चितवनको अर्किट साइन्स कलेजबाट १२ कक्षा पास गरेपछि अनिल पोखरेलले एमबिबिएसको लागि परीक्षा दिए। थोरै नम्बरले स्कलरसिपमा नाम निस्किएन। पैसा तिरेर पढ्न मन लागेन त्यसपछि उनको गन्तव्य नै मोडियो।
त्यो बेला अस्ट्रेलिया आउने लहर चलेको थियो। त्यही लहरमा सन् २००७ मा उनी अस्ट्रेलिया आए। सुरूमा त उनले आफ्ना आमाबुवाको चित्तै बुझाउनै सकेनन्।
‘डाक्टर पढ्न हिँडेको छोरो अस्ट्रेलिया जानेभन्दा घरमा ठूलै पीर परेको थियो। म बाल्यकालदेखि नै पढाइमा राम्रो थिएँ। घरमा डाक्टर बनोस् भन्ने थियो,’ उनले भने, ‘अहिले मलाई फेरि विगत सम्झाइदिनुभयो। म अस्ट्रेलिया आएपछि हरेकपटक आमा फोनमा रूनुहुन्थ्यो। सन् २०११ मा नेपाल फर्किएपछि बल्ल कम भएको हो।’
चितवनको मध्यम वर्गीय परिवार अनि घरमा बुवा, आमा, बहिनी मात्रै भएकाले पनि उनलाई विदेश नजान दबाब थियो। तर बुवाआमालाई अस्ट्रेलिया ल्याएपछि भने यहाँको अवस्था देखेपछि केही सहज भएको उनले सुनाए।
‘जिन्दगीमा धेरै कुरा आकस्मिक हुने रहेछन्। योजना बनाए अनुसार नहुने रहेछ। म आफू अस्ट्रेलिया आउँछु भनेर न मैले कहिल्यै सोचेको थिएँ न परिवारले सोचेको थियो। अनि यता आएर एनआरएन अस्ट्रेलियाको अध्यक्ष हुन्छु भनेर पनि कहिल्यै सोचेको थिइनँ।’
दुई कार्यकाल एनआरएन अस्ट्रेलियाको कोषाध्यक्ष भएर अहिले अध्यक्ष रहेका पोखरेलले नेपालमै रहेर केही गर्छु भन्ने सोच पूरा गर्न नपाए पनि नेपालीका लागि भने केही गर्ने अवसर पाएको बताए।
‘प्रवासमा रहेर काम गर्न सजिलो छैन। अझै मेरो त साना तीन वटा नानीबाबु छन्। मेरो केही व्यवसाय छ अनि आफ्नो अरू काम छ,’ उनले भने,‘समुदायमा काम गर्ने भनेको विशुद्ध समाज सेवा हो। परिवारका केही गुनासो होलान् तर बुवाआमा अनि श्रीमती साथीभाइ र आफन्तको साथले यो ठाउँमा छु।’
उनका अनुसार अस्ट्रेलियामा दुई लाख हाराहारीमा नेपाली छन्। पछिल्लो समय नेपालीको रोजाइको गन्तव्य भएकाले अस्ट्रेलियालाई नेपालीहरू आठौं प्रदेश समेत भन्ने गर्छन्। तर अवसरको देश भनेर आए पनि यहाँ समस्याका चाङहरू उत्तिकै छन्। सीमित स्रोत साधनको बीचमा आफूहरूले केही गर्ने प्रयास गरिरहेको पोखरेलले बताए।
‘हामीसँग नेपाली समुदायको केही आश अनि केही भरोसा हुनु स्वाभाविक हो। तर स्वयमसेवी भएर यो खालको संगठन सञ्चालन गर्नु आफैमा चुनौती पनि छ। यसका बाबजुद पनि आफूले सक्ने र आफ्नो क्षमताले भ्याएको काम गर्दै आएका छौं,’ उनले भने।
गैरआवासीय नेपाली संघको दुई दशकको यात्रामा अस्ट्रेलियाको डायसपोरा राम्रो रहेको भन्दै उनले गैरआवासीय नेपाली अभियन्ताहरूको प्रयासले अहिलेको मार्ग तयार भएको बताए। यद्यपि अझै पनि यहाँको स्थानीय, प्रदेश अनि संघीय सरकारसँग लबिङ गर्ने काम कम भइरहेको उनले महसुस गरेका छन्। आफ्नो कार्यकालमा यसलाई विशेष प्राथमिकतामा राख्ने उनको योजना छ।
‘यहाँको सरकारले हामीलाई गर्ने प्रतिनिधित्वका लागि पहल गरेका छौं। केही दिन अघि मात्रै हामीले एउटा कार्यालय समेत स्थापना गरेका छौं। अस्ट्रेलियामा बस्ने नेपालीहरूका लागि यो गर्वको विषय हो,’ उनले भने।
अस्ट्रेलिया आउने लहर चल्दै गर्दा बुझ्दै नबुझी आउने अनि धेरै अपेक्षा राखेर आउने प्रवृत्ति बढेकोमा उनलाई चिन्ता छ। अस्ट्रेलिया साँच्चै सपनाको देश भए पनि अस्वाभाविक सपना देख्दा भने सपनाले नै खाने उनको बुझाइ छ।
