सन् २०१२ मा आफ्नी श्रीमती कल्पना भण्डारीसँग अस्ट्रेलिया आउँदा नारायण प्रसाद ज्ञवालीलाई इन्जिनियरिङ पढ्ने अनि इन्जिनियर बन्छु भन्ने लागेको थियो। सुरूमा डिपेन्डेन्टमा आएको भए पनि नेपालमा र युएई गरी १० वर्ष इन्जिनियरिङ क्षेत्रमा काम गरेको अनुभव भएका कारण अस्ट्रेलियाको इन्जिनियर बन्ने उनको सपना थियो।
उनले यसको अध्ययन पनि गरे। तर विस्तारै उनको बाटो मोडियो अनि सोच्दै नसोचेको पेसा अंगाल्न पुगे, उनी पण्डित बने।
‘सन् २०१२ मा अस्ट्रेलिया आएलगत्तै काम चलाउ पण्डित बन्न थाले। सुरूआतको एक महिनामै मैले न्वारन गरेको थिएँ। मैले हरेक महिना जसो काम पाउन थालेँ’, उनले भने, ‘मैले यस बारेमा औपचारिक शिक्षा लिएको होइन। यो सबै स्वअध्ययनले हो। म पेसाले सिभिल इन्जिनयर हो।’
नेपालमा रहँदा बिल्डिङ र सिँचाइमा काम गरेका ज्ञवालीले झण्डै ६ वर्ष युएईमा समेत काम गरे।
अस्ट्रेलिया आएका सुरूआती दिनमा उनले धेरैथरी काम गरे तर पार्ट टाइम पण्डित बनेका उनी अहिले यसमै व्यस्त छन्।
‘सुरूआती दिनमा पण्डितको कमी थियो। भएकाहरू टाढा/टाढा हुनुहुन्थ्यो। भएका पण्डितहरू पनि यसमै लागिरहेको पाइएन। अर्थात् यहाँको समय सापेक्ष अगाडि बढ्न सक्ने पण्डितको अभाव देखेँ।’



आफ्नै बच्चाको न्वारनमा पण्डित पाउन गाह्रो भएपछि उनलाई पण्डित बन्न मन लाग्यो। तर यसबारे कुनै औपचारिक अध्ययन थिएन। त्यसपछि उनले यसको स्व-अध्ययन थाले। एकातिर आफूले अध्ययन गरेको पेसा छँदै थियो अनि अर्कोतिर पण्डित्याइँ पनि अघि बढ्यो।
‘मैले कुनै पनि स्कुल र विश्वविद्यालयमा गएर यसबारेमा पढेको छैन। कक्षा सातसम्म जति संस्कृत पढिन्थ्यो, त्यति मात्रै पढेको हो। अहिले मैले जन्मदेखि मृत्युसम्मका सबै संस्कारहरू गर्छु,’ उनले भने, ‘यहाँ धेरैजसो न्वारन, शुभ विवाह, घरपूजा लगायतका कामहरू हुन्छन्। म रजिस्टर्ड म्यारिज सेलिब्रेन्ट हुँ। जसले यहाँ हुने विवाहहरूलाई कानुनी मान्यता दिन्छ।’
उनी यहाँको रजिस्टर्ड म्यारिज सेलिब्रेन्ट भएकाले उनले विवाहको प्रमाणपत्र समेत दिन पाउँछन्। त्यसैले उनले गराइदिएको बिहेले कानुनी मान्यता पाउँछ। वैदिक परम्परा अनि कानूनी मान्यता समेत पाउने भएकाले बिहे गर्ने जोडीले उनको सहयोग लिन्छन्। अस्ट्रेलिया सरकारले तोकेको मापदण्ड पूरा गरेर दर्ता भएपछि मात्रै 'रजिस्टर्ड म्यारिज सेलिब्रेन्ट' बन्न पाइन्छ। आफूले पूर्वदेखि पश्चिम अनि हिमालदेखि तराईसम्मका समुदायले गर्ने सबै खालका कर्महरू गराउने उनले बताए।

