(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
भरतबहादुर सापकोटासँग मेरो पहिलो भेट भरतपुरदेखि माडी जाँदा भएको थियो।
म प्रदेश ३–०१–००५ ख ९७३८ नम्बरको यात्रुवाहक बसको क्याबिनमा बसेको थिएँ। उनी त्यो बसका चालक थिए।
गफ गर्दै जाँदा उनी आफ्ना व्यक्तिगत कुरा पनि खोल्दै थिए। घरायसीदेखि भोटसम्मका कुरा, खुसीदेखि दुःखका कुरा उनी कुनै धक नमानी बताइरहेका थिए।
चितवनको राप्ती नगरपालिका–१ लोथरमा उनको घर रहेछ। ५८ वर्षका सापकोटाका पाँच छोरा र तीन छोरी छन्।
मैले उनलाई सोधेँ, कसरी बन्नुभयो ड्राइभर?
१६ वर्षको हुँदा म मिनी बसको सहचालक बनेर हिँड्न थालेको थिएँ। केही महिना पछि बसमा पैसा उठाउने काम पाएँ। यात्रुबाट उठाएको पैसा यताउति नगरी बुझाएपछि ड्राइभरले मलाई गाडी चलाउन सिकाए। १९ वर्षको उमेरमा लाइसेन्स नै लिएर ड्राइभर बनेको थिएँ।
त्यसयता लगातार गाडी चलाइरहनुभएको छ?
हो। मेरो जेठानको ट्रक थियो। लाइसेन्स पाएपछि केही दिन मिनी बस चलाएँ अनि जेठानको ट्रकमा हिँड्न थालेँ। दस वर्षजति ट्रक चलाएँ। अनि फेरि बस चलाउन थालेँ। अहिले पनि चलाइरहेको छु।
कमाइ कस्तो छ?
कमाइ बस चलाउँदा सुरूका दिनमा खासै हुन्थेन। चितवनबाट काठमाडौं पुगेर फर्किएपछि ८ सय रूपैयाँसम्म कमाइ हुन्थ्यो। बिस्तारै यही काम गर्दा २ हजार रूपैयाँ जति हुन थाल्यो। कति अर्काको गाडी चलाइराख्ने भनेर चार वर्षअघि साढे ११ लाख रूपैयाँ हालेर पुरानो गाडी किनेँ। बनाउन चार लाखजति खर्च भयो। यो त्यही गाडी हो। रिजर्भ पाउँदा जान्छु, नपाउँदा नारायणगढ–भण्डारा–लोथर रूटमा चलाउँछु। कमाइ थोरै हुँदा दुई हजार, धेरै हुँदा २० हजार रूपैयाँसम्म दिनमै हुन्छ।
तपाईंलाई कस्तो काम गर्न मज्जा लाग्छ?
मलाई आफ्नै पेसा मज्जा लाग्छ। म यसैमा रमाइरहेको छु।
मनोरञ्जन पनि त गर्नुहुन्छ होला। केमा रमाउनुहुन्छ?
अरू कुरा त खासै होइन, क्यारमबोर्ड खेल्न चाहिँ असाध्यै मनपर्छ। मलाई क्यारमबोर्डमा जो कसैले हराउन सक्दैन। तर खेल्ने मौकै मिल्दैन अचेल।
अन्तिम पटक कहिले खेल्नुभएको थियो?
धेरै महिना भयो खेल्न नपाएको। पहिले गाडी रोकेपछि खेल्न थालिहाल्थेँ।
फिल्म हेर्नुहुन्छ कि हुँदैन?
हलमा गएर नहेरेको त धेरै भयो। मलाई नेपाली फिल्म मनपर्छ। धेरै पहिले 'ट्रक ड्राइभर' र 'राम–लक्ष्मण' फिल्म हेरेको थिएँ। यी दुबै फिल्म मसँगै सम्बन्धित भएर पनि होला, रमाइलो लाग्यो। म ट्रक ड्राइभर थिएँ, अनि मेरा राम–लक्ष्मण नामका जुम्ल्याहा छोरा छन्।
खानामा के मनपर्छ?
