‘चिया–खाजा खाने, ट्वाइलेट जाने भए झर्नु होला है, टाढा यता–उता नजानु होला!’— सहचालकको यो परिचित उर्दीसँगै बस रोकिन्छ।
‘दाइ, खाजा के–के छ?’— एक यात्रुको प्रश्न आउँछ।
प्रश्न पूरा हुन नपाउँदै साहुजीको उत्तर तयार हुन्छ— ‘चना–अण्डा १००, चिया ३०, चाउचाउ पकाएको ५०, चाउमिन हाफ ७०, पानीको बोतल ३५। के दिऊँ?’
ग्राहक एकछिन अनिर्णीत बन्छ। सायद उसलाई आफ्नै सहर वा गाउँको तुलनामा यहाँ सबै कुरा महँगो लागिरहेको हुन्छ। केही बेर वरिपरि घुम्छ, विकल्प नपाएर अन्ततः फर्किन्छ र सेवा लिन्छ। विकल्प पनि कसरी होस्— बस प्रायः यस्ता ठाउँमै रोकिन्छ जहाँ अरू होटेल नै हुँदैनन्।
नेपालका धेरै यात्रुहरूका लागि लामो दूरीका रात्रि बसहरू जीवनको नियमित हिस्सा बनेका छन्। तर यस्तो यात्रामा सबैभन्दा असहज र चिन्ताजनक पक्षमध्ये एक हो— बाटोमा हुने खानपानको व्यवस्था, जसलाई प्रायः ‘बाटोको भात’ भनेर चिनिन्छ।
अलि पहिलेको तुलनामा अहिले केही सुधार देखिए पनि समस्या भने अझै पनि कायम छ।
रात्रि बसहरू साधरणतया साँझ विभिन्न सहरबाट छुट्छन्। यात्रा बिचमा करिब अबेर साँझ वा मध्यराततिर बस केही निश्चित स्थानहरूमा रोक्छ, जहाँ यात्रुहरूलाई खानाको अवसर दिइन्छ। यी स्थानहरू प्रायः राजमार्ग छेउका रेस्टुराँ वा ढाबा हुन्छन्। वास्तवमा, ती सञ्चालकहरू प्रशंसाका हकदार छन्— किनभने यति धेरै यात्रुहरूको ‘पेट पूजा’ को व्यवस्था मिलाइदिनु सानो कुरा होइन।
तर यस्ता स्थानहरूको अवस्था भने अझै पनि सन्तोषजनक छैन।
सबैभन्दा पहिले, स्वच्छताको समस्या। खाना पकाउने ठाउँमा धुलो, धुवाँ र माछामुखी देखिनु सामान्य कुरा जस्तै छ। पानीको स्रोत स्पष्ट हुँदैन, भाँडाकुँडा राम्ररी धुइँदैनन् र कतिपय ठाउँमा बाँकी खाना पुनः तताएर परोसिन्छ भन्ने पनि सुनिन्छ। यस्तो अवस्थामा यात्रुहरू बिरामी पर्न सक्ने जोखिममा हुन्छन्।
‘बाबु, मलाई चोखो रोटी र दूध वा दही पाइन्छ त?’ एकजना वृद्ध आमाको स्वर सुनिन्छ।
बस रोकेपछि आमाको अनुरोध सुन्नासाथ साहुजी कामदारलाई भन्छन्— ‘ए भाइ, आमाका लागि रोटी र दही ल्याइदेऊ त।’
आमा नजिकैको टेबलमा बस्नुहुन्छ। कामदार हतारमा आउँछ, कचौरामा दही राख्छ र तसलाबाट दुई वटा रोटी थालमा राखिदिन्छ। ‘खानुस्’ भन्न पनि समय नभएझैँ फर्किन्छ।
पहिलो रोटी खाएपछि दोस्रो समात्दै गर्दा आमाले रोटीमा दालको छिटा देख्नुहुन्छ।
‘बाबु, चोखो रोटी भनेको दाल पो लागेको छ त!’— आमाको गुनासो।
‘दाल त चोखो नै थियो, आमा,’— साहुजीको सहज उत्तर।
‘म भान्सा खाने मान्छे, यस्तो हुँदैन नि,’ भन्दै आमा निस्कनुहुन्छ।
‘अनि बाटोमा घरको जस्तो कहाँ हुन्छ र आमा!’ साहुजीको सिधा प्रतिक्रिया!
