उहिले बाजेका पालामा
मेरा नाति स्कुलबाट घर फर्कँदा निन्याउरो अनुहार लिएर फर्किए। सधैँ खुसीले बाख्राको पाटोझैँ उफ्रँदै आउने नातिलाई आज कुनै कुराको पिर परेछ भन्ने ठानेर सोधेँ, ‘सानु, के भयो आज मेरा राजालाई?’
‘हजुरलाई थाहा छ, आजदेखि युट्युब, फेसबुक सबैथोक सरकारले बन्द गर्यो रे,’ रुन्चे स्वरमा भने उनले।
मेरो नातिलाई खाना खाँदा होस् वा खाजा खुवाउँदा उनका अगाडि युट्युब खोलेर मोबाइल राखिदिनु पर्दछ। मोबाइल हेर्दै हेर्दै उनी चम्चाले गाँस हाल्छन्। मोबाइल भएन भने त एक गाँस खाना खुवाउनै सकिँदैन। युट्युब खोलेर पेपा पिग, सिन्ड्रेला, मिकीमाउस, गुलिभर ट्राभल वा रायनका युट्युबहरू हेर्न नपाउँदा गाँस नखाइदिने। मोबाइलबिनाको जिन्दगी कल्पनै गर्न सक्दैनन् उनी।
‘केही छैन सामाजिक सञ्जाल नभएर, हाम्रा पालामा ती कुनै त थिएनन्, हामी बाँचेकै छौँ त,’ मैले भनेँ।
मेरा पछाडि सुँक्क-सुँक्क गरेको सुनियो, फर्केर हेरेको मेरी जीवन सँगिनी सपना पो रुँदै रहिछन्। मैले उनलाई सोधेँ, ‘के भयो? किन पिरोलिएकी?’
गला अवरुद्ध पार्दै उनले भनिन्, ‘अब आजदेखि छोरी, ज्वाइँ, नातिनातिनासित कसरी कुरा गर्नु? उनीहरूको मुख कसरी हेर्नु? उनीहरूसित बोल्न पाइएन भने कसरी बाँच्नु?’
मैले उनलाई भनेँ, ‘यो धेरै दिनको होइन, एक/दुई दिनको राम रमिता हो। आन्दोलन गरेर पनि सरकारलाई घुँडा टेकाउँछन्, जेन-जीहरू जागिसके।’
‘ हो?’ यति भनेर उनले आफ्ना बगिरहेको आँसु पुछिन्। फेरि भनिन्, ‘नत्र त त्यो आन्दोलनमा म पनि जान्छु।’
हामी दम्पतीको वार्तालाप नाति हेरिरहेका थिए। उनी केही सोध्न खोजिरहेका थिए। मैले भनेँ, ‘के कुरा सोध्न खोजेको?’
‘हजुरबा, अचेल त फेसबुक छ, ट्विटर, इन्स्टाग्राम, युट्युब कति हो कति सामाजिक सञ्जालहरू छन्, हजुरहरू साना हुँदा चाहिँ कसरी टाइम पास गर्नु हुन्थ्यो?’ नातिले प्रश्नका अङ्कुशेले मलाई ताने।
‘हामी सानै छँदा अहिलेका सामाजिक सञ्जाल मात्र होइन, मोबाइल फोन मात्र होइन, टेलिफोन पनि थिएन। हातमा घडी पनि कसै कसैका मात्र हुन्थे,’ मैले बिस्तारै भनेँ।
मेरा कुरा सुनेर उनी छाँगाबाट खसेजस्तै भए। आज युट्युब बन्द भएको हुँदा उनी मेरा कुरा ध्यानपूर्वक सुनिरहेका थिए।
मैले झलक्क सम्झिएँ, आफू सानो छँदा आमाले खाना खुवाउँदा को खाई को खाई? बाबु हाम्म भन्दै क्वाप्प खुवाइदिनु हुन्थ्यो। खाना खुवाउने बेलामा आमा विभिन्न बालगीतहरू गाइदिनु हुन्थ्यो–
‘काग दाजै काग दाजै पानी पारिदेऊ,
गगिनी भाउजूलाई छाता ओढाइदेऊ’
यस्तै यस्तै गीत सुनाएर मनोरञ्जन गराउँदै खाना खुवाउनुहुन्थ्यो,’ मैले भनेँ।
यो प्रसंग सुन्दा उनलाई एकादेशको कथा सुनेजस्तो लागिरहेको थियो।
