सुधारको बाटो- ४
स्टोरीका हाइलाइट्स
* आसेपासे व्यवस्थापनका लागि भ्रातृ तथा भगिनी संस्थामा महाधिवेशन नगर्ने प्रवृत्ति छ, पार्टीमा नयाँ मानिस कसरी ल्याउने? ढोका बन्द गरेर त कोही आउँदैन। नेता तपाईं हुने अनि खेताला हुन मात्रै त कोही आउँदैन।
* अहिलेकै संगठन संरचनाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनोट गरे पनि उपलब्धि हुँदैन।
* पार्टी बनाउनुपर्ने साथीहरू २०८४ को चुनावदेखि नै आत्तिनुभएको छ। त्यसबाहेक सोच्नुभएको छैन।
* अहिले साथीहरूमा देउवाको फेभर लिएर सभापति हुने भन्ने तीव्र आकांक्षा देखिन्छ।
* समानुपातिक ११० सिटबाट झारेर ६० बनाऔं। किनभने यही निर्वाचन प्रणालीबाट कसैको बहुमत आउने देखिएन, गठबन्धन जारी नै रहने भयो। कांग्रेसमा गगन र विश्वप्रकाश नेता हुने, विकल्प चाहिँ अरू हुने?
***
मीनेन्द्र रिजाल नेपाली कांग्रेसका केन्द्रीय सदस्य छन्। दुई वर्षअघि भएको १४ औं महाधिवेशनमा उनी महामन्त्रीमा पराजित भए। पराजित भएलगत्तै नैतिक रूपले मन्त्री रहन नमिलेको भन्दै उनले रक्षामन्त्रीको पदबाट राजीनामा दिएका थिए। सभापति शेरबहादुर देउवाले रिजाललाई केही समयअघि केन्द्रीय सदस्य मनोनीत गरेका हुन्। अमेरिकाको न्यूयोर्क युनिभर्सिटीबाट व्यवस्थापनमा पिएचडी गरेका रिजालले सोही विश्वविद्यालयमा तीन वर्ष पढाएका थिए। उनी कांग्रेसका बौद्धिक नेतामध्येमा पर्छन्।
रिजाल कांग्रेसलाई रूपान्तरण गरेर लैजानुपर्ने पक्षमा उभिएका छन्।
'सुधारको बाटो' शृंखलाको यो अंकमा हामीले राजनीतिक दलहरूका समस्या, नेपाली कांग्रेसभित्रका जटिलता, राजनीतिक दल र नेताहरूप्रति मानिसको घट्दो विश्वास लगायतबारे रिजालसँग कुरा गरेका छौं।
'सुधारको बाटो' शृंखलाको मूल धेय के-के कुरामा, कसरी सुधार गर्न सकिन्छ भन्ने हो। हामीले तिनै विषयमा कुराकानी धेरै केन्द्रित गरेका छौं।
संवादको सुरूमै हामीले उनलाई सोधेका थियौं — आन्तरिक लोकतन्त्रका हिसाबले तपाईंलाई कांग्रेसमा के के राम्रो छ, के पुगेको छैन र सुधार गर्नुपर्छ भन्ने लाग्छ?
रिजालले अन्य दलहरूमा भन्दा कांग्रेसमा आन्तरिक लोकतन्त्रको विषय बलियो रहेको र यो दल मूल रूपमा सहिष्णुताको लामो परम्परामा उभिएको बताए।
'आन्तरिक लोकतन्त्रको आयामबाट हेर्दा डडेल्धुराको रूवाखोलामा जन्मिएका शेरबहादुर देउवा नेपाली कांग्रेसको सभापति हुने कुरा सामान्य हो भन्ने मलाई लाग्दैन,' रिजाल भन्छन्, 'मान्छेले मामुली कुरा हो भन्ने ठान्छन्। कोइरालाहरू र कांग्रेसलाई स्थापना गर्ने नेताहरूबाहेक अरू एउटा हैसियत बनाएपछि मात्र नेतृत्वमा आएका छन्। सुशील कोइराला र शेरबहादुर देउवाबीच चुनावमा कोइराला सभापति जित्नुभयो।'
देउवा सभापति भएपछिको पहिलो भेटमा आफूले देउवालाई भनेको कुरा उनले सम्झिए, 'तपाईं बिपी कोइराला बसेको कुर्सीमा बस्नुभएको छ।'
देउवाले पनि पहिलो पटक सभापति निर्वाचित भएपछि भनेका थिए — म प्रधानमन्त्रीको कुर्सीमा पटकपटक बसेको छु। तर कांग्रेस सभापतिको कुर्सीको कुरा फरक हो। यसको ओज अर्कै छ।
अठहत्तर वर्ष पार गरेको कांग्रेसमा जन्मजात गतिशीलता (इन्हरेन्ट इनरसिया) र सहिष्णुताको तागत जस्तो छ, त्यो अरू दलमा नभएको रिजालले जिकिर गरे। उनले त्यसका लागि केही उदाहरण पनि पेस गरे।
'०३६ सालको अन्तिममा बिपी कोइराला धनगढीको सभामा जाँदा शेरबहादुर देउवाको आकर्षण देख्नुभयो। यो कुरा देउवा नेविसंघ सभापतिबाट बाहिरिनुभन्दा केही महिना पहिलेको हो,' रिजालले भने, 'बिपीले देउवालाई यिनी त पश्चिमको बेताज बादशाह रहेछन् भन्नुभएको कुरा पार्टीको मुखपत्र राष्ट्र-पुकार पत्रिकामै छापिएको थियो।'
