आजभन्दा करिब १.५ वर्षअघि मैले 'एउटै झोलामा लोक सेवाको किताब र पासपोर्ट लिएर हिँडेको मान्छे!' शीर्षकमा एक लेख लेखेको थिएँ। त्यो लेख धेरैले मन पराइदिनु भयो, धेरैले म्यासेज गरेर प्रतिक्रियाहरू पनि दिनुभयो। त्यही लेख पढेर एक वर्षअघि म्यासेज गरेका आलोक नाम भएका एक व्यक्तिसँग चिनजान भएको थियो।
आज अचानक उहाँको म्यासेज आयो— ‘हेलो क्षितिज जी, के छ खबर ? तपाईं नेपालमै हुनुहुन्छ कि विदेश पुग्नुभयो?’
उहाँसँग राष्ट्र प्रेम, देश, विदेश, जागिर, राजनीति लगायतका विषयमा पहिल्यै धेरै कुराकानी भइसकेको थियो। कतिपय कुरामा हाम्रो सहमति थियो भने, केहीमा मतभेद पनि। मैले स्वाभाविक रूपमा उत्तर दिएँ— ‘हेलो आलोक जी, म विदेश आएको एक वर्ष भयो। त्यो लेख लेखेको छ महिनामै म बाहिरिएको हुँ।’
त्यो म्यासेज हेरेको केही लामो क्षण टाइप गरेर छोटो म्यासेज आयो, सायद केही लेखेर मेटाएर फेरि लेखेको हुनुपर्छ।
‘भनेपछि राष्ट्र प्रेम र विदेश भूमिबिच विदेशको जित भएछ होइन?’
मैले तुरुन्तै उत्तरमा फेरि उहाँलाई प्रश्न तेर्साएँ, ‘तपाईंको प्रश्न गलत छ आलोकजी, सच्चाउनु होस्। राष्ट्र प्रेम प्रमाणित गर्न देशको भूमिमै बस्न जरुरी हो? यदि त्यसो हो भने, विदेशको भूमिमा बसेर रेमिट्यान्सबाट देश चलाइरहेका ती नेपाली परिश्रमीहरू राष्ट्रप्रेमी होइनन्? यदि राष्ट्र प्रेम प्रमाणित गर्न सबै विदेशमा रहेका नेपाली फर्किने हो भने खोक्रो राष्ट्रप्रेमले मात्र देश चल्ला र आलोकजी?
नेपालमै बसेर पार्टीको झोला बोकेर आफ्ना नेताले गरेको अर्बौँको भ्रष्टाचारलाई पनि वाहवाही गर्ने र आफैँलाई राष्ट्रप्रेमी ठान्ने ती पार्टीका कार्यकर्ताभन्दा विदेशमा बसेर पनि हरेक भ्रष्टाचार र बेथितिको विरुद्ध आवाज उठाउने र जनतालाई जागरूक गराउने टंक दाहालजस्ता व्यक्तिलाई म धेरै राष्ट्रप्रेमी मान्छु। तपाईंको परिभाषामा राष्ट्र प्रेम के हो, आलोकजी?’
उहाँ अब थोरै नरम भएर भन्नुभयो, ‘मैले त्यस्तो भन्न खोजेको होइन, आखिर तपाईं पनि विदेशको भूमिमा पुग्नुभयो भनेर चिन्ता व्यक्त मात्र गरेको हुँ।’
म पनि थोरै नरम हुँदै फेरि जवाफ दिएँ, ‘हजुर, एक योग्य नेतृत्वकर्ता हुनुहुन्छ र हजुरको चिन्ता जायज छ आलोकजी। तपाईंलाई मेरो बाध्यता थाहा नै थियो। मैले धेरै प्रयास गरेकै हुँ, देशमै बस्नुपर्छ भनेर धेरै अवसरहरू गुमाएको पनि हुँ। तर सबैको स्वभाव एउटै हुँदैन। म कसैको अन्याय सहन नसक्ने मान्छे हुँ र ठिकलाई ठिक र गलतलाई गलत भन्न सक्ने हिम्मत गर्ने मान्छे हुँ। जहाँ जे गर्दै छु, त्यहाँ उत्कृष्ट गर्नुपर्छ भन्ने सोच राख्ने मान्छे हुँ। म जस्ता मान्छे टिक्न गाह्रो छ आलोकजी नेपालमा। सरकारी निकाय, कार्यालय, संघ–संस्था, विद्यालय जहाँ पनि अघि बढ्न नेताको वा तिनका चम्चाको जुत्ताको तलुवा चाट्नै पर्ने परम्पराको सिकार हुनुपर्ने अवस्था छ। कुलमान घिसिङजस्ता इमानदार व्यक्तिले पनि कार्यसम्पादनमा शून्य पाएको घटना ताजै छ। मन्त्री र नेताहरूलाई भ्रष्टाचार गर्न सहयोग गरे बढुवा नत्र निष्कासन— यही त होइन र आजको हाम्रो सच्चाइ आलोकजी?’
