(लोकतन्त्रमा सबभन्दा निर्णायक आममान्छे हुन्। उनीहरूको राजनीतिक हक-अधिकार मात्र होइन, लोकतन्त्रले उनीहरूको व्यक्तिगत जिन्दगी र दु:खसुख पनि छुनुपर्छ। ती आममान्छेले राजनीति, दल र नेताबारे के सोच्छन् भन्ने पनि लोकतन्त्रमा उत्तिकै महत्त्वपूर्ण कुरा हो। 'हामी, आममान्छे' शृंखलामा सेतोपाटीले देशका विभिन्न ठाउँ गएर त्यहाँका आममान्छे आफ्नो जिन्दगी, दु:खसुख र देशका नेताबारे के सोच्छन्, त्यससम्बन्धी कुरा गर्नेछ — सम्पादकीय नोट)
हामी आममान्छे
दिदी नमस्ते! आज म तपाईंसँग कुरा गर्न आएको नि भन्दा उनी अलमलमा परिन्।
मैले आफू पत्रकार भएको बताएँ। उनी झनै अलमलमा परिन्।
मैले आफ्नो सबै परिचय दिएपछि उनले मलाई तरकारी ल्याएको पहेँलो बोरा दिइन्, ओच्छाएर बस्न भनिन्।
हरेक साता शनिबार र बुधबार उनी पाल्पाबाट तरकारी बेच्न बुटवल आउँछिन्। केही आफ्नै बारीमा उब्जिएका र केही छिमेकी किसानले उब्जाएका सागसब्जी बोकेर बुटवल ल्याएर बेच्न थालेको ७/८ वर्ष भइसक्यो।
गत शनिबार मैले उनलाई बुटवल हाटबजारमा एउटा घरको पेटीमा सागसब्जी फिँजारेर बसिरहेको अवस्थामा भेटेकी थिएँ।
उनको नामः तिलकुमारी कार्की
उमेरः ४२ वर्ष
घरः पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ६, मस्याम
मैले सोधेँ, दिदी, व्यापार कस्तो छ?
ठिकै छ, हिउँदमा त्यति धेरै हुँदैन। दिनमा सात/आठ हजार रूपैयाँको बिक्री हुन्छ। त्यसबाट एक हजार–पन्ध्र सय रूपैयाँ बचत हुन्छ। वर्षायाममा भने सागसब्जी धेरै बिक्छ। दस/बाह्र हजार रूपैयाँसम्मको व्यापार हुन्छ। त्यसबाट दुई/तीन हजारसम्म बचत हुन्छ। वर्षायाममा महिनामा २५/३० हजार रूपैयाँ सजिलै बचत गर्न सकिन्छ। अहिले पनि १५/२० हजार त भइहाल्छ।
तरकारी कहाँबाट ल्याउनुहुन्छ?
धेरैजसो गाउँमै अरू किसानको बारीमा पुगेर किनेर ल्याउँछु। केही आफ्नै बारीमा पनि उब्जाएकी छु।
ल्याएको सबै तरकारी बिक्री हुन्छ?
कहिलेकाहीँ सबै बिक्छ, कहिलेकाहीँ फर्काएर पनि लैजानुपर्छ। सिपचना, केराउ, सिमी, खुर्सानी, फर्सी जस्ता तरकारी त अर्को दिन बिक्री गर्न पनि हुन्छ। सागपात छ भने बिग्रिन्छ भनेर सस्तैमा भए पनि बेचेर जान्छु।
घरमा को को हुनुहुन्छ नि?
अहिले त म एक्लै छु। दुइटी छोरी छन्, बिहे गरेरगइसके। १२ वर्षको छोरा पनि ठूली छोरीसँग बसेर पढ्छ।
श्रीमान नि?
१२–१३ वर्ष भयो सम्बन्ध विच्छेद गरेर बसेको। उहाँले अर्को बिहे गरेपछि सँगै बस्न सकिएन। एक्लै संघर्ष गर्दैछु।
तपाईंलाई व्यापारबाहेक अरू के गर्न मन लाग्छ, नाचगान गर्न, फिल्म हेर्न, के गर्दा रमाइलो लाग्छ?
त्यस्तो रमाइलो गर्न मन लाग्ने भन्ने नै छैन। गीत गाउन त आउँदैन। गाउँघरमा तीज, भजन हुँदा कहिलेकाहीँ नाच्न मन लाग्छ। फिल्म पनि हलमा गएर हेरेको त १२–१३ वर्षभन्दा धेरै भयो होला। हिन्दी फिल्म 'देवदास' हेरेको सम्झना छ। अहिले भने मोबाइलमा, घरमा टिभी छ त्यसैमा लोकदोहोरी हेर्छु।
सबैभन्दा मन पर्ने खानेकुरा के हो?
