आजभन्दा २१ वर्ष अगाडि एक जना शिक्षक साथी प्लस-टु पढाउँदै गर्दा विद्यार्थी देखेर वाक्क भए। उनी प्राचार्यको कोठामा गएर ‘आजदेखि म नपढाउने भएँ, यस्तालाई पढाउनभन्दा त बरु सिरक ओढेर सुत्ने, एक छाक खाने बरु’ भन्दै जागिर छाडेको आफैले देखेको थिएँ।
सजिलो छैन मास्टरी पेसा। समाजमा अरू जागिर प्रयास गर्दा नपाएपछि शिक्षकमा आउने चलन विद्यमान छ तर शिक्षण पेसा बाहिर हेर्दा सोचे जस्तो सजिलो पनि छैन। एकातिर बाबुआमाले तह लाउन नसकेका बच्चा, अर्को तर्फ अन्य जिम्मेवारी छन्। हेर्दा सजिलै लाग्छ जुनै काम पनि तर हरेक काममा लगन, मेहनत, लगाव, धैर्य, सहन, समर्पण चाहिन्छ नै। शिक्षकमा त यो झनै चाहिन्छ।
२०२८ सालमा राष्ट्रिय शिक्षा पद्धतिको योजना लागु भयो। सेमेस्टर गयो, वार्षिक प्रणाली आयो। दाताले खाता चलाउने, उनीहरूका कुरा सुन्न पर्यो। धेरैले भन्दछन् सेमेस्टर ठिक, वार्षिक प्रणालीले बिगार्यो। आखिर प्रणाली कुनै पनि आफैमा ठिक बेठिक होइन। आखिर काम शिक्षक-शिक्षिकाले गर्ने हो, ज्ञान बालबालिकाले लिने हो नै।
अहिले सेमेस्टर फर्केर आयो तर सुध्रेन किनकि प्रणालीले सुध्रने होइन; गर्ने त विद्यार्थी, शिक्षक, अभिभावक, समाज र राज्यले हो। सबैको मेहनतबाट समग्र सुधार हुने हो। तर एक पक्ष सक्रिय हुँदा अर्को पक्षले लत्तो छाडेकाले समस्या जहाँको त्यही छ। हाम्रा सरकारी संरचना कहाँ पुगे, उपलब्धि शून्य छ। पुस्तकालयमा धुलो छ, कोही जाँदैन। शिक्षक-विद्यार्थी अन्तरक्रिया हुँदैन, जसरी घरमा बा-आमा छ छोराछोरी बोल्न भ्याउँदैनन्।
खाँदा पनि मोबाइल हेरेर निल्ने धकेल्ने संस्कार आयो। बाबु-आमा पनि काम गरेर बचे कुचेको समय अरूको कथा, नाटक, फोटो हेरेर समय फ्याँक्छन् तर सन्तानप्रति सोधपुछ गर्दैनन्। उनीहरूलाई लाग्छ- जे गर्छ बिटाले गर्छ। सबै ठाउँमा बिटाले गर्दैन।
दैनिक अध्यापनको अतिरिक्त दैनिक पाठ योजना, प्रोजेक्ट वर्क, अतिरिक्त क्रियाकलाप, अभिभावक सम्पर्क गृहकार्य जाँच परीक्षा प्रश्नपत्र तयार कापी काट्ने आदि सबै काम गर्नुपर्छ। यी सबै कुरा शिक्षण पेसामा जोडिएका छ नै, यस बाहेक पनि विद्यार्थी, स्कुल, कलेज, अभिभावक सबैको केही न केही बढी अपेक्षा हुन्छ नै। गर्ने नगर्ने शिक्षक आफैमा भर पर्छ।
पहिलाको मास्टरी र अहिलेको मास्टरीमा आकाश पाताल फरक छ। पहिला विद्यार्थी ज्ञानी थिए, सामाजिक सञ्जाल आदि पढाइमा दक्खल दिने केही साधन थिएन, केवल टिभी थियो त्यो पनि निश्चित कार्यक्रम। अहिले नानाथरी छन्। अभिभावक पनि कम व्यस्त थिए, महँगाइ थिएन, पाठ्यक्रम पनि सजिलो थियो, विषयवस्तु कम थियो। प्रतिस्पर्धा पनि कम थियो।
