कथायेँ- क्रमशः
हामीले इतिहासको कुरा गर्यौं, अब वर्तमान र भविष्यको कुरा गरौं।
मेरो उद्देश्य इतिहासको गौरवगाथा सुनाएर आफू बाँचिरहेको समयलाई गौण देखाउनु होइन। त्यो व्यक्ति, समाज वा सहर मात्र इतिहासको गौरवमा बाँच्छ, जसको कुनै वर्तमान वा भविष्य छैन। काठमाडौंको वर्तमान भलै धर्मराएको होस्, भर्भराउँदो भविष्यको सम्भावना मरेको छैन।
यहाँ हामी काठमाडौंको इतिहास यस कारण सम्झिँदै छौं, ताकि त्यही इतिहासको जगमा उभिएर वर्तमान र भविष्यको बाटो कोर्न सकियोस्।
इतिहास आफ्नो कालखण्डमा कुनै न कुनै समय चौबाटो चोकबाट गुज्रिएरै यहाँसम्म आइपुगेको हो — अलमलिँदै, बाटो बिराउँदै, बाटो पहिल्याउँदै। हामी त्यही चौबाटो चोकमा उभिएका छौं। जसरी लाखौं लाख वर्ष ताल बनेर जमेको बागमती नदीले पहाडमा चिरा पारेर बाटो खन्यो, हामीले पनि त्यस्तै चिरा पार्नुछ।
हाम्रा पुर्खाले बरू शून्यबाट सुरू गरे, सादा पाटीमा सभ्यता कोरे। हामीलाई शून्यको भय छैन। हामीसँग धाकै लगाउन मिल्ने सभ्यताको धरोहर छ। प्राचीन जात्रापर्वले धनी छौं। काठमाडौंले आफ्नो प्राचीन ढाँचा हाम्रो निम्ति धानिदिएकै छ। अब पनि धारेहात लगाएरै बस्यौं भने पुर्खाले छाडेका यी चिह्नहरू धमीला हुँदै जानेछन्। र, एकदिन काठमाडौं सभ्यताको एक धर्सो पनि हामीसँग रहने छैन। नयाँ नक्कल गर्ने नाममा मौलिक पुरानो भत्काउँदै गयौं भने हामी रित्तो हुनेछौं। प्राचीन सभ्यताले छाडेका अमूल्य निधिहरू गुमाएर परिचयविहीन भट्किनेछौं।
मैले पहिलो अध्यायमै भनिसकेँ, काठमाडौं संसारकै यस्तो दुर्लभ प्राचीन सहर हो, जसको मौलिक स्वरुप र संरचना अहिलेसम्म ‘जस्ताको तस्तै’ छ। काठमाडौंले जे गुमाइसक्यो, त्यो फर्काउन सकिएला कि नसकिएला थाहा छैन, तर जे बचाएर राखेको छ, ती धरोहर चिन्न र संसारलाई चिनाउन लायक छन्। कम्तीमा पन्ध्र सय वर्षदेखि रूप नफेरिएको यहाँको सहरी वास्तु नै विश्व सम्पदामा सूचीकृत हुन लायक छ। हामीले त्यसको निम्ति दाबी किन नगर्ने?
लन्डनबाट प्रकाशित हुने ‘टेलिग्राफ’ पत्रिकाले केही समयअघि संसारकै बीस प्राचीन सहरको सूची सार्वजनिक गरेको थियो। प्यालिस्टाइन, लेबनान, सिरिया, इजिप्ट, इरान, इराक र अफगानिस्तानदेखि ग्रिस, टर्की, स्पेन र बुल्गेरियासम्म सूचीमा समेटिएका छन्। भारतको बनारस बीसौं नम्बरमा छ। पन्ध्र सय वर्षअघिको ढाँचा आज पनि उस्तै स्वरुपमा देख्न सकिने हाम्रो काठमाडौं त्यो सूचीमा अटाएन।
दोष अरूको होइन, हाम्रै हो। सम्पदाविद् सुदर्शनराज तिवारीले भनेझैं हामी ‘माल पाएर चाल नपाएका’ मान्छे हौं। हामीले आफूसँग भएको अमूल्य पुँजी न आफू चिन्यौं, न अरूलाई चिनाउन सक्यौं।
संसारका धेरै सहरको इतिहासले भन्छ– सहरहरू बिग्रिन्छन्, कुरुप हुन्छन्, अनि फेरि सुन्दर बन्छन्। काठमाडौं पनि ब्युँताउन सकिन्छ। यसको सुन्दरता पुनर्स्थापित गर्न सकिन्छ। यो सहरलाई संसारकै प्राचीन सूचीमा दर्ज गराउन सकिन्छ। उपाय हो, काठमाडौंले अहिलेसम्म जोगाएर राखेको प्राचीन ढाँचा संरक्षण गर्ने।
यो सपना पूरा गर्न हामीलाई दाताको सहयोग खाँचो पर्दैन। यो हाम्रै बूतामा सम्भव छ। यो अध्यायमा हामी यसैबारे चर्चा गर्नेछौं।
धेरैले प्रश्न गर्छन्– नेवार भनेको जाति हो कि समुदाय?
