गत असार दोस्रो साता एसइई (विद्यालय शिक्षा परीक्षा) को नतिजा प्रकाशन भयो। त्यसको केही दिनपछि काठमाडौंमा एउटा 'शैक्षिक बहस' कार्यक्रम आयोजना भयो।
कार्यक्रममा नीति निर्माणको उच्च तहमा रहेका केही महानुभावहरू आमन्त्रित थिए। सरोकारवालाहरूको उत्साहजनक सहभागिता थियो।
कार्यक्रम सुरू भयो। समूहगत छलफल हुनुपर्ने थियो। कार्यक्रममा सहपाठी एक जना सथीसँग भेट यो। उनी सहरी बासिन्दा थिइन्, म ग्रामीण समुदायकी शिक्षक।
उनले सुस्तरी मलाई एउटा प्रश्न सोधिन्— सामुदायिक स्कुलमा शैक्षिक उपलब्धि घटेको छ भन्छन्, तिमीलाई के लाग्छ?
म केही वर्षदेखि अनेक ठाउँमा यस्तै सुन्दै आएकी छु।
साथीको प्रश्नमा भन्न मन थियो— हावा चल्छ, हुरीबतास आउँछ, पातपतिंगर उडाएर लैजान्छ, हिमालको हिउँ पग्लिएर सकिनै आँटेको छ, वनजंगलमा जडीबुटी घट्दै छ, ग्रामीण समुदायमा जनघनत्व घटेको घट्यै छ। तैपनि केही सामुदायिक विद्यालयको शैक्षिक उपलब्धि सन्तोषजनक छ।
यति कुरा बोल्न अनुकूल समय थिएन।
छलफल सुरू भयो।
प्रश्न आयो — सामुदायिक विद्यालयका शिक्षकहरूले नपढाएकै कारणले शैक्षिक उपलब्धि घटेको होला त?
काठमाडौं विश्वविद्यालयका प्रोफेसर डा. बालाचन्द्र लुइँटेलले जबाफ दिनुभयो।
अहँ, त्यस्तो निष्कर्ष निकाल्न मिल्दैन। पाठ्यपुस्तक सुनाउँदैमा शिक्षाको उद्देश्य पूरा हुँदैन। विद्यार्थीहरूको संवेदनशीलता र आवश्यकता ख्याल राखेर पाठ्यक्रम बनाइएको छैन। अगस्त्यमुनिले भनेका छन्— जस्तो युग आयो, त्यस्तै शिष्य भेटिन्छ, तिमी त्यस्तै गुरू बन्न सक्नुपर्छ।
नीतिनियम एक पटक बन्छ। त्यही नियमले शिक्षकलाई बाँधेको हुन्छ। शिक्षकले बलपूर्वक बालबालिकालाई पुरानो भइसकेको नीतिनियमको दायरामा राख्ने प्रयास गर्छ। नीति परिमार्जन–परिवर्तन हुन लामो समय लाग्छ।
शिक्षकले कक्षाकोठाबाटै क्रान्ति सुरू गर्नुपर्छ। विद्यालय तहका विद्यार्थीका लागि कक्षाकोठा जति ठूलो मञ्च अर्को कुनै हुन सक्दैन। शिक्षा प्रणालीमा गहिराइबाट रूपान्तरण गर्न सक्ने व्यक्ति शिक्षक मात्र हो।
विद्यार्थीको संवेदनशीलता, संवेग, रूचि र आवश्यकता थाहा पाउने घनिष्ठ साथी पनि शिक्षक नै हो। खासमा विद्यार्थीहरू फेल हुँदैनन्, शिक्षा नीति फेल हुन्छ, शिक्षक फेल हुन्छ।
हाम्रो शिक्षानीतिले 'खाए खा नखाए घिच' भन्छ, त्यसै अनुसार कार्यान्वयन गरिएको छ।
शिक्षानीति बनाउने शिक्षाविदहरू खुला हृदयको हुनुपर्छ, उदार हुनुपर्ने हो। यसो हुन नसक्दा धेरै विद्यार्थी फेल भएका छन्, फेल पारिएका छन्। यसको अर्थ हाम्रो शिक्षानीति नै असफल भएको भन्ने हो।
दुर्गम ठाउँका थुप्रै विद्यार्थी बिहान दुई–तीन घण्टाको मेलो सकेर विद्यालय पुग्छन्। ती विद्यार्थी सामुदायिक विद्यालयमा पढ्छन्। सहरका थुप्रै विद्यार्थी बिहानभरि घरमा गृहकार्य गर्छन्, महँगा निजी स्कुलमा पढ्छन्। आवतजावतका लागि विद्यालयकै बस चढ्छन्।
दुर्गम ठाउँमा सामुदायिक विद्यालयमा पढ्ने र सहरको महँगो निजी विद्यालयमा पढ्ने विद्यार्थीलाई सबै विषयको प्रयोगात्मक खण्डमा अंक दिने मापदण्ड एउटै छ। एउटै हुन नहुने हो नि!