कांग्रेसको धुरीमा रहेका नेताहरूले उदाउँदै गरेका नेताहरूलाई स्वीकार गर्ने, उनीहरूको कुरा सुन्ने र प्रश्रय दिने संस्कृति नेपाली कांग्रेसमा रहेको उनले बताए।
रिजालले रामशरण महत र बिपीबीचको संवादको अर्को घटना पनि सुनाए।
महत अमेरिकाबाट अर्थशास्त्रमा पिएचडी सकेर ठिक्क नेपाल फर्किएका थिए। क्यान्सरले गाँज्दै लगेका बिपी भने उपचारका लागि विदेश जाने तर्खरमा थिए। यो त्यही बखतको संवादको कुरा हो।
'बिपी कोइराला स्मल इज ब्युटीफुल भन्नुहुन्थ्यो। अर्थशास्त्री सुमाखरबाट प्रभावित हुनुहुन्थ्यो। रामशरण महत भने देश विकास गर्न साना योजनाबाट हुँदैन सान्दाजु, ठूलो चिज चाहिन्छ, ठूला आयोजना नभई हुँदैन भनेर बहस गर्नुहुन्थ्यो,' रिजालले भने, 'महत २०३८ सालमा ३०/३१ वर्षको ठिटो हुनु हुँदो हो। त्यो ठिटोलाई पनि बिमारले गाँजेका बिपीले गम्भीरतापूर्वक सुन्नुभयो। उहाँको शरीर उभिँदा सन्तुलित नहुने अवस्थामा पुगेको थियो त्यो बेला। मेरो काँधमा हात राखेर बिपीले भन्नुभयो — रामशरण उपचार गरेर फर्केपछि म तिमीसँग बसेर बहस गर्छु। म अर्थशास्त्री होइन, राजनीतिक मानिस हुँ र यो राजनीतिक एजेन्डा हो। तिमीहरूजस्ता अर्थशास्त्री थुप्रैलाई बोलाएर कसरी र कुन मोडलमा नेपाल बनाउने विषयमा बहस गर्छु।'
कृष्णप्रसाद भट्टराईले कांग्रेसका नेता-कार्यकर्तालाई जेलमा पढाएको पनि रिजालले सम्झिए।
'उहाँले कांग्रेसका नेता-कार्यकर्तालाई जेलमै पढाउनुभयो। कहिल्यै पास गर्न सक्दिनँ भनेका नेता-कार्यकर्ताले पनि उहाँसँग पढे र बिए, एमए पास गरे। सिक्ने, सिकाउने, सुन्ने र बहस गर्ने सहिष्णुताको यो परम्परामा हाम्रो पार्टी र नेतृत्व हुर्किएको छ। अघिल्लो पुस्ताका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, रामशरण महत पनि त्यही परम्परामा हुर्किनुभएको हो।'
महतले पनि बिपी र कृष्णप्रसाद भट्टराईको संस्कार बोकेको रिजालले बताए।
'महतसँग मैले अर्थतन्त्रका विषयमा चर्कोचर्की पनि गरेको छु। छुच्चो भएर भनेको छु। तर उहाँ रिसाउनु भएन। व्यक्ति र विचारबीचको असहमति उहाँले जहिले पनि छुट्टयाउनु भयो। त्यो सहिष्णुताको परम्परा कांग्रेसमा छ; सभापति देउवामा पनि अझै यसको अंश छ,' उनले भने।
यही सहिष्णुताको परम्पराको जगमा नेपाली कांग्रेसमा नेतृत्वको प्रतिस्पर्धा हुने र नेतृत्व चुनिने गरेको उनले बताए।
'आउने दिनमा को सभापति होला भन्दा पनि कांग्रेसको त्यो परम्परा धानिन सक्छ कि सक्दैन त्यो महत्त्वपूर्ण विषय हो। पार्टीमा कुन तागतले नयाँ नेतृत्व जन्माउँछ? आरएसएस (राष्ट्रिय स्वयंसेवक संघ) पछाडि हुँदा त्यसको तागत र प्रक्रियाले भारतीय जनता पार्टी (भाजपा) मा नेतृत्व परिवर्तन गर्छ। भारतमा भाजपाको प्रतिस्पर्धा अझै पनि कंग्रेस आई र गान्धी परिवारसँगै छ। सो परिवारमा राहुल गान्धीलाई अगाडि सारेर पार नलाग्न सक्छ भनेर प्रियंका गान्धीलाई महामन्त्रीमा राखिराखेको छ।'
उनले पाकिस्तान, श्रीलंका, बंगलादेश र थाइल्यान्डाका राजनीतिक घटनाक्रम र परिदृश्यबारे पनि चर्चा गरे। यी धेरै देशमा राजनीतिक दलहरूमा आवधिक चुनाव गरेर नेतृत्व परिवर्तन हुने अवस्था नरहेको पनि उनले औंल्याए।
'पाकिस्तानमा इमरान खान पनि अर्को पेसामा स्थापित भएकाले त्यो ठाउँमा पुगेको हो। क्रिकेटको विश्व कपमा उनले पाकिस्तानलाई जिताए। तर पनि पाकिस्तानमा सत्ताको नेतृत्व गर्न उनलाई समय लाग्यो। त्यसमाथि सेनाको साथ चाहियो।'
रिजालले पूर्वीय र पश्चिमा लोकतन्त्रमा नेतृत्व विकास र नेतृत्वलाई चुनौती गर्ने कुरा अलि फरक रहेको बताए।
