अस्ट्रेलियामा नेपाली
अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि अस्ट्रेलिया विश्वकै उपयुक्त गन्तव्यमध्ये एक हो।
विशेष गरेर मेलवर्न त अस्ट्रेलियाको पहिलो नम्बरमा छ भने सम्भवत विश्वमै तेस्रो स्थानमा छ। नेपाली मात्र होइन विश्वभरीकै विद्यार्थीको रोजाइमा अस्ट्रेलिया आकर्षणको केन्द्रसँगै यसका चुनौती पनि उत्तिकै थपिँदै गएका छन्।
सरकारले पनि अस्ट्रेलिया आउन चाहनेहरूका लागि नीति नियमलाई अलि कसिलो पार्दै गएको छ। यसलाई हामीले दुई तरिकाले हेर्न सक्छौं।
पहिलो, यसको माग बढेसँगै केही नियन्त्रण गर्न खोजेको देखिन्छ।
दोस्रो, अस्ट्रेलियामा रहेका केही 'लुपहोल'हरूलाई समेत केही सन्तुलन मिलाउन खोजेजस्तो देखिन्छ।
विद्यार्थी भिसामा जानेहरूका लागि अस्ट्रेलिया गाह्रो भनेर गाह्रो त होइन तर केही चुनौती थपिएका छन्। त्यस्तै खर्चिलो समेत भएको छ।
उदाहरणका लागि विद्यार्थी भिसा शुल्क ७ सय १० डलरबाट १६ सय डल पुर्याएको छ। यो एउटा ठूलो ‘जम्प’ समेत हो। एक त यो यहाँबाट जम्मा भएको रकम देशको शिक्षाका लागि अनुदान दिने भनेर भनेको छ।
अर्को कुरा अस्ट्रेलियाको लोकप्रियता बढेसँगै अलि धेरै प्रतिस्पर्धी बनाउन खोजेको देखिन्छ। शैक्षिक शुल्क बढेसँगै विद्यार्थीहरूको डकुमेन्टेसनमा समेत अस्ट्रेलिया सरकारले कडाइ गरिरहेको छ। कोभिडपछि यो क्षेत्रमा केही राम्रा, केही नराम्रा दुवै काम भए। जुन कुरा डिपार्टमेन्टको नजरमा पनि आएको थियो। हिजोको दिनमा विद्यार्थीले अडिट रिपोर्ट देखाउँदा मात्र हुन्थ्यो भने अहिले ट्याक्स तिरेको प्रमाण खोज्न थालेको छ। बैंक स्टेटमेन्टमा पनि त्यतिकै कस्न थालेको छ। अस्ट्रेलियाले युवाहरूलाई भिसामा अलि प्राथमिकता दिन खोजेको छ। उमेर बढी अनि शैक्षिक ग्याप भएकाहरूलाई कडाइ गरेको देखिन्छ। यो नीतिगत रूपमा भनिएको छैन तर अनौपचारिक रूपमा कडाइ गरिएको छ।
अहिले अस्ट्रेलियाले नेपालको लागि मात्र नभएर विश्वव्यापी रूपमै विद्यार्थीको संख्या कटौती गर्न खोजेको छ। तर समग्रमा अस्ट्रेलियाले अन्तर्राष्ट्रिय विद्यार्थीलाई सधैं स्वागत गर्छ। हिजोको दिनमा वार्षिक २४ देखि २५ हजारसम्म विद्यार्थी अस्ट्रेलिया आएकोमा अब त्यो संख्यामा कमी आउने देखिन्छ।
भाषा परीक्षामा ल्याउने नम्बरमा वृद्धि गरेको छ। अहिले सम्पत्तिको स्रोत पनि धेरै देखाउन पर्ने नियम ल्याएको छ। पर्यटन भिसामा गएर विद्यार्थी भिसामा परिवर्तन गर्ने नियम बन्द गरेको छ। अब यसले नेपाली विद्यार्थीलाई ठूलो असर पर्न सक्छ। अर्को कुरा पढिसकेपछि पाउने भिसाको समय सकिएपछि फेरि पढ्न पाइन्थ्यो भने अब त्यो समेत बन्द भएको छ।
अस्ट्रेलिया जानेहरूले अथवा यहाँ रहेकाहरूले यस्ता विषयमा ध्यान दिन जरूरी छ।
अध्ययन सकिएपछि काम गर्न पाउने भिसाको लागि ५० वर्षसम्मको उमेर तोकिएको थियो। तर अब त्यो उमेर ३५ वर्षमा झारेको छ। यसले पनि धेरै नेपालीलाई असर गर्छ। अनुसन्धान र पिएचडी अध्ययनमा भने यो नियम लागू हुँदैन। विद्यार्थी भिसा, अस्ट्रेलियामा स्थापित हुनका लागि एउटा लोकप्रिय प्रक्रिया हो तर अरू प्रक्रिया पनि उत्तिकै छन्। नेपालमै बसेर पनि कामदार भिसा अनि स्थायी आवासीय भिसा पनि हाल्न सकिन्छ। त्यसका लागि तपाईं आफू योग्य हुनु पर्छ। विभिन्न क्षेत्रमा काम गरे पनि त्यसबारे जानकारी नभएर कामदार भिसा र स्थायी भिसाको तयारी गरेका हुँदैनन्। नेपालमा व्यवस्थित तरिकाले ट्याक्समा काम आर्थिक कारोबार नहुँदा अलि अप्ठ्यारो पर्छ।
नेपालबाटै कामदार भिसा र स्थायी भिसा पाउनका लागि विभिन्न प्रक्रिया छन्। काम गर्ने ठाउँबाट स्पोन्सर भएका आधारमा कामदार भिसा पाउन सकिन्छ भने स्थायी आवासीय भिसा प्रक्रियाको लागि यहाँको राज्यबाट अनुमति पाउन पर्छ। योसँगै भाषा, कामको दक्षतामा अनुभव आदिमा पनि तोकिएको मापदण्ड पूरा गर्नैपर्छ।
अहिले आएको परिवर्तनलाई कसरी आफ्नो पक्षमा पार्ने भन्ने हो। अस्ट्रेलियालाई दक्ष जनशक्ति चाहिएको छ। त्यसैले तपाईंले पढेको विषयमा काम गर्दै जानु भयो भने तपाईंलाई कामदार भिसामा सहजता हुन्छ। सबैभन्दा पहिला उपयुक्त विषयमा भिसा आवेदन दिनुपर्छ। तपाईंको गन्तव्य के हो भन्ने महत्वपूर्ण कुरा हो। पढेर नेपाल फर्किने हो भने त्यही अनुसारको तयारी गर्नुपर्छ भने अस्ट्रेलियामै स्थायी बसोबास गर्ने हो भने अर्कै तयारी गर्नुपर्छ।
अस्ट्रेलियाको मेलवर्नमा मुख्य कार्यालय रहेको म्याक्सिम्याक्स एजुकेसन एण्ड माइग्रेसन सर्भिसका सञ्चालक शंकर धरेलसँग हामीले अस्ट्रेलियाले माइग्रेसन नीतिमा ल्याएको पछिल्लो परिवर्तनबारे भिडिओ कुराकानी गरेका छौं।