‘हामी सानै छँदा सामाजिक सञ्जाल नभए पनि हामी वल्ला घर पल्ला घर, माथ्ला घर, तल्ला घरका छिमेकीहरूसित कुराकानी गर्दथ्यौँ। सुखदुख, हाँसो र आँसुका कुरा एक आपसमा साटासाट गर्दथ्यौँ। अचेल मोबाइलमा घोत्लिएर हराउने गर्छन् नि, हामी सानै छँदा त्यस्तो केही हुँदैन थियो।। घर परिवारसँगै बसेर सुख दुःखका कुराकानी गर्दा आपसी माया प्रेम बढ्दथ्यो। त्यसै गरी छरछिमेकका मानिसहरूका पनि सुख दुःखका कुरा सुनिदिएर गर्नसम्म रमाइलो गर्दथ्यौँ,’ मैले नातिलाई सुनाएँ।
‘हजुरहरू टेलिफोन पनि गर्न पाउनुहुन्नथ्यो?’ उनले सोधे।
मैले आफ्नो विगत एक एक गर्दै उनलाई बताइदिएँ। विसं २०२८ सालमा एसएलसी विराटनगरमा बसेका बेला बिजुली बत्ती देखेको। एसएलसी पास गरेर विराटनगरमा आइए (कक्षा ११, १२) पढ्न बसेपछि कुनै-कुनै पसलका साहुहरूले एउटा दाबिलोजस्तो चिजलाई उठाएर कान र मुखमा पुर्याएर एक्लै बोलेको देख्दा म चकित परेको थिएँ। पछि एकजना साथीले बतायो टेलिफोन भनेको त्यही हो, त्यसबाट टाढा भएका मानिससित मजाले कुरा गर्न सकिन्छ भन्ने कुरा सुनेँ।
त्यो टेलिफोनमा बोल्न पाए कस्तो हुँदो हो, तर कोसित पो बोल्नु र! आफूले चिनेका मानिसका घरमा कहीँ फोन हुँदैनथ्यो।
विराटनगरबाट बिदामा घर गएका बेला एकदिन हाम्रा घरमा मेरा हजुरबा नाता पर्ने विद्यानाथ पोखरेल आउनुभएको थियो। उहाँ कोशी अञ्चलाधीश कार्यालयमा पञ्चायत निरीक्षण अधिकारीको दर्जामा काम गर्नुहुन्थ्यो। उहाँले मलाई भन्नुभयो, ‘मेरो अफिस अञ्चलाधीश कार्यालयमा छ, विराटनगर बस्दो रहिछस्, मेरो फोन नम्बर १०४ हो, कहिलेकाहीँ फोन गर् न। फोनमा कुरा गर्न निकै मजा हुन्छ।’
‘हस् हजुरबा, तर कसरी पो फोन गर्नु?’ मैले प्रश्न राखेँ।
‘फोन भएका पसलमा जानू अनि त्यो पसलेलाई अञ्चलाधीश कार्यालयमा एउटा जरुरी फोन गर्नु छ, म गर्न सक्छु? भनी सोध्नू, हुन्छ भनिहाल्छ अनि त्यो फोन जुरुक्क उठाएर काननिर लानू, उताबाट हेलो भन्ने आवाज आउँछ, उताबाट कति नम्बर? भनेर सोध्छन्, त्यस बेला एक सय चार, १०४ भन्नु, मकहाँ फोनको घण्टी बजिहाल्छ अनि म उठाउँछु,’ हजुरबाले फोन गर्ने सबै काइदा एकैछिनमा सिकाइदिनु भयो।
मलाई कहिले विराटनगर गएर फोन गर्नुजस्तै भएको थियो। त्यस बेला इटहरीतिर त न बत्ती थियो न फोन।
विराटनगर गएपछि एकदिन एकजना व्यापारीकहाँ गएर हजुरबाले सिकाएजस्तै गरी भनेँ। ती व्यापारीले गर्नु भनेर फोनतिर देखाए। मैले रिसिभर जुरुक्क उचालेको त मुखतिरबाट पो हेल्लो हेलो भनेको सुनेँ। थाहा पाइहालेँ, कानतिर राख्नुपर्ने मुखतिर र मुखतिर हुनुपर्ने भाग कानतिर राखेछु। हतार हतार त्यो दाबिलोजस्तो औजारलाई फनक्कै घुमाएँ। धन्न साहुले देखेनछन्। नत्र बेइज्जत हुने थियो।
फोनमा बोल्ने बेलामा मेरा हात गोडा लगलग कामेका थिए। मुटुको धड्कन बजेको थियो। उताबाट हेलो कि हेलो भनेर एक महिलाको स्वर सुनिन्थ्यो।
मैले बडो साहस निकालेर बोलेँ, ‘ एक जिरो चार, एक सय चार।’
त्यसपछि फोनमा निकैपल्ट घण्टी बजेको सुनियो। बिस्तारै फोन कसैले उठायो र बोल्यो, ‘हेलो, अञ्चलाधीश कार्यालय, कसलाई खोज्नुभएको?’
