भुटानको ४०० वर्षको कथा- अंक २
अध्याय चारः एकादेशमा एउटा राजा थियो
आजभन्दा धेरै धेरै वर्षअघि — परापूर्वकालमा — माथि हिमालको फेदीतिर एउटा हिउँको देश थियो।
त्यो हिउँको देश यसै बनेको थिएन। त्यो देशलाई एक महान सिद्ध बौद्ध लामागुरूले आफ्नो तन्त्र–मन्त्र, तप र जपको बलमा खडा गर्नुभएको थियो। उहाँकै आशीर्वाद र वरदानले त्यो हिउँको देश बसेको थियो।
‘आम्मामामा! हिउँ नै हिउँको देश! कस्तो देश थियो आमा त्यो?’
आमाको काखमा लुटुपुटु परेर कथा सुनिरहेको सात वर्षको बालक दिलुले पुलुक्क मुन्टो उठाएर आमाको आँखातिर हेर्यो।
मुन्टो उठाउँदा माथि रूखको पातबाट खसेको पानीको थोपा दिलुको गालामा तप्प चुहियो। एकोहोरो बर्सिरहेको झरझर झरी थामिएकै थिएन।
घना जंगलको अजंग रूखका अजंग लहराहरू आकाशै छुँलाझैं गरी माथि–माथि तन्किएका थिए। जर्कट्ट परेका ती लहराहरूको हातेमालोले आकाशै ढाकेको थियो। तल रूखको फेदीमा बसेर उँभो हेर्दा अन्धकार सिवाय केही देखिन्थेन। त्यसमाथि रातको यो प्रहरमा केही देखिने कुरा पनि भएन। आकाश सफा हुन्थ्यो त, रूखका लहराहरूको कापबाट ताराहरू टिमटिमाइरहेका देखिन्थे होलान्! तर दिनरात चौबीस घन्टै पानी बर्सिरहने यो ठाउँमा सायद आकाशका तारा पनि पानीको थोपासँगै उहिल्यै धर्तीमा झरिसके होलान्!
भर्खरै दिलुको गालामा तप्प चुहिएको थोपा आकाशबाट पग्लिएर झरेको कुनै अभागी तारा त होइन!
दिलुको प्वाक्क प्रश्नले रूखका लहराहरूको घम्साघम्सीतिर टोलाउँदै एकोहोरो कथा सुनाइरहेकी आमा झसंग झस्किन्।
उनको ध्यान भंग भएको थियो। त्यसैले दिलुको गालामा प्याट्ट हिर्काउँदै भनिन्, ‘मैले कथा सुनाइरहँदा बीचमा प्वाक्क नबोल् न, म भनिहाल्छु नि सबै।’
यो आमाछोराको सधैंको नाटक हो। आमालाई कथा सुनाउँदा बीचमा बोलेको मन पर्दैन, छोरालाई बीचमा नबोली कथा सुनेको चित्त बुझ्दैन। सधैं यस्तै हुन्छ — छोराले कथाको लय बिथोलेपछि आमा झर्किन्छिन्, प्याट्ट हिर्काउँछिन्, अनि फेरि कथा सुरू गर्छिन्।
‘अब चुप्प लागेर सुन् है,’ यति भनेर आमाले फेरि कथाको लय समातिन् —
आजभन्दा धेरै धेरै वर्षअघि — परापूर्वकालमा — माथि हिमालको फेदीतिर हिउँ नै हिउँ थुप्रिएको एउटा निर्जन भूमि थियो। त्यो निर्जन भूमिमा एकदिन एक जना सिद्ध तान्त्रिक लामागुरू हिमालयको शिखरबाट आकाशमार्ग हुँदै झर्नुभयो।
उहाँले शरीरमा चीवर धारण गर्नुभएको थियो। टाउको मुडुलो थियो। कान सुलुत्त परेका लाम्चा थिए। आँखा ठुल्ठूला थिए र ती आँखाका नानी सूर्यजत्तिकै चम्किला थिए। उहाँको मुडुलो टाउको वरिपरि एउटा पहेँलो गोलाकार आभा झल्लल झिलमिलाइरहेको देखिन्थ्यो। उहाँको अनुहारको छाला भर्खरै जन्मिएको बालकको झैं पोटिलो थियो। ओठमा हरपल मुस्कान नाचिरहेको हुन्थ्यो। मुखबाट शब्दहरू यस्तरी झर्थे, मानौं फुरफुर फूल बर्सिरहेको छ। बोल्दा उहाँका बत्तीस दाँत हिउँझैं टिलिक्क टल्किन्थे। झट्ट हेर्दा उहाँ साक्षात् गौतम बुद्धको अवतार देखिनुहुन्थ्यो।
लामागुरूको जन्म कहाँ भयो, कहिले भयो; कसैलाई थाहा थिएन। उहाँ स्वयं आफ्नो उमेर बताउनुहुन्न थियो। उहाँलाई सिधै उमेर सोध्ने साहस कसैले गरेनन्। कहिलेकाहीँ कुरैकुरामा प्रसंग निस्किहाले उहाँ यत्ति भन्नुहुन्थ्यो, ‘कसको उमेर कति हो, त्यसले कुनै अर्थ राख्दैन; को कसरी बाँचेको छ, त्यसले अर्थ राख्छ।’
कति मान्छेहरू उहाँ हजार वर्ष नाघिसक्नुभयो भन्थे। उहाँलाई इच्छामृत्युको वरदान प्राप्त छ भन्ने गाइँगुइँ पनि सुनिन्थ्यो। तर जतिसुकै उमेरको भए पनि उहाँको शरीरमा गज्जबको फूर्ति थियो। उहाँलाई थाकेको, गलेको, सुस्ताएको कसैले देखेनन्। उहाँ हरेक मौसममा फक्रिने चमेलीको फूल हुनुहुन्थ्यो।
भनिन्थ्यो, उहाँले कयौं वर्ष हिउँभित्रै पुरिएर तप–जप गर्दै अद्भूत शक्ति हासिल गर्नुभएको थियो। उहाँ आफ्नो सिद्धिको बलमा जुनसुकै बेला संसारको जुनसुकै ठाउँ पुग्न सक्नुहुन्थ्यो। उहाँ पैदल हिँड्नु हुन्थेन, चराझैं आकाशमा उड्नुहुन्थ्यो। उहाँको हातमा यस्तो जादू थियो, जुन जादूको बलमा उहाँ आँखाको झिमिकमा ठूलो महल खडा गरिदिनुहुन्थ्यो। चाहियो भने पानी पारिदिनुहुन्थ्यो, नचाहिए अविरल झरी पनि रोकिदिनुहुन्थ्यो।
त्यस्ता सिद्ध लामागुरूको आगमनले हिमालको फेदीमा हिउँको थुप्रोबीच निर्जन ठाउँमा बसेका बासिन्दाहरू धन्य धन्य भए।
सबैले हिउँमाथि पसारिँदै गुरूलाई साष्टांग दण्डवत् गरे।
गुरूले एक–एकलाई कुम समातेर उठाउनुभयो र सबैका आँखामा हेर्दै मन्द मन्द मुस्कुराउनुभयो।
साक्षात् गुरूको स्पर्श र मृदु मुस्कानले त्यहाँका बासिन्दालाई यस्तो लाग्यो, मानौं हजारौं हजार वर्षपछि उनीहरूको शिशिरमा वसन्तको आगमन भएको छ।
हिउँको थुप्रोमाथि पसारिएर साष्टांग दण्डवत् गरिरहेका सबैलाई कुम समातेर उठाएपछि गुरूले भन्नुभयो, ‘म तिमीहरूको दुःख दूर गर्न आएको हुँ।’
त्यहाँ उपस्थित कसैले पनि आफ्नो मनको सन्दुक खोलेकै थिएनन्, तर गुरूलाई कसको मनमा के छ सब थाहा थियो।
खासमा भएछ के भने, माथि हिमालको शिखरमा बसेर तपस्या गर्दागर्दै गुरूको दिव्यदृष्टि हिमालको फेदीमा बसेको त्यो निर्जन ठाउँमाथि परेछ।
आँखा चिम्लेर हेर्दा उहाँले देख्नुभएछ — त्यहाँका बासिन्दालाई हिउँले पिरोलेको छ। बाह्रै महिना जम्ने बरफले गलाएको छ। कहिल्यै कुनै खेतीपाती नहुने मौसमले अत्याएको छ।
उहाँले देख्नुभएछ — त्यहाँका जनतासँग एउटा ढंगको घर पनि छैन। उनीहरू कयौं किलोमिटर टाढाबाट काठ ओसार्छन् र त्यसैको थुप्रोमा गुफाजस्तो घर बनाएर बस्छन्। उनीहरूले ओढ्ने बर्को भनेको हिमाली चौंरीको छाला हो। कतिले त चौंरीको भुँडी खोतलेर त्यही पनि ओढ्ने गर्छन्। उनीहरू सबभन्दा पहिला आन्द्रा र अरू फोहोर खोतल्छन्, त्यसपछि भुँडीको छाला सफा गरेर त्यसको एउटा टुप्पालाई आन्द्राको डोरीले कस्छन्, अनि त्यसैभित्र गुटुमुटु भएर न्यानो हुन्छन्। केटाकेटीहरूलाई त कठ्यांग्रिदो ठन्डीबाट जोगाउन सधैं त्यही चौंरीको भुँडी खोतलेर बनाइएको झोलाभित्र सुताइन्छ। साना साना केटाकेटी एउटै झोलामा दुई–तीन जनै अटाउँछन्। यसरी राख्दा केटाकेटीलाई हिउँको चिसोले खाँदैन भन्ने उनीहरूको विश्वास छ।
उहाँले यो पनि देख्नुभएछ — ती मान्छेहरू ईश्वरप्रति अगाध आस्था राख्छन्। तर उनीहरूको ईश्वरको आकृति छैन। उनीहरू प्रकृतिलाई नै ईश्वर ठान्छन् र आफू बाह्रै मास लडिबुडी गर्ने हिउँको डल्ला बनाएर पूजा गर्छन्।
आँखा चिम्लेर हेर्दा उहाँले यो पनि देख्नुभएछ — आजीवन हिउँले पिरोल्ने र बरफले गलाउने भए पनि त्यहाँका बासिन्दाको मनमा शोक र सन्ताप, पिर र चिन्ता केही छैन। उनीहरू सधैं सुखी बस्दा रहेछन्, सधैं खुसी रहँदा रहेछन्।
त्यस्तो कष्टपूर्ण जीवनमा पनि सधैं सुखी र सधैं खुसी रहने ती मान्छेको आनन्दी मनले लामागुरू प्रभावित हुनुभएछ।
उहाँले सोच्नुभएछ — म संसारको दुःखबाट मुक्त भएर निर्वाण प्राप्त गर्न वर्षौं वर्षदेखि हिउँको थुप्रोमा तपस्या गरिरहेको छु, तर यी मान्छे कस्ता हुन्, जसले तपस्यै नगरी; आफू जहाँ छन्, जस्तो हालतमा छन्, त्यस्तै हालतमा निर्वाण प्राप्त गरिसके!
उहाँले फेरि सोच्नुभएछ — जसले आफ्नो कष्ट अनुभूत गर्दैन, जसको मनमा लाख पीडा भए पनि ओठबाट मुस्कान हट्दैन, जोसँग केही छैन तर संसारको सारा खुसी आफूसँगै भएझैं तृप्त रहन्छ, उही बुद्ध हो। साँचो अर्थमा भन्दा उसले आफ्नो सांसारिक जीवनमै रहेर निर्वाण प्राप्त गरिसक्यो।
उहाँले यो पनि सोच्नुभएछ — मैले तपस्या गरेर यत्रो सिद्धि त पाएँ, तर के म बुद्ध भएँ?
यसरी आफ्नो दिव्यदृष्टिबाट हिउँमा बस्ने ती जनताको सुख र खुसी देखेपछि लामागुरू त्यही क्षण तपस्याबाट जुरूक्क उठ्नुभएछ र आफ्नो बाँकी जीवन त्यही निर्जन ठाउँमा उनीहरूसँगै बिताउने मनसाय लिएर चराझैं उड्दै त्यहाँ आइपुग्नुभएछ।
लामागुरूले यी सबै कुरा त्यहाँका जनतालाई सुनाउनुभयो र भन्नुभयो, ‘म जीवनभर जीवनको अर्थ खोज्दै हिँडेँ, तर तिमीहरूले मलाई बाँच्न सिकायौ, जीवन जिउन सिकायौ। सुखको स्रोत आफैंभित्र हुन्छ भनेर पहिल्याउन सिकायौ। तिमीहरूबाट जिन्दगीको यति महत्वपूर्ण ज्ञान प्राप्त गरिसकेपछि अब म आफूले सिकेको तप–जप र तन्त्र–मन्त्रको शक्तिबाट तिमीहरूको यो ठाउँलाई आबाद बनाउँछु। म यसलाई देश बनाउँछु।’
उहाँले अगाडि भन्नुभयो, ‘पछि मान्छेहरू मलाई गुरू, तिमीहरूलाई शिष्य भन्न सक्छन्, तर खासमा तिमीहरू मेरा गुरू हौ, म तिमीहरूको आज्ञापालक शिष्य हुँ।’
गुरूले यति भनेपछि त्यहाँ उपस्थित सबैले उहाँको जयजयकार गरे।
त्यसपछि त एउटा स्वस्थ मान्छेले एकचोटि लामो सास फेरेजत्ति पनि समय लागेन, त्यो हिउँको देश बन्नलाई।
‘के त्यहाँ पानी पनि पर्न थाल्यो?’ बालक दिलुले फेरि आमाको काखबाट मुन्टो उठाएर उनको आँखातिर हेर्दै सोध्यो, ‘के त्यहाँका मान्छेले आफ्नो घर बनाए?’
यसपालि उसको गालामा रूखको पातबाट पानीको थोपा खसेन, बरू झरीले उडाएर ल्याएको चिसो स्याँठले सेक्किएर उसका दुवै गाला राता भए।
आमाले फेरि उसका गालामा सुस्तरी प्याट्ट हिर्काइन् र केही जवाफ नदिई कथाको लय समातिरहिन् —
गुरूले आफ्ना दुवै हात हावामा लहराउनुभयो। उहाँले दुवै आँखा चिम्लनुभएको थियो। केही निमेषसम्म उहाँका दुवै ओठ चलमलाए। चुपचाप मन्त्र पढेपछि उहाँले आँखा उघार्नुभयो र भन्नुभयो, ‘म यहाँ हिउँको देश बनाउँछु। हिउँकै धर्ती र हिउँकै आकाश भएको, हिउँकै पानी र हिउँकै चट्टान भएको, हिउँ नै हिउँको देश।’
वरिपरि उभिएकाहरू आश्चर्य मान्दै गुरूका कुरा सुनिरहेका थिए।
‘अब तिमीहरूले टाढाबाट काठ ओसारेर झुप्रो बनाउनुपर्दैन, चौंरीको छाला काढेर बर्को ओढ्नुपर्दैन, चिसो हिउँ हातमा माडेर पानी पिउनु पनि पर्दैन,’ गुरूले अगाडि भन्नुभयो, ‘तिमीहरू यही हिउँमा अब आफ्नो संसार बनाओ। हिउँ थुपार, डल्ला पार र एकमाथि अर्को डल्ला ओछ्याउँदै गारो लगाओ। फेरि हिउँ थुपार, डल्ला पार र त्यही डल्ला ओछ्याएर दलिन बनाओ। हिउँको गारो र हिउँको दलिनको भएको तिमीहरूको घर चट्टानझैं मजबुत हुनेछ।’
गुरूको यस्तो बचन सुनेपछि सारा गाउँले हौसिए। उनीहरू बिजुली गतिमा काम गर्न थाले। गुरूले भनेजस्तै हिउँको डल्ला पारेर गारो लगाए, हिउँकै डल्लाको दलिन बनाए र भुइँमा पनि हिउँ नै बिछ्याए। बीच–बीचमा प्वाल पारेर झ्याल र ढोका निकाले।
हेर्दाहेर्दै घर तयार भयो।
झट्ट हेर्दा हिउँमा खेल्दै गरेका केटाकेटीले बनाउने घरजस्तै देखिएको थियो। सुरूमा त उनीहरूलाई लाग्यो, यस्तो घरमा भित्र बस्नु र बाहिर बस्नुको के फरक! बाहिर पनि हिउँ, भित्र पनि हिउँ! बाहिर चिसो छ भने भित्र पनि त चिसै होला!
