भुटानको ४०० वर्षको कथा- अंक १
अध्याय एकः रानीको सपना
त्योकुनै मामूली अनुष्ठान थिएन।
स्वयं गोरखा राज्यकी महारानीले त्यो अनुष्ठान आयोजना गरेकी थिइन्। र, अनुष्ठान निम्ति भुटानका धर्मराजासँग आग्रह गरेर उतैबाट एक सिद्ध लामालाई निम्ता गरिएको थियो।
भव्य सजावट गरिएको गोरखा दरबारको मूल प्रांगणमा ती सिद्ध भुटानी लामा जोङ्खा भाषामा मन्त्र पढ्दै थिए। उनीसँगै आएका सहायक लामाहरू वरिपरि बसेर डम्फु बजाउँदै थिए। यी सबै लामाले चीवर धारण गरेका थिए। शिरमा मुकुट थियो। चीवरको रङ सबैको उस्तै भए पनि मुकुटको रङ भिन्न थियो। गुरूले रातो मुकुट लगाएका थिए भने उनका सहयोगीहरू रातो र पहेँलो रङ छ्यासमिस भएको मुकुटमा थिए। रङ सँगसँगै मुकुटको बनोट पनि फरक थियो। गुरूले त्रिकोण आकारको मुकुट पहिरेका थिए भने उनका सहयोगीहरू सामान्य टोपीजस्तो देखिने गोलाकार मुकुटमा थिए। चीवरले उस्तै देखिने यी लामाहरूको दर्जा मुकुटको रङ र बनोटले छुट्टयाउँथ्यो।
आँखा चिम्लेर मन्त्र पढिरहेका सिद्ध भुटानी लामाको ठ्याक्कै अगाडि गोरखाका राजा राम शाह र उनकी रानी भुइँमै पलेँटी कसेर बसेका थिए। उनीहरूले पनि आफ्ना आँखा चिम्लेका थिए। लामाले जोङ्खा भाषामा पढेको मन्त्र त उनीहरूले के बुझे होलान् र, तैपनि निकै एकाग्रतासाथ लामाको मन्त्रोच्चरण सुनिरहेझैं देखिन्थे।
मन्त्र पढिरहेका भुटानी लामा र राजारानीका बीचमा अनेक किसिमका पूजा सामग्री, अनेक थरीका फल र अनेक जातका फूलहरू चोयाले बुनिएका डालामा छुट्टाछुट्टै सजाएर राखिएका थिए।
भुटानी लामाहरूले आफूसँगै बौद्ध धर्मग्रन्थका ठेली पनि लिएर आएका थिए। हातले लेखिएका ती धर्मग्रन्थ उनीहरूले आ–आफ्नो आसनअगाडि उही पृष्ठमा पल्टाएर राखेका थिए। हरेक लामाको आसनसामु कम्तिमा तीनवटा ग्रन्थ थियो। मन्त्र पढिरहेका मूल लामा बेलाबेला आँखा उघार्थे, धर्मग्रन्थको पाना पल्टाउँथे अनि फेरि आँखा चिम्लिन्थे। उनी त्यही ग्रन्थको पाठ पढ्दै थिए, तर उनलाई त्यसमा उल्लिखित एक–एक मन्त्र यस्तरी कन्ठस्थ थियो, कतिखेर पाना पल्टाउनुपर्छ भन्ने पनि आँखा चिम्लेरै थाहा पाउँथे। मूल लामाले आँखा चिम्लेर पढिरहेको त्यो धर्मग्रन्थका अक्षर सुनले लेखिएका थिए।
त्यस दिन भव्य सजावट गरिएको गोरखा दरबारको मूल प्रांगणमा एउटा कुरा चाहिँ अचम्मै थियो — राजारानी र लामाहरूबाहेक त्यहाँ अरू कोही उपस्थित थिएनन्। न राजपरिवारका सदस्यहरू थिए, न दरबारका भाइभारदार। न त सुरक्षामा तैनाथ हुनुपर्ने सिपाहीहरू।
अरू बेला जहाँ जहाँ राजा हिँड्छन्, त्यहीँ त्यहीँ शिर झुकाउँदै लश्कर लाग्ने हुल आज गए त कहाँ गए!
दरबारमा यति ठूलो अनुष्ठान हुँदा पनि उनीहरू त्यसको प्रत्यक्षदर्शी बन्न किन हाजिर भएनन्!
यति मात्र कहाँ हो र! दरबारको मूल प्रांगणमाथिको खुला आकाश आज अरू बेलाभन्दा निकै खुला थियो। त्यो एकचौटा आकाशमा बादलको एक टुक्रा थिएन। त्यहाँभन्दा अलिकति पर मात्र सेता सेता बादलका डुंगुर आपसमा घम्साघम्सी खेल्दै अनेक आकृति बनाउँदै थिए। तर त्यो एकचौटा आकाश पूरै नीलो थियो। गाढा नीलो।
त्यो समय दरबारको प्रांगणमा पन्छीहरू पनि सधैंझैं फुरफुर उडिरहेका थिएनन्। न उनीहरूको चालचुल देखिन्थ्यो, न चाइँचुइँ सुनिन्थ्यो।
वातावरणमा एउटा अजीब शून्यता थियो र त्यो शून्यतामा सिद्ध भुटानी लामाको एकोहोरो मन्त्र मात्र गुञ्जिँदै थियो। उनका सहायक लामाहरूको एकोहोरो डम्फु मात्र बज्दै थियो।
सायद अनुष्ठान आयोजना गर्ने रानीलाई यी सब असामान्य परिस्थितिको आभाष भएछ कि क्या हो! उनका दुवै आँखा पिर्लिक्क खुले। र, एकछिनसम्म खुलेका खुल्यै रहे, एकचोटि पनि झिमिक्क नगरी।
रानीका आँखामा भयको भाव झल्किएको थियो। दुवै आँखाका नानीहरू एकछिन चलमलाए। निधारबाट चिटचिट पसिना छुट्न थाल्यो। उनी एकछिन त्यही मुद्रामा शान्त रहिन् र हडबडाउँदै आफ्नो ठाउँबाट जुरूक्क उठिन्।
छेउमा राजा राम शाह मस्त निद्रामा लम्पसार थिए।
रानी भर्खरै एउटा सपनाबाट ब्युँझेकी थिइन्।
‘महाराज, महाराज!’ उनले राजा राम शाहको कुममा हल्का स्पर्स गर्दै उनलाई निद्राबाट ब्युँझाउने प्रयास गरिन्।
दुई–चारचोटि झक्झकाएपछि राम शाहका आँखा खुले।
आधा रातमा रानीका ठुल्ठूला भयभीत आँखा देखेर राम शाहले आत्तिँदै सोधे, ‘के भो रानी? कुनै डरलाग्दो सपना देख्यौ कि क्या हो?’
रानी एकछिन केही बोलिनन्। पति ब्युँझेपछि उनको मनको आधी हलचल त्यसै अलप भइसकेको थियो। अघिसम्म भय नाचिरहेको आँखामा अब भय कम, चिन्ताले बढी डेरा जमाएको थियो।
उनी पलङबाट उठेर शयनकक्षको सानो झ्यालतिर बढिन्। काठको बन्द झ्याल घरक्क उघारेर सुरूमा आकाशतिर हेरिन्। टाढा टाढासम्म बादलको एक धर्सो थिएन। सफा आकाशमा असंख्य ताराहरू चमचम चम्किरहेका थिए।
उनले दरबारभन्दा तल गाउँतिर पनि नजर डुलाइन्। आधी रातमा गाउँ चकमन्न अन्धकार थियो। एकाध घरमा मात्र धिपधिपे बत्ती मधुरो बलिरहेको देखिन्थ्यो।
आकाशको चमचम उज्यालो र धर्तीको चकमन्न अँध्यारोको मिश्रण रानीको मनको भावसँग दुरूस्तै मेल खान्थ्यो। उनलाई भर्खरै आफूले देखेको सपना राम्रो हो कि नराम्रो खुट्टयाउन मुश्किल पर्दै थियो।
उनी यसै हल न चल बाहिर टोलाइरहेकी थिइन्, राजा राम शाह उनको हाल बुझ्न नजिकै आए।
‘के सपना देख्यौ रानी, भन न?’
‘खोई महाराज भनुँ कि नभनुँ,’ रानीले उत्तर दिइन्, ‘सपना राम्रो हो कि नराम्रो हो छुट्टयाउनै सकिनँ।’
‘पहिला तिमी सपनाको वृत्तान्त त सुनाऊ, राम्रो कि नराम्रो त त्यसपछि तय गरौंला नि!’
रानी अकमकाइन्। उनलाई भनुँ कि नभनुँ भयो। भनुँ भने फेरि के बित्यास् पर्ला कि भन्ने डर थियो! नभनुँ, उनको घाँटी खसखसाउन थालिसकेको थियो।
उनी राजालाई झ्यालमै छाडेर फेरि आफ्नो बिछ्यौनामा आइन्। टुसुक्क बसिन्।
राजा पछि पछि आए। उनी पनि रानीको नजिक बिछ्यौनामा टुसुक्क बसे।
एकछिन दुवै केही बोलेनन्।
रानीले आफूले लगाइरहेको साडीको फेरलाई चोर औंला र बूढी औंलाको बीचमा च्यापेर कम्तिमा दर्जनचोटि बत्ती कातेजस्तो फनफनी घुमाइरहिन्।
राजा उनका चलायमान औंलातिर हेर्दै मनको तुलबुल नाप्न खोज्दै थिए।
आखिरमा रानीले मुख खोलिन्, ‘महाराज, मैले यस्तो सपना देखेँ, जहाँ लडाइँ–झगडा पनि थियो र धर्मकर्म पनि।’
राजा चुपचाप उनको कुरा सुनिरहे।
‘मैले सपनामा देखेँ, हाम्रो राजपरिवारमा गृहकलह मच्चिएको छ। हजुरका भाइहरू सबै आपसमा बाझ्दै छन्। भाइभारदारहरूबीच पनि कसैको मिल्ती छैन। सबभन्दा डरलाग्दो कुरा त, हजुरको हजुरबुवा महाराज द्रव्य शाहले स्थापना गर्नुभएको यो राज्य समेट्ने उत्तराधिकारी पनि कोही छैन। हामी निःसन्तान छौं र शत्रु राज्यहरू यसको फाइदा उठाउन तरबार र भाला उज्याएर बसेका छन्।’
‘यो संकटको घडीमा एउटा राम्रो कुरा चाहिँ के भयो भने महाराज,’ रानीले भन्दै गइन्, ‘हजुरले राज्यमाथि मडारिएको संकट टार्न र दरबारभित्रको क्लेष अन्त्य गर्न भुटानी धर्मराजालाई पुकार्नुभयो। हजुरले आफ्ना केही विश्वासपात्र दूतलाई उता भुटानमै पठाएर धर्मराजासमक्ष गोरखा राज्यमाथि आइपरेको संकट मोचन गर्न बिन्ती पठाउनुभयो।’
‘अनि?’ रानीले सपनाको वृत्तान्त सुनाउन थालेपछि राम शाहको मुखबाट पहिलो शब्द निस्कियो।
‘अनि भुटानी धर्मराजाले हाम्रो बिन्ती स्वीकार गरेर आफ्ना एक अत्यन्तै तीक्ष्ण, तिलस्मी र सिद्ध लामागुरूलाई गोरखा राज्यको संकटमोचन अनुष्ठान गर्न यहाँ पठाइदिनुभयो। सिद्ध लामागुरू आफ्ना केही सहयोगीहरूका साथ गोरखा आउनुभयो। र, थाहा छ हजुरलाई, यहीँ हाम्रो दरबारको प्रांगणमा लामागुरूले हाम्रो राज्यको भलाइका लागि अनुष्ठान आयोजना गर्नुभएको थियो। अनुष्ठानभरि उहाँका सहयोगीहरू डमडम डम्फु बजाउँदै थिए। लामागुरू हामीले नबुझ्ने भाषामा मन्त्र उच्चारण गर्दै हुनुहुन्थ्यो। त्यहीँ हजुर र म पनि ध्यानमग्न भएर लामागुरूको मन्त्र सुन्दै थियौं। अनि अर्को जरूरी कुरा चाहिँ, अनुष्ठान भइरहेका बेला हाम्रा वरिपरि सिपाहीहरू, भारदारहरू र दरबारका अरू कोही थिएनन्। दरबारको ठ्याक्कै माथि आकाशमा बादलको टुक्रा थिएन। त्यो बेला दरबारको प्रांगणमा चराहरू पनि उडेका थिएनन्। बस् हजुर र म मात्र उपस्थित थियौं।’
‘त्यही बेला मेरो आँखा खुल्यो,’ रानीले भनिन्, ‘अब भन्नुहोस् त हजुर, यो सपना राम्रो होला कि नराम्रो? कतै यो कुनै अनिष्टको संकेत त होइन?’
राम शाह एकछिन मौन रहे, अनि सोधे, ‘मलाई एउटा कुरा भन त रानी, तिमी सपनाबाट ब्युँझिनुभन्दा अगाडि लामाले कुनै वरदान दिनुभयो कि भएन?’
रानी थोरै सोचमग्न भइन् र भनिन्, ‘जसै मेरो आँखा खुल्यो, लामागुरूले मन्त्र उच्चारण बन्द गर्नुभयो र आफ्ना दुवै हात आकाशतिर घुमाउँदै हावाबाट केही छोपेजस्तो गर्नुभयो। त्यसपछि उहाँले मेरो हत्केलामा केही चिज थमाइदिनुभयो। तर महाराज, यो सब भइरहँदा म निद्राबाट ब्युँझिसकेकी थिएँ, त्यसैले सपना हो कि विपना हो भेउ नै पाउँदिनँ।’
उनले त्यसपछि आफ्ना दुवै हत्केला माथि उठाइन्, बिस्तारै माडिन् र आफ्ना हत्केला राजालाई देखाउँदै भनिन्, ‘अहिले पनि मलाई आफ्नो हत्केलामा केही चिज भएजस्तो आभाष भइरहेको छ।’
रानीको मुखबाट यति कुरा सुनेपछि राम शाह प्रसन्न भए।
उनको अनुहारमा खुसीका लहर दौडिएको रानीले चाल पाइन्, सोधिन्, ‘हजुर किन खुसी हुनुभयो, भन्नुस् न महाराज, के हो यो सपनाको अर्थ?’
हामी सपना किन देख्छौं? के सपनाको कुनै अर्थ हुन्छ?
हामीले निद्रामा देख्ने नानावली घटनाक्रम, जुन उपन्यास वा सिनेमाजस्तो एकसरो बग्दैन; बरू पहाडका कुनाकन्दराबाट नागबेली झर्ने खोलाजस्तो यताउति मोडिन्छ; जहाँ एउटा–दुइटा होइन, असंख्य घटनाक्रमहरू आपसमा जोडिएर दृश्यको कोलाज बन्छ; के त्यस्तो सपनाले कुनै भाव बोकेको हुन्छ?
के त्यसले भविष्यमा आइपर्ने कुनै अनिष्ट वा उमंगको संकेत गर्छ?