‘अहिले आउने विद्यार्थी भाइबहिनीहरू १८ देखि ३० वर्षका आउने गर्छन्। उहाँहरू धेरै नबुझिकन आउनुभएको हुन्छ,’ उनले भने, ‘मानसिक समस्या, आत्महत्या अनि ग्यामलिङ लगायतका समस्या बढिरहेको छ। कयौं सपना बोकेर आएका छोराछोरीलाई बाकसमा राखेर फर्काउनु पर्दाको पीडा हामीलाई त छँदैछ तर त्यो परिवारलाई कुन तहमा छ भन्ने कुरा म शब्दमा व्याख्या गर्द सक्दिनँ।’
अर्कोतिर अहिलेको पुस्तामा तुलनात्मक रूपमा संघर्ष गर्ने, लचकता अनि दुःखसुख बुझ्ने कम भएको हो कि भन्ने उनको अनुभव हुन्छ। त्यसैले मानसिक रूपमा स्वस्थ रहनका लागि समुदायको तर्फबाट अनि यहाँको सरकारसँग कसरी काम गर्न सकिन्छ भनेर सोच्न पर्ने भएको उनले बताए।
‘मेरा छोराछोरी अब अस्ट्रेलिया पुगे भनेर ढुक्क भएर परिवार पनि नबस्नुहोला भन्न चाहन्छु। तपाईंहरू निरन्तर सम्पर्कमा रहनुहोला। किनकि हरेक महिना कैयौं शवहरू पठाउन पर्ने, कैयौं मानसिक बिरामीलाई अस्पतालमा राख्नुपर्ने अवस्थामा हामी छौं,’ उनले भने।
समुदायको नेताको रूपमा उनले देखेको अर्को चुनौती यहाँ आएकालाई अस्ट्रेलिया चिनाउने अनि यहाँ जन्मिएकालाई नेपाल चिनाउनु पनि हो।
‘एकातिर नेपालबाट यहाँ आएको युवापुस्तालाई कसरी यहाँको समुदाय भाषा संस्कृतिसँग जोड्ने भन्ने प्रयास गर्नुछ भने अर्कोतिर यहाँ हुर्केको पुस्तालाई नेपालसँग जोड्न पर्नेछ,’ उनले भने, ‘यद्यपि धेरै खालका पाठशालाहरू खुलेका छन्। हामीले हाम्रो भाषा संस्कृतिलाई मर्न दिनुहुँदैन।’
नेपाल छोडेर आए पनि नेपालीको मन उतै हुने भएकाले नेपालमा केही न केही दिनपर्छ भन्ने सबैलाई लाग्ने उनले बताए। आफूले आर्जन गरेको सीप अनि पुँजीलाई नेपालमा फर्काउन सकेमा भोलिका दिनमा विदेशिने भाइबहिनीको संख्या पनि कम हुने उनको अपेक्षा छ।
३७ वर्षीय अनिल एकातिर एनआरएन अस्ट्रेलियाको अध्यक्ष भएर समुदायको काममा व्यस्त छन् भने अर्कोतिर उनको जागिर, व्यवसाय अनि परिवार चलाउने जिम्मेवारी पनि छ।
‘म कुनै न कुनै रूपमा देशलाई अनि समुदायलाई केही दिने प्रयासमा छु। म सक्रिय रूपमा व्यवसायमा नलागे पनि यसमा आबद्ध छु। अस्ट्रेलियाको एउटा ठूलो कम्पनीमा फाइनान्स म्यानेजर छु। घर परिवार अनि समुदायलाई व्यवस्थापन गर्ने कुरा चुनौतीपूर्ण छ। तर इच्छा शक्तिको कुरा समेत हो,’ उनले भने।
समुदायको नेतृत्व गर्नु एउटा प्रिभिलेज समेत भएको भन्दै उनले आफूले यसलाई न्याय गर्नको लागि हरदम कोसिस गरेको बताए।
१७ वर्षअघि अस्ट्रेलिया आएका पोखरेल आफ्नो विगत सम्झिँदै विद्यार्थीलाई यहाँ आउँदैमा सबै समस्या समाधान हुन्छ भन्ने सोच नराख्न सुझाव दिन्छन्।
‘अस्ट्रेलिया र नेपालको शैक्षिक अवस्था नै फरक छ। त्यो बुझेर आउन जरूरी छ। तपाईंले आउनसाथ काम नपाउन सक्नुहुन्छ अनि काम पाए पनि तपाईंलाई पुग्ने नहुन सक्छ। यी सबै कुरा बुझेर मात्र आउनुहोला,’ उनल भने।
आफू र आफूभन्दा अगाडि आउनेहरूलाई जस्तो अप्ठ्यारो अहिले नभएको उनको अनभुव छ।
अस्ट्रेलियामा नेपाली समुदाय बढ्दै जादा एकले अर्कालाई चिन्नेहरुको संख्या पनि बढ्दै गएको छ। त्यसैले आफन्त अनि कन्सल्टेन्सीको छलफलका आधारमा अघि बढ्नुपर्ने उनको सुझाव छ।
‘खराब विकल्पबारे सोच्ने अनि खराब परिस्थितिको मूल्यांकन समेत गर्नुपर्छ। अस्ट्रेलिया गएको अर्को हप्ता/महिनामा पैसा पठाउँछ भन्ने नबुझ्नुहोला,’ उनले भने, ‘अझै अहिले कतिपय नियम समेत परिवर्तन भएको छ। जसले गर्दा विद्यार्थीमैत्री नियम कानुन छैन।’