(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी, आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दुःखसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
व्यक्तिगत कामको सिलसिलामा वीरेन्द्रनगर–१४ गढी गएका बेला मेरो भेट याम प्रसाद भण्डारीसँग भएको थियो।
मैले उनीसँग करिब बीस मिनेट गढीको इतिहास, त्यहाँका आम मानिससँग जोडिएका सरकारी योजना, योजना कार्यान्वयनको अवस्था लगायत विषयमा अनौपचारिक गफ गरेको थिएँ।
व्यक्तिगत परिचय र पारिवारिक अवस्थाका बारेमा पनि कुरा भयो। भण्डारीले वैदेशिक रोजगारीको सिलसिलामा ६ वर्ष मलेसियामा बिताएका रहेछन्। विविध कारणले राम्रोसँग पढ्न नपाएका उनी कृषिमा रूचि राख्छन्। देशमा भएको सशस्त्र द्वन्द्व, सिँचाइको अभाव लगायत कारणले पहिले सोचेअनुसार व्यावसायिक रूपमा कृषि गर्न भने सकेनन्।
विदेशबाट फर्किएपछि पनि भण्डारी कृषि कर्म नै गरिरहेका छन्। तर अहिले पनि कृषिलाई व्यावसायिक बनाएका छैनन्। आफ्नो परिवारलाई पुग्ने अनाज उत्पादन गर्छन्।
उनलाई लाग्छ — नागरिक आफैंले केही गर्न खोज्यो भने राज्यले सहयोग गर्दैन!
केही मिनेटको अनौपचारिक कुरापछि मात्र मैले आफ्नो पेसागत परिचय दिएँ। सेतोपाटीले सुरू गरेको 'हामी आममान्छे' शृंखला र यसको उद्देश्यबारे पनि बताएँ।
भण्डारीले भने — लौ न त जानेको कुरा भन्ने त हो, कुरा गरौं!
उनको घर लेखगाउँ जाने सडकको उत्तरतर्फ छेउमै छ। घर नजिकैको घुम्ती पसलमा भेटिएका उनलाई मैले सोधेँ — अहिले के गरिरहनुभएको छ?
सामान्य खेती गरिरहेको छु। धेरै जग्गा छैन, सिँचाइ पनि छैन। आफ्नो परिवारलाई पुग्ने गरी अन्न उत्पादन गरिरहेको छु।
तपाईंलाई मनोरञ्जनमा के गर्न मन पर्छ?
म फिल्म हेर्ने, गीत सुन्ने खासै गर्दिनँ। म प्रायः जसो समाचारमा ध्यान दिन्छु। मेरो लागि मनोरञ्जन भने पनि, ज्ञान प्राप्त गर्ने माध्यम भने पनि सामाजिक सञ्जाल तथा युट्युबमा आएका भिडिओहरू हुन्। खाली समय हुँदा हेर्छु। त्यसमा पनि विकसित देशहरूमा कसरी विकास भइरहेको छ, त्यहाँका अभ्यास के छन्, राजनीति कस्तो छ भनेर विषय समावेश भएको भिडिओ बढी हेर्छु। विकसित देशहरूले कसरी प्रगति गरे भन्नेमा मेरो चासो भइरहन्छ। यसैलाई मैले आफ्नो मनोरञ्जनका रूपमा पनि लिएको छु।
तपाईंलाई मन पर्ने खानेकुरा कुन हो?
म प्रायः बेलुकापख रोटी खान्छु। मलाई खानामा विशेष मन पर्ने भनेको ढिँडो हो।
अन्तिम पटक ढिँडो कहिले खानुभएको थियो?
म त करिब हरेक हप्ता वा पन्ध्र दिनमा खाइरहन्छु। हामीले अहिले पनि दुइटा भैंसी पालेका छौं। दही, मोही वा कुनै तरकारीसँग बेलाबेलामा ढिँडो बनाएर परिवारले नै खान्छौं।
तपाईंंको स्वास्थ्य कस्तो छ? राम्रोसँग निद्रा पर्छ?
मलाई अहिलेसम्म स्वास्थ्यका कारण निद्रा नपरेको भन्ने छैन। कहिलेकाहीँ विशेष चिन्ता भएको कुरा फरक भयो। म बाल्यकालदेखि नै सात घन्टाभन्दा बढी सुतेको छैन। कहिलेकाहीँ झुक्किएर आठ घन्टासम्म सुतेँ होला। म धेरैजसो व्यस्त रहने भएर पनि चाहिनेभन्दा बढी समय सुतेको छैन।
तपाईंलाई ठिक्क मूल्यमा खाने, लगाउने वा उपहार दिने यो कुरा किन्न पाएको भए हुन्थ्यो भन्ने मनमा लागेको छ?
