कथायेँ: अध्याय एक
आलोकसिद्धि तुलाधरलाई जसै मैले सुदर्शनराज तिवारीसँगको कुराकानी सुनाएँ, उनले तुरुन्तै भेटौं भने।
आलोकसँग मेरो पहिलो भेट साढे दुई वर्षअघि काष्ठमण्डप जीर्णोद्धारको रिपोर्टिङ क्रममा भएको थियो। उनले मलाई काष्ठमण्डपको भग्नावशेषमाथि चढाउँदै त्यसको जगमा रहेको नौ खण्ड देखाएका थिए, जसको विस्तृत म अर्को अध्यायमा चर्चा गर्नेछु।
रानीपोखरी जीर्णोद्धारको रिपोर्टिङ गर्दा पनि मैदान बनेको पोखरी स्थलमा हामी सँगसँगै गएका थियौं। उनी रानीपोखरी बचाउ अभियानका सक्रिय अभियन्ता थिए। त्यही सिलसिलामा मल्लकालीन पोखरीको झलक दिने पुराना सामग्रीहरू खोज्न हामी धेरै ठाउँ सँगसँगै गयौं।
संस्कृति र सभ्यतामा गहिरो स्वअध्ययन गरेका आलोक कलेज ‘ड्रपआउट’ हुन्। पढाइ छाडेर केही समय पारिवारिक हस्तकला व्यवसाय सम्हाले। नेपाली हस्तकला बेच्न अमेरिकाको ‘सिलिकन भ्याली’ मा करिब छ महिना बस्दा सफ्टवेयरको संसारले उनलाई तान्यो। उनी त्यसैमा रत्तिए र लामो समय त्यही व्यवसायमा रहे।
काठमाडौं, किलागलका यी रैथानेलाई व्यक्तिगत रूपले जात्रापर्वमा सरिक हुनु र चाडपर्व मनाउनुबाहेक संस्कृति र सभ्यताको कुनै ज्ञान थिएन। आफ्नै घरअगाडिका पुराना मूर्तिहरू लिच्छविकालीन रहेछन् भन्ने पनि उनले धेरैपछि मात्र थाहा पाए, जब उनलाई सभ्यता संरक्षणको सूर चढ्यो।
‘सफ्टवेयर बेच्ने मान्छे सभ्यतातिर कसरी तानिनुभयो?’ मैले एकदिन मच्छिन्द्रबहालमा एउटा जात्रा हेर्न जाँदा उनलाई सोधेको थिएँ।
‘यो चैत्यको कमाल हो,’ हरेक कुरामा ठट्टा गर्ने आलोकले ठट्यौली पारामै जवाफ दिए।
‘चैत्यले सपनामा आएर झस्काएछ कि क्या हो?’
हामीकहाँ यस्ता थुप्रै कथा–किम्बदन्ती छन्, जसमा राजा–महाराजा वा पुजारीको सपनामा देवीले दर्शन दिएकी छन्।
काठमाडौंका अन्तिम मल्लराजा जयप्रकाशलाई एक रात सपनामा कुमारीबाट आज्ञा भयो रे, ‘तिम्रो राज्यभोगको समय समाप्त हुन लाग्यो, आफ्नो राज्य अवधि बढाउने इच्छा भए मेरो लागि स्थायी बासस्थान बनाइदिनू र रथयात्रा चलाउनू। यति गरे तिम्रो राज्यभोग १२ वर्ष बढ्नेछ।’
जयप्रकाश मल्लले सपनामा पाएको त्यही आदेशअनुसार कुमारीघरको जग हालेको र कुमारी, गणेश र भैरव रथयात्रा चलाएको भनाइ छ।
‘सपनामा त होइन, चैत्यले बिपनामै आएर मलाई झस्कायो,’ उनी हाँसे।
आलोक हम्मेसी आफ्नो व्यक्तिगत कुरा गर्न रुचाउँदैनन्। यति विवरण लेख्न अनुमति माग्दा पनि उनी अनकनाउँदै थिए। मैले ढिपी गरेपछि बल्ल माने। त्यसदिन पनि धेरै बेर खोतलेपछि बल्ल खुले।
‘एउटा पुरानो चैत्य जीर्णोद्धार हुँदै थियो। भत्काउँदै, सफा गर्दै गर्दा मैले केही पुराना सिक्का र केही अन्नहरू देखेँ। चैत्यभित्र ती चिजबिज किन राखिए होलान् भनेर अचम्म लाग्यो। पछि त्यही चैत्य नयाँ बनाउँदा गुर्जुहरूले त्यसैगरी पुराना सिक्का, अन्न, गेडागुडी, सलाइको बट्टा र काँटीसमेत भित्र छोपछाप पार्नुभयो। मलाई झन् अचम्म लाग्यो।’
आलोक आफूमा सम्पदा चेत खुल्दाको क्षण विस्तार लगाउँदै थिए।
‘मैले गुर्जुहरूलाई कारण सोधेँ। उहाँहरूले भन्नुभयो– कुनै भवितव्य परेर हाम्रा खेतीपाती, जायजेथा सबै नाश भए, यी अन्न, गेडागुडी र सलाइ–काँटीले हाम्रो प्राण जोगाउँछ। फेरि खेती गरेर नयाँ सृष्टि थाल्न बीउ रहन्छ।’
भविष्यमा हुनसक्ने विनाशलाई हेरेर अत्यावश्यक वस्तु जोहो गर्ने यस्तो चलन हाम्रा पुर्खाहरूले उतिबेलै सुरू गरेका रहेछन्!
कति दूरदर्शी!
आलोकलाई लाग्यो, सम्पदा र संस्कृति भनेका सहरको शोभा मात्र होइन, प्राण नै रहेछन्, जसबिना यो सहर ‘कोमा’ मा गएजस्तै हुन्छ। ढुकढुकी त रहन्छ, त्यसमा ज्यान बाँकी हुन्न।
‘त्यही दिनपछि म सारा कामधाम छाडेर झोलातुम्ला बोकेर सम्पदा जोगाउने रनाहामा हिँडिरहेको छु,’ उनले भने।
उनी आफ्नो रोजीरोटीका लागि सम्पदासम्बन्धी भिडियो र वृत्तचित्र बनाउँछन्। स्कुल, कलेज र समुदायहरूमा गएर तालिम दिन्छन्। इच्छुक सम्पदाप्रेमीहरूलाई काठमाडौंका गल्लीमा ‘टुर’ गराउँदै यहाँका कथा–किम्बदन्ती कहँदै हिँड्छन्।
मैले उनलाई तिवारीले डायरीमा कोरिदिएको नक्सा हेर्दै लिच्छविकालीन गल्ली र डबली ‘टुर’ गराउन आग्रह गरेँ।
‘तपाईं मेरो गाइड बन्ने हो?’
‘मेरो लाइसेन्स छैन नि!’
‘लगन भए हुन्छ।’
‘लगन त काठमाडौंको पुरानो टोल।’
‘लिच्छविकालीन नै होला?’
‘खै, तिवारी सरले के भन्नुभो?’
‘नक्सा तपाईंलाई बुझाइसकेँ त।’
‘आफू हेर्दै नहेरी बुझाउनुभो?’
‘मैले बुझ्ने भए गाइड किन चाहियो?’
‘हा हा हा ... लौ सुरू गरौं उसो भए, कहाँबाट सुरू गर्ने?’
‘तपाईं भन्नुस्, टुर गाइड त तपाईं हो क्यारे, म त टुरिस्ट।’
हामी जैसीदेवलको एउटा भित्री चोकमा मन्दिरको सिँढीमा बसेर जिस्किरहेका थियौं। पछाडिबाट कुकुर भौं भौं भुकेको आवाज आयो। आलोकले बसी–बसी जीउ बटारेर आँखा तन्काए। ब्याकप्याक भिरेकी एक विदेशी टुरिस्ट सुइँसुइँ चोकभित्र छिरिछन्। त्यहाँ एउटा कुकुर बाँधिएको थियो, जसले हामीलाई देखेर पनि ङयार्रङुर्रर गरेको थियो। चोककै एक जना व्यक्ति, सायद कुकुरका मालिकले माथि घरको झ्यालबाट हप्काएपछि बल्ल ऊ चुप्प लाग्यो। विदेशी महिला छिर्दा भने कुकुरलाई हप्काउन त्यो मान्छे त्यहाँ थिएन। आलोकले नै कुकुरलाई थामथुम पारे।
टुरिस्ट एकाध फोटो खिचेर फर्किहालिन्, हामी केही बेर अलमलियौं।
मन्दिरछेउ एउटा पुरानो शिलालेख थियो। आलोकले नजिक गएर घोरिएर हेरे। हातले पुछपाछ पारे।
‘लिच्छविकालीन रैछ?’ मैले भनेँ, ‘कि मल्लकालीन?’
‘होइन, नयाँ रैछ,’ उनले भने, ‘शाह राजाकै पालाको, नाम ठ्याक्कै चिनिएन।’
हामी बाहिर जैसीदेवल चोकमा निस्क्यौं। त्यहाँबाट टेकुतिर लम्किँदै उनले भने, ‘हामीले यो यात्रा टेकु दोभानबाट सुरू गर्नुपर्छ, बुझ्नुभो।’
मैले टाउको हल्लाएँ।
...
टेकु दोभानमा डोजर चल्दै थियो।
काठमाडौंका दुई नदी बागमती र विष्णुमती आपसमा मिसिने यही दोभानमा कुनै समय ‘ने’ ऋषि तपस्या गर्थे रे। एकदिन सपनामा उनलाई महालक्ष्मीले दर्शन दिइछन्। र, भनिछन्, ‘हे ने मुनि, म तिम्रो आराधनाबाट प्रसन्न छु। यो दोभान वरपरको भूमि उर्वर छ। तिमी यहीँ बस्नू र बस्ती बढाउनू।’
देख्नुभयो त सपनाको संयोग! यहाँ पनि सपनाकै कुरा!
के यिनै ‘ने’ मुनि काठमाडौंमा बस्न आएका पहिलो मान्छे हुन सक्छन्? के काठमाडौंसँग कुनै न कुनै रूपले वंशाणुत शाखा जोडिएका सबै यिनकै पुस्ता हुन सक्छन्?
के बेर!
यो ऐतिहासिक दस्तावेजहरूले प्रमाणित गर्ने कुरा भएन, तर किम्बदन्तीहरूलाई आधार मान्ने हो भने काठमाडौं आएर बसाइँ सुरू गर्ने पहिलो ‘रेकर्डेड’ मान्छे ‘ने’ नै हुन्। उपत्यकामा मानव बस्ती बसाउने श्रेय हाम्रो किम्बदन्तीले उनैलाई दिएको छ। उनकै नाममा उपत्यकालाई ‘नेपाल’ भनिएको हो भन्ने भनाइ पनि छ।
किम्बदन्तीमा अंकित यी पहिलो काठमाडौंबासीलाई श्रद्धापूर्वक नमन गर्दै आलोक र म टेकु दोभानबाट त्यही बाटो सहरतिर फर्कियौं, जुन बाटो जैसीदेवलदेखि यहाँसम्म आएका थियौं।
यहाँबाट हाम्रो सम्पदा यात्रा सुरू हुनेछ। आफ्नो कुर्सीको पेटी टम्म कस्नुस् है, यात्रा लामो छ।
‘दुई हजार वर्षअघि किराँतकालमा सहरी योजना तीन घेराको थियो,’ तिवारीले भनेका थिए, ‘पहिलो घेरामा पर्थ्यो, डाँडामाथिको झुरुप्प बस्ती। दोस्रो घेरामा बेसीको उर्वर भूमि, जहाँ बाह्रै महिना खेती हुन्थ्यो। त्योभन्दा पर, तेस्रो घेरामा थियो– नदी, वनजस्ता प्राकृतिक स्रोत।’
आलोक र म यतिबेला जुन ठाउँमा उभिएका छौं, त्यो सहरको तेस्रो घेरा हो।
किराँतकालीन सहरी योजनाले लिच्छवि र मल्लकालमा पनि निरन्तरता पायो। यसको झलक आज पनि देखिन्छ। आँखा चिम्म गरेर सम्झनुस् त! वा, आँखा खोलेरै!
काठमाडौं होस्, ललितपुर वा भक्तपुर होस्, चाहे कीर्तिपुर वा साँखु– उपत्यकाका सबै पुराना बस्ती डाँडाको थुम्कोमा छन्। आज पनि यी थुम्कालाई बागमती, टुकुचा, नख्खु, कोड्कूजस्ता नागबेली नदीले घेरेको हामी देख्छौं।
प्राचीन सहरी योजनाका दोस्रो र तेस्रो घेरा अब अवशेष मात्र बाँकी छन्। बाह्रै महिना खेती हुने उर्वर भूमिमा बस्ती यस्तरी फैलिसक्यो, फैलिँदै फेलिँदै तेस्रो घेराका नदी लगभग नाला भइसके। असारे झरीमा बेलाबेला नदी उर्लिएर बस्ती सर्लक्कै डुबाइदिन्छ, र धन्न हामीले बागमती र विष्णुमतीको वास्तविक रूप देख्न पाउँछौं। होइन भने, टोनी हेगनले खिचिदिएका पुराना तस्बिर र बूढापाकाका सम्झनाबाटै चित्त बुझाउनुपर्थ्यो।
डाँडाको थुम्कोमाथिका झुरुप्प प्राचीन बस्ती र ती बस्ती जोड्ने प्राचीन बाटा भने जीवित छन्।
सोच्नुस् त, तपाईं किराँत वा लिच्छविकालीन काठमाडौं बासिन्दा हुनुहुन्थ्यो! पाटनकी केटीसँग तपाईंको बिहे भयो! अब भन्नुस्, ससुराली जानुपर्दा कुन बाटो हिँड्नुहुन्थ्यो?
अहिलेको टुँडिखेल नाघेर भद्रकाली, माइतीघर, थापाथली हुँदै बागमती तरेर कुपण्डोलको बाटो? धत्, यति लामो र घुमाउरो बाटो को हिँडोस्!