सपनालाई लिएर संसारका सिद्धहस्त विद्वानहरूले मनोवैज्ञानिक विश्लेषण गरेका छन्। मनको कन्तुरमा लुकेका भावहरू कसरी सपनामा प्रकट हुन्छन् भनेर रौंचिरा केलाउने प्रयास पनि कतिपय मनोविश्लेषकले गरेको पाइन्छ। हामी नेपालीहरू भने प्रारब्धमा बढी विश्वास गर्ने भएर होला; हामी सपनामा आफ्नो अतीत, वर्तमान र भविष्यको कडी जोड्ने प्रयास गर्छौं। सायद त्यसैले हाम्रा ऐतिहासिक घटनाक्रमहरूमा सपनाको स्थान महत्वपूर्ण छ।
आजभन्दा पच्चीस सय वर्षअघि सिद्धार्थ गौतमलाई जन्म दिनुअघि उनकी आमा मायादेवीले एउटा सेतो हात्ती आकाशबाट झरेर सोझै आफ्नो गर्भमा प्रवेश गरेको सपना देखेकी थिइन्। त्यसको झन्डै हजार वर्षपछि लिच्छवि राजा धर्मदेवले पनि बत्तीस लक्षणले युक्त कुनै पुरूषलाई नारायणहितिमा लगेर बलि दियो भने मात्र काठमाडौं उपत्यकाभरि सुकेका ढुंगेधाराहरूमा फेरि पानी रसाउने र काकाकूल काठमाडौंको तिर्खा मेटिने उपाय सपनामै देखेका थिए। यही सपना पछ्याउँदै धर्मदेवले आफ्ना पुत्र राजा मानदेवलाई झुक्याएर आफ्नै बलि दिन लगाएको कथन छ।
सपनाको सिलसिला जोडिएका यस्ता थुप्रै उदाहरण हाम्रो इतिहासमा मौजुद छन्। त्यसैमध्ये एक हो, आजभन्दा चार सय वर्षअघि गोरखाका राजा राम शाहकी पत्नीले सपनामा देखेको भुटानी लामागुरूको अनुष्ठान।
यो सपना हाम्रो यो कथा शृंखलामा यस कारण पनि महत्वपूर्ण छ, किनभने यही सपनासँग भुटानी नेपाली शरणार्थीहरूको नियति जोडिन्छ।
त्यो रात रानीले यस्तो सपना नदेखेकी भए, सायद भुटानमा नेपालीभाषीहरूको औपचारिक बसोबासको थालनी नै हुने थिएन।
उनीहरू बसाइँ सरेर भुटान नगएका भए कालान्तरमा आफ्नै राज्यबाट खेदिएर शरणार्थी जीवन बिताउनुपर्ने नै थिएन।
र, आज नेपाली नागरिकलाई नक्कली शरणार्थी बनाएर विदेश पठाउने प्रकरण पनि जन्मिने थिएन।
यति पढिसक्दा तपाईंहरूलाई लाग्यो होला, गोरखाकी रानीको सपनाको प्रसंग कहाँबाट आयो? यो घटना साँचो हो भने सपना देख्ने रानीको नाम हामीले किन लेखेनौं?
सबभन्दा महत्वपूर्ण कुरा त, यो सपनासँग भुटानी शरणार्थीहरूको नियति कसरी जोडिन्छ?
यहाँबाट अगाडि बढ्नुभन्दा पहिला हामी एउटा कुरा भनिहालुँ, रानीले देखेको सपनाको वृत्तान्त हाम्रो कल्पनाको उपज हो। उनले यस्तै सपना देखेकी थिइन्, वा उनले देखेको सपना अर्कै खालको थियो, हामीलाई थाहा छैन। तर सपनाको वर्णन काल्पनिक भए पनि त्यसको आसय काल्पनिक होइन।
राजा राम शाहका पालामा गोरखा दरबारभित्र उत्पन्न दाजुभाइको कलह साम्य पार्न र राजगद्दीको असली उत्तराधिकारी सन्तान जन्माउन भुटानी धर्मराजा ङवाङ नमग्याललाई पुकार्ने र त्यहाँबाट एक जना लामा डाकेर तान्त्रिक अनुष्ठान गराउने योजना रानीले सपनामा देखेको वर्णन इतिहासमा छ।
तिब्बती भाषा, भोट सभ्यता र बौद्ध धर्म तथा संस्कृतिसँग सम्बन्धित ऐतिहासिक अनुसन्धानमा संलग्न डा. रमेश ढुंगेलले आफ्नो किताब ‘नेपाल भुटान ऐतिहासिक सम्बन्ध र जोङ्–सार–पा एवं ल्हो–छाम्–पा समुदाय’ मा उक्त सपनाको प्रसंग बयान गरेका छन्।
रसुवाको नागथली गुम्बामा प्राप्त ऐतिहासिक टिपोट (देव ठा) उद्धृत गर्दै ढुंगेल लेख्छन्, ‘भुटानी लामालाई गोरखा निम्त्याउने काम राम शाहकी रानीलाई आएको सपनाअनुरूप गरिएको थियो।’
नागथली गुम्बाको टिपोट राजा पृथ्वीनारायण शाहको समयदेखि राणाकालसम्म भुटानी लामाहरूबाटै तयार पारिएको हो। भोटे भाषामा लेखिएको उक्त टिपोटलाई ढुंगेलले नेपालीमा अनुवाद गरेर किताबमा समावेश गरेका छन्, जसअनुसार राम शाहले रानीको सपनाबारे थाहा पाएलगत्तै आफ्ना केही दूत भुटानका धर्मराजा ङवाङ नमग्यालकहाँ पठाए र गोरखा राज्यको ग्रहशान्तिका लागि एक जना लामा पठाइदिन आग्रह गरे।
धर्मराजाले खुसी हुँदै दम्–छो–पे–कर भन्ने लामालाई गोरखा पठाइदिए। उनै लामाले गोरखा आएर तान्त्रिक विधिबाट अनुष्ठान सम्पन्न गरेपछि दरबारको आन्तरिक कलह तत्कालै शान्त भयो। त्यसको केही समयपछि तीन जना राजकुमारको जन्मसमेत भएको वर्णन टिपोटमा छ। तिनै राजकुमारमध्येका डम्बर शाह पछि गोरखाका राजा भएका थिए।
गोरखाका राजा र भुटानी धर्मराजाबीच रहेको अविच्छिन्न धार्मिक सम्बन्धबारे वर्णन गर्दै नागथली टिपोटको ५० र ५१औं बुँदामा भनिएको छ, ‘श्री गोरखा राजाको राजवंशमा सर्वप्रथम पहिलो राजा द्रव्य शाह, उहाँका राजपुत्र पूर्ण शाह, उहाँका राजपुत्र छत्र शाह र उहाँका राजकुमार राम शाहको समयमा दाजुभाइ नमिलेर आपसमा कलह हुनुका साथै सन्तान पनि नभएर अत्यन्त दुःखित भएका बेला रानीको सपनामा ल्हो–डुग् (भुटानी) धर्मराजालाई उद्धार निम्ति पुकारे र त्यहाँबाट एक जना भुटानी लामालाई निमन्त्रणा गरी भूतप्रेत, पिशाच आदि शत्रु दमन गरेर राजारानी दुवैले प्रसाद ग्रहण गरे त्यो कलह शान्त हुन्छ र अधिराज्यभरमा अधिकार गर्न सक्ने राजपुत्र पनि अटुट रूपले जन्मने छन् भन्ने देवताको भविष्यवाणी भयो। यसैअनुसार रानीले बिन्ती गरेपछि राजाले ल्हो–डुग् (भुटान) मा दूत पठाई उद्धार निम्ति प्रार्थना गरे।’
टिपोटमा अगाडि लेखिएको छ, ‘भुटानका धर्मराजले खुसी मन भएर लामा दम्–छो–पे–करलाई गोरखा पठाउनुभयो। लामा गोरखामा उपस्थित हुनासाथ भूत, प्रेत, पिशाच आदि शत्रु दमन गरेकाले दाजुभाइको झगडा तत्कालै शान्त भयो। राजारानी दुवैका लागि अनुष्ठान गरेकाले केही अन्तरालमै तीन जना राजकुमारको जन्म भयो र राजकाजमा डम्बर शाह रहनुभयो।’
नागथली गुम्बाको उक्त टिपोटमा सपना देख्ने रानीको नाम उल्लेख छैन। उनी राम शाहका पत्नीहरूमध्ये शशिरेखा देवी पनि हुन सक्छिन् वा लीलावती पनि हुन सक्छिन्। तर भुटानी लामाबाट गरिएको तान्त्रिक अनुष्ठानपछि तीन जना राजकुमार जन्मेको र तिनैमध्ये डम्बर शाह राजगद्दीका उत्तराधिकारी भएको प्रसंगले सपना देख्ने रानी शशिरेखा देवी हुन् कि भनेर अनुमान गर्न सकिन्छ। किनभने, डम्बर शाहको जन्म शशिरेखा देवीकै कोखबाट भएको थियो।
टिपोटमा एउटा ऐतिहासिक तथ्य भने फरक परेको छ। त्यो के भने, तिथिमितिका हिसाबले भुटानी लामा दम्–छ्यो–पे–करको समयकाल र राम शाहको शासनकाल मेल खाँदैन।
इतिहासकार दिनेशराज पन्तले ऐतिहासिक पत्रिका ‘पूर्णिमा’ मा प्रकाशित ‘राम शाहको राज्यकाल– एक चर्चा’ शीर्षकको लेखमा उनको शासनकालबारे अहिलेसम्म प्राप्त प्रमाणित मिति उल्लेख गरेका छन्। पन्तका अनुसार राम शाहले विक्रम सम्बत् १६७१ देखि १६९३ सम्म २२ वर्ष शासन गरेका थिए। जबकि, भुटानका चौथा प्रमुख लामा दम्–छ्यो–पे–करको जन्म नै विक्रम सम्बत् १६९३ मा मात्र भएको थियो। उनले ७२ वर्षको उमेरमा विक्रम सम्बत् १७६५ मा निर्वाण प्राप्त गरेका थिए।
यसरी राम शाहको निधन भएकै वर्ष दम्–छ्यो–पे–कर जन्मेकाले गोरखा आएर तान्त्रिक अनुष्ठान गर्ने लामा यिनै थिए भन्नेमा शंका उत्पन्न हुन्छ, ढुंगेल लेख्छन्, ‘यो कुरा प्रामाणिक रूपमा मान्ने स्थिति नभए पनि भुटानी धर्मराजा स्वयं वा अरू कुनै प्रसिद्ध तान्त्रिक लामा आएको हुनुपर्छ।’
रानीले देखेको सपनाको प्रसंग पनि अतिरञ्जित वर्णन हुनसक्छ। इतिहासलाई वास्तविक घटनाभन्दा अलौकिक र सुरूचिपूर्ण ढंगले प्रस्तुत गर्न सपनाको सिलसिला जोड्ने चलन धेरै पुरानो हो। नागथली गुम्बाका टिपोटकर्ताहरू पनि त्यसैबाट प्रभावित नहोलान् भन्न सकिन्न। यति हुँदाहुँदै गोरखा दरबारभित्र उत्पन्न कलह शान्त पार्न भुटानी धर्मराजा ङवाङ नमग्यालसँग मद्दत मागिएको घटनामा भने कुनै दुबिधा मान्नुपर्दैन। किनभने, राजा राम शाहको पालादेखि नै गोरखा राज्यसँग भुटानको राजकीय तथा धार्मिक सम्बन्ध कायम रहेको पुष्टि अन्य ऐतिहासिक दस्तावेजबाट पनि हुन्छ। यस्ता केही दस्तावेजबारे ढुंगेलले आफ्नो किताबमा चर्चा गरेका छन्।
ढुंगेलले आफ्नो अनुसन्धान क्रममा भुटानबाट पठाइएका दुईवटा पुराना चिठी परराष्ट्र मन्त्रालयमा भेटेका थिए, जसमा भुटानी लामाले गोरखा दरबार आएर अनुष्ठान गरेको विवरण उल्लेख छ।
परराष्ट्र मन्त्रालयमै फेला परेको एउटा विस्तृत अप्रकाशित वंशावलीमा पनि राम शाहले भुटानको स्थिति बुझ्न गोप्य ढंगमा दूत पठाएको चर्चा गरिएको छ। परराष्ट्र मन्त्रालयमै प्राप्त राजा प्रतापसिंह शाहका पालाको अर्को एक पत्रमा राम शाहले भुटानी धर्मराजासँग सम्बन्ध राखेका थिए भन्ने लेखिएको छ।
ढुंगेलले आफ्नो किताबमा विक्रम सम्बत् १९१२ को नेपाल–तिब्बत युद्धपछि भुटानी धर्मराजाका ‘दा पोन्’ भन्ने अधिकारीले नेपालका तत्कालीन श्री ३ महाराजा तथा ‘प्राइममिनिस्टर’ जंगबहादुर राणालाई तिब्बती अक्षरमा लेखेको बिन्तीपत्रको बेहोरायुक्त एउटा चिठीबारे पनि उल्लेख गरेका छन्, उनी लेख्छन्, ‘यस पत्रमा पनि राम शाहका पालादेखि नै भुटानका धर्मराजा र गोर्खाली राजाबीच शिष्य–शाखाको जस्तो निकट सम्बन्ध कायम थियो भन्ने चर्चा परेको छ।’
भुटान र गोरखाको सम्बन्ध झल्काउने योभन्दा महत्वपूर्ण प्रमाण त १९१२ सालको नेपाल–तिब्बत युद्धपछि भुटानी लामाले नेपालका काजीलाई लेखेको पत्रमा छ। उक्त पत्रअनुसार राम शाहकै पालामा गोरखाले भुटानी लामालाई छवटा गुम्बा चढाएको बुझिन्छ। समयक्रममा हेरविचार अभावले ती गुम्बाहरू भत्किएर जीर्ण अवस्थामा पुगेका थिए। भुटानी लामाले लेखेको चिठीमा ‘पितापुर्खाको धर्मकीर्ति थामेर जीर्णोद्धार गर्ने कार्य होस्’ भन्ने बेहोरा परेको ढुंगेलले किताबमा उल्लेख गरेका छन्।
उनी अगाडि लेख्छन्, ‘भुटानबाट आएका पत्रहरूमा उल्लिखित ‘यांते’ र ‘षंते’ भन्ने गुम्बा कहाँका थिए भन्ने जानकारी पाइएन। त्यसैले पूर्वतर्फका छवटै गुम्बा राम शाहले नै दान दिएका थिए भन्नेमा पूर्ण विश्वास गर्न अप्ठ्यारो पर्छ। बरू गोरखाको पहुँचभित्रका केही गुम्बा राम शाहका पालामा र अरू केही त्यसपछिका कृष्ण शाह लगायतका गोर्खाली राजाहरूले समेत दान दिएका हुन सक्छन्। पृथ्वीनारायण शाहले पूर्व विजय गरेपछि त्यहाँका अन्य छ गुम्बा र पहिल्यै दिएका पश्चिमतर्फका सबै गुम्बा गरी १२ वटा गुम्बाको अधिकार भुटानी लामाले पाएको हुनुपर्छ भन्न सकिन्छ।’
माथिका यी विवरणबाट हामी के बुझ्न सक्छौं भने, पृथ्वीनारायण शाहले साना–साना राज्य जितेर आधुनिक नेपाल निर्माण गर्नुभन्दा डेढ सय वर्षअगाडि राजा राम शाहका पालादेखि नै गोरखा र भुटानबीच सुमधुर सम्बन्ध गाँसिएको थियो।
यो सुमधुर सम्बन्धको सुरूआत रानीले देखेको त्यही सपना र भुटानी लामाबाट गरिएको त्यही अनुष्ठानपछि भएको हो भनेर हामी ठोकुवा गर्न सक्दनौं। यति चाहिँ पक्कै भन्न सक्छौं — नागथली गुम्बाको ऐतिहासिक टिपोटमा उक्त अनुष्ठानको फलस्वरूप नै गोरखामा तीन जना राजकुमारको जन्म भएको र तिनैमध्ये डम्बर शाह पछि राजा बनेको उल्लेख हुनुले गोरखा र भुटानको सम्बन्धमा त्यो सपनाले अहम् भूमिका खेलेको हुनुपर्छ। किनभने, एउटा राजाको निम्ति आफ्नो उत्तराधिकारी प्राप्त हुनुजत्तिको ठूलो खुसी अर्को के होला? र, भुटानसँग मित्रवत् सम्बन्ध विस्तार गर्ने योभन्दा उपयुक्त अवसर राम शाहका लागि अर्को के रह्यो होला?
