भुटानको ४०० वर्षको कथाः अंक ९
अध्याय चौबीसः ड्रुक एयर उड्ने बेला भइसक्यो!
‘कति ढिला गरेको? ड्रुक एयर उड्ने बेला भइसक्यो!’
सञ्चार सेटमा यस्तो सन्देश आएपछि टेकनाथ रिजालको बयान लिइरहेको प्रहरीले हतारहतार भन्यो, ‘अलि छिटो जवाफ दिनुस्, हामीसँग धेरै समय छैन।’
भुटानबाट निस्केर भारतका विभिन्न ठाउँ हुँदै नेपाल छिरेका रिजाल लगायत तीन जनालाई प्रहरीले झापाको बिर्तामोडबाट पक्राउ गरेर रातारात काठमाडौं ल्याएको थियो। काठमाडौंको महेन्द्र पुलिस क्लबमा उनीहरूसँग पालैपालो बयान लिइँदै थियो।
एउटा टेबुल र चारवटा कुर्सी भएको साँघुरो कोठामा रिजाल बयान दिन बसेका थिए। एउटा कुर्सीमा रिजाल आफैं थिए, दुइटा कुर्सीमा बयान लिन आएका सादा पोसाकका दुई प्रहरी, अनि एउटा कुर्सी खाली थियो। टेबुलमा फाइलको चाङ र प्रत्येक व्यक्तिका अगाडि चिया खाने सिसाका गिलास थिए। तीनैवटा गिलासमा आधी चिया बाँकी नै थियो।
टेबुलको सतहमा चिया पोखिएर बुट्टेदार टाटा बनेका थिए। ठाउँठाउँमा गिलासको कट्कटाउँदो गोलाकार दाग प्रस्टै देखिन्थ्यो।
झ्यालमा गाढा हरियो रङको पर्दा चढाइएको थियो, जसले बाहिरबाट आउने उज्यालो छेकेकाले दिउँसै बत्ती बाल्नुपर्थ्यो। भित्ताको रङ खुइलिएर टाटेपाटे परेको थियो। भित्तामा एकठाउँ राजा वीरेन्द्र र रानी ऐश्वर्यको तस्बिर फ्रेम गरेर राखिएको थियो। त्यसबाहेक सजावटका अन्य कुनै सामग्री कोठामा थिएनन्।
बयान लिइरहेका प्रहरी टेकनाथ रिजालसँग भुटानको राजनीतिक स्थितिबारे सोधपुछ गर्दै थिए। उनीहरूले भुटानी नेपालीहरूमाथि गरिएको व्यवहार, नेपालीभाषी समुदायले बेहोरेको कष्ट, दक्षिण भुटानमा सुरू भएको आन्दोलन लगायत विषयमा अनेकौं सवालजवाफ गरे।
एक जना प्रहरी प्रश्न सोध्थे, रिजाल त्यसको उत्तर दिन्थे, अनि दोस्रो प्रहरी रिजालको जवाफ कागजमा उतार्थे।
कागजको पन्ध्रौं पृष्ठमा बयान उतार्ने क्रम चलिरहँदा दुई प्रहरीमध्ये एक जनाले बोकेको सञ्चार सेटमा त्यो सन्देश आएको थियो — ‘कति ढिला गरेको? ड्रुक एयर उड्ने बेला भइसक्यो!’
यो सन्देशले बयान लिइरहेका प्रहरी हडबडाए, रिजाल भने हतास भए।
ड्रुक एयर भुटानको राष्ट्रिय ध्वजावाहक सरकारी वायुसेवा हो। काठमाडौंबाट पारोसम्म उड्ने यो जहाज कुरेर बसेको छ भन्नुको मतलब भुटानबाट भागेर आएका यी तीन जनालाई फिर्ता पठाइँदैछ भन्ने बुझ्न गाह्रो थिएन।
रिजालले बयान लिन आएका प्रहरीलाई भने, ‘तपाईंहरू किन हामीलाई भुटान फर्काउँदै हुनुहुन्छ? हामी भुटानी राजाको अत्याचारले नेपाल पसेका हौं। हामीलाई आफ्नो पूरा जीवन नेपालमा बिताउनु छैन। भोलि भुटानको वातावरण सहज भएपछि हामी आफैं फर्किन्छौं। तर अहिले पठाइयो भने हाम्रो ज्यान पनि जान सक्छ।’
दुई प्रहरीले रिजालको कुरा सुने, तर कुनै प्रतिक्रिया जनाएनन्।
सरकारको आदेशअनुसार बयान लिन उपस्थित भएका प्रहरीसँग रिजालले उठाएका गम्भीर राजनीतिक सवालको जवाफ दिने हैसियत थिएन।
रिजालले अगाडि भने, ‘मैले आफ्नो सम्पूर्ण कुरा नेपालका राजासमक्ष भन्न पाउनुपर्छ। म यत्ति आशा लिएर भुटानदेखि आएको हुँ। तपाईंहरूबाट मानवीय नाताले पनि मैले सहयोगको अपेक्षा राखेको छु।’
उनी एकोहोरो बोलेका बोल्यै थिए, प्रहरी भने उनको कुरा नसुनेझैं एकसुरले आफ्ना कागजपत्र र फाइलको चाङ समेट्दै थिए।
सबै कागजपत्र मिलाएपछि उनीहरूले रिजाललाई बयान कक्षबाट बाहिर निकाले र तीनै जनालाई लश्करै उभ्याएर फोटो खिचे।
बाहिर एउटा जीप तम्तयार थियो।
प्रहरीले रिजाल र बाँकी दुई जनालाई कर्यापकुरूप समातेर जीपतिर लगे।
जसै उनीहरू जीपको नजिक पुगे, आफूलाई दुईतिरबाट समातेका प्रहरीलाई ठेलठाल पार्दै रिजाल जोडजोडसँग कराउन थाले, ‘बचाऊ बचाऊ; हामी चोर, डाँका, अपराधी होइनौं। हामी भुटानबाट विस्थापित भएर आएका शरणार्थी हौं।’
उनी जति जोडले चिच्याउँथे, प्रहरीहरू उति बल लगाएर उनलाई जीपतिर घिच्याउँथे।
दुई जनाले दुइटा हात समातेर र अर्कोले पछाडिबाट घाँटी ङ्याकेर जीपभित्र हुल्नुभन्दा अगाडि रिजालले चिच्याउँदै भने, ‘हामी नेपाल सरकारसँग मद्दत माग्न आएकालाई बिनाकसुर पक्राउ गरियो। हामीलाई फेरि त्यही अत्याचारी शासकको हवाला गरिँदैछ। भुटानमा हामीलाई मृत्युदण्ड दिइनसक्छ, हाम्रो प्राणको रक्षा होस्। हाम्रो ज्यान बचाइयोस्।’
यति भनिसक्दा रिजाल जीपभित्र हुत्तिसकेका थिए।
जबर्जस्ती जीपमा ठेलिँदा उनको टाउको छतमा नराम्ररी बजारिएको थियो।
रिजालले नेपाली जनतालाई आफ्नो आवाज सुनाउन जीपको झ्याल उघार्न खोजे, तर सुरक्षामा तैनाथ एक प्रहरीले उनको हात बेस्कन अँठ्यायो र दुवै हात करप्प समातेर पछाडि ढाडतिर फर्काइदियो।
रिजालको ज्यान दुइटा पखेटा मुठारेर मार हान्न ठिक्क पारिएको कुखुरोझैं हल–न–चल भयो।
उनी जीपभित्रै एकछिन कराए, घाँटीको नसा फुलुञ्जेल कराए; तर उनको आवाज बन्द सिसाको कैदभित्रै थुनियो।
जीप तीव्र गतिमा प्रदर्शनीमार्गबाट पुतलीसडकतिर हुइँकियो र दाहिने मोडिएर सिंहदरबार, नयाँबानेश्वर हुँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलतर्फ बत्तियो।
रिजाल बाटोभरि चिच्याइरहे। सुन्ने कानहरू नभए पनि उनले आफ्नो प्रतिरोध सुनाइरहे।
विमानस्थल पुगेपछि उनीहरू चढेको जीप सोझै धावनमार्गमा पस्यो।
धावनमार्गको बीचमा जसै जीप घ्याच्च रोकियो, रिजालले आफ्नो अगाडि ड्रुक एयरको जहाज देखे।
उनले देखे — जहाजको ढोकासँग जोडिएको भर्याङको सबभन्दा माथिल्लो खुड्किलोमा भुटानी राजा जिग्मे सिंघे वाङचुकका प्रमुख अंगरक्षक कर्नेल भी नाम्गेल उभिएका छन्।
जीपदेखि जहाजको ढोकासम्म पुग्दा रिजालले धेरैचोटि मुन्टो उठाएर नाम्गेलतिर हेरे। नाम्गेलका तालिमप्राप्त सैन्य आँखा निरन्तर रिजाललाई पछ्याउँदै थिए, जसरी आकाशमा उडिरहेको चिल भुइँमा दाना टिपिरहेको चल्लालाई पछ्याउँछ।
जहाजको ढोकामा जसै चिल र चल्लाको आमनासामना भयो, कर्नेल नाम्गेल एक कदम अघि बढेर रिजालनजिक आए र आफ्नो दाहिने हात बढाए।
जवाफमा रिजालले पनि आफ्नो हात दिए।
नाम्गेलसँग हात मिलाउँदा रिजाल मुसुक्क हाँसेका थिए, तर नाम्गेल हाँसेनन्। उनी यान्त्रिक मूर्तिझैं भावशून्य भएर ठिंग उभिइरहे।
रिजालसँगै पक्राउ परेका दुई जनालाई त नाम्गेलले हेर्दा पनि हेरेनन्।
तीनै जना भुटानी बन्दीहरू जब जहाजको ढोकासम्म पुगे, उनीहरूलाई पहरा दिँदै सँगसँगै आएका एक नेपाली सुरक्षा अधिकारीले आफूसँग ल्याएको सरकारी कागज नाम्गेलतिर बढाए। कागजमा सायद नेपाल प्रहरीले पक्राउ गरेका तीन जना बन्दीलाई ‘सकुशल’ भुटान सरकारको सुपुदर्गी गरिएको बेहोरा उल्लेख थियो। नाम्गेलले सर्सर्ती कागज पढे र आफ्नो सैन्य युनिफर्मको माथिल्लो खल्तीबाट चमचमाउँदो कलम झिकेर त्यसमा हस्ताक्षर गरिदिए।
बन्दी सुपुर्दगी पत्रमा कर्नेल नाम्गेलको हस्ताक्षर लिएर नेपाली अधिकारी फर्किए।
त्यसपछि नाम्गेलले रिजालतिर हेर्दै जहाजभित्र पस्न इसारा गरे।
सुरूमा रिजाल छिरे, अनि बाँकी दुई जना छिरे।
तीनै जना जहाजमा छिरेपछि कर्नेल नाम्गेलले चारैतिर हेरे — काठमाडौंको आकाश खुलेको थियो। हिउँदको पारिलो घाम न्यानो थियो। विमानस्थलमा खासै व्यस्तता देखिन्थेन। धावनमार्गमा अरू कुनै जहाज पालो पर्खिरहेका थिएनन्। रिजालसहित तीन जना भुटानी बन्दीलाई पक्राउ गरेर ल्याएको नेपाल प्रहरीको जीप धावनमार्गबाट फर्किने तर्खर गर्दै थियो। भर्खरै सुपुर्दगी पत्रमा दस्तखत लिएर गएका सुरक्षा अधिकारी जीपको अघिल्लो सिटमा बसिसकेका थिए।
नाम्गेलले ती अधिकारीलाई बिदाइको हात हल्लाए। ती अधिकारीले पनि जीपबाटै हात हल्लाएर नाम्गेललाई बिदा गरे।
नाम्गेलले काठमाडौंको चिसो हावा फोक्सो भित्रैसम्म पुग्ने गरी लामो सास ताने र बिस्तारै सास छाडे।
उनको श्वासप्रश्वासमा सन्तुष्टि झल्किन्थ्यो।
यति बेलासम्म जहाजको इञ्जिन स्टार्ट भइसकेको थियो। नाम्गेल भित्र पसे।
जहाजको ढोका बन्द भयो।
यो सन् १९८९ नोभेम्बर १६ को घटना हो — भुटानबाट निर्वासित भएर निस्केको ठ्याक्कै सत्र महिनापछि टेकनाथ रिजाललाई जबर्जस्ती भुटान फर्काइँदै थियो।
ड्रुक एयरको जहाज काठमाडौंबाट पूर्वतिर लाग्यो।
टेकनाथ रिजाल र कर्नेल नाम्गेल सँगसँगै सिटमा थिए। रिजालले केही बेर जहाजको झ्यालबाट उत्तर दिशामा फैलिएको हिमाली शृंखला हेरिरहे। मन शान्त भइदिएको भए यही हिमशृंखला हेरेर उनी कति उत्साहित हुन्थे होलान्! तर यति बेला उनलाई ती हिमाल पनि आफ्नो अगाडि उभिएको चुनौतीका पहाडझैं लागे।
रिजालले सोचे — धेरै पर्वतारोहीले धेरैचोटि यी हिमशृंखला फतह गरिसके, भुटानी राजाले खडा गरेको अन्याय र षड्यन्त्रको शृंखला चाहिँ नेपाली समुदायले कसरी फतह गर्ने होला!
फतह गर्न सकिने पो हो कि होइन! सके त राम्रै भयो, नसके चाहिँ भुटानी नेपालीहरूको हविगत के हुने होला!
यस्तो तर्कना मनमा खेलेपछि रिजाललाई कहाली लागेर आयो।
यस्तो लाग्यो, मानौं आँखाअगाडिको हिमशृंखलाबाट ज्वालामुखी फुटेर ड्रुक एयरको जहाजसहित उनीहरू सबै त्यसैभित्र विलीन हुँदै छन्!
उनी केही बेर एक्लै छट्पटिए। त्यसपछि मन स्थिर राख्न कर्नेल नाम्गेलसँग कुराकानी सुरू गरे।
भुटानमा हुँदा नाम्गेलसँग उनको राम्रो व्यक्तिगत सम्बन्ध थियो। राजाका प्रमुख अंगरक्षक भए पनि उनी कुनै अभिभान नभएका इमानदार व्यक्ति हुन् भन्ने रिजाललाई लाग्थ्यो। विदेशबाट उच्चशिक्षा हासिल गरेका उनी सबैसँग सौहार्द सम्बन्ध राख्थे। भ्रष्टाचारसम्बन्धी छानबिन क्रममा दरबार निकटका कयौं प्रभावशाली व्यक्ति मुछिँदा पनि उनको नाम कतै आएन।
रिजालले नाम्गेलको ध्यान आफूतिर तान्ने कोसिस गर्दै भने, ‘कस्तो पाराले हाम्रो भेट भयो हगि! तपाईंजस्तो मित्रबाट म पक्राउ परेँ!’
नाम्गेलले कुनै प्रतिक्रिया जनाएनन्।
सायद राजाको आदेश र जिम्मेवारीको बोझले थिचिएका उनी रिजालको कुनै पनि भनाइमा आफ्नो व्यक्तिगत राय दिन असमर्थ थिए।
रिजाललाई नाम्गेलको बाध्यता थाहा थियो। त्यसैले कुनै प्रतिक्रिया नआए पनि एकोहोरो आफ्नो कुरा सुनाइरहे। सायद राजाका निकट व्यक्तिका अगाडि मनको भडास पोख्ने अवसर रिजाल गुमाउन चाहँदैन थिए। पछि मौका मिल्यो भने आफूले भनेका सबै कुरा हुबहु राजाका कानमा पुर्याइदेलान् कि भन्ने उनलाई झिनो आशा थियो। बाढीको बीचमा फसेको मान्छेलाई सानो मूढाको सहारा पाउँदा पनि जहाजै भेटेजस्तो लाग्छ!
‘राजा र जनताको सेवा गर्दागर्दै म यो अवस्थामा आइपुगेको छु,’ रिजालले भने, ‘मलाई आफ्नो अवस्थाप्रति कुनै गुनासो छैन। एउटा विशेष अप्ठ्यारो परिस्थितिको सिकार भएर म बिदेसिन बाध्य भएँ। सदाका लागि बिदेसिने मेरो मनसाय थिएन। परिस्थिति अनुकूल हुनासाथ स्वदेश फर्किन्छु भन्नेमा ढुक्क थिएँ। फरक यत्ति हो, म स्वेच्छाले देश फर्किन चाहन्थेँ, तर आज मलाई यसरी पक्राउ गरेर जबर्जस्ती लगिँदैछ।’
उनले अगाडि भने, ‘अब भुटानमा मविरूद्ध मुद्दा चलाइन्छ होला। म मुद्दा भोग्न तयार छु। मैले कुनै अपराध गरेको छैन भन्ने मेरो अन्तरआत्मालाई थाहा छ। आफ्ना पुर्खाले रगत–पसिना बगाएको भुटानी भूमिलाई मैले कुनै घात गरेको छैन भन्ने मेरो अन्तरआत्मालाई थाहा छ। आफूले देउतासरह मानेको भुटानी राजसंस्थाविरूद्ध मैले कुनै षड्यन्त्र गरेको छैन भन्ने पनि मेरो अन्तरआत्मालाई थाहा छ। मैले जे गरेँ, दक्षिण भुटानका नेपाली जनताको भलाइका लागि गरेँ। राज्यले उनीहरूलाई नागरिक हकबाट बेदखल गर्दा आवाज उठाउनु मेरो कर्तव्य हो। दक्षिण भुटानको जनप्रतिनिधिका हैसियतले मात्र होइन, एउटा सचेत र कर्तव्यपरायण नागरिकका रूपमा पनि मैले आवाज उठाउनैपर्थ्यो। तर दरबारले मेरो आवाजलाई राजद्रोह ठान्यो। म राजसंस्थाकै विरूद्ध उभिएँ भन्ने दरबारलाई लाग्यो। तर मेरो देउतालाई थाहा छ, मेरा पुर्खाहरूलाई थाहा छ; न म हिजो राजसंस्थाविरूद्ध थिएँ, न आज छु।’
रिजालले यति भन्दा पनि नाम्गेल चुइँक्क बोलेनन्। उनी विमान परिचारिकाले ल्याइदिएको चिसो पेयको चुस्की लिँदै चुपचाप बसिरहे।
रिजाल भने चुप लागेनन्।
‘मेरो यति मात्र माग छ, मविरूद्ध जे–जस्तो मुद्दा चलाइए पनि त्यसमा कुनै पूर्वाग्रह नराखियोस्। मलाई स्वतन्त्र न्यायिक सुनुवाइको अवसर दिइयोस्। मैले न्यायिक सुनुवाइको अवसर पाएँ भने कुन कारण र परिस्थितिमा म देश छाड्न बाध्य भएँ र मेरो यो परिस्थितिका लागि कस्ता तत्वहरू जिम्मेवार छन् भनेर सप्रमाण खुलस्त भन्नेछु। दरबारले म लगायत भुटानी नेपालीहरूविरूद्ध षड्यन्त्र गरिरहेका त्यस्ता तत्वहरूमाथि पनि छानबिन गरोस् भन्ने म चाहन्छु। म आफ्नो दोष प्रमाणित भयो भने अदालतले दिने जस्तोसुकै सजाय भोग्न तयार छु, तर यदि म आफूलाई फसाउन खोजेका गलत तत्वहरूको पर्दाफास गर्न सफल भएँ भने तिनले पनि त्यस्तै सजाय पाउनुपर्छ।’
आखिरीमा रिजालले यत्ति भने, ‘कृपया मैले तपाईंलाई भनेका कुराहरू राजासमक्ष हुबहु राखिदिनुहोला। नियतिले हामीलाई यस्तो विडम्बनापूर्ण परिस्थितिमा भेट गराएको भए पनि म हिरासतमा रहेर तपाईंको सहयोग पर्खिरहेको हुनेछु। तपाईंबाट अन्यायपूर्ण व्यवहार हुने छैन भन्ने मैले आशा लिएको छु।’
उनले यो पनि भने, ‘राजासँग एकपटक दर्शनभेटको अवसर जुराइदिनुभयो भने म तपाईंप्रति सधैंका लागि आभारी हुनेछु।’
यति बेलासम्म विमान परिचारिकाले ल्याइदिएको चियो पेयको गिलास रित्तिसकेको थियो। नाम्गेल रित्तो गिलास हातमा खेलाउँदै थिए — चुपचाप।
रिजालले केही बेर नाम्गेलको अनुहारतिर क्वारक्वार्ती हेर्दै प्रतिक्रियाको प्रतीक्षा गरे।
पदीय दायित्वले मुख बाँधे पनि व्यक्तिगत तवरमा सहानुभूतिका केही शब्द निकालिहाल्छन् कि भन्ने उनलाई आस थियो। तर ढुंगाका भगवान बरू अहिलेसम्म बोलिसक्थे होलान्, हाडछालाका नाम्गेल बोलेनन्!