मलाई ढिँडो मनपर्छ।
अन्तिम पटक कहिले खानुभएको थियो?
अस्ति बेलुका आफैंले पकाएर खाएँ। बहुत मिठो भयो।
स्वास्थ्य कस्तो छ?
सुगर, प्रेसर छ। प्रेसर भए पनि म झट्टै रिसाउँदिनँ।
निद्रा कत्तिको लाग्छ?
बेलुका मज्जाले निदाउँछु। तर उठ्न परे जतिखेर पनि उठ्न सक्छु। काम नभए पनि बिहान ५ बजे चाहिँ सधैं उठ्छु।
खुसी के कुरामा हुनुहुन्छ?
मलाई खुसी हुन कुनै कुरा चाहिँदैन। तपाईंसँग कुरा गर्दा पनि म खुसी नै छु।
जिन्दगीमा बिर्सिनै नसक्ने खुसी पनि हुनुभयो होला नि?
म बच्चैबाट दुःख पाएको मान्छे। अहिले आफ्नै दुई तलाको घर छ। झुप्रोमा हुर्केको मेरा लागि यो आलिशान बंगला हो। कमाउने भाँडो भगवानले दिनुभएको छ। राम्ररी गरेर खान पाएको छु। यहीमा खुसी छ मलाई।
चित्त दुखेको कुनै दिन याद छ?
पहिले नजिकका आफन्तले नराम्ररी भनेको दिन बेला–बेलामा सम्झिन्छु। यसले केही गरेर खाँदैन, पढ्न सकेन, भिखारी हुने भयो भन्थे। त्यही शब्दले म आज यहाँसम्म आइपुगेको छु। कमाइ राम्रो छ। परिवारमा खुसी छ। चित्त दुखेको थियो कुनै दिन, तर त्यही इखले गर्दा उनीहरूले भन्दा राम्रो गर्न सकेको छु। उनीहरूले त्यतिखेर गरेका कुरा आशीर्वाद जस्तो लाग्छ अचेल।
पैसा भए यसो गर्थेँ भन्ने केही छ?
मेरो चाहना यो गाडी बेचेर ठूलो गाडी किन्ने छ। ठूलो गाडी भयो भने रिजर्भमा तीर्थ, ब्रत, भ्रमण जान पाइन्थ्यो। धर्मकर्म गर्न पाइन्थ्यो।
तपाईंलाई नेपालको कुन नेता मनपर्छ?
यही नेता मनपर्छ भनेर भन्न कोही पनि छैन। म काम गरेर, मेहनत गरेर खान्छु। कसैलाई ठगेको छैन। मैले जति दुःख गर्ने कोही नेता छ जस्तो लाग्दैन। बाध्यता भएर भोटसम्म हालिन्छ। मन परेर होइन।
गत चुनावमा कसलाई भोट हाल्नुभयो?
घन्टी (राष्ट्रिय स्वतन्त्र पार्टी) लाई हालेँ। सबैलाई हेरियो, एक पटक नयाँलाई पनि हेरौं न भनेर घन्टीमा हालेको।
कस्तो लाग्यो त?
ठीकै छ अहिलेसम्म त। पूर्वी चितवनबाट चल्ने गाडीहरूलाई नारायणगढ बजार पुग्न नदिइएको समयमा हामीले भोट हालेर जिताएका हरि ढकालले आफैं बसको क्याबिनमा बसेर नारायणगढसम्म बस जान पाउने हाम्रो मागमा सहयोग गर्नुभयो। आफूले भोट हालेका सांसदले यति भने पनि गरे भन्ने लागेको छ।
अबको चुनावमा कसलाई भोट दिने सोच्नुभएको छ?
यसै त कहाँ भन्न सकिन्छ र! सोच्नुपर्छ। भोलि नै चुनाव हुने भयो भने पनि रातभर सोचेर मात्रै भोट हाल्छु। म दुःख गरेर खाने मान्छे हुँ। त्यसैले दुःख गर्नेलाई नै दिन्छु भोट पनि।
***
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)