यदि प्रसङ्ग र भूमिका नभनीकनै यी दुई शब्द उच्चारण गरियो भने यसको अर्थ दोहोरो रूपमा लगाउन सकिएला। अझ भनौं खुशी र दुःख दुवैलाई व्यक्त गर्न यी दुई शब्दलाई सापटी लिँदा खासै फरक नपर्ला। तर यसो भनिरहँदा यी माथिका दुई शब्दद्वारा त्यसबखत् मेरा मनमा पीडा र खुशीको अनुभव बराबरी रूपमा छचल्किएका थिए। पीडा विछोडको थियो भने खुशी कौतुहलताको थियो। आफन्त र जन्मभूमिलाई लामो समयसम्म छाडेर जानु कम दुःखको विषय पक्कै होइन भने नयाँ देश र शहरमा नयाँ परिवेश र उद्देश्यसहित जीवन जिउनुको कौतुहलता जोकोही परदेशीले पनि त्यसबखत् सजिलै कल्पना गर्न सक्छ। जीवनका यस्ता भावभंगी नै कालान्तरमा गएर अविष्मरणीय क्षणको रूपमा ठाउँ बनाएर हरकोहीको मनमा सजिएर बस्छन्। जीवनको त्यो क्षण मेरो मनको विशेष कुनामा ठाउँ ओगटेर बसेको अनुभूति म गरिरहेको थिएँ र मनमनै भनेको थिएँ – वाह जिन्दगी !
जीवनको परिभाषा दिने प्रयत्न त धेरैले गरे र गर्नेछन् तर यो समय र पृथ्वी रहुञ्जेल जीवन हरेक मनका लागि भिन्नभिन्न भएर प्रस्तुत हुन भने छाड्ने छैन। यही जीवनको पहिचान हो र यही जीवनको एक मञ्चभित्र हरेक मानिसले आआफ्नो पहिचान बनाउन कुदिरहेका हुन्छन्। धेरै छन् यो जगत्मा, कोही नामका भोका, कोही दामका भोका त कोही मामका भोका भने कोही ज्ञानका भोका।
केही समयअगाडि मलाई मेरा एक साथीले सोधेका थिए – ‘तपाईंको असली नाम के हो ?’ उनलाई लागेको रहेछ मैले मेरो नाम विदेश आएपछि परिवर्तन गरेको हुनुपर्छ भनेर। मैले पनि सजिलै जवाफ दिएँ – मैले नाम परिवर्तन गरेको छैन। यही नै मेरो ज्योतिषले दिएको नाम हो। तर, मलाई नै अचम्म लाग्छ कि यसको अर्थ मैले भेटाउन सकेको छैन र सोही नाम गरेको अर्को नेपाली अहिलेसम्म भेटाउन पनि सकेको छैन। स्कुलमा हुँदा कस्तो नाम होला भनेर अलिक नमिठोपना महसुस गरेको पक्कै हो तर अहिले विदेशमा झन् सजिलो भएको छ। अजी साथीहरूले पनि सजिलैसँग नाम नबिगारिकन भन्न सक्छन्। अनि अहिले बल्ल बुझ्दैछु कि नामको अर्थ लगाएर मख्ख पर्ने जमात्भन्दा आफू फरक स्थानमा छु। म मान्छेको नामको अर्थले मान्छेलाई चिन्नुभन्दा कर्मले मान्छेको नामलाई चिनाउनुपर्छ भन्ने मान्यता बोकेर हिँड्दछु त्यही भएर अचेल म कुनै उपनामको खोजीमा छैन न त नामसँग मलाई कुनै गुनासो नै छ। जिन्दगीको मोल कर्मको मोल हुनुपर्छ नकि नामको अर्थको। झन् गुगल र ट्वीटरजस्ता लोकप्रिय कम्पनीले पनि आफ्नो अर्थहीन नामलाई लोकप्रियताको चुलीमा पु¥याएर अर्थपूर्ण बनाएका उदाहरण देख्दा नाममा भन्दा कर्ममा विश्वास गर्ने हौसला मिल्दछ। विना अर्थको नाम पाउँदा पनि मैले कहिलेकाहीँ मनलाई भन्ने गरेको छु– वाह जिन्दगी !
जिन्दगीमा सुट लाउने धोको पनि खासै भएन। अनि, जिन्दगी यतिविघ्न व्यस्तता र उतारचढावसहित बढ्ला भन्ने अनुमान पनि लाइएन। त्यही भएर होला अहिलेसम्म केवल दुईपल्ट सुट लगाएको याद छ। मन नपरेर भने पक्कै होइन। मनमा एउटा भ्रम थियो– आइटीमा डिग्री गरिसकेपछि त सुटेड बुटेड भएर अफिसमा गएर काम गर्नुपर्छ भनेर। त्यसैको लागि लिंक्डइन (linkedin) को प्रोफाइलमा फोटो हाल्नका लागि आफ्नै कोठामा सुट लाएर सेल्फी खिचेर केही वर्षअगाडि प्रोफाइल पिक्चर अपलोड गरेको थिएँ। तर आइटीका गिक साथीहरूको संगत हुँदै गएपछि त्यो भ्रम सजिलैसँग पखालियो। अर्कोपल्ट पनि त्यस्तै फोटोको लागि मात्र सुट लाएको थिएँ। त्योबाहेक मैले सुट लाउने धोको खासै राखिनँ। सुट लगाउनेहरूप्रति मलाई कुनै तुष भने छँदै छैन र कहिल्यै पछि आफूले सुट लगाउँदिन भनेर भन्न खोजेको चाहिँ होइन तर मान्छेको बाहिरी आवरणलाई मात्र हेरेर सुन्दरताको बखान गरिने प्रवृत्तिको चाहिँ व्यापक विरोधी हुँ। हालै अस्ट्रेलियाको एक शहरमा आयोजित कुनै कार्यक्रमको तस्वीरले मेरो मन छोएको थियो। कुर्सीको पहिलो लहरमा करिब १०–१२ जना मानिसहरू लहरैसँग बसेका थिए। सबैजना सुटेडबुटेड र साजसज्जायुक्त देखिन्थे। त्यसको बीचमा एकजना अधवैंशे मानिस सामान्य पाइन्ट र सर्ट लगाएर बसिरहेका देखिन्थे। जब सामान्य मानिस सुटुडबुटेड वा शक्तिशालीको जमात्को बीचमा उभिन्छ भने उसको उचाइँ पहिरनले भन्दा कर्मले तय गरेको रहे छ भनेर लख काट्न मलाई गाह्रो परेन। गान्धीले बृटिश त्यो तस्वीर हेरेर मैले ती सज्जनको ओज र तेजलाई तारिफ गर्दै मनमनै भनेको छु— वाह जिन्दगी !
जीवनजगत्लाई बुझ्ने र शिक्षा लिने क्रमसँगै धेरैपटक वाह जिन्दगी ! को आश्चर्य प्रकट गरिएको छ। मात्र फरक यत्ति हो कि कहिले यी दुई शब्दमा अथाह खुशीहरू प्रकट भएका छन् भने कहिले यी शब्दबाट जीवनको न्यूनतम विन्दुलाई मल्हम लगाउने प्रयत्न गरिएको छ। जीवन न हो। सबथोक यही भेटिन्छ, न स्वर्गको ठेगाना थाहा छ न त नर्कको ठेगाना थाहा छ, सब छ त यही जीवनभित्र छ। त्यसैले त जीवन विचित्र छ अनि सबैभन्दा विशिष्ट छ।
वाह जिन्दगी !