म काठमाडौँमा बस्दै आएको छु, करिब एक वर्ष भयो। यहाँ मेरो पढाइ, जागिर, साथीभाइ, संघर्ष, सपना— सबै रमाइला र गाह्रो कुराहरू छन्। यहाँ मैले जीवनलाई बिस्तारै बुझ्न थालेको छु, आफैँलाई खोज्न थालेको छु।
यहाँ म स्वतन्त्र छु— म सोच्न सक्छु, निर्णय गर्न सक्छु, गल्ती गर्न सक्छु र सुधार्न पनि सक्छु। तर जब म काठमाडौँबाट केही दिनका लागि आफ्नो जन्मथलो, आफ्नो गाउँ फर्कन्छु, मलाई लाग्छ, म समयमै फर्किएको होइन, समयमै पछाडि फर्किएको छु।
ब्याचलर तेस्रो वर्षको परीक्षा दिन गाउँ गएको थिएँ— बैतडीको श्रीकोट। पहाडी सडक, घुम्ती र नालाले भरिएको बाटो पार गर्दै म गाउँको बाटो लागेँ। म सोच्थेँ, परीक्षा दिनुसँगै केही दिन गाउँको शुद्ध हावा खाँदै पुराना सम्झनामा रमाउँछु। तर म गाउँ पुग्न नपाउँदै मेरो बारेमा गाउँलेको विचार, चर्चा र निष्कर्ष पुगिसकेको रहेछ।
‘तँ त बिहे गरिसकेछस् भनेर सुन्या छु नि!’
‘कहिले ल्याउने हो नि बुहारी?’
‘हुन त बाहुनकी छोरी लिएर आएछस् भनेको त हो...’
‘अब त भोजभतेर खुवाइहाल् न, लुकाएर बिहे गरे पनि गाउँको कुरा त कहाँ लुक्छ र!’
यी कुराहरू सुन्ने बित्तिकै म अचम्ममा परेँ। मैले कहिल्यै बिहे गरेको छैन, कुनै बुहारी ल्याएको छैन, भोजको सोच पनि बनाएको छैन। तर समाज त मेरो जीवनको ठ्याक्कै त्यो पाटोमै पुगिसकेको रहेछ जुन मैले अझै लेखेको नै थिइनँ।
मेरो अपराध भनेको मात्र यति थियो— मैले फेसबुकमा एक केटी साथीको साथमा खिचेको फोटो पोस्ट गरेको थिएँ। त्यो फोटो मेरो लागि एउटा याद थियो, हामीले सँगै बिताएका समयको सन्दर्भ थियो, मित्रताको झल्को थियो। तर त्यो फोटो समाजका लागि ‘विवाहको प्रमाण’ बनिसकेको थियो।
हाम्रो समाजले यति छिटो निष्कर्ष निकाल्छ कि कहिलेकाहीँ मलाई लाग्छ सामाजिक सञ्जालको पोस्ट हेरेपछि उनीहरू एकछिन सोच्दैनन्, यसै बाँकी कथा आफ्नै मनले बनाउँछन्। तस्बिरमा देखिएको मुहार, हाँसो, आँखा र साथले उनीहरूको अनुमान बलियो हुन्छ। अनि त्यसै अनुमानलाई साँचो ठान्छन्। मानौँ त्यो तस्बिर हैन, विवाहको फोटो हो। मानौँ त्यो मित्रता हैन, सम्बन्धको गोप्य साक्ष्य हो।
सामाजिक सञ्जाल आजको पुस्ताको एक हिस्सा हो। यहाँ हामी रमाइला पल सेयर गर्छौँ, हाँसो बाँड्छौँ, पीडा पोख्छौँ। म पनि अन्य धेरै युवाजस्तै पढाइको तनाव, जागिरको दौड, सहरको एक्लोपन— यी सबैका बिच रमाइला पलहरू सँगै बिताउने कोसिस गर्छु। ती पलहरू कहिले केटी साथीहरूसँग बित्छन्, कहिले केटा साथीहरूसँग। तर हाम्रो समाजलाई विपरीत लिङ्गी मित्रता सह्य हुँदैन। समाजका लागि 'केटीसँग फोटो खिच्नु' भनेको 'सम्बन्धमा हुनु' हो अनि त्यो सम्बन्ध ‘बिहेमा परिणत भइसकेको’ हो भन्ने उनीहरूको निचोड।
