म्याग्दीबाट दुई वर्षकै उमेरमा मेरो परिवार चितवन बसाइँ सरेको थियो। बीचबीचमा आफन्ती भेट्न म्याग्दी नपुगेको भने होइन। म्याग्दीको चिसो हावा र चितवनको न्यानो घामका बीच हुर्किएको मेरो बाल्यकाल साधारण थियो। समय जति साधारण थियो उति नै असाधारण थियो मेरो जिज्ञासु स्वभाव।
धेरैले सामान्य देख्ने वस्तुहरू मेरो नजरमा रहस्यमय लाग्थे। हुन त कक्षा ८ सम्म न इन्टरनेट, न कम्प्युटर, न स्मार्टफोन, डिजिटल संसार नै टाढाको चिज झैँ लाग्थ्यो। त्यो बेलासम्म रेडियो खोलेर हेर्नु, टर्च खोल्नु, रिमोट टुक्र्याएर भित्रका तार हेर्नु, यिनै कुराले मेरो संसार रंगीन बनाउँथे। मेरो यही जिज्ञासु स्वभावले नै हो मैले शिक्षकको माया पाएको, राम्रो विद्यार्थीको पहिचान बनाएको अनि घरको गर्व भएको। तर यति मात्रैले भविष्यको बाटो थाहा नहुँदो रहेछ। भविष्य कुन दिशातिर मोडिन्छ भन्ने अन्योल त कायमै थियो। तर मनले मलाई प्रविधिकै बाटो लाग्छस् भन्थ्यो।
कोभिड महामारीताका संसार थामिएजस्तै भयो। समय मौन प्राय:। जिन्दगी ठप्प। बाँच्ने तरिका बाहेक अरू ध्याउन्न नभएको समय। तर त्यही मौन समयमा मैले आफ्नो जीवनको सबभन्दा ठूलो उपहार पाएँ। मेरो पहिलो कम्प्युटर।
त्यो कम्प्युटर खोल्ने बित्तिकै लाग्यो म कुनै अर्को ब्रह्माण्डमा प्रवेश गरिरहेछु। स्क्रिनका उज्याला अक्षरहरूले मलाई मोहित मात्रै गरेनन् जीवनभरको दिशा नै बदलिदिए। मेरो दिन रात नै त्यसैभित्र पसेर त्यसैलाई बुझेर व्यतीत हुन थाल्यो। 'पाइथन' सिक्न थालेँ, अनि पहिलो पटक बुझेँ केवल केही लाइनको कोडले पनि संसार चलाउन सक्छ। यही सिकाइले मलाई थापाथली क्याम्पससम्म पुर्यायो, जहाँ म इलेक्ट्रोनिक्स, कम्युनिकेसन र इन्फरमेसन इन्जिनियरिङ अध्ययन गर्न थालेँ।
क्याम्पसको पहिलो साता लाग्यो 'यहाँ त प्रतिभाको समुद्र छ, म कहाँ अटाउँछु र?' तर साँच्चै सुत्न नदिने सपना देख्नेलाई भाग्यले कहिल्यै धोका दिँदैन रहेछ। बिस्तारै आत्मविश्वास बढ्यो। पढाइमा साथीहरूको गुरूहरूको सहयोग निरन्तर थियो। पहिलो वर्ष हामी ह्याकनाथमा भाग लियौँ र त्यसै वर्ष जित्यौँ पनि। साथीहरूसँगै सहभागी भएर जित्दा बल्ल मेहनतले दिएको पहिलो उपहारको मिठास अनुभूत भयो।
कलेजमा धेरै कार्यक्रमहरू भइरहन्थे। त्यति बेला पुल्चोक क्याम्पसमा आयोजना भएको एउटा कार्यक्रममा जाँदा 'सिड्स फर द फ्युचर' नामको कार्यक्रमबारे सुनेँ।
नदिका दिदीले कार्यक्रमबारे बेलिबिस्तार लगाउँदा पनि खासै मैले बुझिनँ। कलेजको तेस्रो वर्षको अध्ययनकै क्रममा आशिष कार्की भन्ने मेरो साथीले सम्झायो उही कार्यक्रम। ‘सिड्स फर द फ्युचर’ हुवावेको सामाजिक उत्तरदायित्व अन्तर्गतको कार्यक्रम रहेछ। यसले विभिन्न देशका प्रतिभाशाली विद्यार्थीहरूलाई छानेर प्रविधि, नेतृत्व र अन्तर संस्कृति अनुभवका क्षेत्रमा छोटो–अवधिको गहिरो प्रशिक्षण दिने रहेछ।