उनीहरू मनमा शंका लिँदै आ–आफूले बनाएको घरभित्र छिरे।
जसै उनीहरू घरभित्र छिरे, उनीहरूलाई कहिल्यै सोच्दै नसोचेको अनुभव भयो।
हिउँको घरको भित्री भाग न्यानो थियो। यस्तो न्यानो, मानौं हरेक घरभित्र गुरूले घाम ल्याएर राखिदिनुभएको छ र त्यसको तापक्रम मान्छेको जीउलाई चाहिने गरी ठिक्क मिलाउनुभएको छ।
केटाकेटी खुसीले नाचे। बूढाबूढीले जीवनमा कहिल्यै नफेरेको लामो सास फेरे। युवायुवतीको मुहारमा पनि उत्साहको लहर दौडियो।
हिउँको देशमा अब कसैले पनि चौंरीको छालाको बर्को ओढ्नुपरेन। घरभित्र त्यस्तो बर्को ओढ्दा त खपिनसक्नु गर्मी हुन्थ्यो। उनीहरूले छालाको बर्को फाले, कपडाको बख्खु भिरे, जुन बख्खु गुरूले हावामा हात लहराएर उत्पन्न गराउनुभएको थियो।
हिउँको देशमा हिउँका घरहरूभित्र चुह्लो पनि बल्यो। उनीहरूले चुह्लोमा हिउँ तताएर घटघट पानी पिए, जीवनभरको प्यास मेटिने गरी।
लामागुरूले त्यसपछि सबैका लागि कामकाजको व्यवस्था गर्नुभयो। कसले के गर्ने भनेर बाँडफाँट गर्नुभयो। देश बन्नलाई चाहिने रीतिथिति र नियम–कानुनमा सबैलाई बाँध्न थाल्नुभयो। उहाँको नियम धर्ममा आधारित थियो। उहाँ हरेक दिन एक समय सबैलाई जम्मा गरेर बौद्ध धर्म पढाउनुहुन्थ्यो। तन्त्र सिकाउनुहुन्थ्यो। र, मन्त्र जपाउनुहुन्थ्यो।
देशवासी सबैले मिलेर गुरूका लागि एउटा भव्य गुम्बा पनि बनाइदिए। त्यो गुम्बा त्यहाँको घरजस्तै हिउँले नै बनेको थियो।
दिन बिते, महिना बिते, साल बिते।
समयक्रममा हिउँको देशको मुहार फेरियो। जुन हिउँले कुनै बेला त्यहाँका बासिन्दाको जीवन दुष्कर बनाएको थियो, त्यही हिउँ समृद्धिको दैलो बनेर उघ्रियो।
आफूले सिर्जेको देशमा आफूले सोचेजस्तै समृद्ध र सुखी सभ्यताको जग बसालेपछि कुनै दिन आकाशमार्ग हुँदै आउनुभएका लामागुरूले एकदिन सबै देशवासीलाई वरिपरि राखेर बिदा माग्दै भन्नुभयो, ‘अब मेरो जाने बेला आयो।’
सबैका आँखामा आँशु रसाए।
गुरूले चुपचाप प्राण त्याग्नुभयो।
उहाँको आत्मा त्यसैगरी आकाशमार्ग हुँदै हावामा विलीन भयो।
जब मान्छेले बाँच्न सिक्छ, ऊ सभ्य बन्छ। सभ्यले सभ्यता बसाल्छ। र, फेरि त्यही सभ्यताले जगाउँछ लोभ र लालसा, मोह र माया, कपट र किचलो।
हिउँको देशमा पनि त्यस्तै भयो।
गुरूको निधनपछि केही समय त सब ठिकठाकै चलेको थियो। बिस्तारै गुरूले छाडेर जानुभएको बौद्ध गुम्बाको विरासत कसले सम्हाल्ने भनेर कचमच हुन थाल्यो। बौद्ध लामागुरूको उत्तराधिकारी बन्न गुम्बाका अन्य लामाहरूबीच हानथाप सुरू भयो। गुरू छउञ्जेल गुम्बाको केन्द्र उहाँ नै हुनुहुन्थ्यो, अरू लामाहरू सूर्यको वरिपरि परिक्रमा गर्ने ग्रहजस्ता थिए। जसै गुरू बित्नुभयो, त्यो केन्द्र टुट्यो। ग्रहहरूलाई बाँध्ने डोरी छिन्नभिन्न भयो। उनीहरू आ–आफ्नो गति र दिशामा यताउति भौंतारिन थाले।
तिनै लामाहरूको समूहमा एक जना गुरूकै पनाति पनि हुनुहुन्थ्यो। उहाँको अनुहारमा गुरूको जत्ति नै आभा दौडिरहन्थ्यो। तन्त्र र मन्त्र, तप र जपमा उहाँ गुरू जत्तिकै विलक्षण हुनुहुन्थ्यो। यस्तो लाग्थ्यो, हजुरबुवाको केही अंश पनातिमा सरेको छ। देशवासी सबैले उहाँलाई नै बौद्ध गुम्बाको उत्तराधिकारी मानेका थिए। तर आन्तरिक शक्ति संघर्षमा उहाँलाई गद्दीमा आरोहण हुन सहज भएन। गुम्बाका अरू लामा भिक्षुहरू गुरूका ती पनातिलाई उत्तराधिकारी मान्न तयार भएनन्।
विवाद बढ्दै बढ्दै एकदिन त लामाहरूबीच हात हालाहालकै नौबत आयो।
गुरूका पनातिलाई त्यो कलह सह्य भएन। आफ्ना हजुरबुवाले बौद्ध धर्मको अनुशासन पालना गर्दै सिर्जेको हिउँको देश पग्लिएर धूजाधूजा होला भन्ने भयले एकदिन उहाँले चुपचाप गुम्बा त्याग गर्नुभयो।
अनि, हिमालको फेदीमा रहेको हिउँको देशबाट उहाँ अझै तल झर्नुभयो।
त्यति बेला उहाँको आँखामा हिउँको देश छाड्नुपर्दाको पीडा आँशु बनेर बग्दै थियो।
‘के हिउँको देशलाई पनि त्यो आँशुको सराप लाग्यो होला त आमा?’ दिलुले यसपालि आमाको काखबाट मुन्टो नउठाई मसिनो स्वरमा सोध्यो।
आफ्नो घर छाड्नुपर्दा कस्तो पीडा हुन्छ भन्ने दिलुले बुझेको थियो। सायद उसले सोच्यो, ती लामालाई पनि हिउँको देश छाड्नुपर्दा त्यस्तै पीडा भयो होला, जस्तो उसलाई अहिले भइरहेको छ।
आमाले यसपालि कथाको लय भंग गरेकोमा दिलुलाई प्याट्ट हिर्काइनन्।
‘उहाँको आँशुमा सराप थिएन, बस् आशीर्वाद थियो,’ आमाले यत्ति भनिन् र फेरि कथामै फर्किइन् —
हिमालको फेदीबाट तल–तल यात्रा गर्दै ती लामाभिक्षु आफ्ना केही शिष्यहरूका साथ तिब्बतको दक्षिणी सीमान्तमा रहेको एउटा नयाँ ठाउँ आइपुग्नुभयो।
त्यो ठाउँमा पहिल्यैदेखि साना साना समूह बसोबास गर्थे। उनीहरू पनि थरीथरीको सम्प्रदाय पछ्याउने बौद्धमार्गी नै थिए। पहिले हिउँको देशका जनता जस्तो कष्टमा बसिरहेका थिए, उनीहरूको जीवन त्यस्तो दुष्कर थिएन। उनीहरूको बसोबास व्यवस्थित थियो। तर त्यो बसोबासले देशको रूप लिइसकेको थिएन। त्यहाँ नियम–कानुन थिएन। कुनै रीतिथिति थिएन। समृद्धिले त्यो ठाउँलाई छोएकै थिएन।
लामाभिक्षुले त्यहाँ आएर ती सबै साना साना सम्प्रदाय समेट्न थाल्नुभयो।
सुरू सुरूमा त्यहाँका मान्छे हच्किए। कहाँबाट को नयाँ लामा आए भन्दै उहाँलाई शत्रुका रूपमा हेर्न थाले। पछि उहाँको विलक्षण खुबी देखेर सबै कायल भए। उनीहरूले भने, ‘हे लामागुरू, तपाईंलाई सभ्यताको परख छ। रीतिथिति र नियम–कानुनको ज्ञान छ। हामी अहिलेसम्म अन्धकारमा बाँचिरहेका छौं, हामीलाई ज्ञानको ज्योति देखाउनुहोस्।’
सबैको यस्तो अनुनय सुनेपछि भिक्षु प्रसन्न हुनुभयो र हावामा दुई हात लहराउँदै भन्नुभयो, ‘यो भूमि भोट प्रदेशको सबभन्दा आखिरी पुछारमा छ। म यो भूमिलाई भोटान्त बनाउँछु।’
यी भिक्षुमा आफ्ना हजुरबुवाको जस्तो जादुयी शक्ति थिएन। त्यसैले एउटा स्वस्थ मान्छेले एकचोटि सास फेर्ने समयमा हिउँको देश बनेजस्तो भोटान्त बनेन। यसका लागि उहाँले धेरै मिहिनेत गर्नुपर्यो।
उहाँले भोटान्तमा पहिल्यैदेखि बसोबास गर्ने सम्प्रदायहरूलाई बौद्ध धर्मको एकसूत्रमा समेट्नुभयो। बौद्ध धर्ममै आधारित शासन पद्धति बसाल्नुभयो। गुम्बाहरू बनाउनुभयो। बौद्ध अनुशासनको पाठ पढाउनुभयो।
बिस्तारै भोटान्तमा सभ्यताको जग बस्दै गयो।
यो सभ्यता अगाडि बढाउन उहाँलाई जनशक्तिको खाँचो थियो, जुन भोटान्तमा पर्याप्त थिएन। त्यसैले उहाँले जनशक्तिको खाँचो टार्न छिमेकी राज्यहरूसँग मित्रताको सेतु बाँध्न थाल्नुभयो।
उहाँ कयौं दिन हिँडेर सिक्किम पुग्नुभयो, आसाम पुग्नुभयो। नेपालको गोरखा र काठमाडौं उपत्यकासम्म पुग्नुभयो।
गोरखामा त्यति बेला राम शाहको शासन थियो। ती राम शाह भन्ने राजाबाट उहाँले शासन पद्धतिको सूत्र सिकेर आउनुभयो र त्यसलाई आवश्यकताअनुसार काँटछाँट गरेर भोटान्तमा लागू गर्नुभयो। काठमाडौं उपत्यकाका मल्लराज्यहरूबाट उहाँले कलाकौशल, बौद्ध धर्म र व्यापारको गुण सिक्नुभयो र त्यसलाई भोटान्तमा अनुसरण गर्न थाल्नुभयो।
यी सबै नयाँ व्यवस्था कार्यान्वयन गर्न उहाँले गोरखाका केही जनता आफूसँगै लिएर आउनुभएको थियो। काठमाडौं उपत्यकाबाट पनि मूर्तिकला, वास्तुकला जानेका शिल्पीहरूलाई निम्ता गर्नुभयो र उनीहरूलाई आफ्नै देशमा राखेर काठमाडौंको जस्तै भव्य गुम्बा र स्तुपहरू बनाउन लगाउनुभयो।
भोटान्तलाई व्यवस्थित देश बनाउन लामाभिक्षुले गोरखा, काठमाडौंदेखि नेपालका विभिन्न भूभागबाट निम्ता गरेर ल्याएका बासिन्दा समयक्रममा भोटान्तकै नागरिक भए। उनीहरूका पुस्ता पनि त्यहीँ जन्मे, त्यहीँ हुर्के, त्यहीँका भए।
यसरी सबैलाई समेट्दै, एउटै मालामा उन्दै भोटान्त समृद्ध बन्दै गयो, सभ्यता विकास हुँदै गयो।
यति भन्दाभन्दै आमाको शब्द टक्क रोकियो।
दिलुले केही बेर कुर्यो।
आमाको बक् नफुटेपछि उसले काखबाट मुन्टो उठाउँदै आमातिर हेर्यो।
आमाका आँखाबाट बलिन्द्रधारा आँशु झर्दै थिए। दिलुलाई आफ्नो गालामा तपतप चुहिरहेका पानीका थोपा आकाशबाट बर्सिएको झरी हो कि आमाको आँशु हो, छुट्टयाउन गाह्रो पर्यो।
जसै एउटा थोपाले उसको ओठ हुँदै जिब्रो भिजायो, त्यसपछि बल्ल उसले चाल पायो, त्यो झरी होइन, आमाको आँशु हो।
पानीको थोपा नुनिलो थियो।
‘के भो आमा?’ दिलुले मायालु स्वरमा सोध्यो, ‘किन रूनुभयो? के आँशुको सराप लागेको देश यही हाम्रो भोटान्त हो?’
आमा केही बोलिनन्। एकछिन चुप्पै लागिन् र आफूलाई सम्हाल्दै फेरि कथाको लय पक्रिन् —
दिन बिते, महिना बिते, साल बिते।
एकदिन लामाभिक्षुले पनि भोटान्तका नागरिकहरूलाई वरिपरि राखेर बिदा माग्नुभयो, त्यसरी नै जसरी उहाँका हजुरबुवा लामागुरूले हिउँको देशका जनतासँग बिदा माग्नुभएको थियो।
भोटान्तमा त्यस दिन ओभानो आँखा कसैका थिएनन्।
लामाभिक्षुले प्राण त्याग्नुभयो।
उहाँको प्राण पनि हजुरबुवाको जस्तै आकाशमार्ग हुँदै हावामा विलीन भयो।
यी लामाभिक्षु लामो कालसम्म भोटान्तमा धर्मराजा भएर बस्नुभएको थियो। धर्मको पालना गर्ने हुँदा उहाँलाई जनताले प्रेमपूर्वक धर्मराजा भनेका थिए।
उहाँको शेषपछि उहाँको उत्तराधिकारी, त्यसपछि उहाँका पनि उत्तराधिकारीहरू गद्दीमा बसे। ती सबैलाई दोस्रो, तेस्रो धर्मराजा भनियो।
जबसम्म धर्मराजाहरूको शासन थियो, भोटान्त त्यसरी नै चल्यो, जसरी पहिलो धर्मराजाले चलाउनुभएको थियो।
एकदिन सब बिग्रियो।
धर्मराजाका उत्तराधिकारीहरूबाट नयाँ खलकमा शासनको बागडोर सर्यो। सुरूमा त नयाँ राजखलकले बिराम केही गरेन। उनीहरू पनि धर्मराजाले बसालेको रीतिथितिमै बाँधिएर बसे। यहाँका पुराना सम्प्रदाय र नयाँ ठाउँबाट ल्याइएका नयाँ नागरिकहरूबीच उनीहरूले भेद गरेनन्। तर जसै नयाँ राजखलकको छोरा पुस्तामा गद्दी सर्दै आयो, भेदभाव पनि बढ्दै जान थाल्यो।
गोरखा, काठमाडौं र अन्य नेपाली भूभागबाट ल्याइएका वा पछि आफैं आएका नागरिकहरू नेपाली भाषा बोल्थे। नेपाली धर्म–संस्कृति मान्थे। नेपाली पहिरन लगाउँथे। उनीहरूको भाषा, उनीहरूले मान्ने संस्कृति र उनीहरूको पहिरन भोटान्तका पुराना सम्प्रदायको जस्तो थिएन। त्यसैले गद्दीका नयाँ उत्तराधिकारीहरूले यी नागरिकलाई उनीहरूको बोली, लवाइ, खवाइ र उनीहरूको धर्म–संस्कृतिका आधारमा विभेद गर्न थाले। धर्मराजाले स्थापना गर्नुभएको नागरिकका मौलिक हक यी नेपालीभाषीहरूले पाएनन्। उनीहरूले आफ्नो भाषा बोल्न पाएनन्। आफ्नो संस्कृति मान्न पाएनन्। यहाँसम्म कि, आफ्नो पहिरन पनि लगाउन पाएनन्। पहिलोचोटि भोटान्तमा पाइला राखेको चार सय वर्ष बितेपछि उनीहरूलाई आफ्नै देशले दोस्रो दर्जाको नागरिक ठान्यो र दोस्रो दर्जाको व्यवहार गर्न थाल्यो।
कतिले विरोध गरे। आवाज उठाए। हकका लागि लडे। तर आवाज उठाउनेको आवाज खोसियो। हकका लागि लड्नेहरूलाई भुइँमा लडाएर गोली ठोकियो। छोरीचेलीहरूलाई आफ्नो इज्जत जोगाउन गाह्रो पर्यो। भोटान्तका सिपाहीहरूले विरोध गर्ने नेपालीभाषीहरूलाई खोजी खोजी जेलमा कोच्न थाले। यातना दिए। आजीवन कैद राखे।
दिनरातको अन्याय, अत्याचार र शोषण; डर, त्रास र भयले आजित भएर एकदिन नेपालीभाषीहरूले गाउँ छाड्ने निधो गरे।
पहिला एउटा परिवार हिँड्यो। उसलाई पछ्याउँदै अर्को परिवार हिँड्यो। उसलाई पछ्याउँदै फेरि अर्को।
बिस्तारै गाउँका गाउँ खाली हुँदै गए।
भनिन्छ, त्यसरी गाउँ छाडेर हिँडेकाहरू सरकारी सिपाहीबाट बच्न कयौं दिन यो घनघोर जंगलमा भोकप्यास मारेर लुकेका थिए रे। बाघ–भालु लाग्ने जंगलमा उनीहरू कत्रो कष्ट सहेर बसे होलान्! भोकले पेट निमोठिँदा के खाए होलान्? प्यासले सुकेको घाँटी कसरी भिजाए होलान्?
हो, त्यही कष्ट झेल्दै गर्दा कुनै एक बूढीआमाको मुखबाट आफू र आफ्ना लालाबाला बेघर भएको, अनागरिक र शरणार्थी भएको, भोक्कै–प्यासै भौंतारिनुपरेको क्रोधमा सराप निस्क्यो रे!
त्यही बेलादेखि यो ठाउँलाई ती शरणार्थी बूढीआमैको आँशुको सराप लाग्यो भनिन्छ।
र, त्यही बेलादेखि ती शरणार्थी बूढीआमैको आँशुको सरापले यो ठाउँमा कहिल्यै नथामिने गरी दिनरात चौबीसै घन्टा झरी दर्किरहेको छ रे!
यो झरी यस कारण दर्किरहेको छ रे, ताकि कुनै शरणार्थीले फेरि यही बाटो हुँदै गुज्रिनुपरे, तिर्खाले उसको घाँटी प्याकप्याक नहोस्! यो झरीले शरणार्थीको सुकेको आँत भिजाओस्!
‘आमा, हामी पनि भोटान्त छाडेर हिँडेका छौं। आफ्नो गाउँ छाडेर हिँडेका छौं। हाम्रो स्कुलमा पनि नेपाली किताबहरू जलाइएको थियो। हाम्रा मास्टरहरूलाई थुनिएको थियो। हामीलाई पनि दौरा–सुरूवाल नलगा, बख्खु लगा भनिएको थियो। हाम्रै गाउँबाट कति जनालाई प्रहरीले समातेर लगेका थिए। कतै यो हाम्रै कथा त होइन आमा?’ दिलुले एकादेशका राजाको कथाको आसय बुझेझैं भन्यो।
आमा केही बोलिनन्।
साडीको फेरले आँशु पुछिन् र कतै पर टोलाइरहिन्।
कतै त्यहाँ उनले तिनै बूढीआमैलाई त देखिनन्? वा, बूढीआमैलाई खोज्दै आएका भोटान्तका सिपाही पो देखिन् कि!
‘आमा, कतै त्यो सराप दिने बूढीआमा तपाईं त होइन?’ दिलुले फेरि सोध्यो, ‘कतै यो ठाउँलाई तपाईंकै सराप त लागेको होइन आमा?’
