(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
वीरेन्द्रनगर–१५ रतुकी रूपकली पौडेल केही समययता बजारतिरै बस्न थालेकी छन्।
उनी सडक छेउमा बसेर पानी, गुट्खा लगायत सामान बेच्छिन्। त्यसबाट हुने आम्दानीले कोठाको भाडा तिर्नुपर्छ।पढिरहेका दुई छोराको खर्च जुटाउनुपर्छ।
उमेरले ४२ वर्ष पुगेकी रूपकली दुई महिनायता बिरामी छिन्। डाक्टरले उनलाई आन्द्रामा घाउ भएको भनेको छ।
सडक छेउमा सामान बेचेबापत् हुने आम्दानीमध्येको केही पैसा औषधि किन्न पनि खर्च गर्नुपर्छ।
उनका तीन छोरा, एक बुहारी र एक नातिनी छन्। जेठा छोराले घरमा बाख्रापालन गरेका छन्। माइला पोखरामा पढ्छन्। कान्छा गाउँमै पढ्छन्।
रूपकलीसँग मेरो भेट बुद्धपथमा रहेको आँखा अस्पताल अगाडि भएको थियो। रूखमुनि बसेकी उनीसँग पानीका पेटी र गुट्खाको प्याकेट थिए।
पारिवारिक अवस्था र उनको खबर सुनेपछि मैले उनलाई सोधेको थिएँ – मनोरञ्जन गर्नुहुन्छ? के गर्न मनपर्छ?
मलाई नाच्न मनपर्छ। गाउन, बजाउन त आउँदैन। यसबाहेक भेट भयो भने साथी, छिमेकीसँग कुरा गरेर पनि दिन बिताइरहेकी हुन्छु।
अन्तिम पटक कहिले नाच्नुभएको थियो?
यही सालको तीजमा हो। त्यसयता नाच्ने वातावरणै बनेको छैन।
खाने कुरामा के मनपर्छ?
धूमपान गर्ने बानी परेको छैन। खानामा माछामासु खान मनपर्छ। अहिले त बिरामी भएर माछामासु नखानू भनेको छ डाक्टरले। तैपनि कहिलेकाहीँ खाइहाल्छु। औषधि खाइरहनुपरेको छ।
राम्रोसँग निदाउनुहुन्छ?
बिरामी भएयता मलाई निद्रा लाग्दैन। दुई महिना भइसक्यो, कहिलेकाहीँ त रातमा एक घन्टा निदाउन पनि गाह्रो पर्छ। बिरामी नहुँदासम्म राम्रोसँग निद्रा परेको थियो।
महँगो होइन, ठिक्क पैसामा यही कुरा किनेर खान पाए हुन्थ्यो वा लगाउन पाए हुन्थ्यो भन्ने लागेको केही छ?
मलाई गरगहनामा त्यति ध्यान जाँदैन। खानेकुरामा पनि सोख राख्दिनँ। मलाई किनमेलमा मनपर्ने भनेको कपडा हो। तर मनपरेको कपडा पाइएका बेला आफूसँग पैसा हुँदैन।
पछिल्लो पटक कपडा किनेको कति भयो?
फागुन अन्तिमतिर सुर्खेतमा महोत्सव लागेका बेला किनेकी हुँ। सस्तो खालको एक जोर कपडा किनेकी थिएँ।
के कुराले चित्त दुख्छ?
पैसाले किन्नुपर्ने वा पाउन सकिने केही कुराको आवश्यकता परेका बेला र त्यही बेला आफूसँग पैसा भएन भने सामान्य चित्त दुख्छ। छोराहरू पढ्छन्। उनीहरूलाई भनेको बेला खर्च दिन नसक्दा पनि चित्त दुख्छ।
एकदमै दुःखी भएको समय कुनै छ?
दुःखी भएको समय त करिब १७–१८ वर्ष पहिलेकै छ। मेरो श्रीमानको मृत्यु भएको थियो। त्यही आसपासको समयमा मलाई टाउकोमा चोट लागेको थियो। निको हुन समय लाग्यो। यिनै कुराले हो म दुःखी भएको।
धेरै खुसी भएको समय कुनै छ?
गाउँको घरमा बस्दा प्रायः खुसी नै हुन्थेँ। अहिले छोराहरूलाई पढाउनुपर्यो भनेर बजार झरेँ। बजारमा झरेर फुटपाथमा बसेर सामान बेच्ने काम गरेकी छु। कमाइ राम्रो भएको दिन खुसी हुन्छु।
मनपर्ने नेता कोही छ?
म स्थानीय केही नेताहरूलाई चिन्छु। उहाँहरू ठीकै लाग्छ। माथिका नेताहरू चिन्दिनँ। आफूसँग ठूलोवाला (स्मार्टफोन) मोबाइल भए हेर्न पाइन्थो र चिनिन्थ्यो। मसँग छैन। छोराहरूले मोबाइल किन भन्छन्, मैले किन्ने मन गरेकी छैन।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
अघिल्लो निर्वाचनमा त कांग्रेसका उम्मेदवारलाई भोट दिएकी हुँ।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
अब त हाम्रा कुरा जसले सुन्छ, जसले समस्या समाधान गर्न सक्छ, त्यसैलाई भोट दिने हो नि!
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)