जब कुनै महत्वपूर्ण निर्णय लिन्छु, फिल्म वा अन्य क्षेत्रबाट ठूलो उपलब्धि हासिल हुन्छ, बजारभरि साइकलका टोकरी र पसलमा पाकेका आँप देखिन थाल्छन्, बुवाको तिथि या बाबुको मुख हेर्ने दिन नजिकिँदै जान्छ, मेरो मनमा अनौठा विचार पैदा हुन थाल्छन्।
दिमागमा बुवाको अनुहार झलझल्ती आउन थाल्छ। बुवासँगका यादहरू कता–कताबाट दिमागभित्र छिर्छन्। मनमा एउटा भिन्दै खाले पीडावोध हुन्छ।
अनि लाग्छ, मेरो जीवनको अभिन्न अंग भर्खरै मबाट चुँडिएर हावामा तैरिँदै टाढा–टाढा हुँदै गइरहेको छ। म त्यसलाई समात्न खोज्छु, तर त्यो कतै क्षितिजमा पुगिसकेजस्तो देखिन्छ।
तर, त्यो हराएको हुँदैन, मेरै वरिपरि घुमिरहेको हुन्छ। म यस कुरामा यकिन छु कि, मेरो दिमागमा चलिरहेका यीमध्ये धेरै सोचाइ भ्रम मात्र हुन्! यस्ता दिन वरिपरिका रातमा बुवाकै सपना देखिन थाल्छ। अनि तुरुन्तै त्यो रातको सपना सम्झन्छु, जुन सपना देखेको पर्सिपल्ट बुवाले संसार छाड्नुभएको थियो।
त्यो सपना कस्तो थियो र बुबासँगका स्मृति कस्ता थिए? अलि पछाडि भन्छु। अहिलेलाई आजको बुवाको मुख हेर्ने दिनको अस्तिको रात देखेको सपनाको कुरा गर्छु। त्यसले मेरो जीवनमा पारेको प्रभावको कुरा गर्छु।
बुवा कामबाट असिनपसिन भएर घर फर्किनुभएको थियो। बगैंचामा लटरम्मै आँप पाकेका थिए। घरभरि राता–पहेँला पाकेका आँप जताततै लडिरहेका थिए। पसिनै–पसिना हुनुभएको बुवाले हातमुख पनि नधोई आँप खान थाल्नुभयो। अघिसम्म थाकेको देखिने बुवाको अनुहार आँप खानेबित्तिकै तेजिलो देखियो।
हिजो दिनभर मलाई यो सपनाले पछ्याइरह्यो। एउटा विचारले अर्को विचार तान्दै मनसम्म ल्याइदिन्छ। त्यो सपनाले त्यस्तै गर्यो, बुवाका यादहरू एकपछि अर्को गर्दै आउन थाले। यसरी नै हिजोको दिन बित्यो। सुतेँ। आजको रात पनि त्यस्तै सपना देखेँ। उठ्दा आज बिहान अघिल्ला दिनका बिहानजस्तो थिएन। टाउको भारी भएको थियो। अनि कविताजस्तो केही लेखेँ। फेसबुकमा पोस्ट गरौं कि? सोचेँ। तर, गरिनँ। अर्को एउटा लाइन फुर्यो, अनि ट्वीटरमा पोस्ट गरेँ, ‘बुवा हजुर खुसी हुनुहुन्छ होला, किनकि म रुन छोडेँ।’
बुवालाई आँप साह्रै मन पथ्र्यो। आँप मन पर्ने भएकै कारण धनगढीस्थित घरनजिकै बुवाले आँपको बगैंचा नै बनाउनु भएको थियो। अहिले त त्यो घर हाम्रो स्वामित्वमा छैन। तै पनि धनगढी पुगेका बेला त्यो घर पुगेरै छाड्छु।
बगैंचाका आँप भने पाक्नै नपाई झरेरै सकिँदा रहेछन्। आँप र बुवाबीच छुट्टै साइनो रहेछ क्यारे! हुन त कारण अर्कै होला। तर, मन न हो, के–के सोच्छ के–के।
आज बिहानै आँप खोज्न निस्किएँ। थुप्रै पसल चहारेँ, बल्ल–बल्ल पाइयो। घर आएर पण्डितलाई सिदासहित आँप दान गरेँ। तीन वर्षदेखि पशुपति वृद्धाश्रम गएर बुढा बाहरूसँग भेट्ने गरेको छु। यसो गर्दा मनमा सन्तोष पलाउँछ।
यो स्ट्याटस मैले किन लेखेँ?