'पश्चिमा सभ्यता ग्रीसबाट सुरू भयो, अनि समुद्रबीच टापूटापू थिए। उनीहरूलाई खान बस्न पुग्ने थिएन। केही चिजले रोकिएको र सकस पनि थिएन। सँगसँगै खानबस्न नपुग्ने भएकाले उनीहरूले दायरा फराकिलो बनाए। हामी चाहिँ अन्न मज्जाले फल्ने ठाउँमा भयौं। उब्जायो, खायो, बस्यो। हामी कारण र तर्क खोजेर चुनौती दिने, झगडा गर्ने, बदल्नेतिर भन्दा पनि कहीँ समस्या भयो भने त्यसबाट भाग्ने, पन्छिने गर्यौं। जंगलमा बस्ने, योग गर्ने जस्ता सामाजिक परम्पराका मानिस भएकाले सायद हामीकहाँ नेतृत्वलाई चुनौती गर्ने खासै संस्कृति भएन।'
यस्तो संस्कृतिमा हुर्किएको समाजमा कांग्रेसमा चुनावबाट निरन्तर नेतृत्व परिवर्तन भइराख्ने कुरा मामुली नभएको रिजालले बताए।
'कतिपय पार्टीहरूमा जो जो नेता छन्, उनीहरु राजा जसरी नै बसिरहेको अवस्थामा कांग्रेसको नेतृत्वमा जुन खाले परिवर्तन भएको छ र हुन्छ, त्यसलाई मामुली लिन हुन्छ जस्तो मलाई लाग्दैन। आजका मानिसलाई यो सामान्य लाग्ला, धेरैले यसमा ध्यान नदेलान्, तर पछि इतिहास लेख्नेले चाहिँ साँच्चै नै यसबारे सोच्लान्,' उनले भने।
कांग्रेसले महाधिवेशनबाट नेतृत्व चयन गर्दै आएको छ। सभापति लगायत पदका लागि प्रतिस्पर्धा हुने गर्छ। यो सुन्दर पक्ष हो तर नेविसंघ, महिला संघ तथा तरूण दलजस्ता भ्रातृ तथा भगिनी संस्थामा महाधिवेशनबिनै भागबन्डा गर्ने प्रवृत्तिले समस्या ल्याएको उनले बताए। यसमा समस्या देखिन थालेकोमा उनको चिन्ता छ।
'भ्रातृ तथा भगिनी संस्थाको नियमित महाधिवेशन नगर्ने, गर्न नचाहने र आसेपासे व्यवस्थापनका लागि सात सय बढीसम्मको तदर्थ समिति बनाउने गरिएको छ,' उनले भने, 'केन्द्रमा बसेर नेताहरू भागबन्डामा रमाउने?'
यसो गर्दा संगठनलाई पनि क्षति पुगिरहेको तर्क उनले गरेका छन्।
संगठनमा देखिएका यस्ता समस्यासँगै पछिल्लो समय कांग्रेसमा नेताहरूका कुरा सुन्ने र सँगसँगै अघि बढ्ने भावना पनि कता कता कमजोर हुने खतरा बढेको रिजाल बताउँछन्।
'बिपी कलेक्टिभ हुनुहुन्थ्यो, सामूहिक छलफलका आधारमा नेतृत्व चलाउनु हुन्थ्यो। त्यसबेला बिग-फोर नेताहरू हुनुहुन्थ्यो। अहिले नेतृत्व गरिरहेको पुस्तामा आउँदा पनि त्यो कायमै थियो। देउवा सभापति हुँदा र रामचन्द्र पौडेल सक्रिय राजनीतिमा हुँदासम्म पनि सामूहिकता केही बाँकी थियो। अहिले त्यसमा ब्रेक लाग्न थालेको छ भन्ने मलाई लागेको छ। यसले कांग्रेसलाई अबका दिनमा कसरी अघि लैजान्छ थाहा छैन।'
परम्पराका हिसाबले कांग्रेस बलियो होला, सहिष्णुताको बलियो धरोहर पार्टीमा होला, नियमित आन्तरिक निर्वाचन पनि हुने गरेकै छन्। तर एउटा लोकतान्त्रिक दलमा कुनै पनि सदस्यले सो दलको नेतृत्व छान्न पाउने आधारभूत कुराको व्यवस्था किन भएको छैन, आन्तरिक प्रतिस्पर्धामार्फत् चुनावमा उम्मेदवारहरूको छनौट किन हुन सकेको छैन?
कांग्रेसको क्रियाशील सदस्यता वितरण प्रक्रियामा समस्या रहेको उनले बताए। केही समयअघिसम्म को सदस्य हो भन्ने कुरा वडा सभापतिबाहेक अरूलाई थाहै नहुने अवस्था थियो। यो क्रम अहिले भत्किन थालेको छ। ठूलो संख्यामा वडामै क्रियाशील सदस्यता बाँड्न थालिएको छ।
सदस्यता वितरण प्रणाली खुला हुनुपर्नेमा आफू सहमत रहे पनि अहिले नै त्यसमा पुगिहाल्ने अवस्था नरहेको उनले तर्क गरे।
रिजालले पार्टी विधान लेख्दाको आफ्नो अनुभव सुनाए। त्यसैबेला नै साधारण सदस्यले पनि दलको आन्तरिक चुनावमा मत हाल्न पाउनुपर्ने आवाज उठको थियो।
'अघिल्लो पटक विधान लेख्ने बेला मैले र प्रदीप पौडेलले कांग्रेसमा थरीथरी सदस्यता नगरौं, एकै सदस्यता गरौं, साधारण र क्रियाशील भन्ने हुँदैन भनेका थियौं। विधानको मस्यौदामा यो कुरा लेखेपछि रामचन्द्र पौडेलले असहमति राख्नुभयो। मीनेन्द्र, तपाईं खाली यो शेरबहादुरलाई सजिलो बनाउने मात्रै कुरा गर्नुहुन्छ, सबै सदस्यले भोट हाल्ने भएपछि सबै सदस्य उसैले बाँड्छ, उसैले जित्छ। किन यस्तो गर्नुभयो?'