मेरो कुरा सुनेर उहाँ आशावादी हुँदै भन्नुभयो, ‘हामीले प्रयास गरिरहेकै छौँ, देशमा छिट्टै परिवर्तन आउने छ।’
मैले फेरि सोधेँ, ‘तपाईंलाई साँच्चिकै लाग्छ आलोकजी, कि परिवर्तन आउनेछ? परिवर्तन ल्याउन तपाईंजस्ता युवाहरू नेतृत्वमा आउन आवश्यक छ। ल, अरू कुरा छोडौँ— आजको दिनमा तपाईं जुन पार्टीको वफादार हुनुहुन्छ, के तपाईंको पार्टीले तपाईंजस्तो युवा नेतालाई नेतृत्व दिन तयार छ?
यदि तपाईंले नेतृत्व नै पाउनुभयो भने पनि के देशको सम्पूर्ण न्याय प्रणाली, कर्मचारी प्रणाली, शिक्षा प्रणाली परिवर्तन गर्न सम्भव छ? तपाईं मान्नुहोस् वा नमान्नुहोस् आलोकजी, हरेक क्षेत्रमा राजनीतिक नियुक्ति र भागबन्डा तथा उनीहरूले पाउने अधिकार नै आजको दिनमा हाम्रो देशको सबैभन्दा ठुलो समस्या हो। जुन दिन क्षमता र इच्छाशक्तिको आधारमा व्यक्ति चयन हुने परम्परा आउँछ, जुन दिन ‘मेरो मान्छे चाहिन्छ’ भन्ने सोचभन्दा ‘योग्य मान्छे चाहिन्छ’ भन्ने सोच विकास हुन्छ, जुन दिन ‘भ्रष्टाचार गर्न सहयोग गर्ने’ होइन, ‘सम्पूर्ण भ्रष्टाचार रोक्ने मान्छे चाहिन्छ’ भन्ने सोच विकास हुन्छ, त्यो दिन मात्र परिवर्तन सम्भव हुनेछ।
आज सानो विद्यालयदेखि लिएर स्थानीय तह हुँदै देशको नेतृत्वसम्म नै लडाइँ छ। तपाईँलाई के लाग्छ आलोकजी— के यो लडाइँ सकारात्मक परिवर्तनका लागि हो? पक्कै होइन। बरु त्यो नेतृत्वमा पुगेर व्यक्तिगत स्वार्थ पूरा गर्ने, पैसा कुम्ल्याउने, आफ्ना मान्छेलाई जागिर खुवाउने र भ्रष्ट्राचारलाई संरक्षण गर्ने सोच बोकेर हो भन्ने कुरा तपाईँले पनि राम्रैसँग बुझ्नुहुन्छ।’
उहाँले प्रश्नको बदला अर्को प्रश्न गर्नुभयो, ‘भनेपछि हजुर देश छाड्ने निर्णयबाट खुसी हुनुहुन्छ?’