नेवार भनेको समुदाय मात्र होइन, जाति त हुँदै होइन। यो काठमाडौं उपत्यकामा हुर्केको सभ्यता हो, जहाँ विभिन्न कालखण्डमा विभिन्न जातजातिका मान्छे आए र यही सभ्यतामा समाहित भए।
हामीले अघिल्ला अध्यायहरूमा लिच्छविकालको कुरा गर्यौं। यसको अर्थ काठमाडौं सभ्यता लिच्छविकालबाट विकास भएको थियो भन्ने होइन। त्योभन्दा अगाडिदेखि नै सभ्यता चलिआएको थियो। लिच्छवि आए, त्यसैमा मिसिए। मल्ल आए, त्यसैमा मिसिए। लिच्छविहरूले आफूसँगै केही ढाँचा र शैली ल्याए, यो सभ्यता परिस्कृत भयो। मल्लहरूसँगै अर्को ढाँचा र शैली भित्रियो, सभ्यता झनै परिस्कृत भयो।
लिच्छवि र मल्लहरू काठमाडौं सभ्यतामा यस्तरी घोलिए, जस्तो पानीमा नुन। यही घुलन सर्वसाधारणका हकमा पनि लागू हुन्छ।
काठमाडौंमा चारथरीका बसोबासी छन्:
एक, पुर्खौं पुर्खादेखि यही खाल्डोमा बस्दै आएका, जो आफूलाई ‘रैथाने’ भन्छन्।
दुई, केही कालअघि काठमाडौं आएर केही पुस्ता यहीँ काटिसकेका, जो आफूलाई ‘रैथाने’ नै ठान्छन्।
तीन, केही दशकअघि काठमाडौं आएर यतैको भएका, जो विभिन्न पेसा, व्यवसायका कारण उपत्यका छिरे र यहीँ थातथलो बसाए। काठमाडौंकाले उनीहरूलाई ‘बाहिरिया’ ठान्न सक्छन्, तर उनीहरू आफूलाई काठमाडौंकै ठान्छन्। उनीहरू यो सहरमा यस्तरी मिसिइसके, जसरी मध्याह्नको घामछाया शरीरमा मिसिन्छ।
चार, एकाध वर्षयता विभिन्न पेसा, व्यवसाय र अध्ययन निम्ति काठमाडौं आएका, जो आउजाउ गरिरहन्छन्, तर काठमाडौंलाई चटक्कै छाडेर जान सक्दैनन्। उनीहरूको आत्मा भलै यो सहरसँग जोडिन बाँकी होस्, तर घामछायाजस्तो सधैं साथ रहन्छन्।
काठमाडौंमा स्थायी बसोबास गर्ने यी चारथरीका बासिन्दा जुनसुकै जातजातिका भए पनि यहाँको नेवार सभ्यता वा काठमाडौं सभ्यताका हिस्सेदार हुन्।
अब प्रश्न उठ्छ, यो सभ्यता पुनर्स्थापना गरेर सहरलाई फेरि भर्भराउँदो बनाउने जिम्मेवारी कसको?
धेरैलाई लाग्न सक्छ, सभ्यता संरक्षण वा सहर पुनर्स्थापनाजस्तो गहन काम त राज्यले गर्ने हो। सर्वसाधारण आफ्नो दैनन्दिन चटारोमै यस्तरी भुलेका हुन्छन्, उनीहरूलाई यति ठूलो मुद्दा बोकेर हिँड्ने फुर्सद कहाँ!
तपाईंहरू पनि यही सोच्नुहुन्छ भने, मेरा केही प्रश्नको जवाफ दिनुस् है।
हामीले पहिलो अध्यायमा पन्ध्र सय वर्षअघि बनेको जुन वर्गाकार सहरी ढाँचाको कुरा गर्यौं, त्यसलाई आजसम्म ‘जस्ताको तस्तै’ जीवित राखेको कसले? राज्यले, कि नागरिकले?
हामीले दोस्रो अध्यायमा पन्ध्र सय वर्षअघि बनेको जुन काष्ठमण्डपको कुरा गर्यौं, त्यस्ता प्राचीन संरचना, मठ–मन्दिर र चैत्य-विहारहरूमा पूजापाठ चलाएर जीवन्त बनाएको कसले? राज्यले, कि नागरिकले?
हामीले तेस्रो अध्यायमा पन्ध्र सय वर्षदेखि चलिआएका जुन जात्रापर्वका कुरा गर्यौं, त्यसलाई आजसम्म निरन्तरता दिएको कसले? राज्यले, कि नागरिकले?