आमाले पुलुक्क दिलुतिर हेरिन्। उनका आँखा भावशून्य थिए।
झरी थामिएको थिएन। आकाशतिर सोझिएर आपसमा जेलिँदै घम्साघम्सी गरिरहेका रूखका लामा–लामा लहराहरूले बनाएको राक्षसी आकृति झन् झन् डरलाग्दो देखिँदै थियो।
सात वर्षको दिलु थुरथुर भयो। उसले आफ्ना मसिना आँखा बेस्कन चिम्ल्यो। आमाको पाखुरामा बेस्कन मुठी कस्यो। आमाको काखमा बेस्कन लुटुपुटु पर्यो।
के त्यो राक्षसलाई दिलुको डरको सराप लाग्ला!
भनिन्छ, त्यो ठाउँ अहिले पनि बूढीआमैको सरापबाट मुक्त भएको छैन। त्यहाँ अहिले पनि रूखका लहराहरू जेलिएकै छन् र ती जर्कट्ट परेका लहराहरू रातको समय राक्षसी आकृति बनाउँदै तर्साउन आउँछन्। त्यहाँ अहिले पनि झरी थामिएको छैन। अहिले पनि मध्यरात कोही रोएजस्तो, कोही चिच्याएजस्तो आवाज सुनिन्छ। बेलाबेला हुलका हुल मान्छे भुइँमा झरेका पातपतिंगर टेक्दै हिँडेजस्तो सर्याकसुरूक आवाज आउँछ। कहिलेकाहीँ जंगलभरि राँको र लाल्टिन बलेजस्तो उज्यालो देखिन्छ।
के त्यो रोएको आवाज भोटान्तबाट खेदिएकी शरणार्थी बूढीआमैको हो?
के त्यो सर्याकसुरूक हुल बाँधेर भोटान्त छाडेका शरणार्थीहरूको पदचाप हो?
के त्यो राँको र लाल्टिन बलेजस्तो उज्यालो देशबाट लखेटिएका शरणार्थीहरूले बालेको आगो हो?
शरणार्थीहरूको आँशुको सरापले त्यो ठाउँलाई कहिले छाड्छ हँ?
अध्याय पाँच
गोरखा र काठमाडौंसँग सम्बन्ध जोड्ने भुटानी धर्मराजाको कथा
‘शरणार्थीहरूको आँशुको सरापले हाम्रो भोटान्त, हाम्रो भुटानलाई कहिले छाड्ला है सर?’
आमाले सुनाएको कथाको सार खिच्दै दिल महतले लामो सुस्केरा छाडे।
हामी दिल महतसँग झापाको बेलडाँगी शरणार्थी शिविरको उनकै झुपडीमा बसेर कुरा गर्दै थियौं। आफू सानै छँदा आमाबुवाको हात समातेर, गाउँलेहरूको लश्करका साथ भुटान छाडेर हिँड्दाको बेलीबिस्तार र बाटोमा आमाले सुनाएको ‘एकादेशका राजाको कथा’ सुनाइसक्दा दिल महत एकदमै थाकेजस्ता देखिँदै थिए।
उनी खाटमा पलेँटी कसेर आफ्नो कहानी सुनाउँदै थिए। हामी उनको अगाडि कुर्सीमा बसेका थियौं। कहानी सकेपछि उनी खाटबाट उठेर भान्छातिर गए। हामीले पर्दैन भन्दाभन्दै चिया पकाए। चिया पकाउँदै गर्दा उनले कोठामा राखिएको क्यासेट प्लेयर अन गरे।
अघिसम्म एकोहोरो दिल महतको आवाज सुनिएको कोठामा जीवन शर्माले गाएको पुरानो लोकगीत मधुरो स्वरमा बज्न थाल्यो —
सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको
छोराछोरी पाले ताले यही भारीको भरमा
जीवनभरि कहिल्यै पनि सुध्रिएन कर्म
वैशाखको धूपमा पनि सुख पाइनँ मैले
वैशाखको धूपमा पनि सुख पाइनँ मैले
साउनको बाढीपहिरो भन्न पाइनँ मैले
निमुखो यो सर्वहारा सातुको कोसेली फुकायो
भिजेको जीउको सारा डाँडामा पसिना सुकायो
सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको
‘मलाई जीवन शर्माको यो गीत एकदमै मन पर्छ सर,’ भान्छाबाट स्टिलको गिलासमा चिया ल्याउँदै दिल महतले भने, ‘साह्रै सन्चो दिन्छ, उनका गीतहरू सुन्दा।’
पृष्ठभूमिमा गीतको अर्को अन्तरा सुरू हुँदै थियो। हामी चिया पिउँदै चुपचाप गीतमा एकोहोरियौं —
छोरीहरू हुर्केबढे घर घर गए
छोरीहरू हुर्केबढे घर घर गए
छोराहरू पाँचै भाइ मुग्लानिया भए
नातिनी र नातिहरू जन्मे भन्छ कुन्नि
नातिनी र नातिहरू जन्मे भन्छ कुन्नि
मेरो साथी लौरोबाहेक छैन अरू सुन्ने
मागेर थुरेर भएन पसिना नझारी केही छैन
बोकेर अर्कैको भारी जिन्दगी थामेको जुहारी
सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको
अर्को अन्तरा सुरू हुनै लाग्दा पार्श्वधुनको पृष्ठभूमिमा दिल महतले भने, ‘एउटा कुरा चाहिँ अचम्म लाग्छ सर, आमाले सुनाएको कथा ठ्याक्कै भुटानको इतिहास हो। भुटानका पहिलो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले कुन परिस्थितिमा तिब्बत छाड्नुपर्यो, कसरी उहाँले भुटानलाई नयाँ देश बनाउनुभयो, नेपालीभाषीहरूलाई कसरी ल्याउनुभयो र पछि तिनै नेपालीभाषी कसरी शरणार्थी बनेर हिँड्नुपर्यो — यी सबै वर्णन आमाले आफ्नो कथामा गर्नुभएको छ। कथा सुनेपछि तपाईंहरूले पनि बुझ्नुभयो होला नि!’
हामीले सही थाप्यौं।
उनले अगाडि भने, ‘यो हाम्रै कथा हो भन्ने त मलाई धेरै पछिसम्म थाहा थिएन।’
‘कसरी थाहा पाउनुभयो त?’ हामीले सोध्यौं।
‘पछि आफ्नै रूचिले भुटानको इतिहास पढेँ। भुटानले आफ्नो नठाने पनि हाम्रो निम्ति त भुटान नै आफ्नो देश हो। आफ्नो देशको बारेमा त थाहा पाउनै पर्यो भनेर किताबहरू खोजी खोजी पढेँ,’ उनले भने, ‘त्यसपछि पो झल्याँस्स भएँ। आमाले उही बेला मलाई ङवाङ नमग्यालको कथादेखि भुटान स्थापना र हामी नेपालीभाषीहरूको पुर्खाको इतिहास बताइसक्नुभएको रहेछ।’
उनले अगाडि भने, ‘उहाँको कथा सम्झिँदै इतिहास पढ्दा मलाई झन् रमाइलो लाग्यो। आमाको कथाका पात्रहरू इतिहासका पानामा सजीव भएर आएजस्ता लागे।’
दिल महतको भनाइ साँचो हो। उनकी आमाले उनलाई र उनले हामीलाई सुनाएको कथाका धेरै प्रसंग भुटानको इतिहाससँग मेल खान्छन्। हामी जसरी किम्बदन्तीमा समाजको इतिहास सुन्छौं, ठ्याक्कै त्यस्तै। केही कथ्य र केही तथ्य मिश्रण गरिएको। ऐतिहासिक घटनाक्रमलाई अलौकिक ढंगमा प्रस्तुत गर्न पात्रहरूलाई पनि अलौकिक बनाइएको, तर घटनाहरू दुरूस्तै।
सायद यो भुटानी शरणार्थीहरूले जीवनभर आफ्नो मनमा साँचेर हिँड्ने किम्बदन्ती नै हो — जसका कथ्य र तथ्यलाई मिहिन केलाउने हो भने पूर्ण इतिहास बाहिर आउँछ।
‘हामीलाई पनि भुटानको इतिहास जान्न मन छ,’ हामीले भन्यौं, ‘को हुन् यी ङवाङ नमग्याल? कसरी उनले भुटान राज्य स्थापना गरे? र, कसरी गोरखा र काठमाडौंबाट नेपालीभाषीहरूलाई भुटान ल्याए? पछि कसरी तिनै नेपालीभाषीलाई शरणार्थी बनाइयो?’
‘भर्खरै कथा सुन्नुभयो त!’ यति भनेर दिल महत हाँसे, अनि भने, ‘म तपाईंहरूलाई केही किताब पढ्न सिफारिस गर्छु। त्यसमा भुटानको इतिहास राम्ररी वर्णन गरिएको छ।’
उनले केही किताबको नाम टिपाए, जसमध्ये नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले लेखेको ‘अनबिकमिङ सिटिजन्स’ मा सुरूदेखिका घटनाक्रम विस्तारमा समेटिएको पायौं।
अब हामी माइकल हटको किताब र इतिहासकार रमेश ढुंगेलसँगको कुराकानीका आधारमा भुटानको प्राचीन इतिहासतिर चियाऔं।
हेरौं है त, ‘एकादेशका राजाको कथा’ सँग कत्तिको मेल खाँदो रहेछ!
कथा सुरू हुन्छ आजभन्दा करिब चौध सय वर्षअघिबाट, जब भुटान भन्ने देश बनेकै थिएन।
त्यति बेला तिब्बतको यो दक्षिणी सीमान्त भूमि सभ्यताका हिसाबले अन्धकार युगमै थियो। यहाँ केही साना साना सम्प्रदायको बसोबास थियो। ती साना साना सम्प्रदाय साना साना सामन्तको अधीनमा बाँधिएका थिए। तर तिनलाई बाँध्ने नियम–कानुन केही थिएन। उनीहरू एउटा व्यवस्थित समुदायभन्दा मान्छेहरूको झुन्डका रूपमा बसोबास गरिरहेका थिए। भन्नुको मतलब, तिब्बतको दक्षिणी सीमान्त भूमिले एउटा देशको रूप लिइसकेकै थिएन।
त्यो भूमिलाई त्यति बेला नेपालीहरू ‘भोटान्त’ भन्थे, जसको अर्थ ‘भोट प्रदेशको अन्त’ हुनुपर्छ। तिब्बत अर्थात् भोट प्रदेशको दक्षिणी भाग यही भूमिमा आएर अन्त्य हुने भएकाले तत्कालीन भौगोलिक अवस्थितिका आधारमा यसको नेपाली नाम ‘भोटान्त’ रहेको अनुमान गर्न सकिन्छ।
हामी यो यस कारण पनि भन्न सक्छौं, किनभने तिब्बतीहरूले दिएको नाम पनि भौगोलिक अवस्थितिमै आधारित छ।
जुन भूमिलाई हामी अहिले भुटान भनेर चिन्छौं, त्यसलाई तिब्बतीहरूले ‘ल्हो मोन’ नाम दिएका थिए। तिब्बती भाषामा ल्हो मोनको अर्थ ‘दक्षिणको औल प्रदेश’ भन्ने बुझिन्छ।
यो भूमिमा त्यति बेला बसोबास गर्ने विभिन्न सम्प्रदायमध्ये मोन्पाहरू प्रमुख थिए। उनीहरूलाई प्रकृतिपूजक मानिन्छ। अर्थात्, उनीहरू हावापानी, रूखबिरूवा, हिमाल, पर्वत, नदी लगायत प्रकृतिको पूजा गर्थे। प्रकृतिलाई नै आफ्नो देउता मान्थे।
यसबाहेक तिब्बतमा खान नपाएर भागेका, देश निकाला गरिएका, लडाइँमा हारेका वा निकट नातेदारसँग शारीरिक सम्बन्ध राखेको भन्दै गाउँबाट निकालिएका मान्छे पनि बस्न आएको इतिहासकार रमेश ढुंगेलले हामीलाई बताएका थिए। उनका अनुसार नेपालमा जस्तै ‘मुन्धुम’ मान्ने चोङ किराँतीहरूको पनि बसोबास थियो। आठौं शताब्दीतिर तिब्बतबाट बौद्धमार्गीहरूको प्रवेश हुँदा यी चोङ किराँती र तिब्बतीहरूबीच घमासान युद्ध भएको थियो। यी चोङ किराँतीहरूले नेपालका तत्कालीन लिच्छवि राजाहरूमाथि धावा बोलेको इतिहास पनि छ। नेपालका ऐतिहासिक घटनाक्रमहरू टिपोट गरिएको ‘गोपाल राजवंशावली’ मा यो प्रसंग पाइन्छ।
इतिहासकार धनवज्र बज्राचार्य र कमलप्रकाश मल्लले गोपाल राजवंशावलीको व्याख्या गर्दै लेखेको किताबमा नेपालका लिच्छवि राजाहरूबाट तत्कालीन भोटान्तमाथि भएको हमलाको बयान छ, जसले भन्छ, ‘राजा शंकरदेव भोटान्त पर्यन्त निष्कंटक राज्यं करोति।’ यसबाट नवौं शताब्दीको अन्त्यतिर लिच्छवि राजा शंकरदेवको शासनकालमा अहिलेको भुटानसम्म नेपालको राज्य विस्तार भएको थियो भन्ने हामी बुझ्न सक्छौं।
माइकल हटले आफ्नो किताबमा व्याख्या गरेअनुसार भुटानको प्राचीन इतिहास राजनीतिकभन्दा बौद्ध धर्मको विकास र विस्तारमा बढी केन्द्रित छ। तिब्बतका तत्कालीन शासक र अन्य विभिन्न ठाउँबाट आएका धर्मगुरूहरूले यो भूमिलाई बौद्ध धर्मका विभिन्न सम्प्रदाय फैलाउने उर्वर क्षेत्रका रूपमा प्रयोग गरेको पाइन्छ। यसका लागि उनीहरूले यहाँ थुप्रै गुम्बा बनाउनुका साथै बौद्ध धर्मको शिक्षादीक्षा दिएको इतिहास छ।
यसमा सबभन्दा पहिला नाम आउँछ, तिब्बतका सम्राट स्रङ–चङ–गम्पो र तान्त्रिक धर्मगुरू पद्मसम्भवको।
यी दुवैले भुटानको प्रारम्भिक ऐतिहासिक कालमा बौद्ध धर्म प्रचार गर्न महत्वपूर्ण भूमिका खेलेको माइकल हटले लेखेका छन्।
आजभन्दा करिब चौध सय वर्षअघि, सातौं शताब्दीमा, सम्राट स्रङ–चङ–गम्पोको तिब्बतमा ठूलो नाम थियो। उनले चिनियाँ राजकुमारी वेन्छेङ ली र नेपालका लिच्छवि राजा उदयदेवकी छोरी भृकुटीसँग विवाह गरेर आफ्ना दुई छिमेकी मुलुकसँग नाता र मित्रताको हात बढाएका थिए। तिब्बतमा बौद्ध धर्म प्रचार गर्न यी दुई राजकुमारीको ठूलो भूमिका मानिन्छ।
तिब्बती जनश्रुतिअनुसार राजकुमारी भृकुटीले दाइजोका रूपमा अक्षोभ्य, मैत्रेय तथा ताराका मूर्तिहरू लगेकी थिइन्। चिनियाँ राजकुमारी वेन्छेङ लीले पनि केही प्राचीन बुद्धमूर्ति दाइजो ल्याएकी थिइन्। यी दुवै विदेशी श्रीमतीले बौद्ध धर्मलाई राजकीय धर्म बनाउन स्रङ–चङ–गम्पोलाई प्रेरित गरे। तिब्बतमा अहिले पनि भृकुटीलाई ‘हरिततारा’ र वेन्छेङलाई ‘श्वेततारा’ का नामले पुजिन्छ। स्रङ–चङ–गम्पोका मूर्ति जहाँ जहाँ छन्, त्यहाँ त्यहाँ दुईतिर दुवै रानी उभिएका भेटिन्छन्।
दुई रानीहरू वेन्छेङ ली र भृकुटीको प्रेरणाले बौद्ध धर्मप्रति आस्थावान् भएका स्रङ–चङ–गम्पोले तिब्बतको दक्षिणी सीमान्त प्रदेशमा पनि धर्म प्रचार गर्न भूमिका खेले। उनले भुटानको पारो र बुम्थाङ उपत्यकामा दुई ठूला गुम्बा स्थापना गराएका थिए। पारो उपत्यकाको गुम्बालाई ‘किचू ल्हाखाङ’ र बुम्थाङ उपत्यकाको गुम्बालाई ‘जाम्पे ल्हाखाङ’ भनिन्छ।
यसरी भुटानको पूर्वी (पारो) र मध्य (बुम्थाङ) भूभागमा दुई ठूला गुम्बा स्थापना गर्नुका पछाडि स्रङ–चङ–गम्पोको धर्म प्रचार गर्ने रणनीति झल्किन्छ। यी दुई गुम्बाको स्थापनाले धर्म विस्तार गर्न मद्दत पनि गरेकै थियो।
त्यसपछि प्रवेश हुन्छ, तान्त्रिक धर्मगुरू पद्मसम्भवको।
मध्य भुटानको बुम्थाङ उपत्यकाका राजाले आफ्नो राज्यमा हाबी भइरहेका भूत, प्रेत, पिशाचमाथि विजय प्राप्त गरी दैवीशक्ति जगाउन पद्मसम्भवलाई निम्ता गरेको भनाइ छ। यो आठौं शताब्दीको कुरा हो।
त्यति बेला पद्मसम्भवले बुम्थाङ लगायत भुटानका विभिन्न प्रदेश भ्रमण गरी विभिन्न सम्प्रदायमा आस्था राख्ने स्थानीय जनतालाई तान्त्रिक शिक्षा दिएका थिए। उनलाई आज पनि भुटानका बौद्ध सम्प्रदायहरूले ‘गुरू रिन्पोछे’ का रूपमा आराध्य मान्छन्। उनले पूर्वी र मध्य भुटानमा लोकप्रिय बनाएको सम्प्रदायलाई ‘निङ्मा’ सम्प्रदाय भनिन्छ। भुटानका पश्चिमी उपत्यकाहरूमा भने बौद्ध धर्मअन्तर्गतकै ‘काग्यू’ सम्प्रदाय बढी लोकप्रिय हुन पुग्यो, जसमा तिब्बतको रालुङ गुम्बाको ठूलो हात थियो।
स्रङ–चङ–गम्पो र पद्मसम्भवबाट सुरू बौद्ध धर्म विस्तारको इतिहासले भुटानमा दसौंदेखि सत्रौं शताब्दीको मध्यसम्मै निरन्तरता पाएको माइकल हटले उल्लेख गरेका छन्। यसबीच भुटानका विभिन्न प्रदेशमा विभिन्न धार्मिक सम्प्रदायमाथि आस्था राख्ने वंशहरूले आफ्नो राजनीतिक वर्चश्व कायम राख्न खोजेको देखिन्छ।
त्यसपछि भोटान्त उर्फ ल्हो मोनको धार्मिक तथा राजनीतिक परिदृश्यमा एउटा यस्तो व्यक्तिको प्रवेश हुन्छ, जसले कालान्तरमा यो भूमिलाई देश बनाए।
जसले विभिन्न भागमा अलग अलग शासन गरिरहेका साना साना सामन्त र सम्प्रदायलाई आपसमा जोडे।
जसले यो भूमिलाई धर्ममा आधारित व्यवस्थित शासन पद्धतिमा बाँधे र त्यसै आधारमा राजकाज चलाए।
ती व्यक्ति हुन्, भुटानका पहिलो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल।
ङवाङ नमग्यालले स्वयं आफूलाई ‘शाब्द्रुङ’ को पदवीबाट विभूषित गरेका थिए। शाब्द्रुङको शाब्दिक अर्थ ‘पाउमा पर्नु’ भन्ने बुझिन्छ। कतिपयले यसलाई ‘जसप्रति हामी समर्पित छौं’ भनेर पनि अर्थ लगाएका छन्।
यसरी भुटानी इतिहासमा उदाएका र आधुनिक भुटानको जग बसालेका ङवाङ नमग्याल को हुन् त?