मनको सन्दुक ह्वांगै पारिसक्दा पनि नाम्गेलको अनुहारमा संवेदनाको शिकनसम्म नदेखेपछि रिजाल पनि चुप्प लागे।
बिर्तामोडदेखि काठमाडौंसम्मको यात्रा, प्रहरीसँगको घम्साघम्सी, लछारपछार र पन्ध्र पृष्ठ लामो बयानले उनी भित्रैदेखि लखतरान थिए। चिन्ता, थकान र अनिँदोले ज्यान फतक्कै गलेको थियो।
मन जति बढी बिसन्चो भयो, ज्यानले उति बढी सन्चो खोज्दो रहेछ! जहाजको आरामदायी सिटमा थोरै पललाई भए पनि उनले आफ्नो तन र मनको बिसन्चोबाट मुक्ति पाएका थिए। यो आराम अब कति समयसम्म जीवनबाट टाढिँदैछ भन्ने स्वयं रिजाललाई पनि थाहा थिएन।
उनले जहाजको झ्यालबाट बाहिर हेरे।
काठमाडौंबाट उडेको पन्ध्र मिनेट बितिसकेको थियो। पैंतालीस मिनेटको यात्रामा अब रिजालसँग जम्मा आधा घन्टा समय बाँकी थियो। आधा घन्टापछि जसै उनी भुटानी भूमिमा टेक्ने छन्; त्यसपछि के होला, त्यसको भेउ स्वयं उनलाई पनि थिएन।
अनिश्चित र अन्धकार भविष्य सम्झेर रिजालको मन स्याइँय्य भयो।
उनले आँखा बन्द गरे।
बन्द आँखाभित्र भुटान छाडेर हिँडेपछिका क्षणहरू रोटेपिङझैं घुम्न थाले।
उनी कम्तिमा गोडाको बूढीऔंलाले भए पनि भुटानको धर्ती टेकिरहन चाहन्थे। तर भुटानले उनलाई बूढीऔंलाले टेक्न पुग्नेजति धर्ती दिन पनि अस्वीकार गरेपछि उनी देश छाडेर हिँडेका थिए।
उनले सम्झे — मनभरि शोक, सुर्ता र सिहरन बोकेर सन् १९८८ जुन १० को दिन झिसमिसेमै उनले आफ्ना साना छोराहरूको मुख हेर्दै पत्नी कौशिलालाई भनेका थिए, ‘यिनीहरूको राम्रो ख्याल राख्नू ल!’
भुटान छाडेर हिँड्दा टेकनाथ रिजालका आँखामा बेस्कन झरी दर्किएको थियो — सायद दिनरात चौबीसै घन्टा पानी परिरहने ‘सराप’ लागेको त्यो जंगलमा जस्तै!
अध्याय पच्चीस
फ्ल्यासब्याक — १७ महिनाको शरणार्थी जीवन
टेकनाथ रिजालले भुटान छाडेको दिन उनको आँखामा मात्र होइन, दक्षिण भुटानभरि मुसलधारे झरी दर्किएको थियो।
रातिदेखि परेको झरीले जताततै पानी नै पानी थियो।
झिसमिसे उज्यालोमै भुटानबाट निस्केका रिजाल सबभन्दा पहिला भारतको आसाम गए। आसामको धुपगढीमा ब्रह्मपुत्र नदी किनारको योगमाया आश्रम उनको पहिलो मुकाम थियो।
तपस्वीका रूपमा चिनिने योगमाया मातासँग रिजालको व्यक्तिगत चिनजान थियो। केही वर्षअघि हातखुट्टा काम्ने रोगले सिकिस्त आमालाई लिएर उनी माताको आश्रम पुगेका थिए। त्यसैले संकटको घडीमा केही दिन माताको आश्रममा बिताउने र आमाको सम्झना बटुल्ने उनको सोचाइ थियो।
तर यहाँ रिजालले सोचेजस्तो भएन।
योगमाया माताले उनलाई आश्रममा नबस्न सुझाव दिँदै भनिन्, ‘हिजो मात्र बोडोल्यान्डका आन्दोलनकारी केटाहरूलाई यहीँबाट पुलिसले समातेर लग्यो। तिमी यहाँको भाषा जान्दैनौ। पुलिस फेरि आयो भने तिमीलाई पनि समात्न सक्छ।’
माताको यस्तो कुराले रिजालको योजना मात्र तुहिएन, अब कहाँ जाने भनेर अलमल पनि भयो।
उनले गुपचुप भुटान छाडेर हिँड्नुका पछाडि एउटा राजनीतिक उद्देश्य थियो — उनी आफ्नो निर्वासनकै क्रममा राजनीतिक रूपले सचेत भुटानी नेपालीहरूलाई डाकेर भावी रणनीतिबारे सल्लाह गर्न चाहन्थे।
यही काम भुटानमा सम्भव थिएन। राजा जिग्मे सिंघे वाङचुकले रिजाललाई तीन जनाभन्दा बढी व्यक्तिसँग एकैचोटि भेट्न र बोल्न पावन्दी लगाएका थिए। आदेश उल्लंघन गरेको फेला परे आजीवन कारावास सजाय भोग्नुपर्थ्यो। त्यसैले भुटानी नेपालीहरूमाथि भइरहेको अन्यायको शृंखला कसरी तोड्न सकिन्छ भनेर योजना बुन्न उनले स्वैच्छिक निर्वासनको बाटो रोजेका थिए। योगमाया माताको आश्रममा रहेर आफ्ना राजनीतिक सहकर्मी र अन्य सचेत नागरिकहरूसँग भेटघाट गर्न सहज र सुरक्षित होला भन्ने उनको सोच थियो।
रिजाललाई अलमलिएको देखेर माताले हौसला बढाइन् र भनिन्, ‘नआत्तिऊ, ईश्वरले तिमीलाई अवश्य सही ठाउँमा पुर्याउनेछ।’
रिजालले माताको आशीर्वाद थापे र ईश्वरको भरमा आश्रमबाट पाइला चाले।
उनले केही दिन आसामकै रानीखातामा बिताए, केही दिन गुवाहाटी र केही दिन सिक्किममा बिताए।
सिक्किमका शुभचिन्तक साथीहरूले उनलाई दुइटा सल्लाह दिए — या त दिल्ली गएर त्यहीँबाट आफ्नो राजनीतिक गतिविधि चलाउने, या नेपाल जाने।
गहन विचारपछि रिजाल के निष्कर्षमा पुगे भने — दिल्ली निकै टाढा छ, त्यसैले उपयुक्त गन्तव्य नेपाल नै हो।
नेपालसँगको लामो ऐतिहासिक र सांस्कृतिक सम्बन्धले पनि उनी यस्तो निष्कर्षमा पुगेका थिए।
दुई सय वर्षअघि जुन भूमिबाट टेकनाथ रिजालका कुप्रा हजुरबुवा भुटान प्रवेश गरेका थिए, संकटको घडीमा सहयोग र आश्रय खोज्न उनी त्यही भूमिमा फर्के।
नेपालले टेकनाथ रिजाललाई खुला हृदयले स्वागत गर्यो।
उनी सबभन्दा पहिला झापाको भद्रपुरमा तुलसी उपाध्यायको घरमा बसे। भद्रपुर बसाइकै क्रममा पत्रकार भरत भुर्तेल र बाबुराम नेपालसँग उनको घनिष्ठ सम्बन्ध गाँसियो। झापाका स्थानीय बुद्धिजीवी र राजनीतिक तथा सामाजिक कार्यकर्ताहरूसँग उनले निरन्तर भेटघाट र परामर्श गर्ने मौका पाए।
त्यो समय नेपालमा पञ्चायती व्यवस्था थियो। राजनीतिक दलहरू प्रतिबन्धित थिए भने नेताहरू भूमिगत थिए। भूमिगत अवस्थाका नेताहरू भुटानी नेपालीहरूको संघर्षमा सहानुभूति र समर्थन त जनाउँथे, तर भौतिक रूपले साथ दिन समर्थ थिएनन्। राजा वीरेन्द्रसँग भेटेर भुटानका नेपालीभाषीहरूको अवस्था जानकारी गराउन पाए दुई देशको राजसंस्थाबीच सदियौंदेखि कायम दौत्य सम्बन्धका माध्यमबाट समाधानको उपाय निकाल्न सकिन्छ कि भन्ने रिजाललाई लागेको थियो। तर नेपालको दरबारसम्म पहुँच भएको सम्पर्क सूत्र उनले पहिल्याउन सकेनन्।
यसबीच भुटानमा रिजालको परिवारलाई नयाँ नयाँ भाउँतो झिकेर प्रशासनले दुःख दिन थाल्यो। उनका छोराहरूलाई सरकारी स्कुलमा पढ्नधरि दिइएन। यो थाहा पाएपछि रिजालले पत्नी कौशिलालाई बच्चाहरू लिएर नेपाल आउन खबर पठाए।
तुलसी उपाध्याय र भरत भुर्तेलको घरमा पाहुना बनेर चार महिना बिताएका रिजालले परिवार सँगै बस्न आएपछि बिर्तामोड सर्ने निर्णय गरे।
उता भुटानी नेपालीहरूमाथि राज्यको थिचोमिचो बढ्दै गयो। सन् १९८२ को विवाहसम्बन्धी कानुन, १९८५ को नागरिकता कानुन र १९८८ को जनगणनाका नाममा राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक अतिक्रमणको शिकार हुनुपरेपछि दक्षिण भुटानी जनता प्रतिकारमा ओर्लिन थाले। विश्वनाथ क्षत्री, देवदत्त शर्मा, नारायण शर्मा, प्रकाश घिसिङ, काजी तामाङ, तारा सुवेदी लगायतका युवा विद्यार्थीहरू संगठित भएर आन्दोलनमा होमिए। उनीहरूले ‘भुटान विद्यार्थी युनियन’ नामक संगठनका माध्यमबाट विरोध कार्यक्रमहरू सञ्चालन गरेका थिए। यही अभियानमा संलग्न देवदत्त शर्मालाई पछि १९८९ डिसेम्बरमा भारतबाट अपहरण गरियो र भुटान लगेर बन्दी बनाइयो। रतन गजमेर, मनबहादुर क्षत्रीजस्ता दिग्गज र जोशिला युवाहरू पनि यही संगठनमा संलग्न भएका थिए।
भुटानका यी आन्दोलनकारी विद्यार्थी, बुद्धिजीवी र राजनीतिक रूपले सचेत नागरिकहरू हुल बाँधेर टेकनाथ रिजाललाई भेट्न बिर्तामोड आउने क्रम ह्वात्तै बढ्यो। उनीहरूले भुटानमा सुरू भएको आन्दोलनको नेतृत्व सम्हाल्न रिजालसँग आग्रह गरे। यही आग्रहले सन् १९८९ जुलाई ७ मा ‘भुटान मानवअधिकार सार्वजनिक मञ्च’ नामक संगठनलाई जन्म दियो। झापाको काँकरभिट्टामा खोलिएको उक्त संगठनमा चौध जना केन्द्रीय सदस्य थिए भने रिजाल सर्वसम्मतिले अध्यक्ष चुनिएका थिए। जोगेन गजमेर महासचिव र सुशील पोखरेल सचिव थिए।
संगठन स्थापना भएको महिनादिन नबित्दै दक्षिण भुटानका नेपालीभाषी विद्यार्थीहरूमाथि भौतिक हमला भएको खबर लिएर रतन गजमेरको नेतृत्वमा एक हुल विद्यार्थी रिजाललाई भेट्न आए। रतन गजमेर भुटानको साम्चीस्थित नेसनल इन्स्टिच्युट अफ एजुकेसनका अध्यापक थिए। रिजाललाई भेटेर फर्केलगत्तै साम्चीको सरकारी निवासबाट उनी पक्राउ परे। उनको डेरामा ‘भुटानः वी वान्ट जस्टिस’ भन्ने जानकारीपत्रको पाण्डुलिपि फेला परेको थियो। नेपाली समुदायमाथि राज्यबाट भएको अन्यायको तीव्र आलोचना गरिएको उक्त जानकारीपत्र पछि भुटान मानवअधिकार सार्वजनिक मञ्चले आफ्नो पहिलो प्रकाशनका रूपमा छाप्यो।
यो जानकारीपत्रले भुटानी नेपालीहरूलाई आन्दोलित बनाउन त भूमिका खेल्यो नै, सँगसँगै भुटानी राजसत्ता पनि तिलमिलायो र आन्दोलनकारीहरूमाथि धरपकडको अभियान सुरू गर्यो। भुटान विद्यार्थी युनियन र भुटान मानवअधिकार सार्वजनिक मञ्चमा आबद्ध विश्वनाथ क्षत्री, भक्तिप्रसाद शर्मा, मनबहादुर क्षत्री लगायत धेरैलाई पक्राउ गरियो। कतिलाई देश छाड्न बाध्य पारियो। पक्राउ परेकामध्ये मनबहादुर क्षत्रीको चरम यातनाका कारण हिरासतमै मृत्यु भयो।
दमनको अन्तहीन शृंखला सुरू भएपछि दक्षिण भुटानी नेपालीहरूको जीवन दुष्कर हुँदै गयो। उनीहरूलाई आफ्नै भूमि छाडेर शरणार्थी बन्न राजसत्ताले बाध्य पार्यो। टेकनाथ रिजालका वृद्ध बुवा पनि भुटानको सम्पूर्ण जायजेथा माया मारेर आश्रय खोज्दै झापा आइपुगे।
यो जटिल र भयावह समस्याको निदान अब राजा जिग्मे सिंघे वाङचुकबाहेक अरू कसैबाट सम्भव छैन भन्ने सोचेर रिजालले घटनाको फेहरिस्तसहित राजाका नाममा एउटा अपिल लेखे र त्यो अपिल विराटनगर गएर छपाए।
त्यही बेला रिजाल नेतृत्वको भुटान मानवअधिकार सार्वजनिक मञ्चले नेपालमा भन्दा भारतमा बसेर काम गर्दा पीडित भुटानी जनतासँग सम्पर्क गर्न सजिलो हुने विश्लेषण गर्यो। यही विश्लेषणका आधारमा उनीहरूले दार्जिलिङ हुँदै सिक्किम र सिक्किमबाट दिल्ली जाने निधो गरे। दिल्लीमा मञ्चको कार्यालय स्थापना गरेर त्यहाँका शुभचिन्तकमार्फत् भुटान सरकारलाई दबाब दिने उनीहरूको योजना थियो। यसका लागि तयारी गर्न टेकनाथ रिजालसहित जोगेन गजमेर र सुशील पोखरेल दिल्ली जाने तय भयो।
छलफल क्रममा एउटा महत्वपूर्ण कुरा उठ्यो — पश्चिम बंगालको सिलगुढीमा भुटानी जासुसको बिगबिगी छ, त्यसैले सिलगुढी हुँदै दार्जिलिङ जाँदा भुटानी जासुसले सुराकी लगाएर बाटोमै पक्राउ परिने खतरा हुन्छ।
यही सोचेर उनीहरूले इलामको फिक्कल हुँदै दार्जिलिङ जाने निर्णय गरे र बसको तीनवटा टिकट काटे।
सन् १९८९ नोभेम्बर १५ — दार्जिलिङ जाने अघिल्लो रात जोगेन गजमेर र सुशील पोखरेल बिर्तामोडस्थित टेकनाथ रिजालकै घरमा बास बसेका थिए।
उनीहरूले आफ्नो झोलातुम्ला पनि सँगै लिएर आएका थिए। बीच बाटोमा भुटानी जासुसहरूले घेराबन्दी गर्न सक्ने डरले झोलामा लुगाफाटोबाहेक केही थिएन। भ्रमणको उद्देश्य र आफ्नो परिचय खुल्ने खालका राजनीतिक कागजपत्रहरू सँगै नलैजाने उनीहरूले निर्णय गरेका थिए। योजना पूरा नहुञ्जेल भूमिगत बस्नुपर्ने भएकाले नेपाल छाडेर दिल्ली जान लागेको जानकारी पनि कसैलाई दिएका थिएनन्।
त्यो रात खानपिनपछि टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेलले अबेरसम्म भावी योजनाबारे सरसल्लाह गरे। सिक्किममा भेट्न सकिने सम्भावित व्यक्तिको सूची बनाए र सम्पर्क नम्बरहरू डायरीमा टिपे। दिल्लीमा बस्न सकिने सम्भावित ठाउँहरू कहाँ–कहाँ हुन सक्छन् र उनीहरूलाई मद्दत गर्न सक्ने सम्भावित व्यक्तिहरू को–को हुन सक्छन्, त्यसको पनि नाम र नम्बर डायरीमा लेखे। दिल्लीमा कति दिन बिताउनुपर्ने हो, उनीहरूलाई थाहा थिएन। त्यसैले होटलमा बसेर पैसा फुरमास गर्न उनीहरूसँग बजेट थिएन। सुरूका केही दिन होटलमा बस्नैपरे पनि जतिसक्दो छिटो परिचित व्यक्तिहरूकै घरमा आश्रय माग्ने उनीहरूको योजना थियो। यसका लागि दक्षिण भुटानबाट पढ्न वा काम गर्न दिल्ली गएका युवाहरूको नाम र सम्पर्क नम्बर उनीहरूले खोजखाज पारिसकेका थिए। केही व्यक्तिसँग बिर्तामोडबाटै सम्पर्क पनि भइसकेको थियो।
अबेरसम्म सल्लाह गरेर यात्राको चाँजो मिलाएपछि जोगेन गजमेर र सुशील पोखरेल सुत्न गए। टेकनाथ रिजालले त्यसपछि आफ्नी पत्नी कौशिलासँग घरव्यवहारबारे कुराकानी गरे।
‘दिल्लीमा कति दिन लाग्छ थाहा छैन,’ उनले कौशिलालाई भने, ‘मेरो अनुपस्थितिमा बुवा र नानीहरूको राम्रो हेरचाह गर्नू। केही अप्ठ्यारो पर्यो भने सहयोग गर्ने मान्छेहरू तिमीले चिनेकै छौ, कुनै धक नमानी सम्पर्क गर्नू।’
जवाफमा कौशिलाले भनिन्, ‘तपाईं निश्चिन्त भएर जानुस्। बुवा र छोराहरूको चिन्ता लिनुपर्दैन। म यहाँ सब सम्हाल्छु।’
त्यो बेला रिजालका छोराहरू बिर्तामोडको लिटिल फ्लावर स्कुलमा पढ्न थालेका थिए। डेराको व्यवस्था राम्रै थियो। झापामा रिजाल र उनको परिवारप्रति सहानुभूति राख्नेहरू पनि प्रशस्तै थिए।
तिनै शुभचिन्तकहरूको आड र पत्नी कौशिलाको आँटले नै रिजाल आफ्नो परिवारलाई पराई मुलुकमा छाडेर जान तयार भएका थिए।
अनिश्चित यात्राको कल्पनाले मन भारी त थियो, तर अन्यायमा पिल्सिएका भुटानी नेपालीहरूले राखेको आशा र भर सम्झेर उनको मनमा ऊर्जा पनि भरिएको थियो।
राति एघार बजेतिर सबै जना सुत्न गएपछि रिजाल कौसीमा निस्के। चुरोट सल्काए। मुखबाट निस्किरहेको जाडोको बाफसँगै चुरोटको धुवाँ उडाउन थाले।
नोभेम्बरको रात चिसो थियो। वरिपरिका सबै घरमा बत्ती निभिसकेको थियो। सबै जना मस्त निद्रामा थिए सायद।
परको एउटा घरबाट मधुरो स्वरमा नारायण गोपालको गीत बजिरहेको उनले सुने। रातको शून्यतामा गीतको बोल प्रस्टै सुनिँदै थियो —
भोलि उठी कहाँ जाने केही थाहा छैन
फर्की आउने हो कि होइन केही थाहा छैन
बाचा छिट्टै आउँछु भनी गर्नुपर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ
गीत सुनेर उनको मुटु चिसो सिरेटो छिरेजस्तो सिर्रर भएर आयो।
माझी औंला र चोर औंलाको बीचमा च्यापेको चुरोटको ठुटोबाट नीलो धुवाँ पुतपुताउँदै थियो। उनले चुरोटको धुवाँ फोक्सोसम्मै पुग्ने गरी अन्तिम सर्को ताने र ठुटोलाई कौसीको पर्खालमा किचिमिची पारेर तल बारीतिर मिल्काइदिए।
भर्खरै चुरोट च्यापेको माझी औंला र चोर औंलाको टुप्पाबाट धुवाँको कस हरर बसाउँदै थियो। उनले दुवै औंला नाकनिर लागे र मीठो मान्दै धुवाँको कस सुँघे।
माथिल्लो तलाको कोठामा पिलपिल बत्ती बलिरहेको परको घरबाट नारायण गोपालको मधुर आवाज आइरहेकै थियो —
छातीभरि गाउँबेसी पखेरीको छाया
आँखाभरि मेलापात मायालुको माया
आफैंलाई छाडी कतै जानुपर्या छ
मुटुमाथि ढुंगा राखी हाँस्नुपर्या छ
गीत सुनिरहँदा रिजाललाई यस्तो लाग्यो, मानौं नारायण गोपालको स्वरमा सजिएको कालीप्रसाद रिजालका शब्दहरू खास उनकै लागि र अझ यही समय–परिस्थितिसँग मिल्ने गरी लेखिएका हुन्।
मनको तुलबुलले होला, उनलाई फेरि चुरोटको तलतल लाग्यो।
अर्को खिली सल्काए। मनको व्यग्रतालाई धुवाँले छोप्न फोक्सोसम्मै पुग्ने गरी लामो–लामो सर्को ताने।
जाडोको बाफ र चुरोटको धुवाँ पुक्कपुक्क हावामा छर्दै उनले आफ्नो घर अगाडिको गल्लीतिर हेरे।
गल्लीका कुकुरहरू जाडो छल्न एकअर्कासँग गुजुल्टिएर डल्लो परेर सुतेका थिए।
उनले केही बेर ती कुकुरलाई हेरिरहे।
उनलाई यस्तो लाग्यो, मानौं ती कुकुरहरू भुटानी नेपाली जनता हुन् र उनीहरूको मुटु छेड्न आएको जाडो भुटानी राजसत्ता! जसरी ती कुकुरहरू जाडोसँग जुध्न आपसमा डल्लो परेका छन् र आफ्नो शरीरको तातो एकअर्कासँग बाँड्दै न्यानो गरी सुतेका छन्, भुटानी नेपालीहरूले पनि अन्यायी राजसत्तासँग जुध्न त्यसरी नै आपसमा डल्लो पर्नुपर्छ र त्यसरी नै एकअर्काको भर बन्नुपर्छ भन्ने उनलाई लाग्यो!
उनलाई लाग्यो — गल्लीका कुकुरहरूले एकढिक्का भएर मुटु कठ्यांग्रिने जाडो सामना गरेजस्तै भुटानी नेपाली जनताले पनि राजसत्ताविरूद्ध लड्न त्यसरी नै एकढिक्का हुनुपर्छ।
त्यही बेला रिजालको मनमा एउटा झिल्का बल्यो — के म राजा जिग्मे सिंघे वाङचुकको अन्यायको शिकार भुटानी जनतालाई एकढिक्का बनाउन सकूँला!