राज्यले जात्रापर्व चलाउन थोरै पैसा दिन्छ होला, तर ‘कनिका’ सरह दिने पैसाले यति भव्य जात्रा चल्न सक्दैन। स्थानीय समुदायको सहकार्य, गुठीहरूको संलग्नता र खर्चले नै यी जात्राहरू आजसम्म जीवन्त छन्।
राज्यले मठ–मन्दिर र चैत्यहरू बेला–बेला जीर्णोद्धार पनि गर्ला, तर जबसम्म स्थानीय गुठीले आलोपालो नित्यपूजा गर्दैन, सुकुन्दा-बत्ती बाल्दैन, घन्टी बजाउँदैन र भजन गाउँदैन, ती संरचना जीवन्त रहनै सक्दैनन्।
जब स्थानीय समुदायले नै आजपर्यन्त जात्रापर्व जीवित राखे, इँटामाटोको मठ–मन्दिरमा प्राण भरे भने सम्पदा र संस्कृति मासिएर ‘कोमा’ मा जान लागेको सहर ब्युँताउने पहिलो अभिभारा चारैथरी काठमाडौं बासिन्दाकै हो, जो यो सहरलाई आफ्नो ठान्छन्।
पहिलो र दोस्रो वर्गका निम्ति त जीवन–मरण नै यही खाल्डो। सहरको भविष्य भन्नु नै उनीहरूको भविष्य। जतिसुकै आपतविपत आओस्, कहर बर्सियोस्, बहत्तर सालकै जस्तो अर्को भुइँचालोले थातथलो हरण गरोस्, उनीहरूसँग भागेर जानलाई अर्को ठाउँ छैन। जीउनु यहीँ, मर्नु यहीँ।
यी दुई वर्गका मान्छेले अरू कसैको निम्ति होइन, आफ्नै सन्ततिलाई बाँच्ने आधार दिन यो सहर बचाउनैपर्छ। भोलि आधुनिकताको धरापमा परेर सहरको मौलिकता मासियो भने सर्वश्व गुम्ने उनीहरूकै हो। पहिचान गुम्ने उनीहरूकै हो। रित्तो हुने उनीहरू नै हुन्।
तेस्रो र चौथो वर्गका मान्छे भने सहरसँग अभिन्न भए पनि परिआउँदा पुरानै थलो फर्कन सक्छन्। काठमाडौंको मौलिकता मासिए पनि उनीहरूको सर्वश्व गुम्दैन। न पहिचान गुम्छ, न उनीहरू रित्ता हुन्छन्। तर, जुन सहरमा मध्याह्नको घामछायाजस्तै मिसिएर बसे, त्यो सहर भरिपूर्ण राख्ने जिम्मेवारी त उनीहरूको पनि हो। जुन सहरले आश्रय दियो, त्यसमा प्राण भर्ने जिम्मेवारी त उनीहरूको पनि हो।
सहरलाई दुख्दा जसको छाती पोल्दैन, उसलाई यो सहर आफ्नो भन्ने हक हुँदैन।
मानिलिउँ, हामीले कुनै दिन काठमाडौंका यी प्राचीन मौलिकता सबै मासेर अग्ला–अग्ला टावर, व्यापारिक कम्प्लेक्स र समृद्ध पूर्वाधारहरू खडा गर्यौं रे! काठमाडौंलाई रातमा पनि आकाश चम्किने दुबईजस्तै झल्झलाकार बनायौं रे! के त्यो दिन काठमाडौंसँग आफ्नो भनेर संसारलाई देखाउने केही रहला? त्यस दिन हामी सबै रित्तो हुँदैनौं र?
दुबई पो हिजोअस्तिसम्म मरुभूमि थियो, अरबी शेखहरूले तेल बेचेको पैसाले आधुनिक सहर बसाए। हामी त कम्तिमा दुई हजार वर्ष पुरानो सहर, सभ्यता र संस्कृतिका धनी हौं। यी सबै धरोहर मासिए कोशी–कर्णालीमा बग्ने पानीजत्तिकै पैसा बगाएर पनि त्यसलाई फर्काउन सक्दैनौं।
समय घर्किसकेको छैन। काठमाडौंको सभ्यता र संस्कृति जोगाउने हो भने राज्यको मुख ताक्ने होइन, आफैंले हातगोडा चाल्ने हो। अब पनि राज्यले केही गर्ला भनेर बाटो ढुकेर बस्यौं भने सुन्धारा मासेर व्यापारिक टावर बनिसक्छ, हामी हेरेको हेर्यै हुन्छौं।
पोखरीहरू सुकेर मैदान बन्छन्, हामी आफ्नै आँत सुकाएर बस्छौं। ढुंगेधाराहरू सब मासिन्छन्, हामी आफ्नै कपाल लुछिरहन्छौं। हामी भाषा, सभ्यता र संस्कृतिको राग अलाप्दै बस्छौं, उता हाम्रो प्राचीन सहर कंक्रिटको भयावह जंगलमा परिणत भइसक्छ।
सोच्नुस् त, लाखौं जनता नजागेका भए काठमाडौं सभ्यता धानेका गुठीहरूलाई सरकारले निमोठिसक्ने थिएन र?
जनता नजागेका भए काठमाडौं महानगरपालिकाले रानीपोखरी धराप पारिसक्ने थिएन र?
जनता नजागेकै भए लगनखेलको सप्तपाताल पोखरी ब्युँताउने अभियान सफल हुन्थ्यो र?
जनता नजागेकै भए यसपालि येँया पुन्हीमा सुन्धाराको बाटो हुँदै उपाकू जान सकिन्थ्यो र?