यो संवाद सायद धेरै यात्रुको कहिल्यै नबिर्सिने कथा हो।
त्यस्तै, शौचालयको समस्या अझ गम्भीर छ। यात्रा गर्दा यात्रुले प्रयोग गर्नुपर्ने शौचालयहरू यति फोहर र दुर्गन्धयुक्त हुन्छन् कि श्वास फेर्न मै गाह्रो पर्छ। चाहे सार्वजनिक शौचालय होस् वा खाना–नास्ताका लागि रोकिएको होटेलको शौचालय, दुर्दशा उस्तै। स्वस्थ र युवा उमेरका मानिसलाई समेत प्रयोग गर्न गाह्रो हुने यस्ता स्थानहरू साना बालबालिका, वृद्धवृद्धा तथा बिरामीका लागि भने झनै कष्टकर हुन्छन्।
दोस्रो समस्या हो व्यवहार। लामो यात्रा गरेर थकित यात्रुहरूलाई सान्त्वना दिनुको साटो कतिपय होटेलका मालिक वा कामदार अत्यन्तै कठोर र अभद्र व्यवहार गर्छन्। खाना ढिलो आउने, अर्डर सुन्न मन नलाग्ने, यात्रुले सानो कुरा सोध्दा झर्किने— यस्ता घटनाहरू सामान्यजस्तै छन्।
१२–१५ दिनअघि कार्यस्थल दाङबाट घर फर्कँदै गर्दा म पनि यस्तै अनुभवको साक्षी बनेँ। झन्डै ५–७ किलोमिटर यात्रा गरेको थिएँ, बस रोकियो र सहचालकले भने— ‘खाना खाने समय भएको छ।’ करिब १५ भन्दा बढी बसहरू त्यहाँ रोकिएका थिए। अरू बसहरू ठाउँ नपाएर सडकमै उभिएका थिए।
म पनि अरूसँगै झरेँ। होटेलभित्र पस्ने प्रयास गरेँ तर भिडका कारण छिर्न सकिनँ। भर्खर बस चढेको हुँदा भोक पनि खासै लागेको थिएन।
२० मिनेटमा छुट्ने भनिएको बस एक घण्टा पुग्दा बल्ल केही यात्रुहरू गुनगुनाउँदै फर्किए।
‘ह्यात्तेरी! क्या झुर खाना! जति पेल्दा पनि घाटीमा छिरेन,’ एकजनाको प्रतिक्रिया।
‘के भन्नु यार, बिहानदेखि भोकै थिएँ। स्वाद त कस्तो थियो कुन्नि, थाल खाली भएर थप मागेँ, आधा घण्टापछि बल्ल ल्यायो,’ अर्को।
‘चिकेन भनेको खुट्टा, टाउको, पखेटा र घाँटीको टुक्रा मात्रै रहेछ,’ अर्को यात्रुको गुनासो।
तर बस चालक र कर्मचारीका लागि भने फरक व्यवहार र फरक गुणस्तर। उनीहरूका लागि छुट्टै मान्छे, उपलब्ध मध्ये राम्रै खाना, त्यो पनि निःशुल्क। अनि कतिपय होटेलले त चालकलाई पैसा समेत दिने गरेको सुनिन्छ। यात्रुले हेर्दा नै सफा र 'थकाली सेट' जस्तै देखिने खाना चालकलाई पस्केको दृश्य देखेर लाग्छ— यात्रुहरूका लागि यसभन्दा ठुलो अपमान र विभेद के हुन सक्छ?
खाना खान सुरु गर्दा स्वाद नलागेर धेरैले आधा खाना नै फ्याल्नु परेको देखिन्छ। यसले उपभोक्ताले सन्तुष्टि नपाउनुका साथै ठुलो परिमाणमा खाना बरबाद हुन्छ।
तेस्रो समस्या हो लागत। यी बाटोका रेस्टुराँहरूले प्रतिस्पर्धाको अभावमा मनपरी मूल्य लिन्छन्। साधारण भात–दाल–तरकारीको मूल्य पनि सहरका राम्रै रेस्टुराँ बराबर पर्न सक्छ। यात्रुसँग विकल्प नभएकै कारण उनीहरू बाध्यतावश त्यहीँ खानुपर्छ।
यस प्रकारका होटेलहरूको गुणस्तरअनुसार नियमन कसले गर्छ? धेरै नेपालीलाई थाहा नै छैन—किनकि प्रायः यस्तो नियमन कहिल्यै देखिँदैन। गुनासो उठे पनि सम्बन्धित निकायको चासो देखिँदैन।
यी सबै कारणले ‘बाटोको भात’ नेपाली यात्राको एउटा नकारात्मक अनुभव बन्न पुगेको छ। घरबाटै सुक्खा खानेकुरा लिएर निस्कन पनि सबैलाई सजिलो हुँदैन।
यद्यपि, यस्ता होटेल तथा रेस्टुराँ सञ्चालकहरूलाई धन्यवाद दिनु उचित हुन्छ। ती व्यवसायीहरूले मध्यरातमा पनि यात्रुहरूको लागि खाना, पानी र विश्रामको व्यवस्था उपलब्ध गराएर हजारौँ मध्यम तथा न्यून–आय भएका यात्रुहरूका लागि खाद्य सुरक्षा सुनिश्चित गरिरहेका छन्। उनीहरूको प्रयासकै कारण धेरै यात्रुहरू लामो यात्रामा भोकै बस्नबाट बचिरहेका छन्।
अब सरकार, होटेल व्यवसायी र यातायात व्यवसायी संघहरूले यस विषयमा गम्भीर ध्यान दिन आवश्यक छ। यात्रुहरूको स्वास्थ्य, सुविधा र सम्मानका लागि राजमार्गका रेस्टुराँहरूमा स्वच्छता मापदण्ड र मूल्य नियन्त्रण लागू गर्न सकिए यात्राको गुणस्तर निकै सुधारिन सक्छ।
त्यस्तै, बसका कर्मचारी र होटेल मालिकहरूले मिठो व्यवहार, सफा खाना र न्यायोचित सेवा प्रदान गर्न सके यात्रुहरू खुसी बन्नुका साथै आफ्नै व्यवसायको प्रगति हुने सकारात्मक सोच विकास गर्न जरुरी छ।
अन्ततः ‘बाटोको भात’ केवल पेट भर्ने कुरा मात्र होइन— यो यात्राको संस्कृतिसँग जोडिएको एउटा अनुभव हो जसलाई सुरक्षित, सभ्य र सम्मानजनक बनाउन हामी सबैको भूमिका छ।
‘यात्रा गर्दा थकाइले घरी घरी, स्वादै पनि बिर्सिने
टक्क गाडी रोकिँदा होटेलमा, आत्मा निकै हर्षिने।
कहिलेकाहीँ भने अति मिठो, पाइन्छ खान पनि,
कहिले कहीँ धुवाधुलो झिँगाहरू, मन हुन्न जान पनि।
धन्य भन्छु अँध्यारोमा खान दिने, कर्मठ व्यापारी कन
यात्रालाई रमाइलो पारिदिउन्, खाना सपारी कन।’