(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दुःखसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
नेपाल पत्रकार महासंघ धनुषा शाखा जाँदै गर्दा जनकपुरको शुक्रबारी बजारमा एक जनाले सटरभित्र जुत्ता बनाउँदै गरेको देखेँ।
सानो सटरभित्र हातैले आकर्षक जुत्ता चप्पल बनाइरहेको देखेर म उनीसँग गफिन थालेँ। काठको फर्माले जुत्ताको आकार दिँदै गरेका उनी थिए, जनकपुरधाम उपमहानगरपालिका-४ का सुरेश महरा।
मैले आफ्नो परिचय दिएपछि उनले मुस्काउँदै भने, 'पत्रकार त नेताहरूसँग कुरा गर्छन् नि, मसँग के सोध्नुहुन्छ?'
मैले पत्रकारले आममान्छेको दुःखसुखका कुरा पनि गर्छन् भनेपछि उनले भने, 'सोध्नुस् न त के सोध्नुहुन्छ?'
जुत्ता बनाउने काम कहिलेदेखि गर्नुभयो?
२२ वर्ष भयो। मेरो गाउँ नगराइन नगरपालिकामा पर्ने फूलगामा हो। त्यहाँबाट बसाइ सरेर यहाँ आएँ, अनि पसल खोलेँ।
पहिले पनि यस्तै पसल थियो?
होइन, ठूलो थियो पहिले। १२/१३ लाखको पुँजी थियो। लकडाउन बेला नौ लाख रूपैयाँ घाटा लाग्यो, त्यसपछि बन्दै गरिदिएको थिएँ। तर परिवार त चलाउनुपर्यो। अनि माघ महिनादेखि फेरि खोलेको हुँ।
अहिले कति पुँजी छ?
अहिले ६० हजार पुँजी लागेको छ।
कसरी घाटा लाग्यो?
जस्ताको छाना भएको पुरानो सटरबाट नयाँमा सारेँ। त्यसमा महिनाको भाडा १० हजार रूपैयाँ थियो। घरबेटीले एक लाख एड्भान्स लिए। पुँजी पनि बढाउनुपर्छ भनेर पाँच लाख ऋण लिएको थिएँ। एक महिना नपुग्दै लकडाउन लाग्यो। ऋणको ब्याज बढिरह्यो। तीन रूपैयाँ ब्याजले कहाँसम्म लखेट्छ, तपाईंलाई थाहै छ। फेरि माघ १ देखि पसल सुरू गरेँ। श्रीमतीको गहना बन्धकी राखेर पैसा निकालेँ।
को को छन् परिवारमा?
दुई छोरा र श्रीमती छन्। एक छोरा कतारमा छन् तर उसले ६ महिनादेखि काम पाएको छैन। खानलाई पनि यहीँबाट पैसा पठाउनुपरेको छ। जेठो छोरा बिबिएस पढ्दै छ।
अहिले चाहिँ कस्तो चलेको छ व्यापार?
ठिकै चलेको छ। पुँजीअनुसार न हो व्यापार चल्ने। घरपरिवार चल्छ। दिनको चार-पाँच सय रूपैयाँ कमाउँछु, परिवार चलाउँछु। बैंकले ऋण दिँदैन व्यापार बढाउन। यति नै हो।
तपाईंलाई कामबाहेक केमा रमाइलो लाग्छ?
मलाई सिर्फ काम र काममा मात्रै रमाइलो लाग्छ। मैले कामको चक्करमा सम्बन्ध पनि तोडेँ धेरैसँग। मैले देखेँ, दुःख पर्दा पैसाबाहेक कोही काम लाग्दैन। त्यसैले मैले पैसा कमाउन मात्रै ध्यान दिएको छु।
त्यसो भए केही सोख छैन?
मैले केही सोख राखेको छैन। गरिब मान्छे छु, किन सोख राख्नु! तर नयाँ ठाउँ घुमफिर गर्ने, राम्रो खाने मन त कसलाई हुँदैन र!
कहाँ कहाँ घुम्न जानुभएको छ आजसम्म?
कहीँ गएको छैन। एकचोटि कमाउन भनेर मलेसिया गएको थिएँ, १८ वर्षपहिले। त्यसबाहेक हस्पिटल र आफन्तको घरबाहेक कहीँ गएको छैन।
खानपिनमा सबभन्दा धेरै के मनपर्छ?