यो पौडेलको मात्र दोषभन्दा पनि सदस्यता खुला गर्ने कुरा नेताहरूका महत्वकांक्षा र स्वार्थसँग बाझिँदा कसैले जोखिम उठाउन नचाहने रिजालले बताए।
'अहिले जुनसुकै उमेरका मानिस पार्टीमा हुनुहोला। ज-जसले पार्टी सत्ता सम्हालेर बस्नुभएको छ, उहाँहरूले सदस्यता खुला गर्नुहुन्छ भन्ने मलाई विश्वास छैन। भन्ने र गर्ने अर्कै कुरा हो,' रिजालले भने।
हाम्रा नेता-कार्यकर्तालाई वयस्क लोकतन्त्रको परम्परा थाहा छैन। पार्टी कसरी सञ्चालन गर्ने भन्नेमा स्टालिनबाट नेहरू प्रभावित भएका र नेहरूबाट आफूहरू प्रभावित भएको उनले बताए। सुरूका दिनमा अलिकति सदस्य खुला गर्न खोजे पनि महेन्द्र शाहले शासन हातमा लिएपछि फेरि पार्टी पछाडि फर्किएको उनले बताए।
प्रजातन्त्रका लागि राजासँग लड्नु पर्दा अवस्था फेरि अर्कै भयो। सदस्यबारे सभापतिलाई मात्र थाहा छ भन्ने अवस्था आयो। त्यो बला बिपीले पनि पार्टीलाई उत्तिसाह्रो ध्यान नदिएको रिजाल बताउँछन्।
'बिपीले मेरो विचारलाई पार्टीले बोक्छ भन्नुहुन्थ्यो। बिपीले पार्टीको धेरै ख्याल गर्नुभएन। टुँडिखेलमा म एक्लो बृहस्पती हो भनेर भाषण गर्नुभयो। पार्टीले मेरो विचार बोक्छ; मेरो विचार लागू गर्ने संयन्त्र हो पार्टी भन्ने उहाँको भनाइ थियो,' रिजालले भने, 'त्यसैले कांग्रेसले पश्चिमा लोकतन्त्र र मास-बेस पार्टीको चरित्रभन्दा पनि क्याडर-बेस पार्टीकै चरित्र ग्रहण गर्यो। आज पनि क्याडर-बेस पार्टी चरित्रबाट निस्किने मन कसैलाई पनि छैन।'
अहिले पनि केही नेताहरूमा कांग्रेसलाई सुधार्ने भन्दा पनि कसरी सभापति देउवाको समर्थन लिएर आफू नेतृत्वमा पुग्ने भन्ने तीव्र चाहना देखिन थालेको उनले बताए।
'कांग्रेसमा अहिले कसरी देउवाको फेभर लिएर सभापति हुने भन्ने तीव्र आकांक्षा छ। उहाँसँगै हुने र पर हुने पनि यही आकांक्षामा छन्। सभापति बन्ने कारोबार स्थापित गर्न सकिन्छ कि भन्ने लोभमा सबै लागेका छन्। त्यसैले अहिले कसैले पार्टीलाई जगैदेखि हल्लाउने र सुधार गर्ने काम गर्लान् भन्ने लागेको छैन। अन्तिममा देउवाको फेभर पाइएन भने अलिअलि हल्ला होला, परिवर्तन होलाजस्तो लाग्दैन।'
उनले आज नेपालका सबै दलहरू अन्तरमुखी भएको बताए।
'हामीले गठबन्धन बनायौं। आज गठबन्धनबाट बाहिर निस्किन तयार भएका छैनौं। किनभने हामी मेरो जे छ, त्यो नहराओस्, कसैले खोसेर नलैजाओस् भन्नेमा धेरै अभ्यस्त भइसक्यौं। अहिलेको गणतन्त्रका सबै गणाधिपतिहरूको भित्री इच्छा धेरै ठूलो जोखिम नउठाऔं भन्ने छ। सत्तामा पुगेकालाई टिकिराखौं भन्ने छ, सम्भावना भएकालाई त्यहाँ पुग्नु छ। त्यसैले कोही जोखिम उठाउन तयार छ जस्तो मलाई लाग्दैन। कांग्रेसजस्तो पार्टीले यति आरामसाथ जय नेपाल भनेको लालसलाम हो र लालसलाम भनेको जय नेपाल हो भनेर हिँड्न सक्दैन थियो। यसको अर्थ त कहालीलाग्दो छ। जय नेपाल र लालसलाम त सांकेतिक हो। तर मैले कसरी भन्ने माओवादी भनेको कांग्रेस हो, कांग्रेस भनेको माओवादी हो भनेर। प्रचण्ड (पुष्पकमल दाहाल) भनेको शेरबहादुर हो, शेरबहादुर भनेको प्रचण्ड हो भनेर?'