जनता जागेपछि नै ठूल्ठूला राजनीतिक परिवर्तन सम्भव भएका छन्। ठूल्ठूला सत्ता पल्टिएका छन्। अब सत्ता होइन, सहर फेर्न जनता जाग्नुपर्नेछ।
कसरी फेर्न सकिन्छ त सहर?
काठमाडौं पन्ध्र सय वर्षदेखि उही ढाँचा र स्वरुपमा छ भन्नेबारे हामीले चर्चा गरिसक्यौं। अब हाम्रो काम त्यसलाई व्यवस्थित गर्ने र बिग्रन नदिने हो। लिच्छविकालीन कोलिग्राम र दक्षिण कोलिग्राम मिलेर बनेको काठमाडौं सहर बचाएर राख्न सुरूमा यसको चारकिल्ला तय गरौं। चार किल्लाभित्रको पुरानो बस्तीलाई ‘काठमाडौं मण्डल’ वा ‘कान्तिपुर मण्डल’ नामकरण गरी सहरी व्यवस्थापनको छुट्टै योजना लागू गरौं। यसका लागि सरकार र नागरिकको सहकार्य र प्रतिबद्धता भए पुग्छ।
भक्तपुर नगरपालिकाले सहरको मौलिक स्वरुप जोगाउन मूलसडकमा ढुंगा छाप्ने र सडकछेउका घरको बाहिरी मोहडा पुरानै ढाँचामा पुनर्निर्माण गराउने निर्णय गरेको छ। यी दुवै योजना कार्यान्वयन चरणमा छन्। भक्तपुरको यो कदम काठमाडौंका लागि उदाहरण हुनसक्छ।
काठमाडौंको चार किल्लाभित्र पनि मूलसडकदेखि सहायक सडकहरू सबैमा इँटा छापेर प्राचीन अनुभूति गराउन सकिन्छ। ढुंगा पनि छाप्न सकिन्छ, तर बर्खाको पानी भूमिगत जलभण्डारमा जम्मा गराउन इँटा नै बेस।
जस्तो न्यूरोड गेट छ, टेकुबाट वन्देनारायण उक्लिने बाटोमा त्यस्तै गेट होस्। वन्देदेखि वसन्तपुर हुँदै क्षेत्रपाटीसम्म तन्किएको मूलसडकमा जम्मै इँटा छापियोस्। वन्देबाटै ब्रह्मटोल, लगन, झोछेँ हुँदै इन्द्रचोक, किलागल र क्षेत्रपाटीसम्मको अर्को समानान्तर सडकमा यसैगरी इँटा राखियोस्।
यता थानकोट–साँखु किराँतकालीन राजमार्ग जुन विन्दुबाट काठमाडौं सहर छिर्छ, त्यहाँ प्रवेशद्वार होस्। त्यो बाटो वसन्तपुर हुँदै इन्द्रचोक, असन र कमलाक्षीसम्मै इँटा छापियोस्। सोच्नुस् त कस्तो देखिएला?
यी सबै भित्री सडक दायाँबायाँका घरमा जथाभाबी आधुनिक ढाँचा बनाउन रोक पनि लगाइयोस्। कम्तीमा बाहिरी मोहडालाई मौलिक नेपाली ढाँचामा फर्काउन पाए सुनमा सुगन्ध!
घरको मोहडा फेर्न सबैको क्षमताले नधान्नसक्छ। तिनलाई आर्थिक सहायता गर्ने काम महानगरको। महानगरले लगानी गर्ने ठाउँ नपाएर बैंकमा जम्मा गरेको पैसा यहाँ काम लाग्छ।
त्यही पैसाले वसन्तपुर, इटुम्बहाल, टेबहाल लगायत चोक र डबलीहरू पुनर्निर्माण गर्न सकिन्छ। काठमाडौंका धेरै पुराना डबली गाडी र मोटरसाइकल पार्किङ गर्ने थलो बनेका छन्। कतिपय ठाउँमा स्थानीय बासिन्दाबाटै अनधिकृत संरचना बनाएर मिचिएका छन्। महानगरले ती सबै संरचना भत्काएर, पार्किङ हटाएर यहाँका चोक, डबली र बहालहरूलाई खुला सार्वजनिक स्थलमा परिणत गर्न सक्छ, जहाँ केटाकेटीले खेल्न पाऊन्, बूढाबूढीहरू आपसमा गोलो परेर भलाकुसारी गरून्। जहाँ सामाजिक कर्म होस्, पूजापाठ होस्, जात्रापर्व चलोस्।
भन्नुस् त, हाम्रो सहरलाई केटाकेटीको किलकारीले भर्ने कि गाडीको घाइँघुइँले कोलाहल पार्ने?