के म उनीहरूलाई यो अन्यायको जाँतोबाट मुक्ति दिलाउन सकूँला!
के म उनीहरूलाई आफ्नै भूमिमा सार्वभौम नागरिकका रूपमा बाँच्ने हक दिलाउन सकूँला!
उनले यस्तो सोच्दै गर्दा सायद माथि आकाशमा काला बादलका पत्र मडारिएर चन्द्रमा छेक्न हानाथाप गर्दै थिए!
किनभने, एकछिन अघिसम्म उज्यालो छरिरहेको चन्द्रमा ठ्याक्कै त्यही बेला कालो बादलको पर्दाभित्र छोपिएको थियो।
रात अन्धकार भएको थियो।
गल्लीकाकुकुरहरू बेस्कन भुक्न थाले।
भुक्दाभुक्दै केही कुकुर कुइँकुइँ कुइँकिएको आवाज आयो।
भर्खरै ओछ्यानमा पल्टेका टेकनाथ रिजालले भित्ताको घडीतिर हेरे — बाह्र बजेको थियो।
पत्नी कौशिला मस्त निद्रामै थिइन्।
त्यही बेला कसैले घरको मूलढोका जोडसँग ढकढक्यायो। रिजाल झसंग भए। कौशिला पनि जर्याकजुरूक उठिन्।
उनीहरूले एकछिन चुपचाप ढोकाको ढकढक सुनिरहे।
अलि बेरमा कसैले ‘भाउजू, भाउजू’ भनेको सुनियो।
त्यो परिचित आवाज थिएन।
कौशिला सशंकित भइन्। अनिष्टको आभाष पाएर उनले हडबडाउँदै रिजाललाई भनिन्, ‘यति बेला को आयो होला! आवाज पनि चिनिँदैन! तपाईं भाग्नुहोस्!’
रिजालले भने हडबडी देखाएनन्। उनलाई भुटानी जासुस र भुटानी प्रहरीहरूबाट खतरा त थियो, तर नेपाली भूमिमै आएर तिनले धावा बोल्न सक्दैनन् भन्नेमा उनी ढुक्क थिए।
‘तिमी नआत्तिऊ,’ उनले कौशिलालाई भने, ‘बरू को रहेछ सोध त!’
कौशिला कोठाबाट निस्केर भर्याङछेउ गइन् र ठूलो स्वरमा सोधिन्, ‘बाहिर को हँ? के चाहियो यति राति?’
‘दाइ हुनुहुन्छ?’ बाहिरबाट आवाज आयो।
‘हुनुहुन्न त,’ कौशिलाले भित्रैबाट जवाफ फर्काइन्, ‘बिहानै सिलगुढी जानुभयो, आज आउनुभएन।’
उनको जवाफ सुनेपछि बाहिरबाट एकछिन कुनै आवाज आएन। ढोकाको ढकढक पनि बन्द भयो।
कौशिला भर्याङछेउ उभिएर थप जवाफको प्रतीक्षामा थिइन्। रिजाल कोठाको ढोकामा उभिएर कौशिलातिर हेर्दै थिए।
दस सेकेन्डमा फेरि ढकढक आवाज आयो।
‘भाउजू, हामी बाहिर मोडमा बस्ने ट्राफिक भाइहरू हौं,’ उनीहरूले भने, ‘एउटा टर्चलाइट दिनुहुन्छ कि भनेर आएको।’
आधी रात अर्काको घरमा टर्चलाइट माग्न आएको सम्झेर कौशिला झनै सशंकित भइन्। रिजालको मनमा पनि चिसो पस्यो।
कौशिलाले ढोका खोल्न इन्कार गर्दै भनिन्, ‘म यो आधी रातमा ढोका खोल्दिनँ। घरमा टर्चलाइट पनि छैन। तपाईंहरू अन्तै खोज्नुस् न है!’
उनले यस्तो जवाफ दिनु मात्र के थियो, बाहिर उभिएका व्यक्तिहरूले ढोकामा जोडजोडसँग लात्ती हान्न थाले।
काठको ढोकामा बजारिएको लात्तीको आवाज कुनै गह्रुंगो बुटजुत्ताले हानेजस्तो सुनियो।
त्यस्तो गह्रुंगो बुटजुत्ता त प्रहरीहरूले पो लगाउँछन्!
रिजाल सतर्क भए।
कौशिलाले आँखा नचाउँदै उनलाई कोठाभित्र लुक्न इसारा गरिन्।
बुटजुत्ता लगाएका ती अज्ञात व्यक्तिहरूले ढोकै फोडुँलाझैं गरी लात्ती बजारेको बजार्यै गर्न थालेपछि कौशिलाले बिस्तारै गएर घरक्क ढोका खोलिन्।
बाहिर एक हुल प्रहरी थिए। तीमध्ये केहीलाई कौशिलाले बेलाबेला टोलमा गस्ती गरिरहेको देखेकी थिइन्।
ढोका खुल्नासाथ ती प्रहरी एक बचन सोध्दा पनि नसोधी आँधी छिरेजस्तो गुटुटु घरभित्र छिरे। कोही तल्लो तलाका कोठाभित्र पसे, कोही भर्याङ चढेर माथि उक्ले।
माथिल्लो कोठामा टेकनाथ रिजालसँग उनीहरूको जम्काभेट भयो।
रिजाललाई देख्नासाथ एक प्रहरीले भने, ‘भाउजू, तपाईं त ढाँट्नु हुँदो रहेछ। दाइ घरमै हुँदाहुँदै उहाँलाई सिलगुढी पुर्याइदिनुभयो!’
प्रहरीहरू माथि उक्लेको देख्नेबित्तिकै कौशिला पनि उनीहरूकै पछिपछि दौडिँदै आएकी थिइन्।
उनी कोठामा पुग्दासम्म दुई जना प्रहरीले रिजाललाई करप्प समातिसकेका थिए।
त्यो बेला कौशिलालाई त्यत्रो आँट कसरी आयो कुन्नि! उनी चितुवाझैं उफ्रिँदै प्रहरीको नजिक पुगिन् र दुवैलाई ठेलेर पर हुत्याइदिइन्।
अनि, ती प्रहरी र रिजालको बीचमा पर्खाल बनेर उभिइन्।
‘किन हात हाल्नुभयो उहाँलाई?’ कौशिलाले आँखाबाट आगो ओकल्दै प्रहरीतिर हेरेर भनिन्, ‘किन आउनुभयो तपाईंहरू? के बिगार गर्नुभएको छ उहाँले?’
कौशिलाले एकाएक चण्डिका रूप धारण गरेको देखेर रिजाल पनि चकित खाए।
अरू बेला सबैले दुर्बल ठान्ने महिला आफ्नो परिवारमाथि विपत्ति आएको देखेपछि कसरी दुर्गा बन्छिन् भन्ने रिजालले पहिलोचोटि आफ्नै आँखाले देखे।
ती प्रहरीले कौशिलाको प्रश्नको कुनै जवाफ दिएनन्। सायद उनीहरूले जवाफ दिन आवश्यक पनि ठानेनन्।
दुवैले कौशिलाको पाखुरा समातेर उनलाई कोठाको एउटा कुनातिर हुत्याइदिए, अनि रिजाललाई कठालो समातेर कोठाबाट बाहिर निकाले।
दुई जनाले दुईतिरबाट ठेलठाल पार्दै भर्याङ ओराल्दा रिजाल झन्डैझन्डै लड्ने अवस्थामा पुगेका थिए। भर्याङका आखिरी दुई खुड्किला एकैचोटि फड्किएर मात्र उनी बालबाल बचे!
यति बेलासम्म कौशिला पनि कोठाको भित्तामा ठोक्किएको निधार सुम्सुम्याउँदै तल ओर्लिन्।
प्रहरीहरू घरका एक–एक कोठामा घुस्दै खानतलासी गर्न थाले।
कौशिलाको रौद्ररूप अझै थामिएको थिएन।
उनले हुरहुर्ती कोठाभित्र छिर्न आँटेका प्रहरीहरूको बाटो छेक्दै भनिन्, ‘बिनाकारण मेरो घर खानतलासी गर्ने के अधिकार छ तपाईंहरूसँग? तपाईंहरूले खानतलासी गर्ने पुर्जी ल्याउनुभएको छ? छ भए खोइ देखाउनुस् त?’
कौशिलाले अधिकार र पुर्जीको कुरा झिकेपछि प्रहरीको हुलबाट एक जना अलि मोटोघाटो, अग्लो व्यक्तिले कड्किँदै भने, ‘तँलाई पुर्जी चाहियो होइन? मै हुँ पुर्जी।’
उनले कौशिलालाई ठेल्दै अगाडि भने, ‘बढी बोल्ने होइन, नत्र तँलाई पनि तेरो बूढासँगै पाता फर्काएर लैजानुपर्ला!’
उनको यो भनाइ सुनेर रिजाललाई एउटा कुरा चाहिँ ढुक्क भयो — यी प्रहरीहरू कौशिलालाई पनि पक्रने सुरमा आएका होइन रहेछन्!
सँगसँगै, कानुनी प्रक्रिया पूरा नगरी आधी रात अर्काको घरमा घुस्ने र त्यसमाथि महिलामाथि असभ्य व्यवहार गर्ने प्रहरीको रूखो बोलीबचन सुनेर उनी रिसले आगो पनि भए।
रिसको झोँकमा उनले ‘महिलासँग कसरी बोल्नुपर्छ, थाहा छैन तपाईंहरूलाई’ भन्दै प्रतिकार गर्न खोजे। तर दुई जना प्रहरीले दुइटा हात करप्प पारेको र एक जनाले पछाडिबाट कठालो समातेकाले उनी चलमलाउनधरि सकेनन्। शिकारीको हात परेको पन्छीझैं उनी प्रहरीको फन्दामा फड्फडाए।
यसबीच प्रहरीहरू घरका कोठा–कोठामा घुसेर सिरक, डसना मात्र होइन; दराज खोलेर लुगाफाटोसमेत मिल्काउन थालिसकेका थिए। कसैले कोठाभरि कागजपत्र छताछुल्ल छरे, कसैले भान्छामा गएर भाँडाबर्तन लथालिंग पारे। कुनै पनि सामान कब्जामा चाहिँ लिएनन्। रिजालले भुटानी राजाका नाममा लेखेको अपिल र भुटान मानवअधिकार सार्वजनिक मञ्चको घोषणापत्र अघिल्लो दिन मात्र विराटनगरबाट छापिएर आएको थियो। प्रहरीले ती कागजपत्रमा के लेखेको छ भनेर पल्टाएर पनि हेरेनन्।
यसरी घरका सामान उलटपालट पारिँदै गर्दा केही प्रहरीले जोगेन गजमेर र सुशील पोखरेललाई उनीहरू सुतिरहेको कोठाबाट बाहिर निकाले। केहीले रिजालका वृद्ध बुवालाई रातको चिसोमा घरबाट बाहिर धकेले।
आधी निद्रामा झस्केर ब्युँझेका केटाकेटीको रोएर बेहाल थियो। सपनामा राक्षस तर्साउन आएजस्तो अपरिचित अनुहारहरूले घरमा ताण्डव मच्चाएको देखेर उनीहरू आमाको साडीको फेर समात्दै च्याँठ्ठिरहेका थिए।
भुटानमा एउटा कहावत छ — जसले मस्त सुतिरहेको मान्छेको निद्रा बिथोल्छ, ऊ अर्को जन्ममा लाटोकोसेरो हुन्छ!
रिजालले सोचे — यी प्रहरीले आधीरात घरमा घुसेर महिला, केटाकेटी र वृद्धलाई धरि माफ नगरी सबको निद्रा बिथोले, के यी पनि अर्को जन्ममा लाटोकोसेरा होलान्!
रिजाल प्रहरीको उधूम सहन नसकेर केटाकेटीहरूजस्तै च्याँठ्ठिन चाहन्थे, तर चुप्प लागे।
च्याँठ्ठियो भने प्रहरीको बुटजुत्तावाला लात्ती ढाडमा बर्सिन्छ भन्ने उनले बुझेका थिए।
आँधी पसेजस्तो आधी घन्टा तबाही मच्चाएपछि प्रहरीहरूले टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेललाई घिच्याउँदै बाहिर निकाले र लछारपछार पार्दै जीपमा हुले।
जीपबाट बाहिर नियाल्दा रिजालले देखे — वृद्ध बुवा जाडोमा लुगलुग काम्दै टुलुटुलु उनैलाई हेरिरहेका थिए।
भुटानमा राजाको दमन सहन नसकेर छोरासँग बस्न आएका वृद्ध बुवा आँखाअगाडि छोराको दुर्गति देखेर द्रवित भएका थिए।
उनको बोली फुटेको थिएन, तर पिताको मनको भावना पुत्रको मनसम्म प्रवाह हुँदै थियो।
उनी सायद भन्दै थिए — तेरो आश्रयमा बस्न भनेर माटो छाडेर आएँ छोरा, आज यो अवस्थामा मलाई छाडेर तँ कहाँ जाँदै छस्!
रिजालले आफ्ना अबोध छोराहरूलाई देखे — तीन जना छोरा आमाका दुइटा गोडा समातेर कोकोहोलो गर्दै थिए।
पुत्रहरूको कोकोहोलो पिताको कानसम्म प्रवाह हुँदै थियो।
उनीहरू सायद भन्दै थिए — भर्खर स्कुल जान थालेका हामीलाई तपाईंको माया र छाया चाहिएको छ बुवा, आज यो अवस्थामा हामीलाई छाडेर तपाईं कहाँ जाँदै हुनुहुन्छ!
रिजालले आफ्नी पत्नी कौशिलालाई पनि देखे — जसका टिलपिल आँखा उनैलाई हेर्दै टोलाइरहेका थिए।
उनी घाँटीको नसा चुँडिने गरी च्याँठ्ठिन चाहन्थिन्। चण्डिका रूप धारण गरेर ती प्रहरीहरूमाथि जाइलाग्न चाहन्थिन्। तर पतिको अनुपस्थितिमा परिवारको आडभर बन्नुपर्ने बेला उनले परिस्थिति थप बिगार्न चाहिनन्। आफ्नो क्रोधलाई चुपचाप आँसुसँगै पिइदिइन्।
किनभने —
कौशिला आफ्ना पतिको साहस बन्न चाहन्थिन्, समस्या होइन।
उनी पतिको शक्ति बन्न चाहन्थिन्, शोक होइन।
उनलाई पतिको मनभरि हौसला भर्नु थियो, हतासा होइन।
पत्नीको मनको भावना पतिको मनसम्म प्रवाह हुँदै थियो।
पत्नीसँगको मनालापले रिजालको हिक्का छुट्यो। घाँटीको किलकिलेमा अड्किएर बसेका आँसुका ढिक्काहरू आँखाबाट पोखिन पोखिन खोजे। तर उनले आफ्नो आँखालाई आँसुको सरोवर बन्न दिएनन्।
आँसुका ढिक्कालाई दरिलो मनले अँठ्याएर मुटुको भित्री तख्तामा लगे र चुपचाप ताल्चा लगाइदिए।
किनभने —
टेकनाथ रिजाल आफ्नी पत्नीको साहस बन्न चाहन्थे, समस्या होइन।
वृद्ध बुवाको शक्ति बन्न चाहन्थे, शोक होइन।
केटाकेटीको निम्ति नायक बन्न चाहन्थे, निरीह होइन।
उनी समस्त भुटानी नेपालीहरूको निम्ति आशाको केन्द्र बन्न चाहन्थे, निराशा होइन।
भुटानमा एउटा कहावत छ — जसले मनभरि उम्लिएको आँसुलाई मुटुको भित्री तख्तामा लगेर चुपचाप ताल्चा लगाइदिन्छ र मुखभरि हाँसो पोखेर अरूलाई पनि हँसाउँछ, ऊ मरेपछि भगवान हुन्छ!
रिजाललाई भगवान हुनु त थिएन, तर आफू वरिपरिका सबै हाँसिरहून् र जस्तोसुकै परिस्थितिमा पनि सबैको आँत ऊर्जाले भरियोस् भन्ने उनी चाहन्थे।
उनी यो यस कारण पनि चाहन्थे, किनभने राजाको अन्याय र अत्याचारविरूद्ध आन्दोलित भुटानी नेपालीहरूलाई त्यस्तै ऊर्जाको खाँचो थियो।
रिजालका आँखा घरको आँगनमा लश्करै उभिएका परिवारका सदस्यहरूतिर एकोहोरिए।
रातको अँध्यारोमा, संसारको आँखा छल्दै प्रहरी जीप हुइँकियो।
सामसुम सन्नाटाबीच टायरको कुइँय्य आवाजले टोल थर्थरायो। गल्लीका कुकुरहरू जोडजोडसँग भुके। भुक्दाभुक्दै केही कुकुर कुइँकुइँ कुइँकिएको आवाज आयो।
रिजाल जीपको झ्यालबाट आँगनमा उभिएका परिवारलाई एकटक हेरेका हेर्यै थिए — आँखाले देखुञ्जेल।
जीपले उडाएको धुवाँ र हिउँदको हुस्सुबीच परिवारको आकृति बिस्तारै क्षीण क्षीण हुँदै गयो र आखिरमा छेलियो।
धमिलो धमिलो हुँदै गयो र आखिरमा धुम्म भयो।
धुम्म परेका ती आकृति अब कति दिन, कति महिना, कति वर्ष आँखाको नानीमा नपर्ने हो, यसको भेउ स्वयं टेकनाथ रिजाललाई पनि थिएन।
‘उहाँहरूलाई कहाँ लानुहुन्छ?’ जीप गुड्नुअघि कौशिलाले प्रहरीसँग सोधेकी थिइन्।
ट्राफिकजस्तो देखिने प्रहरीले जवाफ दिए, ‘विराटनगर, तपाईंहरू भेट्ने भए त्यहीँ आए हुन्छ।’
त्यसपछि कौशिलाले लछारपछार पार्दै जीपमा हुलिएका टेकनाथ रिजालको हात समातेर भनेकी थिइन्, ‘तपाईं निश्चिन्त भएर जानुस्। बुवा र छोराहरूको चिन्ता लिनुपर्दैन। म यहाँ सब सम्हाल्छु।’
प्रहरी जीप हुइँकिएर मूल सडकमा पुगेपछि रिजालले देखे — त्यहाँ राइफलधारी प्रहरीहरूको एक हुल थियो। अरू दुई–तीनवटा जीप पनि सडक किनार रोकिएका थिए।
सबै जीप लश्कर लागेर पूर्व–पश्चिम राजमार्गमा पुगे र त्यहाँबाट पश्चिम मोडिए।
राजमार्ग सुनसान थियो। पूर्वबाट काठमाडौं जाने रात्रिबसहरू छुट्ने समय घर्किसकेको थियो। काठमाडौंबाट छुटेका रात्रिबसहरू यहाँसम्म आइपुग्ने समय नै भएको थिएन।
बिर्तामोडबाट तीन जना भुटानी शरणार्थीलाई पक्राउ गरेर हिँडेका प्रहरीहरू रित्तो सडकमा लगातार हुइँकिएका हुइँकियै लगभग डेढ घन्टामा विराटनगर पुगे।
एउटा ठूलो कम्पाउन्डभित्र पसेर प्रहरी जीपहरू घ्याच्च रोकिए।
टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेललाई जीपबाट ओरालियो। अगाडि इँटाको एकतले घर र त्यसको छेउमा खरले छाएको घुमाउरो शैलीको प्रहरी चौकी थियो।
चौकीभित्र पुगेपछि एक जना सिपाहीले एउटा कम्बल दिँदै भने, ‘ल यो कम्बल ओछ्याएर पल्टनुस्।’
रिजालले थुनुवा कक्षको चिसो भुइँमा कम्बल ओछ्याए र तीनै जना त्यसैमाथि गुटुमुटु परे।
रिजालले केही घन्टाअघि मात्र बिर्तामोडको घरको कौसीमा उभिएर चुरोट तान्दै गर्दा गल्लीमा देखेका कुकुरहरूलाई सम्झे, जो जाडो छल्न एकअर्कासँग गुजुल्टिएर डल्लो परेका थिए।
उनीहरू तीन जना पनि एउटा कम्बलको भरमा त्यसैगरी गुजुल्टिएर डल्लो परे।
मनमा मच्चिएको तानातानले रिजाललाई झपक्क निद्राले छोप्यो। मन जति बढी बिसन्चो भयो, ज्यानले उति बढी सन्चो खोज्दो रहेछ! थुनुवा कक्षको चिसो भुइँमा ज्यानलाई सन्चो त एकरत्ति थिएन। जाडोले उनी थरथर काम्दै थिए। बेलाबेला दाँत किटकिट बज्थे। तर कम्तिमा खुट्टा तन्काउन पाएकाले मनको बिसन्चोभन्दा ज्यानले लाख गुणा सन्चो महसुस गर्दै थियो।
उनी लट्ठ निदाएका मात्र के थिए, कसैले बरफझैं कठ्यांग्रिँदो चिसो पानी उनको ज्यानमा खन्याइदियो।
रिजाल सासै थुनिएझैं आत्तिएर ब्युँझे।
ब्युँझदा उनले देखे — उनी घाँटी घाँटीसम्म आउने पानीमा चुर्लुम्म डुबेका थिए। बरफझैं चिसो पानी!
उनले चारैतिर हेरे — पानी नै पानीको बीचमा उनी एक्लै थिए। त्यहाँ न जोगेन गजमेर थिए, न सुशील पोखरेल। उनीहरू दुवै अलप भइसकेका थिए। राइफलधारी प्रहरीहरू पनि त्यहाँ थिएनन्।
उनले आफू कहाँ आइपुगेँ भनेर वरिपरि नियाले।
एकछिनमा बल्ल उनलाई होस भयो — उनी त घाँटी घाँटीसम्म पानी भएको गहिरो इनारमा पो रहेछन्!
