नेपाल कति बन्यो, कति बिग्रियो — यो सापेक्षतामा हेर्नुपर्ने विषय हो।
कुनै पनि देश भनेको क्षेत्रफल मात्र होइन, भूगोल हो, जमिन पनि हो। पूर्वाधार हो, पहुँच पनि। नागरिक हो, उसको हक पनि। परिवार हो, व्यक्ति पनि। लोकतन्त्र हो, स्वतन्त्रता पनि। त्यसैले देश बनेको वा बिग्रेको देखाउने सूचक फरकफरक हुन सक्छन्, आधारहरू धेरै हुन सक्छन्।
यी सबै पक्षलाई निरपेक्ष रूपमा हेरेर विश्वका विकसित मुलुकसँग तुलना गर्ने हो भने नेपाल बनेन भन्ने निष्कर्षमा तुरून्तै पुग्न सकिन्छ। तर नेपालका आफ्नै विशेषता र समस्या छन्। त्यसैले नेपाल बन्यो कि बनेन भन्ने विषय निरपेक्ष रूपमा हेर्न मिल्दैन, सापेक्षतामै हेरिनुपर्छ।
सापेक्षित रूपमा हेर्न मैले मेरो गाउँ पुम्दीभुम्दीलाई आधार बनाएको छु। यसलाई हेरेर पहाड तथा हिमालका दुर्गम र तराइका पिछडिएका ठाउँमा पनि यस्तै परिवर्तन भएको छ भनेर ठ्याक्कै भन्न मिल्दैन र भएको पनि छैन। तर पछिल्लो तीस-पचास वर्षमा पुम्दीभुम्दीमा भएका परिवर्तन समग्र नेपालका परिवर्तनका आधार पक्कै हुन्।
पोखरा सहरनजिक रहेको पुम्दीभुम्दीलाई २०२७ सालमै राजमार्गले छोएको हो। मैले आफ्नो स्मरण हुने उमेरदेखि नै गाउँमा कालोपत्रे बाटो देखेको हुँ। पोखरादेखि सुनौलीसम्मको सिद्धार्थ राजमार्ग मेरो गाउँको झन्डैझन्डै बीच हुँदै गएको थियो। सानैमा बस, ट्याक्सी, ट्रक, ट्यांकर, डबलडेकर बस लगायत सवारीसाधन देख्न पाएँ।
सडकलाई विकासको सूचक मान्ने हो भने मेरो गाउँमा विकास २०२७ सालमै पुगेको हुनुपर्थ्यो। तर पोखरादेखि नौबिसेसम्मको पृथ्वी राजमार्गलाई हेर्दा राजमार्ग मात्र देखिन्थ्यो, त्यस वरिपरिका बस्तीमा विकास पुगेको कहिल्यै देखिएन। मेरो गाउँ पनि त्यस्तै थियो। गाउँको बीच हुँदै सिद्धार्थ राजमार्ग गए पनि वरिपरिका खास बस्तीमा विकास गएन। दैनिक उपभोग्यदेखि आवश्यकताका हरेक सामान किन्न पोखरा बजार धाउनुको विकल्प त्यहाँसम्म पुगेन। पोखरा जान सुनौली, बटौलीदेखि आउने मोटर कुर्नुपर्थ्यो। मोटरमा उभिने ठाउँ हुँदैन थियो। कोचमकोचमा झुन्डिएर यात्रा गर्नुपर्थ्यो।
अहिले यो अवस्था छैन।
सिउँदो काढिएझैं गाउँको बीच हुँदै गएको राजमार्गको ठाउँ ठाउँमा पहुँच मार्ग बनेका छन्। गाउँमा ग्रामीण कृषि सडकले साविकका सबै वडा छोएको छ। मानिसहरूले घरनजिकै तरकारी र सागसब्जी किनबेच गर्न पाएका छन्। आफूले फलाएका वा उत्पादन गरेका वस्तु बजार लैजान पनि सहज छ। सवारीसाधनको समस्या छैन। प्रायः सबैका घरमा मोटरसाइकल वा स्कुटर छ।
गाउँगाउँमा खाद्यान्न पसलहरू छन्। सामान किन्न पोखरा जानै पर्दैन। जानै परे पनि सकस छैन। यातायात सुविधा पर्याप्त र पहुँचयोग्य छ। अझ फोन गरेर भनेकै भरमा केही समयपछि सामान घरमै आइपुग्छ।
सडक र यातायातले आजभन्दा तीस-पचास वर्षअगाडिको तुलनामा पुम्दीभुम्दी र यहाँका बासिन्दाको दैनिक जीवन धेरै सहज बनाएको छ।