यस्तो भन्नु नितान्त सत्ताका लागि भएको उनले बताए। सत्ताकेन्द्रित हुँदा कांग्रेसले आफ्नो आधार गुमाएको र सुधार गर्ने क्षमता गुमाएको उनको तर्क छ।
'प्रचण्ड ठीकसँग बसे भने कांग्रेसको पालो आउँछ भन्नेमा देउवा हुनुहुन्छ। पार्टी बनाउनुपर्ने साथीहरू २०८४ देखेरै आत्तिनुभएको छ। त्यसभन्दा बाहेक सोच्नुभएको छैन। उहाँहरूलाई अर्को चुनावमा पुग्नुअघि के प्राप्त हुन्छ भन्नेमा अभिरूचि छ, त्यसकारण पनि मैले कांग्रेस अन्तरमुखी भनेको हुँ, सुधार गर्न चुनौती छ भनेको हुँ। कसैले त २०८४ पछि २०९० र २१०० पनि देखोस्! त्यो बेलासम्म पनि नेतृत्वमा रहने साथीहरू पार्टीमा हुनु होला नि अहिले! यी नेताहरूले २१०० सोच्नुभएको छैन। २०८४ मा त हामी गइसक्यौं भन्ने भएको छ। हामी यति आत्मरक्षामा छौं कि एउटा सानो तन्तु पनि तलमाथि हुँदा बिगार पर्छ भन्ने परेको छ।'
कांग्रेसले नेपालको राजनीतिमा विशिष्ट चरित्र बोकेको र त्यो चरित्र भुल्न नहुने उनले बताए।
'कांग्रेस कहिल्यै पनि चार वर्षका लागि सोच्ने पार्टी थिएन। सबभन्दा पर भनेकै चार वर्ष सोच्ने आजसम्म कांग्रेसको जीवनकालमा थिएन। सत्तामा मज्जाले बस्दा र कुनै चुनौती नहुँदा पनि चार वर्ष मात्र सोच्ने? यो त लोकतन्त्रकै लागि गम्भीर चुनौती हो भन्ने मलाई लाग्छ,' उनले भने।
पार्टी सुधारमा यस्तो चुनौती भए पनि कांग्रेसमा केही सुधार भने भएको रिजाल बताउँछन्। उनले पदाधिकारी संख्या ठूलो बनाएको र सबै निर्वाचित हुने व्यवस्था गरेको उदाहरण दिए।
'कांग्रेसमा एउटा चिज चाहिँ परिवर्तन भयो। यसमा मैले पनि अपनत्व लिन्छु। १४ जना पदाधिकारीको पार्टी बनाउने कुरामा धैरैले हुन्न भनेका थिए। अन्तिमसम्म पनि मनोनीत महामन्त्री र उपसभापति राख्नुपर्छ भनेर दबाब थियो। मभन्दा धेरै कम उमेरका साथीहरूले पनि मनोनीत त राखौं न भन्नुभएको हो,' उनले भने, 'सभापति देउवाले पनि त्यसका लागि राम्रै दबाब दिनुभयो। तर मैले अडान लिएको हुँ। सबै साथीहरूले मनोनीत राख्न मीनेन्द्रले रोकिराखेको छ भनेर कराउनुभयो। त्यसबेला कृष्णप्रसाद सिटौलाको मात्र मैले साथ पाएँ। तर मेरो अडान लागू भएरै छाड्यो।'
कोषाध्यक्षबाहेक सबै पदाधिकारी निर्वाचनबाट आउने विषयमा केन्द्रीय समितिमा आलोचना भएको पनि उनी सम्झिन्छन्।
'यसरी पार्टी नाश हुन्छ भनेर मलाई केही साथीहरूले कराउनुभएको थियो। तर मलाई लागेको थियो, १४ जना पदाधिकारीले चुनाव जित्दा कम्तीमा २८ जना हार्छन्। नयाँ नेतृत्वको विकास हुन्छ,' उनले भने।
अहिले पदाधिकारी भएकाहरू केही वर्षका लागि मात्र नभई लामो समयसम्म बलियोसँग अघि बढ्न सक्ने नेताहरू आएको उनले बताए। उमेरका हिसाबले हेर्दा पनि सभापति देउवा, उपसभापति पूर्णबहादुर खड्का र सहमहामन्त्री फरमुल्लाह मन्सुरबाहेक अरू निकै कम उमेरका नेता पदाधिकारीमा पुगेका छन्।
'निर्वाचन प्रणालीमा सानो चिज मात्रै परिवर्तन गर्ने हो भने त्यसले ठूलो परिवर्तन देखा पर्छ भन्ने पदाधिकारी चुनावले देखाउँछ। तैपनि पदाधिकारी धेरै भए, विधान परिमार्जन हुनुपर्छ भन्ने कुरा उठेकै छ,' उनले भने।
कांग्रेसमा अब नयाँ विचार र ऊर्जा भएका मानिस आउने अवस्था रोकिन्छ कि भन्ने चिन्ता रिजाललाई पनि परेको छ।
'कांग्रेस अलिकति भए पनि आममानिसले के भनिरहेका छन् भन्ने सुन्थ्यो र उनीहरूको विचारले पनि प्रभावित हुन्थ्यो। आममानिसबीच आलोचित हुँदा कांग्रेसका मानिसले चिन्ता गर्थे। आज त्यस्तो छैन। कांग्रेसमा अहिले यस्तो माइन्डसेट छ, आममानिसबीच के कुरा भइरहेको छ भन्नेले कोही चिन्तित छैन। कांग्रेसभित्र सबैलाई म कहाँ छु भन्ने मात्र चिन्ता छ,' उनले भने।
