राजेश कँडेल र माया महर्जन पेसाले नर्स हुन् अनि नाताले श्रीमानश्रीमती। तर यो जोडीले अस्ट्रेलियामा आकर्षक मानिने नर्सिङ पेसा छोडेर आफ्नै व्यवसाय गरेका छन्।
नर्सिङलाई पूर्ण रूपमा छोडेको मान्न त उनीहरू तयार छैनन्। जेहोस् अहिले नर्सिङ उनीहरूको प्राथमिक पेसा होइन। दुवै जना एभरेष्ट होम लोनमा व्यस्त छन्। मायाले अझै पनि कहिलेकाहीँ नर्सिङ काम गर्छिन् भने राजेशले पूर्ण रूपमा छोडे जस्तै भएको छ।
‘मैले होम लोनको लागि मोरगेज ब्रोकर भएर काम गरेको सन् २०१४ बाट हो। २०१५ देखि यो व्यवसाय चलिरहेको छ। अहिले हामी नवौं वर्षमा चल्दैछौ,’ उनले भने, ‘हामीले हाम्रो सेवा अस्ट्रेलियाभरी दिन सक्छौं। अहिलेसम्म करिब १५ सयलाई घर मिलाइसकेका छौं। तीमध्ये अधिकांश नेपाली समुदायका हुन्।’
सन् २०१३ मा उनले अस्ट्रेलियाको पर्थमा घर बनाउँदै गर्दा मोरगेज ब्रोकरले दिएको सेवाबारे नजिकबाट जान्न पाए। ग्राहकसँग कुनै कमिसन लिन नपर्ने अनि सेवा समेत गर्न पाइने अर्कोतिर व्यवसाय पनि हुने भएपछि उनी यसतर्फ आकर्षित भए।
‘नेपालीहरू यो देशका लागि नयाँ छौं। यसै पनि घर किन्ने प्रक्रिया झन्झटिलो छ। बैंक चाहार्न गाह्रो छ। आफ्नै समुदायलाई सेवा गर्न पाइयो अनि शुल्क समेत लिन नपर्ने भएकाले यसमा लागेको हो। २०१५ देखि मैले यसलाई आफ्नो व्यवसाय बनाएँ,’ उनले भने।
सन् २०१७ देखि उनले मेलवर्नबाट आफ्नो व्यवसाय सञ्चालन गर्दै आएका छन्। त्यसयता उनी फूलटाइमर मोरगेज ब्रोकर हुन्।
अस्ट्रेलियामा घर किन्ने क्रममा उनले सुरूआतदेखि सहयोग गर्छन्। सबैभन्दा पहिला घर किन्न चाहनेको आर्थिक हैसियत, उसको आम्दानी लगायत सबै विवरण तयार पारेर घर किन्ने क्षमताको मूल्यांकन हुन्छ।
‘अस्ट्रेलियामा अधिंकाशले घर किन्ने भनेको लोनमै हो। त्यो क्रममा लोनको स्वीकृतिदेखि जरूरी पर्ने अन्य सबै डकुमेन्ट हामीले तयार पार्छौं,’ उनले भने, ‘बैंकले ब्याजदरमा गर्ने फेरबदल अनि त्यसको आधारमा ब्याजदर घटाएका बैंकमा लोन स्थानन्तरण गर्नेदेखि लोनको समीक्षा लगायतका सबै काम हामीले गर्छौं। अर्थात् घर किनेदेखि त्यसको लोन नसकिँदासम्म हाम्रो जिम्मेवारी रहिरहन्छ।’
कुनै ग्राहकले लोन लिएको बैंकले ब्यजदर बढायो तर अर्को बैंकले घटाइरहेको छ भने त्यस्तो अवस्थामा लोन लिएको बैंकले ब्याजदर घटाउन मानेन भने पनि सस्तो ब्याजदर भएको बैंकमा लोन सार्दिने काम उनीहरूले गर्छन्।
यहाँको सबैभन्दा सजिलो पक्ष भनेको घर किन्ने व्यक्ति बैंक चाहार्दै हिँड्न पर्दैन। यो सबै काम मोरगेज ब्रोकरले गर्छन्।
‘हामीले देशभरिका ३५ बैंकबाट लोन मिलाउन सक्छौं। तीमध्ये कुन बैंकले सस्तो ब्याजमा लोन दिन्छ भनेर समेत भन्छौं। यो सबै काम गरेको ग्राहकले कुनै खर्च बेहोर्न पर्दैन। हामीले कम गरेबापत बैंकले नै कमिसन दिन्छ।’
कोही व्यक्तिले म सिधैं बैंकबाट लोन लिन्छु भन्दा पाउँछ तर मोरगेज ब्रोकरले गर्ने भन्दा सस्तोमा काम नहुने उनी बताउँछन्।