सम्भव भए यो पूरै क्षेत्र, नभए कम्तीमा मुख्य–मुख्य भित्री इलाकालाई दिनभरि सवारीमुक्त गर्न सकिन्छ। त्यहाँका पुराना फाल्चाहरू जीर्णोद्धार गरौं, ठाउँ–ठाउँमा नयाँ बनाउँ। अब सोच्नुस्, ती फाल्चामा सुस्ताउँदै सहरको सम्पदा यात्रा गर्न कति रमाइलो होला? खुला सडकमा केटाकेटी खुलेर हिँडेको दृश्य हिमाल खुलेजत्तिकै सुन्दर नदेखिएला र? बरु वृद्धवृद्धा र असक्तहरूलाई तीनपाङ्ग्रे विद्युतीय सवारीमा सहर सयर गराउन पाए झन् बेस।
गाडी गुड्न नदिए व्यापार चौपट हुँदैन त भन्ने धेरैको डर हुन सक्छ। यो डर मिथ्या हो। मान्छे तिनै ठाउँमा बढ्ता घुम्न रुचाउँछ, जहाँ गाडीको घन्चमन्च हुँदैन। जहाँ मान्छे बढ्ता घुम्छन्, कारोबार फस्टाउने त्यहीँ हो। असन र ठमेलको सवारीमुक्त क्षेत्रले यो साबित गरिसक्यो। अरू पुराना बस्तीभित्र पनि गाडी छिर्न नदिए हाम्रो प्राचीन सभ्यताको स्वाद लिन कति पर्यटक झुम्मिएलान्! अनि ती पर्यटकबाट हाम्रो आम्दानी नबढ्ला त?
काठमाडौंका थुप्रै मिसाः पुचः, अर्थात् महिला समूहहरू सामाजिक तथा आर्थिक क्रियाकलापमा सक्रिय छन्। केही समूहले बेला–बेला सहरका मुख्य चोकमा परम्परागत नेवार परिकार बिक्री गर्दै आएका छन्। गाडी निषेध गरेर सहर खुकुलो पार्यौं भने उनीहरूको आर्थिक क्रियाकलाप अझ बढ्नेछ। साँझको समय बाटोमै परिकार पकाउने र पस्कने अनुमति दिन सकिन्छ।
हाकुपटासीमा सजिएका आमा, दिदी, बहिनीका हातबाट नेवार परिकार कति स्वादिलो होला! त्यो दृश्य विदेशी पर्यटक र हाम्रै लागि पनि कति लोभलाग्दो देखिएला!
सवारीमुक्त खुला सडकमा हाम्रा परम्परागत जात्रा र सांस्कृतिक झाँकीहरू विशेष आकर्षण हुन सक्छन्। त्यसै पनि काठमाडौं यस्तो सहर हो, जहाँ हरेक दिन कुनै न कुनै चोक वा गल्लीमा धिमे बाजा घन्केकै हुन्छ, जात्रा चलेकै हुन्छ। इन्द्रजात्रा, गाईजात्राजस्ता ठूला पर्वमा त सहर यसै गुल्जार हुने भइहाल्यो, अरू बेलाका साना–साना जात्रालाई पनि मूल सडकमै ल्याउन सक्यौं भने कस्तो होला?
कल्पना गर्नुस् त, तपाईं पन्ध्र सय वर्ष पुरानो बाटोमा हिँड्दै हुनुहुन्छ। छेउमा घरि लाखे नाच्दै आउँछ, घरि देवी नाच चल्छ। कहिले पुलुकिसी गुटुटुटु कुद्दै आउँछ, कहिले ‘होए होए’ गर्दै रथ तानिन्छ। उतिन्खेरै ‘जीवित देवी’ कुमारी झ्यालमा हामीलाई दर्शन दिन आउँछिन्। अनि पृष्ठभूमिमा गुञ्जिन्छ, धिमे बाजाका धमधम र ताका छ्याइँछ्याइँ।
मूर्त र अमूर्त सम्पदाको यस्तो संयोजन काठमाडौंबाहेक संसारको अरू कुनै सहरमा देख्न पाइएला?