पानी कञ्चन थियो, आकाशबाट बर्सिएजस्तो।
उनले माथि हेरे।
इनारको गोलो मुखबाट आकाश देखियो। आकाशमा गोलो चन्द्रमा थियो र चन्द्रमा वरिपरि केही काला बादलहरू एकअर्कालाई उछिनपाछिन पार्दै थिए। एकैछिनमा ती काला बादलले सेतो चन्द्रमालाई मुख आँ गरेर सुलुत्तै निले।
रात अन्धकार भयो।
अब इनारको मुखबाट कालो अन्धकार सिवाय केही देखिएन।
रिजालले दुवै हातले बल गर्दै पानी छप्ल्याङछुप्लुङ पारे। छेउमा केही समात्ने चिज वा टेक्ने ठाउँ भेटिन्छ कि भनेर छामछाम छुमछुम गरे। तर सतह नमिलेका इँटाको स्पर्सबाहेक उनले अरू केही भेटेनन्।
पानीमा हातखुट्टा छप्ल्याङछुप्लुङ गर्दै उनी केही बेर गोलगोल घुमे। कहीँ पुगेनन्।
दायाँ तन्किए, बायाँ तन्किए। कहीँ पुगेनन्।
घरि टाउको डुबाए, घरि जीउ माथि उठाए। तैपनि कहीँ पुगेनन्।
त्यो इनारमा कुन जादुयी शक्ति थियो थाहा छैन, तर उनी माथि उत्रिन जति बढी हातखुट्टाको बल लगाउँथे, उनलाई इनारको गुरूत्वाकर्षणले उति तल तान्थ्यो। उनी उति उति पानीमुनि डुब्दै जान्थे।
सुरूमा घाँटी–घाँटीसम्म आउने पानी उनले हातखुट्टा चलाउँदा चलाउँदा लगभग नाकसम्म आइपुग्यो। उनी पानीमा तैरिन आफ्ना दुवै गोडा गोलगोल घुमाउन थाले। त्यसो त उनलाई पानी देखी खासै डर लाग्थेन। तर घनघोर अँध्यारो रातमा गहिरो र विरान इनारभित्रको पानी, त्यो पनि बरफझैं चिसो पानी कति भयंकर हुँदो रहेछ भन्ने उनले पहिलोचोटि चाल पाए।
भुटानमा एउटा कहावत छ — जो मध्यरात इनारमा डुब्छ, ऊ अर्को जन्ममा कछुवा हुन्छ!
उनले सोचे — कतै यो अर्को जन्ममा कछुवा हुने लक्षण त होइन!
पानीको सतह जति बढ्दै गयो, रिजालको मुटु डरले नगारा बजेझैं डमडम बज्न थाल्यो।
जसै पानीको सतहले नाक डुबायो, उनी सास फेर्न नसकेर फ्याँफ्याँ भए। तैपनि जसोतसो दुई गोडा गोलगोल घुमाउँदै पानीमाथि उत्रिए।
जसै पानीको सतहले आँखा डुबायो, उनको आँखासामु अँध्यारो छायो।
जसै पानीको सतहले निधार डुबायो, उनलाई यस्तो लाग्यो — दुवै फोक्सो इनारको पानीले भरिँदैछ। त्यहाँ अब अक्सिजन अट्ने ठाउँधरि छैन। अक्सिजन अट्ने ठाउँ नपाएर उनको सास फुल्दैछ। रक्तनलीहरूमा रगत सुकेर पानी बग्न थालेको छ।
जसै पानीको सतहले तालुको रौंसमेत डुबायो, उनी सास अड्केर प्राण जान लागेको छाउराझैं फत्र्याकफत्र्याक परे।
जति बढी फत्र्याकफत्र्याक गर्थे, इनारको गुरूत्वाकर्षणले उनलाई उति तल तान्थ्यो।
उनी इनारको पानीमा चुर्लुम्म डुब्दै गए।
दुई गोडा गोलगोल घुम्न छाडे।
छप्ल्याङछुप्लुङ गरिरहेका दुई हात फिरफिरे पातझैं पानीमा तैरिन थाले।
उनको शरीर सास नभएको मूढाझैं पानीमाथि उत्रिँदै थियो।
जीउ तिनिक्क तन्किँदै थियो।
आँखाका ढक्कनी पिर्लिक्क माथि फर्किँदै थिए।
छालाको रङ पानीमा ढाडिएको भ्यागुतोको पेटजस्तो सेतो हुँदै थियो।
घुँडाभन्दा मुनिको भाग पानीको सतहमुनि तुर्लुंग झुन्डिँदै थियो।
ओठमुख नीलो हुँदै थियो।
त्यही बेला कताबाट कुन शक्तिले तान्यो कुन्नि, उनको शिथिल ज्यानमा सिहरन दौडियो।
दुवै फोक्सोमा भरिएको पानी पिच्कारीझैं नाकमुखबाट एकैचोटि बाहिर निस्क्यो।
ब्याट्री सकिएको घडीको सुईझैं टक्क अडिएको मुटु फेरि टिकटिक चल्न थाल्यो।
बन्द भइसकेको सास फेरि फर्कियो।
उनले हाँपदाँप गर्दै पानीमा हलचल गरे।
आँतदेखि बल लगाएर लामो लामो सास ताने।
त्यति नै लामो लामो सास फाले।
उनको सासले पानीको सतहमा बुलबुले फोका तैरियो।
नाकमुखबाट एकोहोरो स्वाँस्वाँ गर्दा पानीको सतहमा गोलोगोलो लहर उठ्दै, हराउँदै गर्न थाल्यो।
टेकनाथ रिजाल सपनाको भयानक ऐँठनबाट बल्लतल्ल बाहिर निस्के।
उनले सपनामा मृत्यु देखेका थिए — घाँटी घाँटीसम्म पानी आउने गहिरो र विरान इनारमा खसेर उनी मृत्युसँग साक्षात्कार गरी फर्केका थिए।
भुटानमा एउटा कहावत छ — जो सपनामा इनारभित्र खस्छ, उसको नियतिमा इनारजस्तै जेल लेखिएको हुन्छ!
उनले सोचे — कतै यो भविष्यमा बिताउनुपर्ने लामो जेल जीवनको लक्षण त होइन!
विराटनगरको थुनुवा कक्षभित्र सपनाको ऐँठनबाट मुक्त हुँदा बाहिर झलमल्ल घाम लागिसकेको थियो। जोगेन गजमेर र सुशील पोखेरेल चिसो भित्तामा अडेस लगाएर कम्बलमाथि कुखुराझैं टुक्रुक्क बसेका थिए। चिसोले कठ्यांग्रिएर उनीहरूको ओठमुख नीलो थियो।
त्यही बेला प्रहरीले सिलाबरको हलुंगो थालमा साह्रो न साह्रो भात, पानीझैं तर्लंग परेको दाल र छिप्पिएको सागको तरकारी हालेर तीनै जनाको छेउछेउमा राखिदिए।
तीनै जनाले थाल उठाए, तर भोकले आन्द्रा गाँठो परिसक्दा पनि उनीहरूलाई त्यो खाना खाऊँ खाऊँ लागेन।
उनीहरूले मुख जुठो पारेर बाँकी खाना थालमै फालिदिए।
टेकनाथ रिजालले आफ्नो भागको भात फालेको सायद त्यो पहिलोपटक थियो!
त्योदिनभरि टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेललाई कसैसँग भेट्न दिइएन।
कोही भेट्न आए कि आएनन् भन्ने उनीहरूले थाहा पनि पाएनन्।
प्रहरीले पनि दिनभरि उनीहरूसँग एक शब्द सवालजवाफ गरेनन्।
थुनुवा कक्षको चिसो भुइँमा कम्बलमाथि बसेर कहिले एकटक दलिन नियाल्दै, कहिले एकअर्कासँग खासखुस गर्दै, कहिले एकअर्काको ढाडस बाँध्दै त कहिले प्रहरी चौकीको हल्लाखल्ला सुनेरै उनीहरूको दिन बित्यो।
रिजालका आँखा बेलाबेला थुनुवा कक्षबाट बाहिरतिर तन्किन्थे। उनी मुन्टो बटार्दै बाहिर हेर्न खोज्थे। तर उनीहरूलाई कोठाको यस्तो कुनामा राखिएको थियो, जहाँबाट बाहिर हेर्न मिल्थेन। जतिसुकै घाँटी तन्काए पनि केही देखिन्थेन। आवाज चाहिँ सुनिन्थ्यो। त्यसैले बाहिरबाट कोही बोलेको आवाज आउनेबित्तिकै उनका कान ठाडा हुन्थे। अझ महिला स्वर सुनियो भने त कौशिला नै भेट्न आइन् कि भन्ने सोचेर उनको मुटुको ढुकढुकी बढ्थ्यो।
तर कौशिलासँग दिनभरि नै भेट भएन।
अपराह्नतिर एक जना प्रहरी अधिकारी आए।
रिजालले उनलाई सोधे, ‘हामीलाई पक्राउ गर्नुको कारण के हो?’
ती अधिकारीले रिजालको प्रश्नको कुनै जवाफ दिएनन्। यत्ति भने, ‘तपाईं धेरै नबोल्नुस्। बोलेरभन्दा नबोलेरै तपाईं जित्नुहुनेछ।’
उनले किन त्यस्तो भने होलान् भन्ने रिजालले बुझेनन्।
रिजालले आफ्नो प्रश्न फेरि दोहोर्याए, ‘मलाई पक्राउ गर्दा मेरो परिवारको मान्छेलाई विराटनगर भेट्न आउनू भनिएको थियो। आज दिनभरिमा त उनीहरू पक्कै आए होलान्। तर हामीलाई आफ्नै परिवारसँग पनि भेट्न दिइएन। किन यस्तो भइरहेको छ? हामीबाट के त्यस्तो बिराम भएको छ र?’
यसपालि पनि ती प्रहरी अधिकारीले जवाफ फर्काएनन्। यत्ति भने, ‘तपाईंको कुनै पनि प्रश्नको जवाफ मसँग छैन। म फेरि भन्छु– बोलेरभन्दा नबोलेरै तपाईं जित्नुहुनेछ।’
दिनभरिमा आफूहरूलाई हेर्न आएका एक जना प्रहरी अधिकारी पनि यान्त्रिक परेपछि रिजालले उनको अगाडि अनुनय गर्नुको कुनै अर्थ देखेनन्।
उनी चुप्प लागे र ती प्रहरी अधिकारीको भनाइको आसय अड्कल गर्न थाले।
रिजालले सोचे — बोल्नमा भन्दा नबोल्नमै मेरो जित छ भन्नुको अर्थ यहाँ बढी बोलेँ भने मलाई चुप लगाउन शारीरिक यातना दिनुपर्ने हुन्छ, बरू नबोली बसेँ भने मलाई बिना कुनै चोट सम्बन्धित ठाउँमा जिम्मा लगाइनेछ!
यस्तो कुरा मनमा आएपछि रिजालले पनि बोल्नमा भन्दा नबोल्नमै आफ्नो कल्याण देखे। उनले जोगेन गजमेर र सुशील पोखरेललाई पनि यही कुरा सम्झाए।
साँझ ढल्दै गएपछि चौकीमा मान्छेको चहलपहल बढेको रिजालले महसुस गरे।
थुनुवा कक्षबाटै उनले सुने, कुनै प्रहरी अधिकारी फोनमा कसैलाई सूचना दिँदै थियो, ‘हामी अब एकैछिनमा यहाँबाट हिँड्छौं सर, यी तीन जनालाई लिएर भोलि बिहानै काठमाडौं पुग्छौं।’
रिजालले सोचे — थुनुवा कक्षमा हामीबाहेक अरू कोही छैनन्। त्यसैले हो न हो यिनीहरू हाम्रै बारेमा कुरा गर्दै छन्।
उनले फेरि सोचे — त्यसको मतलब के हामीलाई यहाँबाट काठमाडौं लगिँदैछ! तर किन!
नभन्दै त्यसको केही बेरमै उनीहरूलाई थुनुवा कक्षबाट बाहिर निकालियो।
आँगनमा एउटा प्रहरी जीप थियो। जीपको ढाँचा हेर्दा अघिल्लो रात उनीहरूलाई पक्राउ गर्न बिर्तामोड लगिएको जीप त्यही थियो कि भन्ने रिजाललाई लाग्यो।
प्रहरीले उनीहरूलाई जीपभित्र हुले।
एक जना अधिकृत र दुई जना बन्दुकधारी सिपाही पनि जीपमा चढे।
रिजालले जीपको झ्यालबाट चौकीको आँगनमा चारैतिर हेरे। उनका आँखा कौशिलालाई खोजिरहेका थिए।
चौकीको आँगन चकमन्न थियो। त्यहाँ कौशिलाको आभाषसम्म उनले पाएनन्।
टायरबाट कुइँय्य आवाज निकाल्दै जीप अघि बढ्यो र मूल सडकमा आएर उत्तरतर्फ हुइँकियो।
रिजालका आँखा टाढाटाढासम्म कौशिलालाई खोजिरहेका थिए। तर कौशिलाको आभाषसम्म उनले पाएनन्।
रिजालले पछि मात्र थाहा पाए — कौशिला उनलाई खोज्न बिहानै बिर्तामोडबाट विराटनगर आएकी रहिछन्। उनले तत्कालीन क्षेत्रीय पञ्चायतका सदस्य कृष्ण ढुंगेलमार्फत धुइँपत्ताल खोजी गरिछन्। तर कसैले पनि रिजालको सूचना दिन सकेनछन्। कोशी अञ्चलका तत्कालीन अञ्चलाधीश दानबहादुर शाहीलाई भेटेर सोधपुछ गर्दा उनले पनि रिजालको गिरफ्तारीबारे आफूलाई कुनै जानकारी नभएको जवाफ दिएछन्। आफूले चिनेको, जानेको सबलाई भेटेर सोधखोज गर्दा पनि खोजखबर पाउन नसकेपछि कौशिला निराश हुँदै बेलुकी बिर्तामोड फर्किछन्।
के कौशिला त्यस दिन रिजालको खोजखबर लिन उनलाई थुनेर राखिएको चौकीमा पनि आइपुगेकी थिइन्!
आइपुगिन् कि! के बेर!
टायरबाटकुइँय्य आवाज निकाल्दै चौकीको आँगनबाट मूल सडकमा निस्केर उत्तरतर्फ हुइँकिएको प्रहरी जीप इटहरी पुगेपछि पश्चिम लाग्यो र अनवरत गुडेको गुड्यै गर्यो।
रातको सन्नाटामा इञ्जिनको आवाजबाहेक जीपभित्र कसैको स्वर सुनिएको थिएन।
टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेल त आफूहरूलाई काठमाडौं किन लगिँदैछ भन्ने सोचेरै वाल्ल परेका थिए। चालक र बाँकी तीन जना प्रहरी पनि बाटोभरि एक शब्द चुइँक्क बोलेनन्।
बेलाबेला विपरीत दिशाबाट साढेझैं हान्निएर आएका रात्रिबस र ट्रकहरूको हेडलाइट ट्वाल्ल बलेको देखिन्थ्यो। पूर्वबाट छुटेका रात्रिबसहरू पनि उसैगरी हेडलाइट ट्वाल्ल बाल्दै प्रहरी जीपलाई उछिनेर अघि बढ्थे।
प्रहरी जीप चाहिँ आफ्नै गतिमा एकनासले कुदिरह्यो — न कसैलाई उछिन्ने हतार थियो, न तुरून्तै कहीँ पुगिहालुँ भन्ने हडबडी थियो।
लगभग आधी रातमा राजमार्गछेउको एउटा होटलमा जीप घ्याच्च रोकियो।
अगाडिको सिटमा बसेका प्रहरी अधिकृतले मुन्टो पछाडि फर्काएर रिजालतिर हेर्दै भने, ‘तपाईंहरूसँग पैसा छ भने खाना खान सक्नुहुन्छ। अब हामी यहाँबाट सिधै काठमाडौं जान्छौं, बाटोमा कहीँ अलमलिनौं।’
उनले यति भनेपछि सबै जना जीपबाट ओर्ले।
रिजालसँग भारत यात्रालाई चाहिन्छ भनेर जम्मा गरेको पैसा थियो। उनीहरूले त्यही पैसाले होटलमा खाना खाए। सँगै आएका दुई जना बन्दुकधारी सिपाहीसँग पैसा छैन रहेछ। त्यसैले उनीहरूले खाना खाएको पैसा पनि रिजालले नै तिरिदिए।
यही आत्मीयताले हो कि कुन्नि, हिँड्ने बेला एक जना सिपाहीले माया देखाउँदै भने, ‘काठमाडौंमा निकै जाडो छ। तपाईंसँग पैसा पुग्छ भने केही न्यानो लुगा किन्न सक्नुहुन्छ।’
रिजाललाई उनको सुझाव ठिकै लाग्यो।
काठमाडौंमा कति दिन बन्दी भएर बस्नुपर्ने हो ठेगान थिएन। त्यसैले रिजालले तीन जनालाई पुग्ने गरी तीनवटा पातला कम्बल किने। बाटोमा त्यही कम्बल ओढेर उनीहरूले आफ्नो ज्यान तातो पारे।
नागढुंगा कटेर काठमाडौं खाल्डोमा ओर्लिँदा बिहान भइसकेको थियो। घाम नलागेकाले काठमाडौं निकै चिसो थियो।
नागढुंगाको उचाइबाट तल हेर्दा डम्म कुहिरोले उपत्यका ढाकेको देखियो। जीपको झ्यालबाट छिरेको चिसो हावाले उनीहरूको ज्यान सिउसिउ भयो।
उनीहरूले त्यही पातलो कम्बल कस्सिने गरी जीउमा बेरे र कम्बलभित्र दुई हत्केला माड्दै न्यानो हुन खोजे।
रिजाल पहिले पनि धेरैचोटि काठमाडौं आइसकेका थिए। तर यसपालिको काठमाडौं आगमन निकै अत्यासलाग्दो थियो। उनलाई न गन्तव्य थाहा थियो, न काठमाडौं ल्याइनुको प्रयोजन।
मान्छे सबभन्दा बढी त्यतिखेर डराउँछ, जब उसलाई आफू हिँडिरहेको बाटो कहाँ पुगेर टुंगिन्छ भन्ने थाहा हुँदैन!
भुटानमा एउटा कहावत छ — जिन्दगीको यात्रामा तिमी आफू कहाँ जाँदैछौ भनेर अरूलाई थाहा दिनु जरूरी छैन, तर यदि तिमीलाई नै आफू कहाँ जाँदैछु थाहा छैन भने होसियार हुनू, तिमी संकटमा पर्न सक्छौ!
रिजाललाई पनि संकटको कालो बादल मडारिरहेको महसुस हुँदै थियो!
तीन जना भुटानी शरणार्थीलाई बन्दी बनाएर हिँडेको प्रहरी जीप महेन्द्र पुलिस क्लबको कम्पाउन्डभित्र छिर्यो।
त्यो सन् १९८९ नोभेम्बर १६ को दिन थियो।
त्यस दिन महेन्द्र पुलिस क्लबको त्यो साँघुरो कोठा — जहाँ चियाको कट्कटाउँदो दाग लागेको एउटा टेबुल र चारवटा कुर्सी थिए, जहाँ झ्यालमा चढाइएको हरियो रङको पर्दाले बाहिरबाट आउने उज्यालो छेकेर दिउँसै बत्ती बाल्नुपर्थ्यो, जहाँ भित्ताको रङ खुइलिएर टाटेपाटे परेको थियो, जहाँ भित्ताको एकठाउँ राजा वीरेन्द्र र रानी ऐश्वर्यको तस्बिर फ्रेम गरेर राखिएको थियो — त्यही कोठामा टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेलसँग प्रहरीले पालैपालो बयान लियो।
त्यही कोठामा रिजालको पन्ध्र पृष्ठ लामो बयान लिने क्रम चलिरहँदा प्रहरीको सञ्चार सेटमा सन्देश आएको थियो —
‘कति ढिला गरेको? ड्रुक एयर उड्ने बेला भइसक्यो!’
अध्याय छब्बीस
जेलभित्रको खेल — सिपाही, चुरोट र नेल
ड्रुक एयरको जहाज अब कुनै पनि बेला पारो विमानस्थलमा अवतरण गर्दै थियो।
अनिश्चित र अन्धकार भविष्य सम्झेर मन स्याइँय्य भए पनि सत्र महिनापछि आफ्नो भूमिमा पाइला टेक्न लागेको अनुभूतिले टेकनाथ रिजाल पुलकित थिए।
भुटान छाडेर हिँडेपछिका क्षणहरूको सम्झनाबाट बाहिर निस्केर उनले जहाजको झ्यालबाट बाहिर हेरे।
पश्चिम डाँडामाथि अस्ताउँदो घामको डल्लो बेतोडले पछाडि हुइँकिदै थियो।
रिजाललाई यस्तो लाग्यो, मानौं सम्झनाको फुस्रो डल्लो घामको गुलाबी डल्लोमा विलय हुँदैछ र पृष्ठभूमिको आकाशमा गुलाबी रङ पोखिँदैछ।
उनले देखे —
भुटानी डाँडाहरू पहिलेजस्तै अग्लिएका थिए। डाँडामाथि बनेका नेपाली शैलीका घरहरू पहिलेजस्तै यहाँको विकटताको शोभा बनेका थिए। डाँडाको फेदमा बनेका भुटानी शैलीका बौद्ध गुम्बाहरूले पहिलेजस्तै ङालुङ राजसत्ताको प्रतिनिधित्व गरेको थियो। भुटानी नेपालीहरूको रगत–पसिनाले सिँचेको खेतबारीमा पहिलेजस्तै फसल लहलहाएकै थियो। घना जंगल–पाखा फाँडेर भुटानी नेपालीहरूले बसालेको बस्ती पहिलेजस्तै आबाद थियो।
तर भुटानी डाँडाहरूजस्तै नेपालीको आत्मसम्मान अब पहिलेजस्तो अग्लिएको थिएन। डाँडामाथि बनेका नेपाली शैलीका घरहरू पहिलेजस्तो रहलान् कि नरहलान् निश्चित थिएन, किनभने ती घरलाई भुटानी ढाँचामा ढाल्ने काम जोडतोडका साथ सुरू भइसकेको थियो। बौद्ध गुम्बाहरूले प्रतिनिधित्व गर्ने ङालुङ राजसत्तामा पनि अब पहिलेजस्तो नेपालीहरूप्रति समभाव थिएन। खेतबारीमा फसल त लहलहाएकै थियो, तर ती खेतबारीको स्वामित्व भुटानी नेपालीहरूको हातबाट खोसिँदै थियो। जुन नेपालीहरूले घना जंगल–पाखा फाँडेर दक्षिण भुटान आबाद गरे, उनीहरूलाई नै यो भूमिबाट बेदखल गरिँदै थियो।
यी सब सम्झेर हो कि ड्रुक एयरको जहाजले एक्कासि आफ्नो उचाइ घटाएर हो, टेकनाथ रिजालको मुटु फेरि एकचोटि स्याइँय्य गर्यो!
