अस्ट्रेलियामा नेपाली
दन्त चिकित्सक डा. सरोजनी मास्केलाई १८ वर्षअगाडि अस्ट्रेलिया आउँदा पढाइ सकेर दुई/तीन वर्षमै फर्किहाल्छु अनि कुनै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थामा काम गर्छु भन्ने लागेको थियो।
६ वर्ष नेपालमा डेन्टिस्ट भएर काम गरेकी मास्के सन् २००६ जुलाईमा पब्लिक हेल्थ पढ्न अस्ट्रेलिया आएकी थिइन्।
तर उनले सोचे जस्तो भएन।
उनलाई अस्ट्रेलियाले लोभ्यायो अनि परिवारसहित यतै स्थायी बसोबास गर्न थालिन्।
'विदेश गएर थप ज्ञान लिन्छु भनेर यहाँ आएको हो तर चक्रव्यूह जस्तो हुने रहेछ। आफन्त, साथीभाइले यहाँको डेन्टिस्टको परीक्षा दिन सुझाव दिएकाले परीक्षा दिएँ। पास पनि भएँ,' उनले भनिन्, 'म यतै दन्त चिकित्सक बन्न सफल भएँ। नानी पनि भयो, अनि यतै बसियो।'
अस्ट्रेलियाको डेन्टल काउन्सिलले लिने परीक्षा डा. सरोजनीले सन् २००९ मा पास गरेकी हुन्।
उनले ९ वर्ष अस्ट्रेलियाका विभिन्न पब्लिक तथा निजी अस्पतालमा डेन्टिस्ट भएर काम गरिन्। त्यसपछि आफैले डेन्टल क्लिनिक सुरू गरिन्। अनि सुरू भयो डेन्टल एट हपर्स।
२०१८ जनवरी १८ देखि मेलवर्नको हपर्समा सुरू भएको यो क्लिनिक सम्भवतः नेपाली समुदायले सञ्चालन गरेको भिक्टोरियाकै पहिलो डेन्टल क्लिनिक हो।
पहिलादेखि नै डेन्टिस्ट भएर काम गरेकोले क्लिनिक सञ्चालनमा खास गाह्रो नभएको उनी बताउँछिन्।
'यो ठाउँमा नेपाली समुदाय पनि धेरै छन्। अनि नेपालीको क्लिनिक भएर खोज्दै आउने पनि धेरै छन्। धेरै दुःख भएन, किनकि हाम्रो तयारी राम्रो थियो।'
डेन्टल एप हपर्समा सबै समुदायका बिरामीले उपचार गर्ने भए पनि नेपाली समुदायकालाई अझै उपयोगी बनेको छ। आफ्नो समस्या अंग्रेजीमा भन्न नसक्ने वा भन्न गाह्रो हुनेहरूका लागि यहाँ उपचार गराउन सहज भएको छ।
नेपालको काम गराइ र यहाँको खासै फरक नभए पनि उपचार व्यवस्थापनको पाटो भने केही फरक हुने उनी बताउँछिन्।
'यहाँ बिरामीलाई सबै जानकारी दिएर काम गर्नुपर्छ। के भएर यस्तो भयो अब कसरी गर्ने, कुन चरणमा उपचार पुगेको छ भनेर सबै भन्छौं,' उनले भनिन्, 'हुन त नेपालमा पनि अहिले उपचारको पद्धति परिवर्तन भयो होला। मैले नेपाल छाडेको धेरै वर्ष भयो। त्यो बेला चिकित्सक र बिरामीको कुराकानी अलि कम हुन्थ्यो, अहिले धेरै बदलिएको छ।'
ललितपुरको सुन्धारामा ५० वर्षअघि जन्मेकी सरोजनीले अरनिको सेकेन्डरी स्कुलबाट एसएलसी पास गरेकी हुन्। प्रविणता प्रमाणपत्र तह सिद्धार्थ वनस्थलीबाट विज्ञान विषयमा गरिन्।
खासमा उनलाई मेडिसिन पढ्न मन थियो। नेपालगञ्जमा एमबिबिएस पढेकी पनि हुन्। तर ६ महिना पढेपछि कलेज बन्द भयो। त्यसपछि अन्योलमा परेकी उनी डेन्टल पढ्न भारत गइन्। नेपालमा त्यो बेला डेन्टलको पढाइ हुन्थेन।
दक्षिण भारतको मणिपाल कलेज अफ डेन्टलबाट सन् १९९९ मा डेन्टिस्ट बनेर उनी नेपाल फर्किन्। नेपालमा टिचिङ अस्पताल, लायन्स क्लब अनि हेल्पिङ ह्यान्ड्समा काम गरिन्।
'मलाई त त्यो बेला दुःख लागेको थियो। किनकि मैले पढ्न चाहेको विषय पढ्न पाइनँ। तर अहिले आएर त्यो बेला ठीकै भएछ जस्तो लाग्छ। जे भयो राम्रैको लागि भयो भन्ने लागेको छ,' उनले भनिन्।
अस्ट्रेलिया आएको ६ महिनासम्म उनलाई किन आएछु भन्ने लागेको थियो। हुँदाखाँदाको जागिर छाडेर नआएको भए हुन्थ्यो भन्ने भयो। अर्कातिर उनका श्रीमान राजन मास्के पनि कानुन व्यवसायी भएर राम्रै काम गरिरहेका थिए।