हुन त सबैका बुवासँग सबैका उस्तै स्मृति होलान्। मेरो कुनै नौलो पनि नहोला।
मेरा लागि बुवा मेरो प्रेरणा हुनुहुन्थ्यो।
बुवा बित्दा दिदी–दाइहरू सबै ‘सेटल’ भइसकेका थिए। घरको जिम्मेवारी मेरो काँधमा आयो। एकातिर आफ्नो करियर बनाउने बेला। अर्कोतिर घरको जिम्मेवारी। अनि पल-पलमा बुवाको अभाव खड्किन थाल्यो।
सोच्थेँ, ‘बुवाले यत्रो जिम्मेवारी कसरी सम्हाल्नुहुन्थ्यो होला?’
रुनु भनेको आँशु झार्नु मात्रै होइन। मैले बुवा बितेपछिका अप्ठ्यारा परिस्थितिलाई आँशु बिम्ब दिएकी हुँ।
मलाई बुवा बितिसकेपछिको समय र उब्जिएको परिस्थितिले साह्रै असहज बनाएको थियो। विस्तारै म ती जिम्मेवारीलाई सजिलो तरिकाले बहन गर्न सिक्दैछु। समय पहिलेभन्दा सहज हुँदै गएका छन्। लाग्छ, बुबा खुसी हुनुभयो होला!
अब म त्यो रातको सपना सुनाउँछु, जुन दिनको पर्सिपल्ट बुबाले संसार छाड्नुभएको थियो।
तराईको गर्मी छल्न ममी जेठदेखि साउनसम्म काठमाडौं बस्नुहुन्थ्यो। बुबा सःमिल चलाउनुहुन्थ्यो। उहाँलाई काठमाडौं खासै मन नपर्ने। भन्नुहुन्थ्यो, ‘काठमाडौं त मलाई डब्बाभित्र बन्द भएर बसेजस्तो लाग्छ।’
तै पनि अर्को साता उहाँ काठमाडौं आउने कुरा थियो। फोनमा घरमा आँप पाक्न थालेको कुरा सुनाउँदै हुनुहुन्थ्यो। सिजनका बेला बोराभरी आफैं बोकेर काठमाडौं ल्याउनुहुन्थ्यो। मलाई आँपमा उतिसारो चाख थिएन। म बुवा आउने कुराले नै बढी खुसी थिएँ।
उहाँलाई मुटुको समस्या थियो।
ठिक यसैबेला एकरात यस्तो सपना देखियो। मलाई लाग्यो, ‘केही त पक्कै हुँदैछ।’
बुबाले पहेंलो वान्ता गर्नुभयो। अनि भन्दै हुनुहुन्थ्यो, ‘अस्पताल लैजाओ। अब म धेरै बाँच्दिनँ।’
भोलिपल्ट बिहानै दिदीहरूलाई सुनाएँ। दिदीहरूले झपार्दै भन्नुभयो, ‘जाबो सपनाको कुरा गर्छे यो।’
तुरुन्तै बुबालाई फोन गरेँ र सुनाएँ। ताजा स्वरमा बुबा बोल्नुभयो, ‘म ठिक छु बेटा।’
तर, मलाई के थाहा? बुबासँग बोली मिसिने अन्तिम दिन त्यही थियो।
पर्सिपल्ट मेरी छिमेककी मिल्ने साथीले फोन गरी। खै किन हो? त्यो दिन उसको फोन आउनेबित्तिकै मेरो मुटुमा चिसो पस्यो। साथीले भनी, ‘तेरो बुवा ढल्नुभयो।’
उहाँलाई हार्टअट्याक भएछ।
अस्पताल लगियो। तर बुवा घर फर्कनुभएन, अस्पतालबाटै अस्ताउनुभयो।
दिदीहरूले त्यस दिनदेखि मैले देखेको सपना सुन्न छाड्नुभयो।
मलाई अहिले पनि बेला बखत अपत्यारिलो लाग्छ त्यो घटना।
बुवा, यतै कतै पो हुनुहुन्छ कि!