पुम्दीभुम्दी दक्षिणतिर फर्केर बसेको डाँडाबस्ती हो। यसको उत्तरतिरको पानीढलोमा फेवाताल पर्छ। उत्तरतिरको पानीढलो आसपासको बस्ती बाक्लो छैन। दक्षिणतिरको पानीढलोमा भने बाक्लो छ। गरा पद्धतिका बारी र खेत भएको यो गाउँमा उब्जाउ फाँट छैन। मानिसहरू त्यही बारी र खेतमा काम गरेर जीवन निर्वाह गर्थे। गुरूङ समुदायका युवा भारतीय र ब्रिटिस सेनामा भर्ती हुन्थे। सरकारी नोकरी निकै दुर्लभ थियो। गाउँका स्कुलमा गाउँकै शिक्षक हुन्थे।
मेरो प्राथमिक शिक्षा लक्ष्मी प्राइमरी स्कुलबाट सुरू भएको थियो। मेरो गाउँका प्रायः सबै केटाकेटी स्कुल जान्थे। स्कुलमा जम्मा दुइटा कोठा थिए जसमा चारवटा कक्षा चल्थे — शिशुदेखि चारसम्म।
एउटा कोठामा दुईतिर दुइटा कक्षा पढाइन्थ्यो। शिक्षक जम्मा दुई जना थिए — एक जना एसएलसी उत्तीर्ण र अर्का एसएलसीसम्म नपुगेका।
कालोपाटी, चक र केही थान पाठ्यपुस्तक कक्षाका सम्पत्ति थिए। विद्यार्थीसँग लेख्नका निम्ति एउटा सिसाकलम हुन्थ्यो। सबै विषय एउटै कापीमा अटाउनुपर्थ्यो। शौचालय छँदै थिएन। स्कुलका कुनाहरू चर्पीका रूपमा प्रयोग हुन्थे। खानेपानी पनि थिएन। हामी विद्यार्थीहरू एउटा प्लास्टिकको जर्किनमा पालैपालो पँधेराबाट पानी ल्याउँथ्यौं।
स्कुलमा अरू सहयोगी वा 'पाले' थिएनन्। कक्षाकोठा कुचो लगाएर सफा गर्ने जिम्मा विद्यार्थीको थियो। घन्टी बजाउने जिम्मा शिक्षकको। कक्षाकोठामा ढोका थिएन, अफिस कोठामा मात्र थियो। ढोका लगाउने जिम्मा पनि शिक्षककै थियो।
खेल र अतिरिक्त क्रियाकलाप भनेकै हुतुतु, रूमाल लुकाइ, भाले जुधाइ लगायत थिए। हामी त्यसमै रमाउँथ्यौं।
अहिले त्यही लक्ष्मी प्राइमरी स्कुल कक्षा आठसम्म पढाइ हुने विद्यालय भएको छ। यहाँ आधुनिक कक्षाकोठा बनेका छन्। प्रत्येक कक्षाका लागि छुट्टै कोठा छन्। हरेक कक्षामा एक जना शिक्षक छन्, सबै योग्यता पुगेका।
स्कुल सफा छ। शौचालय छ। खानेपानीको राम्रो प्रबन्ध छ। बिजुली छ। स्कुल वरिपरि पर्खाल लगाइएको छ। सार्वजनिक समारोह गर्न मञ्चको व्यवस्था छ। पुस्तकालय छ। कम्प्युटर छ। खेलकुदका सामान छन्। संगीतका सामान छन्। दाताहरूले समय समयमा विद्यार्थीका लागि पोसाक र स्टेसनरी वितरण गर्छन्। छात्रवृत्तिका लागि अक्षयकोष पनि व्यवस्था गरिदिएका छन्।
कक्षा ३ उत्तीर्ण भएपछि म कक्षा ४ पढ्न गाउँकै शुक्रराज निम्न माध्यमिक विद्यालय भर्ना भएँ। त्यस समयमा पुम्दीभुम्दी गाउँ पञ्चायतभरि छ-सातवटा प्राथमिक स्कुल थिए। निम्न माध्यमिक स्कुल भने त्यही एउटा शुक्रराज थियो। त्यसैले गाउँका सबै विद्यार्थी यही स्कुल पढ्थे।
चारदेखि सात कक्षासम्म पढाइ हुने शुक्रराजमा चार-पाँच जना शिक्षक थिए। पढाइ राम्रै थियो। हरेक कक्षाका लागि एक/एकवटा कोठा भए पनि शौचालय थिएन। स्कुल बस्तीभन्दा टाढा खुला चौरमा थियो। खुला चौर र खोल्साखाल्सी नै हाम्रा लागि चर्पी थिए।
यो स्कुलमा शिक्षकले नै ढोकाको ताला खोल्ने र घन्टी बजाउने काम गर्नुपर्दैन थियो। सरसफाइ लगायत यस्ता काम गर्ने सहयोगी थिए। स्कुलमा खानेपानी भने थिएन। प्रयोगशाला र पुस्तकालय पनि थिएन। खेलकुदमा अलि सक्नेले भलिबल खेल्थे। हामी दर्शक हुन्थ्यौं।
स्कुलमा केटाकेटीको संख्या लगभग समान थियो। विद्यालयको जग्गा धेरै भएकाले थोरै घेरामा मात्र पर्खाल थियो। जाडो याममा शिक्षकहरू चौरमा लगेर पढाउँथे। विद्यार्थीहरूको ध्यान चौरमा जुधेका गोरूको लँडाइतिर हुन्थ्यो।
