अस्ट्रेलियाको भिक्टोरियाको बालाराट रोडस्थित मेडस्टोनमा १२ वटा घर बन्दैछन्। तीन तले यी घर बस्ने गरी तयार हुन अब ६ महिना लाग्छ। अग्रिम बुकिङ अन्तर्गत तीन वटा घर बिक्री समेत भइसकेका छन्। यी घरहरू बनाउने सिएरा होम्सका सञ्चालक श्रीजन ज्ञवाली हुन्।
ज्ञवालीले यसरी नै घरहरू बनाउने अनि बेच्ने गरेको १५ वर्ष भइसक्यो। उनको कम्पनीले जग्गा खरिद गरेर घर बनाउनेसँगै खाली जग्गामा अर्डर अनुसारको घर समेत बनाइदिने काम गर्छ। अहिलेसम्म उनले झण्डै ५ सय घर बनाएर बेचिसकेका छन्। होम बिल्डर्सको काम गर्नुभन्दा पहिला उनी केही समय मोरगेज ब्रोकर समेत थिए।
उनले सुरूआत गरेको पहिलो व्यवसाय भने पेट्रोल पम्प हो। सन् १९८९ मा ११ वर्षको उमेरमा आफ्नी आमा, दिदी र भाइसँगै अस्ट्रेलिया आएका श्रीजनले यतै आफ्नो विद्यालय र विश्वविद्यालयको पढाइ सकेका हुन्। उनलाई त्यो बेलाको अस्ट्रेलिया र अहिलेको अस्ट्रेलियामा धेरै भिन्न लाग्छ।
‘त्यो बेलाको अस्ट्रेलिया अलि शान्त लाग्थ्यो। नेपाली जनसंख्या निकै कम थियो। हामी सम्भवत पहिलो नेपाली परिवार थियौं होला जस्तो लाग्छ,’ उनले भने, ‘अहिलेजस्तो नेपालीसँग भेट हुँदैन्थ्यो। त्यो बेलामा एक जना दिदी हुनुहुन्छ भनेर हामी आएको १/२ वर्षपछि खबर आयो। उहाँलाई भेट्न मेरो मम्मी ५०/६० किमी टाढा जानुभएको मलाई याद छ।’

सानैमा आएपछि उनलाई यतैको हावापानी रहनसहन अनि संस्कृतिमा बानी पर्न समय लागेन। नेपाली समुदाय भेट्न मुस्किल त्यो समयमा उनी अस्ट्रेलियाकै स्थानीयसँग घुलमिल भए। उनीहरूसँगै रमाउन थाले। आइटीमा स्नातकोत्तरसम्मको पढाइ सके। तर उनले यो पेशा रोजेनन्। जतिबेला उनले यो पढाइ सके त्यो बेलामा यसमा काम पाउन कठिन थियो। त्यसपछि उनी व्यवसायमा लागेका हुन्।
२००९ देखि घर बनाउने/बेच्ने व्यवसायमा लागेका श्रीजनले सुरूका वर्ष साझेदारीमा काम गरेका थिए। तर डेढ वर्षपछि भने उनी एक्लैले यो काम गरेका हुन्। पारिवारिक रूपमा उनका भाइले सघाउँछन् अनि अन्य १० जना कर्मचारी समेत छन्। अरू कामदार भने घर बनाउन पर्ने आधारमा निश्चित समयका लागि करारमा राखिन्छ। उनीहरूले व्यापारिक प्रयोजनका भवन समेत बनाउँछन्।
‘हामीले घरको कन्स्ट्रक्सनको काम गर्छौं। कस्तो रंगको बनाउने, कस्तो डिजाइन अनि ग्राहकको चाहना कस्तो छ भन्ने आधारमा घर बनाउने हो,’ उनले भने, ‘फाइनान्सको पाटो मोरगेज ब्रोकरले हेर्छ। यो सबै व्यवस्थित तरिकाले नै हुन्छ। सबै नीति नियममा रहेर काम गर्नुपर्छ।’
आफूहरूका ग्राहक मिश्रित रहेको भन्दै पछिल्लो समय नेपाली समुदाय बढ्दै गएको उनले बताए।
घरको मूल्य निर्धारण यसको बनावटका आधारमा हुने भन्दै उनले सामान्य घर बनाउन ३ देखि ३ लाख ५० हजार डलरसम्म खर्च हुने बताए।

सानैमा अस्ट्रेलिया आए पनि नेपालमा केही लगानी गर्ने चाहना रहेको तर त्यहाँको अवस्थाले ढुक्क हुन नसकेको उनले बताए।
‘मलाई नेपालमा केही गर्न पाए हुन्थ्यो भन्ने लाग्छ तर कसरी गर्ने भन्नेमा अन्योल छु। हुन त मलाई सबै कुरा थाहा छैन। तर यहाँ आएका र अन्य मेरा साथीभाइ आफन्तको कुरा सुन्दा त्यहाँ व्यवसायका लागि स्थिरता छैन,’ उनले भने।
‘अस्ट्रेलियामा मात्र होइन घर बनाएर बेच्ने काम संसारमै ओरालो लागेको छ। यद्यपि ठिकै छ। माइग्रेसन भएर आउनेहरूको संख्या बढेकाले यसको क्षेत्र राम्रो छ। मैले सुरूमा फाइनान्समा काम गरेको थिएँ। त्यो बेला बिल्डर्सहरूसँग कुरा हुन्थ्यो,’ उनले भने, ‘त्यसपछि हामीले काम सुरू गर्यौं। हाम्रो कम्पनी २००९ बाट सुरू भएको हो। हाम्रो कम्पनी राम्रै छ। म फाइनान्स ब्रोकर थिएँ। त्यो बेला घर किन्नेहरूलाई लोन मिलाइदिने काममा थिए।’
नेपाल आएर आफूलाई केही गर्ने चाहना भए पनि स्थायित्व नभएर आँट नआइरहेको उनले बताए।
‘मेरो बच्चैदेखिको चाहना थियो नेपालमा केही गर्ने भन्ने। जहिले आए पनि नेपालको माया हुन्छ। कहिले के कुरा, कहिले के कुराले रोक्ने देखेको छु। कतिले फेरि नगर डुब्छ भन्छन्। अलि स्थायित्व नभएर आँट आइरहेको छैन,’ उनले भने, ‘हुन त मैले बच्चैमा आएकाले धेरै बुझेको छैन। तर साथीभाइ आफन्तको कुरा सुन्दा त्यस्तै लाग्छ। चाहना छ तर के कसरी गर्ने भन्ने सोचेको छैन।
’