यो सम्बन्धको श्रेय भुटानका पहिलो धर्मराजा ङवाङ नमग्याललाई पनि जान्छ।
स्थानीयले आदर र प्रेमपूर्वक ‘दारीवाल लामा’ समेत भन्ने तिब्बतका यी धर्मगुरूले विक्रम सम्बत् १६७३ मा भुटान आएर त्यहाँका स–साना सामन्त तथा विभिन्न सम्प्रदायका लामाहरूलाई समेट्दै एकीकरण अभियान सुरू गरेका थिए। उनको अभियान चारदेखि छ वर्ष चलेर लगभग १६७७ देखि १६७९ सम्ममा पूरा भएको थियो। त्यसपछि उनले आफ्नो जीवनकालभरि अर्थात् विक्रम सम्बत् १७०८ सम्म भुटानमा शासन गरेका थिए।
धार्मिक तथा लौकिक परम्परामा आधारित शासन पद्धति सञ्चालन गरेका ङवाङ नमग्यालले भुटानलाई एक व्यवस्थित धार्मिक अधिराज्यको रूप दिए। यसै क्रममा तत्कालीन नेपालको गोरखा राज्यसहित काठमाडौं उपत्यकाका मल्लराज्यहरूसँग पनि धार्मिक, सांस्कृतिक तथा राजनीतिक सम्बन्ध कायम गरेको ढुंगेल बताउँछन्।
‘भुटानका प्रथम धर्मराजा ङवाङ नमग्यालले भुटानको एकीकरण अभियान पूरा गरिसक्नासाथ १६८१–८२ देखि नै नेपालका गोरखा र काठमाडौं उपत्यकासँग सम्बन्ध कायम गर्न थालिसकेका थिए,’ ढुंगेल लेख्छन्।
‘हुन त राम शाहभन्दा पहिले गोरखाका प्रथम शाहराजा द्रव्य शाह र पूर्ण शाहको राज्यकालमा पनि भुटानको नेपाल (गोरखा) सँग सम्बन्ध भएको वर्णन भुटानी इतिहासमा पाइन्छ,’ ढुंगेल अगाडि लेख्छन्, ‘भुटानी इतिहासमा यस्तो उल्लेख भए पनि यो कुरा कुनै पनि नेपाली स्रोतमा पाइँदैन। त्यसमाथि १६७३ सालमा तिब्बतबाट भुटान आएका ङवाङ नमग्यालले स–साना सामन्त र सम्प्रदायलाई एकीकरण गरेर व्यवस्थित राज्य नबनाएसम्म भुटानले बाह्य जगतसँग औपचारिक सम्बन्ध राख्न सक्ने स्थिति देखिँदैन।’
यो भनेको ठ्याक्कै गोरखामा राम शाह राजा भएकै बेलाको कुरा हो। त्यसैले उनीभन्दा अगाडिका द्रव्य शाह वा पूर्ण शाहकै शासनकालमा भुटान–नेपाल सम्बन्ध गाँसिएको थियो भन्ने भनाइ पुष्टि हुँदैन।
बरू विभिन्न गुम्बा तथा धर्म सम्प्रदायमार्फत् गोरखाको उत्तरी भेगमा रहेको तिब्बती मूलको बस्ती र काठमाडौं उपत्यकासँग भुटानी लामाहरूको अनौपचारिक सम्बन्ध जोडिएको चाहिँ सम्भव देखिने ढुंगेल बताउँछन्।
यहाँ भौगोलिक सीमा नजोडिएका र त्यति बेलाको सन्दर्भमा हिँडेरै अत्यन्तै लामो दुरी यात्रा गर्नुपर्ने गोरखा र काठमाडौं उपत्यकासँग भुटानको निकट सम्बन्ध कसरी कायम भयो भन्ने प्रश्न उठ्न सक्छ।
गोरखासँग भुटानको सम्बन्ध जोडिनुमा मुख्य तीन कारण देखिन्छन्।
पहिलो, गोरखाको उत्तरी भेगमा पहिल्यैदेखि तिब्बती सभ्यता फस्टाएकाले तिब्बती मूलका बौद्धमार्गीहरूसँग गोरखाको निकट सम्बन्ध थियो। गोरखाका राजा र जनता हिन्दु भए पनि तिनै तिब्बती बौद्धमार्गीहरूको प्रभावले गोरखामा पहिलेदेखि बौद्ध गुम्बाहरू सञ्चालनमा थिए। तिब्बत तथा तिब्बती मूलका जनजातिसँग जनस्तरको सम्बन्ध पनि कायम थियो। परापूर्वकालदेखि चलिआएका बौद्ध गुम्बाहरूको प्रभाव र जनस्तरमा गाँसिएको सम्बन्धले भुटानका धर्मराजासँग गोरखाको निकट सम्बन्ध जोडिएको हुनसक्ने ढुंगेलको भनाइ छ।
यही क्रममा राम शाहले गोरखा राज्यमा चलाएको सुव्यवस्थित राज्यव्यवस्थाको वर्णन सुनेर भुटानी धर्मराजा ङवाङ नमग्याल पनि प्रभावित भएको हुनसक्ने ढुंगेलले उल्लेख गरेका छन्।
दोस्रो कारण, त्यो समय गोरखा र भुटान दुवैका लागि तिब्बत साझा शत्रु थियो। शत्रुको शत्रु आफ्नो मित्र हुन्छ भन्ने त पुरानो भनाइ नै छ। यही भनाइ गोरखा र भुटानका हकमा पनि लागू भएको देखिन्छ। यसबारे ढुंगेलले किताबमा लेखेका छन्, ‘राजकुमार द्रव्य शाहले लमजुङबाट आएर बलियो गोरखा राज्य स्थापना गरेदेखि नै भोटको सिमानामा रहेको तिब्बती मूलका भोटे शासक रहने न्हुवरी, रूई, बारपाक आदि स्थानीय राज्य वा प्रदेशसँग कहिले लडाइँ, कहिले सन्धि भइरहन्थ्यो।’
गोरखाले राजा द्रव्य शाह, पूर्ण शाह, छत्र शाह, राम शाह तथा पृथ्वीपति शाहको शासनकालमा धेरैपटक बारपाकीहरूसँग लडेको इतिहास छ। राम शाह र नरभूपाल शाहले त सोझै तिब्बतसँग युद्ध गरेका थिए। यी दुवैको शासनकालमा गोर्खाली सेना किरोङ जित्दै कुकुरघाटसम्म पुगेको चर्चा गोरखावंशावली तथा अन्य पुराना टिपोटहरूमा पाइने ढुंगेलको किताबमा छ।
उता भुटानको पनि सुरूदेखि तिब्बतसँग शत्रुतापूर्ण सम्बन्ध थियो। प्रथम धर्मराजा ङवाङ नमग्याल आफैं तिब्बतको रालुङ गुम्बामा विद्रोह गरेर हिँडेका थिए। त्यसैले उनले भुटानका स–साना सामन्त र सम्प्रदायलाई जोडेर छुट्टै राज्य स्थापना गरेको र त्यहाँ नयाँ ढंगको शासन व्यवस्था चलाएको तिब्बतलाई चित्त बुझेको थिएन। उसले भुटानलाई इर्ष्याले हेर्न थालेको थियो। ङवाङ नमग्यालकै समयमा तिब्बतका एक स्थानीय शासक देप चङपाले भुटानमाथि हमला गरेका थिए। त्यति बेला भुटानी सेनाले तिब्बतलाई हराएको थियो। पछि विक्रम सम्बत् १७८७ मा तिब्बतले भुटानमाथि फेरि हमला गर्यो। यति बेला भुटानको पक्षमा गोर्खालीहरूले युद्ध लडेको इतिहास छ।
‘यसरी भोटसँग युद्ध लड्ने सिलसिलामा राज्य बन्ने बेलादेखि नै तिब्बतसँग शत्रुता भएको भुटानसँग गोरखाको मित्रवत सम्बन्ध गाँसिएको हुनसक्छ,’ ढुंगेल भन्छन्।
तेस्रो कारण हो, गोर्खाली राजारानीमा तान्त्रिक अनुष्ठानप्रतिको गहिरो विश्वास। यही विश्वासका कारण भुटानी लामाहरूको तान्त्रिक ज्ञान र क्षमताले गोर्खाली राजारानीमा गहिरो प्रभाव पारेको थियो। उनीहरू राजकाजमा संकट पर्दा वा दरबारभित्र कलह उत्पन्न हुँदा वा गद्दीका शक्तिशाली उत्तराधिकारीको कामना गर्दै भुटानका सिद्ध लामाहरूलाई आफूकहाँ निमन्त्रणा गर्थे र विभिन्न तान्त्रिक अनुष्ठान गराउँथे। यसको एउटा ज्वलन्त उदाहरण राम शाहका पालामा दाजुभाइको झगडा शान्त पार्न र सन्तान प्राप्तिका लागि रानीको सपना पछ्याउँदै भुटानी लामालाई दरबारमा तान्त्रिक अनुष्ठान गर्न निमन्त्रणा गरिनु हो, जसका बारेमा हामीले माथि चर्चा गर्यौं।
काठमाडौं उपत्यकासँग भुटानको सम्बन्ध जोडिनुमा पनि तीनटै प्रमुख कारण रहेको चर्चा ढुंगेलले गरेका छन्।
पहिलो, काठमाडौं उपत्यकामा धेरैअघिदेखि तिब्बती बौद्ध धर्मको प्रभाव थियो। चौधौं शताब्दीमा तिब्बतका विद्वान धर्मसुधारक लामा भिक्षु चोङ–ख–पले गेलुग्–पा सम्प्रदाय स्थापना गरेपछि काग्यू सम्प्रदायका लामा भिक्षुहरू आफ्नो सम्प्रदायको सुरक्षा निम्ति दक्षिणतर्फ लागेका थिए। उनीहरूले भुटान, सिक्किम तथा नेपालका हिमाली प्रदेश र काठमाडौं उपत्यकालाई आफ्नो नयाँ मुकाम बनाएका थिए। यही क्रममा तिब्बतको काग्यू सम्प्रदायका कर्म–प, डुग्–प रिन्पोछे, श्यामर–प लगायतका सिद्ध लामा भिक्षुहरूले विभिन्न समयकालमा काठमाडौं भ्रमण गरी स्वयम्भुमा पूजाआजा, स्याहारसम्भार र जीर्णोद्धार गरेको ढुंगेलले किताबमा उल्लेख गरेका छन्, उनी लेख्छन्, ‘उपत्यकामा सर्वप्रथम यही सम्प्रदायको गुम्बा स्थापित भएकोमा पनि धेरै विद्वानको एकमत छ।’
यही धार्मिक सम्बन्धका कारण भुटानका स–साना सामन्त र सम्प्रदायलाई एकत्रित गरी नयाँ राज्य स्थापना गर्नुअघि ङवाङ नमग्याल काठमाडौं उपत्यकाको भ्रमणमा आएको र लामो समय स्वयम्भुमा बसेर शिक्षा प्राप्त गरेको भनाइ छ। यसले काठमाडौंसँग उनको घनिष्ठ नाता जोडिएको अनुमान गरिन्छ। स्वयम्भुप्रति अगाध आस्थाका कारण भुटानी धर्मराजा ङवाङ नमग्यालले पछि स्वयम्भुको जीर्णोद्धारसमेत गराएका थिए। धर्मराजा नमग्यालले आफ्नै अगुवाइमा सत्रौं शताब्दीको मध्यतिर स्वयम्भुमा डुग्–प काग्यू गुम्बा स्थापना गराएका थिए। उक्त गुम्बा निर्माण गर्न कान्तिपुरका तत्कालीन राजाबाट भुटानी धर्मराजालाई आवश्यक जग्गा–जमिन दान गरिएको इतिहास छ। यो गुम्बा अहिले पनि स्वयम्भुमा छँदैछ। यहाँ बर्सेनि भुटानी लामाहरू पूजापाठ गर्न आउँछन्।
दोस्रो कारण, काठमाडौं उपत्यकाका मल्लराज्यहरूले कलाकृतिमा कमाएको ख्याति हो। त्यो समय मल्लराज्यहरू सांस्कृतिक रूपले एसियाकै एक महत्वपूर्ण केन्द्रका रूपमा परिचित थिए। यहाँका काष्ठकला, मूर्तिकला, वास्तुकला लगायत यहाँ मनाइने जात्रापर्वहरूको ख्याति टाढाटाढासम्म फैलिएको थियो। नयाँ राज्य स्थापनामा लागेका ङवाङ नमग्याललाई काठमाडौं उपत्यकाको कलाकौशल र सांस्कृतिक सम्पदाले लोभ्याएको थियो। भुटान राज्य स्थापना गर्नुपूर्व स्वयम्भुमा आएर बौद्ध शिक्षा ग्रहण गरेकाले पनि उनी यहाँको कला, संस्कृतिसँग राम्ररी परिचित थिए। यहाँका कलाकार र कालिगढहरूको खुबी जानेका थिए। त्यसैले उनी उपत्यकाका मल्लराजाहरूसँग राम्रो सम्बन्ध राखेर यहाँको कलाशिल्प अनुसरण गर्न चाहन्थे।
तेस्रो, भुटान र काठमाडौं उपत्यकालाई आर्थिक सम्बन्धले पनि जोडेको थियो। खासगरी चाँदीका मुद्राहरू भुटानले काठमाडौंबाट बनाएर लग्ने गरेको पाइन्छ। भुटानमा मल्लकालीन चाँदीका मोहर धेरै पछिसम्म चलनचल्तीमा रह्यो। नेपाली मोहर ‘टंका’ कै प्रभावले भुटानी मुद्रालाई पनि ‘डुल्–टं’ भन्ने गरिएको ढुंगेलको भनाइ छ। यसबाहेक नेपालका मूर्तिकला, भाँडाकुँडा, औजार र अन्य कलाकृति भुटानमा खुब प्रचलित थिए। काठमाडौं उपत्यका मात्र होइन, मेची र कोसीका व्यापारीले प्राचीन कालदेखि भुटानको व्यापारमा प्रभुत्व जमाएको कतिपय इतिहासकारले उल्लेख गरेका छन्।
यसरी गोरखा र काठमाडौं उपत्यकासँग विभिन्न कारणले भुटानको सम्बन्ध जोडिए पनि यिनीहरूलाई बाँध्ने मुख्य सेतु भने बौद्ध धर्म नै हो, ढुंगेल लेख्छन्, ‘राम शाहको राज्य व्यवस्था तथा ख्यातिबाट प्रभावित भएर त्यसै समयदेखि भुटानले गोरखासँग सम्बन्ध जोड्ने र भुटानी लामाहरूको तान्त्रिक ज्ञान र क्षमताबाट प्रभावित भएर गोरखाले पनि भुटानसँग सम्बन्ध जोड्ने काम गरेको देखिन्छ।’
सँगसँगै, ‘भुटानका तात्कालिक लामाहरूको तान्त्रिक ख्याति तथा धार्मिक कार्य र काठमाडौं उपत्यकाको बौद्धशिक्षा तथा संस्कृतिको केन्द्र स्वयम्भुनाथका माध्यमबाट पनि नेपाल–भुटानबीच ऐतिहासिक सम्बन्धको थालनी भएको’ ढुंगेलले उल्लेख गरेका छन्।
यही धार्मिक सम्बन्धले व्यापकता पाउँदै जाँदा दुई देशबीच राजनीतिक र आर्थिक सम्बन्ध कायम भएको र त्यसैको एउटा कडीका रूपमा नेपालीहरूको भुटान बसाइँसराइ सुरू भएको उनको ठम्याइ छ।
यहाँनिर जोडिन्छ, नेपालीहरूको पहिलो चरणको भुटान बसाइँसराइको कथा।
आजभन्दा चार सय वर्षअगाडि कसरी पुगे नेपालीहरू भुटानमा? के उनीहरू स्वतस्फुर्त गएका थिए वा राज्य स्तरमै भएको द्विपक्षीय सन्धि–सम्झौताले उनीहरूलाई त्यहाँ पुर्याएको थियो?
