हाम्रा पिताजी तेज प्रसादको बिहे २०१३ साल मङ्सिर महिनामा भएको थियो रे। बिहे हुँदा पिताजीको उमेर १९ वर्षको रहेछ रे। त्यो बेला १९ वर्षमा बिहे गर्नु भनेको ढिलै मानिन्थ्यो। उति बेला प्युठानको बाइसखुवा भनेर चिनिने क्षेत्र अन्तर्गतको अर्थात् हालको रोल्पा जिल्लाको सिर्प निवासी टंकेश्वर रिजालकी साहिँली छोरी रामकुमारीसँग पिताजीको बिहे भएको थियो।
२०१८ सालमा हाम्री एक मात्र फुपू चन्द्राको बिहे भएको थियो रोल्पाकै जसपुरमा। त्यस्तै माइलाबाको बिहे २०१९ असारमा सदरमुकाम लिबाङबाट भएको थियो। मातापिताका पहिलो पुत्रका रूपमा दाइ गोविन्दको जन्म २०१८ चैतमा भएको थियो भने २०२१ असार १९ मा मेरो जन्म भएको थियो। २०२२ सालमा हजुरबाबाट अलग्गिएर पिताजीको अंशबन्डा भएपछि हामी चार सदस्यीय परिवार मानबहादुर हमालको घरको एउटा कोठामा बस्न थाल्यौँ।
पिताजीले तत्कालीन प्युठान र हालको रोल्पाको खुमेलस्थित विद्यालयमा शिक्षण पेसामा रहँदै गर्दा २०२३ सालमा गाउँमा आफ्नै घर बनाउन थाल्नुभयो। २०२४ सालमा म तीन वर्षको हुँदा निर्मित स्लेट ढुंगाले छाएको सो घरमा हामी सरेको मलाई राम्रोसँग सम्झना छ। आमा कम तर छिटोछिटो बोल्ने अनि घुमाएर लामो कुरा नगर्ने, थोरै शब्दहरूको वाक्य मात्र बोल्ने गर्नुहुन्थ्यो।
कानमा लगाएका बुट्टेदार माडबारी र ढुङ्ग्री लगाएको औधी सुहाउने ‘सिर्पाल्नी’ उपनामले चिनिनुहुने हाम्री आमा तीजमा चाहिँ समय निकालेर देवीस्थानको प्रांगणमा नाच्न जानुहुन्थ्यो महिलाहरूको समूह बिचमा। बिस्तारै ढल्की ढल्की र घुमी घुमी नाच्ने उहाँको कला सबैले मन पराउँथे।
भाँचिएको मेरो करङ
म आठ वर्षको हुँदा अर्थात् २०२९ साल फागुन महिनातिर बार्दलीमा खेलिरहेको अवस्थामा त्यहाँबाट भुइँमा बजारिएको रहेछु। त्यसै क्रममा मेरो माथिल्लो एउटा करङ भाँचिएको रहेछ। बार्दलीबाट खसेको कुरा आठ वर्षको उमेरमा कसरी पो थाहा पाउनु चेतनहीन बालक भएकोले। मेरो उमेर ४० वर्ष कटेपछि बेलाबेलामा डाँड दुखिरहने समस्याले गर्दा २०६४ सालमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत शिक्षण अस्पताल महाराजगन्जमा स्वास्थ्य परीक्षण गराउने क्रममा एक्स-रे गरेपछि माथिल्लो करङ भाँचिएको र त्यसैको माथि सानो र तिखो आकारको अर्को करङ पलाएको देखियो। चिकित्सकको सिफारिसमा पीडा कम गर्ने औषधि सेवन गरियो र थेरापी पनि सुरु गरियो। विभिन्न तरिकाबाट थेरापी गर्दा पीडा केही कम भएको महसुस त भयो, पूरै निको भने भएन।