यो योजना कत्तिको सम्भव छ भनेर मैले सम्पदाप्रेमी आलोकसिद्धि तुलाधरसँग कुरा गरेको थिएँ। उनले मध्य-काठमाडौंलाई पूरै सवारीमुक्त गर्न अप्ठ्यारो भए पनि स्थानीयसँग परामर्श गरेर पार्किङको सहज विकल्प दिने हो भने असम्भव नभएको बताए।
‘यहीँभित्र बस्ने मान्छेका सवारी कसरी बस्दोबस्त गर्ने ‘क्लियर’ हुनुपर्छ, उनीहरूलाई पार्किङको चाँजो मिलाइदिनुपर्छ,' उनले भने, 'बाँकी त यहाँका परम्परागत गुठीहरूले वर्षौंदेखि गर्दै आएकै छन्, महानगरले अलिकति सहयोग गरिदिने हो भने अझ प्रवर्द्धन गर्नु ठूलो कुरा होइन।’
केही वर्षयता, खासगरी २०७२ को भुइँचालोपछि सम्पदा र परम्पराप्रति चासो बढेको उनले अनुभव गरेका छन्, ‘जन्मेदेखि देख्दै आएको काष्ठमण्डप, धरहरा र मन्दिर, चैत्यहरू आँखैअगाडि ढलेपछि धेरै झस्के। यसले सम्पदा संरक्षणमा युवा पुस्ताको अभिरुचि जाग्यो। जीर्णोद्धार हुन नसकेका पुराना संरचनाको फोटो खिचेर सामाजिक सञ्जालमा हाल्ने जुन लहर छ, त्यसले हामी सम्पदाप्रति सचेत हुँदै गएका छौं भन्ने देखाउँछ।’
यति मात्र होइन, परम्परागत चाडपर्व, जात्रा, सांस्कृतिक उत्सवजस्ता अमूर्त सम्पदामा युवा पुस्ताको सहभागिता हलक्कै बढेको छ। धिमे बजाउन, महाकाली, देवी, भैरव लगायत अनेक नाच सिक्न चाहनेहरू धुइरिएका छन्। ‘संस्कृति र सम्पदाप्रति यस्तो अभिरुचि यसअघि कहिल्यै देखिएको थिएन,’ आलोक प्रसन्न सुनिए, ‘अघिल्ला दुई पुस्तामा खासै प्रवर्द्धन हुन नसकेको हाम्रो सभ्यता र संस्कृति अहिलेको पुस्तामा आएर फस्टाउन थालेको छ।’
‘प्राचीन सहरमा गाडी गुडाउन होइन, मान्छेलाई गोडा चाल्ने सुविधा हुनुपर्छ। यो कुरा सबभन्दा पहिला सरकारले बुझ्नुपर्यो, अनि नागरिकलाई बुझाउनुपर्यो।’
यो सहर पुनर्स्थापनाको एउटा पाटो भयो, अर्को पाटो पनि छ — रंगशालादेखि नारायणहिटीसम्म समेटेर टुँडिखेललाई विशाल पार्क बनाउने।
उपत्यकाका पुराना बस्तीको बाहिरी घेरामा सर्सती आँखा दौडाउने हो भने हामी त्यहाँ फराकिलो चउर देख्छौं। जस्तो– पाटनको लगनखेल र जावलाखेल, भक्तपुरको सैनिक स्कुल मैदान, कीर्तिपुरमा त्रिभुवन विश्वविद्यालय मैदान र काठमाडौंको टुँडिखेल। यी किराँतकालदेखिका चरनक्षेत्र हुन्, जुन समयक्रममा मिचिए। मिचिएका सबै चउर पुरानै स्वरुपमा फर्काउन सम्भव छैन। टुँडिखेल भने तैबिसेक जोगिएको छ, जहाँ कसैलाई एकरत्ति मर्का नपारी सार्वजनिक पार्क बनाउन सकिन्छ।
सन् १८५० दशकमा प्रकाशित ‘स्केचेज अफ नेपाल’ किताबअनुसार टुँडिखेल उत्तरमा रानीपोखरी र दक्षिणमा दशरथ रंगशाला भएको ठाउँसम्म फैलिएको थियो। लेखक हेनरी एम्ब्रोस ओल्डफिल्डले यसलाई ‘एसियाकै ठूलो परेड मैदान’ भनेका छन्।
यो मैदानको लगभग आधा हिस्सामा अहिले सैनिक शासन चल्छ। यहाँ सेनाको हेडक्वार्टर छ। खेल मैदान छ। त्यतिले नपुगेर सेनाले मनोरञ्जन निम्ति ‘आर्मी अफिसर्स क्लब’ बनाएको छ। त्यसैलाई भाडामा लगाएर कमाइ गर्छ। सयौंलाई भोज खुवाउन मिल्ने दुइटा पार्टी प्यालेस छन्। बिहे सिजनमा खाली हुँदैन। चाइना टाउनअगाडि मूलसडकतिर मोहडा पारेर पुस्तकालय बनाइएको छ। सार्वजनिक जग्गाको यो पुस्तकालय सार्वजनिक प्रयोग निम्ति होइन।