त्यति बेला भुटान गएका पहिलो पुस्ताका नेपाली को हुन्? के उनीहरूको नाम इतिहासमा दर्ज छ?
अनि सत्रौं शताब्दीमा गोरखा राज्य र भुटानको सम्बन्ध कस्तो थियो? काठमाडौं उपत्यकाका मल्लराज्य र भुटानको सम्बन्ध कस्तो थियो? एकीकरणपछिको आधुनिक नेपालमा भुटानसँग कस्तो सम्बन्ध रह्यो?
भुटान राज्यको निर्माण नै कसरी भयो? के भुटान बन्न नेपालीहरूको कुनै योगदान छ? छ भने के?
भुटानी नेपाली शरणार्थीहरूको विगतसँग जोडिएका यस्ता प्रश्नमा हामी आगामी अध्यायहरूमा विस्तृत चर्चा गर्नेछौं। त्योभन्दा अगाडि कुरा गरौं इतिहासकार डा. रमेश ढुंगेलको, जसले नेपाल र भुटानको ऐतिहासिक सम्बन्धमाथि गहिरो अनुसन्धान गरेका छन्।
अध्याय दुई
भुटान सरकारको नियत
बौद्ध अध्ययनमा लामो समय बिताएका रमेश ढुंगेल लुम्बिनी कलेज अफ बुद्धिजम् एन्ड हिमालयन स्टडिजमा प्राध्यापन गर्छन्।
उनले भुटान र नेपालका विभिन्न गुम्बा, मन्त्रालय तथा अन्य विभिन्न स्रोतबाट उपलब्ध ऐतिहासिक अभिलेखहरू संकलन गरेर; कतिपय जोङ्खा र तिब्बती भाषामा लेखिएका सामग्री नेपालीमा अनुवाद गरेर र दुई देशबीच सत्रौं शताब्दीदेखि नै आदानप्रदान हुँदै आएका चिठीपत्रको रौंचिरा केलाएर हामीलाई नेपाल–भुटान ऐतिहासिक सम्बन्ध तथा नेपालीहरूको भुटान प्रवेशको कथा सुनाएका छन्।
ढुंगेलले यो विषयमा गहिरो शोध गरेका छन् भन्ने जानकारी हामीलाई भुटानी शरणार्थी नेता टेकनाथ रिजालले दिएका थिए।
शरणार्थी शिविरको स्थलगत भ्रमण क्रममा हामीले झापाको बिर्तामोडस्थित निवासमै गएर टेकनाथ रिजाललाई भेटेका थियौं। नेपालीहरूको भुटान प्रवेशबारे केही इतिहास उनले पनि बताए। केही इतिहास अर्का भुटानी शरणार्थी नेता डा. भम्पा राईले पनि सुनाए। डा. राईको अहिले निधन भइसकेको छ। यी दुवैले सुनाएका कथामा सत्रौं शताब्दीदेखिका विभिन्न घटनाक्रम थिए। तर ती घटनाक्रम सिलसिलामा बाँधिएका थिएनन्। उनीहरूसँग ती घटनाक्रमलाई पुष्टि गर्ने ऐतिहासिक दस्तावेजहरू पनि थिएनन्। त्यसबाट भुटानी शरणार्थीहरूको वास्तविक इतिहास थाहा हुँदैन भन्ने लागेर हामीले टेकनाथ रिजाललाई सोध्यौं, ‘नेपालीहरू कसरी भुटान पुगे भन्नेबारे कसैले ऐतिहासिक अध्ययन गरेको छ कि छैन?’
‘तपाईंहरूले खोजेको इतिहास डा. रमेश ढुंगेलले विस्तारमा लेख्नुभएको छ,’ जवाफमा उनले भने, ‘मैले नै भुटानबाट निर्वासित भएर आउँदा आफूसँग भएका ऐतिहासिक दस्तावेजहरू एक ट्यांकाभरि लिएर आएको थिएँ। कति दस्तावेज त उतै चोरी पनि भए। जे जति बचेका थिए, ती सबै फाइल मैले उहाँलाई अध्ययन गर्न दिएको थिएँ। उहाँले अरू पनि त्यस्ता सयौं दस्तावेज खोजबिन गरेर, भुटान र नेपालका गुम्बामा रहेका ऐतिहासिक टिपोटहरू पढेर हामी शरणार्थीहरूको वास्तविक इतिहास लेख्नुभएको छ।’
ढुंगेलले आफ्नो किताबमा पनि टेकनाथ रिजालले ‘आफ्नो संग्रहका एक दर्जनजति ऐतिहासिक सामग्रीको फाइल उपलब्ध गराउनुका साथै अनेकौं जानकारी दिएर सहयोग गरेको’ भनी धन्यवाद दिएका छन्।
हामीलाई ढुंगेलबारे सूचित गर्न पाउँदा रिजाल स्वयं उत्साहित सुनिएका थिए, उनी भन्दै थिए, ‘तपाईंहरूले उहाँलाई भेट्नुभयो भने नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध कसरी सुरू भयो भन्ने मात्र होइन, हामी भुटानी शरणार्थीहरूले कसरी आजको दुःखान्त भोग्नुपर्यो भन्ने कथा पनि छर्लंग थाहा हुन्छ। हामी नेपालीहरू भुटान सरकारले भनेजस्तो चिया बगानमा कुल्ली काम गर्न गएका हौं कि चार सय वर्षअगाडि राज्यस्तरमै बसोबास गराउन लगिएको हो भन्ने उहाँले ऐतिहासिक अभिलेख अगाडि राखेर खुलस्त पार्दिनुहुन्छ।’
रिजालको यस्तो सुझावपछि हामी डम्म कुहिरो लागेको मंसिरको एक चिसो बिहानीमा साढे ८ बजेतिर रमेश ढुंगेलको घर पुगेका थियौं। उनको घर चाबहिल चोकबाट बौद्ध जाने बाटोमा चार–पाँच घर अगाडि बढेपछि मूल सडकबाट दाहिनेतिर अलिकति भित्र पर्छ।
विद्युतीय हिटरले न्यानो पारिएको कोठामा ढुंगेलसँग हाम्रो न्यानो कुराकानीको सिलसिला सुरू भयो।
उनले भुटानी शरणार्थीहरूको इतिहास बताउनुअघि यो इतिहास लेखनमा आफू कसरी आबद्ध भएँ भन्ने कथा सुनाए।
‘यो २०४१ सालतिरको कुरा हो, दसैं आउनुभन्दा एक महिनाअगाडिको घटना जस्तो लाग्छ,’ ढुंगेल झन्डै चालीस वर्षअघिको फ्ल्यासब्याकमा गए, ‘म भर्खरै त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरमा पढाउन थालेको थिएँ। करारको जागिर थियो। एकदिन इतिहासकार तथा लिपि विशेषज्ञ धनवज्र बज्राचार्यले मलाई ‘एउटा चाखलाग्दो विषयमा अनुसन्धान गरेर प्रतिवेदन लेख्नुपर्ला जस्तो छ है रमेशजी, तयार भएर बस्नुस्’ भनेर भन्नुभयो।’
रमेश त्यति बेला धनवज्र बज्राचार्यसँगै मुस्ताङको अनुसन्धानमा सामेल थिए।
धनवज्रजस्तो सिद्धहस्त इतिहासकारले कुनै चाखलाग्दो अनुसन्धान गर्नुपर्ने प्रस्ताव ल्याएपछि रमेशलाई कौतूहल हुनु स्वाभाविक थियो।
उनले तुरून्तै सोधिहाले, ‘म त तयारै छु सर, तर अनुसन्धान गर्नुपर्ने विषय चाहिँ के होला?’
धनवज्रले कुरा चपाएनन्, भने, ‘भुटानको विदेश मन्त्रालयबाट नेपाल र भुटानको ऐतिहासिक सम्बन्धबारे अनुसन्धान गरेर एउटा आधिकारिक र प्रामाणिक रिपोर्ट तयार पार्न त्रिभुवन विश्वविद्यालयको इतिहास विभागमा प्रस्ताव आएको छ।’
उक्त प्रस्ताव भुटानका तत्कालीन विदेशमन्त्री दावा छिरिङले बंगलादेशस्थित नेपाली राजदूत डा. मोहनप्रसाद लोहनीमार्फत पठाएको धनवज्रले सुनाए र भने, ‘भुटानीहरूको दुइटा सर्त छ– अनुसन्धान गर्ने अन्वेषक नेपाली हुनुपर्छ र रिपोर्ट नेपाली भाषामै लेखिनुपर्छ।’
भुटानका विदेशमन्त्रीले नै यस्तो प्रस्ताव अघि बढाएपछि इतिहास विभागका तत्कालीन प्रमुख डा. तुल्सीराम वैद्यले उक्त अनुसन्धानको जिम्मा लिइदिन धनवज्रलाई भनेका रहेछन्। तर धनवज्रले आफूसँग समय नभएकाले तिब्बती भाषा, भोट सभ्यता र संस्कृतिबारे अनुसन्धानको अनुभव भएका रमेश ढुंगेलको नाम सिफारिस गरेछन्।
‘मलाई तिब्बती भाषाको ज्ञान थियो। भोट सभ्यतामाथि केही अनुसन्धानमा संलग्न भइसकेको थिएँ। धनवज्रसँगै मुस्ताङको अध्ययन पनि गर्दै थिएँ। त्यही भएर होला, उहाँले मेरो नाम सिफारिस गर्नुभयो,’ ढुंगेलले भने, ‘मलाई व्यक्तिगत रूपमा पनि नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध केलाउने यो अध्ययन एकदमै चुनौतीपूर्ण लाग्यो। मैले प्रस्ताव स्वीकार गरेँ।’
अध्ययनका लागि उनी भुटानको राजधानी थिम्पु पुगे। करिब दुई साता उतै बसे।
भुटानको विदेश मन्त्रालयकै सौजन्यमा अध्ययन भइरहेकाले भुटानीहरूले आफ्नो राष्ट्रिय पुस्तकालयदेखि विभिन्न गुम्बामा रहेका दस्तावेजसमेत पूर्ण रूपमा अध्ययन गर्न दिएका थिए।
‘मैले व्यक्तिगत रूपमा पनि भुटानका केही गोप्य दस्तावेज प्राप्त गरेको थिएँ,’ उनले सम्झे, ‘एकचोटि परराष्ट्र मन्त्रालयबाट नेपाल र भुटानबीच आदानप्रदान भएका विभिन्न चिठीपत्र, लालमोहर र सन्धि–सम्झौता नेपालीबाट अंग्रेजीमा अनुवाद गर्ने काम पाएको थिएँ। त्यति बेला मलाई अनुवादको काम लगाउने एक धर्मगुरूले ‘अत्यन्त गोप्य दस्तावेज हो, कसैलाई नदिनू, कसैलाई नभन्नू’ भन्नुभएको थियो। मैले उहाँको निम्ति झन्डै २० वटा त्यस्ता दस्तावेज अनुवाद गरेको थिएँ। त्यसको एक–एक प्रति मैले आफ्नो संकलनमा सुरक्षित राखेको थिएँ। त्यही दस्तावेज आफ्नै अनुसन्धानमा काम लाग्यो।’
यसो भन्दै गर्दा ढुंगेल एकदमै प्रसन्न सुनिए, उनले अगाडि भने, ‘केही दस्तावेजमा नेपालका शाहराजाहरूले भुटानलाई दानमा चढाएका गुम्बाहरूबारे लेखिएको थियो। ती गुम्बा सञ्चालनको निम्ति हरेक वर्ष दिइने खर्चको हिसाबकिताब त्यसमा उल्लेख थियो। एउटा दस्तावेज त कस्तो पाएँ भने, भुटानले आफूकहाँ रहेका नेपालीभाषीहरूलाई विदेशमन्त्रीको हैसियतमा नियुक्त गरेका रहेछन्। ती व्यक्तिहरूले विभिन्न समयकालमा विदेशमन्त्रीकै हैसियतमा नेपाली पक्षसँग वार्तासमेत गरेका रहेछन्।’
अध्ययनका लागि थिम्पुमै रहँदा तत्कालीन भुटानी राजा जिग्मे सिंघे वाङचुकसँग भेट भएको पनि ढुंगेल सम्झन्छन्।
‘भुटानी राजाले मसँग भेट्दा निकै हार्दिक व्यवहार देखाउनुभयो। कुसु छेचू भन्ने लामाले उहाँसँग मेरो भेट गराउनुभएको थियो,’ उनले भने।
उक्त भेट क्रममा भुटानी राजा जिग्मे सिंघे वाङचुकले हात मिलाउन खोज्दा सुरूमा त उनी हच्किएका थिए।
उनले भनेछन्, ‘योर एक्सिलेन्सी, हामीले तपाईंसँग हात मिलाउने होइन।’
जवाफमा भुटानी राजाले भनेछन्, ‘नो यु आर आवर फ्रेन्ड, नेप्लिज फ्रेन्ड।’
राजाले यति भनेर कर गरेपछि बल्ल आफूले हात मिलाएको ढुंगेल बताउँछन्।
ढुंगेलले करिब तीन वर्ष लगाएर नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध र भुटानको दक्षिणी भागमा बसोबास गर्ने नेपालीभाषीहरूको इतिहासमाथि विस्तृत प्रतिवेदन तयार पारे र सबभन्दा पहिला धनवज्र बज्राचार्यलाई पढ्न दिए। धनव्रज प्रतिवेदन पढेर खुसी भए। स्याब्बासी पनि दिए। उनले पास गरेपछि त्यो प्रतिवेदन इतिहास विभागका प्रमुख तुल्सीराम वैद्यकहाँ पेस गरियो। र, तुल्सीराम वैद्यबाट बंगलादेशस्थित नेपाली राजदूत मोहनप्रसाद लोहनी हुँदै भुटानका विदेशमन्त्री दावा छिरिङलाई बुझाइयो।
‘दावा छिरिङले त्यो प्रतिवेदन भुटानी राजासमक्ष पनि पेस गरे रे,’ ढुंगेलले भने।
