२०१५ जुन १२ देखि १६ सम्म चीनको युन्नान प्रान्तको सदरमुकाम खुन्मिङमा ‘तेस्रो चीन दक्षिण एसिया एक्स्पो’ आयोजना गरिएको थियो। एक्स्पोको विशेष रिपोर्टिङ गर्न सीआरआई नेपाली सेवाकी सहकर्मी मुनासँग म पनि खुन्मिङ गएँ। सीआरआईबाट दक्षिण एसियाली केन्द्रका बङ्गाली, सिँहाली, तमिल, उर्दू लगायत सेवाबाट चिनियाँ र मजस्तै विदेशी विशेषज्ञ सहभागी थिए। हामी साँझमा खुन्मिङ पुग्यौं। हामी बसेकै होटलमा नेपालबाट आएका पत्रकारहरुको टोली पनि रहेछ। जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ, बुधबार साप्ताहिकका विष्णु रिजाल र राससका तत्कालीन बोर्ड सदस्य सन्तोष न्यौपाने, कान्तिपुर दैनिकका चन्द्रशेखर अधिकारी, कान्तिपुर टेलिभिजनबाट सरल गुरूङ र क्यामरा पर्सन अनन्त लुइटेल हुनुहुन्थ्यो। लामो समयपछि नेपाली पत्रकारहरुसँग प्रत्यक्ष कुराकानी गर्न पाउँदा निकै सुखी लाग्यो।
एक्स्पो उद्घाटन र मुख्य कार्यक्रमको रिपोर्टिङ गरेपछि हामीलाई जुन १४ आइतबार खुन्मिङको पश्चिपट्टि रहेको छुसिओङ प्रिफेक्चर लगियो। सीआरआईको पत्रकार टोली र नेपालबाट आएका पत्रकारहरुको टोलीसँगै दक्षिण एसियाका विभिन्न मुलुकबाट आएका पत्रकारहरुले छुसिओङ यी जातीय स्वायत्त प्रिफेक्चर अवलोकन ग¥यौं। बाटोमा डाइनोसर उपत्यकाको अवलोकन गर्ने अवसर पनि मिल्यो। लन्चपछि यी जातिको बाहुल्य रहेको एउटा विशेष बजार घुम्न गयौं। त्यहाँ शतप्रतिशत यी जातिका मानिसहरु बसोबास गर्दा रहेछन्। यी जाति चीनको अल्पसङ्ख्यकमध्ये एउटा हो। चीनमा ५६ जातिका मानिसहरु छन्। हान जातिबाहेक अरु ५५ जातिहरु अल्पसङ्ख्यक हुन्। युन्नान प्रान्तमा मात्र थुप्रै अल्पसङ्ख्यक जातिहरु छन्।
बजारका घर, सडक, पसल, गाडी, खेलौना सबै कुरामा यी जातिको संस्कृति झल्कन्थ्यो। हामीलाई बजारको मुख्य गेटमै यी जातिको परम्परागत पोसाक लगाएका महिलाहरुले भव्य स्वागत गरे। बजार अवलोकनपछि हामीलाई यी जातीको विशेष परिकार खुवाइने रेस्टुराँमा लगियो। रेस्टुराँ एउटा तलाउमाथि रहेछ। रेस्टुराँ प्रवेश गरेपछि थाहा भयो, अर्कोतिर पनि भव्य तलाउ रहेछ। तलाउमा डुङ्गा विहार पनि गर्न पाइने। तलाउपारिपट्टि सांस्कृतिक कार्यक्रम प्रदर्शन गरिने भव्य मञ्च थियो। सबै पूर्वाधार देख्ता त्यो रेस्टुराँ सो क्षेत्रको विशेष भनेर छुट्याउन गाह्रो थिएन।
