अस्ट्रेलियामा नेपाली
जाडोको मौसम भएकाले कुकिजको माग अलि धेरै छ। हातैले बनाएको कफीवाला कुकिजबारे सुजनले मलाई बुझाए। भिक्टोरियाको ट्रुगानिनामा रहेको दरफर्ड फाइन फुड्सका सञ्चालक सुजन केसीले कुकिजबारे मात्र नभई आफ्नो कारखानामा भइरहेको गतिविधि सरसर्ती देखाए।
कोही बटर, सुगर मिलाएर ओभनहरूमा पकाउन व्यस्त थिए भने कोही प्याकिङको लागि तयारी अवस्थामा थिए। जर्मनबाट बिस्कुट बनाउन ल्याइएका मेसिन चलिरहेका छन् अनि प्याकिङका लागि नेपाली युवाहरू व्यस्त छन्। प्याकिङमा मात्रै होइन, अधिकांश काममा सम्भव भएसम्म उनले नेपालीलाई नै अवसर दिएका छन्।
ग्राहकको माग अनुसारको बिस्कुट उत्पादन गरिने भएकाले आफ्नै ब्राण्ड भन्ने छैन। कारखानाको लागि चाहिने कच्चा पदार्थदेखि प्याकेजिङका लागि ल्याइएका सामान उनले देखाए। प्याकेजिङका लागि चाहिने कतिपय सामग्री उनले नेपालबाट पनि मगाउने रहेछन्। अस्ट्रेलियाका ठूला सुपरमार्केटहरूका लागि समेत उनले स्टक सामान राखेका छन्।
बिस्कुट फ्याक्ट्री हेरेपछि हामीले उनलाई सोध्यौं- बिस्कुट फ्याक्ट्री खोल्ने सोच कसरी आयो? जबाफमा उनले आफूलाई सुरूदेखि नै बिस्कुट फ्याक्ट्रीमा चासो रहेको बताए।
‘मैले सुरूमा आएदेखि नै बिस्कुट फ्याक्ट्रीमा काम गरेको थिएँ। मलाई सुरूदेखि नै अन्य नेपालीले गरेकोभन्दा फरक गर्न मन लागेको थियो। किनकि त्यसको बजार पनि फरक हुन्थ्यो,’ उनले भने, ‘मलाई यसको ज्ञान पनि थियो। तर यसको लागि बजेट ठूलो चाहिन्थ्यो, त्यसको लागि मैले पार्टनर पनि खोजेको थिए।’
आफूले काम गर्दाको एक जना सहकर्मीलाई लिएर उनले कम्पनी सुरू गर्ने निर्णय गरे। आफूलाई फुडबारे जानकारी भएको अनि सहकर्मी इन्जिनियर भएकाले फ्याक्ट्री अगाडि बढाउन सहज भएको उनले बताए। अस्ट्रेलिया आएर कमाएको पैसाले फ्याक्ट्री चलाउने काम सजिलो थिएन। तर पनि उनले आँट गरे। घर किन्न भनेर जम्मा गरेको पैसा फ्याक्ट्रीमा लगानी गरे।
‘२०१९ को सुरूमा हामीले निर्णय गरेर सेप्टेम्बरदेखि बिस्कुट फ्याक्ट्री सुरू गरेका थियौं। त्यो बेला एक जनाले चानचुनमा १० लाख डलर लगानी गरेका थियौं,’ उनले भने।
उनको फ्याक्ट्रीमा अहिले बिस्कुट र कुकिज उत्पादन हुन्छ। उनीहरूले आफ्नो उत्पादन सिधै वितरणकर्तालाई दिन्छन्। त्यहीबाट यहाँका सुपर मार्केटहरूमा जान्छ।त्यस्तै, अमेरिका र हङकङमा समेत बिस्कुट तथा कुकिजहरू जान्छन्। साना ग्राहकहरूलाई भने आफैले सामान पुर्याउने उनले बताए।
‘हामीले कम्पनीको लागि होम ब्राण्ड बनाउँछौं। हामी अहिले कन्ट्र्याक्ट म्यानिफ्याक्चरर हो। हामीलाई सुपर मार्केटहरूले जस्तो सामग्री बनाउने भन्छ त्यसकै आधारमा बनाउने हो,’ उनले भने, ‘हामीले ५५/६० आइटम उत्पादन गर्छौं। तर आफ्नै ब्राण्ड भन्ने छैन।’
अहिलेसम्म अर्डरका आधारमा मात्रै बिस्कुट/कुकिज उत्पादन हुँदै आएको भए पनि अब बिस्तारै आफ्नै ब्राण्ड बनाउने सुजनको तयारी छ। यसको लागि योजना भइरहेको छ।
