स्पस्टीकरण जस्तो सुनिए पनि तपाइँसँग प्रश्न गर्ने, जवाफ चित्तबुझ्दो नआए कारबाही गर्ने हैसियत मेरो छैन । मनको भढास निकाल्न खोजेको चाँहि हो ।
आज देशको अवस्था तपार्इँ कै कारणले आएको भन्न खोजेको पनि होइन । तपाई आफ्ना अग्रजले देशलाई खाडलमा झोसिसकेको र आफूले उतार्नलाई बढो मिहेनत गरिरहेको बताउनुहुन्छ । यस्ता कुरा प्रमका कुर्सीमा बस्ने सबैले गर्छन् । यी त भन्ने कुरा न हो । अस्ति तपाईँले कलेजको एक भाइको प्रश्नमा आवेशमा आएर जवाफ दिदाँ धेर टिका टिप्पणी भए । हुनत बोली मिठो भएर नि हुने केही हैन जबसम्म काममा त्यो छनक भेटिदैंन ।
आजको दिनसम्म देश मै बसेर गिट्टी फोर्नुपर्छ भन्ने मेरो आत्मविश्वासमा धमिरा लाग्दैछ । यो सुझबुझ सती जान बेर छैन । एक डाक्टर अहिले तराइका बाढी पडितलाई स्वास्थ्यसेवा दिन तल्लीन छन् । केही दिन अघि उनी अनशनरत थिए । उनले जुन आवाज उठाए ती जहिका तहि हुँदा नि प्राकृतिक बिपत्तिमा स्वास्थ्यसेवाको आवश्यकता महशुस गरी अनशनलाई विश्राम दिए अनि लागे तराई । समय यही ठीक सोची मौका छोपी सम्बन्धन अर्को मेडिकल कलेजले पायो । उनको अनशनलाई हेर्दाहेर्दै तिलाञ्जली दिइयो, साक्षी हामी भएम् ।
जुन निष्ठा डाक्टर केसीले देखाए त्यो त हजुरको पेशामा बढी चाहिन्थ्यो । तपाईंका कदम कदममा राष्ट्रघात देख्ने विपक्षी साथीहरुले स्वास्थ्यसेवामा अतिआवश्यक परिवर्तनका लागि चाहिने कदमहरुमा यसरी विपक्षी भए कि उनीहरुका बोलीका राष्ट्रवादले ऐया नि भन्न पाएन, ठहरै भयो । नेताका लगानीका अस्पताललाई राष्ट्रियकरण गर्ने सवालमा साथीहरु नमिठोसँग नाङ्गिए, छुरा बोली भुत्तिए ।
विचरा डाक्टरसाब अनशनको अर्को साइतको पर्खाइमा छन् । फेरि अर्कोपटक मिडियालाई खुराक पुग्ने भयो, कालोपट्टी बाँधिने भए, माइतीघरमा भेला अनि जुलुस देखिने भए । सरकारले लटरपटर गरेर अनशन फुकाउने अनि सुब्यवस्थाका लागि अर्को सम्झौता गर्नेछ, कुरो गोलगोल घुमेर तेही पुग्नेछ । आखिर यत्रो समय पछि पनि किन ठोस कदम लिइदैन? देशको चावी तपाईँ कै हातमा हैन र? कि हामीले सधैँ सुन्दै आएको कुरो देश माफियाले चलाएको कुरो साँचो हो र?
यी कुरा राजनीतिक होलान् । आजको भोलि समाधान नहोलान् । सडकका खाल्डा पुर्नलाई राजनीतिक सहमति नचाहिएला । विपक्षीले यहि कुरोलाई लिएर रोष्टम नर्घेलान् । खाल्डा नपुरिनु, बिर्का नराखिनु, लुटतन्त्रलाई मलजल गरिनु सरासर अकर्मण्यता हो जुन दण्डहीनतामा मौलाउँछ । अनि चिल्ला सडक, पानी आउने धारो, सुरक्षाको प्रत्याभूति, धेर पानी पर्दा पहिरोमा नपुरिनु र बाढीमा नबग्नु सपना बोक्नु एक नागरिकको सरकारलाई चुनौति नभएर अधिकार क्षेत्र भित्रको जायज माग हो ।
स्मार्ट सिटीको सपना बाँढिराख्दा जनतालाई हिँड्दा हिँड्दै खाल्डामा पुरिने अवस्थासम्म सिर्जना हुनु कताको न्यायोचित ब्यवहार ठहरिएला?
प्रधानमन्त्रीज्यू,
महानगरका बासिन्दाले साँझको सातै बजे घर फिर्ने बस नपाउनु, पाउँदा पुरस्कार नै पाए झैं गुन्द्रुक झैं कोचिएर यात्रा गरिराख्दा मेट्रो कुद्ने सपना देख्नु सकारत्मकताको हाइट हो भन्थे साथीहरु । उनीहरुलाई सम्झाउने र आशावादी हुने पाठ पढाउने म भित्रको मास्टर नि रिटायर्ड हुँदैछ । काममा र ब्यवहारमा सर्वत्र कुख्यातलाई अनेक महत्वपूर्ण पदहरुले सुसोभित गराउँदा, तिनका बदमासीका फेहरिस्त पर्दाफास भइसक्दा पदमा टिकीरहनु, उल्टो तिनले अन्यलाई हुँकार गर्ने ल्याकत राख्नसक्ने देखिरहँदा आत्मबल नै थला पर्न थालेको छ ।
आफ्नो मूलुकमा जे गर्दा नि सन्तुष्टी हुन्छ भनेर नै आजसम्म बाहिर जाने कुरो मनमा समेत ल्याइएन । घरैमा बस्दा समेत छाती बज्ने गरि बारम्बार लाग्ने खोकी अनि नटुङ्गिने रुघा नै सधैँको सम्पति कहिलेसम्म बनाउनु? यस्तो अवस्था ल्याउनुमा आम नागरिकको रुपमा मेरो भूमिका के थियो र अनेक किसिमका गाडी गुड्ने र कलकारखाना खोल्ने इजाजत दिने सरकारको भूमिका के थियो आउनुस् लेखाजोखा गरौं । मेरा कारणले सृजित समस्याको जिम्मेवारी लिन म तयार छु । आफ्ना पछि लाग्ने मान्छेका स्वार्थपूर्तिका लागि बहुसंख्यकका स्वास्थ्यमा खेलवाड गर्ने निर्णयका चाङबाट सरकारले कस्तो सजायँ भोग्नुपर्ने हो निक्र्योल गरौं ।
बिहान सद्दे घरबाट निस्केको मान्छे घर फिर्ने ग्यारेण्टी कसले दिने? आफ्नो भागको जिम्मेवारी बहन नगरी सधैँ संक्रमणकाल भन्ने जवाफ दिने नीति निर्माणकर्तालाई एउटै प्रश्न सोध्न चाहन्छु एक मान्छेको जिवनकाल भरि नै संक्रमणकाल हुन्छ त? देश कै सेवा गर्ने, यही माटामा आफ्ना सिर्जना फलाउने लक्ष्यलाई मलजल गर्नुको साटो पाइलै पिच्छे अंकुश लाउने स्थिति देखिराख्दा म कसरी यहाँ टिकेर बस्नु?