दुर्गम ठाउँमा, विपन्नतामा हुर्किएका बालबालिकाहरूसँग जीवनोपयोगी सीप हुन्छ। यसमा शंका गर्नु पर्दैन।
हाम्रो पाठ्यक्रमले पनि जीवनोपयोगी सीपमा जोड दिएको छ तर कार्यान्वयन त्यस अनुसारको छैन।
शिक्षक ज्ञान हस्तान्तरण गर्ने पात्र मात्र होइन। ऊ विद्यार्थीलाई सांस्कृतिक संवेदनशीलतासँग परिचित गराउँछ। विश्लेषणात्मक क्षमता र आलोचनात्मक सोच विकासमा मद्दत गर्छ। शिक्षक सामाजिक न्यायको संवाहक पनि हो।
समाज द्वन्द्वमुखी हुन्छ। शिक्षकले विद्यार्थीलाई द्वन्द्व पहिचान गर्न, कारण खोज्न र समाधानका उपायहरू पत्ता लगाउन पनि सिकाउँछ।
खासमा पाठ्यक्रम विकास हुने थलो तह विद्यालय हो तर लेखिन्छ पाठ्यक्रम विकास केन्द्रमा। शिक्षक नै पाठ्यक्रम विकासको अनुसन्धाता हुनुपर्ने हो तर कक्षाकोठामा खट्ने शिक्षकको यसमा कुनै भूमिका छैन।
यसरी हेर्दा विद्यार्थी फेल हुनुको दोष शिक्षकमाथि मात्र थुपार्नु उचित छैन।
अर्को प्रश्न आयो— हाम्रो शिक्षा नीति अपडेट (अद्यावधिक) हामी के पहल गर्न सक्छौं?
गण्डकी विश्वविद्यालयका प्रोफेसर कपिल अधिकारीले जबाफ दिनुभयो।
अन्धविश्वास नयाँ नयाँ स्वरूपमा विकास हुँदै छ। कक्षाकोठामा पढाउनु र समाजको चेतना सुधार हुनु फरक कुरा रहेछ। रजस्वाला चक्र पुस्तकमा पढाउँछौं, प्राकृतिक प्रक्रिया हो, छुन हुने र नहुनेसँग सम्बन्ध छैन भन्छौं तर घरमा अझै छाउगोठ छ। छाउगोठमै महिलाको ज्यान जान्छ।
पढ्दैमा र पढाउँदैमा मात्र पुग्दैन। पढाइको ज्ञान र विवेक दैनिक जीवन–व्यवहारमा जोड्न सक्नुपर्छ।
निर्धारित प्रश्नमा तीन घन्टा उत्तर लेख्ने र त्यही उत्तरपत्रलाई अन्तिम सत्य मानेर दिएको अंकका आधारमा मूल्यांकन गर्ने प्रणाली निकै संकीर्ण छ।
शिक्षक कक्षाकोठामा शान्त क्रान्तिकारी बन्न सकेको भए, पाठ्यक्रम र परीक्षा प्रणालीले शिक्षकलाई त्यस्तो अवसर दिएको भए समाजमा सकारात्मक परिणाम देखिने थियो। त्यसो हुन सकेन, शिक्षकलाई मेसिन नबाइएको छ, विवेकशून्य पारिएको छ।
नदीले सुसाउन सिकाउँछ। हावाले बहन सिकाउँछ। पुतलीले नाच्न सिकाउँछ। आखिर प्रकृतिले केही न केही सिकाउँछ। समाजले पनि त्यसरी नै सिकाउँछ।
अनि के केलाई ज्ञान र सीप मान्ने! केले मापन गर्ने!