कांग्रेस यही स्वरूप र माइन्डसेटमा अडिने हो भने संरचना जस्तो देखिए पनि त्यसको जग भत्केको र मक्किसकेको हुने उनी बताउँछन्। त्यसबेला कांग्रेस स्वाभाविक रूपमा क्षयरोग लागेको बिरामीजस्तो बन्ने उनले बताए।
कांग्रेसमा युवाहरू नेतृत्व तहमा पुगेको अवस्थामा अरू वैकल्पिक पार्टीहरू पनि आएकामा उनी अनौठो मान्छन्।
'एक जना महामन्त्रीलाई त मैले भनेँ पनि — कांग्रेसमा गगन थापा र विश्वप्रकाश शर्मा नेता हुने अनि विकल्पको पार्टी चाहिँ अहिले बन्ने? हिजो कांग्रेसमा गगन र विश्व नेता नहुँदा चाहिँ कांग्रेस घच्चिको पार्टी थियो। मत थुप्रै थियो। विकल्पको पार्टी बनाउन बाबुराम भट्टराई र उज्ज्वल थापाले पनि सक्नुभएन। तर आममानिसबीच प्रिय नेताहरू थापा र शर्मा हुँदा कांग्रेसले ७ प्रतिशत मत गुमाएको छ,' रिजाल भन्छन्, 'कांग्रेसमा अब सबभन्दा ठूलो क्रान्तिकारी परिवर्तन चाहिँ सभापति हुने मानिसले अलिअलि मास-बेस पार्टीको चरित्र लिएर कांग्रेसलाई आममानिसलाई जोड्नै पर्छ, नत्र भविष्य जोखिममा पर्छ।'
उनले कांग्रेसले पार्टीको ढोका बन्द गरेर नयाँ मानिस भित्र्याउन नसक्ने बताए।
'नयाँ मानिस कसरी ल्याउने हो, म देखिराखेको छैन। ढोका बन्द गरेर त पार्टीमा मानिस आउँदैन। नेता तपाईं हुने अनि खेताला हुन मात्रै कोही आउँदैन। कहीँ न कहीँ नयाँ आएको मानिस पनि नेता हुन्छ भन्ने सोच्नुपर्छ। हुन त मलाई कुनामा परेको मीनेन्द्र रिजाल निराशाको कुरा गर्छ भन्लान्!,' एकछिन घोत्लिएर रिजालले भने, 'कांग्रेस विस्तार गर्ने भन्दा खुम्चिने हो कि भन्ने चिन्ता छ। भोलि कांग्रेस खुम्चियो भने कुनै बेला पार्टीमा म पनि हैसियतमा थिएँ भन्न त के मजा आउला र?'
युवालाई पार्टीमा ल्याउनेभन्दा पनि काम गर्न लगाउनुपर्ने रिजालको तर्क छ।
'युवालाई कांग्रेसमा ल्याउने होइन, उनीहरूलाई काम गर्न लगाउने हो। युवा पार्टीमा आएर बिग्रिरहेका छन्। हाम्रो पार्टीमा ८ लाख ६९ हजार क्रियाशील छन्, युवासमेत समेटेर १३ लाख पुर्याउनुपर्यो भनिरहेका छन्, युवालाई राजनीतिमा होइन, काममा लगाउने हो,' उनले थपे।
उनले अहिलेकै संगठन संरचना र सदस्यता प्रणालीमा प्राइमरी इलेक्सनबाट पनि राम्रा उम्मेदवार आउँदैनन् भन्ने चिन्ता रहेको बताए।
अहिलेको महासमिति सदस्य र क्रियाशील सदस्यले प्राइमरी इलेक्सनमा मत हालेर उम्मेदवार छनौट गर्दा यसले परिणाममा खासै फरक नपार्ने बताए।
'आजको दिनको महासमितिले प्राइमरीमा मत दिएर हुँदैन। गुटअनुसार महासमिति सदस्य बनेका छन्। हालैको महासमितिमा पनि हामी घच्चिले गुट र उपगुटमा विभाजित भयौं। त्यसले अलि धेरैले भोट हाल्ने प्रणालीमा मात्र हामीले पुर्याउँछौं, परिणाममा फरक पार्दैन भन्ने मलाई लाग्छ। पार्टीको सदस्यता र पार्टीको नेता छान्ने प्रणालीमै सुधार गर्नुपर्छ,' उनले भने।
पार्टीहरूको आर्थिक जीवन चलाउन वैधानिक स्रोत र त्यसको पारदर्शी व्यवस्थापन कसरी गर्ने? कैयन वयस्क लोकतन्त्रमा राज्यले नै दलहरूलाई पैसा उपलब्ध गराउने र त्यसको पारदर्शी व्यवस्थापन गर्ने परिपाटी छ। गत वर्ष भएको चुनावमा कांग्रेसको समानुपातिक मत ७ प्रतिशत घटेको थियो।
यसबारे उनले भने, 'हाम्रो सिट प्रतिनिधि सभा प्रत्यक्षमा २०७४ मा २३ सिट थियो, २०७९ मा ५७ मा पुग्यो। तर गत वर्षको चुनावमा समानुपातिक मत ७ प्रतिशतले घट्यो। त्यसलाई हामीले मामुली ठान्नुभएन। सत्ता कसरी निर्माण भएको छ भन्दा देउवाजी र प्रचण्डजीको सम्बन्ध राम्रो रहँदासम्म चिन्ता छैन। मेरो सभापति देउवाजी खुसी हुँदासम्म त प्रचण्डजीको सत्ता तलमाथि हुँदैन। प्रचण्डजी खुसी रहने वा माधव नेपालजी खुसी रहने हो भने देउवासम्म प्रधानमन्त्री हुने पालो आउने नै भयो। त्यसैले हाम्रो मत ७ प्रतिशत घट्दा (७ प्रतिशत जनता जाँदा पनि) त सत्ता बन्दो रहेछ!'