माइकल हटका अनुसार उनी तिब्बतको खाम प्रदेशस्थित रालुङ गुम्बाका सत्रौं धर्मगुरूका पनाति थिए। र, सँगसँगै आफू पनि एक विद्वान भिक्षुका रूपमा कहलिएका थिए। उनलाई रालुङ गुम्बाको उत्तराधिकारीका रूपमा हेरिएको थियो। उनी तिब्बतको डुग्–प धर्मका मुख्य संस्थापकमध्ये लामा येसे दोर्जीको भाइतर्फका वंशज पनि हुन्।
यति मात्र होइन, उनले आफू डुग्–प सम्प्रदायका प्रसिद्ध विद्वान लामा पेमा कार्पोको अवतार भएको दाबी पनि गरेका थिए। समस्या के भयो भने, अर्का एक लामाले पनि आफूलाई पेमा कार्पोको अवतारका रूपमा दाबी गरे। ती लामालाई तिब्बतको एक प्रमुख प्रान्त चङका शासकहरूको समर्थन थियो। त्यही भएर अरू लामाहरूले ङवाङ नमग्याललाई पेमा कार्पोको अवतारका रूपमा स्वीकार गरेनन्।
यति हुँदाहुँदै नमग्यालले धेरै समयसम्म आफ्नो दाबी छाडेनन्। उनी निरन्तर आफ्ना विरोधीहरूसँग भिडिरहे।
यसै क्रममा विक्रम सम्बत् १६६३ मा रालुङ गुम्बाका सत्रौं धर्मगुरू अर्थात् ङवाङ नमग्यालका हजुरबुवाको निधन भयो। उनको निधनपछि नमग्याललाई गुम्बाको उत्तराधिकारीका रूपमा प्रतिस्थापन गरियो। त्यति बेला नमग्याललाई रालुङ गुम्बाको उत्तराधिकारी घोषित गरिँदा तिब्बतका अधिकांश धर्म सम्प्रदायका प्रतिनिधि उपस्थित थिए। भुटानबाट पनि प्रतिनिधिहरू गएका थिए।
तीव्र विरोधबीच नमग्याल रालुङ गुम्बाको प्रमुख त बने, तर त्यो पदमा धेरै समय टिक्न सकेनन्।
रालुङ गुम्बाको जिम्मेवारी ग्रहण गरेलगत्तै चङ प्रान्तका शासकहरूसँग उनको घमासान सुरू भयो।
चङ प्रान्तका शासकहरू नमग्याललाई कुनै हालतमा पेमा कार्पोको अवतारका रूपमा स्वीकार गर्न तयार थिएनन्। उनीहरूले रालुङ गुम्बाभित्रै नमग्यालका विरोधी लामाहरूलाई उक्साए। अर्का लामा, जो आफूलाई पेमा कार्पोको अवतार दाबी गर्दै थिए, उनी पनि चर्कोसँग नमग्यालको विरोधमा लागे।
यसरी चङ प्रान्तका शासकहरूको छत्रछाया पाएका विरोधीहरूले टिक्न–खान नदिएपछि ङवाङ नमग्यालले सहमतिको बाटो खोज्न चाहे।
विवाद टुंगो लगाउन सिगात्सेमा दुवै पक्षको छलफल भयो, तर सफल हुन सकेन।
सिगात्से बैठकबाट फर्किने क्रममा नमग्यालका अनुयायी र विरोधी समूहहरू साङ्पो नदीको बाटो डुंगामा यात्रा गर्दै थिए। डुंगा सानो थियो। मान्छे धेरै थिए। भर्खर एउटा असफल वार्ताबाट फर्किरहेका दुई समूहबीच डुंगामै बाझाबाझ सुरू भयो। दुवै पक्षले एकअर्कालाई हात पनि हाले।
यात्रुहरूको हुडदंगले डुंगाको सन्तुलन गुम्यो र नदीमा डुब्यो।
यो घटनामा ङवाङ नमग्यालका केही विरोधीहरूको ज्यान गयो।
त्यसपछि त नमग्यालको विरोधले झन् उग्र रूप लियो। उनलाई जसरी हुन्छ पदबाट हटाउने दाउ हेरिरहेको चङ प्रान्तका शासकहरूले यो घटनालाई बढाइचढाइँ प्रस्तुत गर्दै नमग्यालको राजीनामा मागे।
राजीनामा मात्र होइन, उनीहरूले नमग्यालमाथि कारबाही नै हुनुपर्ने माग पनि गरे।
आखिरमा उनै शासकहरूको तीव्र विरोधपछि ङवाङ नमग्याल रालुङ गुम्बा छाड्न बाध्य भए।
उनी तिब्बतबाट तत्कालीन ल्हो मोन प्रदेश अर्थात् भुटान आए।
भुटान नै किन आए त भन्नेबारे एउटा कथा प्रचलित छ —
पेमा कार्पोका असली अवतार को हो भन्ने विवाद चलिरहँदा एक रात ङवाङ नमग्यालले अद्भूत सपना देखेछन्। उनको सपनामा एउटा यस्तो दैवीशक्तिको आगमन भएछ, जो पखेटा फिँजाउँदै आकाशमा उड्थे। घरि हिमालय पर्वत पुग्थे, घरि साङ्पो नदीमाथि चराझैं कावा खान्थे। यसरी उड्दै उड्दै ती दैवीशक्ति तिब्बतको रालुङ गुम्बाबाट दक्षिणी भूभागतर्फको यात्रामा लागेछन्। तिब्बतबाट सुरू उनको यात्रा ल्हो मोन अर्थात् भुटान पुगेर टुंगिएछ।
ती दैवीशक्ति रालुङ गुम्बाट ल्हो मोन पुगेको सपनालाई ङवाङ नमग्यालले देउताको भविष्यवाणीका रूपमा बुझे। र, देउताको मार्गदर्शनका रूपमा ग्रहण पनि गरे।
उनी आफ्नो सपना पछ्याउँदै विक्रम सम्बत् १६७३ मा तिब्बतबाट निकालिएका शरणार्थीका रूपमा भुटानको यात्रामा निस्के। त्यति बेला उनी २३ वर्षका थिए।
नमग्याललाई भुटानमा थुप्रै डुग्–प गुम्बाहरू छन् भन्ने थाहा थियो। तर उनी कहिल्यै त्यहाँ गएका थिएनन्, इतिहासकार रमेश ढुंगेल लेख्छन्, ‘ङवाङ नमग्याल भुटान आउनुभन्दा पहिले तेह्रौं शताब्दीदेखि नै भुटानमा डुग्–प सम्प्रदायको प्रवेश भइसकेको थियो। यसरी नमग्यालभन्दा चार शताब्दीपहिले भुटानमा डुग्–प सम्प्रदायको प्रवेश गराउने काम उनकै पूर्वजमध्येका एक लामा फाजोले गरेका थिए।’
लामा फाजो भनेका तिब्बतमा डुग्–प सम्प्रदायका संस्थापक येसे दोर्जीको कुलका लामा साङ्ग्येका वंशज हुन्।
नमग्याल सबभन्दा पहिला भुटानको पारो उपत्यका आएर त्यहाँको डुग्–छोदिङ भन्ने गुम्बामा बसेको माइकल हटले लेखेका छन्।
कालान्तरमा यिनै ङवाङ नमग्यालले भुटानका सबै बौद्ध सम्प्रदायलाई एकत्रित गरे र साना साना सामन्तहरूलाई पनि जोडेर आधुनिक भुटान राज्यको स्थापना गरे। उनले भुटानमा धर्म र लौकिक परम्परामा आधारित शासन व्यवस्था चलाएका थिए। धर्मका आधारमा राजकाज चलाएकाले उनलाई ‘धर्मराजा’ भनियो।
तिब्बतबाट विद्रोह गरेर आएका नमग्याललाई भुटानको राजकाज सम्हालेपछि पनि तिब्बतीहरूले दुःख दिन छाडेनन्। उनका पुराना प्रतिद्वन्द्वी चङ प्रान्तका शासकले नमग्यालकै रिसमा धेरैचोटि भुटानमाथि हमला गरेका थिए। दलाई लामाहरूको गेलुग्पा सम्प्रदायले पनि १६९९ सालमा तिब्बतको शासन सम्हालेपछि भुटान जित्ने कोसिस गरेको थियो।
यस्ता तमाम आक्रमणका बाबजुद शाब्द्रुङ ङवाङ नमग्याल नयाँ राज्य स्थापना गर्ने आफ्नो अभियानमा टसमस भएनन्।
उनले आफू र आफ्ना तीस जना भिक्षुहरूका लागि भुटानको अहिलेको राजधानी थिम्पुनजिकै एउटा किल्लाजस्तो विशाल गुम्बा निर्माण गराएका थिए। उनी यही गुम्बाबाट राजकाज चलाउँथे। छेरी वा छाङ्ग्री गुम्बा भनिने त्यो किल्लाले अहिले पनि ङवाङ नमग्यालको विरासत झल्काउँछ। भुटानका प्रत्येक जिल्लामा उनले यस्तै किल्ला स्वरूपको गुम्बा बनाएका छन्, जसले त्यति बेला भिक्षुहरूको बासस्थानदेखि प्रशासनिक कार्यालयसम्मको काम गर्थ्यो। यस्ता प्रशासनिक इकाईलाई त्यति बेला ‘जोङ’ भनिन्थ्यो।
माइकल हटका अनुसार पहिलो जोङको निर्माण सिम्तोखा भन्ने प्रान्तमा १६८६ सालमा भएको थियो। त्यसपछि १६९४ मा पुनाखा जोङ, १६९५ मा वाङ्गी फोद्राङ जोङ, १६९८ मा थिम्पु जोङ, १७०२ मा पारो जोङ र १७०७ सालमा दागा जोङ निर्माण गरिए।
‘मध्यकालीन युरोपका सामन्तहरूले आफ्ना लागि बनाएका भव्य दरबारजस्तै यी किल्ला स्वरूपका जोङ अर्थात् गुम्बाहरू भुटानको राजनीतिक, प्रशासनिक तथा धार्मिक संरचनामा महत्वपूर्ण इकाई रहँदै आएका छन्,’ माइकल हट लेख्छन्, ‘यी जोङहरू भुटान चिनाउने विशिष्ट पहिचान पनि हुन्।’
राज्य निर्माणको त्यो समय नमग्यालले नयाँ गुम्बाहरू बनाउनुका साथै पुराना गुम्बाहरू अधिग्रहण गरेको र कतिपय सम्प्रदायले स्वेच्छापूर्वक आफ्ना गुम्बा नमग्याललाई उपहार चढाएको माइकल हटको भनाइ छ।
‘नमग्यालले भुटानमा पनि भिक्षुहरूको त्यस्तै संगठन निर्माण गराएका थिए, जुन रालुङ गुम्बामा थियो। भिक्षुहरूले स्थानीय जनतालाई आध्यात्मिक ज्ञान दिन्थे। उनीहरूलाई धार्मिक जीवन बाँच्न सिकाउँथे। स्थानीय बासिन्दाले आफ्नो सम्पत्ति र जग्गा–जमिनहरू आ–आफ्नो जिल्लाको प्रशासनिक कार्यालय अर्थात् जोङमा दर्ता गर्नुपर्थ्यो र करहरू पनि त्यहीँ तिर्नुपर्थ्यो। सरकारी तहका उच्च अधिकारीहरू सबै भिक्षु नै थिए भने सर्वसाधारणले तल्लो दर्जामा मात्र प्रवेश पाउँथे,’ उनी लेख्छन्।
र, यसरी नै धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले विगतमा ‘ल्हो मोन’ भनेर चिनिने भुटानलाई ‘डुग् युल’ अर्थात् ड्रयागन देशको नयाँ परिचय दिए।
यहाँबाट आधुनिक भुटानको नयाँ अध्याय सुरू हुन्छ।
यही क्रममा नेपालका गोरखा र काठमाडौं उपत्यकाका मल्लराज्यहरूसँग भुटानको निकट नाता गाँसिएको थियो। ङवाङ नमग्याल गोरखाका राजा राम शाहले बसालेको शासन पद्धतिबाट प्रभावित थिए भने काठमाडौं उपत्यकाका बौद्ध मठ–मन्दिरहरूले पनि उनमा ठूलो छाप छाडेको थियो। उनी तिब्बतको रालुङ गुम्बा त्यागेर भुटान जानुअघि काठमाडौंको स्वयम्भु आएको र केही समय यहीँ बसेर बौद्ध शिक्षा ग्रहण गरेको इतिहास छ, जसका बारेमा हामीले पहिलो अध्यायमा चर्चा गरिसकेका छौं। गोरखा राज्यसँग त उनको कति निकट सम्बन्ध थियो भने, उनले आफ्ना लामाहरूलाई तान्त्रिक अनुष्ठान गराउन विभिन्न समयमा गोरखा दरबार पठाएका विवरणहरू पनि इतिहासमा छन्।
यति मात्र होइन, नमग्यालले आफ्नो शासनकालमा दुईचोटि गोरखा र काठमाडौं उपत्यका भ्रमण गरेका थिए। ती दुवै भ्रमणपछि भुटान फर्किने क्रममा उनले नेपालीहरूलाई ठूलो संख्यामा आफूसँगै लिएर गएका थिए। त्यसरी नेपालीहरूलाई भुटान लग्नुको कारण नयाँ देश निर्माण गर्ने अभियानमा मद्दत पुगोस् भन्ने नै थियो। उनी भुटानलाई काठमाडौंको जस्तै कलाकौशलमा सम्पन्न बनाउन चाहन्थे। यहाँजस्तै खेतीपाती गराउन चाहन्थे। र, यहाँको जस्तै व्यवस्थित शासन पद्धति अपनाउन चाहन्थे। यसका लागि कालिगढदेखि विभिन्न प्रशासनिक तहमा रहेर काम गर्ने जनशक्ति उनलाई चाहिएको थियो। त्यही जनशक्तिको माग पूर्तिका लागि उनले नेपालीहरूलाई औपचारिक रूपमा निम्ता गरेर भुटान लगेको र त्यहीँ आफ्नो नागरिक बनाएर बसालेको इतिहास छ।
यसरी आजभन्दा चार सय वर्षअघि धर्मराजा ङवाङ नमग्यालको शासनकालमा सुरू भएको नेपालीहरूको भुटान बसाइँसराइबारे हामी आगामी अध्यायमा विस्तृत चर्चा गर्नेछौं। ङवाङ नमग्यालले गाँसेको गोरखा र काठमाडौं सम्बन्धले उनको शासनकालपछि कसरी निरन्तरता पाइरह्यो भन्नेबारे पनि आगामी अध्यायहरूमा चर्चा गर्नेछौं।
अहिले यो अध्यायमा हामी नेपाललाई सरोकार हुने भुटानी इतिहासको थप एउटा घटनाको मात्र चर्चा गर्छौं — त्यो हो, धर्मराजाहरूको उत्तराधिकारीलाई प्रतिस्थापन गर्दै वाङचुक वंशको उदय कसरी भयो?
