पुसको चिसो सिरेटोले मेरो गाला हिर्काइरहँदा पनि मलाई महसुस भएको थिएन। मेरो दिमागमा एउटै वाक्यको तातो भुङ्ग्रोले डामिरहेको थियो, पोलिरहेको थियो। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कोलाहलमा, हजारौँ बिदाइका हातहरूको बीचमा, मेरो सबैभन्दा मिल्ने साथी सागरले आँखाबाट आँसुको भेल बगाउँदै भनेको अन्तिम वाक्य– ‘राम, देश छोड्न हतार नगर है!’
तर अचम्म! उसको त्यो वाक्य मेरो कानमा बज्दाबज्दै मनमा अर्कै प्रतिध्वनि बनेर ठोक्किन्छ– ‘तिमीले विदेश जान ढिला गर्यौ साथी!’
हो, सायद उसले भन्न खोजेको त्यही थियो। उसको आँसुले, उसको विवशताले र उसको टुटेको सपनाले मलाई त्यही सन्देश दिइरहेको थियो। राष्ट्रको सेवा गर्छु भनेर छातीमा देशको नक्सा बोकेर हिँड्ने, नेपाल प्रहरीको बर्दीमा सजिएको मेरो साथी जब कोरियाको कुनै फ्याक्ट्रीमा पसिना बगाउनका लागि देश छोड्दै थियो, उसको बिदाइको हात हल्लाइले मलाई यही भनिरहेको थियो– ‘भाग साथी, यो देशबाट जतिसक्दो चाँडो भाग! तिमीले ढिला गरिसक्यौ।’
कुरा केही महिनाअघिको हो। एक वर्षपछि सागरको फोन आयो, ‘राम, म पर्सी उड्दै छु कोरिया।’
म स्तब्ध भएँ।
‘खै के भनेको यस्तो? मजाक नगर है।’
फोनको अर्को छेउबाट आएको उसको मलिन स्वरले यो मजाक होइन भन्ने पुष्टि गर्यो।
‘सबै प्रक्रिया पूरा भयो दाइ। राजीनामा पनि स्वीकृत भयो। अब यो बर्दी लगाएर देशको सेवा गर्ने सपना अधुरै रह्यो।’
चार वर्षअघि मात्रै प्रहरी सेवामा प्रवेश गर्दा उसको अनुहारमा जुन चमक थियो, त्यो म कहिल्यै बिर्सन सक्दिनँ। बैतडीको हाम्रो दुर्गम गाउँबाट एसइई पास गरेर सँगै सहर छिरेका थियौँ।
मैले पत्रकारिता रोजेँ, उसले देशको सिपाही बन्ने बाटो। ऊ भन्थ्यो, ‘राम, तँ कलमले देश बना, म बन्दुकले देश बचाउँछु।’
त्यही होनहार युवा, जसको रगतमा राष्ट्रभक्ति दौडन्थ्यो, आज देश छोडेर भाग्दै थियो। किन? यो प्रश्नको जवाफ खोज्न सायद कुनै आयोग बनाउनु पर्दैन। जवाफ हामी सबैलाई थाहा छ– एउटा सुन्दर भविष्यको खोजी, परिवारप्रतिको जिम्मेवारी र देशले आफ्ना युवालाई दिन नसकेको सामान्य अवसर।
बिदाइको दिन हामी १०–१२ जना साथीहरू उसको कोठामा जम्मा भयौँ। कोठा सामानले भरिएको भन्दा पनि रित्तो ज्यादा देखिन्थ्यो। केही जोर लुगा, एउटा पुरानो डायरी र भित्तामा टाँसिएको नेपालको नक्सा। उसले त्यो नक्सालाई मायाले निकाल्यो, जतनले पट्यायो र आफ्नो झोलामा राख्यो। मानौँ, देशको माया मुटुमा बोकेर देश नै छोड्दै थियो।
साँझपख हामी विमानस्थलतिर लाग्यौँ। मेरो जीवनमा त्यो पहिलो पटक थियो, म कसैलाई बिदाइ गर्न विमानस्थल गएको। तर त्यहाँ पुग्दा लाग्यो, म कुनै बिदाइ समारोहमा होइन, एउटा राष्ट्रिय शोक सभामा आइपुगेको छु। खुट्टा टेक्ने ठाउँ थिएन। हरेक कुनामा एउटै दृश्य थियो– रुवाबासी।
आमाको काखमा टाउको राखेर भक्कानिइरहेका छोराहरू। बुवाको चाउरिएको गालामा म्वाइँ खाएर ‘चिन्ता नलिनुस्, म छिट्टै फर्किन्छु’ भन्दै आँसु लुकाइरहेका छोरीहरू। काखे बच्चालाई अन्तिम पटक चुम्बन गरेर श्रीमतीलाई सम्हाल्न इसारा गरिरहेका श्रीमानहरू। गालामा नेपालको झन्डाको स्टिकर टाँसेर, गलामा खादाको चाङ लगाएर, आँखाभरि आँसु र मनभरि देश बोकेर हजारौँ सागरहरू आफ्नो सपनाको उडान भर्न तयार थिए। त्यो भीडमा कोही मलेसिया जाँदै थियो, कोही कतार, कोही दुबई त कोही युरोप–अमेरिका। गन्तव्य फरक थियो तर सबैको कथा एउटै थियो– विवशता र अनिश्चित भविष्यको यात्रा।
मैले एकछिन त्यो भीडलाई हेरिरहेँ। मनमा एउटा चिसो डरले डेरा जमायो। आज एकै दिनमा हजारौँ युवाहरू यो देश छोड्दै छन्। भोलि के होला? अबको दश वर्षपछि यो देशको अनुहार कस्तो देखिँदो हो? गाउँका खाली घरहरू, बाँझो खेतहरू र रित्तो आँगनहरूले कसलाई पर्खिएर बस्लान्? मर्दाको मलामी र जिउँदाको जन्ती जाने युवाहरू जब सबै बिदेसिन्छन्, तब हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो पहिचानको मलामी को जाने?