म खासमा महँगो वा ब्रान्डेड भनिने कुनै पनि कुरामा चासो दिन्नँ। मलाई यही लगाउन पाए हुन्थ्यो वा यही किनेर खान पाएको भए हुन्थ्यो भन्ने मनमा कहिल्यै लागेन। म सबै कुरा सामान्य नै हेर्छु। आवश्यकताका आधारमा मात्र किन्छु।
के कुराले तपाईंलाई आनन्द लाग्छ?
मलाई त ढिँडो खाएको दिनमा बडो आनन्द आउँछ। सानोमा ढिँडोको महत्व थाहा पाइएन, अहिले महत्व बुझेको छु। त्यसैले बेलाबेलामा खान्छु। ढिँडो खाएको दिन आज त 'स्पेसल' खाइयो है भनेर आनन्द लाग्छ।
एकदमै चित्त दुखेको कुनै समय छ?
छ नि!
मेरो श्रीमती घाँस काट्न जाँदा २०७१ सालमा रूखबाट खसिन्। उनलाई मैले ४५ दिनसम्म बेडमा राख्नुपर्यो। श्रीमतीको त्यस्तो अवस्था थियो, उनी दुर्घटनामा परेको १५ दिनपछि छोरा मोटरसाइकल दुर्घटनामा पर्यो। लखनउको अस्पतालमा १५ दिन आइसियूमा राख्दा पनि छोराको होस आएको थिएन।
मैले त्यतिबेला सबै कुरा एकैपटक गुमाएँ जस्तो महसुस गरेको थिएँ। एकदमै दुःखी भएँ। आफूसँग भएको सबै सकियो जस्तो लागेको थियो।
एकदमै खुसी भएको समय चाहिँ कुन थियो?
त्यही घटनाको समाधानले हो मलाई जीवनमा एकदमै खुसी बनाएको।
श्रीमती दुर्घटनामा परेर डाक्टरले ४५ दिन बेडमा आराम गर्न सुझाव दिएका थिए। ६ महिनासम्म बेल्ट बाँध्न सुझाव दिएका थिए। त्यही बेला छोरो दुर्घटनामा परेर लखनउ पठाएको थिएँ।
दुर्घटनामा परेको ४५ दिनपछि श्रीमती अलिअलि हिँड्न सक्ने भएकी थिइन्। मैले उनलाई अभ्यास गराउन हात समातेर डोहोर्याउँदै हिँडाइरहेको थिएँ। घरभन्दा करिब दुई मिटर परको छेडा भन्ने ठाउँसम्म पुर्याएको थिएँ। झ्याप्पै छोरो पनि लखनउबाट निको भएर त्यहीँ आइपुग्यो। दुवै आमाछोरा निको हुँदै गरेका अवस्थामा जम्काभेट भयो।
मेरो जीवनमा त्यति बेला जस्तो खुसी कहिल्यै आएको थिएन। मेरो त आँशु नै आउन खोजेको थियो, तर अरू देख्ने मान्छेले नमजा मान्लान् भनेर रोकेँ। आफूले कुकर्म नगरेपछि भगवान आफ्नै साथमा हुने रहेछन् भन्ने त्यो बेला मलाई लागेको हो।
आशा गरिरहेको तर पूरा नभएर मन पिरोलिएको केही कुरा छ?
मसँग त्यस्तो केही पनि छैन। मलाई जे छ, त्यहीले पुगेको छ भन्ने लाग्छ। एक त मैले गुमाइसकेँ भनेको परिवारका सदस्य पाएको छु। त्यसले नै मलाई अहिलेसम्म पिरोलिन दिएको छैन। मेहनत हामी सबै परिवारले गरेका छौं। हाम्रो परिश्रमले सुख नै छ।
तपाईंलाई आफ्नो देशको मन पर्ने नेता को छन्?
बोली सबैको मन पर्छ तर उनीहरूले काम गर्ने वा निर्देशन दिने शैली मनै परेको छैन। अहिले सञ्चारको सुविधाले सबै नेताको कुरा सुन्न पाइएको छ। मलाई बोलीको हिसाबले भिम रावल मन पर्छ। अरूलाई असर नपर्ने गरी बोल्ने नेता डा. चन्द्र भण्डारी मन पर्छ। व्यवहारले कताकता पुर्याए पनि बोल्दाखेरि चयन गर्ने शब्दावलीका हिसाबले कृष्णबहादुर महरा पनि मन पर्छ। अहिले आएका नयाँ युवा नेताहरूको त हेर्न बाँकी छ।
गएको चुनावमा कसलाई भोट दिनुभयो?
मैले अहिलेसम्मका निर्वाचनमा कांग्रेसका उम्मेदवार र गठबन्धन गरेका बेला कांग्रेसले समर्थन गरेका उम्मेदवारलाई नै भोट हालेको छु।
अब निर्वाचन भयो भने कसलाई भोट दिनुहुन्छ?
समय परिवर्तनशील छ। कसले कस्तो एजेन्डा ल्याउँछ भन्ने कुरामा पनि भर पर्छ। अब त दलभन्दा पनि पूरा हुनेखालका वास्तविक एजेन्डा नै हेर्नुपर्छ होला।