धर्मराजा ङवाङ नमग्यालका पालामा बसालिएका नेपालीभाषी भुटानीहरूलाई यही वाङचुक वंशका चौथा राजा जिग्मे सिंघे वाङचुकले भुटानबाट लखेटेर शरणार्थी बनाएका थिए।
वाङचुक वंश उदयको प्रसंग विक्रम सम्बत् १७०८ बाट सुरू गरौं।
यसै साल भुटानका पहिलो धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालको निधन भएको थियो।
निधन हुनुभन्दा केही समयअघिदेखि उनी पुनाखा जोङको एकान्तवासमा थिए। उनको निधनको खबर ५४ वर्षसम्म गोप्य राखिएको माइकल हटले आफ्नो किताबमा उल्लेख गरेका छन्। यसरी खबर गोप्य राख्नुका तीन कारण छन् —
पहिलो, नमग्यालको निधनबाट हौसिएर तिब्बतीहरूले भुटानमाथि आक्रमण गर्लान् कि भन्ने डर।
दोस्रो, मध्य र पूर्वी भुटानमा डुग्–प सम्प्रदायको प्रभुत्व कमजोर हुँदै जानु।
र तेस्रो, नमग्यालका छोरा शारीरिक रूपले कमजोर र सधैं बिरामी परिरहने भएकाले उनलाई राज्यको उत्तराधिकारी मान्न सहमति हुन नसक्नु।
‘ङवाङ नमग्यालको निधनपछि जन्मका आधारमा पिताको उत्तराधिकार पुत्रमा सर्ने सदियौं पुरानो डुग्–प परम्पराको अन्त्य भयो,’ माइकल हट लेख्छन्, ‘अठारौं शताब्दीको प्रारम्भमा झन्डै ४० वर्ष भुटानका विभिन्न प्रान्तमा, खासगरी पश्चिमी भेगमा, विरोधी समूहहरूले शक्ति हत्याउने प्रयास गरिरहे। यसले भुटानको आन्तरिक राजनीति अस्थिर हुन पुग्यो।’
‘त्यसपछि शाब्द्रुङ अर्थात् धर्मराजाको उत्तराधिकारी पुनर्जन्मका आधारमा नियुक्त गर्न थालियो। यसका लागि डुग्–प परम्पराअनुसार शाब्द्रुङ ङवाङ नमग्यालको अवतार खोजी गरिन्थ्यो र सबै लक्षणले युक्त भई अवतार बन्न योग्य व्यक्तिलाई नयाँ शाब्द्रुङ घोषणा गरिन्थ्यो। यो पद्धतिबाट छ जना शाब्द्रुङले पहिलो धर्मराजा ङवाङ नमग्यालको विरासत सम्हालेका थिए। तर उनीहरूले भुटानी राजनीतिमा केन्द्रीय भूमिका निर्वाह गर्न सकेनन्। उनीहरू सबै सांकेतिक उत्तराधिकारी मात्र रहे। शाब्द्रुङ कमजोर भएको मौका छोपेर अन्य समूहहरू शक्ति हत्याउन तँछाडमछाड गर्न थाले।’
ङवाङ नमग्यालले आफ्नै शासनकालमा भुटानलाई तीन प्रशासनिक क्षेत्रमा विभाजन गरेका थिए — पारो, तोङ्सा र दागा। यी प्रशासनिक क्षेत्रको नेतृत्व गर्ने शासकलाई ‘पोनलोप’ भनिन्थ्यो।
उन्नाइसौं शताब्दीको प्रारम्भमा यी तीन शासकमध्ये पारो र तोङ्साका शासक आ–आफ्नो क्षेत्रमा शक्तिशाली बनेर उदाए। पारो पोनलोप मातहत पश्चिमी भुटान पर्थ्यो। तिब्बतसँगको व्यापार मार्ग यही पोनलोपको नियन्त्रणमा थियो। त्यस्तै, पूर्वी भुटान तोङ्सा पोनलोप मातहत पर्थ्यो।
भुटानको इतिहासमा वाङचुक वंशको उदय यहीँबाट हुन्छ।
दुई पोनलोपमध्ये तोङ्सामा वाङचुक वंशका सदस्य थिए। केन्द्रको शासन कमजोर भएको मौका छोपेर वाङचुक वंशले तोङ्सा क्षेत्रमा आफ्नो राजनीतिक एकाधिकार जमाउन थाले।
भुटानी राजनीतिमा वाङचुक वंशको उदय बेलायतीहरूको प्रवेशसँग पनि जोडिने घटनाक्रमहरूले देखाउँछन्।
विक्रम सम्बत् १९२२ मा भुटानले बेलायतीहरूसँगको सिन्चुला सन्धिअन्तर्गत आफ्नो दक्षिण भूभाग गुमाएको थियो। त्यसयता भुटान र बेलायतबीच दक्षिण भूभागलाई लिएर निरन्तर किचलो चलिरहन्थ्यो। यसैबीच १९२५ देखि १९४२ सालसम्म भएका तीन आन्तरिक द्वन्द्वले भुटानका प्रान्तहरूमा फुट ल्यायो, माइकल हट लेख्छन्, ‘यो फुटपछि १९४२ देखि भुटानको राजनीतिमा तोङ्साका शासक वाङचुकहरूको हात माथि परेको देखिन्छ।’
त्यसको केही समयपछि विक्रम सम्बत् १९६०–६१ तिर भारतमा शासन गरिरहेको बेलायती साम्राज्यले भुटानको बाटो हुँदै तिब्बतमा आफ्नो सेना पठाउन खोज्यो। बेलायतको यो सैन्य अभियानमा वाङचुकहरूले साथ दिए। उनीहरूले आफ्नो तर्फबाट आवश्यक सहयोग पनि बेलायतीहरूलाई उपलब्ध गराए। पारोका शासक (पोनलोप) भने तिब्बतको पक्षमा उभिए। यही मौका छोपेर बेलायतीहरूको समर्थन र सहयोगमा पारोका शासकलाई प्रतिस्थापन गर्न वाङचुक वंश सफल भयो, माइकल अगाडि लेख्छन्, ‘त्यसपछि भुटानमा वाङचुकहरूको एकल परिवारको एकाधिकार स्थापना भयो।’
विक्रम सम्बत् १९६४ पुस २ गते मंगलबारका दिन पुनाखामा आयोजना गरिएको भव्य समारोहबीच उगेन वाङचुक भुटानका राजा बने।
उनी वाङचुक वंशबाट भुटानको राजगद्दी सम्हाल्ने पहिलो राजा हुन्।
र, योसँगै भुटानमा पहिलोपटक वंश परम्परामा आधारित राजतन्त्रको सुरूआत भयो।
यो वंशमा अहिलेसम्म पाँच जना राजा भएका छन् — उगेन वाङचुक, जिग्मे वाङचुक, जिग्मे दोर्जी वाङचुक, जिग्मे सिंघे वाङचुक र वर्तमान राजा जिग्मे खेसर नमग्याल वाङचुक।
वाङचुक वंशका तेस्रो राजा जिग्मे दोर्जी वाङचुक (विसं १९८५–२०२९) लाई ‘सुधारवादी राजा’ का रूपमा लिइन्छ। उनकै पालामा भुटानमा विभिन्न सुधार कार्यक्रम सुरू गरिएको थियो। उनले जमिनको हदबन्दी लागू गरे। प्रहरी बल गठन गरे। पञ्चवर्षीय विकास योजना उनकै पालामा सुरू भयो। दासप्रथाको अन्त्य उनकै पालामा भयो। उनले राज्यसभा तथा राजकीय सल्लाहकार परिषद स्थापना गरे। उनले भुटानको एक मात्र अखबार ‘कुइन्सेल’ सुरू गरे। उनकै शासनकालमा भुटान राष्ट्रसंघको सदस्य पनि बन्यो।
‘जिग्मे दोर्जी वाङचुकले लागू गरेका कतिपय सुधार कार्यक्रम नेपालीभाषीहरू बसोबास गर्ने दक्षिण भुटानको अर्थतन्त्र र प्रशासनलाई बाँकी मुलुकसँग जोड्ने उद्देश्यले प्रेरित थिए,’ माइकल हट लेख्छन्, ‘उनी आफ्ना सुधार कार्यक्रमका माध्यमबाट दक्षिण भागमा बसोबास गर्ने नेपालीभाषी समुदायलाई राष्ट्रिय मूलधारमा ल्याउन चाहन्थे।’
माइकलले एक भुटानी शरणार्थीलाई उद्धृत गर्दै आफ्नो किताबमा लेखेका छन्, ‘जिग्मे दोर्जी वाङचुकभन्दा अगाडिका वाङचुक राजाहरू नेपालीभाषी बसोबास गर्ने दक्षिण भुटानमा विरलै भ्रमण गर्थे। सन् १९५० दशकमा जिग्मे दोर्जीले पहिलोपटक दक्षिण भुटान भ्रमण गरे। त्यसपछि बल्ल दक्षिण भुटानका नेपालीभाषीहरूले राष्ट्रिय मूलधारमा आबद्ध हुने अवसर पाए। जिग्मे दोर्जी पछि पनि बारम्बार दक्षिण भुटानको भ्रमणमा गइरहन्थे। ती भ्रमण क्रममा उनी भन्ने गर्थे– म तिमीहरूमाथि कुनै भेदभाव गर्दिनँ।’
भुटानमा दक्षिण भूभागमा बस्नेलाई ‘ल्होछाम्पा’ भनिन्छ। यसले खासगरी त्यहाँ बसोबास गर्ने नेपालीभाषीलाई बुझाउँछ। यसबाहेक बौद्धमार्गी बाँकी भुटानीहरूलाई ‘डुग्–पा’ भन्ने चलन छ। यी दुवै समुदायबीच कुनै विभेद नगर्ने बचन दिँदै जिग्मे दोर्जी भन्थे, ‘डुग्–पा र ल्होछाम्पा मेरा लागि दुई आँखा समान छन्। मैले एउटा आँखाको बदलामा अर्को आँखालाई भेदभाव गरेँ भने कसरी राम्ररी देख्न सक्छु?’
तर जिग्मे दोर्जीको निधनपछि यही वंशका चौथो राजा जिग्मे सिंघे वाङचुक नेपालीभाषी भुटानीहरूका लागि ‘सराप’ बनेर आए।
दक्षिण भुटानलाई राष्ट्रिय मूलधारमा जोड्न बाबुले सुरू गरेका सुधार कार्यक्रमहरू लत्याउँदै जिग्मे सिंघेले नेपालीभाषी ल्होछाम्पाहरूमाथि नागरिकता, जमिनको हक लगायतमा भेदभावपूर्ण कानुन लागू गरे। उनीहरूको नागरिकताको हक खोसे। जमिनको हक खोसे। भाषा र संस्कृतिको हक खोसे। र, यसरी नै एकपछि अर्को कसिकसाउ गर्दै आखिरमा सन् १९८० दशकको अन्त्यबाट भुटान छाडेर शरणार्थी जीवन बिताउन बाध्य पारे।
इतिहासको संयोग पनि कस्तो! तिब्बतबाट शरणार्थीका रूपमा भुटान प्रवेश गरेका ङवाङ नमग्यालले जुन नेपालीभाषीहरूको सहयोगमा भुटान राज्य निर्माण गरे, तिनै नेपालीभाषी भुटानीहरू आखिरमा ङवाङ नमग्यालजस्तै आफ्नै भूमिबाट शरणार्थीका रूपमा निकालिए!
नेपालीभाषी भुटानीहरूलाई देश छाड्न बाध्य पार्ने गरी षड्यन्त्रपूर्वक ल्याइएका विभेदपूर्ण नागरिकता कानुन, विवाह कानुन, सांस्कृतिक हकसम्बन्धी प्रावधान लगायतबारे हामी आगामी अध्यायहरूमा विस्तृत चर्चा गर्नेछौं।
दक्षिण भुटानका नेपालीभाषीहरूका लागि जिग्मे दोर्जी वाङचुकको शासनकाल ‘छोटो अवधिको हनिमुन’ का रूपमा रहेको माइकल हटले लेखेका छन्। झापाको बेलडाँगी शरणार्थी शिविरमा हामीले भेटेका दिल महत यो भनाइप्रति सहमति जनाउँछन्।
‘जिग्मे दोर्जी वाङचुकका पालासम्म नेपालीभाषीहरूमाथि सद्भावपूर्ण व्यवहार गरिँदै आएको थियो। त्यति बेलासम्म हाम्रा पुर्खाले सबै मौलिक हकहरू पाएका थिए। यहाँसम्म कि, विगतका वाङचुक वंशीय राजाहरूले उपेक्षा गरेको हामी दक्षिण भुटानका ल्होछाम्पा समुदायलाई जिग्मे दोर्जीले नै राष्ट्रिय मूलधारमा समेट्ने प्रयास गरे। उनी ल्होछाम्पा र डुग्–पाहरू भुटानका बराबर हकदार नागरिक हुन् भन्थे। त्यसैले उनको पालासम्म हामीलाई आफ्नो धर्म–संस्कृति मान्ने हक थियो। भाषा बोल्ने हक थियो। धेरै नेपालीभाषीहरू शासनको माथिल्लो ओहोदासम्म पुगेका थिए,’ दिल महतले बेलडाँगी शिविरको आफ्नो झुपडीमा हामीसँग लामो कुराकानी गर्दै भने।
‘उनका छोरा जिग्मे सिंघे वाङचुकले भने गद्दी सम्हालेदेखि नै हामी नेपालीभाषीहरूप्रति कपटपूर्ण व्यवहार देखाए। उनले आफ्ना पिताभन्दा बिल्कुलै फरक बाटो समाते र हामीलाई दोस्रो दर्जामा राख्न चाहे। त्यसैको परिणाम हो, आज हामी यहाँ आफ्नै देशले लखेटेर शरणार्थी जीवन बिताइरहेका छौं।’
दिल महतसँग हामीले दुई घन्टा पैंतीस मिनेट कुराकानी गर्यौं। उनले आफ्नो बारेमा, आफ्नो देशका बारेमा र शरणार्थी समस्याका बारेमा धेरै कुरा सुनाए। कुराकानीकै क्रममा उनले झुपडीको भित्तामा टाँसेर राखेका छोरी र श्रीमतीको तस्बिरको प्रसंग पनि निस्केको थियो। उनीहरू दुवै अहिले अस्ट्रेलियामा छन्। दिलले आफ्नी श्रीमती र छोरीका बारेमा पनि हामीसँग खुलेर कुरा गरेका थिए। हामी त्यसबारे पछि चर्चा गर्नेछौं।
झुपडीको झ्यालबाहिर निकै टाढा घामको रातो डल्लो ढल्किँदै थियो। बिदावारी हुन खोज्दा उनले फेरि दोस्रो खेप चियाको प्रस्ताव गरे।
हामीले ‘हुन्छ’ भन्यौं।
चिया पकाउँदै गर्दा उनले क्यासेट प्लेयरमा उही जीवन शर्माको गीत बजाए —
सिमली छायामा बसी भरिया लामो सास फेरेको
उमेर भइसक्यो असी, झन् ठूला दुःखले घेरेको
‘यो गीतमा म आफ्नै पीडा भेट्छु। उमेर ढल्किँदै छ, तै दुःखले घेर्न छाडेको छैन। आँखामा जहिलेदेखिको सम्झना छ, तहिलेदेखि जीवन यस्तै छ। बसाइ यस्तै छ। अहिलेसम्म खुट्टा फैलाउन पुग्ने ठाउँ मैले पाएको छैन। देश छुट्यो, परिवारको साथ पनि छुट्यो। देश फिर्तीको आशमा म यहाँ एक्लै बसेको छु, अब त त्यही आश पनि अञ्जुलीमा थापेको पानीजस्तो बिस्तारै छुट्दैछ।
‘म यहाँ छु, तर म यहाँको होइन। यो झुपडी मेरो नाममा छ, तर यो ठाउँमा मेरो नाम छैन। म नेपालीभाषी हुँ, तर नेपाल मेरो होइन। म भुटानी हुँ, मेरो रगतमा भुटान छ, मेरो आत्मामा भुटान छ, म भुटानी भनिनुमै गर्व गर्छु, तर भुटानले मलाई आफ्नो ठानेन।
‘म को हुँ? यो परिचय खोज्दैमा मेरो आधा जिन्दगी बित्यो, अहिलेसम्म भेटेको छैन। कहाँ हो म जाने ठाउँ? गन्तव्य खोज्दैमा मेरो आधा जिन्दगी बित्यो, अहिलेसम्म गन्तव्य भेटेको छैन।’
दिल महतले लामो सास ताने र बाफ उड्दै गरेको तातो चिया घुटुक्क निले।
र, भने, ‘सायद यस्तै दुःखले मन भरिएर होला, ती बूढीआमैले भोटान्तलाई सराप दिएको!’
अध्याय ६
पहिलो खेपको भुटान बसाइँसराइ
चार सय वर्षपछि उनका सन्तान–दर–सन्तानले राज्यबाट लखेटिएर शरणार्थी जीवन बिताउनुपर्ला भन्ने अलिकति पनि आभाष भइदिएको भए विशन थापा मगर आज आफ्ना लालाबाला र निकट इष्टमित्रको लावालश्कर लिएर त्यही राज्यतर्फ पाइला चाल्ने थिएनन्।
तर विशनसँग विकल्प थिएन। राजा राम शाहको आदेशलाई नाइँ भन्ने छुट पनि थिएन।
राजालाई विष्णु भगवानको अवतार मान्ने त्यो समय राजाको आदेश भन्नु साक्षात् विष्णु भगवानको आदेश थियो। त्यो आदेश नमान्दा एकातिर विष्णु भगवानलाई नाइँ भनेको पाप लाग्ला भन्ने डर त थियो नै, सँगसँगै राजाज्ञ उल्लंघन गरेको बात् लगाएर सजायको भागीदार पनि हुनुपर्थ्यो। त्यो सजाय तरबारले घाँटी रेटेर मार्ने, रूखमा झुन्ड्याउने, छाला काढेर नुन–खुर्सानी दल्नेदेखि चार पाटा मुडेर सीमा कटाउनेसम्म हुन सक्थ्यो।
कहिलेकाहीँ त मृत्युदण्डभन्दा भयंकर सजाय पनि भोग्नुपर्थ्यो — राजाको आदेश नमान्ने दोषीलाई घरखेत जफत गरेर एकसरो लुगामा घनघोर जंगलतिर खेद्ने, जहाँ उसले आफ्नो पूरै जीवन अरू कुनै मान्छेको मुखसम्म नहेरी, अरू कुनै मान्छेसँग एक शब्द नबोली, घामपानीको ओतबिना, दानापानीको भरबिना, भीषण जंगलको बीचमा, हिंस्रक जंगली जनावरहरूको झुन्डबीच बिताउनुपर्ने हुन्थ्यो।
मान्छेलाई मृत्युको भन्दा ठूलो भय आफ्नो समाज र आफ्नो समुदायबाट अलग्गिनुमा हुन्छ। त्यो किनभने, दस हजार वर्षअघि जंगली युगबाट सामाजिक जीवनमा फड्को मारेको मान्छे अब कसैगरी पनि फेरि जंगली युगमा फर्किन सक्दैन। ऊ यो दस हजार वर्षको अभ्यासले जंगलबाट टाढिइसक्यो, समाजमा बाँच्न अभ्यस्त भइसक्यो; ऊ सामाजिक भइसक्यो। उसलाई अब जंगली युगमा फर्किन फेरि अर्को दस हजार वर्ष लाग्ला। त्यसैले मृत्युदण्डले मान्छेलाई एकचोटि मार्छ, घाँटी रेटिँदा ऊ एकचोटि मर्छ, तर समुदायसँग सालनाल चुँडालेर बीच जंगलको अन्धकारमा छाडिएको मान्छे पल पल मर्छ। ऊ सास त फेर्छ, तर त्यो सासमा जीवन हुँदैन। उसको जीउका रक्तनलीहरूमा रगत त बग्छ, तर त्यो रगतमा प्राण हुँदैन।
विशन थापा मगरलाई यस्तो भयंकर सजायको भागीदार हुनु थिएन।
उनी चुपचाप एउटा अनिश्चित गन्तव्यतर्फ पाइला चाल्दै थिए, जहाँबाट चार सय वर्षपछि उनका सन्तान–दर–सन्तानलाई शरणार्थी बनाएर लखेटिँदै थियो।
यहाँ अर्को सम्भावना पनि छ — सायद विशन थापा मगर आफैं त्यो गन्तव्यमा पुग्न चाहन्थे। राजाज्ञा शिरोपर गर्ने वा मृत्युदण्डको भय वा समाजबाट सालनाल चुँडिने डरभन्दा सायद उनी स्वयंले खुसी–खुसी त्यो गन्तव्य रोजेका थिए। त्यसैले त, दिनको दोस्रो प्रहरमा जब राजा राम शाहले गोरखा दरबारमा भारदारहरूको आकस्मिक बैठक डाकेर एउटा ठूलो समूहको नेतृत्व गर्दै भोटान्त जानुपर्ने निर्णय सुनाए र त्यो समूहको नेतृत्व गर्ने जिम्मा आफूलाई सुम्पे, विशन थापा मगरको ओठमा हल्का मुस्कान नाचेको थियो।
‘तँलाई ठिक लाग्छ भने श्रीमती र केटाकेटी पनि लैजान सक्छस्,’ राजा राम शाहले सोधे, ‘के भन्छस् त विशे, घरव्यवहारमा अप्ठ्यारो त छैन नि!’
