(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
उनी बुटवल हाटबजारमा रहेको पसलको वारिपारि भित्तामा फलामको तार टाँग्दै थिए। दुई छोरीहरू पसलमा बसेर मोबाइल चलाइरहेका थिए।
'नमस्ते दाइ, के गर्नुभएको नि?' मेरो प्रश्न भुइँमा खस्न नपाउँदै उनले जवाफ दिए, 'र्याकमा राखेका माला ग्राहकले नदेख्ने भए, तिनै माला झुन्ड्याउन भित्ताको वारिपारि तार टाँग्न लागेको।'
'तपाईंसँग केही बेर कुरा गर्न भनेर आएको' भनेपछि उनी कामै छाडेर ओर्लिन खोजेका थिए।
मैले हतार छैन भनेपछि उनी काममै लागे। दुवै तर्फका भित्तामा ठोकिएका फलामका किलामा मसिनो तार बाँधेर उनी झरे।
मैले परिचय दिएपछि उनी कुरा गर्न तयार भए।
उनको नाम केशव थापा हो। खासमा उनी शाही रहेछन्। बुबाले भारतीय सेनामा भर्ती हुने बेला थापा लेखाएकाले उनको थर पनि थापा भएको रहेछ। नागरिकतामा थापा थर भए पनि चाडवर्प, रीतीरिवाज सबै शाहीकै अनुसार मनाउँछ उनको परिवार।
तपाईं कति वर्षको हुनुभयो?
थर दुईवटा भएजस्तै उमेर पनि वास्तविक उमेर र नागरिकताको उमेर फरक छ। नागरिकतामा ५४ वर्ष छ, वास्तविक उमेर भने ५७ वर्ष।
घर कता नि तपाईंको?
घर पनि दुइटा छन्। खास घर पश्चिम नवलपरासीको बर्दघाट हो। २०५१ सालदेखि बुटवलमा बस्छु। बुटवल गोलपार्कमा पनि घर बनाएको छु।
पूजा सामग्रीको पसल चलाउनुभएको रहेछ, कत्तिको चलेको छ?
भर्खर एक साता मात्रै भयो पसल खोलेको। राम्रै चल्ला जस्तो लागेको छ, हेरौं कस्तो हुन्छ।
यसअघि के गर्नुहुन्थ्यो?
म बुटवल उपमहानगरपालिकामा दमकल चालक थिएँ। २८ वर्ष त्यहीँ काम गरेर केही महिना भयो उपदान लिएर अवकाश लिएको। अब केही व्यवसाय गरौं भनेर पूजा सामग्रीको पसल सुरू गरेको हुँ। यसअघि पनि बुटवलमै होटल थियो। मैले त धेरै समय दिन पाउने थिइनँ। श्रीमती र छोरीहरूले हेर्थे।
जागिर गर्न ठीक रहेछ कि पसल चलाउन?
व्यक्तिमा भर पर्ने कुरा हो। मलाई जागिर पनि रमाइलै लाग्थ्यो, पसल चलाउँदा पनि रमाइलै लागिरहेको छ। जे पेसा व्यवसाय गर्दा पनि पहिले आफू त्यसमा रमाउन सक्यो भने दिने सेवा राम्रो हुन्छ रे!
तपाईंलाई अरू के काम गर्दा रमाइलो लाग्छ?
युवा हुँदा साथीहरूसँग घुम्न-खान रमाइलो लाग्थ्यो। अहिले धेरै हल्लाखल्ला भन्दा शान्त स्थान मनपर्छ। योग-प्राणायाम गर्न मन लाग्छ। १५ वर्षदेखि 'आर्ट अफ लिभिङ' मा आबद्ध भएको छु। फुर्सदमा त्यतै जान्छु, फ्रेस हुन्छ।
फिल्म कत्तिको हेर्नुहुन्छ?
आठ/दस वर्षपहिले होला, हिन्दी फिल्म 'थ्री इडियट्स' हेरेको थिएँ। त्यसपछि हलमा गएर हेरेको छैन। घरमा पनि फिल्मभन्दा आध्यात्मिक कार्यक्रम हेर्छु।
मनपर्ने खानेकुरा के हो?
मलाई फलफूल मनपर्छ। फलफूलमा पनि आँप र सुन्तला सबभन्दा बढी मनपर्छ। अहिलेको सिजनमा पनि सुन्तला धित मर्ने गरी खाइयो। अब आँपलाई पर्खिन्छु।
तपाईंको स्वास्थ्य कस्तो छ?
लामो समय वारूणयन्त्रमा काम गर्दा आगो निभाउन हिँडिरहनुपर्यो। साँघुरो गल्ली, घर र कोठाभित्र आगो निभाउन जाँदा त्यसको धुवाँले गर्दा दमको समस्या देखिएको छ। नियमित औषधि लिनुपर्छ। जागिर अवधि अझै तीन/चार वर्ष बाँकी थियो, दम देखिएपछि छिटो अवकाश लिएँ। पहिले माछामासु, मदिरा सबै खान्थेँ। त्यति बेला मधुमेह, उच्च रक्तचाप पनि थियो। अहिले खानपान शाकाहारी बनाएपछि मधुमेह र उच्च रक्तचाप पनि निको भएको छ।
आगो निभाउन जाँदा कहिल्यै केही घटनामा पनि पर्नुभयो कि?
