गाउँमा रहेको चौपारिको चिया पसलमा बेलुकीपख हल्काफुल्का गफगाफ चलिरहेको थियो। रेडियोमा पुराना गीत बजिरहेको थियो र गाउँका केही बुबा समानका मान्छेहरू चियाको कप हातमा लिएर सुरूप-सुरूप चियाको चुस्की लिँदै थिए। त्यत्तिकैमा एकजनाले अचानक भने, ‘पल्लाघरे साइँलो त भोलि बुटवल जान लाग्यो रे, अब उतै बस्ने रे!’
उनको त्यो वाक्य उच्चारण हुन साथ चिया पसलको माहौल एकाएक गम्भीर बन्यो। चिया पसलमै नजिकै बसिरहेको म आफ्नै तालमा चिया पिउँदै थिएँ तर त्यो वाक्यले मलाई पनि अन्तस्करणसम्म छोयो मानौँ गाउँको एउटा आत्मीय मान्छे छोडेर कतै जाँदै छ।
यस्तै यस्तै घटनाका साक्षी आज हरेक गाउँ समाज बन्न पुगिरहेका छन्। गाउँबाट भविष्यको खोजीमा सहर र सहरबाट परदेशसम्मको यात्रा तय गर्ने युवाको जमात आज लस्कर नै लागेको छ। गाउँघरमै बाल्यकाल बितेकोले सानैदेखि मलाई मेरो गाउँप्रति ठुलो माया लाग्दछ। बाबाले सहरमा घर बनाउनुपर्छ भन्दा मेरै जिद्दीले गर्दा घर बनाउनबाट रोकेको हुँ। सायद मलाई गाउँमै केही गर्नुपर्छ भन्ने जिम्मेवारीले सँगसँगै हिँडाउन खोज्दै छ, परिस्थितिसँग भाग्न हैन जुध्न सिकाउँदै छ।
करिब १५ वर्षको उमेरदेखि सुरु भएको पत्रकारिता र समाजसेवाको यात्राकै कारण आज मलाई राष्ट्रप्रेमी सुशील भनेर गाउँमा चिनाउन सकेको छु जस्तो लाग्छ। त्यसो त सानैमा राष्ट्रप्रेमी नामक गीत आफैले लेखेर गाएदेखि नै राष्ट्रको लागि केही गर्नुपर्छ भन्ने हुटहुटीले मलाई सेवा भावमा लाग्न प्रेरित गरेको थियो। सँगसँगै पढेका साथीहरू आज युरोपमा पुगेर आफ्नो घरमा डलर पठाउन लाग्दा म भने स्नातकको पढाइ सक्न साथ गाउँघरमै फर्केर केही गर्न सकिन्छ कि भनेर सम्भाव्यता खोज्दै छु।
गाउँघरमा बस्दा माया, आत्मीयता र सामीप्य बढेको जस्तो लाग्छ। गाउँ घर हाम्रो प्रकृतिले दिएको सुन्दर उपहार हो जसलाई संरक्षण गर्नु हामी सबैको कर्तव्य हो जस्तो लाग्छ। आज अधिकांश गाउँघरमा घर छन् तर मान्छे छैनन्, खेतबारी छन् तर ती खेतबारीमा पसिना बगाउने हात छैनन्। सुविधाको पछि लाग्दै सबैजना सहरतर्फ धाइरहेका छन् र गाउँ बिस्तारै सम्झनामा सीमित हुँदै गएको छ।
यी नै बदलिँदै गरेको परिस्थितिले मलाई बारम्बार सोच्न बाध्य बनायो-
यदि सबैजना सहर लाग्ने हो भने गाउँ बचाउने कसले?
यदि हामीले आफ्नो माटो नै छाड्यौँ भने बिउ कहाँ रोप्ने?
गाउँघर संस्कृति र सभ्यताको जननी हो। गाउँघरलाई हामीले बचाउन सके मात्र हाम्रो मूल्यमान्यतालाई संरक्षण गर्न धेरै मद्दत पुग्दछ। आज अधिकांश गाउँका घरहरूले घरमा बस्ने मान्छे खोजेको छ, गाउँले जीवन सामान्य होला तर सुखदुख एक साझा जीवन हो, जहाँ बिहानको पधेरामा पानी थाप्दादेखि बेलुकाको घाँस-दाउरा गर्दाको समय गाउँलेहरू कुराकानी गर्दै आफ्नै संसारमा रमाइरहेका हुन्छन्।
सुविधाको खोजीमा गाउँ त्याग्ने होइन, सुविधा सिर्जना गर्न गाउँमै बस्नु छ। मसँग धेरै केही पनि छैन तर गाउँप्रतिको माया अथाह छ। संसारलाई बदल्ने सामर्थ्य छैन तर आफ्नै गाउँ बदल्ने चाहना छ। अर्काको देशमा गुमनाम भएर बस्नुभन्दा आफ्नै गाउँमा केही बनाउने सपना छ। सायद यिनै कुराले गर्दा अनि मैले आफैँलाई भने अब गाउँमै बस्छु!