(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
जनकपुरस्थित मुरली चोक र रामचोकको बीचमा रहेको विजय स्टेसनरी बुधबार बेलुकीतिर सुनसान थियो।
सञ्चालक विजय चौधरी मोबाइलमा गेम खेलेर समय बिताइरहेका थिए। ग्राहक आउने आशमा घरीघरी बाहिरतिर पनि हेर्थे।
मैले आफ्नो परिचय दिँदै उनको जिन्दगी, दुःख, सुखका बारेमा कुरा गर्ने प्रस्ताव गर्दा सुरूमा उनले आनाकानी गरे। कुरा गर्दै जाँदा उनी बिस्तारै खुल्दै गए।
उनको घर महोत्तरीको जलेश्वर नगरपालिका-३ मा हो। तर १५ वर्षदेखि जनकपुरमै पुस्तक व्यवसाय गरिरहेका छन्।
मैले सोधेँ, के छ दाइ तपाईंको अहिलेको दुःखसुख?
दुःख–सुखका कुरा नगर्नु। अहिले व्यापारमा आर्थिक मन्दी छ। यस्तो अहिलेसम्म कहिल्यै भएको थिएन, नाजुक अवस्थामा व्यापार छ।
के कारणले आएको हो यस्तो अवस्था?
मान्छेले आर्थिक मन्दी आएको भन्छन्। त्यसैले होला कि!
कति लगानीमा सुरू गर्नुभयो व्यवसाय?
दस लाख लगानीमा खुलेको थियो। लकडाउनमा पुँजी कम हुँदै गयो। पाँच/सात लाखको पुँजी हो। व्यापारमा सिन्डिकेट पनि छ, त्यसले समस्या भएको हो।
परिवारको खर्च चलाउन कतिको सहज छ नि?
त्यो त पहिले पनि गाह्रो थियो। मध्यम वर्गका लागि अहिले पनि गाह्रो छ।
व्यापार व्यवसाय त छँदैछ। यसबाहेक तपाईंलाई सबभन्दा मजा के काम गर्दा आउँछ?
व्यापारमा लागेको छु। मलाई व्यापारै राम्रो लागेको छ। तर अर्को ढंगले गर्न मन लाग्छ। अफ्नो सामान मगाएर मार्केटिङ गर्न मनपर्छ।
मनोरञ्जनका लागि तपाईंलाई के गर्न मन लाग्छ नि?
पसल खोलेपछि मनोरञ्जनका सबै कुरा मरिसकेको छ। फिल्म हेर्न खुब मजा आउँछ। तर हलमा नगएको कति भइसक्यो, याद पनि छैन। अहिले मोबाइलमा कहिलेकाहीँ हेर्छु। गाना सुन्छु। खाने, सुत्ने र फेरि बिहान पसल आउने। त्यही दिनचार्या भइरहेको छ।
अहिले हलमा जान मन लाग्दैन?
अहँ।
किन नि?
व्यापार गरेर पनि हो। पहिले तरकारी किन्न पाएको पैसाबाट बचाएर फिल्म हेर्न जान्थेँ। अहिले व्यस्तता बढ्यो। फिल्म हेर्न मन लाग्यो भने मोबाइलमै हेर्छु। मलाई प्रायः साउथ इन्डियन फिल्म हेर्न मनपर्छ।
खानामा सबैभन्दा धेरै के मनपर्छ?
हाम्रो मैथिली खाना। दाल, चामल, तरकारी, सलाद, भुजिया, अचार मनपर्छ। घरमा यो सधैं बन्छ।
स्वास्थ्य अवस्था कस्तो छ नि?
ठीकै भन्नुपर्यो। अरूलाई आफ्नो स्वास्थ्य खराब हो भन्नु पनि ठीक होइन। स्वस्थ नै छु।
कतिको निद्रा लाग्छ?