सिद्धान्त शिक्षकले नै बनाउन सक्नुपर्छ। विद्यार्थीका लागि विद्यालय जिज्ञासा जाग्ने–जगाउने थलो बन्नुपर्छ। शिक्षकले विद्यार्थीलाई जिन्दगी जिउने कला सिकाउनुपर्छ।
नर्सरीमा अनेक प्रश्न सोधेर हैरान पार्ने बालबालिकाको मुख १० कक्षामा पुगेपछि मुख बन्द हुन्छ। आखिर किन?
किनभने ऊ अर्कैको सिद्धान्तमा बाँधिएको छ, उसको मौलिक ज्ञानको आयतन बढेको छैन। उसले समस्या पाउँदैन, सिधै समाधान पाउँछ। शिक्षक 'जस्ट इनकेस' प्रश्नका उत्तर सिकाउनका सीमित छ।
संसारको लामो नदी कुन हो?
सगरमाथाको उचाइ कति छ?
यस्ता प्रश्नको उत्तर खोजेर जिन्दगी चल्दैन। एआई र च्याट जिपिटी हातमा बोकेर हिँडेको नयाँ पुस्तालाई 'जस्ट इनकेस नलेज' ले पुग्दैन।
हाम्रो शिक्षा प्रणालीले बालबालिकालाई स्वार्थी बनाउँदै लगेको छ। मेधावी विद्यार्थीलाई झन् बढी स्वार्थी र व्यक्तिवादी बनाउँदै छ। त्यस्तो विद्यार्थी आफ्नो पेसा–व्यवसायका नाममा आफैलाई समय दिन नभ्याउने भएको छ, उसका लागि समाज र देश टाढाको कुरा हुन थालेको छ। ऊ मेसिन भएको छ।
हाम्रो शिक्षाले बालबालिकालाई सफलता तिम्रो मात्र हो, यो प्रमाणपत्र तिम्रो मात्र हो, विद्या कसैले चोर्न–खोस्न सक्दैन भन्ने कुरा सिकाउँछ।
यही सिकाइले मान्छेलाई मतलबी बनाएको छ। तुलनात्मक रूपमा कमजोर भनिएको–मानिएको विद्यार्थीमा हीनताबोध गराएको छ।
गहिरो ढंगले विचार गरौं त, पारिवारिक र सामाजिक उत्तरदायित्व कमजोर मानिएकै समूहले वहन गरेको देखिन्छ। परिवार र समाजका लागि दिगो रूपमा काम लाग्ने यिनै कमजोरहरू हुन्।
कमजोर ठानेर विद्यालयबाट निकालिएका अल्बर्ट आइन्स्टाइन र लिओनार्दो दा भिन्चीले संसार हल्लाए। हाम्रो शिक्षानीतिले सफलता सामूहिक हुन्छ र हुनुपर्छ भन्ने कुरा बिर्सेको छ। शिक्षित जनशक्ति व्यक्तिवादी हुँदै गएको छ।
सिकाइ र सीपका क्षेत्रको विविधता, विद्यार्थीको क्षमता र राष्ट्रको आवश्यकता अनुसारको शिक्षानीति हुनुपर्ने हो।
नैतिक आचारणको दायरा फराकिलो बन्दै गएको छ। प्रत्येक नयाँ पुस्तामाथि गाली पनि बढ्दै गएको छ। पुरानो पुस्ताले नयाँ पुस्तामा नैतिकताको भारी बोकाउनु उचित छैन।
अलिक पुरानो जमानाको नैतिक शिक्षा अहिले हास्यास्पद हुन थालेको छ।
कुनै समय सतीप्रथा, दासप्रथा पनि नैतिकताको कसी मानिन्थ्यो। छुवाछुत आज पनि जीवित छ। आजका बालबालिकालाई नैतिकता र विवेक थोपर्नमा भन्दा विकास गर्नमा जोड दिनुपर्ने हो तर आजको शिक्षाले प्रणाली थोपर्नमा जोड दिएको छ।
अर्को प्रश्न — कक्षामा नवप्रवर्तन कसरी जोड्न सकिन्छ? विद्यालयले प्राप्त गरेका उत्कृष्ट जिपिएमाथि तपाईंको धारणा के छ?