पछि प्राकृतिक चिकित्सा पद्धति अपनाउने काठमाडौँको बाँसबारीस्थित एक अस्पतालमा गएर दिनहुँ मालिस गर्न थालेँ। त्यहाँ मालिस दाङका चौधरी युवाहरूले गर्दा रहेछन्। डाक्टरलाई घर कहाँ होला भनेर सोध्दा रोल्पा भनेपछि ‘म पनि रोल्पाकै हुँ’ भनेर जानकारी दिएँ। एकछिनको भलाकुसारीपछि अर्का बिरामीको पालो आयो र म थेरापी कक्षमा पुगेँ। व्यायामका विधिहरू कतिपय घरमै रहेर गर्न मिल्ने खालको रहेछ। एक दिनको छ सय रुपियाँमा थेरापी गराउनुपर्दा मेरो आर्थिक अवस्थाले नथेगेपछि थेरापी गर्न छोडिदिएँ। डेढ वर्षअघि बित्नुभएकी हाम्री एक मात्र फुपूलाई केही वर्षअघि मैले आफ्नो करङ भाँचिएको र बेग्लै सानो करङ पलाएर आएको कुरा सुनाउँदा म आठ वर्षको हुँदा बार्दलीबाट खसेको फुपूले जानकारी दिनुभएको थियो।
बिहानै खाना तयार
२०३६ सालदेखि अर्थात् आठ कक्षादेखि माध्यमिक स्तर अध्ययनका लागि प्युठानको भिंग्रीस्थित अमर माध्यमिक विद्यालयमा पुग्न साढे दुई घण्टा लाग्ने हुँदा हामी नउठ्दै बिहानै आमाले भात र झोलवाला तरकारी तयार पारिसक्नु भएको हुन्थ्यो। तरकारीमा सिन्की, बरी (मस्यौरा), सुकासाग (तोरीको सागलाई उसिनेर सुकाएको), सुकाइएको कर्कलो गाभामध्ये एउटा हुन्थ्यो। दाल-भात-तरकारी खाने अनुकूलता भनेको बिदाको दिनमा मात्र हुन्थ्यो।
सात बजे खाना खाएर रोटी वा मकै भटमास बोकेर विद्यालयतिर जाँदा विद्यालय पुग्नुभन्दा अलि वरै बाटोको छेउछाउका झाडी वा दुलोमा खाजा लुकाएर राख्थ्यौँ। बिहानै सात बजे नै खाना खानुपर्दा र दश किलोमिटर लामो दूरीको पैदल यात्रा गर्नुपर्दा विद्यालयमा दिउँसै भोक लाग्दथ्यो। भोक सहेर पढाइ सकेर चार बजे विद्यालय छुट्टी भएपछि हामी समूहमा रहेर घरतर्फ लाग्थ्यौँ। बाटो छेउछाउमा आफैले लुकाएर राखेको खाजा रोटी वा मकै-भटमास खाएर अनि धनबाङखोलाको पानी पिएर भोक मेट्थ्यौँ। लुकाएर राखिएको खाजा कहिलेकाहीँ मुसा वा चराले बेपत्ता पारिदिएको अवस्था पनि हुन्थ्यो। त्यस्तो अवस्थामा हामीले बाटोमा पर्ने किमिचौरको एक पसलबाट एक रुपैयाँ पर्ने गोरखा बिस्कुट किनेर अलि पर रहेको जरुवा पानीको सानो कुण्डमा बिस्कुटका चक्का भिजाएर खान्थ्यौँ।
खडानन्द सुवेदीले भन्नुभयो- ‘एसएलसी त फलामको ढोका हो!’