यी प्रश्नहरूले मलाई चिमोटिरहेको बेला सागरले मेरो काँधमा हात राख्यो, ‘के सोचेको राम?’
मैले उसलाई हेरेँ। उसको अनुहारमा पीडा र आशाको अनौठो मिश्रण थियो। पीडा– आफ्नो परिवार, समाज र देश छोड्नुको। आशा– सात समुद्रपारि गएर केही गरेर देखाउने।
हामी विमानस्थलको एक कुनामा बसेर गफियौँ। पुराना दिनहरू सम्झियौँ। सँगै स्कुल जाँदा बाटोमा अम्बा चोरेर खाएको, खोलामा पौडी खेलेको, भविष्यका ठुला–ठुला सपना बुनेको। कुरा गर्दागर्दै उसको गला अवरुद्ध भयो।
‘राम, मलाई माफ गर्दे है। मैले देशको सेवा गर्ने कसम तोडेँ।’
‘त्यस्तो नभन् सागर। परिस्थितिले मान्छेलाई कमजोर बनाउँछ। तैँले जे गरिस्, आफ्नो परिवारको लागि गरिस्।’
‘परिवार त एउटा बहाना हो यार। सत्य त यो हो कि म हारेँ। यो सिस्टमसँग, यो भ्रष्टाचारसँग, यो महँगीसँग म जुध्न सकिनँ। प्रहरीको जागिरमा इमानदार भएर बाँच्न खोज्दा पाइला–पाइलामा ठेस लाग्यो। तलबले महिनाको १५ दिन पनि धान्न मुस्किल हुन्थ्यो। छोरा बिरामी पर्दा राम्रो अस्पतालमा उपचार गराउन नसक्ने, आमाबुवाको इच्छा पूरा गर्न नसक्ने कस्तो छोरो? कस्तो राष्ट्रसेवक?’
उसको हरेक शब्दले मलाई भित्रभित्रै काटिरहेको थियो। ऊ एक्लो थिएन। ऊ त यो देशका लाखौँ युवाहरूको प्रतिनिधि पात्र थियो, जो अवसरको खोजीमा भौँतारिइरहेका छन्। सरकारी जागिरको सुरक्षा कवच तोडेर ऊ बिदेसिँदै थियो भने अरूको के हालत होला?
रातको साढे नौ बज्यो। उसको उडानको समय नजिकिँदै थियो। प्रस्थान कक्षतिर जाने बेला भयो। हामी सबैले उसलाई घेर्यौँ। खाँदा लगाइदियौँ, देशको झन्डा ओढायौँ। त्यो क्षण यति भावुक थियो कि कसैको मुखबाट शब्द निस्किरहेको थिएन। सबैका आँखा रसाएका थिए। सागर एक–एक गर्दै सबैसँग अँगालो मार्न थाल्यो। जब मेरो पालो आयो, ऊ मेरो अँगालोमा बाँधिएर बच्चाझैँ भक्कानियो। मैले पनि आफूलाई सम्हाल्न सकिनँ। दश वर्ष सँगै पढेको, एउटै थालमा खाएको साथी, मेरो सुख दुःखको सारथि, आज मबाट टाढा जाँदै थियो।
छुट्टिने बेला उसले मेरो हात समातेर रुँदै भन्यो, ‘राम, देश छोड्न हतार नगर है!’