राजाले यस्तो सोध्नु भनेको विशनको निम्ति नाइँ भन्ने पर्याप्त अवसर थियो। तर उनले भनेनन्। बालबच्चा पनि सँगै लैजाने अनुमतिले त उनलाई मनको भारी बिसाएजस्तो हल्का भएको थियो।
राजाको अगाडि धनुष्टंकार हुँदै उनले आज्ञा शिरोपर गरे र भने, ‘कुनै अप्ठ्यारो छैन महाराज, हजुरको सेवक गोर्खाली समूहको नेतृत्व गर्दै भोटान्त जान तयार छ। गोर्खालीको मान, विशनको मान। गोर्खालीको मानका खातिर ज्यान दिन तयार छु महाराज।’
‘क्या बात्! मैले तँबाट यही आश गरेको थिएँ विशे। ल त्यसो भए आजको दस रोजपछि चालीस–पचास परिवारको टोली लिएर भोटान्त जान तयार हुनू,’ राजाले आदेश दिए, ‘चाहिँदो बन्दोबस्त मिलाउनू। घरव्यवहार केही मिलाउनुछ भने यो दस रोजमै सल्टाउनू र दस रोजपछि दिनको पहिलो प्रहरमै सवारी चलाउनू।’
विशन राजाको अगाडि धनुष्टंकार मुद्रामै उभिएका थिए। जसै हुकुम सकियो, उनी ‘हवस् महाराज’ भन्दै दुई–चार कदम पछाडि हटे र आफ्नो आसनमा बसे।
राजाले कोष नियन्त्रक डाकेर चालीस–पचास परिवारको समूहलाई भोटान्त जान चाहिने खर्च निकासा गरिदिन हुकुम दिए।
कोष नियन्त्रकले शिर झुकाएर ‘हवस् महाराज’ भने।
त्यसपछि राम शाह गद्दीबाट उठे, दुवै हात शिरमा लगेर राजमुकुट टम्म कसे, अनि कम्मरमा झुन्डिरहेको तरबारमा हात फेर्दै राजसभाबाट मिलिक्कै बाहिरिए।
सभा सकियो।
सबै भारदारले राजाको यति ठूलो जिम्मेवारी बोकेर भोटान्त जाने अवसर पाएकोमा विशनलाई बधाई दिए।
उनको मनले अन्यथा सोचिरहेको भए, त्यो दुबिधा त्यति बेला पक्कै उनको अनुहारमा प्रकट हुन्थ्यो। राजाका अगाडि नतमस्तक भएका थिए भने पनि अरूका अगाडि त उनको निधारमा चिन्ताका मुजाहरू पक्कै लुक्ने थिएनन्। तर राजाको अनुपस्थितिमा पनि विशनको अनुहारको रङ उत्रिएको थिएन। यो कस्तो जिम्मेवारी आइलाग्यो भन्ने चिन्ताले निधारका छाला चाउरी परेका थिएनन्। उनको मुहार चन्द्रमाझैं धपक्क बलेको थियो। शिर सूर्यमुखी फूलझैं माथि उठेको थियो। छाती हात्तीको ज्यानझैं चौडा भएको थियो। उनी भारदारहरूले टक्र्याएका बधाई — कतिले साँच्चै खुसी हुँदै र कतिले इर्ष्याले जल्दै — सहर्ष स्वीकार गर्दै थिए।
दरबारको बैठक सकेर, सबैको बधाई बटुल्दै घरतिर लम्किँदा पनि विशनका पाउ अनिच्छापूर्वक आइलागेको पहाडजत्रो जिम्मेवारीको बोझले गलेजस्ता थिएनन्। उनी त कपासको रूवाजस्तो फुरफुर उड्दै थिए र मृगझैं बुर्कुसी मार्दै घरको आँगनमा पुगे।
भोटान्त जानुपर्ने राजाज्ञाले उनको मनमा अलिकति पनि संकोच भुलुक्क उम्लेको भए, उनले कोठामा छिर्नेबित्तिकै शिरको टोपी पनि नफुकाली आफ्नी अर्धांगिनीलाई गर्वसाथ भन्ने थिएनन्, ‘म गोर्खाली राजाको आदेशअनुसार चालीस–पचास परिवारको समूह लिएर भोटान्त जाँदैछु। दस रोजमै सवारी चल्नुछ।’
अर्धांगिनीले बरू भोटान्त भनेको कहाँ हो, के हो, कस्तो होला भनेर सोधिखोजी गर्दै सुर्ता जताइन्। विशनलाई त यत्ति सुर्ता पनि थिएन, भने, ‘जहाँ होस्, जस्तोसुकै होस्, गोर्खाली राजाको आदेश पालना गर्नु हाम्रो कर्तव्य हो। फेरि तिमीले किन सुर्ता लिन्छौ, तिमी र केटाकेटी पनि त जाने हो नि मैसँग।’
‘हो र!’ विशनकी अर्धांगिनीको चेहरा एकैछिनमा गुलाफको फूलझैं फक्रियो, ‘अनि अघि केही भन्नुभएन त!’
विशन गमक्क परे, ‘तिमीलाई तर्साइदिएको!’
‘कस्तो मान्छे क्या हजुर त!’ उनी मुख रातो पार्दै विशनसँग टाँस्सिन गइन्, अनि लाडे पल्टिँदै भनिन्, ‘एकछिन त सास हुलुक्कै भएर आयो नि!’
त्यो घडी अर्धांगिनीलाई अँगालोमा बेर्दै गर्दा सायद विशनका आँखा कोठाको खापाबाहिर परको डाँडा र त्योभन्दा निकै परको मनास्लु हिमालमा टल्किरहेको अस्ताउँदो घामका किरणतिर एकोहोरिएका थिए। सायद उनका आँखा त्यही वा त्यस्तै कुनै हिमालपारिको भोटान्त खोज्दै थिए। उनी सोच्दै थिए — गोर्खाली राजाको आदेश मान्नु त हामी भारदारहरूको कर्तव्य भइहाल्यो, त्योभन्दा बढ्ता नयाँ देशमा नयाँ अवसर मलाई पर्खेर बसिरहेको छ कि! यो मुलुकमा जे छ यस्तै छ, त्यो मुलुकमा के छ कसलाई पत्तो! भोटको ल्हासामा सुन छ भन्छन्, भोटान्तमा पनि सुनको जलप वा त्यो पनि नभए नुन त कसो नहोला! यहाँ त न सुन, न नुन!’
त्यति बेला विशनको मुहार मनास्लु हिमालमा घाम टल्केजत्तिकै टलक्क टल्किएको उनकी अर्धांगिनीले पत्तै पाइनन्।
मनास्लु हिमाललाई साक्षी राखेर अर्धांगिनीलाई अँगालोमा च्याप्दा विशनले जे सोचे, त्यही सोच राजसभामा राजा राम शाहको आदेश सुन्दै गर्दा नै उनको मनमा झिलिक्क बलेको थियो कि!
यही झिल्काले नै विशनलाई खुसी खुसी राजाज्ञ मान्न राजी गराएको थियो कि! के बेर!
तर मनमा आशाको झिल्का बले पनि चार सय वर्षपछि आफ्ना सन्तान–दर–सन्तानले भोटान्तबाट लखेटिएर शरणार्थी जीवन बिताउनुपर्ला भन्ने अलिकति पनि आभाष भइदिएको भए विशन थापा मगर आज आफ्ना लालाबाला र निकट इष्टमित्रको लावालश्कर लिएर त्यही राज्यतर्फ पाइला चाल्ने थिएनन्।
कुनै हालतमा पाइला चाल्ने थिएनन्।
कथा शृंखलाको यो अध्यायमा हामी आजभन्दा चार सय वर्षअघि पहिलो खेपमा गोरखा राज्यबाट तत्कालीन भोटान्त बसाइँ सरेका नेपाली समूहका बारेमा कुरा गर्दैछौं। नयाँ देश बनाउने अभियानमा लागेका भुटानका धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले गोरखाको जस्तै व्यवस्थित शासन पद्धति अपनाउन राजा राम शाहसँग घनिष्ठ सम्बन्ध गाँसेको र विभिन्न कामका लागि चाहिने जनशक्तिको माग पूर्ति गर्न नेपालीहरूलाई औपचारिक निम्ता गरेको कुरा हामीले अघिल्ला अध्यायमा गरिसकेका छौं। यही सम्बन्धको सेतु चढेर गोरखाका केही जनता कसरी भुटान पुगे भन्नेबारे अब चर्चा गरौं।
यो सत्रौं शताब्दीको कुरा हो — विक्रम सम्बत् १६८१।
भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल तत्कालीन नेपालको पहिलो औपचारिक भ्रमणमा आएका थिए।
त्यही भ्रमण क्रममा नमग्यालले गोरखाको शासन पद्धतिबारे राजा राम शाहसँग सल्लाह–विमर्श गर्नुका साथै आफ्नो शासकीय संरचना निर्माणका लागि विभिन्न तहमा रहेर काम गर्न जनशक्ति माग गरेका थिए।
धर्मराजाको यस्तो माग सुनेपछि गोर्खाली राजा राम शाहले आफ्ना भारदारहरूसँग परामर्श गरे।
उनी त्यसै पनि यत्रो आश लिएर भुटानदेखि गोरखासम्म आइपुगेका धर्मराजालाई खाली हात पठाउने अवस्थामा थिएनन्। उनीमाथि धर्मराजाको एउटा ठूलो गुन पनि थियो। गोरखा दरबारमा दाजुभाइबीच गृहकलहले शान्ति भंग हुँदा र गद्दीका उत्तराधिकारीको जन्म हुन नसकेका बेला रानीले देखेको सपनाअनुरूप राम शाहले यिनै धर्मराजा ङवाङ नमग्यालसँग एक जना भुटानी लामा पठाइदिन आग्रह गरेका थिए। राम शाहको आग्रह सुन्नेबित्तिकै ङवाङ नमग्यालले एक जना तान्त्रिक लामालाई गोरखा पठाइदिए। तिनै लामाले गोरखा दरबारमा आएर तान्त्रिक अनुष्ठान सम्पन्न गरेपछि दाजुभाइबीचको गृहकलह शान्त हुनुका साथै गद्दीका उत्तराधिकारी डम्बर शाहसहित तीन जना राजकुमारको जन्म भएको थियो। यसबारे हामीले अघिल्लो अंकमा चर्चा गरिसकेका छौं। यो गुन फर्काउन पनि धर्मराजाको मागअनुरूप केही गोर्खालीहरूलाई भुटान पठाउनुपर्ने मित्रवत् जिम्मेवारी राम शाहमाथि थियो।
उनले सायद त्यो बेला आफ्नी रानी शशिरेखा देवी वा लीलावतीसँग पनि धर्मराजाको मागबारे सल्लाह गरेका हुँदा हुन्! रानीले भनेकी हुँदी हुन्, ‘यसमा दुबिधा किन लिनुहुन्छ महाराज! धर्मराजालाई पुकारेपछि गोरखा दरबारको कलह शान्त भयो, हाम्रा तीन–तीन जना राजकुमारहरू भए। अब धर्मराजालाई आवश्यक पर्दा हामीले आफ्नो तर्फबाट सक्दो मद्दत गर्नु त हाम्रो राजधर्म नै हो नि! मित्रताको कर्तव्यले पनि त एउटा मित्रलाई खाँचो पर्दा अर्को मित्रले निसंकोच हात बढाउनुपर्छ भन्छ।’
रानीको मुखबाट यस्तो सुनेपछि सायद राम शाह ढुक्क भए होलान्!
आफ्ना जनतालाई बिरानो मुलुकमा कसरी पठाउने, कसलाई जा भन्ने वा भोलि कुनै अनिष्ट परिहाल्यो भने त्यो अवगालको भार कसरी बोक्ने भन्ने सोचले मनमा थोरै दुबिधा उम्लेकै भए पनि रानीको बचनले राम शाहको मन दृढ भयो होला!
