(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
विराटनगरको ट्राफिक चोकबाट दक्षिणतिर लाग्ने दुइटा बाटा छन्। महेन्द्रचोकबाट पूर्व लागेपछि भेटिने पहिलो बाटो यहाँ कलेज रोडका नामले चिनिन्छ।
यही कलेज रोडमा छ गीतादेवी पासवानको चिया पसल।
पसल त भन्नु मात्रै हो एउटा सानो र थोत्रो घुम्ती छ, यही घुम्तीको ओत लागेर उनले चिया बेच्न थालेको तीन दशक पूरा हुनै लागेको छ।
२७ वर्षदेखि यही ठाउँमा चिया पसल गरिरहेकी ५५ वर्षीया गीतादेवीले यही पसलबाट भएको आम्दानीले ३ छोरा हुर्काइन्, बढाइन्, पढाइन्।
चार दशकभन्दा लामो समयदेखि विराटनगर–९ मा बसिरहेकी उनलाई मैले सुरूमै परिवारका बारेमा सोधेको थिएँ।
'हामी बुढाबुढी, ३ छोरा, एक बुहारी र दुई नाति छन्,' उनले भनिन्, 'एउटा छोरा भर्खरै विदेश गयो। एक जना मासु पसलमा काम गर्छ, एउटाले किराना पसल थालेको छ।'
कलेज रोडमा भएको पत्रकार महासंघ मोरङको भवन नजिकै रहेको उनको चिया पसल पुगेर कुराकानीका लागि अनुरोध गर्दा सुरूमा गीतादेवीले आफूलाई केही बोल्न नआउने बताएकी थिइन्।
'अरू केही होइन, तपाईंकै बारेमा केही प्रश्नहरू सोध्ने हो' भनेपछि उनी कुराकानी गर्न राजी भएकी थिइन्।
आफ्नो परिवारको संख्या बताइसकेपछि उनले पत्रकारहरूबारे केहीबेर गुनासो गरिन्।
पहिले–पहिले उनको पसलमा चिया खान झुम्मिने पत्रकारहरू अचेल अन्यत्रै गएकोमा उनको चित्त दुखाइ रहेछ।
'अचेल पत्रकारहरू मेरो दोकानमा चिया मिठो हुँदैन भनेर खानै आउन छाडे। अरूतिरै जान थालेका छन्,' चित्त दुखाइको कारण उनले खोलिन्।
कति वर्ष भयो विराटनगर बसेको?
विराटनगर–९ मा बसेको २८–२९ वर्ष भयो।
त्यसअघि कहाँ बस्नुहुन्थ्यो?
त्योभन्दा पहिला पल्लोबाटोतिर बस्थ्यौं। त्यो पनि ९ नम्बरमै पर्छ।
अनि सुखदुःख कस्तो छ त परिवारमा?
दुःखै धेरै छ। मेरो बुढा दमको बिरामी छन्। महिनामा चारचोटि अस्पताल पुर्याउनुपर्छ। बुढाको उपचार गर्दा धेरै खर्च हुन्छ। छोराहरूले अलिअलि सघाउँछन्। तर, उपचार खर्च आफैं जुटाउनुपर्छ। भनेजसरी दोकान चल्दैन। व्यापार छैन। यस्तै छ।
अनि स्वास्थ्य बीमा गर्नुभएको छैन?
बीमा गरेको छैन। बीमाबाट उपचार नै ढिलो हुन्छ रे। कि कोशी र कि नोबेलमा मात्रै जानुपर्छ अरे। बीमाको बिरामीले लाइनमा बस्नुपर्छ भन्छ। अनि हाम्रो बुढा त धेरै साह्रो भइजान्छ। कता लाइनमा बसिरहनु त्यस्तो बिरामी! त्यही भएर सजिलोसँग दबाइ गरौं भनेर अरू नै हस्पिटल जान्छौं। बुढाको ज्येष्ठ नागरिक भत्ता आउँछ। चार महिनामा १२ हजार रूपैयाँ। छोराहरूले पनि अलिअलि सघाउँछन्। त्यसैले उपचार गर्छौं।
रमाइलो गर्नुपर्यो भने के गर्नुहुन्छ?
घरमा दुई जना नाति छन्, तिनीहरूसितै खेल्छु।
फिल्म हेर्ने, आफन्त भेट्न जाने गर्नुहुन्न?
कहिलेकाहीँ काम पर्दा आफन्त भेट्न पनि जान्छु। फिल्म त घरकै टिभीमा अलिअलि हेर्ने हो।
हलमै गएर नहेरेको कति भयो?
धेरै भयो। एकचोटि गजनी (आमिर खानको) फिल्म हेरेकी थिएँ। अहिले त रहर पनि लाग्दैन।
तपाईंलाई सबभन्दा धेरै मनपर्ने खानेकुरा के हो?
रोटी सब्जी हो।
त्योबाहेक के खान मनपर्छ?
मलाई घरैमा साग सब्जीहरूको भेराइटी बनाएर खाऊँ जस्तो लाग्छ।
पछिल्लोपटक भेराइटी बनाएर कहिले खानुभएको थियो?
दसैंमा, नयाँ सालमा, होलीमा खाइन्छ। अब होली आउँदैछ, त्यो बेला पनि भेराइटी बनाएर खाने हो।
सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
कान्छा छोराको बिहे गर्दा सबभन्दा खुसी लागेको थियो।
सबभन्दा धेरै चित्त कहिले के कारणले दुखेको थियो?
चित्त दुखेको त थाहै छैन।
स्वास्थ्य कस्तो छ तपाईंको?
स्वास्थ्य कठिन छ। सुगरले सताएको छ। धेरै कुरा खानुहुँदैन।
निद्रा मज्जाले लाग्छ?
मलाई राति निद्रा नै लाग्दैन। बरू दिउँसो लाग्छ। तर दिउँसो दोकानमा बस्नुपर्छ, कसरी निदाउनु।
राति चाहिँ किन निद्रा नपरेको त?
खै किन किन! ११–१२ बजेपछि निद्राले छोड्छ अनि रातभरि मनमा कुरा खेल्छ। छटपटी हुन्छ। टेन्सनै टेन्सन छ।
के कुरा चाहिँ धेरै खेल्छ मनमा?
यही दोकान, छोराछोरी, परिवारकै कुरा खेल्छ। चिन्ता लाग्छ।
ठीकठीकै खर्चको केही सामान किन्न पाए हुन्थ्यो जस्तो के लागेको छ जुन तपाईंले किन्न पाउनुभएको छैन?
किन्न त के के मन छ नि! त्यही पनि यसो सुनचाँदी किन्न पाए हुन्थ्यो, सामान जोड्न पाए हुन्थ्यो भन्ने लाग्छ। सकिएको छैन।
नेताहरू कत्तिको चिन्नुहुन्छ?
नेताहरू धेरै चिनेको छैन।
तपाईंलाई को को नेता मनपर्छ?
त्यही प्रचण्ड (पुष्पकमल दाहाल) सर, विद्या भण्डारी, बाबुराम भट्टराई।
अस्तिको चुनावमा कसलाई भोट दिनुभएको थियो?
मेयरमा नागेश कोइरालालाई अनि माथिकोमा शेखर कोइरालालाई।
अहिले नै चुनाव भयो भने फेरि उनीहरुलाई दिनुहुन्छ?
अब त दिन्नँ।
अब किन नदिने?
खाली भोटमा मात्रै आउँछन्, हात जोड्छन्। के के गर्छु भन्छन्। अहिले दुःख पर्दा कोही आउँदैनन्।
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)