(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
भरतपुर महानगरपालिका- ११ स्थित गणेशधाममा साइक्लिङ प्रतियोगिता हुँदै थियो। उनी एउटा रूखको फेदमा टुक्रुक्क बसेर प्रतियोगिता हेर्दै थिए।
उनले सर्ट, पाइन्ट, स्वेटर र त्यसमाथि ज्याकेट लगाएका थिए। ढाकाको टोपी अनि ज्याकेटबाहिर रातो गलबन्दी भिरेका थिए। उनलाई मैले भरतपुरका सडकमा ठेलामा फलफूल व्यापार गरिरहेको धेरैचोटि देखेको थिएँ।
शनिबार भेट्दा उनको स्वेटरमा सूर्य चिह्नको लोगो थियो। उनी नेकपा एमालेका पुराना कार्यकर्ता मदन ठकुरी रहेछन्।
८३ वर्ष उमर पुगेका मदनले ठेला धकेलेर फलफूल बेच्न छाडेको सात महिना भएछ।
मैले उनीसँग कुराकानी सुरू गरेँ।
बुबा, तपाईं ठेलामा फलफूलको व्यापार गर्नुहुन्थ्यो होइन?
हो। सात महिनाजति भयो त्यो काम छाडेको। यी मेरा हात हेर्नुस् त, के भयो, के भयो भन्या। चिलाएर हैरान हुन्छु। यही समस्याले ठेलाको व्यापार छाडेँ।
अचेल के गर्नुहुन्छ त?
अचेल केही गर्दिनँ बाबु। यसै गाउँतिर घुम्ने, खाने, बस्ने हो।
घरमा को–को हुनुहुन्छ?
घर नै छैन मेरो त। सुकुम्बासी हुँ। वडा कार्यालयले एउटा कोठामा राखिदिएको छ। त्यहीँ बस्छु। म र श्रीमती मात्रै छौं। दुई छोरा थिए। सानैमा बिते।
काम पनि छाड्नुभएछ। खर्च कसरी चलेको छ त?
पेन्सन आउँछ। बूढाबूढीको गरेर तीन महिनामा २४ हजार रूपैयाँ। त्यसैले पुर्याउँछौं।
स्वेटरमा नेकपा एमालेको लोगो लगाउनुभएको रहेछ नि?
म त सधैंको एमाले हो नि त। अहिले पनि एमालेको मजदुर संगठनको सल्लाहकार छु।
अनि कसरी सुकुम्बासी बन्नुभयो त?
कथा सुन्ने फुर्सद छ भने ल सुन्नुस्। म बुझ्ने हुँदादेखि कम्युनिस्ट हुँ। मलाई किन हो किन, सानैदेखि कम्युनिस्ट हुने रहर भयो।
काभ्रेपलाञ्चोक जिल्लामा जन्मिएको म २०१७ सालमा कम्युनिस्ट भएकै कारण त्यहाँ बस्न नसक्ने अवस्था आयो। म गाउँ छाडेर हिँडेँ। मकवानपुर आइपुग्दा मेरो संगत रूपचन्द्र विष्टसँग भयो। उनको संगतले ममा कम्युनिस्ट पार्टीप्रति रूचि झनै बढेर गयो। पञ्चायतविरूद्ध भूमिगत भएर पर्चा, पम्प्लेट ओसारपोसार गर्नेजस्ता धेरै काम गरेँ। राति राति टाँस्ने, झुन्ड्याउने काम गर्थेँ। त्यस क्रममा प्रशासनबाट निकै दुःख पाइयो। धेरै पटक बल्ल बल्ल बाँचियो। मकवानपुरमा मेरो घर थियो। राजनीति गर्दागर्दै मैले घर पनि बेचेँ।
पहिले जनमोर्चामा थिएँ म। २०५२ सालबाट एमालेमा आएँ। अनि २०५३ सालतिर चितवनमा बस्न थालेको हुँ। बिस्तारै यहाँ ऐलानी जमिनमा एउटा सानो घर बनाउन सकेको थिएँ। त्यो पनि समस्या परेर केही वर्षअघि बेच्नुपर्यो। अहिले बूढाबूढी एउटा कोठामा बसिरहेका छौं।
काभ्रेमा पैतृक सम्पत्ति होला नि?
काभ्रेमा केही पाखो जमिन त छ, तर लामो समय मकवानपुर र चितवनमा बिताएँ। मलाई यिनै ठाउँ मन पर्छ। काभ्रे फर्किन मन छैन।
फलफूलको व्यापार कसरी सुरू गर्नुभयो?
चितवन आएपछि मैले रिक्सा चलाउने काम गरेँ। आफैंले रिक्सा किनेको थिएँ। दैनिक पाँच सय, हजार रूपैयाँ कमाइ हुन्थ्यो। म पार्टीको मजदुर संगठनको जिल्ला अध्यक्ष भएको थिएँ। बुढ्यौली बढ्दै गएपछि रिक्सा चलाउन गाह्रो भयो। खुट्टाले पेल्नेवाला रिक्सा विस्थापित पनि हुँदै थिए। दस-बाह्र वर्षजति चलाएपछि मैले रिक्सा चलाउन छाडेँ। अनि ठेलामा फलफूल बेच्न थालेको हुँ। त्यसबाट पनि दिनमा हजार, पन्ध्र सय कमाइ हुन्थ्यो। असोजदेखि चिलाउने व्यथा लागेर कामै छाड्नुपर्यो।
स्वास्थ्य कस्तो छ अहिले?