जब म कक्षा सातमा पुगेँ, गाउँको निम्न माध्यमिक विद्यालयलाई माध्यमिक बनाउने जोडबल सुरू भयो। अन्ततः हामी पढ्दै गरेको स्कुल प्रस्तावित माध्यमिक विद्यालय हुने भयो। हामीभन्दा अगाडिका दाजुदिदीहरू माध्यमिक कक्षा पढ्न घर छाडेर बाहिर जानुपर्थ्यो। बाहिर जानुपरेका कारण दिदीहरू कतिले त पढाइ नै छोड्नुभयो। माध्यमिक कक्षा पढ्न पोखराका छोरेपाटन, बाराही, अमरसिंह जस्ता स्कुल मुख्य थिए।
हामी कक्षा आठमा पुगेपछि स्कुल प्रस्तावित माध्यमिक विद्यालय भयो। कक्षा सात पूरा गरी माध्यमिक कक्षा पढ्न जान नसकेका र नपाएका दिदीहरू पनि आठमा भर्ना हुन आउनुभयो। छिमेकी गाउँ चापाकोटदेखि माध्यमिक कक्षा पढ्न हाम्रो स्कुलमा आउन थाले।
कक्षा आठ त जसोतसो कक्षा सातसम्म पढाएका शिक्षकले नै पढाए। कक्षा नौ पुगेपछि भने समस्या हुन थाल्यो। कक्षा नौमा ऐच्छिक विषय छान्नुपर्ने थियो। हामीले ऐच्छिक गणित लिन चाह्यौं। स्कुलले शिक्षक नै पाइएन भन्यो। व्यावसायिक विषयमा आठ कक्षामा पढेकै कृषि हुनुपर्छ भन्यौं। स्कुलले कृषि पढाउने शिक्षक पाल्न सकिँदैन, शिक्षा-शिक्षण त जसले पनि पढाइदिन सक्छ भन्यो। यसरी विद्यार्थीले चाहेको विषय छान्न पाएनौं।
स्कुलमा गणित पढाउने शिक्षकको अभाव भयो। हेडसर र प्रधानपञ्चले बिएससी शिक्षक खोज्न निकै दौडधुप गर्नुभयो। पोखरा बजार नजिकैको गाउँमा पनि गणित विज्ञान पढाउने शिक्षक पाइएन। हामी शिक्षकको माग राख्दै दिनहुँ हड्ताल गर्थ्यौं। अनि हेडसरले भारतको गोरखपुर पुगेर अशोककुमार गुप्ता नामका शिक्षक ल्याउनुभयो। उहाँलाई नेपाली नआउने, हामीले हिन्दी नबुझ्ने। जसोतसो स्कुलबाट 'सेन्ट-अप' भएर चौध जना एसएलसीमा सम्मिलित हुन पुग्यौं। २०४२ सालमा चौध जनाले एसएलसी दिएकामा ५ जना मात्र उत्तीर्ण भयौं।
गाउँमा माध्यमिक विद्यालय नहुँदा बर्सेनि दुई जना एसएलसी उत्तीर्ण हुन्थे। हाम्रा पालामा पाँच जना भयौं। गाउँमा दिदीबहिनीहरूले घरमै बसेर कक्षा दससम्म पढ्न पाए। अति विशेष कारणबाहेक स्कुल छोड्ने अवस्था रहेन।
अहिले त्यही स्कुल, शुक्रराज माध्यमिक विद्यालयमा नर्सरीदेखि कक्षा १२ सम्म पढाइ हुन्छ। विद्यालयको अत्याधुनिक भवन छ। विद्यालयको पूरा जग्गा समेटेर पर्खाल लगाइएको छ। सुविधायुक्त शौचालय छन्। खानेपानीको व्यवस्था छ। कक्षा दस पूरा गरेकाले घरबाटै कक्षा बाह्रसम्म पढ्न पाएका छन्। विद्यालयमा अत्याधुनिक प्रयोगशाला, पुस्तकालय र कम्प्युटर ल्याब छ। इन्टरनेट सुविधा छ। योग्यता पुगेका शिक्षक छन्। प्राविधिक शिक्षामा पोखरादेखि विद्यार्थी आउँछन्। विद्यालयले आफ्नै बस व्यवस्था गरेको छ। बस्न चाहनेका लागि छात्रावासको पनि व्यवस्था छ।
विगतमा दुई-चार जना मात्र एसएलसी उत्तीर्ण हुने सिंगो गाउँमा अहिले प्रत्येक घरमा कम्तीमा स्नातक नपढेका व्यक्ति छैनन्। स्नातकोत्तर पूरा गर्ने पनि प्रशस्तै छन्। कतिपयले त विद्यावारिधि पनि गरेका छन्।