‘पञ्चायत निरीक्षण अधिकारी विद्यानाथ पोखरेलज्यूलाई खोजेको,’ मैले भित्रैदेखि साहस बटुलेर एकै सासमा भनेँ।
उताबाट जवाफ आयो, ‘एकैछिन पख्नु है! त्यसपछि पण्डितजी, हजुरको फोन आएको छ’ भनेको पनि प्रस्ट सुनेँ।
म कानमा फोन राखेर प्रतीक्षा गरिरहेको थिएँ।
‘हेलो, को बोल्या? म विद्यानाथ बोल्दै छु।’
मैले त्यस बेला बुझेँ जसले पनि फोनमा बोल्दा हेलो भनेर सुरु गर्नु पर्ने रहेछ। मैले पनि भनेँ, ‘हेलो, दर्शन हजुरबा, म म धरणीधरको साइँलो छोरो।’
‘ए मेरो नाति पो रहेछ, के छ नाति? तेरो नाम लक्ष्मीधर हो नि? सन्चै छस्? ल तैँले आज मेरा कान पवित्र पारिदिइस्,’ हजुरबाले ठट्टा गर्दै भन्नुभयो। उहाँले मेरो पढाइका विषयमा निकै कुरा सोध्नुभयो। मैले एक एक गरी बताएँ।
उहाँ खुब खुसी भएर बोल्नुभयो। हजुरबालाई फोन गरिदिएकोमा उहाँ दंग पर्नुभएको उहाँको हाउभाउबाट प्रस्ट बुझ्न सकिन्थ्यो। अफिसमा कसैलाई फोन आयो भने उसको इज्जत बढ्दो रहेछ त्यस बेला।
उहाँले फेरि भन्नुभयो, ‘कहिलेकाहीँ फोन गर्दै गर्नू है। ल त राखेँ है।’
फोनमा बोल्ने कुरा भए पो धेरै बोल्नु। कुरा सकियो। म त्यो पसलबाट हिँड्दा त्यस दिन मेरो उचाइ अझ बढेजस्तो लागेको थियो।
जीवनमा पहिलो पल्ट मैले फोनमा बोलेको थिएँ। कहिले शुक्रवार आउला र घर गएर सबैलाई फोन गरेको कुरा सुनाउँला भनेर हतार लागेको थियो।
शुक्रवार घर गएँ। सबैभन्दा पहिले मेरा दाजुहरूलाई आफूले फोन गरेको कुरा सुनाएँ।
माल्दाइले सोध्नुभयो, ‘के हो नि त्यो फोन भनेको?’
मैले फोनका विषयमा बताएँ। मैले फोन गरेको विवरण सुनाएँ तर मेरा कुरामा त्यहाँ कसैले विश्वास गर्नुभएन। दाजुले त भन्नुभयो, ‘यहाँ बसेर धेरै टाढा-टाढाका मानिससित बिस्तारै बोलेर कुरा गर्न सकिन्छ भन्ने कुरा यहाँ त भनिहालिस्, अन्त गएर चाहिँ नभन्नु, भनिस् भने पण्डितको साइँलो छोरो एसएलसी पास गरेर पढ्न विराटनगर बस्थ्यो, उसको दिमाग खुस्केछ भन्लान् नि।’
हो, त्यसपछि मैले फोन गरेको कुरा कसैलाई भन्न आँट गरिनँ। अर्को दिन मेरा साथीहरू रघु दंगाल, नवराज, नारायण श्रेष्ठ, देवीदत्त पाँडे र हरिदेव चौधरीलाई भेटेँ तर मैले उनीहरूसित त्यो कुरा भन्न चाहेर पनि उक्काउन सकिनँ।
मेरो विगत नाति ध्यान दिएर सुनिरहेको थियो।
नातिले भने, ‘हजुरबा पनि कुरा त मिठा गर्नुहुँदो रहेछ।’
(लेखक गोरखापत्र दैनिकका पूर्व प्रबन्ध सम्पादक, मधुपर्क, मुनाका पूर्व सम्पादक तथा रत्नराज्य लक्ष्मी क्याम्पसका पूर्व आं प्राध्यापक पनि हुन्। )