योभन्दा छोटो र सोझो त ‘गुगल म्याप’ ले नै देखाउँछ — सरक्क टेकु झर्यो, त्यहाँबाट टेकु दोभान तरेर सानेपा, झम्सीखेल, पुल्चोक हुँदै धागो तानेजस्तो बाटो मंगलबजार!
त्यति बेला भलै ‘गुगल म्याप’ नहोस्, तर उपत्यकाका प्रत्येक थुम्कोलाई जुन सोझो, सजिलो र छोटो बाटोले जोडेको हामी देख्छौं, त्यो हाम्रो पुर्खाले हिँडेको बाटो हो।
जस्तो काठमाडौंबाट पाटन, त्यस्तै थानकोटदेखि साँखु, काठमाडौंबाट कीर्तिपुर, स्वयम्भूबाट पशुपति।
सादा कागजमा थानकोटदेखि धर्सो कोर्दै आउने हो भने एउटा बाटो अहिलेको कलंकीबाट पुरानो कालिमाटी (ज्ञानोदय स्कुल), बाफल, ताहाचल, टंकेश्वर हुँदै भीमसेनस्थानको उकालो उक्लेर काष्ठमण्डप पुग्छ। त्यो धर्सो अझै तन्काउँदै जानुस्, त्यही बाटो इन्द्रचोक, असन, कमलाक्षी, जमल हुँदै अझ पर–पर तन्किएर साँखुसम्मै छुन्छ। तिवारीका अनुसार यो मध्य–काठमाडौं हुँदै गुज्रेको किराँतकालीन थानकोट–साँखु राजमार्ग हो। भारत र तिब्बत आउजाउ गर्ने मुख्य मार्ग यही थियो।
तपाईंले कहिल्यै याद गर्नुभएको छ, स्वयम्भूबाट पशुपति जान एक ठाउँमा पनि दायाँबायाँ मोडिनुपर्दैन!
स्वयम्भूको डाँडो ओर्लेर डल्लूको बाटो सुइँसुइँ उत्तरतिर लम्किनुभयो भने ताम्सीपाखा, नरदेवी, किलागल हुँदै असन पुग्नुहुन्छ। त्यहाँबाट अझै अगाडि बढ्नुस्, रत्नपार्क, बागबजार, पुतलीसडक, डिल्लीबजार, मैतिदेवी, गौशाला हुँदै मधेसको जस्तो सोझो बाटो पशुपति पुगिन्छ। हिन्दु र बौद्ध धर्मका दुई ठूला तीर्थस्थल जोड्ने यो बाटो लिच्छविकालदेखिकै हो।
के तपाईंले काठमाडौंको यो प्राचीन बाटो नाप्दै स्वयम्भूदेखि पशुपतिको यात्रा गर्नुभएको छ?
सम्पदा यात्रा पनि हुने, धार्मिक पर्यटन पनि — पशुपतिको जात्रा सिद्राको व्यापार!
यो बाटोलाई काठमाडौंको प्राचीन सम्पदा मार्गका रूपमा किन विकास नगर्ने? एकछिन गम्नुस् त!
‘हामीले माल पाएर पनि चाल पाएनौं। विकसित देशहरूसँग यति प्राचीन बाटो जस्ताको तस्तै भइदिएको भए उनीहरूले यसैलाई बेचेर कति पर्यटक डाकिसक्थे होलान्! पन्ध्र सय–दुई हजार वर्ष पुरानो सम्पदा मार्ग भनेपछि पर्यटकहरू कति झुम्मिन्थे होलान्!’ तिवारी भन्छन्, ‘हामी भने आफैंले महत्व बुझेनौं, अरूलाई कसरी बुझाउनू!’
लिच्छविकालमा पाँच–छ थरीका बाटो चल्तीमा थिए, जसको वर्णन हामी तत्कालीन शिलालेखहरूमा पाउँछौं। साधारण बाटोलाई उनीहरू ‘मार्ग’ भन्थे। कहीँ कहीँ ‘पन्था’ भनिएको छ। त्यस्तै, मूल बाटोलाई ‘महापथ’ भनिन्थ्यो भने हात्ती हिँड्नेलाई ‘हस्तिमार्ग’, जुन आठ हात फराकिलो हुन्थ्यो। यीभन्दा फराकिला बाटा पनि हुन्थे– रथ्या र महारथ्या। रथ्या १६ हात चौडा, महारथ्या अझ चौडा।
आलोक र म हिँडिरहेको काठमाडौं–पाटन जोड्ने टेकु दोभानको यो बाटो कुन वर्गमा पर्थ्यो होला है? मार्ग कि महापथ? दुइटा सहर जोड्ने भएकाले ‘हस्तिमार्ग’ नै भनिन्थ्यो कि? उसो भए त हात्तीहरू पनि हिँड्थे होलान्?
तपाईंलाई ससुराली जान गाह्रो भएन होला! हात्तीले सजिलै बागमती तारिदियो होला नि!
ससुराली जाँदा–आउँदा बाटोको दाहिने र देब्रेतिर पचली भैरव र ‘नै’ अजिमा पक्कै दर्शन गर्नुभयो होला!
हामीले पनि गर्यौं।
काठमाडौं मण्डलका चारै दिशामा आठ अजिमा छन्, जसले आठ कुनामा बसेर हाम्रो रक्षा गरिरहेका छन् भन्ने जनविश्वास छ। ‘नै’ अजिमाले दक्षिण–पश्चिम मोहडा रक्षा गर्छिन्। दक्षिणपूर्वी कुना ‘फिब्व’ अजिमाको जिम्मामा छ। यो भद्रकालीको सैनिक हेडक्वार्टर हुँदै माइतीघर जाने बाटोमा पर्छ। सेनाले यो बाटो बन्द गरेपछि अजिमा अचेल आफ्ना नाति–नातिनाहरूबाटै टाढिएकी छन्। वर्षको एकचोटि सम्बन्धित गुठियारहरूलाई मात्र पूजा गर्न जाने अनुमति छ।
यस्तै पूर्वी दिशामा चन्द्रलखु अजिमा (नारायणहिटी), पसिक्वा अजिमा (तीनधारा पाठशाला) र लुमरी अजिमा (भद्रकाली) तैनाथ छन् भने पश्चिम दिशामा विष्णमुती किनार कंग अजिमा (कंकेश्वरी) र लुति अजिमा (इन्द्रायणी) काठमाडौंको रक्षार्थ आँखा चनाखो पारेका बसेका छन्। सबभन्दा उत्तरी मोहडामा बसेर पूरै सहरमाथि नजर लगाउँछिन्, साम्हाः अजिमा। यी अजिमा अचेल सहरी भिडभाडले लुप्त भएकी छन्। गोल्कुपाखा वा सामाखुसीतिर कतै हुनसक्ने आकलनसम्म गरिन्छ।
अजिमा भनेको नेवार भाषामा ‘हजुरआमा’ हो। यिनी काठमाडौंको नेवार समुदायले प्राचीन कालदेखि आराध्य मान्दै आएकी देवी हुन्। सामान्यतया अजिमाको निश्चित स्वरुप वा आकृति हुँदैन।
पचली भैरवको स्थापना पनि काठमाडौं सुरक्षाकै लागि गरिएको मानिन्छ। काठमाडौंको ‘खड्गाकार’ आकृति पचली भैरवले प्रयोग गर्ने शस्त्र खड्गकै प्रतिरूप भएको इतिहासकारहरू बताउँछन्। बर्सेनि धुमधामका साथ मनाइने पचली भैरव जात्रा लिच्छविकालदेखि चलेको मानिन्छ। प्रत्येक बाह्र वर्षमा मरुसत्तलअगाडि पचली भैरवको खड्गसँग गद्दीनसीन राजाको खड्ग साट्ने जात्रा पनि चल्छ। खड्ग साट्नुको उद्देश्य लिच्छवि राजाले आफ्ना उत्तराधिकारीलाई शासन सुम्पेका हुन् भन्ने भनाइ छ। यो जात्रा र अन्य लिच्छविकालीन जात्राबारे म तेस्रो अध्यायमा विस्तृत चर्चा गर्नेछु।
‘नै अजिमा र पचलीको अफेयर थियो नि,’ पचली मन्दिरबाट निस्केर टेकु चोकतिर बढ्दै आलोकले सोधे, ‘तपाईंले कथा सुन्नुभएको छ?’
‘तपाईंले भन्नुभएकै छैन!’
अजिमा एकदमै सुन्दरी थिइन् रे। पचली उनको सौन्दर्यमा कायल। हरेक साँझ उनी अजिमालाई हेर्न टेकु दोभानको चक्कर लगाइरहन्थे। दुवैको लुकिछिपी आँखा जुध्थ्यो। पचली आँखा सन्काउँदा हुन्, अजिमा लजाउँदी हुन्। विस्तारै अजिमा पनि पचलीतिर आकर्षित भइन्। उनीहरू साँझ–साँझ दुनियाँको आँखा छलेर बागमतीको तिरैतिर डुली हिँड्न थाले। आजको भाषामा भन्दा लुकिछिपी ‘डेटिङ’ जान्थे।
एकदिन गणेशले फ्याट्टै दुवैलाई देखेछन्। भैरवलाई शिवजीको अवतार मानिन्छ, गणेश परे शिवजीकै छोरा। आफ्नै पितालाई अर्की केटीसँग हिँडेको देखेर गणेश आँखा सन्काउँदै मुसुक्क हाँसेछन्।
टेकु दोभानबाट आउँदा जसै तपाईं टेकु चोक नाघेर जैसीदेवलतिर उक्लिनुहुन्छ, उकालोको सिरानमै दाहिनेतिर गणेशको मन्दिर छ। यो यिनै ‘मुसुकाः गणेश’ को मन्दिर हो।
मूर्ति हेरेर खै त गणेश हाँसेको भन्नुहोला, हात्ती हाँसेको कसले पो देखेको छ र! कसरी हाँस्छ कसलाई थाहा!
कथा सुनेर म पनि हाँसे। म हाँसेको मूर्ति त कसले बनाइदिओस्! कसरी हाँस्छु सबलाई थाहा!
...
आ–आफ्नो कुर्सीको पेटी जाँच्नुस् है, अब हामी काठमाडौं मण्डलमा प्रवेश गर्दैछौं। अर्थात्, तत्कालीन सहरी योजनाको पहिलो घेरा।
मुसुकाः गणेशलाई दाहिने पारेर अगाडि बढ्दा ठूल्ठूला अंग्रेजी अक्षरले ‘वन्दे हाइट’ लेखिएको घरमा आँखा पर्छ। खुसी हुनुपर्दैन, यो लिच्छविकालीन घर होइन। हालसालै बनेको निजी घर हो, जसको ऐतिहासिक महत्व छैन। घरधनीले भित्तामा ‘वन्दे हाइट’ लेखेर यो ठाउँको प्राचीन नाउँ भने सबैलाई सम्झाइदिए।
नेपालीमै ‘वन्दे डाँडा’ वा ‘वन्दे चुचुरो’ लेखिदिएका भए सुनमा सुगन्ध हुन्थ्यो कि!
वा, नेवारमा ‘वन्दे च्व’! च्व, मतलब चुचुरो।
‘वन्दे’ भनेको संस्कृतबाट आएको शब्द हो, जसको अर्थ हुन्छ– वन्दनीय। यही घरको ठ्याक्कै पछाडि चोक, जहाँबाट ब्रह्मटोल र जैसीदेवल जाने बाटो छुट्टिन्छ, त्यसको कुनामा वन्देनारायण मन्दिर छ। अर्थात्, वन्दनीय नारायण। हिजोआज यसलाई ‘मीननारायण’ पनि भनिन्छ। केही स्थानीय नेवारहरू ‘वन्द्यः’ भन्छन्। उनीहरूले द्यः लाई देउताको अर्थमा अपभ्रंश गरेका हुन सक्छन्।
काठमाडौं छिर्ने दक्षिणी द्वारमा संस्कृत नामको नारायण मन्दिर स्थापनाले हामीलाई लिच्छवि युगमा लैजान्छ। लिच्छविहरूले काठमाडौं जितेपछि संस्कृत भाषा र वैष्णव धर्म आफूसँगै ल्याए। ठाउँ–ठाउँमा वैष्णव मन्दिर स्थापना गराए, पुराना किराँतकालीन नाउँहरूलाई संस्कृतमा ढाले र नयाँ न्वारन पनि संस्कृतमै गरे। वन्देनारायण त्यसैमध्ये एक हो।
सम्पदा यात्राको दोस्रो दिन आलोक र म यही मन्दिर परिसरमा भेट्यौं। उनी छेउको सानो होटलमा चिया अर्डर गर्दै थिए, मैले आफ्नो डायरी खोलेँ।
तिवारीले कोरिदिएको नक्सामा लिच्छविकालीन काठमाडौंको वास्तु वन्देनारायणबाटै सुरू हुन्छ।
‘लिच्छविहरू सहर बनाउँदा दुइटा सडक जोडिने चोकमा सकभर नारायणको मूर्ति स्थापना गर्थे। काठमाडौंमा लिच्छविकालीन नारायण मन्दिरहरू थुप्रै भेटिन्छन्,’ उनले भनेका थिए, ‘वन्देनारायण सहरको जुन भागमा छ, त्यसले यहाँसम्म बस्ती फैलिएको थियो र यहाँबाट तल बागमतीसम्मै खेतीपाती हुन्थ्यो भन्ने बुझाउँछ।’
आलोक चिया पसलमा भुलिरहँदा म नक्सा हातमा लिएर मन्दिर परिसर परिक्रमा गर्न थालेँ।
मन्दिर संरचना नयाँ भए पनि वरपर लिच्छवि लेपहरू बाँकी छन्। परिसरभित्रै सेतो चुना पोतिएको चैत्य छ।
‘चैत्यको माथिल्लो भाग लिच्छविकालीन हो,’ आलोक चिया अर्डर गरीवरी क्यामराको लेन्स तन्काउँदै आए, ‘यतै कतै मिल्किरहेको थियो होला, कसैले जीउ बनाएर टाउको जोडेको हुनसक्छ।’
‘तपाईंका आँखा त साह्रै तेजिला!’
