(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
धनुषाको लक्ष्मिनिया गाउँपालिका—१ स्थित सोहनीको चौरीमा एउटा समूह एक हातमा बोरा लिएर आलस उखेल्दै थियो। स्थानीय शिला यादवको खेतमा पर्ने उक्त चौरीमा उनीहरूलाई देखेपछि म त्यतै लागेँ। समूहकी एक महिला रिता महराको नजिक पुगे। मलाई देखेपछि समूहका चारैजना जुरूक्क उठेर मुखामुख गर्न थाले।
मैले उनीहरूलाई आफ्नो परिचय दिएँ। उनीहरूले मसँग दुखेसो पोख्न थाले। दुई वटा पोसिया (अरुको बाख्रा पालेको) सहित चारवटा बाख्रा पालेकी महराले भनेपछि थाहा भयो आलस उखेलेर खेत धनीलाई दिएपछि मात्रै बाँकी रहेको घाँस काटेर लैजान पाइने रहेछ।
पहिले पनि जनकपुर, काठमाडौंका मान्छेले उनीहरूलाई भेटेर कुरा गरेर कापीमा केही कुरा टिपेर गएका थिए रे। तर आफूहरूलाई त्यसबाट कुनै फाइदा नभएको भन्दै मसँग कुरा गर्नुको कुनै औचित्य नभएको जिकिर गरिरहे।
महराले भनिन्, ‘नेताहरू सबै आफ्ना मान्छेका लागिमात्रै सोच्छन्। हाम्रालागि केही गर्दैनन्। वडामा बिना घुस जन्मदर्ता पनि हुँदैन। गाउँपालिकामा कर्मचारीले हप्काएर भगाइदिन्छज्। स्कुलमा पढाई हुँदैन्। मिटरब्याजीको हल्लाले गाउँमा ब्याजमा पैसा पाइँदैन।’
करिब २० मिनेटजति आफ्ना गुनासो, रिस र आक्रोश पोखिसकेपछि ३० वर्षीया महरा मसँग थप कुरा गर्न तयार भइन्।
मैले सोधें,
के छ तपाईंको जिन्दगीको दुःख सुख अहिले?
के भनुँ जसले गमाउँछ उसले पो दु:ख बुझ्छ। खानपिनमा तकलिफ भइरहेको छ। खेतपथार नहुँदा दुःखै दुःख छ। पैसा नपुगेर हाम्रा छोराछोरी अहिले सरकारी स्कुलमा पढिरहेका छन्।
तपाईं दिनभर के काम गर्नुहुन्छ?
कुनै काम गर्दिनँ। घरमा खाना पकाउँछु, छोराछोरी स्याहार गर्छु। बाख्राका लागि घाँसपात ल्याउँछु।
कस्तो भइरहेको छ दैनिक काम?
राम्रै चलेको छ ।
तपाईंलाई यी दैनिक काम बाहेक के गर्न मन पर्छ?
घाँस काट्न मन लाग्छ। हामी त्यो भन्दा धेरै केही सोच्दै सोच्दैनौं। धेरै केही छँदै छैन कि त्यती सपना देखोस्।
त्योबाहके पनि केही गर्न मन लागिरहेको होला नि?
गाइवस्तु, बाख्रा पाल्थें। दुई पैसा भयो भने बालबच्चा पाल्न सक्थें। मलाई त घाँस काट्न, गाइवस्तु पाल्न मन लाग्छ।
यदि अलिक पैसा भएको भए के गर्न मन लाग्थ्यो?
मेरो मन छ कि गाउँपालिकामा कुनै काम भएको भए गर्थें। राम्ररी खानपान गर्थें। राम्ररी बस्थें।
मनोरञ्जनमा मन छैन?
पैसा भए पो मन हुन्छ। पैसा भए त भाटभटेनीमा किन्न जान्थें। काठमाडौं—पोखरा घुम्न जान्थें होला।
के खान धेरै मन पर्छ?
पैसा हुँदा त मान्छेलाई खाली रसगुल्लै खान मन लाग्छ, रसमलाई खान मन लाग्छ। तर त्यति मन दौडाउन पैसै छैन।
अन्तिम पटक रसगुल्ला, रसमलाई कहिले खानुभएको थियो?
