समय कति छरितो चालले अघि बढ्दो रहेछ! लाग्छ, यो कुनै खोली हो जुन आफूलाई सम्हाल्न नपाउँदै बगी हाल्छ। हिजो जुन कुरा सामान्य लाग्थ्यो, आज त्यसैलाई सम्झिँदा मन अचम्मले भरिन्छ। कहिलेकाहीँ त विश्वासै लाग्दैन, म वास्तवमै त्यस्तो जीवन बाँचेको थिएँ!
अहिलेका बालबालिकाहरू बिहान ८ बजे उठेर मोबाइलको स्क्रिन हेरिरहेका हुन्छन्। ऊ बेला भने हामी बिहानको झिसमिसे उज्यालोमा आँखा मिच्दै उठ्थ्यौँ। बिहान घामै नउदाउँदै- ‘ए घामले पोलिसक्यो उठ’ भन्ने आमाको आवाज बिहानको अलार्म जस्तै हुन्थ्यो।
त्यो बेला खरबारी स्कुलजस्तै थियो; शारीरिक श्रमको, धैर्यताको र जीवन बुझाइको पहिलो पाठशाला। म १०–१२ वर्षको थिएँ होला, जब एक्लै टाढाको खरबारीमा घाँस काट्न जान्थेँ। हातमा हँसिया नाम्लो, सुनसान बाटो, कहिलेकाहीँ बाँदरको डर।
कहिलेकाहीँ बालसुलभ कल्पनाले ममाथि राज गर्दथ्यो। बोटमुनि बसेर हावाको चालसँगै पातहरूको सुस्केरामा, घाँसको गन्हाउने गन्धमा हँसियाले भुइँमा ट्वाक-ट्वाक हान्दै भविष्यका सपना बुनिन्थ्यो। अनि बिस्तारै फर्कने बाटो समाइन्थ्यो, जसमा दुःख पनि थियो र तृप्ति पनि।
मेलापात जाने कुरामा छुट्टै रमाइलो थियो। घर-परिवारको मात्र हैन, समाजको सामूहिकता अनुभव गर्न पाइने ठाउँ थियो त्यो। आमा-भाउजूहरू सँगै खनजोत गर्न, पर्म-होरेक जान, त्यो सबै गर्नु रमाइलो लाग्थ्यो। अरू भाउजूहरूको संगत, बुढी आमाहरूका गीतहरूले जीवन रमाइलो बनाउँथे। अचेल मेलापात हराउँदै गएको छ। जहाँ हातको सहायतामा मुटु जोडिन्थ्यो, आज मोबाइलको टचमा सम्बन्ध बन्न र टुट्न थालिसकेको छ।
अझै सम्झन्छु, एक पटक १२ वर्षको हुँदा ३–४ घण्टा टाढाको दिदीको घर जान हिँडेको थिएँ। न त मोबाइल, न घडी, न बाटो चिनाउने अहिले जस्तो गुगल म्याप! एक्लै त्यो उमेरमा हिँड्दै त्यति पर जानु आजका दृष्टिकोणबाट हेर्दा असम्भव जस्तै लाग्छ। तर त्यो समयको बालकभित्रको चाहना, हिम्मत र स्वतन्त्रता अहिलेको सुविधा भोगी बालबालिकामा कति होला? अहिले त १४-१५ वर्षका बच्चालाई पनि छेउछेउबाट हिँड है गाडीले हान्ला भनेर हात समाउँदै हिँडाउनु पर्छ।
त्यो मात्रै होइन, आमाको पुस्ता अझै जटिल परिस्थितिमा गुज्रिएको रहेछ। मेरो आमाको बिहे नै १३ वर्षमा भएको रे! आमाले सुनाउनुहुन्थ्यो- ‘तिमीहरूलाई त के दुःख छ र हाम्रा पालामा राति नै उठेर घरको काम सकेर, झिसमिसेमै खरबारीमा पुग्दा सालका पात चिनिँदैनथ्यो।’