'मेरो दुःख, श्रीमानको दुःख अनि सानी छोरीको अर्को दुःख। सबैलाई गाह्रो भएको थियो,' उनले भनिन्, 'सुरूमा अस्ट्रेलियामा दुःख पाउन किन आएछु जस्तो हुनु आम समस्या हो। यो मेरो मात्र समस्या पनि होइन। बिस्तारै पढाइमा सफलता हुँदै जान्छ। काम पनि पाइँदै गइन्छ अनि सबै ठीक हुँदै जान्छ।'
जसरी उनलाई अस्ट्रेलिया आउँदा सुरूको समयमा अन्योलता बढेको थियो, त्यसैगरी आफ्नै क्लिनिक खोल्ने निर्णय गर्दा पनि त्यस्तै अन्योल भयो। उनका श्रीमानले सुरूदेखि नै आफ्नै क्लिनिक सुरू गर्न हौसला दिइरहेका थिए। तर उनलाई आँट आएको थिएन।
'दुइटा बच्चा हुर्काउनुपर्यो। आफूले सुरू गर्दा घाटा भयो भने के गर्ने भन्ने चिन्ता थियो। त्यही भएर ९ वर्ष अरूको काम गर्न पर्यो। अहिले त ढिलो सुरू गरेछु जस्तो लाग्छ,' उनले भनिन्।
बिरानो ठाउँमा आएर आफ्नै व्यवसाय सुरू गर्न उनलाई श्रीमानको दरिलो साथ थियो। अनि हुर्किँदै गरेकी ठूली छोरीको पनि। उनको साथलाई अझै बलियो बनाउन उनकी जेठी छोरी साक्षी मास्के डेन्टल पढ्दैछिन्। अब दुई वर्षमा उनी पनि डेन्टिस्ट बनेर सिड्नीबाट फर्किन्छिन्। सानी छोरी ऋति मास्के ६ कक्षामा पढ्छिन्।
उनको क्लिनिकमा अहिले चिकित्सक र स्टाफ नर्स अनि अन्य कर्मचारी गरी १२ जनाले काम गर्छन्। आफ्नो व्यवसायबाट उनी सन्तुष्ट छन्।
'समझदार पार्टनर पर्यो भने सबै चुनौती सामना गर्न सकिने रहेछ। मेरो श्रीमानले त आफ्नो काम छोडेर मलाई साथ दिनुभएको हो। जसले गर्दा हामीले दुई छोरी हुर्काएर क्लिनिक समेत चलाइरहेका छौं। मेरो श्रीमान क्लिनिकको प्राक्टिस म्यानेजर हो,' उनले भनिन्।
नेपालमा दाँत दुख्यो भने मात्रै उपचारमा जाने भए पनि अस्ट्रेलियामा नियमित परीक्षण गर्ने चलन भएकाले क्लिनिक सञ्चालन गर्न समेत सजिलो भएको उनको अनुभव छ। डेन्टल पढेर अस्ट्रेलिया आउने अनि यहाँ आएर पढ्ने सबैलाई राम्रो अवसर रहेको उनले बताइन्।
'समग्रमा यहाँ धेरै सम्भावना छ। नेपालमा पढेर आउनेहरूका लागि गाह्रो छैन। अनि यहाँ आएर पढ्न पनि खासै गाह्रो छैन। समूह बनाएर पढ्ने अनि कोचिङमा ध्यान दिने हो भने सफलता पाउन सकिन्छ,' उनले भनिन्।
दाँतको उपचार अस्ट्रेलियामा महँगो हुने पनि भनिन्छ। नियमित परीक्षण नगर्दा त्यस्तो हुने उनले बताइन्। अस्ट्रेलियामा बसिरहेको व्यक्ति दाँतकै उपचार गराउन भनेर नेपाल जान नपर्ने उनको दाबी छ।
'दिनमा दुई पटक अनिवार्य दाँत माझ्नुपर्यो, फ्लस गर्नुपर्यो। समय समयमा दाँत सफा गर्नुपर्यो अनि परीक्षण गर्नुपर्यो। कुनै पनि समस्या आउनासाथ परीक्षण गर्नुपर्छ। जसले गर्दा पछि खर्च कम हुन्छ,' उनले भनिन्।
उनी अस्ट्रेलिया आएको १८ वर्ष भइसक्यो।
अब नेपाल जाने कि नजाने? भन्ने प्रश्नको जबाफमा उनी नेपाल आफ्नै घर भएको र जहिले गए पनि हुने बताउँछिन्। तर डेन्टिस्ट हुने गरी जाने कि नजाने भनेर भन्न नसक्ने उनले बताइन्।
'बच्चाहरू हुर्किँदै गएका छन्। अब चटक्कै छोडेर जान पनि मिल्दैन। ठूलो छोरी डेन्टिस्ट बनिसकेपछि मेरो साथ चाहिएला। सानी छोरीको चाहना अनुसार पढाउनै बाँकी छ। बरू छोरी पास भएर आउँदासम्म क्लिनिकलाई अझै विस्तार गरिसक्नेबारे सोच्दैछु,' उनले भनिन्।