रक्षाबन्धनका बेला मिठाइ किन्छौं भाइका लागि त्यही बेला खाएको हो। रसमलाई खाएको दिन यादै छैन धेरै भइसक्यो।
स्वास्थ्य अवस्था कस्तो छ तपाईँको?
म स्वास्थै छु तर कहिलेकाहीँ दुःख, बिरामी परिहाल्छु।
राति कतिको निद्रा पर्छ?
कहिलेकाहीँ धेरै सोच्दा निद्रा आउँदैन। टेन्सनमा हुँदा कसलाई निद्रा आउँछ र!
के को तनाव हुन्छ तपाईंलाई?
छोराछोरीलाई कसरी पढाउने, बिरामी पर्यो भने कहाँ लाने, श्रीमान पनि छैनन् घरमा। विदेशमा कस्तो होला, मलाई अहिले केही भइहाले कसले हेरचाह गर्ला, फुसको घरबाट कहिले अलि राम्रो घर बनाउन सकिएला जस्ता कुराहरू चलिरहन्छ मनमा।
अहिले १०/१५ लाख रुपैयाँजति भइदिए के गर्नुहुन्थ्यो?
खेत किन्थें। खेतमा उब्जाउँथें, गाइवस्तुका लागि घाँस लाउँथें। उब्जाएर छोराछोरी पढाउँथें।
अहिले कति जग्गा छ नि?
४ धुरमा सानो झुप्रो बनाएर बसिरहेका छौं। खेत त आफ्नो छँदैछैन।
तपाईंको जिन्दगीमा सबभन्दा बढी खुसी भएको कुनै दिन छ ?
छैन, अहिलेसम्म त्यति धेरै खुसी हुने दिन नै आएन।
अनि कुनै कुराले धेरै चित्त दुखेको दिन छ ?
छ नि, अभावमा बाँच्ने मान्छेको हरेक दिन दुःखै दुःख हुन्छ। कम जग्गामा घर छ त्यसमै सबैजना मिलेर बस्नु परेको छ। सानो–सानो कुरामा एक–अर्कासँग झगडा परिरहन्छ। मेरो देउरानीसँग ६ महिनाअघि ठूलो झगडा पर्यो त्यो दिन मलाई धेरै दुःख लाग्यो।
तपाईंलाई कहिले मनमा लाग्छ कि यो भइदिए हुन्थ्यो, त्यो भइदिए हुन्थ्यो?
बच्चाबच्ची राम्ररी पढ्नसके हुन्थ्यो। हामी तकलिफ गरेर गुजारा गरेपनि मेरो बच्चालाई दुःख नहोस् भन्ने चाहन्छु।
तपाईलाई कुन नेता मन पर्छ?
कुनै नेता मन पर्दैन। अब भोट माग्न आए भने झाडुले कुट्छु।
अघिल्लो संसदीय दलको निर्वाचनमा कसलाई भोट दिनुभएको थियो नि?
छाता छापमा दिएँ। सधैं मधेशी पार्टीलाई भोट दिएँ।
छाता छापबाट को लडेका थिए नि?
नाम थाहा छैन।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ ?
अब कसैलाई दिन्नँ। मैले भोट दिइनँ भने मलाई गाउँबाट भगाइदिन्छन्? तपाईं भन्नुस त।
किन भोट दिनुहुन्न कसैलाई?
हामीलाई नेताले कुनै सहयोग गरेका छैनन्। हाम्रा लागि केही गरिदिँदैनन्। यो राम्रो छ, त्यो राम्रो छ भनेर भोट दिन लगाउँछन् तर कसैले केही गर्दैन।
तपाईंले कस्तो काम खोज्नुभएको हो नेताबाट?
धेरै केही नगरिदिएपनि सरकारी स्कुल राम्रो बनाइदिएको भए हुन्थ्यो। हामीलाई पैसा खर्च गरेर बोर्डिङमा पढाउन सोच्नुपर्दैनथ्यो। पढाइमा हुने खर्चले हामी राम्ररी खानपिन गर्थ्यौं। अब सोच्छु श्रीमानले कमाएको पैसाले ऋण तिरौं, कि परिवार चलाउँ कि छोराछोरीलाई बोर्डिङमा पढाउँ। हेल्थ पोष्टमा राम्रो दबाई भएको भए निजीमा जानु पर्दैनथ्यो। पढाइ र दबाइ खर्चले हामीलाई बिल्टाइदियो।