साथी आशिषले पठाएको फारम भरेँ। त्यो बेला म छानिइनँ। यो कार्यक्रमले जीवन बदलिन सक्छ भन्ने बीजारोपण भने गरिदिएको थियो। हृदय केही बेर गह्रौँ भयो। मैले त्यो अस्वीकृतिलाई असफलता भन्दा पनि फेरि उठेर अगाडि बढ्ने प्रेरणाको रूपमा लिएँ।
अर्को वर्ष कलेजमै सोही कार्यक्रमको बारेमा प्रेजेन्टेसन थियो। आसित अधिकारी र अलिसा श्रेष्ठले कार्यक्रमको बारेमा विस्तृतमा बुझाउनुभयो। आफूले पढिरहेकै विषयसँग सम्बन्धित ग्लोबल लिडिङ कम्पनीको विश्वव्यापी फ्याग्सिप सिएसाअर कार्यक्रम भन्ने बुझेपछि झन् आशावादी हुँदै पुनः आवेदन दिएँ। अनि नेपालभरिबाट छानिएका उत्कृष्ट पाँच सहभागीमध्येमा आफ्नो नाम सुनिश्चित गराएँ।
जीवनमा यति ठूलो सफलता अनि आमाबुबाको आँखामा देखिएको गर्वको चमक, खुसीको आँसु सबै सबैले मनलाई निकै भावुक बनायो।
अब चीन जाने भइयो। यही बेला प्रस्थानको हतारो, परीक्षाको चाप, असाइनमेन्ट र प्रोजेक्टहरू सबै एकैसाथ ओइरिँदा मनमा एउटा मात्र उत्साह थियो, 'यो यात्राले मेरो जीवन बदलिदिनेछ।'
रमाइलो कुरा त के भने म्याग्दी जाँदा पोखरा अनि कलेज पढ्न काठमाडौँ बाहेक मेरो लामो यात्रा कहीँकतै भएको थिएन। स्कुलले कक्षा १० मा लगेको शैक्षिक भ्रमण र कलेज आइसकेपछि कलेजले लगेको भ्रमण गन्तव्य पनि पोखरा नै परेपछि हो मेरो यात्रा अनुभव अलि फराकिलो हुन नपाएको। तर पहिलो अनुभव एकैचोटि यति फराकिलो भइदियो कि यसको बयान त जिन्दगीभर गरे पनि सायदै सकिएला।
पहिलो पटक लामो यात्रा। पहिलो पटक प्लेन चढेको अनुभव। सबै अन्तर्राष्ट्रिय स्तरमा होला भन्ने कल्पना नै गरेको थिइनँ कहिल्यै पनि।
विमान उड्दै गर्दा मुटु ढक्क फुल्यो। डरको अनुभूति भयो प्लेन टेकअफ हुँदा। तर झ्यालबाहिर टाढिँदै गरेको नेपाल देखेर मनमा गर्व र जिम्मेवारी दुवै भारी भएर बसे।
चीनको भूमिमा कदम राख्दा नै सहरको चमक, अनुशासन, चौडा सडकहरूमा बगिरहेको शान्त प्रवाह, स्वचालित बस र रेलहरूको सहजता, अनि हरेक ठाउँमा देखिने प्रविधिको उपस्थितिले मलाई मन्त्रमुग्ध पार्यो। चीनमा जीवन बाँच्ने मात्र होइन रहेछ, प्रविधिसँगै नाच्ने पनि रहेछ।
हाम्रो प्रशिक्षण सुरू भयो—ए आइ, फाइभ जी, डिजिटल पावर।
विश्वभर चर्चित यी शब्दहरू केवल किताबमा पढिएको सिद्धान्त मात्र नभई चीनको दैनिकीमा नभई नहुने अङ्ग भइसकेछ। हुवावेका विशेषज्ञहरूको व्याख्या सुन्दा लाग्थ्यो, म भविष्यमा आइपुगेको छु।
सबभन्दा अद्भूत अनुभव थियो डोङ्गुवानमा रहेको ‘हुवावेको अक्स हर्न क्याम्पस।
१२ वटा युरोपेली सहरको झल्को समेटेर बनाइएको विशाल अनुसन्धान–सहर—जसका गल्लीहरूमा हिँड्दा कहिले पेरिस झैँ लाग्थ्यो, कहिले भेरोना, फेरि कतै हाइडेलवर्गको शान्त कला झल्किन्थ्यो। स्विट्जरल्यान्डको शैलीमा बनेको साना–साना ट्राम चढ्दा म आफैँलाई कुनै चलचित्रको पात्र जस्तै महसुस भयो।
