सहिद परिवार
रामकृष्ण श्रेष्ठ हरेक दिन एक–दुई पटक आफ्ना भाइ योगबहादुरलाई फोन गरिरहेका हुन्थे।
त्यस दिन पनि उनले दिउँसो साढे २ बजेतिर फोन गरे। सदाझैं फोन उठ्यो पनि। तर त्यो आवाज योगबहादुरको थिएन।
रामकृष्णले झुक्किएर अर्कै नम्बरमा फोन लाग्यो कि भनेर नम्बरसमेत हेरे। उनले भाइकै नम्बरमा फोन लगाएका थिए।
चकित खाँदै रामकृष्ण केही बोल्न आँटेका मात्र थिए, उताबाट कसैले भन्यो— यो फोनको मान्छेको खुट्टामा गोली लागेर अस्पताल लगिएको छ!
रामकृष्ण झस्किए।
ती व्यक्तिले थप भने, 'अस्पताल लैजाने क्रममा फोन खसेकाले मैले टिपेर राखिदिएको छु। यसमा चार्ज छैन। मेरो नम्बरमा फोन गर्नुहोस् है।'
नम्बर टिपिसक्दा योगबहादुरको नम्बरमा गरिएको फोन काटियो। रामकृष्णले हत्तपत्त त्यही नयाँ नम्बरमा फोन गरे र थप सोधे।
तर भाइलाई कुन अस्पताल लगिएको भन्नेबारे ती व्यक्तिलाई पनि थाहा रहेनछ।
यो घटना भदौ २३ गतेको हो। त्यस दिनको जेनजी आन्दोलनमा योगबहादुर पनि सहभागी थिए।
२२ वर्षीय योगबहादुर काठमाडौं, पुतलीसडकमा फुपूको घरमा बस्थे। उनको घर सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ६ हो।
रामकृष्ण त्यो बेला केही कामले गाडीमा आधा घन्टा टाढा पर्ने बाह्रबिसे बजार आएका थिए।
योगबहादुरको खबर सुनेपछि उनी पिरोलिन थाले। सबै काम छाडेर हत्तपत्त घर फर्किए। काठमाडौंमा भएका आफन्तहरूलाई फोन गरेर भाइका बारे सोध्न थाले। कसैसँग केही जानकारी थिएन।
'त्यो दिन भाइको अवस्था कस्तो छ भनेर पत्ता लगाउनै सकिएन,' रामकृष्णले भने, 'उसको मोबाइल, कलेजको कार्ड केही नहुँदा अस्पतालहरूले समेत पहिचान गरेर जानकारी दिन सकेनन्।'
घरमा उनले खबर पुर्याएपछि बुबा तिलकबहादुर र आमा देवीमायाको रूवाबासी चल्यो। उनी तत्कालै घर छाडेर आउन पनि सकेनन्। फोनबाटै बुझ्ने काम गरिरहे।
रातिसम्मै आफन्त र साथीहरूसँग सोधपुछ चलिरह्यो। कतै समाचार वा सामाजिक सञ्जालमा गोली लागेर मृत्यु भएको भन्ने सुन्दा पनि उनको परिवार आत्तिन्थ्यो। रातभर जागै बसे पनि परिवारले योगबहादुरको खबर पाएन।
भदौ २४ गते बिहानै उनीहरू काठमाडौं आइपुगे। यहाँ आएर खोजबिन गर्दा धेरै घाइतेलाई सिभिल अस्पतालमा राखिएको थाहा पाए। त्यहाँ गए तर योगबहादुर थिएनन्।
अस्पताल–अस्पताल चहार्दै गए। घाइते र शव दुवै हेर्न थाले। जब ट्रमा सेन्टरको लासघर पुगे, त्यहाँ योगबहादुरको शव भेटियो।
'हामीले त्यहाँ गएर हेरेपछि भाइको परिचय खुलेको हो,' रामकृष्णले भने, 'भाइको साथमा परिचय खुल्ने कागजात नभएकाले अस्पतालको लासघरमा राखिएको थियो। काखीमा गोली लागेर प्रदर्शनकै दिनमा मृत्यु भएको रहेछ।'
उनले एकछिन रोकिएर थपे, 'जिउँदै छ कि भन्ने आश थियो। लासघरमा देखेपछि त सबै सपनाजस्तो भयो।'
योगराज गाउँमै प्लस–टू सकेर तीन वर्षअघि आत्मनिर्भर बन्ने सपना बोकेर काठमाडौं आएका थिए। स्नातक तह पढिरहेका उनको माल्टा जाने तयारी थियो।
'दसैंअघि भिसा आयो भने जानुपर्छ भनेको थियो,' २४ वर्षीय रामकृष्णले भने, 'आन्दोलन नभएको भए विदेश गइसक्थ्यो होला।'
घरका कान्छो छोरा योगबहादुरको सानैदेखि आमाबुबालाई सुखी राख्ने सपना थियो।
रामकृष्णका अनुसार उनी कुनै राजनीतिक दलमा आबद्ध थिएनन्। जेनजी आन्दोलनमा जानेबारे घरपरिवार कसैलाई जानकारी पनि थिएन।
भदौ २३ गते काममा व्यस्त भएकाले रामकृष्णले दिउँसो मात्र फोन गरेका थिए। उनलाई योगबहादुर कोठामै छन् भन्ने थियो।
'अहिले पनि बिहान अलि छिटो फोन गरेको भए हुन्थ्यो भन्ने मनमा लागिरहन्छ,' रामकृष्णले भने, 'तर अब ऊ त गइसक्यो। भाइको बलिदान खेर नजाओस् भन्ने चाहना छ।'
केही समयअघि गठन भएको जेनजी सहिद परिवार संघर्ष समितिले मृतकका परिवारको माग सरकारसमक्ष पुर्याउने काम गरिरहेको छ। ती माग पूरा हुनुपर्ने रामकृष्ण बताउँछन्।
समितिले मृतक परिवारलाई निःशुल्क स्वास्थ्य, शिक्षा, पेन्सन र रोजगारीको माग गरेका छन्। त्यसमा छलफल भइरहेको समितिका अध्यक्ष भोज विक्रम थापाले जानकारी दिए।
सहिदका परिवारहरू व्यक्तिगत भन्दा पनि सामूहिक रूपमै अगाडि बढ्नुपर्ने रामकृष्णको धारणा छ। जेनजी आन्दोलनले चाहेजस्तो परिवर्तन हुनुपर्ने उनी बताउँछन्।
'यति ठूलो बलिदान पुरानै नेता र दललाई प्राथामिकता दिन बनाइएको होइन, नयाँ व्यक्ति आउनुपर्छ,' उनले भने, 'फेरि पनि उही आए भने भाइहरूले ज्यान गुमाएको खेरै जान्छ। हामी त्यसै बस्दैनौं।'
सहिद परिवारका अन्य स्टोरीहरू पढ्न यहाँ क्लिक गर्नुहोस्