लागूपदार्थको प्रयोग समस्या हो तर समाधान पनि छ। त्यो समाधान हो उपचार। कुनै व्यक्ति जब आफ्नो जीवन सुधार्ने निर्णय गर्दै पुनर्स्थापना केन्द्र पुग्छ, त्यो क्षण उसले जीवनको सबैभन्दा साहसी कदम चालेको हुन्छ। महिनौँको अनुशासन, परामर्श र उपचारपछि ऊ नयाँ सोच, आत्मविश्वास र आशाका साथ समाजमा फर्किन्छ। तर त्यही क्षण ऊ अर्को ठुलो परीक्षामा पर्छ— समाजको स्वीकृति र दृष्टिकोणको।
नेपालमा अझै पनि लागूपदार्थ प्रयोगलाई ‘चरित्रको कमजोरी’ वा ‘लाजको कुरा’ भनेर बुझ्ने प्रवृत्ति प्रबल छ। यही कारणले उपचार लिएर फर्किएका मानिसहरूलाई विश्वास गर्न समाज हिचकिचाउँछ। ‘रिहाब बसेको मान्छे हो है’ भन्ने एक वाक्यले पनि उनीहरूको मनोबल कमजोर पार्छ। सुधारको बाटोमा लागेका व्यक्तिहरूलाई हेर्ने हाम्रो दृष्टिकोण अझै पनि सहानुभूति र सम्मानभन्दा बढी शंका र दूरीमा आधारित छ।
तर सत्य के हो भने, लागूपदार्थको प्रयोग अपराध होइन, यो उपचारयोग्य रोग हो। जसले उपचार लिन्छ, ऊ अपराधी होइन— बरु जिम्मेवारी र परिवर्तनको बाटो रोज्ने व्यक्ति हो। मैले पुनर्स्थापना क्षेत्रमा लामो समय बिताउँदा सयौँ युवाहरू देखेको छु जसले आफ्नो जीवन पुनः निर्माण गरेका छन्। उनीहरूमा देखिने आत्मअनुशासन, व्यवहारिक सुधार र जीवनप्रतिको दृष्टिकोण परिवर्तनले प्रस्ट देखाउँछ कि सुधार सम्भव छ। तर समाजले अवसर र भरोसा नदिँदा ती परिवर्तन कहिलेकाहीँ स्थायी हुन सक्दैनन्।
म व्यक्तिगत रूपमा मान्छु— उपचार अन्त्य होइन, नयाँ सुरुवात हो। पुनर्स्थापना केन्द्रले जीवनलाई नयाँ दिशा दिन्छ तर त्यो यात्रा समाजको सहयोगबिना अपूर्ण रहन्छ। जब सुधारिएको व्यक्ति घर फर्किन्छ, परिवार र समुदायले उसलाई खुला हृदयले स्वागत गर्नुपर्छ। समाजले समर्थन गरे मात्र पुनर्स्थापना स्थायी हुन्छ, तर बेवास्ता गरे पुनः लतको जोखिम बढ्छ।
यसका लागि सोच परिवर्तन अत्यावश्यक छ। मिडिया, विद्यालय, सरकारी निकाय र नागरिक समाज सबैले लागूपदार्थ प्रयोगबारे सही जानकारी र चेतना फैलाउनुपर्छ। मिडियाले सुधारिएका व्यक्तिहरूका सफल कथाहरूलाई प्राथमिकता दिनुपर्छ, जसले दृष्टिकोण परिवर्तनमा सहयोग पुर्याउँछ। स्थानीय सरकार र निजी क्षेत्रले पनि पुनर्स्थापित व्यक्तिलाई रोजगारी र आत्मनिर्भरता कार्यक्रमका माध्यमबाट समाजमा फर्कने बाटो सहज बनाउनु जरुरी छ। परिवारले विश्वास फिर्ता गर्नुपर्ने पहिलो संस्था बन्नुपर्छ किनभने घरमै सुरु हुने स्वीकृतिले आत्मसम्मान फर्काउँछ। साथै सरकारले पुनर्स्थापना केन्द्रहरूलाई स्वास्थ्य सेवा प्रणालीको औपचारिक हिस्सा बनाएर नीतिगत संरक्षण विस्तार गर्नुपर्छ।
सुधारका लागि उपचार र अनुशासनभन्दा पनि ठुलो कुरा हो— सामाजिक स्वीकृति। हामीले ‘रिहाब बसेको’ होइन ‘जीवन परिवर्तन गरेको’ भनेर हेर्ने दृष्टिकोण अपनाउन सके मात्रै वास्तविक पुनर्स्थापना सम्भव हुन्छ। उपचार लिएर फर्किएका व्यक्ति कमजोर होइनन्, साहसी हुन्। उनीहरूलाई अवसर दिनु नै समाजको साँचो मानवता हो। कलंक होइन, कदर गर्न सिकौँ। समय आएको छ— ‘उनले गल्ती गरे’ भन्ने होइन, ‘उनले सुधार गरे’ भन्ने समाज निर्माण गर्ने।
(लेखक सिआन पुनर्स्थापना केन्द्र, मकवानपुरका लागूपदार्थ उपचार विज्ञ/परामर्शकर्ता हुन्।)