उनले आफ्नो आँखाअगाडि पारो विमानस्थलको धावनमार्ग देखे। भुटानी ढाँचामा बनेको विमानस्थल टर्मिनल देखे। वरिपरि पाँच हजार मिटरभन्दा अग्ला हिमाल र पहाडहरू देखे।
र, देखे — पारो विमानस्थल नजिकै बाह्रै महिना छङछङ बग्ने पारो–छु नदी।
त्यसको एक निमेषमै काठमाडौंबाट उडेको ड्रुक एयरको जहाज क्वाइइइँ आवाज निकाल्दै पारो विमानस्थलमा अवतरण गर्यो।
एकछिन धावनमार्गमा बेतोड कुदेपछि टर्मिनल भवन अगाडि जहाज टक्क अडियो।
दुइटा सैनिक जीप हुइँकिदै जहाजको छेउसम्म आए।
यात्रुहरूमध्ये सबभन्दा पहिला राजा जिग्मे सिंघे वाङचुकका प्रमुख अंगरक्षक कर्नेल भी नाम्गेल ओर्लिए र उनलाई पछ्याउँदै टेकनाथ रिजाल, जोगेन गजमेर र सुशील पोखरेल ओर्लिए।
कर्नेल नाम्गेलले रिजाललाई एउटा जीपमा बस्न इसारा गरे। उनी आफू पनि त्यही जीपमा चढे।
गजमेर र पोखरेललाई भने अर्को जीपमा चढाइयो।
तीन जना भुटानी बन्दी बोकेका दुई जीप दुई विपरीत दिशातिर कुदे। त्यसपछि बल्ल जहाजका अन्य यात्रुलाई ओर्लिन अनुमति दिइयो।
विमानस्थलबाट बाहिर निस्केर मूल सडक नआइपुग्दासम्म रिजाल आफूलाई कहाँ लगिँदैछ भन्नेमा बेखबर थिए। जसै गाडीले थिम्पु राजमार्ग समात्यो, उनले राजधानी लग्न खोजिएको हो कि भन्ने अड्कल काटे।
पारोबाट थिम्पुसम्मको दुरी झन्डै पचास किलोमिटर छ। पारो–छु नदी पछ्याउँदै दक्षिण झर्ने यो राजमार्ग छुजोम दोभानको पुल तरेपछि थिम्पु–छु नदीको किनारै किनार उत्तर चढ्छ। पहाडी जंगलको बीचोंबीच नदी कलकलाउने, चराहरू चिरबिराउने र शितल हावा मन्दमन्द बग्ने यो राजमार्गमा सफर गर्दा रिजाल पहिले खुब रमाउँथे। उनलाई प्रकृतिको बीचमा चराजस्तै उडिरहेझैं लाग्थ्यो, माछाजस्तै बगिरहेझैं लाग्थ्यो। तर यति बेला यही राजमार्ग उनलाई विरान लाग्दै थियो।
मान्छेको आँखाले जे देख्छ, त्यो दृश्य हो, सौन्दर्य देख्ने त उसको अन्तरआत्माले हो! रिजालको आँखामा बसेको दृश्य उही थियो, तर अन्तरआत्माको नजरमा यसपालि उही सौन्दर्य थिएन।
उनको चेतना गुम थियो, त्यसैले उनको चक्षुले चहलपहल देखेको थिएन, मनको चित्कार मात्र सुन्दै थियो!
करिब डेढ घन्टाको अविराम यात्रापछि उनीहरू राजधानी थिम्पु पुगे।
मोतीथाङ गेस्ट हाउसमा पुगेर सैनिक जीप रोकियो। गेस्ट हाउसलाई बन्दुकधारी सैनिकहरूले चारैतिरबाट घेराबन्दी गरेका थिए। संगीन तेर्स्याएर लश्करै उभिएका ती सैनिक देख्दा रिजाललाई यस्तो लाग्यो, मानौं भुटानी दरबारका अंगरक्षकहरू जम्मै उनको सुरक्षामा खटिएका छन्।
दुई जना बन्दुकधारी सैनिकले रिजाललाई गेस्ट हाउसभित्र पस्न इसारा गरे।
कर्नेल नाम्गेल उनलाई छाडेर त्यही जीपमा फर्किन खोज्दै थिए। रिजालले एकछिन नाम्गेलसँग कुरा गर्ने अनुमति मागे।
नाम्गेलले ‘हुन्छ’ भन्ने इसारामा हात हल्लाएपछि रिजालले भने, ‘मेरो अनुमान गलत छैन भने मलाई अब केही दिन यही गेस्ट हाउसमा राखिन्छ होला। त्यसपछि यहाँबाट अरू कुनै जेलमा सारिन्छ होला। तर डासो (माननीय) नाम्गेल, तपाईंलाई मेरो अवस्था थाहा छँदैछ। मलाई नेपालबाट पक्राउ गर्दा नै एकसरो कपडामा उठाएर ल्याइएको थियो। त्यसैले मसँग फेरफार गर्ने लुगाधरि छैन। आवश्यक सरसामानहरू केही छैनन्। मेरो यो अवस्था विचार गरेर मानवीय नाताले पनि केही मद्दत गर्नु हुनेछ भन्ने आशा लिएको छु।’
रिजालको अनुनयले नाम्गेलको मनलाई रत्तिभर छोएन। उनले कड्किँदै जवाफ दिए, ‘डोन्ट एक्सपेक्ट एनिथिङ फ्रम मी, यू ह्याभ टू पे फर ह्वाट यू डिड।’ (मबाट कुनै सहायताको आशा नराख्नू। तिमीले जे गर्यौ, त्यसको मूल्य तिमीले चुकाउनुपर्नेछ।)
नाम्गेलको जवाफ सुनेर रिजाल खङरङ्ग भए।
नाम्गेलले जति कड्केर जवाफ दिए, उनी चढेको जीप त्यति नै कड्केर त्यहाँबाट हुइँकियो।
रिजाललाई बन्दुकधारी सैनिकहरूले दायाँ–बायाँ छोपेर गेस्ट हाउसभित्र लगे।
भित्र पुगेपछि रिजालले सम्झे — मोतीथाङको यो गेस्ट हाउस सन् १९८४ मा भारतका तत्कालीन प्रधानमन्त्री राजीव गान्धीको राजकीय भ्रमण बेला उनको आतिथ्यका लागि बनाइएको थियो। पछि पश्चिम बंगालका मुख्यमन्त्री ज्योति वशु लगायत अन्य राजकीय पाहुनाहरूलाई पनि यही गेस्ट हाउसमा राखियो। राजा जिग्मे सिंघे वाङचुक ती पाहुनासँग भेटघाट र छलफल गर्न आउँदा अक्सर रिजाल पनि सँगै हुन्थे।
रिजालले सम्झे — राजा जिग्मे सिंघे वाङचुकले भारतीय प्रधानमन्त्री राजीव गान्धीसँग उनको परिचय गराउँदै बडो गर्वसाथ भनेका थिए, ‘मिट माई फ्रेन्ड एन्ड कलिग टेकनाथ रिजाल, ही इज द पिलर अफ साउदर्न भुटान।’ (मेरा मित्र तथा सहकर्मी टेकनाथ रिजाललाई भेट्नहोस्, उनी दक्षिण भुटानका खम्बा हुन्।)
उनले यो पनि सम्झे — जुन गेस्ट हाउसमा उनले राजाको प्रतिनिधिका रूपमा राजकीय पाहुनाहरूलाई भेटे, आज त्यही गेस्ट हाउसमा उनलाई राजद्रोहीका रूपमा बन्दी बनाइएको छ!
यस्तो सोचले रिजालको मन भरंग भयो।
उनलाई गेस्ट हाउसको सबभन्दा साँघुरो कोठामा राखिएको थियो, जहाँ एउटा खाट र खाटमाथि पुराना बोराको बिछ्यौनाबाहेक अरू केही थिएन। त्यही खाट पनि सैनिकहरूले बाहिर निकाले र बोराको बिछ्यौना भुइँमा ओछ्याइदिए। अनि एउटा पुरानो कम्बल भुइँमा फ्यात्त मिल्काएर ढोकामा ताल्चा मारिदिए।
कोठामा एउटा सानो झ्याल थियो। त्यही झ्याल पनि ढ्यामढुम बन्द गरेर कालो रङको बाक्लो पर्दा चढाइएको थियो। त्यसमाथि ढोकाधरि थुनिएपछि हावाको आउजाउ नै रोकियो। शौचालयको ह्वास्स दुर्गन्धले साँघुरो कोठामा सास फेर्नै सकस हुन थाल्यो।
रिजालसँग अर्को उपाय थिएन। दक्षिण भुटानी जनताको भलाइका लागि आवाज उठाएको बदलामा यही उपहार उनले राजाबाट पाएका थिए।
राजाले आफ्ना रैतीको उपकार गरून्, वा उपेक्षा; त्यसमा उजुरबाजुरको रिवाज हुँदैन — यही नै राजतन्त्र हो!
राजतन्त्रको रिवाजसँग भलिभाँति परिचित रिजालले साँघुरो कोठाको सकस र दुर्गन्धको दुर्गति नै अब आफ्नो नियति हो भन्ने स्वीकार गरिसकेका थिए।
उनको तन थकानले गलेको थियो। मन तनावले कामेको थियो। भोकले पेट हुँडलिएको थियो। मुटुको ढुकढुकी कानले प्रस्ट सुन्दै थियो।
उनी आफ्नो भोक निमोठेर भुइँमा ओछ्याइएको चिसो बिछ्यौनामा पल्टे।
आँखा चिम्ले।
र, एकैछिनमा झपक्क निदाइहाले।
मन जति बढी बिसन्चो भयो, ज्यानले उति बढी सन्चो खोज्छ!
पहिलो रात यसै बित्यो — न कोही सवालजवाफ गर्न आयो, न कसैले भोक–प्यासको सोधखोज गर्यो।
बिहान उठ्दा रातभरिको चिसो र कक्रक्क सुताइले ज्यान कटकटी खाँदै थियो। जाडोले दाँत किट्किटाउँदै थिए। ओठमुख नीलो भइसकेको थियो।
आँखा खुल्नेबित्तिकै उनले जोगेन गजमेर र सुशील पोखरेललाई सम्झे। आफूसँगै पक्राउ परेका ती दुई युवालाई कहाँ लगेर कुन हालतमा राखियो होला भन्ने तर्कनाले उनको मनमा खलबली मच्चियो।
दस बजेतिर गेस्ट हाउसमा चहलपहल सुरू भयो। रिजाल कान ठाडा पारेर बाहिरका गतिविधि अनुमान लगाउँदै थिए।
त्यही बेला मेजर सांगे थिन्ले कोठाभित्र छिरे।
उनले रिजाललाई कुनै किसिमको औपचारिक अभिवादन गर्न जरूरी ठानेनन्। सिधै भने, ‘मलाई तपाईंको लिखित बयान लिन राजाबाट हुकुम भएको छ।’
‘कस्तो बयान?’ रिजालले पनि ठाडै सोधे।
‘अहिले भुटानको राजसत्ताविरूद्ध जुन पर्चा दक्षिण भुटानी जनसमुदायमाझ प्रचारमा ल्याइएको छ, त्यो पर्चा वितरण गर्ने टोलीको नेता को हो?’ मेजर थिन्लेले प्रश्न गरे, ‘दक्षिण भुटानीहरूको खास माग के हो? राजासँग उनीहरूको गुनासो के हो? उनीहरूको गुनासोको समाधान कसरी गर्न सकिन्छ?’
यी कुनै पनि प्रश्न रिजालका लागि नौला थिएनन्। यसबारे राजासँग लामो छलफल भइसकेको थियो। रिजालले आफ्नो धारणा प्रस्ट राखिसकेका थिए। राजाले औपचारिकताका लागि तिनै विषयमा लिखित बयान माग गरेका होलान् भन्ने रिजालले अड्कल काटे।
जहाँसम्म भुटानको राजसत्ताविरूद्ध प्रचारमा ल्याइएको पर्चाको कुरा छ, त्यो भुटान मानवअधिकार सार्वजनिक मञ्चले प्रकाशन गरेको ‘भुटानः वी वान्ट जस्टिस’ भन्ने जानकारीपत्र थियो। साम्चीस्थित नेसनल इन्स्टिच्युट अफ एजुकेसनका अध्यापक रतन गजमेरले तयार पारेको उक्त जानकारीपत्रले नेपाली समुदायमाथि राज्यबाट भएको अन्यायको आलोचना गरेको थियो। यसले भुटानी नेपालीहरूलाई आन्दोलित बनाउनुका साथै यही पर्चाका कारण भुटानी प्रशासन तिलमिलाएर आन्दोलनकारीहरूमाथि व्यापक धरपकड गरेको थियो।
मेजर थिन्लेले राजाबाट सोधनी भएका प्रश्न सँगसँगै केही पाना कागज र एउटा कलम रिजालका अगाडि राखिदिए।
रिजाललाई ती प्रश्नको जवाफ दिनु कुनै ठूलो कुरा थिएन। तर उनको मनोदशा अस्थिर थियो। त्यसैले आफ्नो जवाफ सही ढंगमा लेख्न उनी असमर्थ महसुस गर्दै थिए।
‘म तपाईंलाई आफ्नो बयान लेखेर दिन्छु, तर त्योभन्दा अगाडि केही खानेकुरा खान पाए म धन्य हुने थिएँ,’ रिजालले मेजर थिन्लेलाई भने, ‘मैले तीन दिनदेखि राम्ररी खाएको छैन।’
रिजालको यस्तो आग्रह सुनेर थिन्ले जंगिए, ‘मैले राजाको हुकुम मान्नु कि तपाईंलाई खाना खुवाउनु?’
‘म आफ्नो लागि तपाईंसँग बयान लिन आएको होइन,’ थिन्लेले अगाडि भने, ‘यो राजाको हुकुम हो। राजाको हुकुम कस्तो हुन्छ भनेर तपाईंलाई मैले सम्झाइरहनुपर्दैन। त्यसैले आधी घन्टामा खुरूक्क आफ्नो बयान लेखेर दिनुस्। नत्र तपाईंले बयान दिन अस्वीकार गर्नुभयो भनेर राजासमक्ष जाहेरी गर्न म बाध्य हुनेछु।’
रिजालसँग अब मेजर थिन्लेको मुखबाट झरेको राजाज्ञ शिरोपर गर्नुको कुनै विकल्प रहेन।
उनले कागज र कलम टिपे र मनमा उकुसमुकुस भावना सबै पोखिदिए।
यसअघि राजासँगको छलफलमा दक्षिण भुटानी जनतालाई परेको सकसबारे उनले जे–जे भनेका थिए, तिनै कुरा सर्सर्ती कागजमा लेखिदिए। करिब एक घन्टामा बयान तयार भयो।
मेजर थिन्लेले बयानपत्र उठाए र एक नजर हेर्दा पनि नहेरी, एक बचन बोल्दा पनि नबोली कोठाबाट फरक्क फर्के।
उनी निस्केलगत्तै काँधमा हतियार भिरेका चार जना सिपाही ग्वारग्वार्ती कोठाभित्र छिरे र भुइँको बिछ्यौनामा टुक्रुक्क बसेका रिजाललाई चारतिरबाट घेरा हाले।
गेस्ट हाउस वरिपरि दरबारका अंगरक्षक तैनाथ गरिएको रिजालले देखेका थिए। जुन साँघुरो कोठामा उनलाई थुनिएको थियो, त्यसको ढोकाबाहिर पनि हातहतियार भिरेका सिपाहीहरूले पहरा दिइरहेकै थिए। यतिले नपुगेर उनलाई कैद गरिएको कोठाभित्रै चारतिरबाट पहरा दिनुपर्ने आवश्यकता किन पर्यो रिजालले बुझेनन्!
ती हतियारधारी सिपाहीहरू रिजाल बसेको बिछ्यौनाको चार कुनामा उभिएका थिए। उनीहरू न रिजालसँग एक शब्द बोल्थे, न आपसमा कुराकानी गर्थे।
चार कुनाबाट तेर्सिएका चारवटा बन्दुकका नालभन्दा भयंकर ती चार जना सिपाहीका चार जोडी आँखा थिए, जो एकनिमेष झिमिक्क नगरी रिजाललाई टुलुटुलु हेर्दै थिए।
निरन्तर।
मान्छेलाई आफ्नो हरेक चाल निगरानीमा छ भन्ने अनुभूति मृत्युभन्दा डरलाग्दो हुँदो रहेछ भन्ने रिजालले पहिलोचोटि चाल पाए।
उनले सोचे — के म भुटानको निम्ति यति ठूलो खतरा भएँ?
किन भएँ?
कुनै बेला राजाले आफ्नो परममित्र ठानेको मलाई किन आज राजाको प्रधानशत्रु मानियो?
मसँग न सेना छ, न हातहतियार; खाली अन्यायविरूद्ध आवाज बोकेर हिँडेको म एक्लो निरीह व्यक्तिबाट भुटानको राजसत्ता किन यति भयभीत?
उनले सोचे — सायद तानाशाहलाई बन्दुकको भन्दा विचारको डर हुन्छ!
ऊ आगो देखी बरू डराउँदैन, तर जनताको आवाज देखी थरथर काम्छ!
बिछ्यौनाको चार कुनामा उभिएर दिनरात, चौबीसै घन्टा छायाझैं पछ्याइरहने ती चार जना सैनिकले रिजाललाई मानसिक यातना दिएर विक्षिप्त अवस्थामा पुर्याउन कुनै कसर छाडेनन्।
सबभन्दा पहिला त उनलाई कहिल्यै सुखसँग खान दिएनन्। उनीहरू आफ्नो मनखुसी कहिले अलिकति दाल र थोरै भात ल्याएर अगाडि राखिदिन्थे। कहिले दाल मात्र ल्याउँथे, भात ल्याउँथेनन्। अनि कहिले भात ल्याउँथे, दाल ल्याउँथेनन्। तरकारी त बिरलै ल्याए होलान्। उनीहरूले ल्याउने दाल पानीझैं चिसो र तन्द्रंग झोल मात्र हुन्थ्यो। कनिकाको भात कहिले गिलो न गिलो हुन्थ्यो, कहिले साह्रो न साह्रो।
यस्तो अवस्थामा पनि भोकले आलसतालस रिजाल एकचोटि पनि मुन्टो नउठाई दालभात वा दाल वा भात कपाकप खान्थे। उनलाई खानाको स्वाद कहिल्यै हेक्का भएन। रित्तो पेटलाई स्वाद चाख्ने छुट पनि कहाँ हुन्छ र!
दालभात खाउञ्जेल पनि ती चार सैनिकका चार जोडी आँखा रिजाललाई नै घुरिरहेका हुन्थे।
तिनका आँखाका नानी रिजालको हातको चालसँगै चलमलाउँथे। हाल थालतिर हुँदा थालतिरै हेर्थे, हात जसै मुखमा जान्थ्यो, आँखाका नानी पनि मुखतिरै जान्थे।
बेलाबेला रिजाल खाँदाखाँदै टक्क अडिएर भित्तातिर हेर्थे। त्यो बेला तिनका आँखा पनि भित्तातिरै सर्थे।
रिजालले दलिनतिर हेर्दा तिनीहरू पनि दलिनतिरै हेर्थे।
तिनको यस्तो अस्वाभाविक हाउभाउ देखेर रिजाललाई आफू चारवटा ऐना लिएर घुमिरहेझैं लाग्थ्यो र ती ऐनामा आफ्नो पल–पलको चित्र हेरिरहेझैं भान हुन्थ्यो।
यति मात्र कहाँ हो र! रिजाल शौचालय जाँदा पनि ती चारै जना सिपाही पछि लागेर आउँथे र ढोकाबाहिरबाट क्वारक्वार्ती हेरिरहन्थे।
राति निदाउँदा पनि ती चार जना एकटक उनैलाई हेरिरहेका हुन्थे। निद्रामा कहिलेकाहीँ उनी झल्याँस्स ब्युँझिन्थे। यसरी ब्युँझिँदा माथिबाट आठवटा आँखा क्यामराझैं उनलाई नै घुरिरहेका हुन्थे। रातको अन्धकारमा ठिंग उभिएका चार आकृति र ती चार आकृतिको टुप्पोमा क्यामराको लेन्सझैं चमचम चम्किरहेका आठवटा आँखा देखेर कहिलेकाहीँ त रिजालको हंसले ठाउँ छाड्थ्यो। उनी लामो लामो सास तान्दै जुरूक्क उठ्थे। त्यो बेला आफू कहाँ र कुन अवस्थामा छु भनेर मापन गर्न र होसहवासमा फर्किन रिजाललाई अलि बेर नै लाग्थ्यो।
आफ्नो शिरमाथि भूतझैं मडारिरहेका ती सिपाहीको ड्युटी हरेक रात फेरिन्थ्यो कि भन्ने रिजाललाई लाग्छ। किनभने, हरेक दिन बिहान उठ्दा उनलाई हेरिरहने आँखा अर्कै हुन्थे।
सुत्ने बेला एउटा आँखाको पहरा, उठ्ने बेला अर्कै!