हामी पढेको स्कुलमा गणित विज्ञान पढाउने शिक्षकको अभाव लामो समयसम्मै रह्यो। गोखरपुरका अशोककुमार गुप्ता अन्यत्र गएपछि हेडसरले अर्को शिक्षक पनि गोरखपुरबाट ल्याउनुभएको थियो। हेडसर माध्यमिक शिक्षकबाट निजामती सेवाको सुब्बा जागिरे भएपछि अंग्रेजी शिक्षकको पनि स्थायी समाधान हुन सकेको थिएन।
अहिले शिक्षक खोज्न गोरखपुर जानुपरेको छैन। गाउँमै विभिन्न विषय र विधामा योग्यता पुगेका प्रशस्तै शिक्षक उत्पादन भएका छन्। छिमेकी पोखरामा त झन् प्रशस्तै छन्। तर युवाहरूको वैदेशिक पलायन नरोकिने भए, केही वर्षपछि गणित, विज्ञानका शिक्षक खोज्न हाम्रा हेडसर र प्रधानपञ्चझैं गोरखपुर जानुपर्ने दिन आउन बेर लाग्ने छैन।
छ-सातवटा प्राथमिक र एउटा निम्न माध्यमिक विद्यालय भएको हाम्रो गाउँमा अहिले तेह्र-चौधवटा आधारभूत र तीनवटा माध्यमिक विद्यालय छन्। पोखराका निजी लगानीका स्कुलले दैनिक तीन-चारवटा बसमा बिहान गाउँबाट विद्यार्थीलाई पोखरा ल्याउँछन् र बेलुका घरघर पुर्याइदिन्छन्। अहिले गाउँका स्कुलमा पढ्ने विद्यार्थी छैनन्। कुनै कुनै कक्षा त रित्तै छन्। गाउँमै सुविधासम्पन्न विद्यालयहरू भए पनि विद्यार्थी संख्या घटिरहेको छ। केही विद्यालय त एकआपसमा गाभिएका पनि छन्।
पुम्दीभुम्दीको साक्षरता दर बढेको छ, गाउँमा शिक्षितको दर बढेको छ। विद्यालयमा अध्ययन गरेका व्यक्तिहरू देश तथा विदेशमा काम गर्छन्। गाउँलेहरूको आम्दानीको स्रोत बढेको छ, सार्वजनिक स्कुलका सट्टा आफ्ना छोराछोरीलाई निजी लगानीका विद्यालयमा पढाएका छन्।
अहिले कक्षा नौदेखि कक्षा १२ सम्म प्राविधिक शिक्षाअन्तर्गत पशुविज्ञान पढाइ हुन्छ। देशमा प्राविधिक शिक्षाको आवश्यकता भनिए पनि यस्तो शिक्षा दिन खोलिएको पशुविज्ञानमा स्वीकृत कोटा जति पनि विद्यार्थी भर्ना भएका छैनन्। पर्याप्त पूर्वाधार भए पनि गाईभैंसी, भेडाबाख्रासम्बन्धी पढाइप्रति अभिभावक र विद्यार्थीको आकर्षण देखिँदैन।
गाउँभरिका स्कुलहरूलाई आधार मानेर माध्यमिक विद्यालयमा शिक्षा मन्त्रालय अन्तर्गतको स्रोतकेन्द्र स्थापना भएको थियो। यसको काम शिक्षकलाई पेसागत सहयोग दिई गुणस्तरमा सुधार गर्नु थियो। स्रोतकेन्द्र स्थापना भए पनि गुणस्तर माथि उठ्न सकेन। त्यसैले पछि स्रोतकेन्द्र हटाइयो।
शिक्षासँगै पुम्दीभुम्दीको कृषि र पेसा पनि पछिल्ला दुई-तीन दशकमा धेरै फेरिएको छ।
पहिले गाउँका समुदायको मुख्य पेसा कृषि नै थियो। तर उब्जाउयोग्य खेतबारी नभएकाले जीविकोपार्जनको मुख्य आधार पशुपालन बनेको थियो। गाउँका अधिकांश पुरूषहरू विदेशी सेनामा (भारतीय र बेलायती) भर्ती हुन्थे। बाँकी कृषि तथा पशुपालन गर्थे। पोखराको बजारमा लगेर दूध बेच्ने र त्यही पैसाले चामल किनेर गुजारा चलाउने परिपाटी थियो। बारीमा जे उम्रिन्थ्यो, तरकारी त्यही हुन्थ्यो। तरकारी लगाउने चलन त्यति धेरै पनि थिएन।
फलफूल भनेको खेतबारीमा आफैं उम्रेर हुर्केका बेलौती (अम्बा), सुन्तला, भोगटे, भुइँकटहर, आरूबखडा, आरू, केरा लगायत थिए। तर खेतीमा सेपिलो गराउने र केटाकेटीले टिप्नका लागि खेतबाली माड्ने हुँदा ती फलफूलका बोट पनि काटिन्थे। बजारबाट फलफूल किनेर खाने पैसा प्रायः मानिसहरूसँग हुँदैन थियो। त्यसैले फलफूल खान कि पाहुनाले ल्याइदिनुपर्थ्यो, कि बिरामी हुनुपर्थ्यो।