यही चिलाउने रोगले वित्यास पारेको छ। यो रोग नभएको भए अझै केही वर्ष काम गर्न सक्थेँ होला। अरू रोग छैन अहिलेसम्म।
राति निद्रा कत्तिको पर्छ?
निदाउँछु राम्रैसित। तनाव लिन्न मँ। बाँचुञ्जेल बूढाबूढी बस्ने, खाने, रमाउने हो।
तपाईंलाई सबभन्दा के गर्न मनपर्छ? रमाइलो पनि गर्नुहुन्छ होला?
मलाई देश, समाजका गतिविधि बुझ्न मन पर्छ। रमाइलो गर्ने उमेर त गइहाल्यो नि। पहिले रमाइलो पनि गरिन्थ्यो। अचेल अरू रमाइलो गरेको देख्दा रमाइलो लाग्छ।
फिल्म हेर्ने, खेल्ने गर्नुहुन्छ कि हुन्न?
होइन बाबु। मोबाइलमा आएको बेला बेला हेर्छु। अरू हेर्या छैन। बुढेसकालमा खेलेर बस्ने कुरो पनि भएन। हेर्न चाहिँ रमाइलै लाग्छ।
खानामा के मन पर्छ?
मलाई त ढिँडो र रायोको साग असाध्यै मनपर्छ।
अन्तिमपटक कहिले खानुभएको थियो?
हिजो बेलुकी खाएका थियौं। हामीलाई ढिँडो खान कुनै नौलो कुरो नै छैन। मन लागेपछि बूढीले पकाइहाल्छिन्। म परेको सघाउँछु।
पैसा भयो भने के किन्न मन छ तपाईंलाई?
मलाई किन्ने कुरामा खासै रूचि छैन। मेरो चाहना सुकुम्बासी भनेर सरकारले जग्गा दियो भने त्यसमा एउटा मन्दिर बनाउने छ। दुवै जना वृद्ध भइयो। अब धेरै इच्छा गरेर पनि समय छैन। एउटा मन्दिर बनाउन पाए आनन्दले प्राण जान्थ्यो जस्तो लाग्छ।
तपाईंलाई सम्झना छ, अन्तिमपटक तपाईं कहिले धेरै खुसी हुनुभएको थियो?
जिन्दगीमा सबभन्दा खुसी त म देशमा बहुदल आउँदा भएको थिएँ। पञ्चायतले असाध्यै दुःख दिएको थियो। निर्दल गएर बहुदल आएपछि ती दुःख सकिन्छन् भनेर औधी खुसी लागेको थियो।
त्यो खुसी अहिले पनि छ त?
जस्तो सोचिएको थियो त्यस्तो त भएन। जनताको स्तर माथि जान सकेन। नेताहरू झन् माथि–माथि गए।
तपाईंलाई अन्तिमपटक असाध्यै दुःख लागेको, चित्त दुखेको कुरा याद छ?
छोराहरू बित्दा असाध्यै दुःख लागेको थियो। उनीहरूलाई सम्झँदा अहिले पनि दुःख लाग्छ। अनि पञ्चायत कालमा पाएको दुःख सम्झँदा चित्त दुख्छ।
तपाईंलाई मनमा बसिरहेको, पिरोलिरहेको वा तपाईंले आशा गरिरहेको यस्तो भएदेखि हुन्थ्यो भन्ने केही छ?
देशमा बहुदल आयो, गणतन्त्र आयो तर जनताले त्यसको अनुभूति गर्न पाएनन्। म जान्दादेखि कम्युनिस्ट भएर राजनीतिमा होमिएको मान्छे, आज बुढेसकालमा सुकुम्बासी भएर बस्नुपरेको छ। नेताहरूले कम्तिमा आफ्नो कार्यकर्तालाई त हेर्नुपर्छ नि! त्यति पनि नगरेको देख्दा मन खिन्न हुन्छ। त्यही कुराले मन पिरोल्छ। आशा त अझै पनि छ। हाम्रो पार्टी अहिले सरकारमा गएको छ। जनताको पक्षमा राम्रो काम गरिहाल्छ कि भन्ने आशा राखेको छु। कोठामा एउटा रेडियो छ, सरकारले के–के गर्छ भनेर कान थापेर सुनिरहन्छु।
तपाईंलाई मन पर्ने नेता को हो?
केन्द्रमा केपी शर्मा ओली, जिल्लामा रामप्रसाद न्यौपाने (नेकपा एमालेका जिल्ला अध्यक्ष) मन पर्छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
२०५२ सालमा एमाले भएपछि सधैं एमालेलाई नै भोट हालेको छु।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
अबको चुनावको कुरो अहिले सोचिसकेको छैन। २०८४ सम्म यहीँ भइन्छ कि माथि पुगिन्छ के थाहा। अहिले यो पार्टीलाई भोट हाल्छु भनेर के काम।