त्यो वाक्य सुनेर म झन् गलेँ। केही बोल्नै सकिनँ। ऊ बिदाइका हात हल्लाउँदै, पछाडि नफर्कीकन भीडमा हरायो। ऊ गयो तर उसको त्यो वाक्य मेरो मनमा किला बनेर गढ्यो।
सागर कोरिया पुगेको केही महिना भइसक्यो। बेलाबेला भिडियो कलमा कुरा हुन्छ। ऊ फ्याक्ट्रीको नीलो ड्रेसमा हुन्छ। अनुहारमा थकान देखिन्छ। तर पनि ऊ हाँस्न खोज्छ। ‘यहाँ धेरै दुःख छ राम, तर पैसा राम्रो छ। अब छोरालाई राम्रो स्कुल पढाउन सक्छु, आमाको उपचार गर्न सक्छु,’ ऊ भन्छ।
उसको त्यो बनावटी हाँसोले मलाई पोल्छ। के हामीले खोजेको यही हो? आफ्नो पहिचान, आफ्नो स्वाभिमान र आफ्नो सपनालाई बन्धक राखेर केही हजार बढी कमाउनु?
म कहिलेकाहीँ सहरका क्याफे र गाउँका चिया पसलमा बस्छु। त्यहाँका गफहरू सुन्छु। जताततै एउटै कुरा– विदेश। ‘यो देशमा बसेर काम छैन यार !’
यी कुराहरूले मेरो मन अमिलो हुन्छ। म, जो बैतडीको दुर्गम गाउँमा जन्मिएर पनि कहिल्यै विदेश जाने सपना देखिनँ। म, जो सञ्चार कर्ममा लागेर देशका कुनाकाप्चाका कथाहरू लेख्छु र देशमै केही गर्ने जोस राख्छु, मलाई आफ्नै निर्णयमाथि शंका लाग्न थाल्छ। कतै म नै गलत त छैन? देश प्रेमको भावनात्मक नारामा अल्झिएर मैले आफ्नो र आफ्नो परिवारको भविष्यसँग खेलबाड त गरिरहेको छैन?
आजकाल त ४–५ कक्षामा पढ्ने बच्चालाई सोध्यो भने पनि उनीहरूको सपना डाक्टर वा इन्जिनियर बन्नु होइन, सिधै विदेश जानु हुन्छ। उनीहरू एक मिनेट नसोची भन्छन्, ‘म त अमेरिका जान्छु।’ हाम्रो समाजले उनीहरूको दिमागमा यस्तो सपना भरिदिएको छ कि सफलताको अर्को नाम नै विदेश हो।
जब म यी सबै कुरा सोच्छु, तब सागरले भनेको त्यो वाक्य मेरो मनमा फरक अर्थ लिएर उभिन्छ। उसको ‘देश छोड्न हतार नगर’ भन्ने वाक्य एउटा चेतावनी थियो तर मेरो मनले त्यसलाई एउटा व्यङ्ग्यको रूपमा सुन्छ।
हो, सायद मैले ढिला गरेँ। साथीभाइहरू कोही अस्ट्रेलियामा छन्, कोही जापानमा। उनीहरूले पठाएको पैसाले गाउँमा घर बनेका छन्, परिवारको जीवनस्तर फेरिएको छ। र म? म अझै पनि एउटा सामान्य पत्रकार, जो महिनाको अन्त्यमा घरबेटीलाई भाडा तिर्न धौ–धौ परेर बाँचिरहेको छु।
के मेरो देश प्रेमले मेरो भोक मेटाउँछ?
के मेरा लेखहरूले मेरी आमाको ओखतीको पैसा तिर्छ?
यी प्रश्नहरूले मलाई हरेक रात निदाउन दिँदैनन्। मनमनै सोच्छु, देशमा बसेर म गल्ती पो गर्दै छु कि? कतै म समयको प्रवाहलाई नबुझ्ने एउटा मूर्ख त होइन?
तर फेरि जब म बिहान उठ्छु र झ्यालबाट बाहिर चियाउँछु, मेरो देशको माटोको सुगन्धले मलाई तान्छ। हिमालको हाँसोले मलाई बोलाउँछ। अनि मलाई लाग्छ, होइन! सबैले देश छोडेर गए भने यो देश कसले बनाउने? कसले लेख्ने यहाँका कथाहरू? कसले गाउने यहाँका गीतहरू?
म द्विविधामा छु। मेरो मन र मस्तिष्कको लडाइँ चलिरहेको छ। मस्तिष्क भन्छ– ‘भाग! यहाँ बसेर केही हुन्न।’
मन भन्छ– ‘नभाग! यहीँ केही गर्नुपर्छ।’
सागर, तिमी त गयौ। तर तिमीले छोडेर गएको प्रश्नले मलाई जिन्दगीभर लखेटिरहनेछ। जबसम्म यो देशले आफ्ना युवाहरूलाई भविष्यको सुनिश्चितता दिन सक्दैन, तबसम्म हरेक विमानस्थलमा रुवाबासी चलिरहनेछ। हरेक गाउँमा मलामीको अभाव खट्किरहनेछ र मजस्ता हजारौँ रामहरूको मनमा एउटै वाक्यले डेरा जमाइरहनेछ– ‘सायद, मैले विदेश जान ढिला गरेँ साथी!’