‘चिन्ने तरिका हुन्छ नि,’ उनले चैत्य चिनाउँदै भने, ‘चारतिर प्वालहरू छन्, तर प्वालमा बुद्धको मूर्ति छैन भने लिच्छविकालीन। चैत्यमा पञ्चबुद्धको मूर्ति राख्ने चलन लिच्छविकालको उत्तरार्द्ध वा मल्लकालबाट सुरू भएको हो।’
‘अर्को पनि तरिका छ।’
म सुन्न उत्सुक भएँ।
उनले चैत्यको अर्धगोलाकार शिरोभाग हातले सुम्सुम्याए, ‘लिच्छविकालमा तामाको धूलो मिसाएर बनाइन्थ्यो। यो विधि उनीहरूलाई मात्र थाहा थियो। त्यसपछि ताम्रलेप लगाइएको चैत्य फेला परेको छैन।’
चैत्य चिन्दै गर्दा होटलकी साहुनी दिदी दुई कप चिया लिएर आइन्।
‘म त तपाईंहरू जानुभएछ कि भन्ठानेको!’
‘भागेछन् कि क्या हो भन्नुस् न!’ आलोकले जिस्क्याए।
उनी लजाइन्।
बाफ उड्दै गरेको तात्तातो चिया सुरुप्प पार्दै हामी मन्दिरको डिलमा टुसुक्क बस्यौं। अन्तिम सुरुप बाँकी नै थियो, आलोकले तातै जिब्रो जुरुक्क उठाएर मलाई मन्दिर परिसरबाट बाहिर लगे।
त्यो ठाउँमा कुनै बेला मन्दिरको प्रवेशद्वार हुनुपर्छ। सिंहको एउटा जीर्ण मूर्तिले प्राचीन द्वारकै झलक दिन्छ। एउटा पुरानो शिलालेख पनि छ।
मैले त्यसै रात लिच्छवि इतिहासका अध्येता धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेखः अनुवाद र ऐतिहासिक व्याख्या’ पल्टाएँ। उनले यो ग्रन्थमा उपत्यकाभरि छरिएर रहेका तत्कालीन अभिलेख अध्ययन गरी त्यसको भावानुवाद र व्याख्या गरेका छन्।
धनवज्रका अनुसार वन्देनारायणको शिलालेखमा सम्बत् खुल्दैन। लिच्छवि राजा ध्रुवदेवको शासनकालमा उनका महासामन्त जिष्णुगुप्तले कैलाशकूट दरबारबाट शिलालेख जारी गरेको भने पहिचान हुन्छ। यस आधारमा आजभन्दा चौध सय वर्षअघि सातौं शताब्दीतिर यो शिलालेख राखिएको हुनसक्छ।
शिलालेखमा उल्लिखित अभिलेखले हामीलाई तत्कालीन सहरबारे दुइटा कुरा बुझाउँछ।
पहिलो, अभिलेखको शिरोभागमा दुईतिर शंख र बीचमा चक्र कुँदिएका छन्। शंख र चक्र वैष्णव धर्मका संकेत चिह्न हुन्। यसमा लक्ष्मी र विष्णुको ‘सन्ध्यावन्दन’ गर्दै रचिएको पद्य पनि अंकित छ। यस्तो अभिलेख फेला पर्नुले वन्देनारायण मन्दिर लिच्छविकालीन रहेको र त्यति बेलैबाट काठमाडौंमा वैष्णव धर्मको सुरुआत भएको पुष्टि हुन्छ।
दोस्रो, यो अभिलेखमा कुलो खनिएको प्रसंग छ। कुलो मर्मतका लागि आयस्ता पनि बन्दोस्त गरिएको छ। यसले अभिलेख गाडिएको ठाउँ आसपासै कतै कुलो खनिएको रहेछ भन्ने बुझाउँछ।
अभिलेख त यहाँ छ, कुलो खोइ त? सुक्यो? कि, घरले कुल्च्यो?
तपाईंहरू भन्नुहोला, कुलो त खेतीपाती हुने ठाउँमा पो खनिन्छ, बीच सहरमा कहाँ पाएर कुलो खन्नु? यो अभिलेखले अर्कै ठाउँको कुलोको कुरा गरेको होला?
अर्कै ठाउँको कुरा गरेको भए त्यसको अभिलेख यहाँ सहरको सिरानमा ल्याएर किन राख्नुपर्थ्यो, हैन र?
उसो भए के लिच्छवि राजाहरूले मध्यसहरमै कुलो खनाएका थिए? कहाँदेखि कहाँसम्म तन्किएको थियो? खेतीपाती नहुने बस्तीको बीचमा कुलोको प्रयोजन के होला?
कुलो र कुरो जता लग्यो उतै जान्छ। त्यसैले, काठमाडौंको कुलो कथा म यसै अध्यायमा अलि पछाडि चर्चा गर्नेछु। त्यतिञ्जेल धैर्य गर्नुस् है!
अहिलेलाई यही बाटो नापौं।
...
जस्तो आधुनिक नेपालको एउटा ‘गेटवे’ वीरगन्जको शंकाराचार्य द्वार, जस्तो आधुनिक काठमाडौं सहरको ‘गेटवे’ न्यूरोड द्वार, त्यस्तै पन्ध्र सय वर्षअघि लिच्छविकालीन काठमाडौंको दक्षिणी ‘गेटवे’ वन्देनारायण।
भौतिक गेट नै त थिएन होला, किनकि त्यसको रहलपहल अहिले यहाँ कतै देखिन्न, तर सांकेतिक ‘गेटवे’ अवश्य थियो, जहाँबाट सहरको व्यवस्थित संरचना सुरू हुन्छ। यसैको सम्झनास्वरुप नजिकै सानो आधुनिक द्वार बनाइएको छ, जसलाई स्थानीयहरू ‘काठमाडौंको प्राचीन दक्षिणी प्रवेशद्वारको प्रतिरूप’ मान्छन्।
वन्देनारायणबाट दाहिने ब्रह्मटोलतिर नलागी देब्रे बाटो जैसीदेवलतिर बढ्दा हँसियाजस्तो अर्धचन्द्राकार घुम्ती आउँछ। काठमाडौंको सडक सञ्जालमा यस्तो घुम्ती विरलै छ। जसरी हँसिया बिँडसँग जोडिएको हुन्छ, त्यसरी नै यो घुम्ती लामो सोझो बाटोसँग जोडिन्छ, जुन काठमाडौंको मूल धमनी हो। यसबाट छुट्टिने साना बाटाहरू यहाँका सहायक धमनी।
प्राचीन काठमाडौंको सहरी ढाँचा बुझ्ने हो भने मूलधमनी र सहायक धमनीहरूको सञ्जाल पर्गेल्नुपर्छ। तिवारीले डायरीमा नक्सा कोरेर मलाई यो सञ्जाल सम्झाएका थिए, म त्यही सञ्जालमा आलोक गाइडसँग हिँड्दै तपाईंहरूलाई सम्झाउँछु है।
वन्देनारायणबाट बढेपछि जहाँबाट हँसिया घुम्तीको बिँड सुरू हुन्छ, त्यहाँ उभिएर उत्तरतिर आँखा तन्काउनुस् त, के देख्नुभो?
मान्छेको भिडभाड भए त के देख्नुहोला र!
यो बाटो क्षेत्रपाटीसम्म धागोजस्तै तिनिक्क तन्किएको छ। लगभग दुई किलोमिटरको यो तेर्सो बाटो एकठाउँ मात्र टुक्रिन्छ– काष्ठमण्डपमा। जहाँ मरु गणेशस्थाननिर एउटा सत्तल हाम्रो बाटो छेक्न आइपुग्छ। सत्तलको भुइँतलामा पूजापाठका खिद्रिमिद्री सामान बेच्ने पसलहरू छन्। यहाँबाट अगाडि बढ्न सत्तल नघुमी हुन्न। दायाँ घुम्नुस् या बायाँ।
त्यसपछि सुरू हुने सिधा बाटो यट्खा, नरदेवी हुँदै क्षेत्रपाटी र अझ पर पकनाजोल हुँदै सोह्रखुट्टेसम्मै तन्किन्छ।
यो हिजोअस्ति बनेको होइन। मल्लकालीन पनि होइन। तपाईंहरूलाई अचम्म लाग्ला, यो पन्ध्र सय वर्षभन्दा पुरानो बाटो हो, जसको आधा खण्ड, अर्थात् काष्ठमण्डपबाट क्षेत्रपाटीसम्म त दुई हजार वर्ष नै पुरानो हुनसक्छ।
मध्यसहरको उत्तरी र दक्षिणी कुना जोड्ने यो लिच्छवि ‘महापथ’ लाई बीचमा टक्रक्क टुक्र्याउने गरी सत्तल किन खडा गरियो होला? सोच्नुस् त!
तिवारीका अनुसार यो सत्तल खिद्रिमिद्री बेच्ने पसल मात्र होइन, काठमाडौंका दुई प्राचीन सहर छुट्टयाउने सिमाना हो।
दुई सहर! अब यो दुइटा सहर कहाँबाट आयो? हामी त एउटै काठमाडौंको कुरा गर्दैछौं, हैन र!
त्यसैले भनेको, कुर्सीको पेटी टम्म कस्नुस् भनेर!
‘काठमाडौं मण्डल’ दुईवटा सहर जोडिएर बनेको छ — काष्ठमण्डपबाट उत्तरतर्फ क्षेत्रपाटीसम्म एउटा र दक्षिणतर्फ जैसीदेवलको वन्देनारायणसम्म अर्को।
लिच्छविकालमा यी दुवै सहरका अलग–अलग नाम थिए। उत्तरी सहरलाई ‘कोलिग्राम’ भनिन्थ्यो, दक्षिणलाई ‘दक्षिण कोलिग्राम’। वन्देनारायण, जैसीदेवल, लगन र यंगाल हिटीतिर पाइएका लिच्छविकालीन अभिलेखमा यो क्षेत्रलाई ‘दक्षिण कोलिग्राम’ भनिएको छ। इतिहासकार गौतमवज्र बज्राचार्यले आफ्नो किताब ‘हनुमानढोका राजदरबार’ मा पनि यो उल्लेख गरेका छन्।
त्यस्तै, उत्तरमा इन्द्रचोक, इटुम्बहाल, जनबहाल, नरदेवी, किलागल, असन लगायत क्षेत्रपाटीसम्मकै टोलहरू ‘कोलिग्राम’ मा पर्थे। गौतमवज्रले यसलाई पुष्टि गर्ने आधार पनि दिएका छन्। उनका अनुसार प्रत्येक वर्ष साउनमा ‘बहिबोय्’ भनी प्रसिद्ध विहारहरूमा सञ्चित प्राचीन वस्तुहरू इटुम्बहालमा प्रदर्शन गरिन्छ। त्यसै बेला प्रदर्शन गरिने एक लिच्छविकालीन हस्तलिखित ग्रन्थमा ‘कोलिग्राम’ भन्ने ठाउँ उल्लेख छ। इटुम्बहाल नै कोलिग्राममा पर्थ्यो भन्ने त्यसबाट बुझिन्छ।
यक्ष मल्लका पालामा सारिएको एक हस्तलिखित ग्रन्थमा पनि कोलिग्रामको प्रसंग छ, जसमा अहिलेको मच्छिन्द्रबहाल कोलिग्राममा पर्थ्यो भन्ने उल्लेख छ। मानदेवकै पालामा अहिलेको केलटोल इलाकाभित्र सफा पानी व्यवस्था गरिएको अभिलेखले कोलिग्रामको प्राचीनता बुझाउँछ।
‘लिच्छविहरूले जतिखेर हाँडीगाउँलाई राजधानी बनाए, त्योभन्दा अगाडि नै ‘कोलिग्राम’ भन्ने बस्ती बसिसकेको थियो,’ तिवारीले भने।
अहिले व्यवस्थित बसोबासलाई ‘सहर’ भनेजस्तै त्यतिबेला ‘ग्राम’ भनिन्थ्यो। यस अर्थमा, लिच्छवि शासन सुरू हुनुअघि नै यहाँ ‘ग्राम’ को दर्जा पाउने समृद्ध बस्ती विकास भइसकेको थियो भन्ने मान्नुपर्छ। त्यो बस्तीको दक्षिणतर्फ खासै बसोबास थिएन, वा त्यति ठूलो आबादी थिएन, जसलाई 'ग्राम’ भन्न सकियोस्। जब लिच्छविहरूले नयाँ बस्ती बसाले, त्यसलाई ‘दक्षिण कोलिग्राम’ नाम दिए। यसलाई पछि ‘द्रंग’ पनि भनिएको पाइन्छ। एउटा द्रंगभित्र अनेक गाउँ हुन्थे। थानकोटका मान्छेले समेत कर तिर्न दक्षिण कोलिग्राम आउनुपर्ने तत्कालीन अभिलेखमा छ। यसले दक्षिण कोलिग्राम कति समृद्ध र कति ठूलो थियो भन्ने देखाउँछ।
लिच्छविहरूले योजनागत रूपमा दक्षिण कोलिग्राम त बसाए, तर किराँतकालीन कोलिग्राममा कुनै हस्तक्षेप गरेनन्। ‘तपाईं काष्ठमण्डपबाट उत्तर र दक्षिणतिरका मन्दिरहरू हेर्नुस् त, धेरैजसो क–कसका छन्?’ तिवारीले मसँग प्रश्न गरे।
‘उत्तरतिर नरदेवी छ, असनमा अजिमा,’ मैले भनेँ, ‘दक्षिणमा यही वन्देनारायण भइहाल्यो, अरू त मैले खासै याद गरिनँ।’
‘जति याद गर्नुभयो, त्यतिले पनि उत्तर र दक्षिणको फरक प्रस्ट छुट्टिन्छ।’
म ट्वाँ परेँ। आफूले कहिल्यै त्यस्तरी फरक छुट्टयाएर हेरे पो!