साँझ ०५ः०० बजे रेस्टुराँमा डिनर खान बसियो। चीनमा ०५ः०० बजेदेखि डिनर सुरू गरिन्छ। जुन महिनामा घाम अस्ताउने समयचाहिँ लगभग आठ बजे हुन्छ। खाना बाँड्ने महिला तथा पुरूषहरु यी जातिका पोसाकमा सजिएका थिए। हामी विदेशीलाई त्यस्तो पोसाक लगाएको मान्छे देख्यो भने फोटो खिचिरहूँजस्तो लाग्ने। सबैभन्दा पहिले हामीलाई केही पेय पदार्थ दिइयो— रक्सी खानेलाई रक्सी, बियर खानेलाई बियर र जुस खानेलाई जुस। हामी गोलाकार टेबलमा बसेका थियौं। हरेक टेबलमा यी जातिका कलाकारहरु आएर छोटाछोटा गीत गाउन थाले। मैले मुनाजीलाई गीतको अर्थ सोधें। उहाँले पनि अन्य चिनियाँलाई सोध्नुभयो। मुनाजी चिनियाँ भए पनि यी जातिको भाषा बुझ्ने कुरै भएन। हाम्रो समूहमा त्यही प्रिफेक्चरका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा स्थानीय सरकारका प्रतिनिधिहरु पनि थिए। मुनाजीले उहाँहरुसँग बुझेपछि भन्नुभयो— 'यी जातिको परम्परा अनुसार पाहुनालाई खाना खानुभन्दा अगाडि गीतबाट यसरी स्वागत गरिन्छ।'
सुनसान भए पनि पोखरीपारिको मञ्चमा गएर दर्शक दीर्घामा बसेका हाम्रै साथीहरुको फोटो खिच्न मन लाग्यो। घाम झलमल्ल लागिरहेकै थियो। म मञ्चबाट फोटो खिच्तै थिएँ, यी जातिकी एक युवती आइपुगिन् टुप्लुक्क। फरासिली ती सुन्दर चिनियाँ बालाले मलाई यी जातिले गर्ने सांस्कृतिक नृत्य पनि सिकाइन्। हाम्रो नाच देखेर साथीहरुले ताली बजाए। म रेस्टुराँतिर फर्कें। खाने काम सुरू भयो। मञ्चमा विभिन्न नृत्यहरु प्रस्तुत हुन थाले। त्यहाँका कतिपय नृत्यमा डुङ्गा पनि प्रयोग हुँदो रहेछ। कलाकारहरु गीत गाउँदै डुङ्गाबाट हाम्रै छेउमा आइपुगे। त्यो मनोरञ्जन झन्डै दुई घण्टा चल्यो। खानासँग रक्सी खाइरहनुपर्ने यी जातिको अनौठो चलन, केही साथीहरु त खाँदाखाँदै लट्ठ!
मञ्चबाट उद्घोषण भयो— 'अब हामी विदेशी पाहुनाहरुलाई यी जातिमा प्रचलित विवाह संस्कारको विशेष समारोहमा लिएर जाँदै छौं।'
हाम्रा कान ठाडा भए तर विवाह हेर्न बाहिर जाने होइन, मञ्चमै आयोजना हुने रहेछ। यी जातिको विवाह समारोहको जानकारीसहित हरेक देशका टोली नेतालाई मञ्चमा बोलाइयो। अन्य देशका टोली नेतासँगै नेपालको तर्पmबाट किशोर श्रेष्ठ मञ्चमा जानुभयो। सहकर्मी मुनाजीले आयोजकलाई के भन्नुभयो कुन्नि, मलाई पनि मञ्चमा बोलाइयो।
अक्क न बक्क केही नबुझी मञ्चमा गएका हामीलाई दोभाषे चिनियाँ युवतीले भनिन्— 'यहाँ लहरै बसेका यी जातिका बेहुली हुन्। अब आफूलाई मन पर्ने एउटी बेहुली छानेर प्रेम प्रस्ताव राख्नुहोला।'
लौ जा, अब परेन त फसाद! सबै विदेशी साथीहरु बेहुली छेउ गएर केके केके भन्दै थिए। मित्र किशोर श्रेष्ठले भनेको पनि मलाई उति चित्त बुझिरहेको थिएन। त्यसैले सबैलाई हँसाउने योजना बनाउँदै मैले दोभाषेसँग रातो गुलाबको पूmल मागें। उनले एकैछिनमा गुलाब त होइन, अर्कै के रातो फूल ल्याइदिइन्। त्यतिखेरै मेरो पनि पालो आइहाल्यो।
मैले मञ्चमा गएर नाटकीय ढङ्गले दाहिने घुँडो टेकेर हातले फूल दिँदै एउटी चिनियाँ सुन्दरीलाई ‘आई लभ यु’ भनें। दर्शक दीर्घाबाट हाँसोसँगै ताली गड्किए।