‘आफ्नो ब्राण्ड पनि स्थापना गर्ने भएपछि हामीले मार्केटिङ अफिसर राख्न थालेका छौं। सम्भव भयो भने एक वर्षभित्र र नभए अर्को वर्षमा जसरी पनि सुरू गर्ने तयारी छ। हेरौं कति सफल भइन्छ,’ उनले भने।
अगष्ट/सेप्टेम्बरदेखि नयाँ वर्ष र क्रिसमससम्म फ्याक्ट्री धेरै व्यस्त रहन्छ। क्रिसमसको समयमा उपहारको लागि समेत बिस्कुट/कुकिज बनाउने अर्डर आउँछ। उनीहरूले उत्पादनका लागि ६ देखि ८ हप्ता अगाडि अर्डर लिन्छन्। त्यसरी अर्डर नलिए समयमै काम गर्न सकिँदैन।
‘अहिले जाडोको समय भएकाले धेरै माग छैन। त्यसैले २५ जना मात्रै कामदार छन्। व्यस्त रहेको समयमा ६० जनासम्म कामदार चाहिन्छ। त्यस्तो बेला दिनरात नै काम हुन्छ,’ उनले भने।
उत्पादन लगायतका काम उनले हेर्छन् भने मेसिनरीको पाटो उनका पार्टनरले हेर्छन्।
काभ्रेको मध्यम वर्गीय परिवारका सुजन सन् २००९ मा अस्ट्रेलिया आएका हुन्। बुवा आमा अहिले पनि कृषि पेसामै छन्। उनका दाइ नेपाली सेनामा सेनानी छन्। एउटी बहिनी नेपालमै पढ्दै छिन्। अर्का भाइबुहारी जापान छन् भने आफूसँगै कान्छो भाइलाई ल्याएका छन्। सुजनकी श्रीमती र सानो छोरा छन्।
‘म २००९ मा सुरूमा आउँदा कहाँ जाने पनि थाहा थिएन धेरै गाह्रो भयो। सँगै पढेको साथी शंकर र म आएका थियौं। त्यो बेला हामीलाई सुरज खत्रीले कोठा खोजिदिनुभएको थियो,’ उनले भने, ‘कमर्सियल कुकरी पढ्ने भएकाले काम पनि त्यसमै पाएँ। त्यसैले मलाई फुड इन्डस्ट्रीमा छिर्न सजिलो भयो।’
फ्याक्ट्रीको उत्पादनका लागि चाहिने खाद्य पदार्थ अस्ट्रेलियाबाटै किन्ने भए पनि प्याकेजिङका लागि चाहिने सामग्री भने नेपाल र भारतबाट ल्याउँछन्। नेपालबाट मात्र मगाउन खोजेको भए पनि सोचेजस्तो नभएको उनले बताए।
उनले नेपालमा पनि ‘हेल्थ फुड’ को क्षेत्रमा केही गर्न खोजिरहेका छन्। त्यसको लागि तयारी भइरहेको सुजनले बताए। सुजनले जुन काम गरिरहेका छन् समग्र अस्ट्रेलियालाई आधार मान्ने हो भने त्यो सामान्य हो। तर जुन ठाउँबाट उठेर ३५ वर्षीय सुजनले यो काम गरिरहेका छन् त्यो भने साँच्चै सराहनीय छ। १०/१० लाख डलरको लगानीमा दुई जनाले सुरू गरेको फ्याक्ट्रीको मूल्य अहिले कम्तीमा चार गुणा बढेको छ। अर्थात् चार वर्षमा उनले व्यावसायिक रूपमा भन्ने हो भने चार गुणा प्रगति गरेका छन्।
‘मेरो बा/आमाले खेतबारीमा काम गरेर अनि दूध बेचेर हामीलाई हुर्काउनुभएको हो। परिवारमा कसैले व्यापार गरेको थिएन। तर आँट, इमानदारिता अनि मेहनतले सकिने रहेछ,’ उनले भने।
सुरूमा त उनलाई डर पनि लागेको थियो। घर बनाउन जम्मा गरेको पैसा फ्याक्ट्रीमा डुब्यो भने के गर्ने भनेर सोचेका पनि हुन्। तर घाटामा गएर छोड्न पर्यो भने काम गरेर तिर्छु भन्ने साहस आएको उनले बताए।
‘मलाई यहाँको सिस्टमको कारण लगानी गर्न डर लागेन। मेरी श्रीमतीको दरिलो साथले थप बल आयो। २०११ मा बिस्कुट फ्याक्ट्रीमा मजदुर भएर छिरेकै दिन एकदिन म आफैले बिस्कुट फ्याक्ट्री चलाउँछु भन्ने अठोट गरेको थिएँ। अहिलेसम्म पछाडि फर्किन परेको छैन,’ उनले भने।