यसरी उनले आफ्नो बुद्धि र विवेकले भ्याएसम्म मिहिनेत गरेर प्रतिवेदन त तयार पारे, तर त्यतिञ्जेल उनलाई भुटान सरकारको नियत थाहा थिएन।
नेपालसँगको ऐतिहासिक सम्बन्धमाथि त्यत्रो चासो दिएर अनुसन्धान गराउनुको उद्देश्य त भुटानमा सदियौंदेखि बसिरहेका नेपालीभाषीहरूलाई लखेट्नु पो रहेछ भन्ने उनी र अरू सबैले पछि मात्र चाल पाए।
‘त्यस्तो सौहार्दपूर्ण वातावरणमा अनुसन्धान गरिएकाले हामीलाई शंका गर्ने ठाउँ पनि दिएन,’ ढुंगेलले भने, ‘पछि पो थाहा पायौं, भुटानीहरूले त आफूकहाँ बस्ने नेपालीभाषीहरूप्रति नेपालको सोच के छ भनेर घुमाउरो पाराले बुझ्न खोजेका रहेछन्। ती नेपालीभाषीहरू कुन–कुन कालखण्डमा कसरी भुटान छिरेका थिए र त्यसलाई पुष्टि गर्ने दस्तावेजहरू कहाँ–कहाँ छन् भनेर खुट्टयाउने उद्देश्यले पो उनीहरूले त्यो अनुसन्धान गराएका रहेछन्।’
अहिले पुराना घटनाक्रम सम्झिँदा ढुंगेललाई यस्तो लाग्छ– भुटानले उक्त अनुसन्धान सुरू हुनुभन्दा अगाडि नै नेपालसँगको ऐतिहासिक सम्बन्ध खोल्ने महत्वपूर्ण दस्तावेजहरू नष्ट गरिसकेको हुन सक्छ।
थिम्पुको राष्ट्रिय पुस्तकालय र भुटानका विभिन्न गुम्बामा रहेका ऐतिहासिक टिपोटहरूमा पूर्ण पहुँच दिँदा पनि केही दस्तावेज पहिल्यै लुकाइएको हुन सक्छ भन्ने ढुंगेललाई शंका छ। जुन–जुन दस्तावेज नेपालीभाषी भुटानीहरूको इतिहास पुष्टि गर्ने प्रमाण बन्न सक्छ भन्ने भुटानीहरूलाई थाहा थियो, उनीहरूले ती दस्तावेज आफैं नष्ट गरे। जुन–जुन दस्तावेज आफैं खुट्टयाउन वा केलाउन सकेका थिएनन्, ती दस्तावेज चाहिँ यो अनुसन्धान क्रममा पहिचान गरिएको हुन सक्ने ढुंगेल बताउँछन्।
उनले यस्तो शंका गर्नुको पनि कारण छ।
‘हामीले अनुसन्धान क्रममा जुन–जुन दस्तावेज पढेर नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध केलायौं, उनीहरूले ती दस्तावेज छानीछानी आफ्नो कब्जामा लिएर जफत गरेछन्, नष्ट गरेछन्। हामीले यो कुरा धेरै पछि थाहा पायौं,’ उनले भने, ‘हामी उनीहरूको अभीष्ट चालै नपाई अनुसन्धानमा सरिक भएका रहेछौं। भुटानको नियत सफा हुन्थ्यो भने हामीले नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध उजागर गरेर प्रतिवेदन लेखेको दुई–तीन वर्षमै नेपालीहरूलाई किन लखेट्थ्यो र! जब नेपालीभाषीहरू लखेटिए, भुटानको दाउ प्रस्ट भइहाल्यो। पछि नेपालीहरूको इतिहास प्रमाणित गर्नुपर्ने बेला उनीहरूले अरू दस्तावेजको त कुरै छाडौं, यही प्रतिवेदन पनि लुकाए, सार्वजनिक नै गरेनन्।’
‘यसले एउटा कुरा चाहिँ राम्रो भयो — भुटान सरकारले जुनसुकै अभीष्ट राखेर अनुसन्धान गराएको भए पनि हामीसँग एउटा प्रामाणिक दस्तावेज तयार भयो, जसमा मैले नेपालीहरूको भुटान प्रवेशको कथा सुरूदेखि आखिरीसम्म सिलसिलेवार केलाएको छु।’
उनले यो पनि भने, ‘भुटान सरकारले सदियौंदेखि आफूकहाँ बसोबास गरिरहेका नेपालीभाषीलाई चिया बगानमा काम गर्न छिरेका मजदुरजस्तो व्यवहार गरेर अमानवीय ढंगले देशबाट लखेटेर पठाए। हामीसँग त्यस्ता थुप्रै ऐतिहासिक अभिलेख छन्, जसले ती नेपालीभाषी सत्रौं शताब्दीदेखि भुटानमा बसोबास गर्दै आएको पुष्टि गर्छ।’
‘ती नेपालीहरू स्वेच्छाले त्यहाँ गएका होइनन्। गोरखाका राजा राम शाह र भुटानका प्रथम धर्मराजा ङवाङ नमग्यालका पालादेखि नै दुइटा राज्यबीच भएको मित्रतापूर्ण सम्झौताअनुरूप औपचारिक रूपले लगिएका हुन् र व्यवस्थित ढंगले त्यहाँ बसाइएका हुन्।’
उनले यति भन्दै गर्दा बाहिर मिठो घाम लागिसकेको थियो। विद्युतीय हिटरको तातो छाडेर कौसीमा न्यानो घाम ताप्दै बाँकी कुराकानी गरूँ भन्ने प्रस्ताव ढुंगेलले नै राखे।
हामी कौसीतिर उक्लिँदै गर्दा उनले दराजबाट एउटा मोटो पाण्डुलिपि र एउटा किताब बोकेर ल्याए।
कौसीमा गलैंचा बिछ्याइएको थियो। उनले त्यही गलैंचामाथि पाण्डुलिपि फिँजाए, जसमा नेपाल र भुटानबीच विभिन्न कालखण्डमा आदानप्रदान भएका चिठीपत्रको संगालो थियो। तीमध्ये कति नेपाली भाषामै थिए भने कति जोङ्खा र तिब्बती भाषामा थिए। कतिको अंग्रेजी अनुवाद पनि उनले देखाए।
हामीले केही बेर पाण्डुलिपिमा संकलित चिठीपत्रहरू पल्टायौं। मसिना किरिमिरी अक्षरमा लेखिएका केही दस्तावेज पढ्न पनि खोज्यौं। तर न अक्षर खुट्टयाउने हाम्रो क्षमता रह्यो, न त खुट्टिएका अक्षरको भाव बुझ्न सक्यौं। ढुंगेलले नै हामीलाई केही चिठीपत्रको आसय बुझ्न मद्दत गरे। तिनमा नागथलीमा गुम्बामा लेखिएको ऐतिहासिक टिपोटको अनुवाददेखि दक्षिणी भुटानका केही मण्डल (स्थानीय प्रशासक) मा नेपालीभाषीलाई नियुक्त गरिएको विवरण समावेश थियो। भुटानबाट नेपालका प्रधानमन्त्री श्री ३ जंगबहादुरलाई लेखिएको चिठीदेखि भुटान सरकारले नेपालीभाषी भुटानीहरूको अभिलेख तयार पार्ने भन्दै भराएको फारमको नमूनासम्म सामेल थियो।
पाण्डुलिपि सँगसँगै उनले बोकेर ल्याएको किताब चाहिँ उही ‘नेपाल भुटान ऐतिहासिक सम्बन्ध र जोङ्–सार–पा एवं ल्हो–छाम्–पा समुदाय’ रहेछ, जसका केही अंश हामीले माथि उद्धृत गरिसकेका छौं। उनले पछि किताबको एक प्रति हामीलाई नै दिए। भुटानी शरणार्थीहरूको यो कथा शृंखला लेख्न हामीलाई त्यो निकै सहयोगी भयो।
खासमा ढुंगेलको त्यो किताब भुटानी विदेश मन्त्रालयका लागि गरिएको अनुसन्धानकै विस्तारित रूप हो।
ढुंगेलले आफ्नो अनुसन्धान प्रतिवेदन विभिन्न च्यानल हुँदै भुटान सरकारलाई जिम्मा लगाउँदासम्म नेपालीभाषीहरू खेदिने क्रम सुरू भइसकेकै थिएन। प्रतिवेदन हस्तान्तरण गरेको केही वर्षपछि सन् १९८० दशकको अन्त्यतिर भुटान सरकारले आफ्नो आन्तरिक सुरक्षा र डुग् राष्ट्रियता चोखो राख्ने नाममा दक्षिणी भेगमा बस्ने नेपालीभाषीहरूको सभ्यता नामेट गराउने र उनीरूको जातीय सफाया गर्ने षड्यन्त्र सुरू गर्यो। नेपालीहरूलाई आफ्नो चाडपर्व र धर्म–संस्कृति मान्न रोक लगायो। दौरा–सुरूवालको सट्टा भुटानको राष्ट्रिय पोसाक बख्खु लगाउन बाध्य पारियो। स्कुलहरूमा नेपाली भाषाका किताब जलाइए र नेपाली भाषा पढ्न पनि दिइएन।
यसरी एकपछि अर्को मौलिक हक हनन हुँदै गएपछि कतिपयले आवाज उठाए। जसले आवाज उठाए, उनीहरूलाई बन्दी बनाइयो। चरम यातना दिइयो। कतिको त हत्यासमेत गरियो। डरत्रासले आजित भएर सवा लाखभन्दा बढी भुटानी नेपाली देश छाडेर शरणार्थी बन्न बाध्य भए।
यता नेपालीभाषी भुटानीहरू शरणार्थीका रूपमा नेपाल छिर्दै गर्दा ढुंगेल उच्चशिक्षाका लागि अमेरिका पुगेका थिए।
उनी अमेरिकामा रहेरै बौद्ध, तिब्बती तथा हिमाली क्षेत्रको अध्ययन–अनुसन्धानलाई निरन्तरता दिँदै थिए। त्यसैबीच शरणार्थीको मुद्दा उठेपछि उनले भुटान सरकारका निम्ति लेखिदिएको प्रतिवेदनमा थप काम गर्ने र त्यसलाई किताबको रूप दिने निधो गरे।
त्यसै समयतिर न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयले भुटानी शरणार्थीहरूका सम्बन्धमा एउटा अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको थियो। नेपालीभाषीहरूले भुटान राज्य निर्माणमा पुर्याएको योगदानबारे कार्यपत्र प्रस्तुत गर्न ढुंगेललाई पनि निम्ता गरियो।
‘त्यसपछि म भुटानी शरणार्थीहरूमाथि गम्भीर चासो राख्दै अर्को चरणको अनुसन्धानमा लागेँ,’ उनले भने, ‘इतिहासको व्याख्याताका हैसियतले नेपाल र भुटानबीच उत्पन्न नकारात्मक र दुःखद परिस्थितिको जडसम्म पुगेर त्यसलाई आफ्नो अध्ययनमा सामेल गर्नु मेरो नैतिक जिम्मेवारी पनि थियो।’
उनको मनमा केही प्रश्न खेल्न थालेका थिए — सत्रौं शताब्दीमा दुइटा राज्यले आपसी मित्रता मजबुत बनाउन सुरू गरेको बसाइँसराइले चार सय वर्षपछि कसरी दुःखान्त नियति भोग्नुपर्यो? कसरी ती नागरिकलाई अमानवीय ढंगले देशबाट लखेटियो? आफ्नै पुर्खाले सिँचेको जमिन तिनकै सन्तानहरूबाट कसरी खोसियो? संसारभरि शान्त र प्रसन्न राष्ट्रको पहिचान बनाएको भुटानले आफ्नै नेपालीभाषी नागरिकहरूको जातीय सफाया कसरी गर्यो?
यी प्रश्न नेपाल र भुटानी शरणार्थीहरूका लागि मात्र होइन, संसारकै निम्ति महत्वपूर्ण अध्ययनको विषय हो भन्ने ढुंगेलको ठम्याइ छ।
नयाँ चरणको अनुसन्धानका लागि उनले भुटानी शरणार्थीहरूको मानवअधिकारको विषय उठाइरहेका थुप्रै नेतासँग भेटघाट गरे। उनीहरूकै सहयोगमा भुटान सरकारले विगतमा नेपालीभाषीहरूलाई दिएका अधिकार र जिम्मेवारीसम्बन्धी ऐतिहासिक आज्ञापत्र, सम्झौता र टिपोटहरू पाए। यसबाहेक नागथली गुम्बाको टिपोट र दुई देशबीच आदानप्रदान भएका थप चिठीपत्र, लालमोहर लगायतका अभिलेख पनि संकलन हुँदै गए।
‘ती सबै दस्तावेजका विवरण मैले किताबमा समेटेको छु,’ ढुंगेलले भने।
‘भुटानले आफ्ना नेपालीभाषी नागरिकलाई षड्यन्त्रपूर्वक खेदेर उनीहरूको इतिहास मेट्ने अपराध गरेको छ। त्यो इतिहास भनेको भुटानले भनेजस्तो हिजो–अस्तिको इतिहास होइन। उनीहरू नेपालमा जागिर नपाएर भुटानका चिया बगानमा काम गर्न गएका श्रमिक मात्र होइनन्। भुटानका थुप्रै उच्च ओहोदामा नेपालीभाषीहरू पुगेका छन्। कति मन्त्री भएका छन्, कति विभिन्न ठाउँमा मण्डल (स्थानीय प्रशासक) बनेका छन्। उनीहरूको प्रामाणिक इतिहास नै चार सय वर्ष लामो छ। चार सय वर्ष लामो इतिहासका जिउँदाजाग्दा सबुत हुन् अहिलेका भुटानी शरणार्थी। कसैले जति चाहे पनि, जति षड्यन्त्र गरे पनि उनीहरूको इतिहास मेटिँदैन। त्यसैले त तीन दशकपछि पनि हामी यहाँ बसेर त्यो इतिहास खोतल्दैछौं, होइन र?’