मलाई त तिवारीसँग कुरा गर्दा उहिले–उहिले पत्रिकामा आउने ‘फरक छुट्टयाउनुस्’ खेल खेलेजस्तै भयो। तपाईंले खेल्नुभएको छ यस्तो खेल? उस्तै देखिने दुइटा चित्र दिइएको हुन्थ्यो, जसमा आठ–दसवटा सानातिना भिन्नता हुन्थे। दुवै चित्र मिहिन हेरेपछि बल्ल फरक छुट्टिन्थ्यो। तिवारी पनि मेरोसामु काष्ठमण्डपबाट उत्तर र दक्षिणतिरका बस्तीको दुइटा चित्र राखेर ‘फरक छुट्टयाउनुस्’ भन्दै थिए।
‘खोइ सर, मैले त केही छुट्टयाउन सकिनँ,’ तिवारीलाई यस्तो जवाफ दिँदा मलाई आफू काठमाडौं गल्लीमा दिनहुँ बरालिएको व्यर्थै भयो भन्ने लाग्दै थियो।
धन्न उनले मेरो अज्ञानताको खिसी उडाएनन्, बरु पानीझैं छर्लंग पारिदिए, ‘उत्तरी भेगमा देवीका मन्दिर धेरै छन्। नरदेवी, असन, मासंगल्ली, भुरुङखेल, खुसीबुः लगायत ठाउँहरूमा अजिमाको पूजा गरिन्छ। अजिमा भनेका किराँतकालीन देवी हुन्। जबकि, दक्षिणको बस्तीमा हेर्नुस् त, नारायण मन्दिर बढी छन्।’ एउटा त वन्दे नै भइहाल्यो। जैसीदेवलमा पनि राम मन्दिर छ। त्योभन्दा अलिकति माथि काष्ठमण्डपनिर यहाँको सबभन्दा लोकप्रिय अट्कोनारायण छ। ‘यी सबै वैष्णव मन्दिरहरूले लिच्छविकालीन सहरको झलक दिन्छ,’ तिवारीले भने।
लिच्छविकालको अन्त्यपछि संस्कृत भाषा प्रचलन कम हुँदै गयो। संस्कृत शब्दबाट बनेका ठाउँका नाउँहरूलाई लोकभाषाले प्रतिस्थापन गर्यो। दक्षिण कोलिग्रामलाई ‘यंगल’ र कोलिग्रामलाई ‘यम्बू’ भन्न थालियो। नेवार भाषाका यी दुवै नाउँ अहिले पनि प्रचलित छन्। नेवार भाषा मात्र बोल्ने काठमाडौंका बूढापाका दक्षिणी भेगलाई ‘यंगल’ नै भन्छन् भने मखनदेखि ठहिटीसम्मलाई ‘यम्बू’ भनेर चिन्छन्।
हनुमानढोकाबाट मखनटोल हुँदै इन्द्रचोक निस्कने बाटोमा ढुंगाका दुई सिंहलाई गौतमवज्र बज्राचार्यले ‘यम्बू पस्ने प्रवेशद्वारको अवशेष’ बताएका छन्।
यंगल र यम्बूमा एउटा कुरा समान छ, यी दुवै शब्द ‘येँ’ बाट बनेका छन्। नेवार भाषामा काठमाडौंलाई ‘येँ’ भन्ने चलन आज पनि हराएको छैन। ‘येँ’ शब्द किराँती राजा यलम्बरबाट आएको हो भन्ने विश्वास गरिन्छ। यसले के देखाउँछ भने, नेवार भाषामा रूपान्तरण हुँदा स्थानीयले ‘येँ’ लाई प्रधान मानेर त्यसै आधारमा सहरको नामकरण गरे।
कोलिग्राम र दक्षिण कोलिग्राम नाउँ भने कसरी रह्यो होला त?
आलोक र मैले यस विषयमा खुब चर्चा गर्यौं। विभिन्न इतिहासकारका किताब पल्टायौं। यसमा अनेक भनाइ रहेछन्।
‘कोलिग्राम’ शब्द तान्त्रिक अभ्यासबाट आएको हुनसक्छ। ‘कौल सिद्धान्त’ लाई सबै तन्त्रविद्याको ‘जनक’ मानिन्छ। ‘कौल कूल’ भन्ने तान्त्रिक सिद्धीमा आधारित सम्प्रदाय पनि छ, जसलाई सबभन्दा श्रेष्ठ कूल मानिन्छ। यो कूल ६४ तान्त्रिक कलायुक्त हुन्छ र यसले आफ्नो रहस्य प्रकट गर्दैन भन्ने भनाइ छ।
प्राचीन समाजमा तन्त्रविद्याको ठूलो स्थान रहने हुँदा ‘कोलि’ भन्ने शब्द यही ‘कौल सिद्धान्त’ बाट लिइएको हो कि!
अर्को मतअनुसार, काठमाडौंको दक्षिणी भेग वा अहिलेको यंगल सीमाभित्र एउटा राजदरबार थियो, जसलाई ‘दक्षिण राजकूल’ भनिन्थ्यो। यही दरबारका नाममा यो ठाउँलाई ‘दक्षिण कोलिग्राम’ र उत्तरी भेगलाई ‘कोलिग्राम’ भनिएको हुनसक्छ।
यी दुईबाहेक अर्को सम्भावना पनि छ।
गौतम बुद्धको ससुराली ‘कोलि’ खलक हो। त्यति बेला शाक्य र कोलि भन्ने दुई शक्तिशाली राजखलक थिए। उनीहरूको राज्य रोहिणी नदीले छुट्टयाएको थियो। यी दुई वंशबीच मित्रता र शत्रुताको सम्बन्ध थियो। एकातिर बिहेबारी चल्थ्यो, अर्कातिर घमासान युद्ध हुन्थ्यो। त्यही समय कपिलवस्तुभन्दा दक्षिणमा कोशाला भन्ने बलियो राज्य थियो, जसले शाक्य र कोलि वंश विनाश गरेको इतिहास छ। ज्यान जोगाएर भाग्न सफल भएकाहरूले काठमाडौं आएर आश्रय लिएका हुन सक्छन्। उनीहरूले बसालेको बस्तीलाई ‘कोलिग्राम’ भनिएको हुनसक्छ।
कोलिहरूको काठमाडौं प्रवेशको प्रसंग पुरातत्वविद् साफल्य अमात्यको किताब ‘काठमाडौं नगरायण’ मा पनि छः ‘मगधराज विरुधकको आक्रमणपछि शाक्य, बिज्जी र लिच्छविहरूसँगै कोलिहरू पनि नेपाल आएका थिए। जनश्रुतिअनुसार कोलिहरूले हालको गोरखाभन्दा केही पश्चिम यमटार भन्ने ठाउँमा बसोबास गरे। तिनैमध्ये आयुदेव नाम गरेका व्यक्तिको नेतृत्वमा केही कोलिहरू काठमाडौं उपत्यका पसे। त्यति बेलासम्म यहाँ लिच्छवि शासन सुरू भइसकेको थियो। पछि आयुदेवले आफ्नी स्त्री र अरू कोलिहरूलाई पनि यहीँ डाके।’
यो तर्क पुष्टि गर्ने ऐतिहासिक प्रमाण छैन, तर काठमाडौंका पुराना र ठूला चैत्य तथा विहारहरू ‘कोलिग्राम’ भनिने भेगमै बढी छन्। बौद्ध धर्म मान्ने नेवारहरूको बसोबास पनि बढीजसो यतै छ।
यी तीनमध्ये जुनसुकै सम्भावना सही हुन सक्छन्, एउटा कुरा भने तय छ— कोलिग्राम र दक्षिण कोलिग्राम अलग–अलग समयमा बसेका छुट्टाछुट्टै सहर हुन्। एकैचोटि बसालेको एउटै सहर भइदिएको भए दुइटा अलग नाउँ किन दिनुपर्थ्यो? पुराना अभिलेखहरूमा अलग–अलग नाउँले किन चिनाइरहनुपर्थ्यो? अनि, लिच्छविहरूले ‘कोलिग्राम’ लाई खासै महत्व नदिई ‘दक्षिण कोलिग्राम’ लाई मात्र बढ्ता जोड किन दिन्थे?
अंशुवर्माको समयदेखि जब यो उपत्यकाले भारत र तिब्बतको व्यापारमा ठूलो भूमिका खेल्न थाल्यो, तब कोलिग्राम र दक्षिण कोलिग्रामको महत्व पनि बढ्यो। व्यापारका धेरै सामान टिस्टुङ र चित्लाङको बाटो उपत्यकाभित्र पस्थे। धेरैपछि त्रिभुवन राजपथ नबनेसम्म काठमाडौं उपत्यका पस्ने मुख्य मार्ग यही थियो। लेले, चापागाउँ हुँदै काठमाडौं पस्ने अर्को बाटो पनि लिच्छविकालदेखि नै प्रचलित रहेको अमात्य लेख्छन्, ‘दक्षिण कोलिग्रामकै बाटो भारत–तिब्बत व्यापार चल्ने हुँदा यो भेग अन्य भेगभन्दा प्रसिद्ध हुनु र यहाँ बस्ती ठूलो हुँदै जानु स्वाभाविक थियो।’
‘चन्द्रागिरि पहाड कट्नासाथ दक्षिण कोलिग्राममा पाइला टेक्नुपर्ने र त्यसपछि कोलिग्रामको बाटो भएर मात्र पुराना सहर हाँडीगाउँ र देवपाटन जानुपर्थ्यो। यसले पनि कोलिग्राम र दक्षिण कोलिग्रामको विस्तार तीव्र गतिमा भयो।’
अर्को कारण, यहाँको माटो उपत्यकाभित्रकै अन्य भेगभन्दा मलिलो र उर्वरा थियो। बागमती र विष्णुमती नदीले पानीको निकै सुविधा थियो। कृषिप्रधान समाजमा बस्ती फैलिन यो ज्यादै महत्वको कुरा हो।
‘काठमाडौं त ‘पजल’ जस्तै रहेछ हगि!’ मैले आलोकलाई भनेँ, ‘जहाँ दुइटा टुक्रा जोडेर सग्लो रूप बन्छ।’
कि प्याजजस्तो! एउटा रहस्यमाथि अर्को रहस्य खप्टिएर बसेको!
एउटा पत्र खोल्यो, त्यसभित्र अर्को पत्र, अर्को पत्र खोल्यो, फेरि अर्को!
‘अगाडि बढ्दै जाउँ न, हेरौं अझ के के देखिन्छ,’ आलोकले भने।
...
तपाईंहरूले माकुराको जालोलाई ध्यान दिएर नियाल्नुभएको छ? छैन भने नियाल्नुस् त!
माकुरा आफू बीचमा बस्छ र वरिपरि जालो बुन्छ। तेर्सो–तेर्सो धर्सो चारैतिर माथि–माथिसम्म तन्किएको हुन्छ, जसलाई बीच–बीचमा साना–साना तेर्सा धर्साले आपसमा जोड्छन्। टाढाबाट हेर्दा गोलाकार जालो देखिन्छ, नजिक गएर टुक्रा–टुक्रा हेर्ने हो भने जालोका एक–एक धर्सा सिधा–सिधा बुनिएका हुन्छन्।
के लिच्छविसँग सडकको नक्सा कोर्न प्रशिक्षित माकुरा थियो? कि उनीहरूले माकुराको जालो हेर्दै काठमाडौंको सडक नक्सा बनाए? होइन भने, यहाँका मूलसडक र गल्लीहरू माकुराको जालोजस्तै आपसमा जेलिएका किन छन्?
सुदर्शनराज तिवारीले हाँडीगाउँ क्याफेमा कुराकानी गर्दा मेरो डायरी आफूतिर तानेर काठमाडौंको पुरानो नक्सा मात्र कोरिदिएका थिएनन्, हाम्रो प्राचीन सहरी संरचनाको सैद्धान्तिक पक्षबारे लामो व्याख्या पनि गरेका थिए।
किराँतहरू सहरलाई तीन भागमा बाँड्थे — माथिल्लो, मध्य र तल्लो टोल। यो कुनै वास्तुशास्त्रमा आधारित विभाजन होइन। उनीहरूले भौगोलिक रूपमा सहरको माथिल्लो सिरानलाई ‘माथिल्लो टोल’, बीचको भागलाई ‘मध्य टोल’ र तल्लो पुछारलाई ‘तल्लो टोल’ भनेका हुन्। सहरको यो वर्गीकरण किराँतकालीन सम्झनाका रूपमा अझै जीवित छ।
काठमाडौंमा आज पनि माथिल्लो टोललाई ‘थँने’, मध्यलाई ‘दथुने’ र तल्लोलाई ‘कोने’ भनिन्छ। हाँडीगाउँमा थँत्वा, दथुत्वा र कोत्वा भन्ने चलन छँदैछ।
भर्खर हामी हिँडेको वन्देनारायण कहाँ पर्छ? ल भन्नुस् त! थँने, दथुने कि कोने?
अनि, काष्ठमण्डप? नरदेवी, किलागल वा क्षेत्रपाटी?
म तपाईंलाई सानो ‘क्लू’ दिन्छु है त।
काठमाडौंको सिरानमा ठँहिटी वा थँहिति भन्ने ठाउँ छ। त्यहाँ पहिले थँहिति नामको ढुंगेधारा नै थियो। वन्देनारायण मन्दिर वा जैसीदेवल आसपास कोहिति भन्ने ढुंगेधारा अझै छ।
ल अब भन्नुस् त, कुन ठाउँ कहाँ पर्छ?
तपाईंहरूले पक्कै ठिक अन्दाज गर्नुभयो — वन्देनारायण ‘कोने’ मा पर्छ, क्षेत्रपाटी ‘थँने’ मा, अनि बाँकी ‘दथुने’ मा।
देख्नुभयो त, हाम्रो सहरी संरचनाको स्वरुप अहिले पनि दुई हजार वर्ष पुरानो किराँतकालसँग कसरी ठ्याक्कै मिल्छ!