उनले भोलिपल्टै दिनको दोस्रो प्रहरमा भारदारहरूको बैठक डाके र आफ्नो हुकुम सुनाए — आजको दस रोजमा चालीस–पचास गोर्खाली परिवारको समूह भुटान जान तयार हुनू। यो समूहको नेतृत्व विशन थापा मगरले गर्नू। गोर्खाली परिवारलाई भुटानसम्म पुग्न जति खर्च लाग्छ, त्यसको अविलम्ब निकासा राजकोषबाट गर्नू।
राजाको हुकुम भुइँमा झर्नेबित्तिकै विशन थापा मगर तयारीमा लागे। उनले घर–घर डुलेर आफूसँग नयाँ मुलुक भुटान जान राजी हुने गोर्खाली परिवारको खोजी गरे।
भुटान जाने परिवार छनौट गर्दा चारै वर्णलाई समेट्नू भन्ने राम शाहको आदेश थियो। त्यसैअनुरूप विशनले ब्राह्मण, क्षत्री, वैश्य र शुद्र गरी चारै वर्णका परिवार छाने। शुद्रबाट पनि कामी, दमाई र सार्की परिवारलाई बराबर सहभागी गराए।
राम शाहले भुटानी धर्मराजाकै इच्छामुताबिक चारै वर्णका परिवार छान्न लगाएको हुनुपर्छ। किनभने, जातीय वर्ण व्यवस्थाको कठोर नियम रहेको त्यो समयकालमा राम शाहले स्वेच्छापूर्वक मान्छे छान्न पाएका भए ब्राह्मण, क्षत्रीजस्ता उपल्लो जातिलाई नै प्राथमिकता दिन्थे। वा, भुटानी धर्मराजाको बचन टार्न नसकेर मात्र गोर्खाली परिवारलाई भुटान पठाउन लागेका भए उनले कथित तल्लो जातिमा पर्ने शुद्रहरूलाई मात्र छानी–छानी पठाइदिन्थे। भुटानप्रति उनको मनमा कुनै किसिमको द्वैष भाव भएको भए पनि उनी आफ्ना क्षत्रीय लडाकूहरू मात्र पठाएर भविष्यमा युद्धको रणनीति बुन्न सक्थे। तर राम शाहले त्यस्तो केही गरेनन्।
यहाँ भुटानी धर्मराजालाई नेपालको वर्ण व्यवस्थाबारे राम्रो जानकारी रहेको भान हुन्छ। जातीय आधारको यो वर्ण व्यवस्थामा श्रम विभाजन पनि जोडिएको थियो। धार्मिक कर्मकाण्ड ब्राह्मणले गर्थे, लडाइँभिडाइँ क्षत्रीहरूको जिम्मामा थियो भने व्यापार–व्यवसाय वैश्यहरूले सम्हाल्थे, अनि समाजलाई एउटा गतिमा हिँडाइराख्न नभई नहुने क्रियाकलाप — जस्तै लुगा सिउने, हातहतियार बनाउने, जुत्ता सिउने, बिहे-ब्रतबन्धमा बाजा बजाउने — शुद्रहरूले सम्पन्न गर्थे।
भुटानमा नयाँ ढंगको शासन पद्धति बसाल्न यी चारैथरीका मान्छेको खाँचो पर्छ भन्ने सायद ङवाङ नमग्यालले बुझेका थिए। त्यसैले उनी सबै वर्णबाट निश्चित संख्याको परिवार लगेर गोरखाको शासन र समाज जसरी चलेको छ, भुटानमा पनि त्यस्तै अनुकरण गर्न चाहन्थे।
त्यति बेला ङवाङ नमग्यालले सबै जात र वर्णका नेपाली परिवार आफूसँग लगेकाले नै आज दक्षिण भुटानका नेपालीभाषीहरूमा सबै वर्ण बराबर पाइन्छ। त्यहाँबाट शरणार्थी भएर नेपाल आएकाहरूमा पनि यी चारै वर्णका परिवार सराबरी छन्।
यसरी राम शाहले चारै वर्णका सदस्यसहित चालीस–पचास गोर्खाली परिवारलाई भुटानी धर्मराजा ङवाङ नमग्यालसँगै भुटान पठाएको वर्णन इतिहासकार रमेश ढुंगेलले आफ्नो किताबमा गरेका छन्, उनी लेख्छन्, ‘विभिन्न भुटानी स्रोतहरूमा उल्लेख भएको विवरण तथा भुटानका नेपालीहरूको परम्परा हेर्दा राम शाहकै पालामा गोर्खाली नेपाली जनतालाई भुटान लगेर आवश्यकताअनुरूप बसोबास गराई गुलजार गराउने काम भएको थियो ... इसं १६२४ (विसं १६८१) को भ्रमणकालमा नै गोरखाका भारदारहरूको सल्लाहबमोजिम ङवाङ नमग्यालले चारै वर्णका — ब्राह्मण, क्षत्री, वैश्य र शुद्र (कामी, दमाई, सार्की) समेतका गोर्खाली चालीस–पचास परिवारलाई भुटान लिएर गएको उल्लेख भुटानी स्रोतमा पाइन्छ। त्यसपटक भुटान बसाइँसराइ गरेर जाने गोर्खाली जनताको नेतृत्व विशन थापा मगरलाई दिइएको समेत जानकारी पाइएको छ।’
गोरखाको तत्कालीन सामाजिक व्यवस्थाअनुरूप चारै वर्ण र विविध जातका परिवार लगेर आफ्नो राज्य गुलजार गराउनुले त्यहाँको सामाजिक–आर्थिक व्यवस्था भुटानले अनुकरण गर्न खोजेको पुष्टि हुने ढुंगेल बताउँछन्।
‘गोरखा राज्यको सामाजिक विविधता ङवाङ नमग्यालले देखेका थिए। त्यहाँ पूजापाठ गर्ने समूह छुट्टै थियो, बाजा बजाउने समूह छुट्टै थियो, लडाकू योद्धा र व्यापार–व्यवसाय गर्ने समूह पनि छुट्टै थियो। देशलाई व्यवस्थित ढंगले चलाउने हो भने यी सबै जातजातिका मान्छे चाहिन्छन् भन्ने नमग्यालले बुझेका थिए। त्यसैले उनले गोर्खाली राजासँग दौत्य सम्बन्ध कायम गरेपछि यी सबै वर्णका मान्छे पठाइदिन आग्रह गरेका हुन सक्छन्,’ ढुंगेलले हामीसँगको कुराकानीमा भनेका थिए, ‘त्यसैले केही गोर्खाली वेद पढ्दै भुटान गए, केही नगरा बजाउँदै गए भने कोही मानापाथी र ढकतराजु बोकेर र कोही तरबार र ढाल बोकेर गए।’
‘यो नै नेपालबाट भुटानमा भएको पहिलो खेपको बसाइँसराइ हो,’ उनले भने।
धर्मराजा ङवाङ नमग्यालले आफ्नो पहिलो भ्रमण क्रममै तत्कालीन गोर्खाली राजा राम शाहले बनाएको राज्यव्यवस्थालाई आवश्यकताअनुरूप संशोधन गरी भुटानमा लागू गराएका थिए। यसका लागि राम शाहले गोरखामा प्रचलित कानुनको एक प्रति तयार गरेर धर्मराजालाई सुम्पेको ढुंगेलको दाबी छ। कानुनको प्रति मात्र होइन, राम शाहले केही परिमाणको अन्न पनि भुटानी जनताको निम्ति उपहार पठाइदिएका थिए। विशन थापा मगर नेतृत्वको चालीस–पचास परिवार गोर्खालीहरूले अन्नका भारी बोकेर भुटान पुर्याएका थिए।
त्यति बेलासम्म व्यवस्थित खेतीपाती सुरू नभइसकेको भुटानमा अन्नको उपलब्धता निकै कम थियो। जसरी नेपालका हिमाली क्षेत्रमा मौसमी प्रतिकूलताका कारण कृषि उपजहरू सीमित हुन्छन्, भुटानको हालत पनि त्यस्तै थियो। उनीहरूको दक्षिण भूभागमा खेतीयोग्य जमिन त थियो, तर कृषिमा लाग्ने जनसंख्या थिएन। के–कस्ता बाली उब्जाउने, कसरी उब्जाउने, खेतमा सिँचाइ कसरी गर्ने लगायतका कृषिजन्य ज्ञान र सीप भुटानी डुग्–पाहरूसँग थिएन। त्यसैले धर्मराजा नमग्यालले आफ्नो गोरखा बसाइकै क्रममा यहाँ कसरी खेतीपाती गरिँदो रहेछ भनेर हेरेका थिए र पछि गोर्खाली टोलीको मद्दतले भुटानको दक्षिण भेगमा पनि त्यही शैली अपनाउँदै खेतीपाती सुरू गराएका थिए। भुटानमा व्यवस्थित कृषि युगको थालनी नै त्यसपछि भएको ढुंगेलको भनाइ छ।
गोरखाको मानापाथी र नापजोखको व्यवस्था पनि नमग्यालको त्यही भ्रमणपछि भुटानमा चलनचल्तीमा आएको हो। भुटानमा केही अघिसम्म पनि गोर्खाली व्यवस्थाअनुरूपको मानापाथी चलनचल्तीमा थियो, जसलाई भुटानीहरू ‘गोर्गे झप्पा’ भन्थे। भारतको अरूणाञ्चल प्रदेशमा अझै पनि मानापाथीलाई ‘गोर्गे झप्पा’ नै भन्ने चलन छ। मुस्ताङ र अन्य हिमाली भेगमा पनि पछिसम्मै अन्न नापजोखलाई ‘गोर्खे सोवा’ वा ‘गोर्खे पाथी’ भन्ने गरिन्थ्यो। यसबाट गोर्खाली नापतौलको व्यवस्थाले भुटानमा गहिरो प्रभाव पारेको पुष्टि हुने ढुंगेलको तर्क छ।
विक्रम सम्बत् १६८१ को पहिलो औपचारिक नेपाल भ्रमण क्रममा भुटानी धर्मराजा गोरखा सँगसँगै काठमाडौं उपत्यका पनि आएका थिए। त्यति बेला काठमाडौंमा लक्ष्मीनरसिंह मल्ल र पाटनमा सिद्धिनरसिंह मल्लको शासन थियो।
हुन त नमग्याल त्यसअघि भुटानको धर्मराजा बनेर राजकाज सम्हाल्नुअघि पनि एकचोटि काठमाडौं आएको इतिहास छ। तर त्यति बेलाको भ्रमण राजनीतिक थिएन, अनौपचारिक थियो। ढुंगेलले विभिन्न भुटानी स्रोतहरू उद्धृत गर्दै दिएको विवरणअनुसार तिब्बतको रालुङ गुम्बा छाडेर हिँडेपछि उनी काठमाडौंको स्वयम्भु आएर केही समय बसेका थिए र बौद्ध शिक्षा ग्रहण गरेका थिए। यो भनेको १६७३ साल आसपासको कुरा हो। त्यति बेला नमग्याल २३ वर्षका थिए।
काठमाडौंको त्यही बसाइबीच उनले तल्कालीन मल्लराज्यमा फस्टाएको कला संस्कृतिसँग परिचित हुने मौका पाए। यहाँका कलाकार र कालिगढहरूसँग उनको सानिध्य रह्यो। त्यसैले जब नमग्यालले भुटानको राजकाज सम्हाले र नेपालसँग दौत्य सम्बन्धको हात बढाउँदै औपचारिक भ्रमणमा निस्के, उनको भ्रमण सूचीमा काठमाडौं छुट्ने कुरै भएन।
उनको पहिलो औपचारिक नेपाल भ्रमणको यात्रामार्ग भने हामीलाई थाहा छैन। उनी भुटानबाट भोटको बाटो हुँदै पहिला गोरखा गएर त्यहाँबाट नुवाकोटको बाटो हुँदै काठमाडौं पसेका पनि हुन सक्छन्, वा भुटानबाट नेपालको पूर्वी किराँत राज्य हुँदै काठमाडौं आएर यहाँबाट नुवाकोटको बाटो हुँदै गोरखा गएका पनि हुन सक्छन्।
यी दुई सम्भावित यात्रामार्गबारे विचार गर्दा उनी भुटानबाट पहिला काठमाडौं आएर त्यसपछि मात्र गोरखा गएको हुनसक्ने सम्भावना नै बढी छ। किनभने, त्यति बेला भोट अर्थात् तिब्बतसँग भुटानको राम्रो सम्बन्ध थिएन। ङवाङ नमग्यालले भुटानको शासन सम्हाल्न थालेपछि पनि कयौंचोटि तिब्बतका एक स्थानीय शासक देप–चङले भोटमा आक्रमण गरेको चर्चा हामीले अघिल्लो अध्यायमा गरिसकेका छौं। त्यसैले ङवाङ नमग्यालले नेपाल भ्रमणमा आउँदा पक्कै पनि शत्रुतापूर्ण सम्बन्ध रहेको भोटको बाटो रोजेनन्। उनी पूर्वका किराँत राज्य हुँदै पहिला काठमाडौं छिरे र यहाँबाट गोरखा गए। फर्किँदा पनि काठमाडौं हुँदै किराँत राज्य र त्यहाँबाट भुटान छिरेका हुन सक्छन्। यस हिसाबले पहिलो औपचारिक भ्रमणमा नमग्यालले दुईचोटि काठमाडौं टेकेको आकलन गर्न सकिन्छ।
नमग्यालको काठमाडौं भ्रमण गोरखाको जस्तो विशुद्ध राजनीतिक मात्र थिएन, यहाँ उनको धार्मिक आस्था पनि जोडिएको थियो। विगतमा स्वयम्भुमा बसेर अध्ययन गरेको नाताले उनले यसपालि आउँदा पनि स्वयम्भु दर्शन गरी लाखबत्ती बालेका थिए। अनि, आफ्नै अगुवाइमा स्वयम्भुमा डुग्–प काग्यू गुम्बा स्थापना गराएका थिए। उक्त गुम्बा निर्माण गर्न काठमाडौंका राजाबाट भुटानी धर्मराजालाई आवश्यक जग्गा–जमिन दान गरिएको इतिहास छ। यो गुम्बा अहिले पनि स्वयम्भुमा छँदैछ। यहाँ बर्सेनि भुटानी लामाहरू पूजापाठ गर्न आउँछन्।
धार्मिक अनुष्ठान सम्पन्न गरेपछि धर्मराजाले काठमाडौंका तत्कालीन राजा लक्ष्मीनरसिंह मल्लसँग भेटेर दौत्य सम्बन्धको प्रस्ताव अघि बढाए।
जसरी गोरखाका राजा राम शाहसँग उनले भुटानको शासन व्यवस्था चलाउन चारै वर्णका गोर्खाली परिवारहरू माग गरेका थिए, त्यसरी नै काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल र पाटनका राजा सिद्धिनरसिंह मल्लसँग मित्रता कायम गरी यहाँका कलाकार, कालिगढ तथा शिल्पीहरू पठाइदिन आग्रह गरेको ढुंगेलले लेखेका छन्।
‘ङवाङ नमग्यालले गोरखाका राजासँग शासन व्यवस्था चलाउन मद्दत पुग्ने विभिन्न खालका जनशक्तिको माग राखेको देखिन्छ। त्यही भएर उनले गोरखामा चलिआएको वर्ण व्यवस्थाअनुसार चारै वर्णका मान्छे पठाइदिन आग्रह गरे। जबकि, काठमाडौंका राजासँग मूर्तिकार, शिल्पकार, चित्रकार लगायतका नेवार शिल्पीहरू पठाइदिन माग राखेको भुटानी स्रोतहरूको अध्ययनबाट थाहा हुन्छ,’ ढुंगेलले हामीसँगको कुराकानीमा भने।
‘धेरै वर्षअघि रालुङ गुम्बाबाट निस्केपछि बौद्ध शिक्षा अध्ययन गर्न स्वयम्भु आएर बसेको र त्यति बेलै बौद्ध लगायत काठमाडौं आसपासका तीर्थस्थलहरू पनि घुमेकाले नमग्याललाई धर्म, संस्कृति, वास्तुकला, मूर्तिकला, परम्परागत शिक्षा र सभ्यतामा काठमाडौं कति सम्पन्न छ भन्ने थाहा थियो,’ ढुंगेलले अगाडि भने, ‘कुनै पनि समाज र राज्य सञ्चालन गर्न नीति, नियम र कानुन मात्र होइन; धर्म, संस्कृति, कला, शिल्प र सभ्यता पनि चाहिन्छ भन्ने उनले बुझेका थिए।’
त्यही भएर नमग्यालले गोरखाबाट शासन व्यवस्था चलाउने ज्ञान लिए; काठमाडौंबाट कलाकौशल, धर्म र अध्यात्मले भरिपूर्ण सभ्यता विकास गर्ने बाटो समाते।
ङवाङ नमग्यालको प्रस्ताव सुनेपछि राम शाहले जस्तै लक्ष्मीनरसिंह र सिद्धिनरसिंह मल्लले पनि आ–आफ्ना भारदारहरूको भेला डाके होलान्!
सल्लाह–विमर्श गरे होलान्!
र, सबैको सहमतिमा केही दक्ष कालिगढ र शिल्पीहरूको समूह बनाएर भुटान पठाउने निर्णय गरे होलान्!
उनीहरूलाई एकाबिहानै भुटानी धर्मराजासँगै विदाइ गर्न काठमाडौंको वसन्तपुर डबलीमा ठूलै हुजुम जम्मा भएको थियो होला! स्वयं राजा लक्ष्मीनरसिंह मल्ल डबलीमा उपस्थित भएर भुटान जान लागेका कालिगढलाई सगुन धौ (दही), माछा र अन्डा खुवाउने समारोहको साक्षी बनेका थिए होलान्!
उता पाटनको मंगलबजारमा पनि यसरी नै विदाइ गरियो होला! राजा सिद्धिनरसिंह मल्लले स्वयं दरबारबाट तल ओर्लेर पाटनका कालिगढलाई सगुन धौ, माछा र अन्डा खुवाउँदै भुटान पठाएका थिए कि! के बेर!
जसरी अरनिकोलाई तिब्बत पठाउँदा पाटनका जनता लावालश्करसहित राज्यको सीमासम्म छाड्न गएका थिए, त्यसरी नै भुटान जान लागेका ती कालिगढलाई विदाइ गर्न काठमाडौं र पाटनका जनता सीमासम्मै पुगेका थिए कि! के बेर!
त्यति बेला काठमाडौं र पाटनको कुन–कुन परिवारबाट को–को कालिगढ भुटान गए भन्ने विवरण इतिहासमा छैन।
को को थिए होलान् हँ!