वनजंगलमा विभिन्न मौसममा पाइने चुत्रो, तिजु, कटुस, ऐंसेलु, बिमिरो, डम्फर, दइदालो, दमौरा, अमला, पानीअमला नै हामीले सित्तैमा खान पाइने फलफूल थिए। खेतबारीमा हुने निबारो, खनियो, बेडुलो, चिन्ने, बडहर र किमकाफल जस्ता डाँलेघाँसका फल पनि गाउँलेका लागि फलफूलका स्रोत थिए।
खेतीपाती निर्वाहमुखी थियो। गाउँलेहरू आफूलाई चाहिने अन्न, गेडागुडी, तोरी आदि आफैं उत्पादन गर्थे। खेतीपाती परम्परागत थियो। व्यावसायिक थिएन। कुनै आधुनिक यन्त्र पनि प्रयोग हुँदैन थियो। अन्नबाली उब्जाउ हुने जग्गा निकै कम थियो। जग्गा बाँझो कत्ति पनि हुँदैन थियो। बरू अरू जग्गा पाए अँधिया कमाउने चलन थियो। हरेक घरमा गाईभैंसी, गोरू, बाख्रा हुन्थे। खेतीपातीका लागि गोबर र कम्पोस्ट मल प्रयोग हुन्थ्यो। जग्गा कतै बाँझो नभएकाले बाँदरहरू पनि तलतल जंगलको छेउमै भुल्थे, घरघर आउँदैन थिए।
अहिले यहाँका अधिकांश जग्गा बाँझै छन्। सिँचाइको राम्रो सुविधा भएका जग्गामा पनि खेतीपाती गरिएको छैन। सधैं हराभरा हुने आँगनमुनिको बारी झाडी भएको छ।
अर्कातिर जहाँ खेती खेतीपाती भएको छ, त्यो व्यावसायिक रूपमा भइरहेको छ। उत्पादनले बजार खोजेका छन्। तरकारी खेतीलाई नै व्यवसाय बनाएका व्यक्तिहरू धेरै छन्। यस्तो खेतीमा आधुनिक बिउबिजन प्रयोग हुन्छ। उन्नत जात र नश्ल सुधार भएका पशुपन्छी पालिएका छन्। व्यावसायिक रूपमा गाईपालन तथा कुखुरापालन गरिएको छ। पकेट-क्षेत्र बनाएर सुन्तला खेती गरेका छन्। दुग्ध तथा तरकारी सहकारी समूह बनाएर गाउँलेहरू व्यावसायिक रूपमा जुटेका छन्। पुम्दीभुम्दीमै दुग्ध सहकारीको डेरी उद्योग खुलेको छ।
पहिले गाउँका अधिकांश घर खरले छाएका थिए। घर छाउन चाहिन्छ भनेरै खर लगाउने चलन थियो। दुई वर्षमा एकपटक घरको धुरी छाइन्थ्यो। पाली र कटेरोको छानो पनि खरकै हुन्थ्यो। ढुंगामाटाको घरलाई रातोमाटो र कमेरोले पोतेर चिटिक्क बनाइन्थ्यो। अहिले खरले छाएको घर देख्नै मुस्किल पर्छ। अधिकांश घर जस्ता पाताले छाएका छन्। कटेरो पनि जस्ताले नै छाएका छन्। घरआँगन सिमेन्टले प्लास्टर भएका छन्। ढलान घरहरू बन्ने क्रम पनि बढ्दै छ।
पहिले खानेपानीका लागि खोला र पँधेराको भर पर्नुपर्थ्यो। पानीको जोहो गर्न निकै समय खर्च हुन्थ्यो। घरहरूमा शौचालय छँदै थिएन। शौचका लागि सार्वजनिक चौर, खरबारी, वन, झाडी, जंगल जानुपर्थ्यो। नुहाउने कोठा (स्नानगृह) को त कुरै थिएन। सार्वजनिक पँधेरा र खोला नै नुहाउने ठाउँ थियो। साबुन हुँदैन थियो, ताउलामा खरानी पानीमा पकाएर पँधेरामा लगेर पाटीले पिट्दै लुगा धोइपखाली गरिन्थ्यो। अहिले सबै घरमा पक्की शौचालय छ। खानेपानीको धारा छ। कतिपयका घरमा स्नानगृह पनि छ। कतिपयले वासिङ मेसिन पनि राखेका छन्।
नयाँ कपडा लगाउन चाडपर्व कुर्नुपर्थ्यो। विद्यार्थीहरूले त स्कुलको पोसाकमै चाडपर्व मनाउँथे। उनीहरूलाई दसैंमा हालिदिने लुगा भनेकै स्कुलको पोसाक हुन्थ्यो। अरूले तीज वा दसैंमा एकसरो लुगा जुटाउँथे। अहिले बजारमा आउने फेसनले गाउँलाई छोइसकेको छ। विद्यार्थी उमेरकाले रोजाछाडी फेसनका लुगा पाउँछन्। काका-बाहरू कोटप्यान्टमा र काकी-आमाहरू थरीथरी सारीमा देखिन्छन्। एउटा समारोहमा लगाएको लुगा अर्कोमा लगाउन लाज मान्ने भइसके।