‘किराँतपछि जब लिच्छवि शासन सुरू भयो, उनीहरूले सहरलाई तीन भागमा बाँड्ने चलन जस्ताको तस्तै अंगाले, र त्यसमा परम्परागत वास्तुशास्त्र पनि जोडे,’ तिवारीले मलाई तत्कालीन काठमाडौंको स्वरुप सम्झाउँदै भने, ‘लिच्छविको सहरी ढाँचा परम्परागत वास्तुशास्त्रमा आधारित छ। उनीहरू सहरलाई ब्रह्माण्डको आकार दिन्थे र संरचनाहरू ज्यामितीय शैलीमा बनाउँथे।’
उनले एकसाथ तीनवटा गह्रुंगा शब्दावली प्रयोग गरे — वास्तुशास्त्र, ब्रह्माण्डको आकार, ज्यामितीय शैली — म अलमलिएँ।
धन्न तिवारी प्राध्यापक हुन्, मजस्ता उल्लू विद्यार्थीहरूले सोध्ने सामान्य प्रश्नको पनि झर्को नमानी जवाफ दिन्छन्!
‘परम्परागत वास्तुशास्त्रले सहरी डिजाइनका विभिन्न मोडल सिफारिस गरेको छ। कुन प्रयोजनका लागि सहर बसाएको हो, त्यहीअनुसारको डिजाइन प्रयोग गर्नुपर्छ,’ तिवारी साक्षात् प्राध्यापकका रूपमा अवतरित भए, ‘राजधानी वा राजकीय महत्वको सहर नौ–खानाको ढाँचामा बनाउनुपर्छ भनेर वास्तुशास्त्रले भनेको छ। हाँडीगाउँ, काठमाडौंदेखि भक्तपुर र ललितपुर पनि यही सिद्धान्तमा आधारित छ। यी सहरहरू ज्यामितीय रूपले नौ–खानामा डिजाइन गरिएका छन्।’
लिच्छविकालीन नै भए पनि पशुपतिको वास्तु फरक छ। यो धार्मिक क्षेत्र भएकाले ‘कार्मुक’ ढाँचामा डिजाइन गरिएको छ। भारतको बनारस पनि यही आकारमा बसेको सहर मानिन्छ। कार्मुक भनेको ‘धनुबाण’ संरचना हो। ‘जयबागेश्वरी मन्दिरबाट पशुपति जाँदा एउटा सोझो ओरालो बाटो छ, अर्को घुमेर जाने पुरानो बाटो छ,’ तिवारीले मेरो डायरीमा पशुपति क्षेत्रको नक्सा बनाए, ‘घुमेर जाने बाटो ठ्याक्कै धनुष आकारको छ। लिच्छविकालदेखि चलिआएका पुराना जात्रा अहिले पनि त्यही बाटो घुम्छन्। यहाँ बाणको टुप्पोमा पशुपतिनाथ मन्दिर छ, त्यसको सोझै अर्को छेउमा गणेशस्थान छ। पहिले ब्रह्माको मन्दिर पनि थियो। बीचमा मासियो, अहिले फेरि पुनर्स्थापना गर्न खोजिएको छ।’
‘काठमाडौंका पुराना बाटाहरूको स्वरुप राम्ररी हेर्ने हो भने ज्यामितीय आकार नभएको एक मात्र यही हो,’ तिवारीले भने।
‘यो त पशुपतिको कुरा भयो, यता काठमाडौंको नौ–खाना ढाँचा चाहिँ कसरी चिन्ने?’ यही प्रश्न सुनेपछि तिवारीले मेरो डायरीमा काठमाडौंको पुरानो नक्सा कोरिदिएका थिए, जसका बारेमा मैले अघिल्लो अध्यायदेखि चर्चा गर्दै आएको छु। त्यही नक्सा हेर्दै आलोक र म सम्पदा यात्रामा निस्केका छौं।
उनले डायरीको सादा पानामा लामो धर्सो कोरे, जुन वन्देनारायणदेखि क्षेत्रपाटीसम्म तन्किएको मूलसडक हो। त्यो सडकलाई बीचमा सानो चिनो लगाएर टुक्र्याए, जुन काष्ठमण्डपको सत्तल हो। ‘सत्तलभन्दा उत्तरतिर क्षेत्रपाटीसम्मको भाग कोलिग्राम, दक्षिणतिर वन्देनारायणसम्मको भाग दक्षिण कोलिग्राम,’ उनले मलाई नक्सा सम्झाउँदै भने, ‘तपाईं यो उत्तरतिरको भाग अहिलेलाई बिर्सिदिनुस् र दक्षिणी खण्डमा मात्र ध्यान दिनुस्।’
त्यसपछि उनले वन्देनारायणदेखि काष्ठमण्डपसँगको आधी धर्सोलाई आठ खण्डमा बाँड्दै ती आठै ठाउँमा पूर्व–पश्चिम रेखा कोरे, जुन ‘काठमाडौंका आठवटा पूर्व–पश्चिम सडक हुन्।’
म उनले बनाएको नक्सा ध्यानपूर्वक हेर्दै थिएँ। उनले फेरि अघिको मूलसडक माथि र तल लगभग बराबर दुरीमा दुईवटा समानान्तर रेखा खिचे। मूलसडक छेडेर गएका आठवटा पूर्व–पश्चिम सडक ती दुई समानान्तर रेखासँग जोडिए।
‘यही हो, लिच्छविहरूको सहरी संरचना,’ तिवारीले डायरी मतिर सार्दै भने, ‘तपाईं गएर हेर्नुस्, काठमाडौंका सडक र गल्लीहरू आज पनि यही स्वरुपमा छन् — तीनवटा मूलसडक उत्तर–दक्षिण जान्छ, आठवटा साना सडक पूर्व–पश्चिम।’
‘यो त न्यूयोर्कको म्यानहटनजस्तै पो देखियो,’ मैले उत्साहित हुँदै भनेँ।
करिब पन्ध्र वर्षअघि अमेरिका जाँदा म पाँच दिन म्यानहटन बसेको थिएँ। त्यहाँ पूर्व–पश्चिम र उत्तर–दक्षिण सडकले सहरलाई वर्गाकार खण्डमा बाँडेको छ। सडकले छुट्टयाउने हरेक खण्ड सलाइको बट्टाजस्तो देखिन्छ। उनीहरूले सडकलाई दिशा र अंकमा नामकरण गरेका छन्। हातमा नक्सा लिएर हिँड्ने हो भने अंग्रेजीमा मरिमठ्ठै भए पनि म्यानहटन घुम्न गाइडको खाँचो पर्दैन।
मैले पन्ध्र वर्षअघि देखेको म्यानहटन पन्ध्र सय वर्षअघिको काठमाडौंजस्तै पो रहेछ!
रमाइलो कुरा त, त्यतिबेला अमेरिका भन्ने देश पत्तै लागेको थिएन। भारतीय महाद्विपको खोजीमा निस्केका क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा मात्र अमेरिका पत्ता लगाएका हुन्। भन्नुको मतलब, कोलम्बसले अमेरिका पत्ता लगाउनुभन्दा लगभग हजार वर्षअघि नै हाम्रो काठमाडौंको सहरी ढाँचा त्यस्तो थियो, जस्तो आज अमेरिकी वित्तीय केन्द्र न्यूयोर्कको छ।
संयोगले, पन्ध्र सय वर्षअघिको काठमाडौंको खण्डाकार ढाँचा अहिले पनि फेरिएको छैन।
तिवारीको शब्दमा ‘जस्ताको तस्तै’ रहेका काठमाडौंका यी खण्डहरू कहाँ–कहाँ छन्, हामी खण्ड–खण्ड खुट्टयाउँ है त ... !
...
ए हजुर, पूरा कुरै नसुनी कता सुइँसुइँ लम्किनुभा! अहिले हराउनुहोला!
सुदर्शन तिवारीले लिच्छविकालीन सहरी ढाँचाबारे प्रवचन दिनुअघि हामी कहाँ पुगेका थियौं रे!
अगाडिको पाना पल्टाएर हेर्छु है! त्यतिञ्जेल तपाईंहरू एकछिन सुस्ताउनुस्, र आ–आफ्नो कुर्सीको पेटी जाँच्नुस्। यात्रा अझै लामो छ।
अँ, हामी वन्देबाट हँसिया घुम्ती घुमेर आएछौं र क्षेत्रपाटीसम्म तन्किएको सोझो बाटो तन्किएर हेरेछौं। माफ गर्नुस् है, एकछिन हामी फेरि वन्दे नै फर्किनुपर्ने भयो। तिवारीले नक्सामा कोरेको आठ खण्ड यहीँबाट सुरू हुन्छ। मैले वन्देलाई काठमाडौं छिर्ने दक्षिणी ‘गेटवे’ भनेको त्यही भएर हो।
यहाँबाट एउटा बाटो ब्रह्मटोल पुग्छ। ब्रह्मटोलमा लिच्छविकालीन अवशेष थुप्रै भेटिन्छन्। सोझै अगाडि बढे झोछेँ, इन्द्रचोक, किलागल, बांगेमुढा, नघल हुँदै क्षेत्रपाटी पुगिन्छ। यो तिवारीले नक्सामा देखाएका तीनवटा उत्तर-दक्षिण बाटोमध्ये माथिल्लो हो।
वन्देबाटै एउटा साँघुरो ओरालो बाटो तल विष्णमुतीतिर जान्छ। विष्णुमती तीरै–तीर दाहिने लाग्ने हो भने टंकेश्वरमा पुगेर थानकोट–साँखु राजमार्ग छुन्छ, जसका बारेमा मैले यही अध्यायमा अलि अगाडि चर्चा गरिसकेको छु। विष्णुमती तीरै-तीर अझै अगाडि बढे ताम्सीपाखा हुँदै बिजेश्वरी पुल पुगिन्छ, जहाँबाट दाहिने घुमेर फेरि क्षेत्रपाटी छिर्न सकिन्छ। यो उत्तर-दक्षिण तन्किएको तल्लो बाटो हो।
तल्लो बाटोमा पछिल्लो समय विष्णुमती करिडोर बनेको छ, माथिल्लो बाटोबारे अलि पछि चर्चा गरौंला, अहिलेलाई हामी बीचको मूलबाटो नछोडौं। मूलबाटो भन्नाले उही हँसिया घुम्ती।
यत्ति देखाउन हामीलाई फर्काएर ल्याएको? मनमा यस्तो प्रश्न आएको हो भने ठिक सोच्नुभो, मैले पनि आलोकलाई यही सोधेको थिएँ। उनको जवाफ थियो, ‘काठमाडौंका हरेक गल्ली घुमिफिरी मूलबाटोहरूमै जोडिन्छन्, जसले सहरलाई वर्गाकार खण्डहरूमा बाँड्छ।’
हँसिया घुम्तीबाट क्षेत्रपाटीसम्म तन्किएको सोझो मूलबाटो अगाडि बढ्दै जाँदा आलोक सुत्त एउटा गल्लीभित्र पसे। ‘तिवारी सरले भन्नुभएको पूर्व–पश्चिम बाटो यो पनि हुनसक्छ है,’ उनी यसो भन्दै जुन गल्ली पसेका थिए, त्यो एउटा सानो डबलीमा पुगेर अन्त्य भयो, जहाँ विशाल चैत्य जीर्णोद्धार हुँदै थियो।
‘यो त हैन रैछ,’ उनले टक्क अडिएर वरिपरि आँखा दौडाए, ‘ल केही बिग्रेन, तपाईं चैत्य हेरेर दिशा चिन्नुहुन्छ?’
गलत बाटो छिराए पनि आफूले कुनै गल्ती नगरेको उनी जताउन खोज्दै थिए।
‘दिशा भन्नाले?’
‘पूर्व, पश्चिम, उत्तर, दक्षिण’
लौ यो त कडा प्रश्न आयो? चैत्य हेरेर दिशा कसरी चिन्ने होला? के चैत्यमा ‘कम्पास’ हुन्छ?
‘यो हाम्रो परम्परागत ‘कम्पास’ नै हो,’ उनले भने, ‘दिशा अलमलिनुभयो भने चैत्य हेर्नुहोला।’
उनको कुरा सुनेर मै अलमलिएँ।
चैत्यमा पञ्चबुद्धको मूर्ति हुन्छ — वैरोचन, अक्षोभ्य, रत्नसम्भव, अमिताभ र अमोघसिद्धि। यीमध्ये वैरोचनको मूर्ति चैत्यभित्र पूर्वी दिशा फर्काएर राखिएको हुन्छ, जुन बाहिरबाट देखिन्न। बाँकी चार बुद्धमूर्ति चार दिशातिर फर्केको हुन्छ। प्रत्येक बुद्धको मुद्रा फरक हुन्छ। दाहिने हत्केला आफूतिर फर्काएर भुइँमा औंला छुवाउँदै ‘भू–स्पर्श’ मुद्रामा बसेका अक्षोभ्य बुद्ध हुन्, उनी पूर्व फर्केका हुन्छन्। पश्चिम फर्केका अमिताभ बुद्ध हुन् भने अमोघसिद्धि उत्तर र रत्नसम्भव दक्षिण दिशा हेर्छन्।
आलोकले रत्नसम्भव बुद्धका दुई आँखाले नियालिरहेको पुरानो घरतिर इसारा गरे। इँटाको पुरानो घरमा काठका होचा ढोका थिए। पहिलो तल्लामा दुइटा तिकीझ्याः र दोस्रो तल्लामा सँझ्याः आकर्षक देखिन्थे।
‘यो घर मल्लकालीन स्वरुपमै छ। काठमाडौंमा यस्ता घर एकाध बचेका होलान्।’
‘सम्पदा भनेर जोगाएका होलान् र!’ मैले भनेँ, ‘नयाँ बनाउन पैसा भएन होला!’