आफूलाई निरन्तर हेरिरहने आँखा फेरिँदा उनलाई ऐनामा आफ्नो छाया फेरिएझैं अनुभूति हुन्थ्यो। यस्तो लाग्थ्यो, मानौं उनी सुत्ने बेला एउटा थिए, उठ्दा अर्कै भइसके!
सुत्ने बेलाका टेकनाथ रिजाल रातको अन्धकारमा गुम भइसक्यो र उठ्दा जो छ, ऊ अर्कै टेकनाथ रिजाल हो! र, यो नयाँ टेकनाथ रिजाल जो छ, उसलाई पुरानो टेकनाथ रिजालले चिन्दैन!
यही क्रम हरेक दिन दोहोरिन्थ्यो र हरेकचोटि उनी आफूलाई नयाँ रूपमा पाउँथे।
गेस्ट हाउसका ती बन्दी दिनहरूमा रिजालले थुप्रै रूप फेरे। यति रूप फेरे, कहिलेकाहीँ त उनलाई आफ्नो वास्तविक रूप कुन हो भन्ने नै अलमल हुन्थ्यो।
उनलाई भ्रम हुन्थ्यो — उनी वास्तवमा को हुन्?
मान्छे हुन् या मान्छेको छाया?
साँचो हुन् या सपना?
यही साँचो र सपनाको भ्रममा कयौं दिन बिते। सायद कयौं साता वा कयौं महिना बिते, किनभने यति बेलासम्म रिजाल समयको सीमाभन्दा टाढा पुगिसकेका थिए।
कुनै पनि मान्छेको निम्ति समयको सीमा भनेको उसको तन र मनलाई बाँध्ने परिधि हो। जसरी फुटबल खेलाडीहरूलाई मैदान वरिपरिको सेतो धर्काले बाँध्छ, हरेक मान्छेको जिन्दगीलाई समयको सीमाले बाँधेको हुन्छ। जसरी धर्कोबाट बाहिरिएको भकुन्डोलाई ‘आउट’ भनिन्छ, त्यसरी नै समयको सीमाबाट बाहिरिएको मान्छे जिन्दगीबाटै ‘आउट’ भए बराबर हुन्छ। उसलाई न आफ्नो होस रहन्छ, न अर्काको। न हिजो के भयो भन्ने होस रहन्छ, न आज के भइरहेको छ वा न भोलि के होला भन्ने होस रहन्छ। ऊ लट्टाईबाट चुँडिएको चंगाझैं अचेत मनको हावामा कावा खाइरहन्छ।
टेकनाथ रिजाललाई पनि चार जोडी आँखाको निरन्तर हेराइले लगभग त्यस्तै अचेत अवस्थामा पुर्याएको थियो।
एकदिन त यस्तो घटना भयो, त्यो अचेत मनले पनि शरीरको साथ छाड्यो।
त्यस दिन उनी ती चार सिपाहीका लाटोकोसेरे आँखाबाट बच्न कम्बलले ग्वाम्लांग मुख ढाकेर पल्टेका थिए। मुटुको ढुकढुकी कानसम्म सुनिँदै थियो। उनले लामो समयसम्म कम्बल हटाउँदै हटाएनन्। आँखा खोलेर ती राक्षसी आँखातिर हेर्दै हेरेनन्। त्यही बेला अचानक उनको कानको जाली फुट्लाझैं गरी ट्वाँ... ध्वनि कोठाभरि गुञ्जियो। सुरूमा त उनले सहेरै बसे। बिस्तारै ध्वनि यति चर्को हुँदै गयो, उनलाई आफ्नो दिमाग फुटेर गिदी छ्यालब्याल होला कि भन्ने डर भयो।
धैर्यको बाँध टुटेपछि उनले आत्तिँदै कम्बल हटाए र ती चार सिपाहीलाई हेरे।
उनले सोचे — यो कर्कश ध्वनि त यी सिपाहीहरूले पनि सुनिरहेकै होलान्, तर यिनको अनुहारमा कहाली किन छैन? यो कर्कश आतंकको शिकार मै मात्र किन छु?
उनलाई ती सिपाहीले आवाजको आतंकबाट बच्न कानमा कुनै यन्त्र जोडेका छन् कि भन्ने लाग्यो।
उनले दुवै हत्केलाले दुवै कान थुनेर आवाजबाट बच्न खोजे। तर आवाज यति चर्को थियो, उनको हत्केलामा त्यसलाई छेक्ने हैसियत थिएन।
यसरी घन्टौं घन्टा एउटै ध्वनि एकोहोरो कानमा बजेको बज्यै गर्दा रिजालको शरीर शिथिल हुँदै जान्थ्यो।
उनी बेहोस हुन्थे।
अलि बेरमा बौरिन्थे, फेरि बौरिनासाथ त्यही आवाजको जकडमा बेरिन्थे।
बौरिने र बेरिने यो क्रम पनि कयौं दिन चलेको चल्यै गर्यो — सायद कयौं साता वा कयौं महिना नै चल्यो, किनभने रिजाल समयको सीमाबाट भकुन्डोझैं ‘आउट’ भइसकेका थिए।
भुटानको सबभन्दा भव्य गेस्ट हाउसको सबभन्दा भयानक कोठामा बन्दी बनाइएका टेकनाथ रिजालको तन मात्र होइन, मन पनि पूर्णतया सैनिक कब्जामा थियो।
सायद सैनिकहरूले चाहेको पनि यही थियो।
किनभने, तन कब्जामा लिनु त गाह्रो काम हुँदै होइन, कसैलाई पक्राउ गरेर झ्यालखानामा थुन्यो भने उसको तन कब्जामा आइहाल्यो। तर तनको कब्जाले उसलाई चल्न–हल्नबाट त रोक्न सक्छ, विचारको उडान छेक्न सक्दैन। मन कब्जामा लिनु भनेको चाहिँ बन्दीको सोच्ने, सम्झिने, विचार र तर्क गर्ने र आफ्नो अवस्था मूल्यांकन गर्ने शक्तिसमेत वशमा लिनु हो। यो भनेको बन्दीलाई शारीरिक र मानसिक रूपमै निस्तेज पार्नु हो। उसको चेतनालाई शून्यमा धकेल्नु हो। र, उसलाई सास चलिरहेको लासमा परिणत गर्नु हो।
भुटानी राजसत्ता सायद टेकनाथ रिजाललाई पनि चेतनाशून्य बनाउन चाहन्थ्यो।
उनलाई सास चलिरहेको लासमा परिणत गर्न चाहन्थ्यो।
जब रिजाल होसहवास हराएको लासमा परिणत हुन्थे, सेनाका उच्च अधिकारीहरू सवालजवाफ गर्न कोठामा आउँथे। उनलाई मिथ्या आरोपहरू लगाएर उक्साउँथे। यस्तो बेला जब रिजाल उत्तेजित हुन्थे, तब ती अधिकारीहरू झन् नचाहिँदा आरोप लगाएर उनलाई थप उक्साउँथे। रिजालसँग रिसाएको र उनलाई गाली गरेको अभिनय गर्थे। पीडा सहन नसकेर रिजाल रून र छट्पटाउन थाल्थे।
कहिलेकाहीँ उनलाई अप्रासंगिक प्रश्नहरू सोधेर आजित पार्थे। यस्तो बेला जब रिजाल झर्किन्थे, तब उनको झर्कोफर्को देखेर ती अधिकारीहरू अट्टहास गर्दै हाँस्थे।
कहिलेकाहीँ चाहिँ केरकार गर्न आएका सैनिक अधिकारीहरू बेतुकका कुरा झिकेर हाँसोठट्टा पनि गर्थे। यस्तो बेला जब रिजाल मुर्छा पर्ने गरी हाँस्थे, तब एक्कासि यस्तो प्रसंग उप्काउँथे, जसले उनलाई तत्काल क्वाँक्वाँ रून बाध्य पार्थ्यो।
एकैछिनमा खुसीले नाचूँ नाचूँ लाग्ने बनाउँथे, अनि पलभरमै छाती चिरिने पीडा दिएर मरूँ मरूँ लाग्ने अवस्थामा पुर्याउँथे।
रिस र आवेग, हाँसो र आँशुको मिसमासमा रिजालको अचेत मनले आफ्नो वास्तविक मनोदशा के हो भन्ने नै पत्तो पाउँदैनथ्यो।
उनलाई साँच्चै भ्रम हुन्थ्यो — उनी रिसाएका छन् कि खुसाएका छन्?
उत्तेजित छन् कि शान्त छन्?
सुखी छन् कि दुःखी छन्?
यही सुख र दुःखको भ्रममा कयौं दिन बिते — सायद कयौं साता वा महिना नै बिते, किनभने रिजाल समयको सीमाबाट भकुन्डोझैं ‘आउट’ भइसकेका थिए।
भ्रमको संसारमा चमेरोझैं तुर्लुंग झुन्डिएपछि रिजाल मानसिक रूपमा यति विक्षिप्त हुन्थे, उनलाई वास्तविक–अवास्तविक नानावली खयालहरू पछ्याउन आइरहेको भान हुन्थ्यो।
त्यो खयालमा उनी कोकोहोलो मच्चाइरहेका आफ्ना कलिला छोराहरूलाई देख्थे, जो उनलाई सम्बोधन गर्दै भनिरहेका हुन्थे — हामीलाई छाडेर कहाँ जानुभयो बुवा? हेर्नुहोस् त हाम्रो कस्तो बिजोग छ!
छोराहरूको यस्तो असहाय हालत उनी सहनै सक्थेनन्। उनी छाती पिटीपिटी रून थाल्थे र एकछिनमा आफूलाई सम्हाल्दै भन्थे, ‘म जहाँ छु ठिक छु। म तिमीहरूको भविष्यका लागि यहाँ आइपुगेको छु। भुटानी नेपालीहरूलाई अन्यायबाट मुक्ति दिलाउने अभियानमा लड्दा लड्दै म यहाँ आइपुगेको छु।’
उनी अगाडि भन्थे, ‘तिमीहरू हौसला राख्नू। म तिमीहरूको भविष्य अन्धकार हुन दिन्नँ। एक मुठी सास बाँकी रहुञ्जेल म तिमीहरूको हक–अधिकारका लागि लडिरहनेछु।’
बेहासीमा रिजालले भनेका यी हक–अधिकार र लडाइँका कुराहरू उनका पहरेदार सिपाही आफ्नो डायरीमा नोट गर्थे, टेपमा रेकर्ड गर्थे।
कहिलेकाहीँ पत्नी कौशिला उनको खयालमा विलाप गर्न आइपुग्थिन्, जो उनलाई सम्बोधन गर्दै भनिरहेकी हुन्थिन् — तपाईं जेल जानुभयो, यहाँ छोराहरूको बिजोग छ। खर्चवर्च केही छैन। चिनेजानेका इष्टमित्र सब गुहारिसकेँ। सबै मुखले ठिक्क पार्छन्, सहयोग गर्न अघि सर्दैनन्। अब कसैबाट केही होला जस्तो छैन।
कौशिलाको यस्तो विलापले रिजाललाई आहत बनाउँथ्यो। उनी सहनै सक्थेनन् र संकटको घडीमा क–कसले साथ दिन सक्छन् भनेर तिनको नाम लिन्थे। यसरी नाम लिने क्रममा दक्षिण भुटानमै रहेका वा भारतका सिक्किम वा आसामतिर बस्ने भुटानी नेपालीहरूका नाम पनि आउँथे, जो लडाइँमा उनको साथ छन्।
बेहोसीमा रिजालले उच्चारण गर्ने नामहरू ती पहरेदार सिपाही आफ्नो डायरीमा नोट गर्थे, टेपमा रेकर्ड गर्थे।
एकदिन त उनको खयालमा साख्खै दाजु आए र सोधे — तँ त जेल गइहालिस् टेकनाथ, अब भुटानी नेपालीहरूको लडाइँ कसले हाँक्छ? यो आन्दोलनमा तँलाई सहयोग गर्ने, समर्थन गर्ने र तेरो अनुपस्थितिमा आन्दोलन हाँक्ने मानिसहरू को–को छन् हौ?
साख्खै दाजुले यस्तो प्रश्न सोधेपछि रिजालले आन्दोलनमा संलग्न आफ्ना साथीहरूका नाम फर्रर लिए।
उनले बेहोसीमा लिएका नामहरू ती पहरेदार सिपाहीले आफ्नो डायरीमा नोट गरे, टेपमा रेकर्ड गरे।
खासमा भुटानी सेनाको रणनीति नै यही थियो — जब कैदीको तन र मन पूर्ण रूपले कब्जामा आउँछ, तब अचेत अवस्थामै ऊसँग केरकार गर्ने।
रिजाललाई पनि चरम यातनाबाट मानसिक विक्षिप्तताको अवस्थामा पुर्याएर केरकार गरिँदै थियो। यही क्रममा सेनाका सिपाहीहरूले नै कहिले केटाकेटीझैं कोकोहोलो गर्दै त कहिले कौशिला बनेर विलाप गर्दै, अनि कहिले साख्खै दाजुको रूप धारण गरेर सहानुभूति देखाउँदै कुरा धुत्न खोजेका थिए।
यो रणनीतिमा भुटानी सेना सफल पनि भयो, किनभने रिजालले बेहोसीमा बर्बराउँदै दिएको कथित ‘बयान’ कै आधारमा थुप्रै भुटानी नेपालीहरू पक्राउ परे। उनीहरूलाई चरम यातना दिइयो। कतिको त ज्यानै लिइयो।
यस्तो छलकपटपूर्ण ‘बयान’ कति दिन चल्यो, रिजाललाई ठ्याक्कै हेक्का छैन। किनभने, उनी त समयको सीमाबाटै ‘आउट’ भइसकेका थिए।
‘बयान’ को सिलसिला सकिएपछि एकदिन मेजर सांगे थिन्ले रिजाललाई बन्दी बनाइएको कोठामा आए र भने, ‘मैले तपाईंको बयान राजासमक्ष बिन्ती गरेँ। राजा तपाईंको बयानबाट खुसी हुनुहुन्न। त्यसैले आज बिहान मलाई बोलाएर तपाईंलाई गोडामा नेल ठोक्नू भन्ने हुकुम भएको छ।’
उनले यति भनिसकेपछि ती चार जना सिपाहीले रिजाललाई घिसार्दै बाहिर लगे र उनको गोडामा फलामको नेल ठोक्न थाले।
नेल ठोक्दा थुप्रैचोटि फलामे घनको मार रिजालको नलीहाडमा पर्यो। उनी पीडाले भुतुक्कै भए। आँखाबाट आँशु र मुखबाट चित्कार एकैचोटि फुटे।
त्यस दिन नेल ठोक्दा लागेका चोटका दाग अझै रिजालका गोडामा छँदै छन्।
नेल ठोकेर साँघुरो कोठाभित्रै हल–न–चल लडाएको केही दिनपछि मेजर सांगे थिन्ले फेरि रिजाललाई भेट्न आए।
भुइँमा लम्पसार रिजालतिर हेर्दै उनले भने, ‘म राजाको सन्देश लिएर आएको हुँ।’
रिजालले मुन्टो उठाएर थिन्लेतिर हेरे।
‘राजाबाट सोधनी भएको छ,’ उनले भने, ‘तपाईं राजाको इन्साफमा चित्त बुझाउने कि अदालत जाने?’
यो प्रश्न आफैंमा अप्रासंगिक थियो। किनभने, भुटानी राजतन्त्रमा जसलाई अदालतको आदेश चित्त बुझ्दैन, ऊ न्याय माग्न राजाकहाँ बिन्तीपत्र लिएर जान सक्थ्यो। राजालाई मन लाग्यो भने अदालतले जस्तोसुकै कठोर सजाय सुनाएको अपराधीलाई पनि बिनासर्त माफी दिने अधिकार थियो। तर राजाले दिने इन्साफ चित्त नबुझ्दा अदालत जाने हक कसैलाई थिएन। शाही निसाफमाथि अदालतमा सुनुवाइ हुने चलनै भुटानमा थिएन।
भुटानको न्याय प्रणाली राम्ररी बुझेका रिजालले थिन्लेलाई भने, ‘म राजाको न्यायको प्रतीक्षामा छु।’
रिजालको यस्तो जवाफ सुनेर मेजर थिन्ले केही बोलेनन्।
उनलाई मौन देखेपछि रिजालले अगाडि भने, ‘मलाई यो गेस्ट हाउसमा कति दिन राखियो मैलाई हेक्का छैन। यहाँ ल्याएदेखि मलाई शारीरिक र मानसिक कष्ट दिने काम भइरहेको छ। मेरो मन–मस्तिष्क नियन्त्रणमा लिएर मलाई तड्पाउने र मेरो बेहोसीको फाइदा उठाएर केरकार गर्ने काम पनि भयो। यो कस्तो तरिका हो? मैले पनि भुटानको राजकाजमा लामो समय बिताएँ। चुनाव जितेर राज्यसभा सदस्य र राजकीय सल्लाहकार परिषदको सदस्य पनि भएँ। तर हाम्रो भुटानमा बन्दीहरूमाथि यो हदसम्म यातना दिइन्छ र यो हदसम्म मानवअधिकार हनन गरिन्छ भन्ने त मैले सोचेको पनि थिइनँ। यो राजाकै हुकुमअनुसार भइरहेको छ कि यसमा सेना हाबी भएको हो?’
रिजालले उठाएको सवालमा थिन्लेले झर्को मान्दै जवाफ दिए, ‘मलाई थाहा छैन। म त अह्राएको काम गर्ने हुँ। जे आदेश भयो, त्यही गर्छु।’
‘आदेश दिने चाहिँ को?’
‘तपाईं बन्दी हो, मेरो हाकिम होइन,’ थिन्लेले भने, ‘तपाईंले सोध्ने सबै प्रश्नको जवाफ दिन म बाध्य छैन। त्यो मेरो काम पनि होइन।’
यति भनेर मेजर थिन्ले फन्किँदै कोठाबाट निस्के।
जसै उनी कोठाबाट निस्के, दुई जना सिपाही आएर रिजालको हातमा हतकडी लगाइदिए।
यो पनि राजाकै हुकुमअनुसार भयो वा थिन्लेको हुकूमतअनुसार!
कतै यो थिन्लेसँग ठाडो प्रश्न सोध्नुको सजाय त होइन!
के बेर!
यो घटनाको केही दिनपछि रिजाललाई हात र गोडाको हतकडी र फलामे नेलधरि नफुकाली बलि दिन लगिएको पशुझैं घिसार्दै गेस्ट हाउसबाट बाहिर निकालियो।
भुइँमा घिस्रिँदै रिजालले सोधे, ‘मलाई कहाँ लग्न लागेको?’
उनलाई हात समातेर तानिरहेको सिपाहीले जवाफ फर्कायो, ‘जेल सार्ने हुकुम छ।’
गेस्ट हाउसको कम्पाउन्डमा पुगेपछि रिजालले देखे — त्यहाँ सेना र प्रहरीको ठूलै फौज जम्मा थियो। मेजर थिन्लेसहित सेना र प्रहरी प्रमुखसमेत उपस्थित थिए।
एउटा बबुरो बन्दीलाई जेल सार्दा यत्रो हुजुम जम्मा भएको देखेर रिजाल छक्क परे!
कम्पाउन्डमा एउटा सैनिक गाडी थियो। सिपाहीहरूले रिजाललाई त्यही गाडीको पछाडि सिटमा बसाले र नरिवलको खस्रो डोरीले कम्मरदेखि घाँटीसम्म टनटन्ती कसे।
उनले देखे — गाडीभित्र जोगेन गजमेर र सुशील पोखरेललाई पनि त्यसैगरी डोरीले बाँधेर लडाइएको थियो।
नेपालबाट पक्राउ गरेर ल्याएको कति दिन, कति महिना वा सालपछि यी दुई युवालाई आफ्नो आँखा अगाडि जीवित देखेर रिजालको हिक्कै छुट्यो।
मोतीथाङ गेस्ट हाउसको कम्पाउन्डबाट सैनिक गाडी बाहिर निस्किँदा रिमरिम साँझ परेको थियो।
सैनिक गाडी थिम्पुबाट निरन्तर उकालो लाग्दै बाक्लो हिउँ जमेको दोचुला डाँडा नाघेर वाङ्दीफोद्राङबाट ओरालो झर्न थालेपछि टेकनाथ रिजालले अनुमान गरे — हामीलाई राबुना जेल लगिँदैछ!
राबुना जेल भनेको राजद्रोही बन्दीहरूलाई राखिने कारागार हो। पुरानो भुटानी शैलीमा बनेको यो कारागारको भुइँतले कोठा रिजालका लागि छुट्टयाइएको थियो। गजमेर र पोखरेललाई भने अर्कै कोठामा लगियो।
रिजालले यहाँ पनि फलामे साङ्लाको जकडबाट मुक्ति पाएनन्। अझ पहिलेभन्दा एक कदम अघि बढेर उनका दुवै हात पछाडि फर्काउँदै मोटो डोरीले टनटन्ती कसियो।
सामान्यतया जेलमा थुप्रै कैदीबन्दीलाई एकसाथ राखिने हुँदा चहलपहल भइरहन्छ। राबुना जेल भने शान्त थियो। चहलपहल शून्य थियो। यस्तो लाग्थ्यो, यहाँ तीन जनाबाहेक अरू कोही छँदै छैन!