मूल्यमा एक सेन्ट पनि तलमाथि हुँदैन। बरू आफैले काम गर्दा डकुमेन्ट मिलाउनेदेखि बैंकको नीतिमा आउने परिवर्तनबारे बुझ्न समेत झन्झट हुन्छ। यो सबै झन्झट मोरगेज ब्रोकरले मिलाउने भएकाले घर किन्ने जोकोहीले उनीहरूकै साथ खोज्छन्। अर्थात् वर्षौंसम्म निःशुल्क रूपमा बाटो देखाइदिने मान्छे पाइन्छ।
दुई जना भएर काम गर्दा सजिलो हुने अनि परिवारलाई समेत समय दिन पाइएको मायाले बताइन्।
‘हुन त मैले पूर्ण रूपमा नर्सिङ छोडेको छैन। अलि अलि काम गरिरहेको छु। तर मेरो मुख्य काम एभरेस्ट होम लोनमै हो,’ उनले भनिन्,‘यो व्यवसायमा लाग्दा जनसम्पर्क पनि बढेको छ भने सन्तुष्टि पनि मिलेको छ। घरपरिवारसँगै व्यवसायलाई अघि बढाउन पाएकोमा खुसी छु।’
सन् २००६ मा अस्ट्रेलिया आएका राजेशले यो स्थितिसम्म आइपुग्दा थुप्रै उतारचढाव व्यहोरेका छन्। हुन त यो अनुभव यहाँ आउने प्रत्येक नेपालीको साझा कथा जस्तै हो।
सुरूमा भाडा माझ्ने, घर सरसफाइ गर्ने, एज्ड केयर अनि डिपार्टमेन्ट स्टोर धेरैतिर काम गरे। नेपालबाट राजेश र माया सँगै अस्ट्रेलिया आउन खोजेका थिए तर त्यही बेला मायाले नर्सिङका लागि स्नातकमा नाम निकालिन् अनि उतै पढ्न थालिन्। जागिरमा एउटै पेसा रोज्नेदेखि व्यवसाय गर्दा सँगै लागेका यो जोडीको प्रेम कहानी पनि अनौठो छ।
सन् २००४ मा अस्ट्रेलियाको तयारीमा रहेका राजेश अनि बेलायतको तयारीमा रहेकी मायाको भेट आइइएलटिएस पढ्ने क्रममा भएको हो। सँगै आउने भने पनि माया दुई वर्ष ढिलो आइन्। सन् २००८ मा उनीहरूको सिड्नीमा बिहे भयो। त्यसपछि उनीहरू पर्थ गए। दुवैले नर्सिङमा स्नातकोत्तरको पढाइ समेत सके अनि त्यही पेसामा दुवैले केही वर्ष काम गरे।
अहिले गरिरहेको कामबाट यो जोडी सन्तुष्ट छ। नेपालमा ब्रोकर भन्नसाथ राम्रो अर्थमा हेरिन्न। त्यसमा पनि घरजग्गाको कारोबारमा जोडिनेलाई त हेर्ने दृष्टि नै अर्को छ।तर यहाँ त्यस्तो छैन।
ग्राहकले आफ्नो सेवाबापत कुनै शुल्क तिर्न नपर्ने अनि नियम अनुसार बैंकले कमिसन दिने भएकाले आफूहरूलाई सजिलो रहेको राजेशले बताए।
‘हामी सँगै देखिने भएकाले जहाँ गए पनि नेपालीको दाइ-भाउजू बन्न पाएका छौं। यसैले पनि होला हामीलाई धेरैले अस्ट्रेलियामा घर किनाउने दाइ-भाउजू भनेर सम्बोधन गर्नुहुन्छ। यसमा हामीलाई गर्व छ,’ उनले भने।
नेपालमा व्यवस्थापनमा स्नातक गरेका राजेशले अस्ट्रेलिया आएर यसमै स्नातकोत्तर समेत गरेका छन्। आफ्नो रूचि र अध्ययनको क्षेत्र समेत भएकोले यसमै रमाएको उनी बताउँछन्।
‘नेपाली समुदाय पनि बढ्दै थियो। यो काम गर्दा सेवा पनि दिन पाइने अनि मेवा पनि मिल्ने भएकाले मोरगेज ब्रोकिङमा लागेको हो,’ उनले भने।
अरूलाई जस्तै उनीहरूलाई पनि नेपालमा गएर केही गर्न सकिन्छ कि भन्ने सोच नआएको होइन तर तत्कालै यसबारे निर्णय लिने बेला नभएको उनीहरूको ठम्याइ छ।यद्यपि उनीहरूले आफ्नो कम्पनीको कतिपय कामहरू नेपालबाटै गराउँछन्। त्यसका लागि चितवनमा २ जनाले नियमित रोजगारी पाएका छन् भने आवश्यकताको आधारमा ४ जना सम्मले रोजगारी पाउने गरेका छन्।