मैले सोचेको थिएँ, नाटक यतिमै सकियो तर लफडा अझै बाँकी रहेछ। त्यहाँ बेहुलीको पोसाकमा सजिएका चिनियाँ युवतीहरु धेरै थिए। यसै पनि चिनियाँ युवती एकै अनुहारका लाग्छन्। त्यसमाथि परम्परागत जातीय पोसाकमा सिँगारिएका थिए। तलाउपारिबाट नेपाली साथीहरु हुटिङ गरेर मेरो समर्थनमा कराएको सुनियो। दर्शक दीर्घाबाट मञ्चतिर आएको तेजिलो प्रकाशले मञ्चबाट दर्शक दीर्घातिर केही देखिँदो रहेनछ। दिउसो त दर्शक दीर्घातिर खुब रमाइलो देखिन्थ्यो।
पहिलो चरणमा प्रेम प्रस्ताव राखिसकेपछि दोस्रो चरणमा माटाका ठूला पालामा रक्सी खान दिँदा रहेछन्। रक्सी देखिसक्ता पाकिस्तानी लगायत अन्य मुसलमान साथीहरु मञ्चबाट भागिहाले। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गरिरहेका किशोर श्रेष्ठ मुसुमुसु हाँस्तै रक्सी पिउँदै हुनुहुन्थ्यो, उहाँ पनि कति बेला टाप कस्नुभएछ, मैले पत्तै पाइन। रक्सी नखाने भएकाले मैले डबका हातमा लिएँ र स्वाट्ट पिएजस्तो गरे आफ्नै जिउमा घत्याइदिएँ। मैले रक्सी पोखेको कुनै दर्शकले भने देखेन। त्यसपछि मातेजस्तो गरी मञ्चमा यताउता लरबरिँदै अभिनय गर्न थालें आफ्नै सुरमा।
मलाई सघाउने मञ्चमा कोही त होलान् नि भनेर हेर्छु त केको हुनु, सबै भागेछन्। विदेशीको नाममा म एक्लै रहेछु मञ्चमा। अब भने मलाई साँच्चै अप्ठ्यारो प¥यो।
मञ्चमा प्रेम प्रस्ताव गरेपछि रक्सी खुवाउने र अबिर लगाउने चरणसम्म पुग्दा मञ्चमा म एक्लिसकेको थिएँ। अलि लाज पनि लाग्यो। ‘अब के गर्ने होला’ भन्ने लाग्दै थियो, दोभाषे चिनियाँ युवतीले अङ्ग्रेजीमा भनिन्— 'अब बिहेका लागि तपाईंले आफ्नी दुलही चिनेर ल्याउनुपर्छ।' ला, अब प¥यो आपत्! उस्तै अनुहार र एकै पोसाकमा सजिएका चिनियाँ युवतीहरुको बीचबाट आफ्नी दुलही चिनेर ल्याउने रे! कुनचाहिँ हो मेरी दुलही? अब मैले कसरी चिन्ने?
हाम्री दोभाषेले थपिन्— 'पहिले जसलाई प्रेम प्रस्ताव राखेका थियौ, त्यसैलाई बोकेर ल्याऊ।' म बेहुली लिन गएँ तर यी जातीय परम्परामा बेहुली लुकाइँदो रहेछ। बेहुलाले बेहुली पत्ता लगाएर ल्याउनुपर्ने। मञ्चको भित्री कुनापट्टि बसेकी थिइन्, एउटी बेहुली। यही होली मैले प्रेम प्रस्ताव गरेकी युवती! भनेर बोकेर हिँड्न खोजेको त ममाथि असङ्ख्य कुचा बर्सिए। ती कुचाले हिर्काउँदा दुख्ने त होइन तर दर्शक दीर्घाबाट चाहिँ चौपट हुने गरी कुटेको देखिँदो रहेछ। मैले बोक्न खोजेकी युवती पनि मलाई म¥याकमुरूक बनाएर भागी।
कुटाइ खाएर म रित्तै हात फर्किएँ। दोभाषे युवतीले फेरि भनिन्— 'त्यो तिम्री बेहुली हैन। तिमीले अर्कैलाई तान्न खोजेकाले कुटेको। अगि आफूले प्रेम प्रस्ताव राखेकैलाई ल्याउनुपर्छ। फेरि जाऊ र आफ्नी दुलही लिएर आऊ!'