‘काठमाडौंमा घर छ, मलाई के को डर छ भन्छन्, आफ्नो दुःख आफैंसँग छ,’ उनले भने, ‘एउटा टिङरिङ्ग घर हुन्छ, जायजेथा त्यही हो। कति जग्गा सरकारी अधिग्रहणमा परेर सकियो होला, कति दाजुभाइको अंशबन्डामा परेर बाँडियो होला। भएको पुर्खौली घर न पिउन मिल्छ, न चपाउन।’
‘बेच्न त मिल्ला नि!’
‘बेचेर कहाँ जानु, आफ्नो कूल छोडेर? एउटै घरमा दुई–तीन परिवार बसेको हुन्छ, सबैको बन्दोबस्त कसरी गर्नु? थोत्रो घर बेचेर काठमाडौंमा अब एक आना जग्गा पनि आउँदैन। के गर्ने, कसो गर्ने– यसैमा जिन्दगी बित्छ।’
सम्पदा यात्राको बीचमा आलोकले समाजको एउटा पत्र चियाउने आँखीझ्याल खोलिदिए।
हामी चैत्य फन्को मारेर मूलबाटोमै फर्कियौं। पाँच–दस पाइला अगाडि अर्को गल्ली छुट्टियो। आलोकले खुसी हुँदै भने, ‘यो चाहिँ पक्कै हो।’
‘यी हेर्नुस् त, यहाँ फाल्चा छ,’ उनले मूलबाटो छेवैको पाटी देखाए, जहाँ साँझ बेला तरकारी किन्नेहरूको घुइँचो थियो, ‘काठमाडौं घुम्दा यस्ता फाल्चा देख्नुभयो भने सम्झनुस्, त्यो चोक हो।’
हामी त्यही गल्ली ठम्ठम्ती गयौं, नभन्दै वन्देबाट ब्रह्मटोलतिर तेर्सिएको माथिल्लो बाटोसँग जम्काभेट भयो।
‘तर यहाँ त एकातिर मात्र बाटो छुट्टिन्छ,’ मैले अलमलिँदै सोधेँ, ‘तिवारी सरले भन्नुभएजस्तो मूलबाटोलाई खोइ त काटेको?’
‘यहाँ फाल्चा छ, त्यसैले चोक हो भन्ने त पक्का भयो,’ उनले जवाफ दिए, ‘अर्कोपट्टि विष्णुमती निस्कने गल्ली सहर विस्तारले मासिएको हुनसक्छ।’
मैले टाउको हल्लाएँ।
‘जैसीदेवल चोकमा चाहिँ तिवारी सरले भन्नुभएजस्तै छ।’
जैसीदेवल पुग्न दस पाइला पनि हिँड्नुपरेन। यो वन्देजस्तै महत्वपूर्ण खण्ड हो। सडक संरचना मात्र होइन, यहाँ अरू पनि धेरै थोक छन्, जसले हामीलाई लिच्छविकालको झलक दिन्छ।
यहाँ उत्तर–दक्षिण तन्किएको मूलबाटोलाई पूर्व–पश्चिम सहायक बाटोले काट्छ। चोकबाट पश्चिम ओरालो झर्ने हो भने कोहिति हुँदै ९० डिग्रीमा फनक्क मोडिएर भीमसेनस्थान पुगिन्छ, जहाँ फेरि उही थानकोट–साँखु किराँतकालीन राजमार्ग जोडिन आइपुग्छ। जैसीदेवलबाट सोझै पूर्व जानुस्, ब्रह्मटोल पुग्नुहुन्छ, जहाँ वन्देबाट छुट्टिएर आएको बाटोसँग भेट हुन्छ।
अघि वन्देबाटै कोही जिज्ञासु लुइँलुइँ उता ब्रह्मटोलतिर लम्किएका भए यहाँ हामीसँग मिसिन आइपुग्थे।
देख्नुभयो त, कसरी एकपछि अर्को सहायक बाटोहरू घुमिफिरी मूलबाटोसँग जोडिन्छन्! ठ्याक्कै खण्डाकार, न्यूयोर्कको म्यानहटनजस्तै।
जैसीदेवल चोकको पूर्वोत्तर र पूर्वीदक्षिण कुनामा सडकको दुईतिर दुइटा घर छन्, जुन हाम्रो लिच्छविकालीन सम्पदा यात्राका महत्वपूर्ण कडी हुन्। पूर्वोत्तर कुनाको घर कुमार देउताको मन्दिर हो, जसलाई ‘द्योछेँ’ भनिन्छ। द्योछेँ, अर्थात् भगवानको घर। घरको दोस्रो तल्लाको अँध्यारो कोठामा कुमारको मूर्ति पूर्व फर्किएको छ। हरेक वर्ष जेठ महिनातिर कुमारको खटजात्रा यही घरबाट निस्कन्छ। कुमारी जात्रा हामी सबैलाई थाहा छ, तर कुमार जात्रा धेरै कमले देखेका होलान्! यो कुमारी जात्रा हुनुभन्दा धेरैअघि लिच्छविकालबाटै सुरू भएको हो, जसको विस्तृत म तेस्रो अध्यायमा चर्चा गर्नेछु।
अहिले हामी पूर्वीदक्षिण कुनाको घरमा केन्द्रित हौं, जहाँ फलामे ग्रिलले घेरिएको आँगनमा केही यस्ता लिच्छविकालीन अवशेष छन्, जसले तत्कालीन सहरका धेरै रहस्य छर्लंग पार्छ।
एउटा हो, लिच्छवि राजा वसन्तदेवको अभिलेख कुँदिएको शिलालेख, जुन विक्रम सम्बत् ५७० को हो।
त्यति बेलाका अन्य शिलालेखजस्तै शिरोभागमा दुईतिर शंख र बीचमा चक्र कुँदिएको यो अभिलेख यस कारण महत्वपूर्ण छ, किनकि हामी यसै आधारमा तत्कालीन दक्षिण कोलिग्राम, अर्थात् काठमाडौंको दक्षिणी बस्ती कहिले बसालियो अड्कल गर्न सक्छौं।
सार्वजनिक चोकमा हुनुपर्ने यस्तो राजकीय अभिलेख निजी घरको आँगनमा कसरी पुग्यो होला? यो भनेको प्रधानमन्त्री बस्ने बालुवाटारको जग्गा दलालहरूको हातमा कसरी पुग्यो भनेजस्तै हो। बालुवाटारको तात्तातो प्रश्न त हल हुन नसकेका बेला पन्ध्र सय वर्षअघिका राजाको चिनो कसले चिनोस्? कसले चिनाइदेओस्? कसलाई चिन्ता होस्?
यहाँ घरको भुइँतलामा किराना पसल छ। आँगनभरि त्यही पसलले मट्टीतेलका ड्रम थुपारेको छ। हामी पुग्दा साँझ पर्दै थियो। मट्टीतेलका ड्रमले घेरिएको शिलालेख अलि टाढाबाट त चिनिँदा पनि चिनिन्थेन। आलोक फुर्तिका साथ ड्रम माथि–माथि चढ्दै शिलालेख नजिक पुगे। क्यामराको फ्ल्यास झिलिक–झिलिक बाल्दै फोटो खिच्न थाले। ‘प्राचीन काठमाडौं बुझ्न यो शिलालेख महत्वपूर्ण छ।’
धनवज्र बज्राचार्यको ‘लिच्छविकालका अभिलेख’ किताबमा यसबारे दस पृष्ठको भावानुवाद र व्याख्या छ। उनले यसलाई अहिलेसम्म फेला परेकामध्ये ‘लिच्छवि शासन व्यवस्था बाँधिएको पहिलो अभिलेख’ भनेका छन्।
उनका अनुसार, लिच्छविकालमा प्रशासनिक व्यवस्था मिलाउन चार प्रमुख अड्डा, अदालत थिए — कुथेर, शोल्ल (वा शुल्ली), लिङ्ग्वल र माप्चोक। यो अभिलेख यी चारै अड्डा–अदालतका अधिकृतहरूलाई सम्बोधन गरी सुरू गरिएको छ।
लिच्छविकालमा शासनाधिकार केन्द्रमा मात्र सीमित नराखी विभिन्न तहलाई प्रशासनिक अधिकार दिइएको थियो। स्वायत्त शासनको यस्तो नीति राजा वसन्तदेवकै पालामा सुरू भएको मानिन्छ, जसलाई उनीपछिका शासकहरूले अझ विस्तार गरे। यी अड्डाका अधिकृतहरूलाई विभिन्न ठाउँमा प्रशासनिक जिम्मेवारी दिएर खटाइन्थ्यो।
कुथेर अड्डाको काम र अधिकार सबभन्दा व्यापक देखिन्छ। यसको मुख्य काम राजस्व उठाउने हो। शोल्ल वा शुल्ली अड्डाले चोरी, हत्या, राजद्रोह लगायत आपराधिक मुद्दामामिला हेर्ने र दण्ड–सजाय दिने काम गर्थ्यो। लिङ्ग्वल अड्डाको काम निश्चित रूपमा भन्न नसके पनि कुलो, धारा वा पानीसँग सम्बन्धित थियो कि भन्ने अनुमान गरिएको छ। माप्चोक अड्डाको काम पनि खुलस्त छैन। अन्य विभिन्न अभिलेखहरूका आधारमा यसले विवाह, सम्बन्धबिच्छेद लगायत घरायसी तथा पारिवारिक मामिला हेर्थ्यो कि भन्ने अनुमान छ।
यो अभिलेख तीनवटा कारणले महत्वपूर्ण छ —
पहिलो, यसले काठमाडौंको यो दक्षिणी बस्ती दसौं शताब्दीमा राजा गुणकामदेवले बसालेका हुन् भन्ने केही इतिहासकारको भनाइलाई गलत सावित गर्छ। दसौं शताब्दीमा मात्र बसालिएको भए त्योभन्दा चार सय वर्षअघि राजा वसन्तदेवको पालामै यहाँ यो शिलालेख किन गाडिन्थ्यो?
यसमा दुइटा सम्भावना हुनसक्छ — या त गुणकामदेव नामकै अर्का लिच्छवि राजा पाँचौं वा छैठौं शताब्दीतिर थिए, जसको अभिलेख फेला परेको छैन। वा, जुन गुणकामदेवलाई हामी चिन्छौं, उनले आफ्नो शासनकालमा सहर बसाएका होइनन्, बरू दुइटा प्राचीन सहर कोलिग्राम र दक्षिण कोलिग्रामलाई मिसाएर ‘कान्तिपुर’ नामकरण गरेका हुन्।
दोस्रो, मानगृह दरबारबाट जारी यो अभिलेखले तत्कालीन चार प्रमुख अड्डा–अदालतका अधिकृतहरूलाई सम्बोधन गरी लिच्छवि शासन व्यवस्था बाँधिएको उद्घोष गर्छ, जसमा राजस्व असुलीदेखि फौजदारी अपराध, सामाजिक व्यवहार र कुलोपैनीसम्म पर्छन्। यसबाट दक्षिण कोलिग्रामलाई प्रशासनिक अधिकारसहितको स्वायत्त इकाईका रूपमा स्थापना गरिएको थियो भन्ने बुझिन्छ। नभए शासनको थिति बसालिएको यस्तो अभिलेख राजधानी हाँडीगाउँमै नराखेर यति टाढा जैसीदेवलमा किन राखिन्थ्यो? लिच्छविकालकै अर्को अभिलेखमा थानकोटका मान्छेसमेत कर तिर्न दक्षिण कोलिग्राम आउनुपर्ने व्यवस्था उल्लेख छ, जसले यो ठाउँको प्रशासनिक महत्व देखाउँछ।
तेस्रो, कुनै पनि राजाले आफ्ना अड्डा–अदालतका प्रमुखहरूका नाममा शासन व्यवस्थाको निर्देशन त्यति बेला जारी गर्छ, जब नयाँ व्यवस्थाको थिति बसालिन्छ वा पुरानो थिति परिवर्तन गरिन्छ। यहाँ ‘दक्षिण कोलिग्राम’ भन्ने नयाँ सहर बसालेर त्यसै निम्ति सरकारी अधिकृतहरूलाई शासनको जिम्मेवारी सुम्पिएको हुनसक्छ। यस आधारमा दक्षिण कोलिग्राम, अर्थात् काठमाडौंको यो दक्षिणी बस्ती विक्रम सम्बत् ५७० मा राजा वसन्तदेवका पालामा बसालिएको हो कि भन्न सकिन्छ।
पुरातत्वविद् साफल्य अमात्यले आफ्नो किताब ‘काठमाडौं नगरायण’ मा अरू केही ऐतिहासिक विवरण पनि दिएका छन्, जसको वर्णन यहाँ सान्दर्भिक हुन्छ।
उनका अनुसार, राजा शंकरदेवले विसं ६६२ मा बागमतीको उत्तर र विष्णुमतीबाट पूर्व पाँच हजार घर भएको ‘पूर्णवती’ भन्ने सहर बसाए। पछि गुणदेव नाम गरेका राजाले विसं ७८१ मा त्यही ठाउँ अठार हजार घर भएको खड्गाकार ‘कान्तिपुर’ सहर बनाए। सहर रक्षाका लागि पूर्वतर्फ लुमरी अजिमा (भद्रकाली), पश्चिमपट्टि विष्णुमती तीरमा कंकेश्वरी, इन्द्रायणी र दक्षिणमा पचली भैरव स्थापना गराए। पूर्णवती भनिने सहर नै अन्ततः कान्तिपुर नामले प्रख्यात भएको अमात्य लेख्छन्।
यहाँ प्रश्न उठ्छ, शंकरदेव वा गुणदेवका पालामा सहर बसेको हो भने यी दुई राजाभन्दा सय र दुई सय वर्षअघि नै शासन व्यवस्था बाँधिएको अभिलेख जैसीदेवलमा कसरी फेला पर्यो? यस आधारमा वसन्तदेवकै पालामा विधिवत् रूपले काठमाडौं सहर बसालिएको हुनसक्ने सम्भावना बढी देखिन्छ।
जैसीदेवलबाट लगन जाने बाटोमा घरको भित्तामा ठड्याएर राखिएको शिलालेख पनि हाम्रा लागि महत्वपूर्ण छ।
अघिल्लोभन्दा ठ्याक्कै सय वर्षपछि विक्रम सम्बत् ६७० मा जारी यो अभिलेखले यहाँको लिच्छविकालीन राजदरबार, जसलाई ‘दक्षिण राजकूल’ भनिन्थ्यो, त्यसको चार किल्ला खुलाउँछ।
धनवज्र बज्राचार्यका अनुसार यो अभिलेखमा ‘दक्षिण राजकूलको दक्षिणपश्चिमतिर’ भन्ने उल्लेख छ। यसबाट अभिलेख रहेको ठाउँको उत्तरपूर्वपट्टि ‘दक्षिण राजकूल’ थियो भन्ने बुझिन्छ। गौतमवज्र बज्राचार्यले पनि ‘जैसीदेवलको त्यो पूर्वोत्तर कुनासँग दक्षिण राजकूलको दक्षिणपश्चिम कुना जोडिएको रहेछ’ भनेर लेखेका छन्। राजधानी हाँडीगाउँभन्दा बाहिर यहाँ आएर छुट्टै दरबार बनाउनुले यो ठाउँको प्रशासनिक महत्व खुल्छ।
जैसीदेवलको किराना पसलको आँगनमा ग्रिल-पर्खालले घेरेर राखिएको ढुंगाका तीनवटा घडा छन्, जुन लिच्छविकालीन सहरी ढाँचा बुझाउने अवशेष हुन्।
जैसीदेवललाई नेवार भाषामा ‘न्हूघः’ भनिन्छ। यो स्थानीय नाम यही घडाका आधारमा रहेको हो।
घः वा घडा भन्नेबित्तिकै त्यसले पानीको संकेत गर्छ। बस्तीको बीचमा, अझ तत्कालीन राजदरबारको दक्षिणपश्चिम मोहडामा पानीको संकेत गर्ने यी घडाहरू किन स्थापना गरिए होलान्? राजाको स्वागत गर्न त होइन नि?