अब यो प्रश्नले मलाई दोधारमा पार्यो। एक्कासि सोच्न थालेँ- म खुसी छु कि दुःखी? मेरो मनभित्र द्वन्द्व सुरु भयो। तर केही समयमै मनले जवाफ दियो— ‘नेपालमै बढी खुसी हुन्थेँ कि यहाँ छु, थाहा छैन। तर यहाँ सन्तुष्ट छु। सन्तुष्टिलाई आधार मान्ने हो भने, मैले ढिलो भए पनि सही निर्णय गरेको जस्तो लाग्छ।’
मैले केही कुरा थपे, ‘आलोकजी, तपाईं राजनीतिक क्षेत्रको नयाँ अनुहार हो। तपाईंबाट मलाई धेरै आशा छ। म तपाईंलाई एउटा सानो सुझाव दिन चाहन्छु। जीवनमा प्रशंसकहरूको खासै आवश्यकता छैन तर केही खुट्टा तान्ने र आलोचकहरू अवश्य चाहिन्छन्। जसले तपाईंलाई सधैँ पछि पार्न खोज्छन्, अवसरहरूबाट वञ्चित गराउन खोज्छन्। तर त्यही व्यक्तिको तुच्छ व्यवहारले जब तपाईंको आत्मसम्मानमा ठेस पुग्छ, तब तपाईं विकल्पहरूको खोजी गर्न बाध्य हुनुहुन्छ। विश्व धेरै ठुलो छ, हाम्रो क्षेत्र पनि। हामी धेरै कुरामा सक्षम छौँ। जब तपाईंलाई कसैले हेप्छ, तपाईंभित्रको स्वाभिमानले तपाईंलाई बलियो बनाउँछ। फलामलाई जति हिर्कायो, त्यति बलियो बन्छ। म आज जहाँ छु, ती आलोचकहरूको कारणले छु। त्यसैले म सधैँ पहिलो श्रेय उनीहरूलाई दिन्छु— जसले मलाई ‘केही गरेर देखाउने’ चुनौती दिए। अनि त्यसपछि मात्रै सहयोगी हातलाई धन्यवाद दिन्छु।’
मैले जोड दिँदै भनेँ, ‘तपाईंलाई लाग्न सक्छ, म विदेश जानुलाई कुनै उपलब्धि मानिरहेको छु। तर होइन। यो त केवल सुरुवात हो। जिन्दगी अझै लामो छ, पाउनु अझै धेरै बाँकी छ। यहाँ विदेशमा नेपालमा जस्तो छैन, आलोकजी— चाप्लुसी गरेर अघि बढ्नुपर्दैन। योग्यताले मान्छे छानिन्छ। यहाँ मानिसहरू आफ्नो कामप्रति निष्ठावान् छन्। नेतादेखि जनता सबैले कर्तव्य बुझेका छन्। कसैको स्वार्थका लागि होइन, समष्टिको लागि सोच्ने चलन छ। म विद्यार्थी हुँ तर मेरो आवाज कलेज र विश्वविद्यालयमा माथिसम्म सुनिन्छ। कसैले मलाई दबाएको छैन। यहाँ जायज माग राख्न कलेजमा ताल्चा लगाउनु पर्दैन। अहिले त म विश्वविद्यालयको विभिन्न महत्त्वपूर्ण निर्णय हुने निकायको विद्यार्थी प्रतिनिधि पनि भएको छु। मेरो क्षमता देखेर विश्वविद्यालयले नै जागिर दिएको छ। थाहा छ आलोक, यो सबैका लागि मलाई कसैले सोधेन— तपाईं कुन दलको मान्छे हो भनेर। मैले आफ्नो इच्छाशक्ति र क्षमताको भरमा पाएको उपलब्धि हो यो। यस्तै कारणले यी देशहरू विकास गरेका हुन्। हामी भने सधैँ गरिबीमै थिचिएका छौँ।
अब भन्नुहोस् आलोकजी- आफूले नेपालमा लगाएको त्यत्रो समयको अपमान ठिक हो कि मेरो क्षमता देखेर मलाई अवसर दिने, सम्मान गर्ने यो नयाँ वातावरण ठिक हो? मैले यहाँ एक वर्षमै यति धेरै कुरा सिकेँ, जुन मैले नेपालमा वर्षौँमा सिक्न सकिनँ। नेपालमा सपना लाग्ने कुराको आज म अनुसन्धान गर्दै छु, मैले सम्मान पाएको छु।क
आफ्नो देशको अपमान ठिक हो कि विदेशी भूमिको सम्मान र पहिचान ठिक? आखिर मैले यहाँ केही राम्रो गर्न सकेँ, नाम त मेरै देशको अगाडि आउँछ होइन र? आफ्नो देशमा हारेर बस्नु ठिक हो कि अर्काको देशमा भए पनि स्वाभिमानमा बाँच्नु ठिक? तपाईं धेरै बुझ्ने मान्छे हो, तपाईं आफैँले यसको विश्लेषण गर्नुहोस्।’
उहाँले अलिकति राजनीतिक शैलीमा प्रश्न गर्नुभयो, ‘अर्काको देशमा बसेर कसरी स्वाभिमानको कुरा गर्न सकिन्छ?’