२०३९ सालको एसएलसी परीक्षा आउन केही महिना मात्र बाँकी थियो, हामीहरूका लागि पढाइमा नै ध्यान दिइरहनुपर्ने अवस्था थियो। त्यसै बखत एक दिन हामी विद्यालयबाट फर्किएर नौ किलोमिटर पार गर्दै गर्दा अर्थात् घर आउन एक किलोमिटर बाँकी रहँदाको स्थान देवीस्थान (त्रिपुरासुन्दरी देवीको मन्दिर) निर आइपुगेपछि रोल्पाका तत्कालीन राजनीतिज्ञ तथा समाजसेवी खडानन्द सुवेदी (२०५५ सालमा दिवङ्गत) सँग जम्काभेट भयो। उहाँ कतै जानका लागि पैदल यात्रामा हुनुहुन्थ्यो। साँझ पर्न लागेको थियो, उहाँले हामीहरूलाई ‘लौ है बाबुहरू हो! राम्ररी पढ्नुपर्छ, एसएलसी त फलामको ढोका हो!’ भन्नुभयो।
त्यति बेला एसएलसीमा रोल्पा केन्द्रबाट एक/दुई जना मात्र एसएलसीमा उत्तीर्ण हुन्थे भने प्युठानको भिंग्रीको हामीले अध्ययन गर्ने अमर माविबाट रोल्पाको तुलनामा बढी उत्तीर्ण हुन्थे। हाम्रो पालामा हाम्रै गाउँका मात्र चार जनाले एसएलसी परीक्षा उत्तीर्ण गर्दा विद्यालयकै गौरवको रूपमा लिइएको थियो। किनकि नौ जना उत्तीर्ण भएकामध्ये चार जना हाम्रै गाउँका र दुई जना रोल्पाकै घोडागाउँका थिए। अझ भन्नुपर्दा प्युठानको भिंग्रीमा अध्ययन गर्ने नौ जना मध्ये छ जना रोल्पाका थियौँ।
हाम्री आमाको व्यस्तता
एक घण्टा पैदल दूरीको देउखुरी फाँट र आधा घण्टा हिँड्नुपर्ने गोधुङ फाँटमा रहेका खेतमा क्रमशः असार र साउनमा मात्रै धान रोपिने गरिन्थ्यो। धान रोप्ने खेताला, रोपाहार लगायतका लागि भर्नी (खाना) तथा अर्नी (खाजा) को रूपमा शुद्ध घिउमा तयार गरिएका रोटी र सिन्की वा अन्य केहीको अचार, चनाको बिरौला लगेर जानुपर्थ्यो। यी सबै खानेकुरा आमाले एक्लै तयार पार्नुहुन्थ्यो र हामीहरूले बोकेर जान्थ्यौँ खेत भएको फाँटतिर।
सिन्कीको प्रसङ्ग
कात्तिकको अन्त्यतिर बारीका मुला उखेलेर अनि पखालेर ढिकीमा कुटिन्थ्यो र करिब चार फिट गहिरो खाडलमा भित्तातिर केराका थामका सुकेका पत्रहरू बिछ्याइन्थ्यो। खाडलमा पालैपालो ताल ताल पारेर कुटिएको मुलाको जरा र पात मिलाएर राखिन्थ्यो धोएको सफा खुट्टाले खाँदेर। खाडल भरिएपछि माथिबाट परालले छोपेर राखिन्थ्यो र त्यसमाथि गह्रौँ खालका ढुंगाले थिच्ने गरिन्थ्यो। दुई तीन हप्तापछि सिन्की खानका लागि तयार हुन्थ्यो। खाडलबाट सिन्की झिकेर मान्द्रामा फिँजाएर सुकाएर घाममा राख्दा सय मिटर परैबाट बटुवाले बास्नाबाट थाहा पाइहाल्थे सिन्की झिकेको। ठुला पिस सिन्की चाख्दै हिँड्नेमा महिलाहरू बढी हुन्थे, सायद पुरुषहरूलाई भन्दा महिलाहरूलाई अमिलो खाद्यवस्तु मन पर्ने भएर होला।