‘आवश्यक पर्यो भने म एक–एक दस्तावेज अगाडि राखेर भुटान सरकारलाई च्यालेन्ज गर्न सक्छु,’ उनले भने।
यो त भयो नेपाल र भुटानको ऐतिहासिक सम्बन्ध र भुटानी शरणार्थीहरूबारे किताब लेखेका रमेश ढुंगेलको अनुभव, अब यहाँबाट हामी कथा शृंखलाको मूल खण्डतिर प्रवेश गर्दैछौं।
भुटानी शरणार्थीसम्बन्धी यो कथा शृंखला सुरू गर्दा हाम्रो दिमागमा पनि तिनै प्रश्न थिए, जुन रमेश ढुंगेलको मनमा खेलेको थियो। ती सबै प्रश्नबारे हामी शृंखलाका आगामी अध्यायहरूमा क्रमिक चर्चा गर्दै जाने छौं।
नेपालीहरूको पहिलो आधिकारिक बसाइँसराइ सुरू भएको सत्रौं शताब्दीतिर फर्किनुभन्दा अगाडि एकचोटि हामी तपाईंहरूलाई निकट अतीतमा लैजान चाहन्छौं र सन् असी दशकको आखिरीमा आफ्नो देश छाड्नुपर्दा भुटानी शरणार्थीहरूले भोग्नुपरेको दुखान्त कथा सुनाउन चाहन्छौं।
यसका लागि हामी अर्को अध्यायमा झापाको बेलडाँगी शरणार्थी शिविर जाँदैछौं। तपाईंहरू पनि आउनुस् है!
एक भुटानी शरणार्थी हामीलाई आफ्नो कथा सुनाउन आतुर छन्।
अध्याय तीन
सराप लागेको ठाउँ
‘यो ठाउँमा किन सधैं पानी पर्छ हँ आमा?’
मैले आमाको काखबाट सरक्क टाउको उठाएर उनको आँखातिर पुलुक्क हेर्दै यो प्रश्न सोध्दा हामीलाई ओत दिइरहेको घना रूखको पातबाट पानीको एउटा थोपा गुड्किँदै मेरो निधारमा तप्प झरेको थियो।
चिसो पानीको थोपाले निधारमा छुँदा म सिरिंग भएको थिएँ र झस्केर दुवै आँखा झिमिक्क झिम्क्याएको थिएँ।
आमाले मजेत्रोको फेर तानेर मेरो निधार पुछिदिइन्। मजेत्रोको फेर पानीमा लत्रेको रहेछ। भिजेको मजेत्रोले निधार पुछिदिँदा मेरो पूरै अनुहार चिसो भयो, तर मैले आमालाई केही भनिनँ। आँखा चिम्लेँ र मजेत्रोको चिसो सरेको आफ्नो अनुहारलाई आमाको तातो काखमा लुटुपुटु पारेँ।
आमाको भुँडी पुटुक्क उठेको थियो। पुटुक्क उठेको भुँडीबाट गुटुङटुङ आवाज मेरो गाला हुँदै कानसम्म पुग्दै थियो। त्यो भोको पेटको आवाज होइन भन्ने मलाई थाहा छ। यसअघि आमाले नै मेरो हात आफ्नो पुटुक्क उठेको भुँडीमाथि राख्दै भनेकी थिइन्, ‘यहाँ तेरो बहिनी छ, तैंले एउटा झिन्टीपिटी बहिनी चाहियो भनेको होइन?’
‘साँच्चै!’ मैले नपत्याएर आमालाई सोधेको थिएँ, ‘मेरो पनि ङवाङको जस्तै झिन्टीपिटी बहिनी आउँदैछ?’
‘हो, तेरो पनि ङवाङको जस्तै झिन्टीपिटी बहिनी आउँदैछ,’ आमाले मेरै प्रश्न दोहोर्याउँदै भनेकी थिइन्, ‘अब तैंले ङवाङको बहिनीलाई बोकेर ‘पुचु मान्छे’ भन्दै गाला मुसार्नु पर्दैन!’
मैले दंग पर्दै आमाको भुँडीमा आफ्नो कान टाँसेको थिएँ। त्यति बेला पनि आमाको भुँडीबाट अहिलेजस्तै गुटुङटुङ आवाज आउँदै थियो। आमाले मेरो कपाल मुसार्दै भनेकी थिइन्, ‘तेरो बहिनी चलेको हो।’
के अहिले पनि आमाको पुटुक्क उठेको भुँडीभित्र मेरो बहिनी चल्दैछे? कि अहिले चाहिँ आमाको भोको पेट नै कराएको हो? किनभने यसपालि मैले ‘बहिनी त कस्तरी चल्दैछ आमा’ भनेर भन्दा उनी केही बोलिनन्।
मैले पनि जवाफ खोजिनँ।
मैले जवाफ खोजेको प्रश्न त अर्कै थियो — ‘यो ठाउँमा किन सधैं पानी पर्छ हँ आमा?’
हामी कुन ठाउँमा छौं मलाई थाहा छैन। यो ठाउँ हाम्रो घरबाट कति टाढा छ, त्यो पनि मलाई थाहा छैन।
म आफ्नो वरिपरि रूखहरू मात्र देख्दैछु। यी रूखहरू आकाशै छोउँलाझैं गरी अग्लिएका छन्। रूखका हाँगाबिँगा र लहराहरू आकाशै ढाकुँलाझैं गरी झ्यांगिएका छन्। रूखै रूखको अँध्यारो सुरूङभित्र समय पनि अलप भएको छ — म यहाँ दिन र रात छुट्टयाउन सक्दिनँ। दिन होस् या रात, यहाँ प्रकाशको मात्रा सधैं उस्तै हुन्छ। दिउँसो भनुँ भने अँध्यारो अँध्यारो छ, राति भनुँ भने उज्यालो उज्यालो देखिन्छ।
हामी यहाँ कति दिनदेखि छौं, त्यो पनि म भन्न सक्दिनँ। यति मात्र भन्न सक्छु, शुक्रबार म स्कुल गएको थिएँ। आधा दिनको छुट्टीपछि कक्षाबाट हुर्रर बाहिर निस्कँदा अग्लाअग्ला घोडा चढेका मोटामोटा सिपाहीहरू हाम्रो स्कुलभित्र गुर्रर छिरेका थिए। मैले डाँडाको कुइनेटोमा पुगेर पिपलको चौतारीबाट फरक्क फर्केर हेर्दा ती सिपाहीहरू स्कुलका कुर्सी, टेबुल र दराजहरू बाहिर मिल्काउँदै थिए। हाम्रा किताबहरू भुइँमा डुंगुर लगाएर आगो सल्काउँदै थिए। आगोको पिरो धुँवा बतासले उडाउँदै मसम्मै ल्याइपुर्याएको थियो।
म धुँवाले पिरो भएको आँखा झिमझिम गर्दै डरले पछाडि पनि नफर्की कुदेर घर पुगेको थिएँ र आमालाई सप्पै कुरा सुनाएको थिएँ।
आमा केही बोलिनन्। उनको अनुहार चाहिँ रङ उडेको हाम्रो घरको भित्ताझैं फुस्रो भयो।
भोलिपल्ट शनिबार दिनभरि हाम्रो गाउँ सामसुम्म थियो। मैले गाउँ त्यस्तो सामसुम्म कहिल्यै देखेको थिइनँ। मेरा बाआमा, माथ्लाघरे ठूलाबा, तल्लाघरे काइँलाबा र बीचका माइलाबा र गाउँका कोही पनि त्यो दिन खेतमा काम गर्न गएनन्। घाँस काट्न गएनन्, वस्तुभाउ चराउन लगेनन्। गाउँलेहरू हरेक शनिबार सम्साँझै चौतारीमा गोलो परेर तास खेल्थे, त्यो पनि खेलेनन्। सबै जना चुकुल लगाएर घरभित्रै बसे। कसैका घरबाट भाँडावर्तनको आवाज आएन। कसैका घरबाट बच्चा रोएकोधरि मैले सुनिनँ। मानौं, सबै जना आ–आफ्नो घरमा भगवानको मूर्तिझैं चुप्प थिए।
दिनभरि मुख सिएर बसेको गाउँमा राति मान्छेको कल्याङमल्याङले म ब्युँझिएँ। उनीहरू के कुरा गर्दै थिए, मैले बुझिनँ। कुरा नबुझेपछि म फेरि भुस निदाइहालेँ।
झिसमिसेमै आमाले झक्झकाइन्। म आँखा मिच्दै, जीउ तन्काउँदै उठेँ। मेरो ओठदेखि दाहिने कानसम्म र्याल लतपतिएको थियो। मैले हत्केलाले र्यालको सेतो टाटा पुछेँ र निद्राले लठ्ठ आँखा एक सय असी डिग्रीमा कोठा वरिपरि फननन घुमाएँ।
चारवटै खुट्टा लिखिरलिखिर हल्लिने र माथि सतहमा चियाको दागैदाग बसेको मजत्रै अग्लो थोत्रो टेबुल, एकापट्टि काठको पत्र पूरै उक्किएको र कलेजी रङको भए पनि खुइलिएर टाटेपाटे हुँदै गएको मभन्दा दोब्बर उचाइको दराज, बाँसका चोयाहरू छिन्नभिन्न भएको र मेरो घुँडाघुँडासम्म आउने तिनटा मुडा र ठाउँठाउँमा भ्वाङ परेर मुसाले दुलोबाट चियाएझैं चोक्टाचोक्टा कपासले बाहिर हेरिरहेको हामी सुत्ने बिछ्यौना जस्ताका तस्तै थिए।
दराज चाहिँ खुल्लै थियो, तर त्यो खुला दराजभित्र हाम्रा लुगाफाटा केही थिएनन्। बाले भएभरका लुगाफाटा दराजबाट झिकेर भुइँमा असरल्ल फिँजाउनुभएको थियो र त्यही असरल्लबाट लाउन मिल्नेजति सग्ला कपडा छानीछानी गुट्मुट्याएर पोको पार्दै हुनुहुन्थ्यो।
हाम्रो कोठाको पूर्वी कुनापट्टि बाले भित्तामा खोपा पारेर गणेश, सीता, राम, महादेव, पार्वती, लक्ष्मी, कृष्ण र हनुमानका फोटाहरू टाँस्नुभएको थियो, जसको चित्र खुइलिएर रूपै नचिनिने छिरबिरे भएका थिए। त्यसमाथि आमाले दिनै पूजा गर्दा छर्ने अबिर र केसरी लतपतिएर हाम्रा भगवानहरू फागुका केटाकेटीझैं रंगीबिरंगी देखिन्थे। हाम्रो सादा घरमा यिनै भगवानहरू मात्र रंगीन थिए।
आमा भगवानका रंगीन फोटाअगाडि टिङटिङ घन्टी बजाउँदै थिइन्। म आमाले घन्टी बजाएको हेरिरहेको थिएँ। उनले धूपबत्ती दिइन्। आफ्नो दाहिने हातका चारवटा औंलाले सबै भगवानका फोटाहरू पालैपालो छोइन् र तिनै औंला आफ्नो छातीमा लगिन्, अनि शिरमा छुवाइन्। त्यसपछि भगवानका फोटाहरू एकपछि अर्को खोपाबाट झिकिन् र तिनलाई एउटामाथि अर्को खप्ट्याउँदै झोलामा राखिन्। टिङटिङ घन्टी पनि त्यही झोलाभित्र हालिन्। सानो शंख थियो, त्यसलाई पनि झोलाभित्र घुसारिन्।
सुरूमा बा घरबाट बाहिर निस्किनुभयो। उहाँले आफ्ना दुवै हातमा लुगाफाटोका पोका बोक्नुभएको थियो।
उहाँको पछिपछि आमा निस्किइन्। उनको दाहिने काँधमा भगवान भएको झोला थियो, देब्रे हातले मलाई समातेकी थिइन्।
उनी सरासर गोठतिर गइन्। गोठमा एउटा गाई, दुइटा गोरू र तिनटा बाख्रा थिए। तिनलाई पालैपालो फुकाएर यसै छाडिदिइन्। गाईवस्तु भोकाएका हुँदा हुन्, कराउन थाले। उनी तिनलाई फर्केर पनि नहेरी फेरि घरको आँगनमा आइन्। म उनको हात समातेर सँगसँगै थिएँ।
आँगनमा उभिएर आमाले एकछिन घरतिर फर्केर टुलुटुलु हेरिरहिन् र भुइँमा घुँडा टेकेर पिँढीलाई लगभग एक मिनेटसम्मै ढोगिरहिन्।
उनी मसिनो स्वरमा घुँक्कघुँक्क गरिरहेको म सुन्दै थिएँ।
हामी यसरी एकाबिहानै किन घर छाड्दैछौं, कहाँ जाँदैछौं र बा र म सँगसँगै जान लागेका भए पनि आमा किन यस्तरी घुँक्कघुँक्क गर्दै छिन् भन्ने मैले बुझिरहेको थिइनँ।
हामी बाहिर निस्किँदा ठूलोबा, माइलाबा, काइँलाबा र उहाँका परिवारहरू र अरू गाउँलेहरू हाम्रो घरअगाडिको गोरेटोमा गुजुम्म भेला भइसकेका थिए। सबैका हातहातमा पोकापन्तुरा झुन्डेका थिए। केहीले हातमा राँकोधरि बोकेका थिए।
मैले सबैका अनुहार हेरेँ। सबै मैले चिनेजानेका थिए। मेरा साथीहरू कृष्ण गुरागाईं, गणेश परियार, धनवीर महत, कवीन्द्र रिजाल, वीरेन्द्र सुब्बा सबै थिए। सीता ढकाल, कृष्णलक्ष्मी हुमागाईं, पार्वती परियार, मनमाया लामा, जुना परियार पनि एकअर्कासँग टाँस्सिएर उभिएका थिए। तर मेरो लंगौटिया यार ङवाङ पाल्देन त्यहाँ थिएन। उसको परिवार थिएन। मेरो स्कुलका साथीहरू पेम्बा दोर्जी, छिरिङ वाङ्बो, देचेन वाङ्दी, कर्मा ल्हामो, नोर्बु ल्हादेन थिएनन्। छोइदेन, यांकी, पेमा, शेमयाङ पनि थिएनन्। उनीहरूको परिवारका पनि कोही थिएनन्।
भीड अघि बढ्यो।
बा पोकाहरू हातमा बोकेर ठूलाबासँग साउती मार्दै अघिअघि हिँड्नुभयो। माइलाबा र काइँलाबा सँगसँगै हुनुहुन्थ्यो।
उहाँहरूको पछाडि पछाडि ठूलीआमा, काइँलीआमा र मेरी आमा र आमाको हात समात्दै म लुखुरलुखुर हिँड्न थाल्यौं।
कसैले माथि डाँडाको टुप्पोबाट हेरेका भए हाम्रो भीड राँकेभूतको लश्करझैं देखिएको थियो होला!
