अस्ट्रेलियामा नेपाली
नवलपुर गैंडाकोटका शेखर तिवारी उच्च शिक्षा अध्ययन गर्ने सिलसिलामा के गर्ने भन्नेबारे अन्योलमा थिए।
सन् २००८ को समय थियो। उनी अस्ट्रेलियाको सिड्नी पुगे। अकाउन्टिङमा डिप्लोमा सकेर स्नातक तह पढ्ने र त्यसअनुसार नै इलम गर्ने उनको सोच थियो।
अस्ट्रेलियामा भविष्य उज्वल र अवसर देखेर उनी सिड्नी पुगे। तर आफ्नो देश छाडेर विदेश पुग्नेबित्तिकै काम पाउन कठिन थियो।
आमाबुबाले उच्च शिक्षा हासिल गर्न अनुमति त दिएका थिए तर शैक्षिक शुल्क र अन्य खर्च बेहोर्न सक्ने अवस्था थिएन।
आधारभूत आवश्यकता पूरा गर्नु र शैक्षिक शुल्क तिर्नु नै शेखरको प्रमुख चुनौती थियो।
खोजिरहँदा उनले सिड्नीको प्याटिसन बेकरीमा काम पाएका थिए। जे भेटिन्छ, त्यही काम गर्ने योजनाअनुसार उनले त्यही काम गर्ने निधो गरे। मन लगाएर काम गरे।
त्यहाँ उनले काम गर्दै सीप सिके। पाउरोटी बनाउन सिके, जसले उनको भविष्यको बाटो कोरेको थियो।
पाउरोटी बनाउने काममा उनी दिनप्रतिदिन निखारिँदै गए। एक दशकसम्म उनले त्यही बेकरीमा जागिर खाए। पछि उनलाई बेकरी उद्योगले तान्यो।
‘मलाई त्यतिबेला साथीभाइले अनेकन बुद्धि दिए। तर मेरो दिमागमा एउटै कुरा थियो जे जानेको छ, त्यसैमा हात हाल्दा राम्रो भन्ने,’ शेखरले पुराना दिन सम्झिँदै भने।
अनुभवसँगै बेकरी सम्बन्धी पटिसरी शिक्षा लिने योजना बनाएर एड्भान्स डिप्लोमा गरेको उनी बताउँछन्।
यसरी डिप्लोमा गरेसँगै उनमा एउटा जोस थियो। जसले गर्दा सन् २०१८ मा उनले बेकर्स डिलाइटको फ्रेन्चाइज स्टोर किने।
अस्ट्रेलियाको बेकरीमा ब्रान्ड बनेको बेकरी डिलाइट्स अहिले पनि अस्ट्रेलियामा करिब ६ सय र न्युजिल्यान्डमा सयौं फ्रेन्चाइज सञ्चालनमा छन्।
सिड्नीको डुरलमा पहिलो बेकर्स डिलाइटको फ्रेन्चाइज बेकरी किनेर उनले व्यवसायीको पहिलो कदम चालेका थिए।
‘पहिलो पटक कामदारबाट साहु बनेको क्षण थियो। तर डर भने निकै लाग्यो। लगानी गरिसक्यो अब के हुन्छ र कसरी यसलाई फाइदामा लाने भन्ने सोचले दिनरात नभनी काम गरियो,’ शेखरले भने।
दुई वर्षमै उनले यसलाई विस्तार गर्दै सन् २०२० मा सिड्नीको नर्थरक्समा दोस्रो स्टोर किने। उनले आफ्ना भाइ ऋषिलाई पनि यही व्यवसायमा ताने। दोस्रो फ्रेन्चाइज पनि सफल बन्यो।
‘म एक्लै थिएँ, सबेरै उठ्नुपर्ने र रातिसम्म काममा भिड्नु पर्ने भएकाले यसलाई परिवारिक व्यवसाय बनाउन भाइलाई पनि साथ हिँडाएँ र अहिले यो हाम्रो पारिवारिक व्यवसाय बनेको छ। म, मेरो परिवार अनि भाइ सबै जोडिएका छौं,’ शेखर भन्छन्।
दोस्रो स्टोर पनि मेहनतले रङ ल्याएपछि उनी हौसिए। त्यसपछि उनको यात्रा थप अगाडि बढ्यो।
सन् २०२१ मा शेखरले सिड्नीकै ब्ल्याक टाउनको बेकर्स डिलाइट स्टोर किने। अस्ट्रेलियन समाजमा पाउरोटी व्यवसायलाई टिकाउने उनको प्रयास सफल बन्यो।
लगत्तै अर्को वर्ष सन् २०२२ मा मेनाइमा उनले अर्को फ्रेन्चाइज खरिद गरेका थिए। एक मिलियन डलर लगानी गरेर उनले यो फ्रेन्चाइज किनेका थिए। अस्ट्रेलियनहरूको कोर एरिया भएकाले पाउरोटी संस्कृति मौलाउने कुरामा शेखर विश्वस्त थिए।
सिड्नी र वरपरका क्षेत्रलाई आफ्नो व्यवसायिक घराना बनाएका शेखरले सन् २०२२ मा राजधानी क्यानबेराका टगरननमा अर्को बेकर्स डिलाइट स्टोर किने।
यसरी एकपछि अर्को गर्दै पाउरोटी व्यवसायमा सफलता हात पारेका शेखरले पछिल्लो वर्ष स्प्रिङउड र गामियामा पनि स्टोर थपे।
यसरी सातवटा बेकरी चलाइरहेका उनी अब जेराबेम्बामा अर्को स्टोर थप्ने तयारी गरिरहेका छन्।
केही वर्ष अघिसम्म पाउरोटीको परिकार बनाउने शेखर एउटा चर्चित बेकरीका साहु बनेका छन्।
बिहान ४ बजेदेखि काममा लाग्छन् र राति अबेरसम्म काम गर्ने उनको दैनिकी बनेको छ। उनलाई नेपाली अस्ट्रेलियन युथ सोसाइटीले समेत सफल युवा व्यवसायीको रूपमा सम्मान गरेको छ।
उनले आफ्ना स्टोरमा दुई सय जना कामदारलाई राखेका छन् जसमध्ये ५० प्रतिशत नेपाली नै छन्।
उनले आफ्नो व्यवसाय सफल हुनुमा मेहनत र ग्राहकको सन्तुष्टि नै मान्छन्।