सिन्कीमा सर्स्युँको धुलो मलेर बट्टामा अचार बनाएर पनि राखिन्थ्यो। सिन्कीको बास्ना र रङले मान्छेको मुखै रसाउने हुन्थ्यो। अहिले हाम्रो गाउँमा खाडलमा सिन्की खाँद्ने चलन हराउँदै गएको छ। किनकि धान नरोपेपछि पराल हुँदैन, केराका बोटहरू लोप हुँदै गएपछि केराका थामका सुकेका बोक्रा हुने कुरा पनि भएन। यातायातका साधनहरू चल्न थालेपछि हाम्रो गाउँमा केराका बोटहरू मासिँदै गए।
दुलहीको योग्यता
त्यति बेला गाउँघरमा कन्याको खोजी गर्ने क्रममा घाँस वा दाउराको भारी हेरेर योग्यता जाँचिन्थ्यो, अहिले ब्याचलर र डिग्रीको योग्यता झैँ। हाम्रा बाजेसहितका केही आफन्त कन्याको खोजी गर्ने क्रममा सिर्प जाँदा तेह्र वर्षकी कलिलो उमेरकी हाम्री आमाले वनबाट घाँसको गतिलो भारी ल्याएर गोठको छेउमा बिसाएपछि उहाँ दुलही बन्न योग्य ठानिएको रहेछ। कतिपय महिलाहरू माइतीगाउँको बोलीचालीको लवज बिहे गरेर कर्मघरको गाउँमा आए पनि परिवर्तन गर्न गाह्रो मानेको पाइन्छ भने हाम्री आमाले आफ्नो माइतीगाउँको बोलीचालीको लवज परिवर्तन गरिसक्नु भएको कुरा उहाँका समकालीनबाट सुन्यौँ।
जिजुबाजेदेखिका बिहेका प्रसङ्ग
‘खुंग्रेली साहु’ को उपनामले चिनिनुहुने विसाधर सुवेदीले हाम्रा जिजुबाजेलाई छोरी दिएपछि बाजे गजाधरको जन्म भएको थियो भने ‘नम्जाली साहु’ को उपनामले चिनिनुहुने हुमलाल पोखरेलले बाजेलाई छोरी दिएपछि हाम्रा पिताजी सहित चार सन्तानको जन्म भएको थियो। त्यस्तै ‘सिर्पाली पण्डित’ टंकेश्वर रिजालले पिताजीलाई छोरी दिएपछि हामी चौध भाइबहिनीहरूको जन्म भएको हो। छ भाइ-बहिनीहरू बालकैमा बितेकाले आठ जना जीवित छौँ। घर व्यवहारमा धेरै नै व्यस्त हुनुपर्दा कुनै बखत आमा अठार वर्षपछि माइतीघर जानुपरेको कुरा मैले ४५ वर्षअघि नै सुनेको थिएँ।
वनमा जान नभ्याउने आमा
हाम्री आमा उहिल्यैदेखि नै वनमा जान भ्याउनुहुन्नथ्यो, उहाँका घरमै तमाम कामहरू हुन्थे। २०३६ सालमा दाइको बिहे हुनुअघि उहाँलाई सघाउने कोही पनि थिएनन्। हामी सबै साना अनि विद्यालय जानुपर्ने। यारी, डोकोडासे, रेला, जिलाखोला, टाँरापाखा, खुलखुले, चुलढुंगा, मजुवा नामका वनमा गएर गाई-गोरु चराउन र घाँस-दाउरा लिन जाने चलन अहिले हराइसकेको छ। घरघरमा ग्यासको प्रयोग हुन थालेपछि पछिल्लो समय वनमा दाउरा लिन जाने कमै भेटिन्छन् भने गोठमा चौपाया पनि खासै देखिँदैनन् र घाँसका लागि वनमा जाने कुरा पनि भएन। एक किसिमले भन्नुपर्दा गाउँलेहरू प्रकृति विमुख हुँदै गएको देखिन्छ। आधुनिक शैलीतिर मानिसहरू ढल्किँदै जाँदा प्राकृतिक व्यायामको कमी हुन गई बिरामी पर्दै आएका छन्।