खाना पकाउन दाउरा बाल्ने चलन हराइसकेको छ। गोबर ग्यास, बिजुली र एलपी ग्यास प्रयोग अत्यधिक हुन्छ। ढिकी, जाँतो, घट्ट पनि प्रयोग हुन छाड्यो। होल्डर मिल पनि विस्थापित भइसके। विद्युत आपूर्तिका कारण ठाउँठाउँमा सेल्लर मिल चलेका छन्। चाडपर्वमा सेलरोटी बनाउन बिहानै उठेर ढिकी कुट्नु पर्दैन। गाउँमै कुटानी-पिसानी मिल छ। मसला पिस्ने सिलौटाको स्थान त ग्राइन्डर मेसिनले लिइसक्यो। लामो आरो लिएर काठ चिर्ने सिकर्मीहरू स-मिलमा गएर थोरै समयमै काठ चिराइको काम सक्ने भएका छन्। गाउँका ठाउँठाउँमा स-मिल देख्न पाइएको छ।
बेंसीतिर खेतमा जान बाटो खनिएको छ। पहिलेजस्तो धान, पराल मान्छेले आफ्नै ढाडमा बोक्नु पर्दैन। ट्र्याक्टर तथा साना ट्रकले नै बोकिदिन्छन्। खेतबारी जोत्न गोरू पाल्ने चलन हराइसक्यो। यसको स्थान हाते ट्र्याक्टरले लिएको छ। 'बोकाले दाइँ हुने भए गोरू किन चाहिन्थ्यो र!' भन्ने उखान काम नलाग्ने भइसक्यो। दाइँका लागि गोरू नचाहिने भइसक्यो। धान चुट्ने मेसिन पनि किसानसँग आइसक्यो।
पहिले गाउँमा सुत्केरी हुन नसकेका महिलालाई पोखराको अस्पतालसम्म लैजान सवारीसाधन पाइँदैन थियो। सुनौलीबाट आउने बस सामान्यतया गाउँमा रोक्थेनन्। यस्ता बस आउँदा गाउँलेहरू जम्मा भएर राजमार्गमै बाटो छेकेर बिरामीलाई बसमा चढाउँथे।
अहिले गाउँको वडामा एम्बुलेन्स छ। बिरामी हुँदा तुरून्तै पोखराको सुविधा सम्पन्न अस्पतालमा लैजान सजिलो छ। सञ्चार र बाटोको सुविधाका कारण पोखराबाटै एम्बुलेन्स र ट्याक्सी पनि तत्कालै बोलाउन सकिन्छ।
भुम्दीतिरका कालाबाङ र घरेटीतिर व्यवस्थित होमस्टे सञ्चालन भएको छ। स्थानीय घरहरूलाई साजसज्जा गरी चलाइएको आकर्षक होमस्टेमा स्थानीय उत्पादनलाई प्राथमिकता दिएका छन्।
गाउँगाउँमा मन्दिर तथा गुम्बाको निर्माण तथा संरक्षण भएको छ। पुम्दीकोटमा भूमेश्वर महादेवको पद्मासनको मूर्ति स्थापनापछि देश तथा विदेशका तीर्थारूको भिड लागेको छ। स्थानीय जग्गाजमिन प्रयोगमा आएका छन्। एक मुरी कोदो उत्पादन नहुने बारीमा पसल, रेस्टुरेन्ट, पार्किङ स्थल बनेका छन्। गाउँमा आर्थिक गतिविधि बढ्न थालेको छ।
म स्कुले विद्यार्थी हुँदा बिजुली बत्ती पुगेको थिएन। बेलुका घरमा पानसमा बत्ती बालिन्थ्यो। घरमा एउटै पानस थियो। पढ्नका लागि कपडाको सलेदो राखी 'चेलपार्क' मसीको बोतलमा मट्टीतेल हालेर बालिन्थ्यो। बीचमै बत्ती निभ्यो भने बाल्नका लागि सलाइ हुँदैन थियो। अँगेनाको अगुल्टो फूफू गरेर सल्काइन्थ्यो। २०४६ सालमा ग्रामीण विद्युतीयकरण अन्तर्गत बिजुली पुगेपछि गाउँघर झलमल्ल भयो। विद्यार्थीहरूले सजिलो किसिमले पढ्न पाए।
म विद्यार्थी नै हुँदा गाउँमा एकीकृत खेती आयोजना सञ्चालनमा थियो। यो आयोजनाका सम्बन्धमा अधिकांश गाउँलेहरू अनभिज्ञ थिए। केही देशी तथा विदेशी मानिसहरू गाउँमा खेतीपाती हेर्न आउँथे। गाउँलेहरू तिनै मानिसहरू देखेर मख्ख पर्थे।