प्रायः दाल, भात, तरकारी खान्छु। माछामासु त धेरै मनपर्छ। तर त्यो खान पनि धेरै पैसा चाहिन्छ। कहिलेकाहीँ खसीको मासु खान्छु।
अन्तिमपटक खसीको मासु कहिले खानुभएको थियो?
दुई महिनाअघि। म पहिले त माछामासु नभई खानै खान्नँथेँ। तर समय फेरियो। खानपिनमै समस्या हुन थाल्यो, परिवार धान्नै मुस्किल पर्यो।
स्वास्थ्य कस्तो छ?
अहिले त राम्रो छ।
राति निद्रा राम्रै लाग्छ?
निद्रा के आउनू, राम्रो छैन। ११ बजे सुत्छु, ६ बजे उठेर काममा लाग्छु। कर्जाको टेन्सनले राम्ररी निद्रै आउँदैन।
पछिल्लोपटक कहिले हो तपाईं मज्जाले सुतेको?
पसल खोल्नु भनेकै निद्रा भगाउनु रहेछ। जबदेखि पसल गरेको छु, तबदेखि आजसम्म मनभरि सुतेकै छैन।
उपचार गराउन कत्तिको समस्या हुन्छ?
अस्पताल जान्छु, भर्ना गराउँछु। धेरै टाइम लाग्छ। डाक्टरले राम्ररी हेर्दैनन्, टाइममा आउँदैनन्। पहुँच नहुँदा धेरै समस्या हुन्छ।
अलि ठिक्क पैसा भयो भने के किन्थेँ जस्तो मनमा लाग्छ?
मलाई केही किन्न मन लाग्दैन। बस्न पुग्ने घर बनाइसकेको छु। ऋणले मात्रै तनाव भएको छ। पैसा भएको भए ऋण तिरेर टेन्सन भगाउँथेँ। त्यसपछि कमाउँछु, खान्छु।
कति ऋण छ नि?
२५ लाख रूपैयाँ। केही बैंकको, केही बाहिरबाट लिएको। पाँच महिना भइसक्यो ब्याज नतिरेको। पैसै छैन, कहाँबाट तिर्ने!
तपाईं कति पहिले एकदम धेरै खुसी हुनुभएको थियो?
जति बेला मेरा सन्तान भएका थिए। २० वर्ष पहिलेको कुरा, म एकदम खुसी भएको थिएँ।
अनि के कुराले आजसम्म सबभन्दा चित्त दुखेको छ?
पसलमा घाटा लागेको कुराले। त्यसले मलाई सबभन्दा ठूलो समस्या भयो। कहिल्यै नर्बिसिने गरी चित्त दुख्यो।
तपाईंलाई यो समाज वा देशमा यस्तो भइदिए हुन्थ्यो भन्ने लाग्छ?
परिवर्तन भइदिए हुन्थ्यो जस्तो लाग्छ। खुनखराबा, मुद्दामामिला नहोस्, शान्ति भइदिए हुन्थ्यो भन्ने लाग्छ। अहिले त एकले अर्काको ज्यान लिन्छन्, कुटपिट गर्छन्। मुद्दा हालिदिन्छन् र बर्बाद पारिदिन्छन्।
को नेता मनपर्छ तपाईंलाई?
मलाई कोही मन पर्दैन। गरिब मान्छेलाई नेताले के दिएको छ र! नेताले आफ्ना मान्छेलाई नोकरी दिने काम मात्र गर्छन्।
गत चुनावमा कसलाई भोट दिनुभयो?
जुली महतोलाई दिएँ तर केही गरेको देखेको छैन।
अब फेरि चुनाव भयो कसलाई दिनुहुन्छ?
अब कसैलाई दिन्नँ। किन दिनु! नेताबाट मलाई कुनै सुख-सुविधा छैन भने किन दिनु! दलित कोटामा इन्डियामा रासन मिल्छl पढाइ, लेखाइको पैसा दिन्छ। यहाँ मेरो छोराको १० कक्षामा नाम लेखाउँदा तीन हजार रूपैयाँ लिए। सर्टिफिकेट लिन जाँदा दुई हजार रूपैयाँ लिए। अनि किन दिनु भोट!
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)