मैले यही प्रश्न सुदर्शन तिवारीलाई सोधेको थिएँ। उनको जवाफले सहरको अर्को रहस्य खुल्यो। यसै अध्यायमा वन्देनारायणको लिच्छवि अभिलेखबारे चर्चा गर्दा मैले जुन कुलोको कुरो गरेको थिएँ, त्यो प्रसंग अब यहाँ आएर जोडिन्छ।
‘लिच्छविहरूको सभ्यता नदीसँग जोडिएको छ। भारतको वैशालीमा उनीहरूले गंगा नदी किनार राज्य निर्माण गरेका थिए। काठमाडौं जितेपछि भने राजधानी हाँडीगाउँदेखि दक्षिण कोलिग्रामसमेत डाँडाको थुम्कोमा बसाए। उनीहरूले चाहेका भए नदी किनारमै बस्ती बसाउन सक्थे, तर किराँतकालदेखिको प्राचीन बस्ती मास्न चाहेनन्,’ तिवारीको व्याख्याअनुसार लिच्छविले डाँडाको थुम्कोमा बस्ती बसाए पनि नदीसँगको सम्बन्ध तोड्न सकेनन्।
‘उनीहरूलाई नदी नभई हुन्थेन। त्यही भएर हाँडीगाउँमा बागमतीनजिकै सत्यनारायण मन्दिर स्थापना गरे। यहाँ भने नदीको तिर्खा मेट्न सहरको उत्तरी कुनादेखि दक्षिणी कुनासम्म नहर खनाए। लिच्छविहरूको निम्ति यही नहर नदीको सानो रूप थियो।’
पानीको स्रोत जुटाउन सहरको उत्तरी सिरान क्षेत्रपाटीमा इखापोखरी निर्माण गरिएको उनको भनाइ छ। आफ्नो तर्क पुष्टि गर्न उनी केही आधार दिन्छन्। ‘त्यो बेला क्षेत्रपाटीभन्दा पर बस्ती थिएन। सहरको उत्तरी सिरान भनेकै क्षेत्रपाटी थियो। उनीहरूले त्यहाँ पानी जम्मा गर्न इखापोखरी बनाए र नजिकै इखानारायण मन्दिर स्थापना गरे,’ तिवारीले विस्तार लगाए, ‘इखानारायणबाट सहरको पश्चिमी छेवैछेउ दक्षिणी पुछारसम्म नहर लगे, जसलाई चिनाउन ठाउँ–ठाउँमा घडा स्थापना गरिएको हुनसक्छ।’
काठमाडौंका थप चार ठाउँमा ढुंगाका घडा आज पनि छन्, जुन तिवारीले भनेजस्तै सहरको पश्चिमी छेउमै पर्छन्।
इखानारायण र इखापोखरीको बीचमा नघलको श्रीघः विहारभित्र पाँचवटा ठूल्ठूला र एउटा सानो गरी छवटा घडा छन्। सानो घडा नघलकै कतै अलपत्र अवस्थामा फेला परेर सुरक्षा निम्ति यहाँ राखिएको स्थानीय बताउँछन्। अरू सबै ठाउँमा तीनवटा घडा हुनु, यहाँ भने पाँचवटा हुनुले वैष्णव धर्म मान्ने लिच्छवि शासकले बौद्ध विहारलाई महत्व दिन खोजेको देखिन्छ।
श्रीघःबाट अझै यता आएपछि त्यंघ, किलागल वा किलाघः र त्यसपछि इन्द्रचोक वा वंघःमा यस्तै घडा छन्। स्थानीय नेवारहरू अहिले पनि इन्द्रचोकलाई वघः नै भन्छन्। ‘सहरको एकै दिशामा लश्करै रहेका यी ठाउँ त्यति बेलाको नहरको बाटो हो,’ उनले अर्थ्याए।
लिच्छविहरूले सहरभित्र बनाएको नहर यही एउटा मात्र होइन। काष्ठमण्डपबाट पाको हुँदै टेबहालसम्म अर्को नहर थियो भन्ने तिवारीको भनाइ छ।
टेबहाल लिच्छविकालीन बहाल हो, जहाँ हिन्दुहरूले पूजा गर्ने संकटा मन्दिर र बौद्ध विहार एकै ठाउँ छ। ‘चिसिमन्डा’ भनिने यो नहरबारे लगनटोलमा पाइएको विक्रम सम्बत् ७५२ को अभिलेखमा उल्लेख छ। न्यूरोड, पिपलबोटमा रमागृह पछाडि एउटा सानो बाटो टेबहालसम्म जान्छ, उनले भने, ‘यो यही नहरको बाटो हो।’
यी दुइटा नहर वघ:मा मिसिन्थ्यो कि भनी हामी अनुमान गर्न सक्छौं। किनभने, वघ:भन्दा अगाडि यो ठाउँलाई 'होंग' भनिन्थ्यो भन्ने स्थानीय भनाइ छ। नेवार भाषामा होंग भनेको दुई नदीको दोभान हो। स्थानीय बूढापाकाहरू उहिले विष्णुमती नदी यही ठाउँबाट बहन्थ्यो भन्छन्। विष्णुमती यति उचाइँबाट बहने सम्भावना कम छ, तर लिच्छविहरूले बनाएको त्यही नहर नदीका रूपमा स्थानीयको सम्झनामा सर्दै आएको हुनसक्छ।
वघ:निरै मासंगल्ली भन्ने ठाउँ छ, जुन शव लैजाने बाटो थियो रे। यसले पनि लिच्छविकालीन नहरको सम्झना जीवित राखेको छ।
मरुहिति, कोहिति लगायत काठमाडौंका ढुंगेधारामा उतिबेला बाह्रै महिना, चौबीसै घन्टा पानी आइरहने स्रोत इखापोखरी र इखापोखरीदेखि ढुंगेधाराहरूसम्म पानी लैजाने बाटो यिनै दुई नहर। वन्देनारायणको शिलालेखले यिनै नहर मर्मत गर्न ‘आयस्ता बन्दोस्त गरेको’ हुनसक्छ।
मैले तिवारीसँग भएका सबै कुराकानी आलोकलाई विस्तार लगाएँ। ‘हामी बाटोमा पर्ने खण्डहरू हेर्दै नहरकै बाटो इखापोखरी पुगौंला,’ उनले जैसीदेवलबाट फटाफट पाइला चाले।
तपाईंहरू पनि आउँदै हुनुहुन्छ नि, सँगसँगै!
अब धेरै बेर छैन। कुर्सीको पेटी अन्तिमचोटि कसिहाल्नुस्।
...
काठमाडौं गल्ली यतिका ओहोरदोहोर गर्दा पनि मैले यादै गरेको थिइनँ, जैसीदेवलदेखि काष्ठमण्डपसम्म ठ्याक्कै पाँच ठाउँमा मूलसडकलाई पूर्व–पश्चिम बाटोले काट्दो रहेछ।
वन्देदेखि यहाँसम्म तीन, यहाँबाट काष्ठमण्डपसम्म पाँच — भएन त आठ!
जैसीदेवलबाट चौथो खण्ड पुग्न चार पाइला पनि हिँड्नुपरेन। सडक किनारमै गणेश मन्दिर छ, जहाँबाट पूर्व–पश्चिम बाटो छुट्टिन्छ। यही बाटो ब्रह्मटोलको उत्तरी मोहडामा पुग्छ।
तपाईंहरूले कत्तिको याद गर्नुभएको छ — ब्रह्मटोलको उत्तरी मोहडाबाट छुट्टिने एउटा बाटो हामी अघिदेखि हिँड्दै आएको वन्दे–क्षेत्रपाटी मूलसडकसँग समानान्तर धर्सोका रूपमा अघि बढ्छ, जुन झोछेँ, धर्मपथ, शुक्रपथ, इन्द्रचोक (वंघः), किलागल (किलाघः), नघल (श्रीघः), इखानारायण हुँदै ठहिटी (थँहिति) पुग्छ र क्षेत्रपाटीको इखापोखरीतिर मोडिन्छ। तिवारीले भनेको लिच्छविकालीन माथिल्लो मूलबाटो र नहरको बाटो यही हो।
नहरको बाटो एकछिनपछि आउँला। अहिलेलाई मूलसडकमै लम्किँदै जाँदा झन्डै–झन्डै उस्तै दुरीमा पाँचौं, छैठौं र सातौं खण्ड छन्। यी खण्डहरूमा जोडिन आउने पूर्व–पश्चिम बाटोले हामीलाई झोछेँसँग जोड्छ। यसबीच काष्ठमण्डप पुग्नुभन्दा अलिकति अगाडि सातौं खण्डमा अट्कोनारायण मन्दिर छ। आधुनिक संरचनाले पुरानो स्वरुप मासिए पनि तिवारी भन्छन्, ‘अट्कोनारायणले हामीलाई लिच्छविकालकै झलक दिन्छ।’ उनी यसलाई ‘लिच्छविहरूले आफूसँग ल्याएको वैष्णव धर्मको प्रतिरूप’ मान्छन्।
लिच्छविहरूले पन्ध्र सय वर्षअघि बसालेको दक्षिण कोलिग्रामको आठौं र अन्तिम खण्ड हो, काष्ठमण्डप। यो कोलिग्राम र दक्षिण कोलिग्रामको सिमाना हो। थानकोटदेखि साँखुसम्म तन्किएको किराँतकालीन राजमार्ग यहीँ आएर मध्य–सहरमा मिसिन्छ र इन्द्रचोक, असन हुँदै जमलबाट बाहिरिन्छ।
काष्ठमण्डपबाटै वसन्तपुर डबली हुँदै पूर्व लाग्ने अर्को बाटो पाको हुँदै टेबहाल पुग्छ। ‘चिसिमन्डा नहर’ को यो प्राचीन बाटो आज पनि उस्तै छ।
अब हामीसँग दुइटा विकल्प छन् — काष्ठमण्डपबाट मूलसडक नछोडी ‘कोलिग्राम’ तिर छिर्ने कि, वन्देदेखि नै मूलसडकसँग कुम ठोक्दै आइरहेको समानान्तर बाटोमा मिसिन जाने?
‘तपाईं भन्नुस्, गाइड त तपाईं हो,’ मैले आलोकलाई भनेँ।
‘काष्ठमण्डप उत्तरतिरको संरचना पनि लगभग यस्तै हो,’ उनले सम्झाए, क्षेत्रपाटीसम्मै ठाउँ–ठाउँमा मूलसडकबाट पूर्व–पश्चिम बाटो छुट्टिन्छन्। यताको बस्ती पनि वर्गाकार खण्डहरूमा विभाजित छ। दक्षिण कोलिग्राममा जस्तो ज्यामितीय रूपले आठ खण्डमा भने बाँडिएका छैनन्।
हामी वसन्तपुरबाट नहरको बाटो समात्न इन्द्रचोकतिर लम्कियौं।
इन्द्रचोकमा आकाश भैरव मन्दिरअगाडि जहाँ मुसलमानहरूका पोते पसल छन्, त्यही गुजमुज्ज बजारभित्र साँघुरा गल्ली नाघेर अगाडि बढेपछि सानो चोक आउँछ, जहाँ कुमारी मन्दिर छ। सतहभन्दा अलि गहिरो ठाउँ पारेर बनाइएको कुमारी मन्दिरभित्रै तीनवटा घडा फलामे ढोकाले सुरक्षित राखिएका छन्।
आलोकले त्यसपछि मलाई त्यंघका तीनवटा ढुंगेघडा देखाए, अनि किलागलको ढुंगेघडा देखाउन मसिना गल्लीहरूभित्र छिराए। यो उनकै टोल हो, जहाँ उनी जन्मे–हुर्के, जहाँ उनी बस्छन्। कुन गल्ली कहाँ खुल्छ, कुन घरको छिँडीबाट कहाँ निस्कन्छ, उनी आँखा चिम्लेरै भन्दिन सक्छन्। एउटा गल्लीमा बडेमाको कालो कुकुरसँग जम्काभेट भयो। हामीलाई देख्नेबित्तिकै टोलै थर्काएर भुक्न थाल्यो। म झस्केँ। ‘आउनुस्, आउनुस्, यसले भुक्ने मात्र हो,’ आलोक बेफिक्रीसाथ त्यही कुकुरको छेउबाट अघि बढे, ‘भुक्ने कुकुरले टोक्दैन।’ टोल्या साथीले नै यसो भनेपछि के को डर! हामी पर पुग्दासम्म त्यो कुकुर भुक्दै नै थियो।
दुई–तीनचोटि दाहिने–देब्रे मोडिएपछि हामी गल्लीकै किनार पर्खाल लगाइएको सानो चोकनिर पुग्यौं। स्थानीय वडा कार्यालयले यही चोकभित्र घडा संरक्षण गरेर राखेको रहेछ। हामी पुग्दा भित्र छिर्ने ढोकामा ताल्चा लगाइएको थियो, पर्खाल बाहिरैबाट खुट्टा तन्काएर हेर्नुपर्यो।
यहाँ तीन घडामध्ये अहिले एउटा मात्र बाँकी छ, बाँकी दुइटा चोरी भए। त्यही एउटाको पनि एकातिरको भाग चोइटिएको छ। कसैले घडा चोर्न खोज्दा पूरै लैजान नसकेर अलिकति भाग फोडेर लगेको स्थानीयको भनाइ छ।
‘पूरा सहर दर्शन गराउनुभो, आफ्नै टोलमा चाहिँ दूरदर्शन!’ मैले उनलाई खिपेँ।
उनी पनि के कम!