टुँडिखेल मिच्नेमा सेना मात्र छैन। रत्नपार्क र सैनिक मञ्चबीचको खुलामञ्च अब आफ्नो नामअनुसार खुला रहेन। केही वर्षअघिसम्म यहाँ राजनीतिक दलका आमसभा हुन्थे। कार्यक्रम नहुँदा सर्वसाधारण सुस्ताउन आइपुग्थे। पञ्चायतदेखि राजतन्त्रसम्मको विरोध देखेको खुलामञ्च पनि अतिक्रमणको शिकार छ। महानगरपालिकाले पुरानो बसपार्कको जग्गा ‘व्यापारिक टावर’ बनाउन ठेक्का दिएपछि यो मञ्च पार्किङ स्थल बनेको छ। यहाँ राजनीतिक नाराबाजी होइन, सार्वजनिक बसको कोलाहल सुनिन्छ। उता ठेकेदारले टावर बनाउने काम सुरू नै नगरी अलपत्र छाड्यो, यता खुलामञ्चमा भने एकचोटि सुरू भएको अतिक्रमण त्यसपछि रोकिएन।
टुँडिखेललाई कसरी विशाल पार्कमा परिणत गर्ने भन्नेबारे मैले यसअघि नै सेतोपाटीमा लेखेको थिएँ। मेरा सहकर्मी अमीत ढकालले पनि यसै विषयमा दुईचोटि लामा–लामा लेख लेखिसकेका छन्। (हेर्नुहोस्: काठमाडौंको बीचमा दुई विशाल पार्क र प्रधानमन्त्रीजी, यही हो टुँडिखेल-नारायणहिटी समेटेर विशाल पार्क बनाउने समय)
टुँडिखेललाई पुरानो स्वरुपमा फर्काउन रंगशालादेखि सहिदगेट हुँदै रत्नपार्क र रानीपोखरीसम्म हरितपार्क बनाउन सकिन्छ। काठमाडौंको उज्ज्वल भविष्यलाई हेरेर यहाँबाट सैनिक हेडक्वार्टर हटाउन सरकार र स्वयं सेना तयार हुनुपर्छ। त्यसपछि बल्ल जनताको स्वामित्वमा आउने यो पार्कलाई त्रिचन्द्र कलेज, दरबारमार्ग हुँदै नारायणहिटी संग्रहालय भएको पहिलेको दरबारक्षेत्रसँग जोड्न सकिन्छ। यसनिम्ति रानीपोखरीसँगै रहेको प्रहरी भवन हटाउनुपर्छ। त्रिचन्द्र कलेजको पर्खाल फोडेर यो ऐतिहासिक शैक्षिक संस्थालाई पार्ककै हिस्सा बनाउनुपर्छ। दरबारमार्गमा सवारी निषेध गरेर पैदलमार्ग विकास गर्नुपर्छ।
टुँडिखेल वरिपरिको सवारी व्यवस्थापन निम्ति त्रिपुरेश्वर चोकदेखि रानीपोखरीको उत्तरपश्चिमी कुना कमलाक्षीसम्मको सडकलाई सवारी निषेध गरेर पार्ककै अंग बनाउन सकिन्छ। यहाँ सडकमुनि गाडी कुदाउने ‘अन्डरपास’ राम्रो विकल्प हुन सक्छ। भद्रकाली मन्दिरदेखि नारायणहिटी संग्रहालय गेटसम्मको सडकलाई पनि ‘अन्डरपास’ मा लैजान सकिन्छ। त्यस्तै अन्डरपास भोटाहिटीबाट रत्नपार्क हुँदै बागबजार निस्कने र सुन्धाराबाट सहिदगेट हुँदै सिंहदरबार जोड्ने सडकमा पनि बनाउन सकिन्छ। गाडीहरूलाई ‘अन्डरपास’ बाट लगेपछि माथिको सडकक्षेत्र पार्ककै हिस्सा हुन्छ, जहाँ मान्छे निर्वाध हिँडडुल गर्ने छन्।
‘टुँडिखेल दुवैतिरका सडक अन्डरपास बनाउन हामीले धान्नै नसक्ने गरी पैसा लाग्ने होइन। सहरमा जनसंख्या बढ्दै गएपछि संसारका सबै ठूला सहरले जमिनमुनि दगुर्ने सयौं किलोमिटर लामो मेट्रो रेल बनाउँछन्। काठमाडौंको सवारी धान्न हामीले ढिलोचाँडो मेट्रोको व्यवस्था गर्नैपर्छ,’ सेतोपाटीका प्रधान–सम्पादक ढकाल लेख्छन्।
‘टुँडिखेल वरिपरि मुश्किलले चार–पाँच किलोमिटर सडक अन्डरपास गर्न नसक्ने हो भने हामीले काठमाडौंमा मेट्रो कसरी कुदाउने? नागढुंगा–धुलिखेल जोड्ने मेट्रो कसरी बनाउने? काठमाडौं–वीरगन्ज, काठमाडौं–केरुङ जोड्ने रेल कसरी चलाउने?’
बाटो व्यवस्थापनपछि कुरा आउँछ, पार्कमा रूपान्तरणको।
टुँडिखेल वरिपरि बाक्ला रूखबिरुवा रोपेर हराभरा पार्क बनाउन सकिन्छ। कहीँ केटाकेटी खेल्ने, कहीँ व्यायाम गर्ने, कहीँ जमघट त कहीँ लेखपढ गर्ने ठाउँ बनाउन सकिन्छ। साइकल लेन र पैदलमार्ग बनाएर गुड्ने र हिँड्ने दुवैथरीलाई सुविधा दिन सकिन्छ।
पार्कमा कस्ता बिरुवा लगाउने भनेर मैले वनस्पतिविद् तीर्थबहादुर श्रेष्ठलाई सोधेको थिएँ। उनले काठमाडौंको मौसमअनुसार केही वनस्पति सुझाए — काइँयोको बोट, मसला बोट, ज्याकरन्डा, खरीबोट, काब्रो, लहरेपिपल, वरपिपल आदि। खरीबोट र ज्याकरन्डा काठमाडौंमा निकै फस्टाउँछ। दरबारमार्गमा ज्याकरन्डा फुल्दा सडकै हराभरा भएको हामी देख्छौं, उनले भने, ‘टुँडिखेलमा यस्तै रूख रोपेर हराभरा पार्क बनाउन सकिन्छ।’