'अनि कुन हो त मेरी दुलही? म चिन्दै चिन्दिनँ।' मैले दिक्क मानेको कुरा दोभाषेलाई हेक्का भइसकेको थियो। यस्तो थाहा भएको भए प्रेम प्रस्ताव राख्ने बेलामै राम्ररी याद गर्नुहुन्थ्यो। दोभाषेले बेलैमा राम्ररी नबताइदिँदा बिहेको नाटक लम्बियो। त्यसैले मेरो नजिक आएर भनिन्— 'ऊ त्यो टाउकामा रातो स्कार्फ बाँधेकी युवतीचाहिँ हो तिम्री बेहुली।'
दोभाषेले चिनाउँदा म बेहुलीतिरै हेरिरहेको थिएँ। ए, अबचाहिँ छोड्दिनँ भन्दै म कपर्दी शैलीमा बेहुली उठाउन गएँ। त्यस पटक पनि सफल भइएन, फेरि कुचाले धुस्नु कुटे चिनियाँ युवतीहरुले। बेहुली ल्याउन असफल भएपछि म लखतरान भएर फर्किएँ। दोभाषे रिसाउँदै आएर भन्न थालिन्— 'फेरि किन अर्कै बेहुली ल्याउन खोजेको? मैले तिमीलाई भनेको थिएँ त ‘टाउकामा रातो स्कार्फ बाँधेकी केटीचाहिँ तिम्री बेहुली’ भनेर।'
‘हन मैले त टाउकामा रातो स्कार्फ बाँधेकै बेहुली ल्याउन खोजेको थिएँ त!’ कसरी हो, फेरि पनि गल्ती मबाटै भएछ। अगि दोभाषेले देखाउँदा उनको औंलाले कता देखाएको थियो नहेरी रातो स्कार्फ बाँधेकी केटीतिर मात्र मेरो ध्यान गएछ। रातो स्कार्फ बाँधेका बेहुली दुइटी रहेछन्। दोभाषेले राम्ररी चिनाएपछि म फेरि गएँ। उनलाई हातमा कुचो बोकेका सहेलीहरुले घेरेका थिए। हुन त उनीहरुले पहिलेदेखि नै मैले प्रस्ताव गरेकी बेहुलीलाई घेरेर राखेका रहेछन् तर मैले थाहा नपाएर बाहिरपट्टि रहेकी अर्कै बेहुली तान्न खोज्दो रहेछु। त्यसरी घेरेर राखेकी बेहुलीलाई अन्य युवतीको आँखा छलेर छुन पाइयो भने थपक्क बेहुलाको जिम्मा लगाउँदा रहेछन्। म पनि कसोकसो बेहुली भएठाउँ पुगें। मैले बेहुली भेटिसक्ता दर्शक दीर्घाबाट तालीको गडगडाहट आइहाल्यो।
संस्कार पूरा गर्न मैले बेहुलीलाई बोकेरै मञ्चको अग्रभागमा ल्याएँ। धन्न स्लिम भएकाले बोक्नचाहिँ गाह्रो भएन। बेहुलीलाई मञ्च अगाडि ल्याएपछि उनले पनि मलाई केही उपहार दिइन्। बेहुलीका साथीहरुले पनि बेहुलालाई उपहार दिने चलन रहेछ। मेरो अनुहारमा विभिन्न रङहरु पनि घसिदिए। त्यतिखेर म होली खेलेको मान्छेभैmँ टाटेपाङ्ग्रे भएको थिएँ।
मञ्चमा केही समय परम्परा अनुसार बिहेको कार्यक्रम भयो। अभिभावक आएर आशीर्वाद दिने र एकअर्कामा माया साटासाटा गर्न एउटै खानेकुरा सँगसँगै खानुपर्दो रहेछ। मलाई अलि अप्ठ्यारो पनि लाग्यो। सोचेको थिएँ— अब त नाटक सकियो होला। तर, नदीमा गएर पूजाआजा गरी धूपबत्ती बालेर बगाउने काम बाँकी नै रहेछ। त्यसरी नदीमा पुगुन्जेल बेहुलाले बेहुलीको हात समाएर लानुपर्ने। बेहुली त सिगाँरिएकै थिइन्, खै त्यति बेला मलाई चाहिँ कस्तो देखिएको थियो कुन्नि! मञ्चबाट नदी केही मिटरको दूरीमा थियो। त्यहाँ पूजा गर्न मलाई सजिलो भयो किनभने अनुवाद गर्नका लागि सहकर्मी मुनाजी आउनुभयो। मैले बेहुलीसँगै पूजाआजा