‘सम्पदा क्षेत्र पो हो, यत्तिकै जहाँ पायो त्यहीँ छिर्न कहाँ पाइयो त,’ उनले ठट्टामा भने पनि कुरा ठिकै हो। प्राचीन सम्पदा सहरका हरेक चिज अमूल्य छन्। न जहाँ पायो त्यहाँ छिर्न दिनु ठिक, न जे पायो त्यही बिगार्नु ठिक।
इखापोखरीलाई हेर्नुस् न। हामी पुग्दा झमक्क साँझ परिसकेको थियो। ‘यहाँ अचेल छिर्न दिन्छ कि दिँदैन थाहा छैन,’ आलोकले दायाँबायाँ हेर्दै तारजाली नाघे। वरिपरि कोही थिएन, तर हामी पोखरीसम्म पुग्न पाएनौं। भित्र अर्को तारजालीले पोखरी बाँधिएको थियो।
लिच्छविकालीन यो पोखरी अहिले कन्या मन्दिर स्कुलको जग्गाभित्र पर्छ। २०७२ को भुइँचालोमा स्कुल भवन क्षतिग्रस्त भएपछि पुनर्निर्माण हुँदैछ। नयाँ घरको जग खन्दा निस्केको माटो पोखरी वरिपरि थुपारिँदैछ। हामी पुग्दा माटो बोक्ने एक–दुईवटा टिपर पोखरीको अर्को छेउ विश्राम गर्दै थिए।
इखापोखरी मेरो बाल्यकालीन काठमाडौं सम्झना हो। सानोमा आमाबुबासँग घुम्न आउँदा क्षेत्रपाटीमा जति दिन बसिन्थ्यो, हरेकदिन इखापोखरी हेरिन्थ्यो। सम्झना धमीलो भइसक्यो, त्यति बेला यो पोखरी कस्तो थियो, कत्रो थियो म यसै भन्न सक्दिनँ। एक–दुई जना स्थानीयसँग सोध्दा पहिले जत्रो थियो, स्कुलले मिचेर एकतिहाइ मात्र बचेको बताउँछन्।
‘रानीपोखरीजस्तै इखापोखरी बचाउ अभियान सुरू गर्नुपर्ने भएको छ,’ आलोकले आफ्नो योजना सुनाए, ‘पहिलेकै स्वरुपमा फर्काउन स्थानीयलाई सम्झाउनुपर्छ।’
‘सबैतिर सम्पदा संरक्षणको आवाज उठेको छ, बेला यही हो,’ उनले भने।
आलोक यहीँबाट आफ्नो घरतिर लागे। उनी कुनै मसिनो गल्लीभित्र छिरे होलान्। अघिको कुकुर गल्लीमै रहेछ भने फेरि भुक्यो कि! भुक्ने कुकुरले टोक्दैन रे!
रातको आठ बजिसकेको छ। म क्षेत्रपाटी चोकमा एक्लै उभिएको छु। मेरो आँखाअगाडि काष्ठमण्डप हुँदै काठमाडौंको दक्षिणी पुछार वन्देनारायणसम्मै धागोझैं सोझो सडक तन्किएको छ। अलि पर, यही सडकसँग समानान्तर अर्को सडक इन्द्रचोक हुँदै वन्देसम्मै पुग्छ।
रातको समय दुवै सडक सुनसान छन्। दिनभरि सुस्ताउन नपाउने काठमाडौंका सडकले यतिबेला मस्त सास फेर्न पाउँछ। हल्का पानी पनि परिदियो भने त उसको पोलेको छाती अलि बेरलाई भए पनि शितल हुन्छ। दिनभरि लपक्कै ढाकिने धूलो र छपक्कै छोपिने धुवाँबाट उसले अलि बेरलाई भए पनि त्राण पाउँछ। भोलि फेरि धूलो, धुवाँ, गाडी र गोडामुनि लपेटिनु त छँदैछ।
म देख्दैछु, यी दुई उत्तर–दक्षिण समानान्तर सडकलाई ठाउँ–ठाउँमा पूर्व–पश्चिम सहायक बाटाहरूले काटेका छन्। हवाईजहाजमा उड्दा आकाशबाट तल हेर्न पाइयो भने सलाइको बट्टाजस्ता वर्गाकार खण्डहरू ठ्याक्कै छुट्टिन्छन्। हवाईजहाजै किन चढ्नुपर्यो! हेर्नै मन लागे ‘गुगल म्याप’ छँदैछ। मध्य–काठमाडौंको स्याटलाइट नक्सा क्लिक गरेर टू–डी वा थ्री–डी भर्सनमा तल–माथि, दायाँ–बायाँ माउस स्क्रोल गर्ने हो भने पनि काठमाडौंका यी वर्गाकार खण्डहरू प्रस्टै देखिनेछन्।
देख्नलाई त मैले यी सडक–गल्लीहरू, यहाँका डबलीहरू, ढुंगेधाराहरू र सलाइका बट्टाजस्ता वर्गाकार खण्डहरू धेरै वर्षदेखि देख्दै आएको हुँ। तर, सम्पदाविद् तथा सहरी विकास योजनाकार सुदर्शनराज तिवारीबाट यसको विशेषता थाहा पाएपछि र उनले बनाएको नक्सा बोकेर आलोकसिद्धि तुलाधरसँग यी गल्लीहरू नापेपछि मेरो दृष्टि नै फेरियो।
पन्ध्र सय वर्ष वा त्योभन्दा अगाडिदेखि ‘जस्ताको तस्तै’ रहेको काठमाडौंको जस्तो प्राचीन स्वरूप संसारका ‘प्राचीन’ भनिएका सहरहरूमा पनि विरल छन्।
...
मल्लकालमा आएर काठमाडौंको सहरी संरचनामा तीनवटा महत्वपूर्ण परिवर्तन भए।
पहिलो, मल्लहरूले सहरको ब्रह्माण्ड आकार कायम राखे, लिच्छविले ल्याएको ज्यामितीय शैली भने छाडे। मूल र सहायक सडक जोडेर वर्गाकार खण्ड बनाउने अवधारणामा उनीहरू गएनन्। पुरानो बस्ती लिच्छवि शैलीमै रह्यो, नयाँ बस्ती अष्टमातृका शैलीमा बन्यो।
एउटा ‘स्क्वायर’ मा अर्को ‘स्क्वायर’ खप्ट्यायो भने आठ कुना निस्कन्छ। प्रत्येक कुनामा अष्टमातृका स्थापना गरिन्छ भने केन्द्रमा त्रिपुरासुन्दरी। मल्लहरूले यही शैलीमा टोल विभाजन गरे। दरबारलाई केन्द्रमा राखेर आठवटा टोल बनाए। संख्या थपिँदै २४ सम्म पुग्यो भनिन्छ। केही इतिहासकार ३२ टोल भएको दाबी गर्छन्। टोलको सीमा निर्धारण गर्न चोक–चोकमा गणेश स्थापना गरियो। गणेशलाई अहिले पनि ‘टोलरक्षक’ मानिन्छ, जुन मल्लकालीन सम्झना हो। गणेश आफूले रक्षा गर्नुपर्ने टोलतिर पिठ फर्काएर बस्छन्।
दोस्रो, जात्रा चलाउन सुविस्ता होस् भनेर केही सडक फराकिला पारिए। रथ मोड्नुपर्ने ठाउँमा फराकिला चोक बने। सडकको ढाँचा भने लिच्छवि शैलीमै रह्यो।
तेस्रो, मल्लकालमा सहरभित्र खुला सार्वजनिक स्थलहरू निर्माण गरिए। तीमध्ये वसन्तपुर दरबार स्क्वायर सबभन्दा ठूलो छ। यहाँ भित्री सहरका सबैजसो साना–ठूला सडकको मोहडा खुल्छ। तिवारीका अनुसार यो मल्लकालीन ‘आर्किटेक्चर’ को नमूना हो। मुख्य जात्रा सबै वसन्तपुर डबलीमा हुन्थे। प्रशासनिकदेखि सांस्कृतिक काममा समेत डबली प्रयोग हुन्थ्यो। राज्यभरिका मान्छे जमघट हुने ठाउँ यही थियो।
‘उपत्यकाका सबै मुख्य मन्दिरहरूको प्रतिरूप यहाँ बनाइएको छ। मल्लकालमा दाजुभाइबीच राज्य भाग लागेपछि एउटा ठाउँको मन्दिरमा अर्को राजा जान छाडे। शिवरात्रिमा पशुपति जानुको सट्टा पशुपतिनाथलाई नै दरबार अगाडि ल्याए। कृष्णजात्रा हेर्न पाटन जानु नपर्ने भयो,’ तिवारीका अनुसार पाटन र भक्तपुर दरबार स्क्वायरमा यस्तै शैली देखिन्छ। भक्तपुरमा त चारधाम नै स्थापना गरिएको छ।
दरबार स्क्वायरपछि इन्द्रचोक, असन, जैसीदेवलजस्ता चोकलाई ‘मार्केट स्क्वायर’ का रूपमा विकास गरियो। इन्द्रचोक, असनमा अहिले पनि दुई–तीन सय वर्ष पुराना पसल छन्। सहरभित्रका बहाल अर्को महत्वपूर्ण मल्लकालीन सार्वजनिक स्थल हुन्। यस्ता बहालमा मन्दिर, पाटी लगायत सामाजिक जमघट निम्ति पूर्वाधार बनेका हुन्छन्। पूजाआजादेखि बिहे–ब्रतबन्ध र घाम ताप्नेसम्म यहीँ हुन्छ। बहालभन्दा भित्र पनि ‘ननी’ भनिने स–साना चोक हामी देख्छौं, जुन त्यही टोलका मान्छेले बढ्ता प्रयोग गर्छन्।
त्यति बेला सहरको मध्यभागमा पार्क बनाउने, रूखबिरुवा लगाउने चलन थिएन। यति हुँदाहुँदै तह–तहको खुला सार्वजनिक ठाउँ छाडिन्थ्यो, गुजमुज्ज सहरले सास फेर्ने ठाउँ पाउँथ्यो।
कुनै पनि सहरको योजना बनाउँदा इतिहासतिर फर्केर हामी कहाँ थियौं र कहाँ आइपुग्यौं हेर्नुपर्छ, तिवारी भन्छन्, ‘काठमाडौंको प्राचीन सभ्यता र संरचना मासिएको छैन, मक्किएको छ। यसलाई उही भर्भराउँदो अवस्थामा फर्काउन सकिन्छ।’
...
एकछिन सुस्ताउनुस्। कुर्सीको पेटी फुकाल्नुभए हुन्छ।
हामीले लामो यात्रा तय गर्यौं, बाटोमा कतै अलमलिनु त भएन?
सर्सती सम्झाउँ है। हामीले अहिलेसम्म काठमाडौंको भौगोलिक उत्पत्तिदेखि सहर निर्माणसम्मका कुरा गर्यौं। किराँतकालमा काठमाडौंलाई माथि, मध्य र मुनि गरी तीन भागमा बाँडियो। लिच्छविहरूको उदयपछि सहरले ज्यामितीय ढाँचा पायो। तीन समानान्तर मूलसडक र त्यसलाई ठाउँ–ठाउँमा काट्ने सहायक बाटाहरूले काठमाडौं वर्गाकार खण्डहरूमा बाँडियो। यो संसारकै यस्तो दुर्लभ सहर हो, जहाँ प्राचीन सहरी ढाँचा ‘जस्ताको तस्तै’ छ।
हामीले यसै अध्यायमा कोलिग्राम र दक्षिण कोलिग्राम जोडिएर काठमाडौं बनेको र यी दुई सहरको सिमाना काष्ठमण्डप हो भन्ने कुरा गर्यौं। अर्को अध्यायमा काष्ठमण्डपको चर्चा गर्नेछौं।
यो सत्तल बाह्रौं शताब्दीमा बनेको मानिन्थ्यो। भुइँचालोले जब जगैसम्म गर्ल्यामगुर्लुम ढल्यो, यसका रहस्य बल्ल खुले। कहिलेकाहीँ विनाशले गर्भमा लुकेको इतिहास सतहमा ल्याइदिन्छ! के हुन् काष्ठमण्डप रहस्य? यसका कथा, किम्बदन्ती? के यो सत्तल बाह्रौं शताब्दीमै बनेको हो? वा, त्योभन्दा धेरै अगाडि? कतै किराँतकालमै बनिसकेको थियो कि?
काष्ठमण्डप — जुन स्मारकको नामबाट कोलिग्राम र दक्षिण कोलिग्राम मिसिएर बनेको संयुक्त सहर काठमाडौंको नामकरण भयो।
(दोस्रो अध्याय शुक्रबार प्रकाशन हुनेछ।)