काठमाडौंमा खरीबोटको विशेष महत्व पनि छ। यसको फेदमा कुमारीको बास हुन्छ भन्ने स्थानीय कथन छ। अहिले पनि खरीबोट फेदमा कुमारी पूजा हुन्छ। यो रूख सप्रिन स्याहारसुहार चाहिँदैन। जाडो याममा पात पूरै झर्छ, घाम छेक्दैन। गर्मीमा झ्याम्म पात पलाउँछ, घाम छेक्छ। त्यही भएर काठमाडौंका धेरै ठाउँमा खरीबोट देख्छौं। यसको आयु पनि लामो हुन्छ। औसत दुई सय वर्ष बाँच्ने श्रेष्ठ बताउँछन्।
यति ठूलो चउरलाई बाक्लो रूखबिरुवाले भरिएको पार्कमा परिणत गरेपछि काठमाडौंको पर्यावरण नै फेरिन्छ। मौसममा ढकमक्क फूलहरू फुल्छन्। थरीथरीका चराचुरुंगीले बास पाउँछ। गाडीको चाँचाँचुँचुँ सुनिने ठाउँमा चराको चिरबिर सुनिन थाल्छ। जमिनमा पानी ‘रिचार्ज’ हुन पाउँछ। हाम्रा इनार र ढुंगेधारा फेरि रसाउँछन्। प्रदूषणले गर्मी बढेको काठमाडौं शितल हुन्छ।
केही दशकयता काठमाडौं राष्ट्रिय विविधताको संगमस्थल बनेको छ। देशभरिका विभिन्न जातजातिका मान्छे यहाँ समाहित भएका छन्। टुँडिखेल पार्क र दुईतिरका सडक हिमालदेखि तराई, पूर्वदेखि पश्चिमसम्मको सांस्कृतिक विविधता देखाउने ठाउँ बन्नसक्छ। यहाँ हरेक साँझ राई, लिम्बू, गुरुङ, मगर, तामाङ, शेर्पा, थारू, धिमाल, सतार, राजवंशी र अनेक जातजातिका पोसाकको परेड, उनीहरूका पर्व र नाचहरूका झाँकी देखाउन सक्छौं। ‘हाम्रो राष्ट्रिय विविधता हामी नेपालीहरूलाई नै चिनाउने, भविष्यको पुस्तालाई त्यही विविधताले बाँध्ने र राष्ट्रिय एकता बलियो पार्ने एउटा माध्यम बन्नेछ टुँडिखेल पार्क,’ ढकाल लेख्छन्।
अब एकछिन आँखा चिम्म गर्नुस्। वा, आँखा खोलेरै कल्पना गर्नुस्।
तपाईंको अगाडि पन्ध्र सय वर्ष पुरानो काठमाडौं छ, जहाँ प्राचीन सडकहरू छन्, मन्दिर, चैत्य र विहार छन्, चोक, डबली र गल्लीहरू छन्। ती गल्लीमा परम्परागत परिकार मग्मगाउँदै छन्। बाह्रै महिना जात्रापर्व चल्छन्। सांस्कृतिक झाँकीहरू निस्कन्छन्। धिमे र ता बज्छ। रथ तान्दै मान्छे गुटुटुटु कुद्छन्।
अब अलिकति दृष्टि फैलाउनुस्। त्यही प्राचीन सहरको छेउमा रंगशालादेखि नारायणहिटीसम्म फैलिएको हराभरा पार्क छ। चराको चिरबिर छ। शितल हावा, शुद्ध अक्सिजन। पैदलमार्गमा मान्छेको स्याँस्याँ सुनिन्छ। साइकलयात्रु पाइडल मार्दै छन्। कोही पार्कभित्र कुर्सीमा बसेर किताब पढ्दैछन्। कोही केटाकेटीसँग खेल्दैछन्। प्रेमिल जोडी हात समातेर हिँडिरहेका छन्। साथीसंगी गफमा भुलेका छन्। पार्कभरि ठाउँ–ठाउँ मान्छेको जमघट छ।
अझै दृष्टि फराक पार्नुस्, के देख्नुभो? प्राचीन काठमाडौं र टुँडिखेलको हराभराबाट पूर्वपट्टि फैलिएको छ विशाल आधुनिक सहर, जहाँ अग्ला घर, अग्ला टावर र अग्ला सपिङ कम्प्लेक्स छन्। नयाँ बाटामा चिल्ला गाडीहरू कुदिरहेका छन्। मेट्रोले पनि सेवा दिन थालिसकेको छ।
के यी पूरा हुन नसक्ने सपना हुन् त? हाम्रा पुर्खाहरूले त्यत्रो मिहिनेत गरेर बसाएको यो सहरलाई सपार्न हामी यत्ति पनि गर्न सक्दैनौं? के हामी हाम्रो काठमाडौं मण्डल बनाउन सक्दैनौं?
हामी सबैले काठमाडौं बदल्छौं भन्ने इच्छाशक्ति र प्रतिबद्धता देखायौं भने यसलाई आफ्नो रूप फेर्न धेरै समय लाग्ने छैन।
काठमाडौं ‘अमिबा’ जस्तै छ, समयक्रममा रूप फेरिरहन्छ।
कथायेँका छुट्टाछुट्टै प्रकाशित छवटै अध्याय एकै ठाउँमा समेटिएको पिडिएफ फाइलः