गरें। हाम्रा कतिपय सांस्कृतिक प्रचलन मिल्दाजुल्दा रहेछन्— टपरीमा बाती बाल्ने र बेहुलाबेहुली दुवैले नदीमा सँगसँगै बगाउने। त्यसपछि नदीको पानीले एकअर्काको शिरमा छम्किएर ‘यो पानीजत्तिकै पवित्र छ हाम्रो माया’ भन्नुपर्दो रहेछ। सबै कुरा सकिएपछि बेहुलाबेहुलीले अङ्कमाल गर्नुपर्ने। अङ्कमालै त त्यति गाह्रो थियो, ‘चुम्बन पनि गर्नुप¥यो’ भनेर सबै कराउन थाले। अबचाहिँ मलाई साँच्चै अप्ठ्यारो लाग्यो। हामी नेपाली सार्वजनिक ठाउँमा त्यसरी चुम्बन गर्दैनौं र सामाजिक परम्पराले शोभा पनि दिँदैन। तर बेहुलीले मेरो गालामा च्वाप्प चुम्बन गरिन्, अनि मैले नगरेर भयो? मैले पनि चिनियाँ परीका मुलायम गालामा चुम्बन गरें, जिउ सिरिङ्ङ भयो! हाम्रो चुम्बनसँगै बिहेको परम्परागत प्रक्रिया पनि पूरा भयो।
रमाइलो हाँसो चलिरहेकाले समयको ख्याल भएन तर रातिको ११ बज्न लागेको रहेछ। सबै थाकिसकेका थिए। केही साथीहरु रक्सीले ढलिसक्नुभएको थियो भने कतिलाई होटल फर्किएर सुत्न हतार थियो। हामी आयोजकसँग बिदा भयौं। उपस्थित सबै चिनियाँहरुले मेरो अभिनयको तारिफ गर्दै बिदा गरे। पत्रकार मित्र चन्द्रशेखरले जिस्याउँदै सोध्नुभयो— 'तपाईंलाई त ढुटो बनाए त चिनियाँहरुले। जिउ कति दुखिरहेको होला। त्यति गरेर पाएकी बेहुली त नलिई हिँड्नुभयो त?'
उहाँको कुरालाई हाँसेरै टारें बल्लबल्ल। 'धन्न बेलैमा भागिएछ आफू चाहिँ, नत्र कुचैकुचाले हान्ने रहेछन्।' किशोर दाइले धाप मार्दै सोध्नुभयो— 'कुट्नचाहिँ किन कुटेका रहेछन् तपाईंलाई?'
मैले बेहुली नचिनेर अर्कैलाई तानेको साथीहरुले बुझ्नुभएको रहेनछ। मञ्चमै भएर त मैले बुझेको थिइनँ भने उहाँहरुले बुझ्ने कुरै भएन।
हामी होटल फर्किन बसमा चढ्यौं। अब भने सबै साथीहरु मलाई जिस्क्याउन थाले— 'खोइ त बेहुलीचाहिँ? हरे, सुहागरात पनि मनाउन पाइएन हगि! कस्तो बिहे हो सुहागरातै नमनाई भत्किने? यही भएर भनिएको होला— मेड इन चाइना, आज छ भोलि छैन!'
मैले पनि साथीहरुलाई बसमा अर्को नाटक गरेर भनिदिएँ— 'मेरो कर्ममा यस्तै रहेछ साथीहरु। मजस्तो अभागी त को होला र। हेर्नोस् त, बिहेचाहिँ भयो तर तुरून्तै बेहुलीले छोडेर गई। कस्ती निष्ठुरी रहिछे। मलाई रून पो मन लागिरहेछ!'
कस्तो राम्रो चिनियाँ प्रचलन। यो अल्पसङ्ख्यक जातिले यसरी बिहे गर्छन् भनेर किताबमा पढाउनु अथवा प्रवचन दिनुभन्दा मञ्चमा बिहे नै गरेर देखाउनु कति प्रभावकारी उदाहरण। अझ विदेशीलाई नै बिहेमा सहभागी गराएपछि सबै कुरा अमिट छापको रुपमा रहने नै भयो। बिहेका सबै प्रक्रिया पूरा गरेर नाटक देखाएपछि पर्यटकलाई मनोरञ्जन पनि भयो, चिनियाँ संस्कृतिबारे राम्रो प्रचार पनि भयो। कस्तो काइदाको चिनियाँ बुद्धि!
[email protected](सांग्रिला बुक्सद्वारा प्रकाशित आचार्यको ‘चीन चिहाउँदा’ पुस्तकको अंश।)