हामीले गाउँ छाड्दा ङवाङको घरमा भाले पनि बासेको थिएन।
त्यो आइतबार बिहानको कुरा हो।
हामी त्यो दिन पूरै हिँड्यौं र राति यही अँध्यारो जंगलमा आएर बास बस्यौं। मैले सम्झेसम्म हामी भोलिपल्ट पनि यहीँ बस्यौं, पर्सिपल्ट पनि यहीँ बस्यौं। त्यसपछि चाहिँ मैले दिनगन्ती बिर्सेँ। तर जति दिनदेखि हामी यहाँ छौं, यहाँ पानी परेको पर्यै, परेको पर्यै छ। पानी पर्दापर्दा माटोधरि फतक्क गलिसकेको छ। सानो ढुंगा भुइँमा फ्याँक्दा पनि लेसिलो माटोको पाप्रा उप्किन्छ र लतत्त बग्न थाल्छ।
मैले यस्तरी पानी परेको यसअघि कहिल्यै देखेको थिइनँ।
पानी त हाम्रो गाउँमा पनि पर्छ, उत्पातै पर्छ। पानी पर्दा माटोबाट आउने मगमग बास्ना मलाई खुब मन पर्छ। त्यसरी मगमग बसाउने माटो कपक्क टिपेर खाइदिऊँ जस्तो लाग्छ। पाँच वर्षको हुँदासम्म म माटो खान्थेँ रे, आमाले भनेको। धेरैचोटि गाला चड्काएपछि बल्ल माटो खान छाडेँ रे। अहिले यो जंगलमा भोकले पेट निमोठिँदा बेलाबेला मलाई झरीले लतत्त माटो कपाकप खाइदिऊँ जस्तो लाग्दैछ। तर म यहाँको माटो खान सक्दिनँ, किनभने यहाँको माटो मेरो गाउँको माटोजस्तो मगमग बसाउँदैन।
मैले यो जंगलको जस्तो रूख पनि यसअघि कहिल्यै देखेको थिइनँ।
यहाँ रूखको फेद र टुप्पा यस्तरी बांगिएका छन्, मानौं त्यो रूख होइन, धनुको कमान हो। तर यो कमानमा ताँदो चढाएर बाण हान्ने चाहिँ कसले! बाण हान्ने चाहिँ कसलाई!
मैले यहाँको रूख पहिलोचोटि देख्दा अचम्म मान्दै मुन्टो बंग्याएर हेरेको थिएँ। हरेक रूखको आकार द्वितीयाको चन्द्रमाजस्तै देखिएको थियो। मुन्टो सोझो राखेर हेर्दा प्रत्येक दुइटा रूखको बीचमा एउटा लाम्चो आकारको शून्य बनेझैं लाग्थ्यो। हामीलाई गणित पढाउने शिक्षकले कालोपाटीमा यस्तै शून्य लेख्नुहुन्थ्यो — तलमाथि सुकेको, बीचमा बेलुनझैं फुकेको। ङवाङ, जो पूर्णिमाको जूनझैं गोलो शून्य लेख्थ्यो, ऊ शिक्षकले कोरेको लामो शून्य हेर्दै खितित्त हाँस्थ्यो। उसलाई हाँसेको देखेर म चाहिँ लाजले रातो हुन्थेँ।
ङवाङ अहिले यहाँ भइदिएको भए यस्तो रूख देखेर मुर्छै पर्थ्यो होला!
त्यो रात म र मेरी आमा जुन रूखको फेदमा बास बसेका थियौं, त्यहाँ मैले अर्को अचम्म पनि देखेँ। हामी बास बसेको रूखमा दुइटा अक्षर खोपिएका थिए — ‘व’ र ‘ग’। अक्षर एकदमै धमिलो थियो। घन्घोर जंगलभित्र रातको अँध्यारोमा सुरूमा त मलाई खुट्टयाउनै गाह्रो पर्यो। जब चिनेँ, म तीनछक खाएँ।
यो घना जंगलभित्र रूख खोपेर अक्षर कसले लेख्यो होला? जसले लेखेको भए पनि यसको अर्थ के होला?
के होला यो ‘व’ र ‘ग’ भनेको?
के यो कसैको नाम हो? वा, कसैको देश?
अक्षरको धमिलोपना हेर्दा मलाई दसौं वर्षअघि लेखिएजस्तो पनि लाग्यो? तर अहिले त यति घना यो जंगलमा दसौं वर्षअघि को आयो होला? र, उसले कसलाई कुन सन्देश छाड्न अक्षर खोप्यो होला?
ङवाङ अहिले यहाँ भइदिएको भए उसले यी अक्षरहरूको अर्थ लगाइदिन्थ्यो कि!
सृष्टिमा हरेक चिज केही न केही प्रयोजनका लागि बनेको हुन्छ। कुनै चिज मसिनो हुन्छ, त्यो मसिनो हुनुको कारण हुन्छ। कुनै चिज मोटो हुन्छ, त्यो मोटो हुनुको पनि कारण हुन्छ। यहाँका रूखहरू धनुको कमानजस्ता छन्, द्वितीयाको चन्द्रमा जस्ता छन्, लाम्चो आकारको शून्यजस्ता छन् — यी जस्ता छन् त्यस्ता नभइदिएका भए हामीले यहाँको दिनरात चौबीस घन्टे झरीमा ओत लाग्ने ठाउँ कहाँ पाउँथ्यौं!
यी रूखका जराहरू भुइँको सतहबाट बाहिरसम्मै निस्केका छन्, मानौं ती जरा होइनन्, माटो खोस्रेर बाहिर निस्केका गँड्यौला हुन्। हामी तिनै रूखका जराजस्ता गँड्यौला वा गँड्यौलाजस्ता रूखका जरालाई चकटी बनाएर बसेका छौं। यी जरा जस्ता छन्, त्यस्ता नभइदिएका भए हामीले यहाँको दिनरात चौबीस घन्टे झरीले लतत्त हिलो माटोमा बस्ने ठाउँ कहाँ पाउँथ्यौं!
यो जंगलमा रूखका लहराहरू पनि आपसमा यस्तरी जेलिएका छन्, मानौं ती लहरा होइनन्, माकुरीजालो हुन्। एउटा रूखका झ्याम्म लहरा अर्को रूखका झ्याम्म लहरासँग जेलिएकाले हामीलाई आफ्नै घरको छतमुनि बसेझैं भइरहेछ। गाउँका प्रत्येक परिवारले आ–आफ्नो संख्याअनुसार दुइटा–तिनटा रूखको फेदलाई आश्रय बनाएका छन्। यी लहरा जस्ता छन्, त्यस्ता नभइदिएका भए हामीले यहाँको दिनरात चौबीस घन्टे झरीमा घरकै छतजस्तो आश्रय कहाँ पाउँथ्यौं!
जसरी बर्खा बेला हाम्रो घरको छतबाट पानी चुहिन्छ, त्यसरी नै यहाँ पनि रूखका पातहरूमा टिलपिल पानीका थोपा तर्रर तर्किएर झर्छन्। त्यस्तै एउटा पानीको थोपा गुड्किँदै मेरो निधारमा तप्प झरेको थियो, जब मैले आमाको काखबाट सरक्क टाउको उठाएर उनको आँखातिर पुलुक्क हेर्दै दोस्रोचोटि सोधेको थिएँ, ‘यो ठाउँमा किन सधैं पानी पर्छ हँ आमा?’
आमाले आँखा झिमिक्क नगरी मेरो आँखामा एकटक हेरिरहिन्। उनी मेरो प्रश्नको जवाफ मेरै आँखामा पो खोज्दै थिइन् कि!
मैले पनि आँखा झिमिक्क नगरी आमातिर हेरिरहेँ। बिर्सेर आँखा झिमिक्क गरिहालेँ भने मेरो प्रश्नको जवाफ मिलिक्क बिलाएर जाने पो हो कि!
म जवाफको पर्खाइमा उनको भुँडीको गुटुङटुङ सुन्दै काखमा लुटुपुटु नै थिएँ।
आमाले लुगा नफेरेको सायद धेरै दिन भएको थियो। उनले लगाइरहेको गुन्यू जीउमा भिज्दै, जीउमै सुक्दै, फेरि भिज्दै, फेरि सुक्दै गर्दा अमीलो गन्ध पलाएको थियो। त्यो अमिलो गन्ध मेरो नाकमा ह्वास्स ठोक्किन आइपुग्यो। अरू कुनै कपडाको गन्ध भइदिएको भए म झट्कारेर फ्यात्त मिल्काइदिन्थेँ, तर आमाको गुन्यूबाट उठेको अमिलो गन्ध मेरो नाकले राम्ररी चिनेको छ।
घरमा हुँदा पनि धेरैचोटि मैले यस्तो गन्ध सुँघेको छु। जब जब बा र आमा बर्खेझरीमा लुछुप्पै भिजेर बेलुकी अबेर खेतबाट घर फर्किन्थे, म दिनभरि आमाको झल्को नपाएर न्यास्रिँदै उनको गोडा समात्न जान्थेँ। बा भिजेको लुगा फेरफार गर्न कोठाभित्र छिर्नुहुन्थ्यो, आमा भने गुन्यूधरि नफेरी चिसो अँगेनाछेउ भुइँमा टुसुक्क बस्थिन् र मलाई अहिलेजस्तै काखमा राखेर मेरो कपाल कुलुकुलु पार्थिन्, मेरो कान कुनुकुनु गर्थिन्।
त्यो बेला पनि आमाको काखबाट यस्तै अमिलो गन्ध आउँथ्यो। म लामो लामो सास तानेर त्यो अमिलो गन्धलाई आफ्नो नाकको प्वालबाट छाती भित्रैसम्म पसाल्थेँ, जसरी अहिले पसाल्दैछु।
‘भन न आमा, यो ठाउँमा किन सधैं पानी पर्छ?’ यसपालि चाहिँ मैले करै गरेँ।
आमाले टाउको माथि उठाएर हामीलाई ओत दिइरहेको घना रूखको उही पाततिर हेरिन् जहाँबाट गुड्दै आएको पानीको थोपाले मेरो निधार भिजाएको थियो।
के उनी रूखको पातमा मेरो प्रश्नको उत्तर खोज्दै छिन्?
हो कि क्या हो हँ! किनभने सात सेकेन्डजति रूखको पाततिर टोलाएपछि आमाको बोली फुट्यो र मलाई हेर्दै भनिन्, ‘यो ठाउँलाई सधैं पानी परिरहने सराप लागेको छ।’
‘सराप भनेको के हो आमा?’
अहिले भइदिएको भए मैले यस्तो प्रश्न सोध्नु पर्दैनथ्यो, तर सात वर्ष उमेरमा मलाई सराप भनेको के हो थाहा थिएन। त्यो बेला अहिलेजस्तै अठ्तीस वर्ष भइदिएको भए पनि म आमाले जस्तरी बुझाउन सक्दिनँ थिएँ होला।
‘जब कसैले कसैलाई रूवाउँछ नि, त्यो बेला रूने मान्छेको आँखाबाट बगेको आँशुले रूवाउने मान्छेलाई पनि पिरोल्छ। उसले सपना–विपना जहिलेसुकै आफूले रूवाएको मान्छेको आँशु मात्रै देखिरहन्छ। त्यो आँशु बर्खाको झरीजस्तै दर्किन्छ। अहिले जसरी यो ठाउँमा दिनरात चौबीसै घन्टा पानी दर्किरहेको छ, त्यो आँशु पनि दिनरात चौबीसै घन्टा यसैगरी दर्किरहन्छ। उसलाई यस्तो लाग्छ, ऊ आफूले रूवाएको मान्छेको आँशुको भेलसँगै बग्दैछ, त्यसैमा बगेर कता हो कता टाढा समुद्रमा पुग्दैछ।’
आमाको कुरा सुनेर म भित्रैदेखि तर्सिएँ र डराई डराई मसिनो स्वरमा सोधेँ, ‘मैले पनि कसैलाई रूवाएँ भने यस्तै सराप लाग्छ हो?’
आमाले हो पनि भनिनन्, होइन पनि भनिनन्।
मैले आफ्नो कारणले बगेका आँशुहरू झल्झल्ती सम्झिएँ।
केही महिनाअघि स्कुलबाट घर फर्किँदै गर्दा मैले मेरो लंगौटिया यार ङवाङको घुच्चुकमा मुड्की बजारेको थिएँ। ऊ तुरूक्कै रोएको थियो। रोएको मात्र होइन, ठाउँको ठाउँ उसको पिसाब तुरूक्क चुहिएको थियो।
ङवाङ साढे दुई दिन मसँग बोलेन। तेस्रो दिन खाजा खाने घन्टी लागेपछि हामीलाई पाँचौं पिरियडमा नेपाली पढाउने मास्टर जसै कक्षाबाट बाहिर निस्कनुभयो, ङवाङ आफ्नो कुर्सीबाट बिरालोझैं उफ्रिँदै मेरो नजिक आयो र मेरो घुच्चुकमा उसैगरी मुड्की बजारेर आफ्नो रिस मार्यो। त्यसपछि बल्ल ऊ मसँग बोल्न थाल्यो।
उसले मुड्की बजार्दा मेरो तिरिमिरी झ्याइँ भएको थियो। तै पनि मैले आँशु झारिनँ। बरू त्यो दिन आँशु झारेको भए हामी दुवैको आँशु फच्चे हुन्थ्यो। कसैको आँशुले कसैलाई ‘सराप’ लाग्दैनथ्यो। तर उसको आँशु झर्यो, मेरो झरेन। के मलाई उसको आँशुको ‘सराप’ लाग्ला?
यिनै आमा, जसको काखमा अमिलो गन्ध सुँघ्दै म पल्टिएको छु, यिनलाई पनि मैले कयौंचोटि रूवाएको छु।
अस्ति भर्खरकै कुरा त हो। आमाले ‘हुन्न हुन्न’ भन्दाभन्दै म हुइकिँदै अम्बाको बोट चढ्न गएको थिएँ। दुइटा हाँगा उक्लेर तेस्रो हाँगातिर हात लम्काएको मात्र थिएँ, मैले टेकिरहेको दोस्रो हाँगा पिटिक्कै भाँच्चियो। म चार–छ गोटा अम्बासहित उँधोमुन्टो भुइँमा खसेँ। लतक्क पाकेका पहेँला अम्बा मेरो जीउमुनि थिचिएर किचिमिची भए। म आफैं पनि घुँडा र कुइनाको छाला दधारिएर रगतपच्छे भएँ। त्यो राति आमाले फू फू गर्दै मेरो घाउमा तोरीको तेल लगाइदिँदा उनको आँखाबाट आँशु बगेको मैले देखेको थिएँ।
त्यसको भोलिपल्टै आमा बारीमा काम गरिरहँदा म पछाडिबाट हुत्तिँदै उनलाई छोप्न गएको थिएँ। त्यही बेला आमा जुरूक्क उठिन्। उनको डँडाल्नोमा बेस्कन ठोक्किएर मेरो नाकबाट हुलहुल्ती रगत बग्यो। आमाले मेरो देब्रे गालामा आफ्नो दाहिने हातले एक चड्कन लगाइन् र उल्टै आफैं रूँदै भनिन्, ‘कति चकचक गर्छस् ए दिले, कति रूवाउँछस् आमालाई!’