‘मैले सबैको कला संस्कृति र परम्परा अध्ययन गरेको छु। मैले बेल विवाहदेखि अन्य खालका संस्कृति/परम्पराका मानिसको कर्म गराउँछु। मैले हिन्दु/बौद्ध मात्रै होइन क्रिश्चियन र मुस्लिम धर्म मान्नेहरूको समेत विवाह गराएको छु।’
यहाँको इन्जिनियरिङ क्षेत्रमा समेत केही समय काम गरेका उनी विगत ५ वर्षदेखि भने पूर्णकालीन पण्डित हुन्। अर्थात् उनले पण्डित्याइँ मात्र गरिरहेका छन्।
‘पण्डित्याइँ पेसाबाटै बाँचिरहेको छु। म मेरो घरबाट ७ घण्टाको ड्राइभ गरेर पनि गएको छु। यहाँका धेरै घरमा पुगेको छु। म धेरैजसो नेपालीलाई चिन्छु। मलाई धेरैले चिन्नुहुन्छ। म सन्तुष्ट छु। हुन त यो अप्ठ्यारो कुरा हो तर खुसी छु।’
धेरै नेपालीसँग जोडिन पाउँदा दिने खुसीलाई अन्यसँग तुलना नहुने उनले बताए। एकातिर सेवा अनि अर्कोतिर जीवन निर्वाह समेत हुँदा उनी थप खुसी छन्। कुनै पनि काम सजिलो नहुने भन्दै उनले आफूले पाएको भूमिकालाई इमानदारपूर्वक पूरा गर्नु ठूलो कुरा भएको बताए।
‘कहिले राति नै उठ्नु पर्छ, कहिले घरमा पुग्दा राति हुन्छ। परिवारसँगको समय मिलाउनु पर्छ। अरूलाई सन्तुष्ट बनाउँदा आफ्ना खुसीहरू गुमिरहेका हुन्छन्,’ उनले भने।
परिस्थिति अनुसार स्वयम् व्यक्तिले बुझेर पारिश्रमिक दिने उनी बताउँछन्।

‘अस्ट्रेलियामा कामलाई सबैले सम्मान गर्छन्। तपाईं आफूले जुन रूपमा कामलाई ठान्नुभएको छ, त्यही रूपमा अरूलाई हेर्नुहुन्छ भन्ने लाग्छ। भिक्टोरियामा रहेका ९० प्रतिशतले मेरो कुरा बुझ्नुभएको छ। किनकि एक दिनमा हामीले कति कमाउन सक्छौं भन्ने सबैले बुझ्नुभएको छ,’ उनले भने।
प्रत्येक दिन कुनै न कुनै काम पर्ने भन्दै उनले नयाँ पुस्ताको लागि समेत यसमा सम्भावना रहेको बताए। उनी अहिले भिक्टोरियामा रहेका नेपाली मन्दिरको पुजारी समेत हुन्।
हरेक क्षेत्रमा सम्भावना र चुनौती दुवै रहने भन्दै उनले जुनसुकै पेसा अंगाले पनि इमानदारिता र लगनशिलता जरूरी रहेको बताए।
‘तपाईं पण्डित्याइँ गर्ने हो भने त्यो समाजले पत्याउने खालको हुनुपर्छ। यहाँ मभन्दा धेरै विद्वान पण्डितहरू पनि अरू पेसाबाट बाँचिरहनुभएको छ। त्यसैले अनुशासन र लगनशिलता ठूलो कुरा हो।’
समय अनुसार समाजसँग सन्तुलन गरेर अगाडि नबढेमा काम गर्न गाह्रो हुने उनको बुझाइ छ। त्यसैले सफल हुने अनि असफल हुने भन्ने कुरा आफैमा निर्भर रहने उनले बताए।
यो पेसाका कारण एकातिर उनको निर्वाह चलेको छ भने अर्कोतिर उनको जनसम्पर्क बढेको छ। जसले उनलाई सन्तुष्टि दिएको छ।

‘नेपाली यात्रा गर्ने अधिकांश रेलमा एउटा न एउटा नेपालीले मलाई चिन्नुहुन्छ। गएको दसैंमा म नेपालबाट फर्किंदा मैले बिहे गराइदिएका १० जोडीलाई जहाजमा भेटेको थिएँ। दसैं भएकाले यो एउटा संयोग हुनसक्छ। तर यो यथार्थ पनि हो। जसले मलाई यो पेसामा रहिरहन प्रेरित गर्छ।’
सबै तस्बिर: नारायणप्रसाद ज्ञवालीको फेसबुकबाट