सरकारले विकासका नाममा ल्याएको यो आयोजनाले धान, मकै, गहुँको परीक्षण उत्पादन गर्थ्यो। तर गाउँलेका जीवनमा खासै परिवर्तन ल्याउने किसिमले काम गर्न सकेन। झन्डै दस वर्ष रहेको यो आयोजना जसरी आयो, उसरी नै गयो।
त्यसै बेला गाउँमा भेटेरिनरी पनि खुलेको थियो। सरकारीस्तरको यो भेटेरिनरी पछि अन्तै कतै सर्यो कि बन्द भयो, गाउँबाट हरायो। यसले पनि गाउँलेको जनजीवनमा खासै प्रभाव पारेन।
पोखरा दुग्ध विकास आयोजनाले गाउँमा डेरी सञ्चालन गरेको थियो। यो पनि केही वर्षमा उठेर हिँड्यो। यसरी सरकारी स्तरका कार्यालयहरू गाउँमा स्थापना भए पनि गाउँलेहरूको सहभागिताबिना राम्रो काम गर्न सकेनन्।
माथिका प्रयासले देश बन्न सरकारी प्रयास मात्र पर्याप्त हुँदो रहेनछ भन्ने देखाउँछ। समयको परिवर्तन, शिक्षाको विस्तार, सूचना तथा सञ्चार प्रविधिको फैलावट, देश तथा विदेशको अनुभव र गाउँका मानिसहरूको केही गरौं भन्ने भावनामा देश बन्ने कुरा निर्भर हुँदो रहेछ!
स्कुल पढ्दा बर्खा याममा पानी पर्छ कि पर्दैन भनेर गाउँमा रेडियो भएको घरमा गएर बिहान सात बजेको समाचारको अन्त्यमा आउने मौसम सुनिन्थ्यो। 'आज अधिराज्यभरि मौसम सफा रहने छ' भने ओतो लैजान्न थियौं। 'आज बदली भई कतै कतै पानी पर्नेछ, 'मुसलधारे वर्षा हुनेछ' भन्ने सुने ओतो झोलामा हाल्थ्यौं। प्रायः सबै विद्यार्थीले पानी पर्दा पानीकागज ओढ्थे। छाता ओढ्ने त नगन्य नै हुन्थे।
अहिले प्रायः सबैका घरमा रेडियो छ। केबल टेलिभिजनको सुविधा छ। महाभारत र रामायण हेर्न सहरका हुनेखानेको घरमा पुग्ने गाउँबासीहरू अहिले हातको रिमोट घुमाइघुमाइ विभिन्न च्यानल हेर्न सक्ने भएका छन्। प्रायः सबैका हातमा मोबाइल फोन छ। प्रायः घरघरमा केबलमार्फत इन्टरनेट सुविधा छ। मोबाइलमा मौसम भविष्यवाणी हेर्दै दिनभरको योजना बनाउँछन्। पानीकागज त कसैले ओढ्नुपरेको छैन, छाता सबैसँग छ। विद्यार्थीहरू त रेनकोट ओढेर स्कुल जान्छन्।
गाउँभरि सूचना दिन बालीघरे प्रथाअन्तर्गत कटुवाल राख्ने चलन थियो। कटुवालले गाउँका टोलटोलमा गएर अग्लो ठाउँमा उभिएर गाउँलेलाई सूचनाको उर्दी सुनाउँथे। त्यही उर्दीलाई आधार मानी गाउँलेहरू सूचनामा भनिएअनुसार काम गर्थे। अहिले सबैसँग मोबाइल छ। वनजंगल जाँदा, खेतीपातीका लागि सल्लाह गर्दा र अन्य सूचना दिनुपर्दा पनि गाउँलेहरू घरघर जाँदैनन्, मोबाइलबाटै आदानप्रदान गर्छन्।
गाउँमा एउटा अतिरिक्त हुलाक थियो र अहिले पनि छ। पहिला अतिरिक्त हुलाकमा प्रशस्तै चिठी आउँथे। स्कुलका विद्यार्थीमार्फत चिठी घरघरमा पुग्थे। यस्ता चिठी अधिकांश व्यक्तिगत हुन्थे। अहिले चिठी आउँदैनन्। आए पनि कतैकतै सरकारी मात्र आउँछन्। मानिसहरू मोबाइलबाटै सबै सूचना र कागजात पठाउँछन्। अतिरिक्त हुलाक कार्यालय अहिले आएर साँच्चै अतिरिक्त भएको छ।
हाम्रा गाउँमा थुप्रै फिल्म सुटिङ हुन्थे। 'जीवन रेखा', 'के घर के डेरा', 'शान्तिदीप, 'कन्यादान', 'फेरि भेटौंला' जस्ता नेपाली फिल्मको सुटिङ यही गाउँमा भएको थियो। बजारबाट नजिक, यातायात सुविधा, ग्रामीण परिवेश र प्राकृतिक वातावरण आदिका कारण सुटिङका लागि उपयुक्त स्थान भएको हुन सक्छ। वर्तमान समयमा अझ धेरै सुविधा छ।