के मलाई आमाको आँशुको ‘सराप’ लाग्ला?
मैले यी घटना मनमनै सम्झेको मात्र थिएँ, मुखले बोलेकै थिइनँ। आमाले मनकै कुरा सुनेझैं मेरो निधारमा प्याट्ट हिर्काइन् र भनिन्, ‘धत् लाटा त्यस्तो आँशु भनेको हो र!’
‘अनि कस्तो आँशुको सराप लाग्छ त आमा?’ मैले सोधेँ।
आमाले एक–एक शब्दमा अडिँदै र हरेक शब्दपिच्छे आफ्ना दुवै हातले मेरा दुवै गाला दुई–दुईचोटि थपथपाउँदै भनिन्, ‘त्यस्तो... आँशुले... सराप्छ... जुन... आँशु... कसैको... अन्याय... र... अत्याचार... मा बग्छ...’
‘त्यस्तो... आँशुले... सराप्छ... जुन आँशु... कसैलाई... उसको... घरखेतबाट... उठिबास... पार्दा... बग्छ।’
आमाले यसो भन्दै गर्दा मैले अघिल्लो दिन आमा र बा खासखुस गरेको सम्झिएँ। उनीहरू अन्याय र अत्याचारकै कुरा गर्दै थिए। उठिबास भएर जंगलमा भौंतारिनुपरेको कुरा गर्दै थिए।
त्यही बेला आकाशमा झिलिक्क बिजुली चम्कियो। बिजुलीको उज्यालोमा मलाई लाग्यो– यो जंगलको रूखजत्रै, आकाशै छोलाझैं अग्लो एउटा राक्षस मलाई खान आकाशबाट झर्दैछ!
रूखका लहराझैं त्यो राक्षसका हजार हात छन्। लहरामा पलाएका पातझैं उसका हजार हातमा दसौं हजार औंला छन्। राक्षसले आफ्ना पाँच सय हात दाहिनेतिर फैलाएको छ, बाँकी पाँच सय हात देब्रेतिर फैलाएको छ। दुई हात दुईतिर फैलाएर ऊ आफ्ना दसौं हजार औंला नचाउँदै छ। हात र जीउको हाउभाउ हेर्दा ऊ मलाई च्याप्प अँठ्याउन ‘आऊ आऊ’ भन्दै भुइँतिर झुक्दै गरेझैं देखिन्छ।
म डरले थुरथुर काम्दै आमाको काखभित्र डल्लो परेँ। मेरो बन्द आँखाका दुवै डिलमा उम्लिरहेको पानीमा फोका उठेझैं आँशुका ढिक्का डल्ला पर्दै थिए।
के यो राक्षसलाई मेरो आँशुको ‘सराप’ लाग्ला?
के आमाले भन्न खोजेको अन्याय र अत्याचार यही हो, जुन यो राक्षसले ममाथि गर्न खोज्दैछ?
यो ठाउँलाई चाहिँ कुन राक्षसले आफ्नो सहश्रहात फैलाउँदै छोप्न आयो होला? यस्तरी दिनरात चौबीसै घन्टा पानी दर्किने गरी कसको आँशुको ‘सराप’ लाग्यो होला?
‘कसको सराप लाग्यो भन्नु न आमा,’ मैले राक्षसको डरले आँखा पनि नखोली सुस्तरी सोधेँ।
आमाले लामो सास तानिन् र त्यत्तिकै लामो सास छाडिन्। मानौं, वर्षौंदेखि फोक्सोमा थुप्रिएका पीडाहरू आज एकैचोटि बाहिर फाल्दैछिन्।
अनि भन्न थालिन् —
‘एकादेशमा एउटा राजा थियो...!’
‘नमस्कार, मेरो नाम दिल भुटानी। साथीहरू मलाई ‘दिले’ भन्छन्।’
‘कसै–कसैले त माया गरेर ‘दिलु’ पनि भन्छन् होला नि!’
उनी लजाउँदै मुसुक्क हाँसे र भने, ‘आमाले पनि ‘दिले’ नै भन्थिन्।’
‘अनि ‘भुटानी’ चाहिँ तपाईंको थर कि उपनाम?’ हामीले उनको नामको अर्थ जान्न चाह्यौं।
‘भुटानी त मेरो टाइटल,’ उनले हाम्रो प्रश्नले मागेभन्दा विस्तारमै जवाफ दिए, ‘मेरो खास नाम चाहिँ दिलबहादुर महत। उमेर अठ्तीस वर्ष। म सात वर्षको थिएँ, जब हामी भुटान छाडेर यहाँ आयौं।’
यति भनेर उनी एकछिन टक्क अडिए, बीस सेकेन्डजति चुप्प लागे, अनि भनुँ कि नभनुँझैं गर्दै भने, ‘म कवि पनि हुँ। कविहरूमा नामको पछाडि टाइटल राख्ने रहर हुन्छ नि, त्यही भएर मैले पनि राखेको। अचेल त मलाई आफ्नो नाम फेरूँ कि जस्तो पनि भाछ।’
‘के राख्न मन छ?’
‘देश भुटानी।’
‘किन?’
‘देश भुटानी कवितात्मक पनि छ, विद्रोह चेत पनि झल्किन्छ,’ उनले भने, ‘यसले मेरो स्वदेश फर्किने भावना बोक्छ कि भन्ने लाग्छ।’
दिल भुटानी स्वभावले पनि विद्रोही नै छन्। उनका कवितामा भुटानी शरणार्थीहरूको पीडा त झल्किन्छ नै, सँगसँगै भुटानको राज्यव्यवस्थाविरूद्ध विद्रोहको आवाज पनि छ। सायद त्यसैले, परिवारका सबै सदस्य तेस्रो देश पुनर्वास कार्यक्रमअन्तर्गत अस्ट्रेलिया गइसक्दा पनि उनले पुनर्वासको विकल्प रोजेनन्। उनी झापाको बेलडाँगी शिविरमा एक्लै बस्छन् र भुटान फिर्तीको निम्ति आन्दोलनरत छन्। उनलाई अमेरिकी वा अस्ट्रेलियाली नागरिक हुनु स्वीकार्य छैन, उनी भुटान फर्केर आफ्नो गुमेको परिचय हासिल गर्न चाहन्छन्।
दिल भुटानीसँग हाम्रो पहिलो भेट तीन वर्षअघि भएको थियो। बीच–बीचमा उनी काठमाडौं आउँदा पनि थुप्रैचोटि भेटघाट भइरह्यो। ती भेटघाटका क्रममा उनले घन्टौं–घन्टा हामीसँग कुराकानी गरे। पहिलोचोटि भेट्दा हामीले समूहमा कुरा गरेका थियौं। अर्को दिन उनले हामीलाई आफ्नो झुपडीमै लगे र आफ्नो जीवनकथा विस्तारमा सुनाए।
‘मलाई अहिले पनि त्यो रात झल्झल्ती याद आइरहन्छ सर,’ उनले भने, ‘हामी गाउँ छाडेर फर्किँदा राति बसेको त्यो जंगल याद आइरहन्छ। सधैं पानी परिरहने त्यो ठाउँ याद आइरहन्छ। त्यो ठाउँ कति भयंकर थियो भने नि, आज पनि म घरिघरि सपनामा त्यही ठाउँ पुग्छु। र, जब जब त्यहाँ पुग्छु, त्यहाँ पानी परेकै हुन्छ। त्यहाँ अहिले पनि फेद र टुप्पा बांगिएर धनुको कमानजस्तो देखिने रूखहरू छन्। ती रूखका जरा अहिले पनि भुइँको सतहबाट बाहिरसम्मै निस्केका छन्, मानौं ती जरा होइनन्, माटो खोस्रेर बाहिर निस्केका जीवित गँड्यौला हुन्। म अहिले पनि सपनामा त्यहाँ पुग्दा तिनै गँड्यौलाजस्ता रूखका जरालाई चकटी बनाएर बसेको हुन्छु। एउटा रूखका लहरा अर्को रूखका लहरासँग जेलिएको त्यो जंगलमा बस्दा मलाई किन हो किन, आफ्नै घरको छतमुनि बसेझैं लाग्छ। कहिलेकाहीँ त म त्यही जंगलमा ङवाङसँग खेलिरहेको हुन्छु। कहिले ङवाङ र म मात्र हुन्छौं, कहिले पेम्बा, देचेन, नोर्बु, शेमयाङ पनि हुन्छन्। भुटानमै छुटेका ती साथीहरूले मलाई आज पनि सपनामा पछ्याइरहन्छन्।’
‘अनि आमा?’ हामीले सोध्यौं, ‘आमालाई पनि देख्नुहुन्छ सपनामा?’
उनी एकछिन मौन भए, अनि भने, ‘देख्छु, उहाँले सुनाउने एकादेशका राजाको कथा पनि सुन्छु। उहाँ अहिले पनि सपनामा मलाई त्यही कथा सुनाउनु हुन्छ।’
‘के हो त्यो एकादेशका राजाको कथा?’
दिल यसपालि दिलै खोलेर हाँसे।
‘किन हाँस्नुभो यस्तरी, आमालाई सम्झेर?’ हामीले सोध्यौं।
‘होइन, आमाको कथा सम्झेर,’ उनले भने, ‘मलाई धेरै पछिसम्म त्यो कुनै लोककथा मात्र हो कि भन्ने लाग्थ्यो। मैले त्यसलाई लोककथा नै मानेको थिएँ। तर होइन रहेछ।’
‘अनि के रहेछ त?’
उनले रहस्य खोले, ‘त्यो त आमाले लोककथाको शैलीमा बुनेको भुटानकै इतिहास पो रहेछ। भुटानकै धर्मराजा ङवाङ नमग्यालको इतिहास।’
‘हो र!’
‘त्यही त, म पनि छक्क पर्छु,’ उनले भने, ‘भुटानको इतिहासलाई नै आमाले आफ्नो कल्पना मिसमास पारेर कथामा ढाल्नुभएको रहेछ। भुटान राज्य पहिले कस्तो थियो, ङवाङ नमग्यालको प्रवेशपछि कस्तो भयो, हामी नेपालीभाषीहरू कसरी भुटान पुग्यौं, अनि कसरी हामीमाथि अन्याय हुन थाल्यो भन्ने सब वर्णन त्यो कथामा छ। सायद आमाले पहिले सुन्नुभएको र पछि भोग्दै आउनुभएको घटनाक्रमलाई नै कथाका रूपमा उन्नुभयो होला।’
‘हामीलाई नि सुनाउनु न त एकादेशका राजाको कथा!’
‘सुन्नुहुन्छ?’ दिल भुटानीले सोधे।
अर्को अंकको सुरूआत हिमालको फेदीतिर बसेको हिउँको देशबाट हुनेछ।
त्यो देश कुनै बेला हिउँ नै हिउँको थुप्रो मात्र थियो। त्यहाँ मानिसहरू त बस्थे, तर ती आदिम हिममानवजस्ता थिए। उनीहरूमा सभ्यताको चेत थिएन, संस्कृतिको परख थिएन। रोचक कुरा चाहिँ के भने, आजीवन हिउँले पिरोल्ने र बरफले गलाउने भए पनि त्यहाँका बासिन्दाको मनमा शोक र सन्ताप, पिर र चिन्ता भन्ने केही थिएन। उनीहरू सधैं सुखी बस्थे, सधैं खुसी रहन्थे।
हिउँ नै हिउँको त्यो निर्जन भूमिमा एकदिन सिद्ध तान्त्रिक लामागुरूको प्रवेश हुन्छ। उनी त्यो हिमभूमिलाई आफ्नो तन्त्र, मन्त्रको शक्तिले देश बनाउँछन्। त्यो देशमा धर्मको थिति बाँध्छन्, सभ्यताको बीउ छर्छन् र संस्कृतिले हराभरा पार्छन्। हिउँको भूमिलाई बुद्धभूमि बनाउँछन्।
जब मान्छेले बाँच्न सिक्छ, ऊ सभ्य बन्छ। सभ्यले सभ्यता बसाल्छ। र, फेरि त्यही सभ्यताले जगाउँछ लोभ र लालसा, मोह र माया, कपट र किचलो।
हिउँको देशमा पनि त्यस्तै हुन्छ।
त्यहाँ शक्तिको हानाथाप चल्छ। को ठूलो, को सानो भन्ने भेदको रेखा कोरिन्छ। बुद्धभूमिका मान्छेको बुद्धि बिलाउँदै जान्छ। र, एकदिन तिनै सिद्ध तान्त्रिक लामागुरूका सन्तानले त्यो भूमि छाडेर हिँड्नुपर्छ।
ती लामागुरू त्यसपछि के गर्छन्? कहाँ जान्छन्? उनको नियति के हुन्छ?
उनको यो कथासँग कसरी जोडिन्छन्, हाम्रो कथा शृंखलाका मूल पात्रहरू — अर्थात्, भुटानी नेपालीहरू।
यी प्रश्नको जवाफ हामी तपाईंहरूलाई अर्को अंकमा दिने छौं र त्यो जवाफसँगै हामी भन्ने छौं — भुटान राज्य स्थापनाको कथा।
जुन भूमिलाई हामी अहिले भुटान भनेर चिन्छौं, त्यसलाई तिब्बतीहरूले ‘ल्हो मोन’ नाम दिएका थिए। तिब्बती भाषामा ल्हो मोनको अर्थ दक्षिणको औल प्रदेश भन्ने बुझिन्छ। नेपालीहरू ‘भोटान्त’ भन्थे। कथा शृंखलाको अर्को अंकमा हामी तपाईंहरूलाई चार सय वर्षअघिको त्यो कालखण्डमा लैजाने छौं, जब ङवाङ नमग्यालले भुटान देशको जग बसालेका थिए।
ङवाङ नमग्याल को हुन्? उनी कसरी भुटान आइपुगे?
कसरी उनले तत्कालीन भोटान्त उर्फ ल्हो मोनलाई ‘डुग् युल’ अर्थात् ड्रयागन देशको परिचय दिए?
र, नमग्यालले बसालेको यो राज्यमा वाङचुक वंशको उदय कसरी भयो?
हिउँको देशको कथा र भोटान्तको कथा आपसमा कत्तिको मेल खान्छ?
यी सब अर्को अंकमा है!
अर्को अंक अर्को शुक्रबार।
...
(आवरण तस्बिर: गोरखाका राजा राम शाह (बायाँ) र भुटानका धर्मराजा ङवाङ नमग्यालको चित्र)