मैले सहज उत्तर दिएँ, ‘माफ गर्नुहोस् आलोकजी! यदि तपाईंका लागि स्वाभिमान भनेको जस्तोसुकै अवस्थामा पनि देशमै रहनु हो भने, तपाईंको परिभाषामा देशमै बसेर देश लुट्ने भ्रष्टाचारीहरू स्वाभिमानी भए तर आफ्नो र परिवारको उन्नतिका लागि बिदेसिन बाध्य हुने नेपाली स्वाभिमानी भएनन्। तपाईंको स्वाभिमानको यस्तो परिभाषामा मलाई अटाउनु छैन। स्वाभिमान केवल भौगोलिक सीमाभित्र मात्र हुँदैन। त्यो विचारमा, कर्ममा र आत्मसम्मानमा बस्छ।’
‘भनेपछि तपाईं अब नेपाल नफर्किने?’ उहाँले सोध्नुभयो।
‘म अहिले संसार बुझ्दै छु, नयाँ अनुभव बटुल्दै छु। मलाई अझै धेरै संसार देख्नु छ, अझै धेरै ज्ञान भर्नु छ आफूमा। अहिले संसार विश्वव्यापीकरणतर्फ अग्रसर छ, आलोकजी। विश्व अब एउटा साझा घरजस्तै भएको छ। हामीले समाज र देशभन्दा माथि उठेर मानवता र वातावरणको पक्षमा योगदान दिन सक्नुपर्छ।
जब म देश छाड्दै थिएँ, त्यही सधैँ खुट्टा तान्ने मानिसहरूले लाजै नमानी भनेका थिए— हजुर जस्ता मान्छेको देशलाई खाँचो छ। त्यस बेला मैले सभ्य भाषामा भनेको थिएँ— ‘जबसम्म तपाईंहरूजस्ता मानिसहरू अधिकारमा हुनुहुन्छ, तबसम्म देशलाई हाम्रो खाँचो छैन। तपाईंहरू नै सर्वहारा, तपाईंहरू नै चलाउनुहोस् देश र समाज।’
तपाईंलाई निराश गराउने मन छैन आलोकजी, तर अहिलेको अवस्थालाई हेर्दा त्यस्तै किसिमका व्यक्तिहरूले चलाएको यो देश, अहिलेको राजनीतिक वातावरण, त्यो विषाक्त परिवेशमा म फेरि फर्किन्छु भन्ने लाग्दैन। बल्लबल्ल त्यो दलदलबाट निस्किएको छु, अब फेरि त्यहीँ फर्किनु मूर्खता हुनेछ आलोकजी।
फर्कन तब मात्र सम्भव हुन्छ, जब आफूले केही योगदान गर्न सक्छु जस्तो लाग्छ। केही परिवर्तन सम्भव छ भन्ने विश्वास लाग्छ। युवाहरूको लर्को पनि तब मात्र देश फर्किनेछ जब प्रणालीमा सुधार हुनेछ। तर त्यो पनि तब मात्र सम्भव हुन्छ, जब आलोकजस्ता नेतालाई पार्टीले प्रयोगको वस्तु होइन, परिवर्तनको नेतृत्वका रूपमा हेर्नेछ। त्यो दिन आउँछ कि आउँदैन, मलाई थाहा छैन। म आशामा बाँचेको छु। तर त्यो आशालाई मात्र देशमै बस्नुमा सीमित राख्न सक्दिनँ। त्यो आशा मैले जहाँ छु, त्यहीँबाट बाँच्नुपर्छ, जिउनुपर्छ र जोगाउनुपर्छ।’
उहाँले निराश हुँदै सोध्नुभयो— ‘सबैले हजुरजस्तै सोच्न थाले भने?’
मैले आँखामा भरिएको भावना समाउँदै भनेँ— ‘त्यसको त त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बानी परिसकेको छ; नजिकैको बानेश्वरमा रहेको संसद् भवनलाई हेरिरहँदै, सरकार र प्रणालीलाई धिक्कार्दै, यस्तै योग्य तर विवश सपनाहरूको भीड ओसार्न।’
त्यो क्षण उनी चुप भए। सायद सोचिरहेका थिए। सायद रिसाइरहेका पनि हुन सक्दथे। तर मलाई थाहा थियो, उनीसँग मलाई दिने कुनै उत्तर थिएन।