बिजुलीको तार उत्पादन गर्ने कम्पनीमा जागिर पाउँदा सबभन्दा धेरै खुसी लागेको थियो। २०५५ सालसम्म त्यही कम्पनीमा जागिर गरेँ।
सबभन्दा धेरै दुःखी भएको क्षण नि?
दुःखी बनाएको पनि त्यही जागिरले हो। राजस्थानमा पाएको जागिर २०५५ सालमा छुट्दा साह्रै चित्त दुखेको थियो। त्यतिको चित्त अहिलेसम्म अरूले दुखाएको छैन।
एउटा छुटेपछि अर्को जागिर खोज्नुभएन?
एक-दुई वर्ष केही पाइन्छ कि भनेर खोजेँ। भनेजस्तो नपाएपछि २०५७ सालमा आफ्नै देश फर्किएँ।
यहाँ आएर सुरूमा के गर्नुभयो?
२०५७ सालतिर पत्थरकोट आएर पिसिओ चलाएँ। पछि घरघरमा टेलिफोन र हातहातमा मोबाइल पुगेपछि पिसिओ चल्न छाड्यो। २०६७ सालदेखि पिसिओ बन्द गरेर खेतीकिसानी मात्रै गरेर खाएको छु।
तपाईंको मनमा केही पिर छ?
अरू धेरै ठूलो पिर त केही छैन। ठूलो रोगव्याधि लाग्छ कि भन्ने पिर छ। कोरोना पनि भएको थियो। सानोतिनो रोग त उपचार गर्न सकिएला, ठूलै रोग लाग्यो भने उपचार गर्न नसकी दुःख पाइने हो कि भन्ने पिर लाग्छ।
ठिक्क पैसाको तपाईंलाई के किन्न मन छ?
अहिले त यही किन्छु भन्ने त्यस्तो केही छैन। सबै चिज छ के किन्नु!
तपाईंलाई आफ्नो गाउँ-समाज कस्तो लाग्छ?
राम्रै लाग्छ। हुन त गाउँ-समाज आफैंले बनाउने हो। म २०६४ सालदेखि गाउँमा समाजसेवा पनि गर्दै आएको छु। राम्रो लाग्छ आफ्नो गाउँ-समाज।
राजनीतिप्रति कत्तिको चासो लाग्छ?
राजनीतिप्रति त त्यति चासो लाग्दैन।
मनै पर्दैन?
मन नपर्नेभन्दा पनि पार्नुपर्ने रहेछ, तर त्यस्तो चासो लाग्दैन। गरेर खानेहरूलाई कसले पो के गर्यो र! गरिखाने वर्गले राजनीति नगरे हुन्छ भन्ने लाग्छ, गरिखाने वर्गले गरेरै खाने हो। समाजका लागि राम्रो गरौं भन्ने लाग्छ। त्यसका लागि राजनीति गर्नु पर्दैन।
तपाईंलाई मन पर्ने नेता कोही छ?
मन पर्ने त्यस्तो नेता त कोही छैन। काठमाडौंका मेयर बालेन शाहको काम मन पर्छ।
गएको चुनावमा भोट कसलाई दिनुभएको थियो?
भोट त नेपाली कांग्रेसलाई दिएको थिएँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
त्यो त अहिले भन्न सकिँदैन। जनताका लागि गर्ने भन्ने कसैले पनि रहेनछ। आफ्नो परिवार, आफन्त, नातागोता, चेलाचपेटालाई भाग पुर्याउँदै ठिक्क छ। जनताले कसलाई भोट दिएर के भयो र! त्यसैले चुनाव हुँदासम्म के हुन्छ भन्न सकिन्न।