बालुवाटार बैठक, पार्टीहरूका बैठक र नेताहरूका रसायनमा सत्ता टिक्ने भएकाले पार्टीहरूले अन्यत्र ध्यान दिएका छैनन् भन्ने रिजाललाई लागेको छ।
'अहिले कोही सत्ता टिकाउन लागिरहेका होलान्, कोही सत्ता भत्काउन लागिपरेका होलान्। कहाँ अलमल भयो वा भएन, आजका दिनमा सारा राजनीतिक समाचार र लेख यसकै वरिपरि छ। यसले मुलुकमा भ्रष्टाचार बढाउने भयो। ७ प्रतिशत भोट घट्दा पनि सत्ता जाँदैन भने दुई-चार पैसा चोरी गर्दा के हुने भयो र! आखिर हामी सबै कसैले नदेख्ने भयो भने त गर्न नहुने काम गर्ने नै हो त!,' रिजालले भने।
पार्टीहरूका कोष पारदर्शी छैनन्। कोषका स्रोत पनि पारदर्शी छैन। त्यसैले अहिले नै राज्यले पार्टीहरूलाई पैसा दिने कुरामा रिजाल सहमत छैनन्।
'यहाँ अनेक तर्क आउँछन्। सबै पार्टी बराबर हो, त्यसैले बराबर पैसा दिनुपर्छ भन्ने तर्क आउन सक्छ। पार्टीमा कोषको विषय निरपेक्ष रूपमा हेर्नु हुँदैन। पार्टीका सदस्यहरूबाटै शुल्क लिने व्यवस्था पनि हामीले कायमै राख्नुपर्थ्यो,' उनले भने।
पहिले पार्टी चलाउन पैसा (चन्दा) संकलन गर्ने गरिन्थ्यो तर पछिल्लो समय संग्रहका लागि उठाउने प्रवृत्ति देखिएको छ।
'हिजोसम्म पार्टी चलाउन, चुनाव खर्च धान्न र राजनीतिक क्रियाकलाप थेग्न पैसा उठाउने चलन थियो। आज त अकुत सम्पत्ति कमाउन र संग्रहका लागि उठाउने प्रवृत्ति छ। राज्य कोषबाट पैसा दिएर दलहरूलाई पारदर्शी त बनाउन सकिन्छ तर मलाई चिन्ता के छ भने त्यति भएपछि मेरो झन्झट सकियो भन्ने दलहरूलाई लाग्न सक्छ। अरू कुरामा सुधार भएन भने त्यसले झनै ठूलो समस्या ल्याउँछ,' उनले भने।
निर्वाचन प्रणालीमै सुधार गरेर महिला, दलित तथा अल्पसंख्यक उम्मेदवारलाई पनि कोषको व्यवस्था गर्न सके उत्तम हुने तर्क रिजालको छ।
राष्ट्रिय सभामा राजनीतिक दलहरूले संसदीय लोकतन्त्रको मर्मविपरीत राजनीतिक दलका मूलतः असक्षम नेता- कार्यकर्ता भर्ती गर्दा सो संस्था नै निष्प्रभावी बनेको छ। दलहरू त्यसको औचित्य प्रमाणित गर्न सक्ने अवस्थामा छैनन्। यसलाई कसरी सुधार गर्ने? त्यस्तै समानुपातिक प्रणालीको नेताहरूले दुरूपयोग गरेका छन्, त्यसलाई कसरी सुधार गर्ने?
यसमा रिजाल राष्ट्रिय सभाको आकार वृद्धि गर्नुपर्ने र नगर सभा सदस्य तथा गाउँ सभा सदस्यलाई पनि मताधिकार दिनुपर्ने पक्षमा उभिए।
'राष्ट्रिय सभामा एक-एक सिट बढाउनुपर्छ भन्ने लाग्छ। चार महिला र एक दलित अनिवार्य, अपांग वा अल्पसंख्यक मधेसी, अपांग वा अल्पसंख्यक बाँकी गर्यो भने १४ सिट बढ्छ। राष्ट्रिय सभा ७२/७३ सदस्यीय हुन पुग्छ,' उनले भने।
प्रतिनिधि सभामा समानुपातिक सिट संख्या घटाउने पक्षमा छन् उनी।
'११० बाट झारेर समानुपातिक ६० सिट राखौं। अहिलेको निर्वाचन प्रणालीमा कसैको पनि बहुमत आउने देखिएन। बहुमत नआएपछि गठबन्धन नगर्ने भनेको गफ मात्रै हो। म भए पनि १६४ निर्वाचन क्षेत्रमा चाहिँ गठबन्धन नगरौं, मोरङ २ मा चाहिँ गर्नुपर्छ भन्थेँ। आफ्नो निर्वाचन क्षेत्रमा भने गठबन्धन गर्न सबै चाहन्छन्,' उनले भने।
रिजालका अनुसार २०७९ को स्थानीय चुनावमा कांग्रेस ७७ क्षेत्रमा सबभन्दा ठूलो पार्टी थियो। यसैगरी २०७४ को चुनावमा नेकपा एमाले ७३ क्षेत्रमा ठूलो पार्टी थियो। तर गठबन्धन बनाएपछि एमालेले ८० सिट जित्यो। गठबन्धन गर्दा उसलाई जम्मा ७ सिट मात्र फाइदा भएको थियो। कांग्रेस ७७ क्षेत्रमा ठूलो पार्टी भए पनि गठबन्धन गरेर चुनाव लड्दा प्रतिनिधि सभा समानुपातिकमा ५० सिटमा मात्र अघि थियो भने प्रत्यक्षमा ५७ ठाउँमा मात्र जित्यो।