कहिलेकाहीँ यतैकतैबाट आएजस्तै आवाज सुन्छु, ‘बेटा।’
जेठो सन्तानका रुपमा दाइ जन्मिएको १८ वर्षपछि म जन्मिएको रे। मभन्दा माथि लगालग तीन दिदी भएपछि म जन्मिँदा बुवा ५४ वर्ष पुगिसक्नुभएको थियो। बुवा बित्दा म बीसकी थिएँ।
म ममीको कोखमा आउँदा उहाँहरूलाई छोराको आस थियो कि कसो, बुवा मलाई ‘तिमी मेरो छोरा हौ’ भन्नुहुन्थ्यो। दिदीहरू ममीजस्तै सानो कदको भए पनि मेरो ज्यान भने अग्लो र अलि ठूलो छ। बुवाको जस्तै। दिदीहरू ममीसँग बढी समय बिताउनुहुन्थ्यो। म बुवासँग।
बुवा धनगढीमा लायन्स क्लबको सक्रिय सदस्य हुनुहुन्थ्यो। कार्यक्रम, भोजभतेर, भेटघाटमा मलाई सँगै लैजानुहुन्थ्यो। उमेरमा ५४ वर्षको अन्तर भएकाले सबैले हामी बाबु–छोरीलाई ‘हजुरबा–नातिनी’ भन्थे। धेरैले मलाई दाइकी छोरी सोच्दा रहेछन्।
बच्चा बेलाका ममीसँगका स्मृतिहरू खासै छैनन्। अहिले चाहिँ ममी र म परिपुरकजस्तै भयौं। म जति रिसाउँथे, बुवासँगै रिसाउँथेँ। जति सुख–दुःखका कुरा हुन्थे, बुवालाई नै सुनाउँथेँ। बुवा जहिल्यै उत्प्रेरणा दिइरहनुहुन्थ्यो। हाम्रो साना उपलब्धिमा पनि हामीभन्दा धेरै खुसी भइदिनु हुन्थ्यो। हुन त हरेकका बाआमा उस्तै हुन्छन्, आफ्नो दुःख नदेखाई छोराछोरीका इच्छा पु¥याइरहने।
बुवा त्यस्तै हुनुहुन्थ्यो, छोरीहरूप्रति पूरा विश्वास, भरोसा थियो। तर, मैले बुवासँग धेरै समय बिताउन पाइनँ। कैलालीमा पाँच कक्षा पढेपछि अझै छोरीले अझै राम्रो स्कुलमा पढोस् भन्ने सोचले होला, बुवाले मलाई काठमाडौं पठाउनुभयो। म मामाघर बसेर पढ्न थालेँ। बुवा बेला–बेला काठमाडौं आइरहनुहुन्थ्यो। म जाडो विदा र दसैंमा मात्र घर जान पाउँथेँ।
दसैंको सम्झना अझै ताजै छ, बुवा मलाई पाँच सय दिँदै ‘ल यति पैसाले आफूलाई चाहिने लुगा किन्नु’ भन्नुहुन्थ्यो।
म भन्थेँ, ‘यतिले कहाँ पुग्छ त?’
‘हाम्रो पालामा एक रुपैयाँमा बीसवटा अण्डा आउँथ्यो,’ बुवा ठट्टा गर्नुहुन्थ्यो।
...
यति हुँदाहुँदै पनि फिल्मक्षेत्रमा लाग्ने बेला सुरूमै उहाँको सहयोग पाएको भने होइन। मैले फिल्म, मोडलिङतिर इच्छा देखाउँदा उहाँको इच्छा छोरी त्यतातिर नलागोस् भन्ने थियो। तर, मैले ‘मेरो मन पर्ने काम यही हो’ भनेर अड्डी कसेपछि उहाँले पछि त सहयोग गर्नुभयो।
बुवा बित्नुअघि नै मैले मिस नेपालमा भाग लिइसकेको थिएँ। म्युजिक भिडियो खेलिसकेकी थिएँ। त्यसबेला साह्रै खुसी हुनुभएको थियो।
मैले फिल्म खेल्दा भने बुवा संसारबाट बितिसक्नु भएको थियो। पहिलो फिल्ममा अभिनय गर्दाको खुसी सुनाउन मन थियो।
जब मेरो पहिलो फिल्मको प्रिमियर भयो, मैले त्यो भीडमा बुवाको अनुहार खोजेँ। यतै कतै हुनुहुन्छ जस्तो पनि लाग्थ्यो।
सोचेँ, ‘बुवा हुनुभएको भए कति खुसी हुनुहुन्थ्यो होला?’
त्यसपछि अरू फिल्म खेल्दै गएँ। राष्ट्रपतिको हातबाट अवार्ड पनि पाएँ। त्यतिबेला पनि मेरो मनले उहाँलाई नै खोजिरहेको थियो। उहाँको अनुहारको खुसी हेर्न मन थियो।
तर, बुवा खुसी हुनुभएको त सपना मात्रै देखिन्छ- जब कुनै महत्वपूर्ण निर्णय लिन्छु, फिल्म तथा अन्य क्षेत्रबाट ठूलो उपलब्धि हासिल हुन्छ, बजारभरि साइकलका टोकरी र पसलमा पाकेका आँप देखिन थाल्छन्, बुबाको तिथि या बाबुको मुख हेर्ने दिन नजिकिँदै जान्छन्।
तर, मेरो चाहना त यतिबेला बुवा विपनामै खुसी भएको हेर्नु हो।
प्रस्तुति: समुन्द्र राज घिमिरे*आर्काइभबाट- २०७३ भदौ १६ मा प्रकाशित