इतिहासले बिर्से पनि ती नेपाली कालिगढहरूले भुटानमा देखाएको शिल्प आज पनि भुटानी गुम्बाहरूमा जिउँदाजाग्दा उदाहरण बनेर बसेका छन्।
ढुंगेलका अनुसार सत्रौं शताब्दीमा थिम्पु र पुनाखा गुम्बा पुनर्निर्माण गर्दा त्यसलाई चमत्कारी ढंगमा बौद्धकलाले सिँगार्ने काम नेपाली कालिगढबाट भएको थियो। त्यस्तै, नेपाली कलाकारले त्यस बेला निर्माण गरेका महायानी बौद्ध सम्प्रदायका स–साना तर उत्कृष्ट धातुका मूर्तिहरू अझै पनि भुटानी गुम्बाहरूमा पाइन्छन्। भुटानको टाशि–याङ्स–चे प्रान्तको गोमाङ खोरा र तोङ्सा प्रान्तको छन्–दोवजीमा बनेका दुइटा स्तुपमा पनि नेपाली कालिगढको शिल्प झल्किन्छ। यी दुवै स्तुपमा गुम्बजमाथि दुई ठुल्ठूला आँखाका चित्र अंकित छन्। यो शैली स्वयम्भुसँग मिल्दोजुल्दो छ।
यति मात्र होइन, थिम्पुको देछेन् छोलिङ गुम्बा लगायत अन्य बौद्ध मन्दिर, तोङ्सा प्रान्तका स्तुप तथा छोर्तेनहरू र पारो, हा र टाशि गाङ क्षेत्रका धार्मिक वास्तुकलामा पनि नेपाली शिल्प प्रयोग भएको ढुंगेल उल्लेख गर्छन्।
त्यति बेला र पछि पछि पनि काठमाडौं उपत्यकाबाट गएका कालिगढहरू प्रायः भुटानको थिम्पु वरपरका विभिन्न ठाउँमा बसोबास गर्ने गरेको पाइन्छ। कतिपय थिम्पुभन्दा उत्तरमा पर्ने दे–छेन् नजिकैको बेबुना भन्ने ठाउँमा बसेका छन् भने कतिपय थिम्पु उपत्यकाकै पाचु र बेलनाङ भन्ने ठाउँमा बस्छन्। यी ठाउँलाई पछिसम्म पनि ‘वल्–पो’ भनेर चिनिन्थ्यो। यो नेपालीहरूलाई नै सम्बोधन गर्दै राखिएको नाम हो।
‘तिब्बती भाषामा नेपाललाई वल्–पो भनिन्छ। त्यसैले काठमाडौं उपत्यकाबाट गएका मानिसलाई पनि उनीहरूले यही नामले सम्बोधन गर्न थाले,’ ढुंगेल लेख्छन्, ‘यही आधारमा थिम्पु वरपर जुन जुन ठाउँमा काठमाडौंबाट गएका कालिगढहरूको बसोबास भयो, ती ठाउँलाई नै पछि वल्–पो भन्ने गरेको हुनुपर्छ।’
नेपाल तथा हिमाली क्षेत्रका अध्येता माइकल हटले पनि आफ्नो किताब ‘अनबिकमिङ सिटिजन्स’ मा सत्रौं शताब्दीबाट काठमाडौंका कालिगढहरूको भुटान प्रवेश सुरू भएको उल्लेख गरेका छन्। नेपाली इतिहासकार तथा शिविरमा रहेका केही भुटानी शरणार्थीहरूलाई उद्धृत गर्दै उनी लेख्छन्, ‘काठमाडौंका कालिगढहरू, जो खासगरी काठमाडौं उपत्यकाको नेवार समुदायका थिए, उनीहरू सत्रौं शताब्दीमा भुटान गएका थिए। ती नेवार कालिगढहरूले आफ्नो दक्ष कलाशिल्प प्रयोग गरेर भुटानमा जोङ र गुम्बाहरू निर्माण गरे। योभन्दा अघिल्ला शताब्दीहरूमा जसरी काठमाडौंका नेवार कालिगढ आफ्नो कलाशिल्प बोकेर तिब्बत गएको इतिहास छ, भुटानमा पनि उनीहरू त्यसरी नै प्रवेश गरेको देखिन्छ।’
यहाँ एउटा महत्वपूर्ण कुरा के छ भने, दक्षिण भुटानमा बसोबास गर्ने नेपालीभाषी भुटानीहरूको राष्ट्रियतामाथि प्रश्न उठाउँदै आएका पछिल्ला भुटान सरकारका प्रतिनिधिहरूले पनि यी नेवार कालिगढहरूको भुटान प्रवेशको इतिहास नकारेका छैनन्।
नेपालीभाषीहरूलाई भुटानबाट लखेट्दा गृह सचिव रहेका जिग्मी थिन्लेको एउटा भनाइ यहाँ सान्दर्भिक हुन्छ।
पहिलो भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालको शासनकालमा एक जना पनि नेपाली भुटान प्रवेश गरेका छैनन् भनी दाबी गर्ने जिग्मी थिन्लेले भनेका छन्, ‘सत्रौं शताब्दीमा नेवार कालिगढहरू, जो आफ्नो धातुकलाका निम्ति लोकप्रिय थिए, उनीहरू भुटान आएर मूर्तिहरू बनाएको प्रमाण भेटिन्छ।’
सँगसँगै उनी यो पनि भन्छन्, ‘तर त्यति बेला भुटान आएका ती नेवार कालिगढहरूको दक्षिण भुटानका नेपालीभाषीहरूसँग कुनै ऐतिहासिक सम्बन्ध छैन।’
भुटानका यी चर्चित नेता पछि जेनेभास्थित राष्ट्रसंघका लागि भुटानका राजदूत हुनुका साथै विदेशमन्त्रीसमेत भएका थिए। उनको भनाइको आसय के बुझिन्छ भने, सत्रौं शताब्दीमा आफ्नो कलाशिल्प बोकेर काठमाडौंका नेवार कालिगढहरूको भुटान प्रवेश भएको थियो भने पनि ती नेवार कालिगढहरू समयक्रममा उत्तरी भुटानकै विभिन्न भागमा बसोबास गर्न थाले र त्यहीँको समाजमा घुलमिल भए, ‘उनीहरूलाई अहिले नेपालीभाषीका रूपमा पहिचान गर्न सकिँदैन।’
भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टी (बिएनडिपी) ले त काठमाडौं उपत्यकाका नेवार कालिगढहरूको भुटान प्रवेश आजभन्दा करिब चौध सय वर्षअघि सातौं शताब्दीबाटै सुरू भएको दाबी गरेको छ।
सातौं शताब्दीमा तिब्बतका सम्राट स्रङ–चङ–गम्पो बौद्ध धर्म प्रचार गर्न भुटान आउँदा आफूसँग काठमाडौं उपत्यकाका केही नेवार कलिगढहरू पनि लिएर आएको बिएनडिपीको भनाइ छ। स्रङ–चङ–गम्पोले नेपालका लिच्छवि राजा उदयदेवकी छोरी भृकुटीसँग विवाह गरेका थिए। भृकुटीलाई दुलही बनाएर काठमाडौंबाट बिदा गर्दा उनका पिता लिच्छवि राजा उदयदेवले काठमाडौंका केही नेवार कालिगढहरू पनि छोरीसँगै पठाएका थिए भन्ने भनाइ छ। काठमाडौं लिच्छविकालमै कलाकृतिमा सम्पन्न भइसकेको थियो। भृकुटीसँग गएका नेवार कालिगढहरूले तिब्बतमा पनि थुप्रै बौद्ध मूर्तिहरू निर्माण गरेको इतिहास छ। पछि स्रङ–चङ–गम्पो आफ्ना दुई रानीहरू — नेपालबाट विवाह गरेर लगेका भृकुटी र चिनियाँ राजकुमारी वेन्छेङ ली — को प्रेरणाले बौद्ध धर्मप्रति आस्थावान् हुनुका साथै उनले तिब्बतको दक्षिणी सीमान्त प्रदेश भोटान्तमा पनि धर्म प्रचार गर्न भूमिका खेलेको इतिहास छ, जसका बारेमा हामीले अघिल्लो अध्यायमा चर्चा गरिसकेका छौं।
त्यति बेला स्रङ–चङ–गम्पोले भुटानको पारो र बुम्थाङ उपत्यकामा दुई ठूला गुम्बा स्थापना गराएका थिए। पारो उपत्यकाको गुम्बालाई ‘किचू ल्हाखाङ’ र बुम्थाङ उपत्यकाको गुम्बालाई ‘जाम्पे ल्हाखाङ’ भनिन्छ। यी दुवै गुम्बा रानी भृकुटीसँगै काठमाडौंबाट तिब्बत पुगेका नेवार कालिगढहरूले भृकुटीकै इच्छामुताबिक बनाएको भनिन्छ। यी दुइटासहित एक सय आठवटा गुम्बा नेवार कालिगढहरूले सातौं शताब्दीमा निर्माण गरेको बिएनडिपीको दाबी छ।
बिएनडिपीको यस्तो दाबीलाई भुटानकै पूर्वविदेशमन्त्री दावा छिरिङले समर्थन गरेका छन्।
दावा छिरिङले भारतीय अखबार ‘द स्टेट्सम्यान’ लाई सन् १९९१ फेब्रुअरी १२ मा दिएको अन्तर्वार्तामा भनेका छन्, ‘नेपालीहरू सातौं शताब्दीदेखि नै भुटानको दक्षिणी भूभागमा बसोबास गर्दै आएका हुन्। हामीले उनीहरूको स्वागत गर्यौं, किनभने उनीहरू एकदमै मिहिनेती जनता थिए। तर जति मिहिनेती भए पनि हामीमाथि नै हाबी हुने छुट दिन सकिँदैन।’
दावा छिरिङको यस्तो अन्तर्वार्ता सार्वजनिक भएपछि नेपाली वा नेवारहरूको पहिलो भुटान प्रवेश तिब्बती सम्राट स्रङ–चङ–गम्पोसँगै सातौं शताब्दीमै भएको हो भन्ने तर्कलाई बल पुर्याएको थियो। तिब्बती सम्राटको बौद्ध धर्म प्रचार समूहमा संलग्न भएर भुटान पुगेका नेपाली/नेवार कालिगढहरूमध्ये पछि केही तिब्बत नै फर्के भने केही भुटानमै बसोबास गर्न थालेका हुन सक्छन्। तर यो तर्क पुष्टि गर्ने ऐतिहासिक दस्तावेजहरू भेटिँदैनन्।
अर्को तर्क यस्तो पनि छ —
आठौं शताब्दीमा मध्य भुटानको बुम्थाङ उपत्यकाका राजाले आफ्नो राज्यमा हाबी भइरहेका भूत, प्रेत, पिशाचमाथि विजय प्राप्त गरी दैवीशक्ति जगाउन गुरू पद्मसम्भवलाई निम्ता गरेका थिए। त्यति बेला पद्मसम्भवले बुम्थाङ लगायत भुटानका विभिन्न प्रदेश भ्रमण गरी विभिन्न सम्प्रदायमा आस्था राख्ने स्थानीय जनतालाई तान्त्रिक शिक्षा दिएका थिए। पद्मसम्भवसँगै भुटान गएका बौद्ध लामाहरूको समूहमा नेपाली पनि संलग्न थिए।
पद्मसम्भवले विगतमा काठमाडौं उपत्यका भ्रमण गरेको र फर्पिङ, साँखु लगायतका ठाउँमा बसेर तपस्या गरेको इतिहास छ। उनी काठमाडौं बसाइ सकेर तिब्बत जाँदा यहाँका केही अनुयायीहरू पछि लागेर तिब्बत पुगेका थिए। तीमध्ये केही नेवार कालिगढहरू पनि थिए। यसरी पद्मसम्भवलाई पछ्याउँदै तिब्बत गएका नेवार कालिगढहरू उनीसँगै भुटान पुगेको तर्क गरिन्छ। ती पनि कालान्तरमा भुटानमै बसोबास गरेका हुन सक्छन्। तर यो तर्क पुष्टि गर्ने ऐतिहासिक दस्तावेजहरू पनि भेटिँदैनन्।
पद्मसम्भवलाई आज पनि भुटानका बौद्ध सम्प्रदायहरूले ‘गुरू रिन्पोछे’ का रूपमा आराध्य मान्छन्। उनले पूर्वी र मध्य भुटानमा लोकप्रिय बनाएको सम्प्रदायलाई ‘निङ्मा’ सम्प्रदाय भनिन्छ।
यसरी सातौं शताब्दीमा सम्राट स्रङ–चङ–गम्पो र आठौं शताब्दीमा गुरू पद्मसम्भवको बौद्ध धर्म प्रचार यात्रामा सरिक हुँदै केही नेपाली/नेवारहरूको समूह भुटान पुगेका थिए भन्ने तर्क पुष्टि गर्ने ऐतिहासिक प्रमाण नभए पनि पूर्ण रूपमा नकार्न चाहिँ सकिँदैन। किनभने, रानी भृकुटीसँगै काठमाडौंका नेवार कालिगढहरू तिब्बत पुगेको ऐतिहासिक तथ्य हो। त्यस्तै, गुरू पद्मसम्भवले केही समय काठमाडौंमा बिताएको, यहाँ तपस्या गरेको र यहाँबाट तिब्बत जाँदा केही नेपाली अनुयायीहरूले उनलाई पछ्याएको पनि ऐतिहासिक तथ्य नै हो। त्यसैले यी दुवै जनाको साथमा रहेका नेपालीहरू उनीहरूसँगै भुटान गएका हुनसक्ने सम्भावना धेरै नै छ। तर त्यसो भए पनि उनीहरूको संख्या सानो हुनुपर्छ र तत्कालीन भुटानी गृह सचिव तथा पूर्वविदेश मन्त्री जिग्मी थिन्लेले भनेजस्तै उनीहरू कालान्तरमा भुटानी समाजमै घुलमिल भएको र अहिले नेपालीभाषीका रूपमा पहिचान गर्न नसकिने बनिसकेको हुनुपर्छ।
सातौं र आठौं शताब्दीका यी घटनाक्रमले एउटा कुरा चाहिँ पक्कै देखाउँछ — काठमाडौं उपत्यका र भुटानको सम्बन्धको डोरी धेरै पहिलेदेखि नै जोडिएको थियो। त्यही डोरी कसिँदै कसिँदै पहिलो धर्मराजा ङवाङ नमग्यालको शासनकालसम्म आइपुग्दा लगनगाँठो जत्तिकै कसिलो बनिसकेको थियो।
र, ङवाङ नमग्यालको पहिलो औपचारिक काठमाडौं भ्रमणले त त्यसलाई दुई राज्यबीचको दौत्य सम्बन्धकै रूप दियो।
नमग्यालको त्यो भ्रमणले तत्कालीन मल्लराज्य र भुटानबीच कति गाढा दौत्य सम्बन्ध कायम भएको थियो भन्ने भक्तपुर संग्रहालयमा रहेको एक हस्तलिखित पुस्तिकाबाट थाहा हुन्छ। ‘प्रतापमल्लको तीर्थयात्रा’ नामक नेवारी भाषामा लेखिएको उक्त पुस्तिकामा ‘काठमाडौं उपत्यकाको भुटानसँग राम्रो सांस्कृतिक सम्बन्ध रहेको’ उल्लेख छ।
पुस्तिकामा काठमाडौंका राजा प्रताप मल्लले गरेका विभिन्न तीर्थयात्राहरूको वर्णन गरिएको छ। उनी तीर्थयात्रा क्रममा कुन–कुन तीर्थस्थल पुगे भनेर त्यसमा लेखिएको छ, जसमा ‘भोटान्त’ अर्थात् भुटानको नाम पनि परेको छ।
इतिहासकार रमेश ढुंगेल भने यही पुस्तिकाका आधारमा प्रताप मल्लले भुटान भ्रमण गरेको मान्न नसकिने बताउँछन्, भन्छन्, ‘यही स्रोतका आधारमा मात्र प्रताप मल्लले भुटान भ्रमण गरेका थिए भनेर ठोकुवा गर्न सकिँदैन। तर यो पुस्तिकामा भोटान्तको नाम उल्लेख हुनुले भुटानको डुग्–प सम्प्रदायले उपत्यकाका मल्लराजाहरूमा पारेको गहिरो प्रभाव र भुटान एक प्रमुख बौद्ध तीर्थस्थलका रूपमा रहेको थप स्पष्ट हुन्छ।’
काठमाडौं उपत्यकाका मल्लाराजाहरूसँग भुटानका धर्मराजाको निकट सम्बन्धलाई रसुवाको नागथली गुम्बामा रहेको ऐतिहासिक टिपोटले पनि पुष्टि गर्छ। गोरखा दरबारमा जस्तै काठमाडौं उपत्यकाका मल्लराजाहरूको दरबारमा पनि भुटानी लामाको तान्त्रिक ज्ञानले गहिरो प्रभाव पारेको उक्त टिपोटमा छ।
टिपोटको ४१ नम्बर बुँदामा भक्तपुरका मल्लराजा रणजीत मल्ल र भुटानी लामाबीचको एउटा घटना समावेश गरिएको छ —
राजा रणजीत मल्ललाई एकचोटि नागबेथाले च्यापेछ। प्रदूषित पानीको प्रयोगले लाग्ने रोगलाई नागबेथा भन्ने चलन छ। यसमा झाडापखालादेखि हैजासम्म पर्छन्। भक्तपुरका वैद्य, गुभाजूहरूले कसैगरी बेथा निको पार्न नसकेपछि उनले उपत्यकाका अन्य राज्यबाट पनि वैद्य, गुभाजूहरू डाके। तर कसैले पनि रणजीत मल्लको बेथाको निदान खोज्न सकेनन्।
आखिर केही सीप नचलेपछि रणजीत मल्लले भुटानका धर्मराजासँग मद्दत मागेछन्। त्यति बेलाका धर्मराजाले भुटानी लामा छोयाङ्लाई रणजीत मल्लको उपचार निम्ति भक्तपुर पठाइदिए। ती भुटानी लामा भक्तपुर दरबार आए र औषधोपचारका साथै तान्त्रिक विधिबाट पूजापाठ पनि गरे। यसले ओछ्यानमा हल न चल थला परेका रणजीत मल्ल बिस्तारै बौरिन थाले। केही दिनमै उनी पूरै तंग्रिएर राजसभा बैठकमै जान सक्ने भए।
नागबेथाबाट पार पाएपछि उनले भक्तपुरकै ठगु र भोगुदेव बौद्ध मन्दिरको जग्गा भुटानी लामालाई दान दिएको विवरण नागथली टिपोटमा उल्लेख छ।
राज्य स्तरमा गाँसिएको यही निकट दौत्य सम्बन्धको सेतु चढेर गोरखा र काठमाडौंबाट भुटान पुगेका विशन थापा मगरजस्ता पहिलो पुस्ताका नेपालीहरूलाई चार सय वर्षपछि त्यही मुलुकले आफ्ना सन्तान–दर–सन्तानलाई शरणार्थी बनाउँछ भन्ने अलिकति पनि आभाष भइदिएको भए, उनीहरूका पाइला त्यसतर्फ पक्कै बढ्ने थिएनन्।
विशन थापा मगरलाई बरू मृत्युदण्ड मञ्जुर हुन्थ्यो होला, अझ त्योभन्दा भयंकर सजाय — समाजसँग सालनाल चुँडालेर जंगलको एकान्तवासमा पठाइदिए त्यो पनि उनी खुसी खुसी मान्थे होलान्, तर भविष्यमा आफ्ना सन्तान–दर–सन्तान शरणार्थी बनेर यताउति भौंतारिएको उनी सायदै मञ्जुर गर्थे!
राजाज्ञा मान्ने आफ्नो एउटा निर्णयको घनघोर सजाय भविष्यका पुस्ताले चुकाउनुपर्नेछ भन्ने उनलाई अलिकति पनि शंका भइदिएको भए उनी सायद आफ्नै तरबारले सेरिन्थे, तर भुटानतिर पाइला सार्थेनन्।
यता काठमाडौं र पाटनका ती अज्ञात कालिगढहरू, जो भुटान जाने पहिलो नेपाली पुस्ता हुन्, उनीहरूका आत्माले पनि आफ्नो शिल्पको मूल्य सन्तानले शरणार्थी बनेर चुकाउनुपरेको देख्दा के ठान्दै होलान्!
न विशन थापा मगरलाई भविष्यको अड्कल थियो, न काठमाडौं वा पाटनका कालिगढहरूलाई।
न गोरखाका राजा राम शाहले भविष्य देखेका थिए, न त काठमाडौंका राजा लक्ष्मीनरसिंह मल्ल वा पाटनका राजा सिद्धिनरसिंह मल्लले।
भविष्यद्रष्टा त प्रथम भुटानी धर्मराजा शाब्द्रुङ ङवाङ नमग्याल पनि थिएनन्।
त्यही भएर त नेपालीहरूलाई भुटान बसाइँ सार्ने अभियान पहिलो खेपमै रोकिएन। त्यसले निरन्तरता पाइरह्यो।
दोस्रो चरणको बसाइँसराइ पहिलो खेप गएको ठ्याक्कै सोह्र वर्षपछि भयो — विक्रम सम्बत् १६९७ मा।
त्यो वर्ष भुटानी धर्मराजा ङवाङ नमग्याल आफ्नो दोस्रो औपचारिक भ्रमणमा गोरखा र काठमाडौं उपत्यका आएका थिए, दलबलका साथ।
उनको यात्रामार्ग हामीलाई यसपालि पनि थाहा छैन। गोरखा हुँदै काठमाडौं आए कि काठमाडौं हुँदै गोरखा गए?
एउटा कुरा चाहिँ थाहा छ — उनले यसपालि पनि नेपालीहरूलाई ठूलो संख्यामा आफूसँगै भुटान लिएर गए।
दोस्रो खेपमा भुटान गएका नेपालीहरूको कथा अर्को अंकमा।
अर्को अंक अर्को शुक्रबार।
...
(आवरण तस्बिरः भुटानका प्रथम धर्मराजा शाब्द्रुङ ङवाङ नमग्यालले विक्रम सम्बत् १६९४ मा निर्माण गरेको पुनाखा जोङ। तस्बिर स्रोतः भुटान टुर्स एन्ड ट्रेक्स)