केटी साथी हुनु कुनै लाजको कुरा होइन। मित्रता कुनै जात, लिङ्ग, धर्म वा वर्गको बन्धनमा बाँधिने कुरा होइन। तर हाम्रो समाजमा अझै पनि कोही युवकले कोही युवतीसँग खुलेर बोल्दा, हाँस्दा, हिँड्दा वा फोटो खिच्दा पनि त्यसलाई ‘अनैतिक’ दृष्टिमा हेर्ने प्रवृत्ति कायमै छ।
म समाजसँग रिसाउँदिनँ तर उसले मलाई नबुझेकोमा दुःख लाग्छ।
हो, म कसैकी छोरीसँग बिहे गर्न सक्छु। म जातभन्दा माथि प्रेम देख्छु। र त्यो बिहे म लुकाएर होइन, देखाएर गर्छु। गाउँमै गर्छु, सबै आफन्त र समाजलाई साक्षी राखेर गर्छु। बाजा बजाएर, झिलिमिली बनाएर, नाचगानसहित भोजभतेर गरेर गर्छु। किनकि विवाह मेरो निर्णय हो, लाज होइन। विवाह एक गोप्य अपराध होइन, जीवनको एक पवित्र यात्रा हो। त्यो यात्रा म पूर्ण जिम्मेवारीसाथ सुरु गर्छु, जब मेरो जीवन तयार हुन्छ। तर अहिले होइन।
म अझै विद्यार्थी हुँ। म मेरो करियर बनाउने संघर्षमा छु। मेरो घर बनाउने, जीवन सुरक्षित गर्ने, सपना पूरा गर्ने यात्रामा छु। अहिले म प्रेम गर्न सक्छु, मित्रता गर्न सक्छु तर बिहे गर्न सक्दिनँ।
अहिले म विवाह होइन, भविष्य बुनिरहेको छु। तर यो समाजलाई हतार छ। उसलाई मेरो पढाइभन्दा पहिल्यै मेरो बिहेमा चासो छ। उसलाई मेरो करियरभन्दा पहिल्यै मेरी श्रीमती को हुन् भनेर जान्न मन छ। उसलाई मेरो परीक्षा कहिले छ भन्ने थाहा छैन तर बिहे कहिले गरेँ भन्ने पूर्ण जानकारी चाहिएको छ।
बिना प्रमाण, बिना सोधपुछ, बिना संवाद समाजले फैसला गरिदिन्छ— ‘जनकले त बिहे गरिसक्यो!’ अनि त्यही हल्ला गाउँभरि फैलिन्छ। मानौँ म कुनै ठुलो अपराधी हुँ, जसले लुकाएर विवाह गरेको छ। मानौँ म कुनै सामाजिक नियम तोडेर गाउँको नाम बिगारेको हुँ।
म सोच्छु— कसरी समाज यति असंवेदनशील भयो? कसरी उसले तस्बिरबाट जीवनको निष्कर्ष निकाल्न थाल्यो? र सबैभन्दा दुःखको कुरा के छ भने, यस्ता हल्ला चलाउनेहरू शिक्षित पनि छन्। शिक्षक पनि छन्, नेताजस्तै बोल्नेहरू पनि छन्।
साँच्चै भन्नु पर्दा हाम्रा गाउँका समाजले हल्ला चिल्लो पार्न जान्छ तर बुझ्ने प्रयास गर्दैन। समाज जहाँ कुरा हुँदैन, त्यहाँ कटाक्ष हुन्छ। यहाँ संवाद छैन, केवल निर्णय छन्।
तर अब हामी युवाहरूले यो चलन तोड्नै पर्छ। हामी आफैँलाई स्पष्ट राख्नुपर्छ। हाम्रो मित्रता, हाम्रो सम्बन्ध, हाम्रो अभिव्यक्ति— यी सबै कुरा हाम्रो निर्णय हो, समाजको अड्कलबाजीबाट नचलिने कुरा हो।
आज मैले विवाह गरिनँ तर समाजले गराइदियो। भोलि जब म साँच्चिकै विवाह गर्छु, तब म भन्छु— ‘अब भोज खाऊँ, साँच्चिकै बुहारी हेर्नुहोस्।’
तर त्यो दिन आउनुअघि मलाई झुटो बधाई नदिनुहोस्। मलाई अड्कलबाजीबाट नथिच्नुहोस्। मलाई मेरो जीवन आफैँले बनाउन दिनुहोस्।
किनकि मैले त मात्र फोटो खिचेँ, त्यो पनि एउटा साथीको साथमा। तर समाजले त मण्डपै सजाएर, पण्डितै बोलाएर, विवाह गराइदियो!