निद्रा त लाग्छ तर व्यापार गरेर बसेको छु, निदाएर पनि भएन। व्यापार यत्तिकै पनि चौपट छ। अहिले सटरको भाडा उठाउन गाह्रो छ। त्यसमा पनि सुतिदिएँ भने चियाको पैसा पनि उपर हुँदैन।
तपाईंले एकदम मजाले निदाएको, सुतेको कति भयो नि?
एकदमै मजाले ननिदाएको धेरै भयो। कति दिन भनौं, याद पनि छैन। एक वर्षजति भएको होला। कामकै कारणले तनाव भएर राम्ररी सुत्न पाउँदिनँ।
अलि ठिक्क पैसा भएको भए के किन्ने मन छ तपाईंलाई?
के भनौं यसमा! सपना त छ, तर जति सपना छ, त्यो पूरा हुनेवाला छैन। मलाई केही किन्न भन्दा पनि एकदमै घुमफिर गर्न मन छ। गाडी भाडामा लिएर भए पनि १५ दिन, एक महिनासम्म विभिन्न ठाउँहरू घुम्न मन छ।
पैसा भयो भने के खाने वा अरूलाई दिने मन छ तपाईंलाई?
आफूलाई चाहिनेभन्दा धेरै भएको भए जनसेवा गर्थेँ। खास गरेर भोकाएका मान्छेलाई खाना खुवाउँथेँ।
अहिले जनकपुरमा छन् र भोकाएका मानिसहरू?
छन् नि। अहिले दिनको दस जना त यहीँ आउँछन् मागेर खाने।
अन्तिम पटक एकदम खुसी कहिले हुनुभएको थियो सम्झना छ?
खुसी त खुसी नै छौं। तर त्यति धेरै खुसी भएको याद छैन मलाई।
कुनै कारणले तपाईंको मन दुखेको दिन छ?
याद छैन। भए पनि पोजेटिभ सोचले बिर्सिसकेको छु।
तपाईंको मनलाई एकदमै पिरोलेको, यस्तो भइदिएको भए हुन्थ्यो जस्तो लाग्छ केही?
त्यो त धेरै कुराहरू छ। खासगरी राजनीतिमै यस्तो हुनुपर्थ्यो, त्यस्तो हुनुपर्थ्यो जस्तो लाग्छ। तर भन्न चाहिँ दिन किनकी अहिले बहुत गन्धा राजनीति भइरहेको छ। देशको विकास भए, ठाउँको विकास भए मेरो पनि भइहाल्थ्यो। त्यो हिसाबले विकास, जनतालाई चाहिने सुविधा भइदिए हुन्थ्यो भन्ने लाग्छ।
कस्तो सुविधा खोज्नुभएको हो?
जस्तै, व्यापार अहिले चौपट छ। यसमा सरकारले सोच्नुपर्थ्यो। व्यापार के गरेर चल्छ भनेर विचार विमर्श गरेर योजना ल्याउनुपर्थ्यो।
कुनै नेता छन् जो तपाईंलाई एकदम धेरै मनपर्छ?
गगन थापा र केपी ओली धेरै मनपर्छ। अरू ध्यानमै छैनन्।
किन मनपर्छन् यी नेताहरू?
गगन थापाको भाषण सुनेर हो। केपी ओलीको निर्णय लिने र अडिग रहने क्षमता देखेर मनपर्छ। उनी निर्णयमा टसमस हुँदैनन् जस्तो लाग्छ।
अघिल्लो संसदीय चुनावमा कसलाई भोट दिनुभएको थियो?
त्यो नसोध्नुस्, म भन्न चाहन्नँ।
अब चुनाव भयो भने कसलाई भोट दिनुहुन्छ ?
त्यति बेला विचार बदलिन्छ। अहिले भन्न सकिँदैन। मानौं न, कुनै स्वच्छ छविको स्वतन्त्र राम्रो उम्मेदवार आयो वा कुनै पार्टीकै राम्रो उम्मेदवार आयो भने उसलाई मत दिन्छु।
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)