पोखराको गण्डकी बोडिङ स्कुलका लक्ष्मी शर्माले जबाफ दिनुभयो।
नवप्रर्वतन बनिबनाउ कुरा होइन। यसलाई समय, परिस्थिति र परिवेश अनुकूल बनाउन सक्नुपर्छ। कुनै पनि सिद्धान्त पूर्ण हुन सक्दैन। नवप्रवर्तनको एउटा बलियो खम्बा शिक्षक नै हो।
शिक्षक आफैले शिक्षण सिद्धान्त विकास गर्नुपर्ने थियो तर आजको शिक्षक अर्कैले बनाइदिएको सिद्धान्त जस्ताको तस्तै प्रयोग गर्नु पर्ने बाध्यतामा छ।
नवप्रवर्तन यन्त्रसँग नभई विद्यार्थीको संवेगसँग जोडिनुपर्छ। टेबलमा बसेर लेखेको पाठ्यक्रमले यान्त्रिक नवप्रवर्तन खोजेको छ। त्यसले मनोसामाजिक संवेदनशीलता र मानवीय संवेग थाहा पाउँदैन।
नवप्रवर्तन भन्नु विद्यार्थी अनुकूल र समय अनकूलको बाटो हो। शिक्षक यही बाटो बनाउने इन्जिनियर हो, हुनुपर्छ।
यसपालिको एसइईमा चार जिपिए ल्याउने विद्यार्थीहरूको हाईहाई छ। उत्कृष्ट ठानिएका कतिपय विद्यार्थी आफूले पाएको जिपिएमा असन्तुष्ट छन्। कोही अनपेक्षित ढंगले अति सन्तुष्ट छन्।
यो हाईहाई, असन्तुष्टि र अति सन्तुष्टि तीन घन्टामा लेख्नुपर्ने परीक्षाको परिणाम हो।
यस्तो मूल्यांकन प्रणाली र परिणामले सबैलाई बराबर न्याय दिन सक्दैन। क्षमता अनुसारको खास नतिजा दिँदैन। विद्यालयमा विद्यार्थी संस्था बढाउने ब्रान्डवाला परीक्षा प्रणाली न्यायिक होइन।
प्रणाली विद्यार्थीले बनाएको होइन। नतिजा प्राप्तिमा उसको दोष छैन। उत्कृष्ट नतिजावाल विद्यार्थीको प्रशंसा गर्नुपर्छ तर हौस्याउनु उचित छैन। उसले प्राप्त गरेको नतिजा जीवन–व्यवहारमा सकारात्मक देखिनै पर्छ।
कार्यक्रम चल्दै गर्दा मैले मेरा थुप्रै विद्यार्थीहरू सम्झेँ। ती उत्कृष्ट विद्यार्थीहरू विद्यालय छाडेर उच्च शिक्षा पढ्न गएपछि गाउँ फर्केर आएनन्। गाउँमा रहेका परिवार पनि सहतिरै बसाइँ सारे। कतिले त विदेश नै पुर्याए।
हाम्रो परीक्षा प्रणालीले कमजोर ठानेकाहरूले नै गाउँ धानेका छन्। उत्पादन गरेका छन्। सहरियालाई पालेका छन्।
यस्तो उपभोगवादी शिक्षा प्रणालीमा क्रान्तिकारी परिवर्तन आवश्यक छ। यो क्रान्ति गर्न जति ढिलो हुन्छ, त्यति नै ढिलो हुन्छ देशको समृद्धि।