हरेक दिन बिहान र बेलुकी लगभग एकै समय रिजाललाई थुनिएको कोठाको फलामे ढोकामा कसैले जोड–जोडसँग लात्ती हान्थ्यो। त्यसपछि ढोकाको सबभन्दा तल्लो तहमा बनेको फलामको ढकनी घरक्क खुल्थ्यो र त्यही कापबाट खानेकुरा छिराइन्थ्यो। हातखुट्टा दुवै बाँधिएका रिजाललाई खान सजिलो थिएन। उनी दुवै घुँडा भुइँमा टेक्थे र कुकुरले झैं आफ्नो मुख सोझै थालमा जोतेर दाँतले टिप्दै, जिब्रोले चाट्दै खानेकुरा खान्थे। खाइसकेपछि थाललाई कुइनाले धकेल्दै ढोकाको कापसम्म लगेर छाडिदिनुपर्थ्यो।
पानीको छुट्टै व्यवस्था थिएन। तिर्खा लाग्दा उनी कुइना र घुँडाको सहाराले भुइँमा घिस्रिँदै शौचालय जान्थे। दाँतको सहाराले धारा खोल्थे र सिधै टुटीमा मुख थाप्थे।
योभन्दा दुःखको कुरा त, राबुना जेल ल्याएको दोस्रो दिनबाटै रिजालका आँखामा कालो पट्टी बाँधियो। पट्टी भित्रबाट देखिने धमिलो आकृतिका भरमा उनी आफ्नो खाने, पिउने र शौच जाने काम सम्पन्न गर्थे। त्यसबाहेक अरू काम त के नै थियो र!
पन्ध्र दिन लगातार आँखामा पट्टी बाँधेपछि सोह्रौं दिनबाट पट्टी खोलियो।
पट्टी त खोलियो, त्यसपछि अर्को आतंक मच्चियो — उनलाई बन्दी बनाइएको कोठाको ढोकामा प्वाल पारेर बन्दुकको नाल छिराइयो र एक जना सिपाही दिनरात, चौबीसै घन्टा निशाना साँधेर बस्न थाल्यो।
एकोहोरो बन्दुकको निशानामा बस्दा उनलाई यस्तो लाग्थ्यो, मानौं त्यो बन्दुक कुनै पनि बेला पड्किनेछ र त्यसको नालबाट छुट्ने गोलीले उनलाई निशाना बनाउनेछ!
यसबीच एकदिन उनको हातमा बाँधिएको डोरीको फन्दा खोलियो।
फन्दा त खोलियो, त्यसपछि अर्को सकस सुरू भयो — उनलाई प्रत्येक दिन बिहान असी खिली चुरोट गनेर दिन थालियो। दिनभरिमा ती सबै चुरोट तानिसक्नुपर्थ्यो। नसकेको दिन भोकभोकै राखिन्थ्यो। भोकै बस्नुपर्ला भन्ने डरले उनी एक दिनमा असी खिली चुरोट तान्न बाध्य थिए। उनको कोठा चुरोटको धुवाँले कुइरीमण्डल हुन्थ्यो। धेरै चुरोट तानेर छिनछिनमा मुख सुक्थ्यो। उनी तिर्खाले प्याक प्याक हुन्थे। हरेकचोटि मुख भिजाउन घिस्रिँदै शौचालय जानुपर्थ्यो। चुरोट तान्न हातको फन्दा खोलिए पनि गोडामा बाँधिएको फलामको साङ्ला उस्तै थियो।
दिनहुँ असी खिली चुरोट तान्दा हरेक रात सुत्ने बेला उनको टाउको टनटन्ती दुख्थ्यो। घाँटीमा खकार जमेजस्तो अप्ठ्यारो हुन्थ्यो। छाती सधैं भारी भइरहन्थ्यो। सास फुलेर उनी स्वाँस्वाँ गर्न थालेका थिए। बेलाबेला सास अड्केजस्तो हुन्थ्यो। त्यस्तो बेला उनी मर्न लागेँ कि भनेर छट्पटिँदै लामो लामो सास तान्थे।
राबुना जेलले रिजाललाई चुरोटको दुर्व्यसनी मात्र बनाएन, उनको शरीरलाई रोगले थिलथिलो पनि पार्यो।
राबुना जेलमै बस्दा एकदिन उनले चिताउँदै नचिताएको घटना भयो।
नेपालबाट पक्रेर ल्याएको दिनदेखि चैनसँग सास फेर्नधरि नदिएको भुटानी सेनाले अचानक गोडाको फलामे साङ्ला खोलिदियो।
कपाल र दाह्रीजुँगा लामालामा भएका थिए, काटेर सफाचट पारिदियो।
नङ बढेर नंग्रा भएका थिए, काटेर चिटिक्क बनाइदियो।
नुहाइधुवाइ गरायो।
नयाँ लुगा लगाउन दियो।
सिपाहीहरूको अचानक फेरिएको चाल देखेर रिजालको मनमा चिसो पनि पस्यो — कतै सफासुग्घर पारेर फाँसी दिन त लगिँदै छैन!
फाँसीको सजाय पाएका अपराधीलाई झुन्ड्याउनुअघि यसरी नै धोइपखाली गरिन्छ भन्ने उनले सुनेका थिए, जसरी बलि दिनुअघि बोकालाई पानी छम्केर चोखो पारिन्छ!
तर सेनाका एक अधिकृतको मुखबाट ‘जेलका सबै बन्दीलाई भोलि वनभोज लगिँदैछ’ भन्ने सुनेपछि उनी ढुक्क भए।
सधैं सामसुम्म रहने राबुना जेलमा आफूहरू तीन जनाबाहेक अरू पनि बन्दी रहेछन् भन्ने उनले पहिलोचोटि थाहा पाए।
एउटा कुरामा चाहिँ ताज्जुब लाग्यो — त्यत्रो कठोर यातनाबीच वनभोज लग्नुको तात्पर्य के! कहीँ वनभोजका नाममा जंगल लगेर गोली ठोकेर मार्ने षड्यन्त्र त हुँदै छैन!
उनको मनमा संशय त थियो, तैपनि जेलबाट बाहिर निस्किने अवसर पाएर उनी सन्तुष्ट नै थिए।
भोलिपल्ट सबै बन्दीलाई जेल नजिकै बग्ने सुनकोशी नदी किनारको खुला मैदानमा लगियो। वनभोजका क्रममा अन्य बन्दीहरूसँग भेट्न पाउँदा रिजालको खुसीको सीमा रहेन। त्यहाँ जोगेन गजमेर र सुशील पोखरेलसँग त भेट भयो नै, सँगसँगै उनी नेपालमै छँदा पक्राउ परे भन्ने खबर सुनेका रतन गजमेर पनि भेटिए। यसबाहेक भुटान मानवअधिकार सार्वजनिक मञ्चमै लागेर पक्राउ परेका विश्वनाथ क्षत्री, देवदत्त पौडेल, भक्तिप्रसाद भण्डारी लगायतसँग पनि भेट भयो।
कालो रातमा बादलको पर्दा फाटेपछि जसरी जून चम्किन्छ, सकसपूर्ण बन्दी जीवन बिताइरहेका यी आन्दोलनकारी भुटानी नेपालीहरूको मुहार पनि एकअर्कालाई देखेर उसैगरी चम्किए।
सुनकोसीको किनारमा उभिएर खुला हावामा सास फेर्दै उनीहरूले निकै बेर एकअर्कालाई अँगालो मारे — मारिरहे।
महिनौंको यातनाले थिलथिलो भएको ज्यानमा प्राण भरिएझैं भयो।
उनीहरूले वनभोजमा विभिन्न परिकार पकाएर खाए। जेलको बेस्वादे खाना खाँदाखाँदा चाउरी परिसकेको जिब्रो एकदिनलाई भए पनि चंगा भयो।
अचम्म त के भने, त्यस दिन मेजर सांगे थिन्ले लगायत सबै सिपाहीले कैदीहरूसँगै खाना खाए। सँगसँगै काम गरे, कैदीहरूको काँध थपथपाए। र, बीचबीचमा अनेक हाउभाउ गर्दै तस्बिर पनि खुब खिचाए।
सिपाहीहरूको यस्तो अप्रत्यासित व्यवहार देखेर रिजालले सोचे — सायद भुटान सरकारमाथि अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको दबाब सुरू भएको छ, त्यसैले बन्दीहरूमाथि राम्रो व्यवहार गरिँदैछ भनेर उनीहरूलाई देखाउनु छ!
नभन्दै जसै उनीहरूलाई जेल फर्काइयो, वनभोजको नाटकबाट पर्दा खस्यो।
गोडामा फेरि फलामे साङ्ला बेरियो।
नयाँ लुगा फिर्ता लिएर पुरानै लगाउन दिइयो।
र, फलामे ढोकाले थुनिएको कोठामा उसैगरी पशुझैं राखियो।
राबुना जेलमा दुई वर्ष तीन महिनाको बसाइपछि टेकनाथ रिजाललाई थिम्पुको ङडीमाखा जेलमा सारियो।
अरू साथीहरूलाई कहाँ लगियो, रिजाललाई थाहा भएन।
यहाँ उनलाई माथिल्लो तलामा राखिएको थियो। त्यसैले कोठाको चिसो पहिलेभन्दा कम थियो। अरू यातनामा भने कुनै कमी आएन।
हातमा हतकडी छँदै थियो। गोडामा फलामे साङ्ला बेरिएकै थियो। खाना–पानीको अवस्था पहिलेजस्तै थियो।
अझ यहाँ त कोठाभित्र छुट्टै शौचालयको व्यवस्था थिएन। हरेक कैदीलाई टिनको भाँडो दिइएको हुन्थ्यो र त्यही भाँडोमा दिसा–पिसाब गर्नुपर्थ्यो। टिनको त्यो भाँडो कयौं दिनसम्म यत्तिकै कोठाभित्र रहन्थ्यो। न फेर्न कोही आउँथ्यो, न फाल्न दिइन्थ्यो। यसले कोठा दुर्गन्धित भएर बसिनसक्नु हुन्थ्यो।
एउटै सकारात्मक पाटो चाहिँ के भने, ङडीमाखा जेलमा ल्याएपछि रिजाललाई अदालत लग्न थालियो। तर उनलाई आफ्नो मुद्दाको सुनुवाइ सुरू भयो भनेर कुनै खुसी थिएन। अदालतको फैसला राजाको फैसलाभन्दा फरक हुँदैन भन्ने उनलाई भलिभाँति थाहा थियो। उनी खुसी यस कारण थिए, किनभने अदालतमा बसुञ्जेल उनले घाम ताप्न पाउँथे। उनको ज्यानमा घामको किरण नपरेको वर्षौं भइसकेको थियो। घाम नपरेर छाला सेतो देखिन थालेको थियो।
खुसीको अर्को कारण पनि थियो — अदालत जाँदा आफ्ना शुभचिन्तक र इष्टमित्रहरूसँग आक्कलझुक्कल भेटघाट हुन्थ्यो। उनीहरू रिजालको तारेख छ भन्ने थाहा पाएपछि बेलैमा अदालत आएर बसिरहेका हुन्थे र मौका पाउनासाथ रिजालसँग कानेखुसी गर्थे। त्यही क्रममा रिजालले लामो अन्तरालपछि कौशिलालाई आफ्नो खबर पठाउन पाए।
अदालत आउजाउबाट जसरी रिजालले थोरै फाइदा उठाए, यसमा भुटानी राजसत्ता पनि कम थिएन।
उनलाई जेलभित्र जतिसुकै जकडेर राखे पनि अदालत लैजाँदा हतकडी र फलामे साङ्ला खोल्ने गरिन्थ्यो। तर एकदिन हातमा हतकडी र खुट्टामा साङ्ला बाँधेरै उनलाई अदालत लगियो। त्योभन्दा अगाडि महिनादिनदेखि कपाल काट्न र दाह्री खौरिन दिइएको थिएन। बिनासित्ति लछारपछार पार्दै अदालतको ढोकासम्म पुर्याइयो।
प्रहरीको रवैया किन एक्कासि बदलियो भनेर रिजाल छक्क परे।
कुरा के रहेछ भने, त्यस दिन भुटान सरकारले थिम्पु वरपरका कयौं मानिसलाई अदालतमा हाजिर हुन उर्दी जारी गरेको रहेछ। तिनमा भुटानी नेपालीहरूको संख्या पनि उल्लेख्य थियो।
जुन भुटानी नेपालीहरूले रिजाललाई आफ्नो आदर्श नेता मानेका थिए र जसको भरमा उनीहरू मुक्तिको सपना देख्दै थिए, तिनै रिजाललाई दीनहीन अवस्थामा प्रस्तुत गरेर मनोबल गिराउने र उनकै भरमा बसेका नेपाली समुदायलाई हतोत्साही तुल्याउने दरबारको उद्देश्य रहेछ।
दरबारको षड्यन्त्र चाल पाएर रिजालले त्यसलाई निस्तेज पार्ने उपाय निकाले।
उनले अदालतमा उपस्थित भुटानी नेपाली लगायत अन्य जनतातिर फर्किएर हतकडी बाँधिएका आफ्ना दुवै हात माथि उचाले र चर्को स्वरमा भने, ‘देशवासी दाजुभाइ तथा दिदीबहिनीहरू, म देश, जनता, सरकार र राजसंस्थाको भलो चिताउने जनप्रतिनिधि आज भुटान प्रशासनबाट चरम यातनाको भागीदार भइरहेको छु। म लगायत हाम्रा साथीहरूलाई जुन सजाय दिइएको छ, त्यो न्यायोचित छैन। यो राजसत्ताले हामीलाई मानसिक रूपमै विक्षिप्त हुने अवस्थामा पुर्याएको छ। आज पनि मलाई यहाँ यो रूपमा प्रदर्शन गरेर तपाईंहरूका मनमा त्रास उत्पन्न गराउन खोजिएको छ। मलाई तपाईंहरूसामु बेइज्जत भएको महसुस गराएर निराश बनाउन खोजिएको छ। तर तपाईंहरूसामु यो रूपमा प्रस्तुत हुनुपरेर न मैले बेइज्जती महसुस गरेको छु, न म निराश भएको छु। त्यसैले तपाईंहरू पनि मलाई यो रूपमा देखेर नडराउनु होला, हतोत्साही नहुनु होला।’
‘तपाईंहरू जति डराउनुभयो, यी अत्याचारी शासकले हामीमाथि उति अत्याचार गर्नेछन्, जसको मूल्य हाम्रा सन्तान–दर–सन्तानले चुकाउनुपर्नेछ,’ उनले अगाडि भने, ‘हाम्रो साहसमै हाम्रा सन्तानको सुखद भविष्य लुकेको छ।’
रिजालको अप्रत्यासित भाषण सुनेर गाउँलेहरू उत्साहित भए भने प्रशासन स्तब्ध भयो।
रिजाललाई दीनहीन रूपमा प्रस्तुत गरेर उनको र समस्त भुटानी नेपालीहरूको मनोबल गिराउने जुन प्रपञ्च भुटानी राजसत्ताले रचेको थियो, त्यसमा ऊ पूर्णतया असफल भएको थियो।
त्यो दिनपछि अदालतमा भीड जम्मा गर्न बन्द गरियो।
रिजालको सुनुवाइ हुँदा इजलासका कुर्सीहरूसमेत हटाइन थाले।
भुटान सरकारले टेकनाथ रिजालविरूद्ध राजद्रोहको मुद्दा दर्ता गरेको थियो।
उनको अभियोगपत्रमा सन् १९९० सेप्टेम्बर महिनायता दक्षिण भुटानमा भएका ‘उपद्रो’ को निम्ति जिम्मेवार ठहर्याइएको थियो। जबकि त्योभन्दा अगाडि नै १९८९ नोभेम्बर १६ देखि उनी भुटानी राजसत्ताका बन्दी थिए। बन्दीमा रहेको मान्छेलाई ‘उपद्रो’ मच्चाएको आरोप लगाउनु नै हाँस्यास्पद थियो।
तर राजतन्त्रमा राजाले लगाएको आरोप जाँच्ने अधिकार कसको!
त्यसमाथि गृह मन्त्रालयका तत्कालीन अधिकारी र अदालतका न्यायाधीशहरूसमेत रिजालका विरोधी थिए। तीमध्ये कतिलाई त रिजालले भ्रष्टाचार छानबिन समितिको संयोजक हुँदा दोषी किटान गरेका थिए। उनीहरूले प्रतिशोध साँध्न पनि निष्पक्ष सुनुवाइ गराउँदैनन् भन्ने रिजालले बुझेका थिए। त्यसैले अदालतमा चल्ने सुनुवाइको नाटकमा अल्झिनुभन्दा सोझै राजासमक्ष अपिल गर्ने निधो गरे।
उनले राजालाई सम्बोधन गर्दै एउटा अपिल तयार पारे र त्यो अपिल न्यायाधीशहरूसमक्ष पेस गर्दै भने, ‘ममाथि चलाइएको मुद्दा समस्त दक्षिण भुटानी जनताको हक–अधिकार र जीवन निर्वाहसँग जोडिएको छ। त्यसैले स्वयं राजाबाट मलाई निसाफ दिलाइयोस्।’
न्यायाधीशहरूले उनको अपिल अस्वीकार गरे। उनीहरूको भनाइ थियो, ‘न्यायालयमा पेस भएको मुद्दा छिनोफानो नभई राजासमक्ष प्रस्तुत गर्ने प्रावधान हाम्रो कानुनमा छैन। न्यायालयको फैसलामा चित्त बुझेन भने तपाईं फैसला सुनाएको दस दिनभित्र राजासमक्ष अपिल गर्न स्वतन्त्र हुनुहुन्छ।’
उनीहरूको यस्तो तर्कले रिजालको हात बाँधियो। उनी अदालतको फैसला कुर्न बाध्य भए।
अदालतले उनलाई आजीवन कारावासको सजाय सुनायो।
त्यसपछि उनी राजासमक्ष अपिल गर्ने तयारीमा लागे। त्यही बेला एउटा यस्तो घटना भयो, जसले उनको यो बाटो पनि थुनियो।
राजा जिग्मे सिंघे वाङचुकको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले रिजालको अपिल प्रस्तुत हुनुभन्दा अगाडि नै उनको मुद्दामा शाही फरमान जारी गर्यो, जसमा भनिएको थियो —
‘टेकनाथ रिजालसँग सम्बन्धित मुद्दामा अदालतले दिएको फैसला राजाबाट पुनर्विचार गरिएको छ। उनलाई दिइएको आजीवन कारावासको सजाय बदर गरिन्छ। यो मुद्दा शरणार्थी समस्यासँग जोडिएकाले भुटान र नेपालबीच भइरहेको वार्ता टुंगो लागेपछि उनलाई स्वतः जेलमुक्त गरिनेछ।’
शाही फरमान सुनेर कतिलाई त राजाले न्याय गरे भन्ने भ्रम पनि भयो। तर खासमा त्यो न्याय थिएन, झेल थियो।
किनभने, दरबारबाट रिजालको मुद्दामा पुनर्विचार भइसकेकाले अब उनले राजासमक्ष जाहेरी दिन पाउँदैन थिए।
त्योभन्दा ठूलो कुरा, नेपालसँगको वार्ता चलुञ्जेल उनी जेलमै बस्नुपर्थ्यो। त्यो भनेको आजीवन कारावासभन्दा कम थिएन।
शाही फरमानपछि रिजाललाई थिम्पुको ङडीमाखा जेलबाट चेम्गाङ जेल चलान गरियो।
थिम्पु जिल्लाकै उत्तरी भेगमा पर्ने चेम्गाङ जेलमा त्यति बेला बाइस सयभन्दा बढी बन्दी थिए। अधिकांशलाई आफ्नो कसुर थाहा थिएन। नेपाली समुदायका पनि थुप्रै थिए, जसलाई सन् १९८९ यता विभिन्न समयमा पक्राउ गरिएको थियो र अदालतमा मुद्दासमेत नचलाई बन्दी बनाएर राखिएको थियो।
जसरी बीच समुद्रमा हराइरहेको मान्छे जमिनको सानो टुक्रा देखेर खुसीले भावविभोर हुन्छ, रिजाललाई आफ्नोसामु देख्दा ती भुटानी नेपालीहरूलाई त्यस्तै भयो। रिजालको उपस्थितिबाट उनीहरूले ठूलो आडभर पाएको महसुस गरे।
रिजालले पनि उनीहरूबाट दक्षिण भुटानको ताजा अवस्था थाहा पाए।
उनले थाहा पाए — दक्षिण भुटानमा दमनको शृंखला बढ्दै गएपछि गाउँलेहरू प्रतिकारमा ओर्लिएछन्, जसको नेतृत्व ‘भुटान पिपल्स पार्टी’ का अध्यक्ष राजकुमार बुढाथोकीले गरेछन्। त्यस क्रममा सन् १९९० सेप्टेम्बर १९ देखि २५ सम्म चरणबद्ध जनप्रदर्शनहरू आयोजना भएछन्। साम्चीबाट सुरू भएको प्रदर्शन सर्भाङ, चिराङ र दागाना हुँदै दक्षिण भुटानका सबै जिल्लामा फैलिएछ। अक्टोबर ४ को दिन चिराङमा भएको प्रदर्शनमा त ४० देखि ५० हजार भुटानी नेपालीहरूले भाग लिएका रहेछन्।
उनले थाहा पाए — विरोध प्रदर्शन बढ्ने क्रमसँगै भुटानी राजसत्ताको धरपकड र दमन क्रूर हुँदै गएछ। दक्षिण भुटानीहरूलाई आन्दोलनमा लाग्न उक्साएको भन्दै दागापेलाका मण्डल धर्मराज गुरूङको कुटीकुटी हत्या गरिएछ। पश्चिम भुटानको एउटा जेलमा विद्यार्थी अगुवा पुण्यप्रसाद ढकाल मारिएछन्। लामीडाँडा मन्दिरका पुजारी चक्रपाणि खतिवडाको थिम्पु जेलमा चरम यातना दिएर ज्यान लिइएछ। दागापेलाको एउटा मगर परिवारका बाबुछोरालाई सेनाले छातीमा बन्दुक ताकेर ‘हामी स्वेच्छाले देश छाडेर जाँदैछौं’ भन्ने बेहोराको पत्रमा सहीछाप गराएछ। पछि देश छाड्न आनाकानी गर्दा दुवै बाबुछोरालाई खाँबोमा बाँधेर उनीहरूको आँखैअगाडि घरका महिलाको बलात्कार गरिएछ। पीडित जेठो छोरा चेम्गाङ जेलमै बन्दी थिए।
उनले थाहा पाए — लामीडाँडामा उनको आफ्नो घर भत्काइएछ, आफन्तहरूको घर भत्काइएछ। दक्षिण भुटानका अरू गाउँहरूमा पनि हजारौं नेपालीका घर या त भत्काइएछन्, या उनीहरूका घरखेतमा डुग्–पाहरूले कब्जा जमाएछन्। साम्ची जिल्लाको यावा लगायत दक्षिण भुटानका थुप्रै गाउँहरू आगो सल्काएर खरानी पारिएछन्।
उनले थाहा पाए — भुटानी राजा जिग्मे सिंघे वाङचुकको अत्याचार सहन नसकेर सवा लाखभन्दा बढी नेपालीहरू देश छाड्न बाध्य भएछन्। उनीहरू शरणार्थी बनेर नेपालमा बसोबास गर्न थालेछन्।
र, उनले यो पनि थाहा पाए — सन् १९९१ डिसेम्बरमा रतन गजमेर, विश्वनाथ क्षत्री, भक्तिप्रसाद भण्डारी लगायतलाई रिहा गरिएछ। त्यसलगत्तै १९९२ जनवरीमा आफूसँगै पक्राउ परेका जोगेन गजमेर र सुशील पोखरेललाई पनि छाडिएछ। रिहा भएका सबैजसो बन्दीहरू शरणार्थी भएर नेपाल पसिसकेछन्।
आफू बन्दी अवस्थामा रहेका बेला भुटानी नेपालीहरूमाथि भएको शोषण र दमन, अन्याय र अत्याचार र उनीहरूको पीडा र चित्कारको लामो कथा सुनेर रिजालको जीउभरि सिहरन दौडियो।
इतिहासका विभिन्न कालखण्डमा नेपालबाट बसाइँ सरेर भुटानमा स्थायी बसोबास गरिरहेका नेपाली समुदायको ‘जातीय सफाया’ गर्न भुटानी राजसत्ताले जुन षड्यन्त्र रचेको थियो, त्यसको परिणामले उनको मुटु हुँडलियो।
पुर्खौं पुर्खादेखि भुटानी माटोमा रगत–पसिना बगाइरहेका नेपालीहरूलाई एकाएक शरणार्थी बनाइएको चाल पाएर रिजालको आत्माधरि काम्यो।
दक्षिण भुटानको हाल थाहा पाएको दिन उनी रातभरि छट्पटाइरहे।
झपक्क निद्राले छोपेजस्तो हुन्थ्यो, सास अड्केर ब्युँझिहाल्थे।
आँखा लट्ठ हुन्थ्यो, मुटु गाँठो परेर झस्किहाल्थे।
अथाह पीडाले कयौं दिनसम्म उनी बेहोसझैं भए।
यति हुँदा पनि हिम्मत चाहिँ हारेनन् — उनले चेम्गाङ जेलभित्रै अनिश्चितकालीन अनसन सुरू गरे।
बिनाकसुर थुनिएका बन्दीहरूको रिहाइ, बन्दीहरूका लागि न्यूनतम सरसुविधा र शरणार्थीहरूको निसर्त घर फिर्ती रिजालका प्रमुख माग थिए। राजासँग भेटेर आफ्नो मुद्दामा अपिल गर्न पाउनुपर्ने माग पनि उनले राखेका थिए।
सत्र दिनसम्म चलेको अनसनले भुटानी शरणार्थीहरूको नियति त बदलिएन, तर चेम्गाङ जेलका बन्दीहरूले केही राहत भने पाए। बन्दीहरूलाई दिइने यातना कम भयो। उनीहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार रासनपानी उपलब्ध गराइयो। नियमित स्वास्थ्य उपचारको व्यवस्था भयो। प्रत्येक वर्ष नयाँ ओढ्ने–ओछ्याउने र कपडाजुत्ता दिन थालियो। बन्दीलाई परिवारका सदस्यसँग भेट्न पनि दिइयो। अनसनकै बीच अन्तर्राष्ट्रिय रेडक्रस टोलीको भ्रमणले पनि बन्दीहरूलाई सहुलियत दिन जेल प्रशासन बाध्य भएको थियो।
त्यही बेला जेल प्रशासनबाट राजालाई भेट्न इच्छुक बन्दीहरूलाई आ–आफ्नो विवरण र भेट्न चाहेको कारण लेखेर दिनू भन्ने आदेश आयो।
अचम्म के भयो भने, जेलका सबैजसो बन्दीले आफ्नो परिचय र आफ्नो गाउँ र ठाउँको नामबाहेक राजालाई बिन्ती चढाएको विषय एउटै थियो। सबैले लेखेका थिए —
‘टेकनाथ रिजालले आफ्नो मुद्दा टुंगो लगाउन राजाको दर्शन गर्न पाउनुपर्छ।’
राजासँग भेटेर आफ्नै रिहाइ माग्नुपर्ने अवस्थाका बन्दीहरूले देखाएको यस्तो सदासयताले रिजाल द्रवित भए।
त्यो यस्तो ऋण थियो, जुन रिजालले जिन्दगीभरि चुकाए पनि चुक्ता हुनसक्ने थिएन।
भुटानमा एउटा कहावत छ — धन कमाएको मान्छे केही समयका लागि सुखी हुन्छ, जसले मान्छेको मन कमाउँछ, ऊ जीवनपर्यन्त सुखी हुन्छ!