आगोले पोल्ने त कहिल्यै भएन। धुवाँमा निसास्सिएर दुईपटक ढलेको छु। एकपटक बुटवलको बेलबास र अर्कोपटक तिलोत्तमाको मणिग्राममा आगो निभाउन दमकल लिएर गएको थिएँ। पाइप बिछ्याउँदै जाँदा निसास्सिएर ढलेछु।
पछि अरूको सहयोगले हातखुट्टाले घस्रिएर बाहिर निस्किएँ। त्यति बेला कुनै तालिम पनि थिएन, अहिले त तालिमले पनि धेरै सचेत बनाएको छ। त्यो घटनाले मलाई एउटा सिकाइ पनि दिएको छ, आगो लागेको ठाउँमा धुवाँ माथिमाथि उड्दै जाने भएकाले आफू सुरक्षित हुन भुइँमा घस्रिएर बाहिर निस्किन सके ज्यान जोगाउन सकिने रहेछ।
कत्तिको निदाउनुहुन्छ?
निद्रा त राम्रै लाग्छ। दैनिक रूपमा योग-प्राणायाम गर्ने भएकाले होला, राम्रोसँग निद्रा पर्छ।
तपाईं सबभन्दा धेरै खुसी कहिले हुनुभएको थियो?
२७ वर्षपहिले ठूलो छोरी जन्मिँदा सबभन्दा धेरै खुसी भएको थिएँ। पहिले छोरा जन्मिएर खेर गएको थियो। त्यो पीडा बिर्साउने छोरी जन्मियो भनेर पनि होला। जब छोरीलाई काखमा लिएर उसको अनुहार हेरेँ, अचम्मको खुसी भएको थिएँ। हामी पाँच जना दाजुभाइको दिदीबहिनी नभएकाले मलाई छोरी मनपर्थ्यो। छोरीको जन्मले खुसीसँगै जिम्मेवारी बोध पनि गराएको थियो। त्यत्तिको खुसी अहिलेसम्म अरू केहीले दिन सकेको छैन।
तपाईंलाई सबभन्दा धेरै चित्त दुखाएको नि?
जुन छोरीले सबभन्दा धेरै खुसी दिएकी थिई, सबभन्दा धेरै चित्त पनि उसैले दुखाएकी छ। छोरीलाई नर्स बनाउने मेरो ठूलो सपना थियो। प्लस-टु पास गरेपछि २०७० सालतिर मैले नर्सिङ कलेज भर्ना पनि गरिदिएँ। तर छोरीले नपढेर बीचमै छाडिदिई। छोरीको त्यो निर्णयले मेरो चित्त साह्रै दुखेको थियो। अहिले त बिर्सिँदै गइयो।
तपाईंको मनमा रहिरहेको पिर के छ?
त्यस्तो ठूलो पिरलो त केही छैन। तैपनि मान्छेले एउटा न एउटा कुरा मनमा लिएको हुन्छ, त्यसैले उसलाई पिर पनि थपिदिएको हुन्छ। म जसरी योग, ध्यान, प्राणायामतिर लागेको छु, छोराछोरी, परिवार पनि त्यतै लागे हुन्थ्यो भन्ने लाग्छ। अहिलेसम्म त कसैले त्यस्तो बाटो बिराएका छैनन्, पछि पनि सही बाटोमा हिँडून् भन्ने लाग्छ।
तपाईंको इच्छा के छ?
त्यति ठूलो इच्छा त छैन। छोराछोरीलाई राम्रोसँग घरजम गराइदिएर उनीहरू खुसी साथ बसेको देख्ने इच्छा छ। मैले गर्नुपर्ने सबै कर्तव्य पूरा गरेको छु। मैले बाल्यकालमा धेरै दुःख भोगेको भएर मेरा बालबच्चाले दुःख भोग्नु नपरोस् भन्ने लाग्छ।
तपाईंले के दुःख पाउनुभएको थियो?
बुबाले दुइटा बिहे गर्नुभएको थियो। हामी सन्तान पनि धेरै थियौं। मेरो आमा, बुबाको कान्छी श्रीमती भए पनि हामी पाँच भाइ थियौं। मलाई पढ्ने ठूलो इच्छा थियो। धेरै सन्तान र आर्थिक अवस्था कमजोर भएकोले ६ कक्षाभन्दा माथि पढ्न पाइनँ।
राजनीतिप्रति कत्तिको चासो लाग्छ?
खासै चासो लाग्दैन। बल, जोस, जाँगर हुञ्जेल जीवनकै लागि संघर्ष गर्दै दिन बिते। अध्यात्मतिर लागेपछि अरू क्षेत्रको त्यति चासो लाग्दैन।
कोही नेता मनपर्छ?
काठमाडौंका मेयर बालेन शाह मनपर्छ। उनको काम गर्ने तरिका, बोल्ने तरिका सबै मनपर्छ। आफ्नो कार्यकालमा काठमाडौंका लागि केही गर्छन् भन्ने पनि आशा छ।
गएको निर्वाचनमा कसलाई भोट दिनुभयो?
मिसमास गरेर भोट हालेको हो। निर्वाचनमा उठ्दा पनि त्यसै गरेर उठेका थिए। वडामा माओवादीलाई, मेयर र प्रदेश सांसदमा नेपाली कांग्रेसलाई र संघमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हालेको थिएँ।
अहिले चुनाव भयो भने कसलाई भोट हाल्नुहुन्छ?
राष्ट्रिय स्वतन्त्र पार्टीलाई भोट हाल्छु।
***