'विगतका केही चुनाव हेर्दा कांग्रेसको मत ३६ प्रतिशत हाराहारी देखिन्छ। एक्लाएक्लै लड्दा ७० सिट प्रत्यक्षतर्फ आउन सक्छ। समानुपातिकतर्फ ६० सिट कायम गरियो भने २५ को हाराहारीमा जित्दा ९५ सिट पुग्छ। २२५ सिटमा बहुमतका लागि ११३ चाहिने हो। बहुमत नपुग्दा सानो कुनै दल ल्याए भयो,' उनले भने, 'समानुपातिक सिट संख्या घटाउने हो भने बहुमत ल्याउन सकिन्छ भन्ने मलाई लाग्छ।'
गठबन्धनले समस्या ल्याएका देख्दा बरू केपी ओलीले संसद विघटन गरेका बेला चुनावमै गएको भए राम्रो हुने थियो कि भन्ने पनि रिजाललाई लाग्छ।
'कानुनका निर्जीव अक्षरहरू मात्र हेरेर नहुने रहेछ, कहिलेकाहीँ त्यो बेलाको परिस्थिति पनि हेर्नुपर्ने रहेछ,' उनले भने, 'संविधान अनुसार संसद विघटन गर्न पाइन्न भनेर हामी उभियौं। तर राजनीति चाहिँ बिग्रियो।'
अहिलेको राष्ट्रिय सभाका लागि इलेक्टोरल बेस अर्थात् मतदाताको फराकिलो आधार नपुगेको उनको तर्क छ।
'अहिले प्रदेश सभा सदस्य र पालिकाका अध्यक्ष तथा उपाध्यक्षले मात्र मत हालेर राष्ट्रिय सभा सदस्य चुन्छन्। यसलाई थप फराकिलो बनाऔं। नगर सभा सदस्य तथा गाउँ सभा सदस्यले पनि भोट हाल्ने व्यवस्था गरौं। त्यस्तै नगर र गाउँ सभा सदस्य निर्वाचित हुने अहिलेको मोडल पनि परिवर्तन गर्न सकिन्छ। सभा सदस्यहरू पार्टीको चुनाव चिह्नबिना लड्ने बनाउन सकिन्छ।'
तर स्थानीय तहमा दलीय आधारमा उम्मेदवार उठाउने वा नउठाउने भन्ने मुद्दालाई अक्सर राजनीतिक स्वार्थ र तात्कालिक फाइदा वा बेफाइदाका आधारमा नेताहरू बोल्ने गरेको उनले बताए।
'अघिल्लो चुनावमा दलीय आधारमा स्थानीय तहमा चुनाव लड्न नपाउने बनाऔं भनेर उपेन्द्र यादव भन्नुहुन्थ्यो। यो चुनावमा उहाँको पार्टीले वडामा पनि कांग्रेससँग गठबन्धन गर्यो। त्यसैले तात्कालिक स्वार्थभन्दा माथि उठेर हामीले यी विषयमा छलफल गर्नुपर्छ।’
हामीले रिजालसँग समानुपातिक निर्वाचन प्रणालीको दुरूपयोगबारे पनि कुरा गर्यौं।
नेताहरूले आफू नजिकका मानिस लैजाने र आफ्नो गुट बलियो बनाउने मात्र काम गरे। जुन समुदायको प्रतिनिधि भनेर संसदमा लग्यो, उसले त्यो समुदायको प्रतिनिधित्व नै नगर्न अवस्था आयो। जस्तै महिला सांसद महिलाका मुद्दामा; जनजाति सांसद जनजातिका मुद्दामा; वा दलित सांसद दलितका मुद्दामा बफादार देखिएनन्। उनीहरूको बफादारी उहीहरूलाई सांसद बनाउने नेताहरूप्रति मात्र देखियो। त्यसैले समानुपातिक निर्वाचन प्रणालीको कार्यानन्वयनमा सुधार गर्नुपर्यो भन्ने छ। तपाईं के भन्नुहुन्छ?
रिजालले समानुपातिक सिट संख्या घटाएर सुधार गर्ने उपाय सुझाए।
'क्लस्टर मिलाउँदा महिलाले नपाए पुरूषमा सर्ने प्रवृत्ति देखिन्छ। त्यसमा सुधार गर्नुपर्छ। अहिले कुन कुन ठाउँबाट सिट घटाउन सकिन्छ बहस गरौं। समानुपातिकतर्फ ६० सिट मात्र कायम गर्नुपर्छ भन्ने लाग्छ। अर्कोतर्फ राष्ट्रिय पार्टी बन्नका लागि कम्तीमा २० प्रतिशत महिला उम्मेदवार खडा गर्ने व्यवस्था राख्न सकिन्छ। २० प्रतिशत महिला उम्मेदवार खडा गर्नैपर्ने भएपछि गठबन्धन गर्नै गाह्रो हुन्थ्यो। अहिले हामीले ९१ सिटमा उम्मेदवार खडा गरेको हो, त्यसमा ३३ जना महिला उम्मेदवार बनाउनुपर्ने भएको भए त कहाँबाट गठबन्धन हुन्थ्यो? सबै क्षेत्रमा उम्मेदवारी दिनुपर्थ्यो।'
यी पनि पढ्नुहोस्-