मैले त्यति बेलै भन्थेँ- तपाईंको यथार्थ मलाई कहानी लाग्यो। मेरो अहिलेको यथार्थ मेरो छोरालाई कहानी हुनेछ भनेर।
यति वर्षपछि एक दिन बुटवलबाट घर फर्कँदै गर्दा मोटरसाइकल रोकेर मेरी श्रीमतीलाई पुरानो खरबारी देखाउँदै भनेँ, ‘यही हो म सानो छँदा घाँस काट्ने ठाउँ।’
उनी एकछिन त छक्क परिन् अनि भनिन्, ‘हँ! यहाँ? यस्तो भिरमा पनि घाँस काटिन्थ्यो र? गफ नलाउनुस् न!’ समय यति छिटै फेरिएछ मेरो यथार्थ छोरालाई होइन श्रीमतीलाई नै कहानी बन्यो।
त्यही वाक्यले मलाई गहिरो धक्का दियो। हो त, त्यो मेरो जीवनको यथार्थ हो तर अहिले त्यो यथार्थ नै गफजस्तो लाग्न थालेको छ। समयको गति यति छिटो बग्दो रहेछ कि जिन्दगी भोगेर बाँचेको कुरा पनि कल्पना लाग्न थाल्दो रहेछ। म आज जे गरिरहेको छु, जे भोगिरहेको छु। त्यो मेरा सन्तानका लागि फेरि कथा बन्नेछ।
बाल्यकालका ती खरबारीहरू, मेलापातका सिँढीहरू, दिदीको घरसम्मको पैदल यात्रा, यी सबै अब मनको संग्रहालयमा थन्किएका चित्रहरू बनेका छन्। अब त न ती हँसियाले घाँस काट्ने जाँगर छ न त त्यो झिसमिसे उज्यालोमा उठाउने आमाको कडा आवाज। समयले ती सब कुरा आफूसँगै बगाएर लगिसकेको छ।
तर ती अनुभूतिहरूले मलाई आज पनि मानव बनाइराखेका छन्। जब म मेरो छोरालाई स्कुल पुर्याएर फर्कन्छु, झ्यालबाट ऊ मोबाइलमा गेम खेलिरहेको देख्छु, मलाई लाग्छ उसको संसार र मेरो संसार कति फरक छ!
हिजो आमाको यथार्थ मलाई कथा लाग्यो, आज मेरो यथार्थ छोरालाई भोलि कथा लाग्नेछ। भोलि छोराको यथार्थ उसकै सन्तानका लागि गफ लाग्नेछ। समयको यो यात्रा अघिल्लो पुस्ताको संघर्षलाई पछिल्लो पुस्ताले विस्मृत गर्ने क्रम मात्र होइन, त्यो संघर्षबाट शिक्षित हुने अवसर पनि हो।
त्यसैले हिजोका खरबारीहरू केवल घाँस काट्ने ठाउँ थिएनन्, ती जीवन बुझ्ने खुला कक्षा थिए। मेलापात मात्र श्रम थिएन, त्यो सम्बन्धहरू गाँस्ने सूत्र थियो। र, ती सम्झनाहरू वास्तवमा इतिहासका दस्ताबेज हुन्, जसले हाम्रो पहिचान निर्माण गर्छ।
कहिलेकाहीँ म आफैँलाई सोध्छु- त्यो जीवन गाह्रो थियो कि अमूल्य? उत्तर सधैँ प्रस्ट आउँदैन। तर एउटा कुरा चाहिँ पक्कै बुझिन्छ, ती कष्टकर क्षणहरूले मलाई जीवन बुझ्ने आँखा दिएका रहेछन्।
ती हँसिया चलाउने हातहरूले आत्मनिर्भरता सिकाए, आमाको कडा स्वरले जिम्मेवारी बोध गरायो र ती मेलापातका हाँसोहरूबाट सम्बन्धको अर्थ सिकेँ। आजको सुविधासम्पन्न जीवनमा ती सबै कुराहरू भौतिक रूपमा त हराए तर त्यो इतिहास आत्मामा गाँसिएको छ।