आँसी (हँसिया), कुटो, कोदाली आदि अर्चाप्ने, लुगाफाटा सिलाउने, गहना बनाउने, जुवामा राख्ने नाइरो (नारा) बनाउने आदि कामका लागि विशेष गरी दलित समुदायमा बालीघरे प्रथाअनुसार काम हुन्थ्यो। वर्षभरि विष्टको काम गरेपछि एकपटक बाली उठाउने चलन थियो। खेतीपातीका लागि बाली दिने सर्तमा हली लगाउने चलन थियो। अहिले बालीघरे प्रथा पूर्णतः हटेको छ। अर्चाप्ने, सिलाइकटाइ, गहना बनाउने जस्ता काम व्यावसायिक बनेका छन्। काम गरेपछि नगदमै तुरून्तै भुक्तानी हुन्छ। खेतीपातीका लागि हली लगाउने चलन छैन।
पछिल्ला दुई-चार दशकमा फेरिएको मेरो गाउँ पुम्दीभुम्दी हेर्ने हो भने, धेरै बनेको भन्न सकिन्छ। तर देश बन्नु भनेको समग्रतामा बन्ने हो, एक पक्ष वा क्षेत्र मात्र बनेर हुँदैन। अनि बन्ने वा नबन्ने विषय संख्यात्मक रूपमा तुलना गरेर मात्र हुँदैन, गुणात्मक पक्ष पनि हेर्नुपर्छ। त्यसैले नेपालमा बन्न अझै धेरै कुरा बाँकी छन्। जति बनेका छन्, त्यतिमै चित्त बुझाउने अवस्था छैन। हामीले गर्न धेरै बाँकी छ, गर्न सक्छौं र गर्नुपर्छ।
किनभने, देश अरू आएर बनाइदिँदैनन्। बनाइदिन्छन् भनेर सोच्नु भ्रम हो। बनाउने र बिगार्ने यहीँकाले हो!
(लेखक डाक्टर खगराज बराल नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सेवा आयोगका अध्यक्ष हुन्। साहित्य र शिक्षा विधामा उनका दर्जनभन्दा बढी किताब प्रकाशित छन्।)
***
अंक १- नेपाल कति बन्यो, कति बिग्रियो (लेखक- अमित ढकाल)
अंक २- के देश कसैले बिगार्न वा बनाउन सक्छ? (लेखक- चैतन्य मिश्र)
अंक ३- हाम्रो गिलास आधा भरी, आधा किन रह्यो खाली? (लेखक- युवराज खतिवडा)
अंक ४- औद्योगिकीकरण गर्न नसक्दा पिछडिएको नेपाल (लेखक- समीर खतिवडा)
अंक ५- धेरै प्रगति गरेको वित्तीय क्षेत्रमा अहिले किन देखिँदैछ संकट? (लेखक- विश्वास गौचन)
अंक ६- चार दशकका जनगणनाले देखाएको नेपालको चित्र (लेखक- मुराहरि पराजुली)
अंक ७- सेतोपाटी बहसमा छुटेका केही प्रश्न (लेखक- सञ्जीव पोखरेल)
अंक ८- नेपाल– आशा र निराशाको ढिकीच्याउँ (लेखक- दोभान राई)
अंक ९- यस्तो पनि देश! (लेखक- दुर्गा कार्की)
अंक १०- स्कुले विद्यार्थीदेखि अर्थसचिव हुँदासम्म मैले देखेको परिवर्तन (लेखक- शंकरप्रसाद अधिकारी)
अंक ११- नेपाल कति सप्रियो, कति बिग्रियो– हेर्ने प्रमुख ४ आधार (लेखक- सीके लाल)
अंक १२- काठमाडौं किनाराको देश (लेखक- बिना थिङ)
अंक १३- हुम्लामा देखिने नेपाल (लेखक- कुन्साङ)
अंक १४- बौद्धिक इतिहासको कसीमा कहाँ छ नेपाल ?(लेखक- विष्णु सापकोटा)
अंक १५- नेपाली राजनीतिका ६ राम्रा कुरा, ६ विकृति (लेखक- हरि शर्मा)
अंक १६- २००७ सालदेखि अहिलेसम्मको कर्मचारीतन्त्र (लेखक- उमेश मैनाली)
अंक १७- युवाहरूले बदल्दै गरेको कर्मचारीतन्त्र (लेखक- स्मीता पौडेल र नर्बदा घिमिरे)
अंक १८- तीस वर्षमा पनि सडकले छोएन कुनै दलित बस्ती (लेखक- इन्द्र टमटा)
अंक १९- हिजोका दलित, आजका पनि दलित (लेखक हिरा- विश्वकर्मा)