रिजालले सोचे — मैले जिन्दगीमा धन त कमाइनँ, मन चाहिँ मनग्गे कमाएछु!
सन् १९९९ डिसेम्बर पहिलो साताको कुरा हो।
एक प्रहरी जवानले रिजालकहाँ आएर भने, ‘तपाईंलाई जेलरको कार्यालयमा बोलाएको छ।’
उनी प्रहरी जवानको पछि लागेर कार्यालयमा गए।
भुटानको न्याय सेवामा लामो समय काम गरेका न्यायाधीश कर्मा शेर्पा भेट्न आएका रहेछन्।
पुराना परिचित शेर्पालाई अचानक जेलमा देखेर रिजाल खुसी भए, छक्क पनि परे।
‘के कामले यति टाढासम्म आउनुभयो?’ उनले सोधे।
‘तपाईं सन्चै हुनुहुन्छ?’ शेर्पाले सोधे।
‘ठिक छु,’ रिजालले छोटो जवाफ फर्काए।
उनको मनमा चाहिँ शेर्पा के कामले आए होलान् भन्ने जिज्ञासा जागेको थियो। राजाको आदेशबिना रूखको पात नहल्लिने देशमा राजद्रोहको अभियोग लागेका बन्दीलाई यिनी स्वेच्छाले त पक्कै भेट्न आएनन् भन्ने पनि उनले सोचे।
नभन्दै शेर्पाले भने, ‘म राजाको हुकुमअनुसार तपाईंलाई भेट्न आएको हुँ।’
रिजाल चुपचाप उनको कुरा सुनिरहे।
राजाले यति लामो समयपछि के सोचेर दूत पठाएछन् भन्ने खुल्दुलीले उनको दिमागमा खलबली मच्चाउन थालिसकेको थियो।
कर्मा शेर्पाले रिजाललाई धेरै समय अन्यौलमा राखेनन् र सोझै भने, ‘राजाबाट तपाईंलाई क्षमादान दिई जेलमुक्त गर्ने हुकुम भएको छ।’
राजाको यस्तो सन्देश सुन्नेबित्तिकै रिजालको पूरै ज्यानमा सनसनी मच्चियो।
जेलको लामो एकान्तवासले अरठ्ठ परिसकेको शरीरका नसाहरूमा एकाएक बेतोडले रक्तप्रवाह भएझैं उनलाई लाग्यो।
हुन त उनी ‘क्षमादान’ शब्दबाट सन्तुष्ट थिएनन्। कुनै कसुर गरेको भए पो राजाले क्षमादान दिने भन्ने उनको सोचाइ थियो। आफू निर्दोष हुँदाहुँदै राजाले जेलमा कोचेर अमानवीय व्यवहार गरेकोमा उनको मन आक्रोशित थियो। आफू जेलमा रहेका बेला सवा लाखभन्दा बढी भुटानी नेपालीहरूलाई देशबाट लखेटिएको घटनाले उनको मन पोलेको थियो। उनी भुटानी नेपालीहरूमाथि भएका अन्याय र अत्याचारको हिसाब राजासँग माग्न चाहन्थे। ती अन्याय र अत्याचारका लागि राजालाई जवाफदेही बनाउन चाहन्थे। तर यति बेला जेलको एक निरीह बन्दीका रूपमा उनीसँग त्यो हैसियत थिएन। त्यसैले छातीमा उम्लेको रिसको ज्वाराभाटालाई छातीभित्रै थुनेर उनी चुपचाप उभिइरहे।
शेर्पाले अगाडि भने, ‘राजा जिग्मे सिंघे वाङचुकबाट हुकुम भएको छ — टेकनाथ रिजाल एकचोटि देशबाट बाहिर गइसकेको भए पनि मैले आफ्नो राज्याभिषेकको रजत जयन्तीका अवसरमा उसलाई क्षमादान दिई कारावासबाट मुक्त गर्ने विचार गरेको छु।’
क्षमादानको निम्ति रिजालले ‘अबउप्रान्त राज्यविरूद्ध कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुने छैन’ भनेर लिखित निवेदन दिनुपर्ने सर्त पनि शेर्पाले सुनाए।
रिजाल केही बोलेनन्।
उनको मुटुले राजाद्वारा प्रस्तावित ससर्त क्षमादान अस्वीकार गरेर बरू मृत्युदण्ड रोजूँ भन्ने चाहेको थियो।
तर मस्तिष्कले अर्कै सोच्यो।
मस्तिष्कले भन्यो — भुटान सरकारले मलाई क्षमा दिएको होइन, बरू कारावासबाट मुक्त गरेर मसँग क्षमा मागेको हो।
मुटु र मस्तिष्कको यो द्वन्द्वमा रिजालले मस्तिष्कलाई पछ्याए र भने, ‘राजाबाट मलाई रिहाइ गर्ने मनसाय व्यक्त भएकोमा म आफूलाई धन्य ठान्छु। तर कुनै पनि प्रकारको सर्त स्वीकार गर्नुअघि मेरा केही जिज्ञासा राजासमक्ष राखिदिनुहोला भन्ने अनुरोध गर्न चाहन्छु।’
शेर्पाले अनुरोध स्वीकार गरेपछि रिजालले आफ्नो कुरा यसरी राखे —
‘म देशबाट भागेको मानिस होइन। बरू राजाले दिनुपर्ने न्याय नपाएर देश छाड्न बाध्य पारिएको मानिस हुँ। आफ्नो जीवनको सुरक्षासमेत नदेखेर भूमिगत जीवन बिताउन हिँडेको मानिस हुँ। मलाई बिनाकसुर नेपालबाट पक्राउ गरेर दस वर्ष कैदमा राखिसकेपछि मुद्दा छिनोफानो गरेर न्याय दिनुको सट्टा रिहाइको सर्त राख्नु उचित होइन।
‘कृपया राजालाई भन्दिनू, म अझै पनि आफ्नो सुरूको धारणामा अडिग छु। दक्षिण भुटानी जनतामाथि नागरिकता कानुन, विवाहसम्बन्धी कानुन र जनगणनाका नाममा अन्याय भएको छ। उनीहरूलाई आफ्नै भूमि छाडेर जान बाध्य पारिएको छ। उनीहरूको श्रीसम्पत्ति लुटिएको छ। जबसम्म राजाबाट यसलाई सच्याउने काम हुँदैन, तबसम्म समस्याको समाधान निस्किँदैन।’
कर्मा शेर्पाले रिजालका यी भनाइ राजासमक्ष राखिदिने बचन दिए।
तीन दिनपछि उनी फेरि आए र दरबारबाट पठाइएको एउटा कागज रिजालतिर बढाउँदै भने, ‘मैले तपाईंका सबै कुरा राजासमक्ष जाहेर गरिदिएँ। राजाबाट ‘मलाई सिकाइरहन आवश्यक छैन’ भन्ने हुकुम भएको छ। त्यसैले यो कागजमा जस्तो लेखिएको छ, जस्ताको तस्तै सारेर हस्ताक्षर गरिदिनुहोस्।’
राजाको जवाफ सुनेर रिजाल खिन्न भए। दरबारले पठाएको कागज सर्रर पढे। त्यसमा उही ‘राजनीतिक गतिविधिमा संलग्न हुने छैन’ भन्ने सर्त लेखिएको थियो।
राजाको जवाफ र कागजको बेहोरा देखेर उनलाई झोँक चल्यो।
बिनाकसुर दस वर्ष जेलमा राखिसकेपछि मुक्त गर्ने बेला पनि सर्त तेर्स्याइएकाले उनले अपमानित महसुस गरे र शेर्पाले ल्याएको कागज धर्धर्ती च्यातिदिए।
उनले कागज च्यात्नु मात्र के थियो, जेलरको कार्यालयबाहिर उभिएका भुटानी सिपाहीहरूले उनलाई करप्प समाते र लगाइरहेको लुगा च्यातेर बाहिर चिसोमा नांगै उभ्याइदिए।
डिसेम्बरको ठिहिरोमा रातभरि नांगै उभिनुपर्दा उनी यस्तरी कठ्यांग्रिए, मानौं शरीरको एक–एक थोपा रगत जमेर बरफ भएको छ! शरीर तातो–चिसो पनि छुट्टयाउन नसक्ने गरी ढुंगा भएको छ!
रातभरि यही हालतमा बस्दा उनले आफ्नो परिस्थिति मूल्यांकन गरे र सोचे — दरबारले पठाएको सर्तनामा स्वीकार नगर्नुमा के मेरो जित छ? के राजाले भनेअनुसार कागज लेखेर दिँदैमा राजा विजयी भएको र म हारेको ठहरिन्छ?
उनले सोचे — आज राजाको सर्त मानिनँ भने मलाई निश्चित रूपमा जीवनभर जेलमै सडाएर मारिनेछ। तर के मेरो प्राण आहुतिले भुटानी नेपालीहरूको गुमेको आत्मसम्मान फिर्ता होला? के नागरिकबाट अनागरिक बनाइएका नेपालीहरूलाई मेरो सासले फेरि नागरिक हक दिलाउन सक्ला?
उनले अगाडि सोचे — म मरेरभन्दा बाँचेर उनीहरूको काम आउन सक्छु। राजाको सर्त मानेर मुक्त भएँ भने शरणार्थी भएर हिँडेका भुटानी नेपालीहरूको हितमा योगदान गर्न सक्छु। आफ्नो बाँकी जीवन उनीहरूकै हक–अधिकारका लागि लडेर बिताउन सक्छु। त्यसैले सर्त के हो, कसो हो भन्दा पनि जेलबाट मुक्त हुनु नै अहिलेको मेरो पहिलो आवश्यकता हो।
यही सोचेर रिजालले राजाको सर्त कबुल गरे।
अघिल्लो दिन आफैंले धर्धर्ती च्यातेको कागज जोडजाड पारेर त्यसमा उल्लिखित बेहोरा जस्ताको तस्तै सारे र सहीछाप गरिदिए।
दस वर्षअघि — सन् १९८९ नोभेम्बर १६ — को दिन नेपालबाट पक्राउ गरेर ड्रुक एयरको जहाजमा भुटान लगिँदा जसरी अनिश्चित र अन्धकार भविष्य सम्झेर रिजालको मन स्याइँय्य भएको थियो, जेलबाट रिहाइको दिन उनलाई त्यस्तै स्याइँय्य भयो।
उनको एउटा मन मुक्तिको अनुभूतिले पुलकित थियो भने अर्को मन जेलबाहिरको अनिश्चय र अन्धकारमा रूमल्लिइरहेको थियो।
भुटानमा एउटा कहावत छ — मान्छेले आफूलाई मन नपर्ने काम लगातार गरिरह्यो भने उसलाई त्यसैको लत लाग्छ! ठाउँ जतिसुकै कहालीलाग्दो किन नहोस्, लगातार त्यहीँ बसिरह्यो भने त्यसैको बानी लाग्छ!
रिजाललाई दस वर्षको जेल जीवन सायद त्यस्तै भएको थियो।
रिहाइको दिन अन्तिमचोटि जेलको बिछ्यौना छाड्दा उनको मन त्यसरी नै छट्पटाउँदै थियो, जसरी प्रेमिकासँग विछोडिँदा प्रेमी छट्पटाउँछ।
उनी मनभरि विरह बोकेर एकाबिहानै जेल वरिपरि टहल्न निस्के।
जेलपछाडि कुनाको एउटा भित्तामा उनले गीताको श्लोक खोपेका थिए। उनी त्यही भित्तासामु ठिंग उभिए र आँखा चिम्लेर आफूले खोपेको श्लोक मनमनै वाचन गर्न थाले —
गीता गंगा च गायत्री, सीता सत्य सरस्वती
ब्रह्म वली ब्रह्म विद्या, त्रिं सन्ध्या मुक्ति गेहिनी
चेम्गाङ जेलको त्यो भित्तालाई उनी लगायत अन्य नेपाली बन्दीहरूले भक्ति स्थलका रूपमा प्रयोग गर्दै आएका थिए। उनीहरूले त्यहाँ फूल रोपेका थिए। नित्य पूजा गर्थे। कुनै भुटानी नेपाली मारिएको वा कसैका आफन्त बितेको खबर आउँदा उनीहरूको आत्माको शान्तिका लागि ईश्वरसँग प्रार्थना पनि गर्थे।
रिजाल आँखा चिम्लेर निकै बेर त्यहाँ उभिइरहे।
उनले राज्यबाट प्रताडित भुटानी नेपालीहरूलाई सम्झे।
जेलमा लामो समय सँगै बिताएका बन्दी साथीहरूलाई सम्झे।
जेलका भित्ता, छत, डुंगडुंग्ती गनाउने शौचालय सम्झे; फूल, बिरूवा सम्झे; जेलभित्र सधैं डुली हिँड्ने कुकुरका छाउराहरू सम्झे; जेलभित्र रूखका हाँगामा बसेर चिरबिर गरिरहने चराहरूलाई सम्झे।
उनले पत्नी कौशिलालाई सम्झे। छोराहरूलाई सम्झे।
र, आफू जेलमै छँदा दिवंगत भएका वृद्ध बुवालाई सम्झे।
त्यो सन् १९९९ डिसेम्बर १७ को दिन थियो।
दस वर्षको अन्धकारबाट बाहिर निस्केका टेकनाथ रिजाल थिम्पुमै बसिरहन चाहन्थे। एक्लै भए पनि भुटानी नेपालीहरूका लागि लडिरहन चाहन्थे।
तर त्यो सम्भव भएन।
उनी जतिसक्दो छिटो थिम्पु छाडेर जाऊन् भन्ने भुटानी राजसत्ताले चाह्यो।
एकदिन तत्कालीन गृहमन्त्री ठिन्ले ग्याम्छोले उनलाई मन्त्रालयमै बोलाएर भने, ‘तपाईंलाई तुरून्तै थिम्पु छाडेर जानू भन्ने राजाको आदेश छ। यो आदेश पालना गर्नुभएन भने सुरक्षा कानुनअन्तर्गत गिरफ्तार गर्न सरकार बाध्य हुनेछ।’
रिजालको आँखाअगाडि फेरि अर्को अन्धकार छायो।
यसबीच कौशिला उनलाई भेट्न थिम्पु आएकी थिइन्। दस वर्षको वियोग आँशु बनेर बर्सिएको थियो।
कौशिलाले छोराहरूको तस्बिर भएको एल्बम रिजाललाई देखाइन् र दस वर्षको अन्तरालमा लक्का जवान भइसकेका तीनै जना छोरालाई चिनाइन्। रिजाल पक्राउ पर्दा जेठो छोरा कमल दस वर्ष, माइलो छोरा त्रिविक्रम आठ वर्ष र कान्छो छोरा नृपेन्द्र चार वर्षका थिए।
कौशिला केही दिन थिम्पु बसेर नेपाल फर्किइन्, रिजाल भने केही समय आफ्नो स्वास्थ्य उपचार र भविष्यको योजना बुन्ने दौडधुपमा लागे।
राजाको आदेशविपरीत थिम्पु वा भुटानमा बसिरहनु उनका लागि जोखिमपूर्ण थियो; तर कहाँ जाने, के गर्ने अत्तोपत्तो थिएन।
अलमलको घडीमा उनले नेपालबाहेक अर्को विकल्प देखेनन्।
सवा लाखभन्दा बढी भुटानी शरणार्थीले आश्रय पाएको र आफ्नो परिवारसमेत बसिरहेको नेपालमा गोडाको बूढीऔंला टेक्ने ठाउँ मात्र पाए पनि बाँकी लडाइँ यहीँबाट जारी राख्ने उनले निधो गरे।
टेकनाथ रिजाल दोस्रोचोटि शरणार्थी बनेर नेपाल आए।
नेपाल र जेलसँग उनको कति गहिरो नाता रह्यो भने, उनी आज पनि नेपालमै छन् र नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर २४ वर्षपछि फेरि जेल परेका छन्।
नेपाल र जेलसँग यस्तै गहिरो नाता भएका डम्बरकुमारी अधिकारी र कलावती मगरलाई हामीले बेलडाँगी शिविरमा भेटेका थियौं, जसका छोराहरू भुटानी जेलमा बन्दी छन् र छोराहरूलाई भेट्न जेल धाइरहन्छन्।
डम्बरकुमारी र कलावतीको कथा अर्को अंकमा।
अर्को अंक अर्को शुक्रबार।
...
(यो अंकमा उल्लिखित वर्णन टेकनाथ रिजालसँगको प्रत्यक्ष कुराकानी र उनको संस्मरणात्मक किताब ‘निर्वासन’ मा आधारित छन्।)
आवरण तस्बिरः नेपाल र जेलसँग टेकनाथ रिजालको कति गहिरो नाता रह्यो भने, भुटानका विभिन्न जेलमा १० वर्ष बिताएर सन् १९९९ डिसेम्बर १७ मा रिहा भएका उनी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर फेरि जेल परेका छन्।