अहिलेको समय शिक्षकभन्दा ठुलो गुगल र एआई शिक्षक बनेको छ। सबै कुरा नेटमा छ, मात्र जाँगर चलाएर खोज्नु पर्यो। सबै कुरा सहज छ, विषयवस्तु समयानुकूल कठिन हुन थाल्यो। पढ्ने धेरै भए।
अहिले कसरी शिक्षण सहज बनाउने त? यो विषयमा धेरै कुरा आएका छन्। सिद्धान्त त विद्यार्थीले बुझ्नु मुख्य लक्ष्य त्यही भए पनि मार्ग अलग छन्। पहिला शिक्षक पथ प्रदर्शक हो, अहिले सहजकर्ता हो। काम स्वयम विद्यार्थीले गर्ने शिक्षकले त सहज पार्ने हो। बाटो स्वयम विद्यार्थीले हिँड्नुपर्छ।
न भौतिक सजाय छ न त हप्काइ, धम्काइ, पिटाइ, कुटाइ। केवल वातावरण बनाइदिने हो सहजीकरण गर्ने, बाँकी विद्यार्थी स्वयमले गर्ने हो। तब मात्र सबल हुन्छ, सिक्छ। यहाँनेर चाइनिज भनाइ लागु हुन्छ- मलाई आफै गर्न दिए अधिक राम्रो, धेरै सिक्ने। सुनाए कम सिक्ने। देखाए अलिक बढी सिक्ने आदि।
पहिलाको अवस्थामा सबै कुरा शिक्षकले गर्दथे। हुन त अहिले गृहकार्य अभिभावकलाई दिएको भन्ने आरोप छ किनकि विद्यार्थीको दिमागले भ्याउने गृहकार्य हुँदैन। अहिले गृहकार्य धेरै नै हुन्छ मानौँ किनकि बिदा छुट्टी नै गृहकार्य गर्न दिएको जस्तो विद्यालयहरूमा अभिभावकहरू कराउन आउँछन्। गृहकार्यले पेल्नुस्, धेरै दिनुस् ताकि यताउति गर्न नपाओस्। जहाँसम्म अभिधावकले आफ्नो बच्चा हुँदाको अवस्था पक्कै बिर्सेको हुनुपर्छ, नत्र यस्तो कुरा गर्दैनन्।
बालबालिकाको उमेर गृहकार्य गर्ने भनेको मान्ने आज्ञाकारी मात्र हुने, बसाएको ठाउँमा मात्र बस्ने मात्र होइन, सिकाइका विभिन्न रूप हुन्छ। फेरि अभिभावक बा-आमा अजम्मरी होइन, बच्चालाई बढ्दै हुर्कँदै जाँदा त यावत समाज, छिमेक, साथी, इष्टमित्र सबै चाहिन्छ। सबैबाट बच्चाले केही न केही सिकेको लिएको हुन्छ। यो पनि एउटा कला हो। बच्चा खोर भित्रको दाना खाने बस्ने बोइलर कुखुरा होइन, ऊ त वन कुखुरा जस्तो हो। लोकल कुखुरा मात्र बनेर पनि अबको दिनमा बाँच्न गाह्रो छ।
शिक्षक बन्नका लागि मनोवैज्ञानिक रूपमा आफू स्वयम तयार हुनुपर्यो। यो पेसा अलिक अजीवको छ। सन्तोषम् परम सुखम् जस्तो अपवाद बाहेक वास्तविकता त्यही हो। जीवन छोटो छ, सिक्ने कुरा धेरै छ, समय कम छ। त्यही समयलाई व्यवस्थापन गर्न जान्नु जरुरी छ। यस कारण पनि अरू पेसा जागिर नभए विकल्पमा मास्टरी राख्नु किमार्थ गलत हो।
फेरि मास्टरी भनेपछि दुनियाँले सोध्छन्- सरकारी हो कि प्राइभेट? अचम्म छ! काम बढी निजीमा हुन्छ तर सुविधा तलब आदि सरकारीमा हुन्छ। खैर मास्टरी पेसालाई मर्यादित बनाऊँ। विकल्प होइन, पहिलो छनौटमा राखौँ। तब मात्र देशले काँचुली फेर्छ। राजनीतिले मात्र देश बन्ने रहेनछ, देखिहालियो। त्यसैले शिक्षालाई ध्यान दिऊँ।