मलाई सबैभन्दा मन पर्ने चिकेन बिरयानी हो।
पछिल्लो पटक कहिले खानुभयो?
गएको तीजमा घरमै बनाएर खाएकी थिएँ। छोराछोरी घर आएको बेला चाडपर्वमा बनाएर खान मन लाग्छ। आफैं बनाउँछु।
स्वास्थ्य कस्तो छ?
ठूलो समस्या त छैन। बाथ र युरिक एसिड छ। दायाँ हत्केला राम्रोसँग मुठ्ठी पार्न मिल्दैन। औंला सिधा बनाउन मिल्दैन। बायाँ खुट्टाको पनि गोलिगाँठा, घुँडा दुख्छ।
राति कत्तिको निदाउनुहुन्छ?
गाउँमा दिनभरि उकालो ओरालो गर्दै काम गर्नुपर्छ। बारीमा तरकारी खेतीपाती पनि लगाएकी छु। दिनभरि थाकिएकाले होला, राति मस्त निद्रा लाग्छ। साँझ ८/९ बजे निदाइसक्छु। बिहान ३/४ बजेतिर आँखा खुल्छ। निद्रा परेन भन्ने अहिलेसम्म छैन। पहिले घरमा श्रीमान-श्रीमतीको बीचमा झैझगडा भएको बेला निद्रा पर्दैन थियो। अहिले छोराछोरी बिरामी छन् भने निद्रा लाग्दैन। नभए मस्त निदाउँछु।
तपाईंलाई ठिक्क पैसामा यस्तो चिज किन्न पाए हुन्थ्यो भन्ने के छ?
यस्तो किन्ने भन्ने नै केही छैन। फेसन चलेर उत्तिबेलै हराउने चिज मलाई खासै मन पर्दैन। फेसन नजाने चिज दुई/चार वर्षसम्म एउटैले चल्छ। पैसा भयो भने छोराछोरीलाई लुगा किनिदिन पाए हुन्थ्यो भन्ने लाग्छ।
पछिल्लो पटक धेरै खुसी कहिले र के कारण हुनुभएको थियो?
नौ महिना पहिले ठूली छोरीबाट नाति जन्मिएका बेला सबैभन्दा धेरै खुसी भएकी थिएँ। खुसी त कान्छी छोरीबाट नातिनी जन्मिदा पनि भएँ। तर नाति जन्मिने बेला म आफैं अस्पतालमा भएकाले पहिलोपटक काखमा लिँदा धेरै खुसी भएकी थिएँ।
सबैभन्दा चित्त कहिले दुखेको थियो नि?
श्रीमानसँग सम्बन्ध विच्छेद हुँदा सबैभन्दा बढी चित्त दुखेको थियो। त्यति बेला मेरो जिन्दगी सकियो भन्ने लागेको थियो। तर त्यो होइन रहेछ। त्यसपछि बल्ल मेरो संघर्ष र जिन्दगी सुरू भयो जस्तो लाग्छ।
तपाईंको मनमा बसिरहेको कुनै पिर छ?
अरू त होइन, बाथ र युरिक एसिड छ। अहिले कहिलेकाहीँ हातखुट्टा दुख्दा पछि चल्नै नसक्ने हुन् कि भन्ने पिर लाग्छ। काठमाडौंका अस्पतालसम्म पुगेर डाक्टरहरूलाई देखाउँदा पूरै सञ्चो हुँदैन भन्नुभएको छ। त्यही कुरा मनमा रहिरहेको छ।
तपाईंलाई जिन्दगीमा के भइदियोस् भन्ने सपना छ?
छोरो अहिले सानै छ। कम्तीमा उसलाई राम्रोसँग पढाएर बिहे गरिदिने र कतै जागिरमा लागेको देख्न पाए हुन्थ्यो भन्ने छ। त्योभन्दा ठूलो इच्छा केही छैन।
तपाईंलाई मन पर्ने राजनीतिक नेता कोही छ?
पुराना नेता त कोही पनि मन पर्दैन। मन पर्ने काम पनि केही गरेका छैनन्। नयाँ नेताहरूले पनि काम गरेको देख्न अझै पाइएको छैन। तर रवि लामिछाने र बालेन शाह मन पर्छ। उनीहरूले केही गर्छन् कि भन्ने आशा पनि छ।
गएको चुनावमा कसलाई भोट दिनुभएको थियो?
गाउँमा राष्ट्रिय स्वतन्त्र पार्टीको लहर चलेको थियो, उसैलाई दिएकी थिएँ।
अहिले चुनाव भयो भने कसलाई दिनुहुन्छ?
अहिले त मान्छे हेरेर दिन्छु। जसले युवाका लागि केही काम गर्छु भन्नेलाई उठाउँछ, उसैलाई भोट दिन्छु।
(हामी आममान्छे शृंखलाका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)