अनि त्यहाँको पुस्तकालय, विशाल, सुव्यवस्थित, ज्ञानको सागर जस्तै थियो। यस्तो पुस्तकालय मैले नेपालमा कहिल्यै देखेको थिइनँ। त्यो पुस्तकालयले हेरेर फर्किँदै गर्दा मनमा दृढ अठोट लिएँ 'एक दिन यस्तो स्तरको अनुसन्धान वातावरण नेपालमा बनाउन मेरो पनि योगदान हुनेछ।'
रातमा सोंग्सान ताल किनारको बत्तीहरू पानीमा पग्लिएर नाचिरहेको जस्तै देखिन्थे। हामी पनि साथीहरू मिलेर साइकलमा घामझैँ चम्कँदै घुम्थ्यौँ। शरीरमा थकाइ भए पनि मन मुटु र मस्तिष्कमा अनन्त ऊर्जा भरिएको थियो। त्यो विशालताले, त्यो शून्यताले, त्यो सुन्दर तालले, आफ्नो देशका ताल र पहाडहरू सम्झाइदिँदै मन भिजाउँथ्यो। साँझपखको क्रुज यात्रा। पानीलाई नै चिर्दै अगाडि बढ्दै गरेको जहाज। माथिमाथि चम्किँदै उडिरहेका विमान। एकैचोटि प्रविधि, कला र प्रकृति मिलेर रचेको कविता जस्तै। मन्त्रमुग्ध थिएँ।
शेन्जेन सहर, विकासको जीवित कविता। यहाँ जीवन पूर्ण डिजिटाइजेसनमा बग्छ। सानो दोकान थाप्ने बूढी आमासमेत क्युआर कोडमार्फत भुक्तानी लिन्छिन्। हामीले नगद दिन खोज्दा आश्चर्य मिश्रित उनीहरूको हाँसो सम्झँदा आज पनि लाज लाग्छ।
त्यसपछि हामी डिजेआइ कम्पनीको विशाल संसारमा पुग्यौँ। जहाँ थियो सानो भन्दा सानो ड्रोनदेखि विशाल औद्योगिक मोडेलसम्म। आकाशैभरि उड्न सक्ने स्वप्न शृङ्खला जस्तो।
हुआछ्याङबेईको विशाल इलेकट्रोनिक्स बजार देख्दा संसारकै सबै सम्भावना त्यही भित्र अटाएजस्तै लाग्थ्यो। ग्याजेटहरूको महासागर, नवप्रवर्तनको आँधी, मानिसको भीड तर अनुशासन।
चीनको विकासको धड्कन त्यही ठाउँमा स्पष्ट महसुस हुन्थ्यो।
घुम्ने र सिक्ने बाहेक औपचारिक कार्यक्रमका लागि नेपाल झल्किने गरी हामीले नृत्य पनि तयार पारेका थियौँ। जिन्दगीमा कहिल्यै एक फन्को ननाचेको मलाई त्यो अन्तर्राष्ट्रिय मञ्चमा नाच्न पर्दा के भयो होला? त्यसको अनुमान लगाउने जिम्मा तपाईं पाठकलाई नै दिएँ। त्यसरी नाच्नका लागि होटलमा राति रातिको अभ्यास, घरबाट लगेजमा हालेर लगेको चिउरा–गुन्द्रुक साथीहरूसँग बाँडेर खाँदाको पल। साथीहरू आदर्श श्रेष्ठ, मन्जिला पाण्डे, स्तुति ढुंगाना र अपाला तिमिल्सिना अनि हुवावेको दिदी अलिसा श्रेष्ठको मायाले विदेशी भूमिमा पनि “घर” भन्ने भावनालाई पुनः परिभाषित गरिदिएको थियो।

चीनले मलाई केवल प्रविधिको ज्ञान मात्र होइन साधारण पृष्ठभूमिबाट आएका युवाले पनि संसार जित्न सक्छ भन्ने आत्मविश्वास दिएको छ। नेपाल फर्कंदा मेरो झोलामा प्रमाणपत्र मात्र थिएन, मस्तिष्कमा जिम्मेवारी बोध र भविष्यप्रतिको दृढ सङ्कल्प थियो।
म्याग्दीको सानो गाउँमा जन्मिएर चितवनका धुलाम्मे सडकमा रेडियो खोल्दै हिँड्ने त्यो उत्सुक बालक आज चीनको सबैभन्दा उन्नत प्राविधिक वातावरणमा बसेर भविष्य हेरेर फर्किएको छ। यो यात्रा मेरो लागि दीर्घ प्रेरणा भएको छ ।
अब ती तमाम जिज्ञासाको बीउमा मेहनतको मलजल गरेर विश्वासको घामले सपना फुलाउनु छ। देशलाई प्रविधिमय बनाउनु छ।