'हाई! आ'म क्लारा,' उसले हात अगाडि बढाउँदै आफ्नो परिचय दिई।
'हाई!’ हात मिलाउँदै मैले पनि मुस्कुराएर आफ्नो नाम बताएँ।
'नाइस नेम' उसले आफ्नै लवजमा मेरो नाम उच्चारण गर्दै भनी। मैले उसकै भाषामा धन्यवाद टक्र्याएँ।
त्यसपछि ऊ मेरो काम गर्ने ठाउँको साथी बनी। म काममा नयाँ थिएँ। ऊ सिनियर थिई, काममा पनि अनि उमेरमा पनि। उसले मलाई सबै कामहरू पालैपालो सिकाउँदै गई। मेरो नेपाली लवजको अंग्रेजी घरीघरी उसलाई बुझ्न गाह्रो हुन्थ्यो अनि मैले दोहोर्याएर बुझाउनु पर्थ्यो। उसको अंग्रेजी भने अरूको जस्तो नबुझिने थिएन। उसको कुरा मैले बुझेकोले पनि मलाई ऊसँग काम गर्न सजिलो लागेको थियो। अर्को कुरा, उसले मलाई धेरै कुराहरू सोधिरहन्थी जसले गर्दा मलाई बोल्ने अभ्यास पनि भइरहेको थियो।
मिस क्लारालाई मैले पहिले नै भनिसकेकी थिएँ कि मेरो ‘एक्सेन्ट’ तिमीलाई बुझ्न गाह्रो लाग्न सक्छ भनेर। म दुई महिनाअघि मात्रै नेपालबाट आएकी हुँ भनेपछि ऊ अचम्म पर्दै 'वाउ योर इङ्लिस इज भेरी क्लियर' भन्थी। किनकि यहाँ अंग्रेजी दोस्रो भाषा हुने अन्य देशबाट भर्खरै आएकाहरू (भारतीय र नेपाली बाहेक) प्रायः त्यति राम्रोसँग अंग्रेजी बोल्न जान्दैनन् रहेछ।
मेरो ठुटे अंग्रेजीलाई उसले क्लियर भनेपछि मलाई ऊसँग बोल्न झन् कन्फिडेन्स आएको थियो। अर्की एक जना थिई हाम्रै डिपार्टमेन्टमा, न मैले बोलेको उसले बुझ्ने, न त उसले बोलेको मैले बुझ्ने। ऊ बोलेको नबुझेपछि मैले जिस्काउँदै भन्थेँ- 'आई निड सबटाइटल।' उनीहरू हाँस्थे।
ऊसँग खासै कुरा हुँदैन थियो। त्यसैले मैले केही नजानेको कुरा सोध्नुपर्यो भने मिस क्लारालाई नै सोध्ने गर्थेँ।
एक दिन मिस क्लाराले र मैले सँगै लन्च खाँदै थियौँ। लन्चमा उसले पोर्क स्यान्डविच खाँदै थिई। मलाई पोर्कको गन्धले असहज बनायो। तर त्यो कुरा मैले उसलाई भनिनँ। भन्नु पनि हुँदैन। उसलाई मन पर्छ उसले खान्छे। मैले पोर्क खाँदिनँ भन्दैमा कसैले खाएकोलाई नराम्रो भन्न मिल्दैन। मैले भेज खाँदै थिएँ। उसले मलाई सोधी- 'आर यु भेगन?'
मैले भनेँ- ‘नो, आई एम नट। बट आई डन्ट इट पोर्क एन्ड बिफ।'
'साँच्चै? पोर्क मिठो हुन्छ नि, बिफ त मलाई पनि मन पर्दैन,' उसले भनी।
'तँ मुस्लिम होस्?' उसले फेरि सोधी।
'होइन, म हिन्दु हुँ। तर हाम्रो देशमा कुनै पनि धर्ममा बिफ चल्दैन। यो कानुन विपरीत हुन्छ। किनकि गाई हाम्रो राष्ट्रिय जनावर हो। हिन्दु धर्ममा त झन् गाईलाई भगवान् मानेर पूजा गरिन्छ। हिन्दु धर्म मान्ने इन्डियनहरूले पनि बिफ खाँदैनन्,' मैले प्रस्टै पारिदिएँ।
'हिन्दुले पोर्क पनि खाँदैनन्?' उसले फेरि सोध्छे।
'पोर्क चाहिँ कोही हिन्दुले खान्छन् तर म खाँदिनँ,' मैले भनेँ।
‘ए... त्यसो भए तेरो निधारमा रातो केही संकेत हुनुपर्ने हो खोइ त? तेरो देशमा हिन्दुहरूले निधारमा रातो सानो कुनै चिज लगाउँछन् होइन?' उसले जाने झैँ गरेर सोधी।
'त्यसलाई टीका भनिन्छ। मैले कहिलेकाहीँ लगाउँछु तर सधैँ लगाउँदिनँ, म अलि मोडर्न नेपाली हुँ,' मैले हल्का मजाकको शैलीमा हाँस्दै भनेँ।
‘तर तैँले लगाउनु पर्छ, त्यो तेरो देशको पहिचान हो’ भनी। मैले 'अँ 'भनेर सहमति जनाउँदै उसलाई सोधेँ- 'तिमीलाई कसरी यति धेरै कुरा थाहा भयो नेपालको बारेमा?'
मेरो प्रश्नको जवाफमा आफूले टिभीमा धेरै डकुमेन्ट्रीहरू हेर्ने भएकोले यो सबै जानकारी भएको बताई।
मिस क्लाराले म नेपालबाट भन्ने थाहा पाएपछि नेपालको बारेमा आफूलाई थाहा भएका कुराहरू बताउन थाली। 'तेरो देशमा हात्तीहरू छन् है,जङ्गल पनि छ है, सरकारी जङ्गल छ है, जंगली हात्ती पनि छन् तेरो देशमा?।
उसको कुरामा हो मा हो थप्दै मैले आफ्नो देशको बारेमा उसलाई अझै धेरै जानकारी दिन थालेँ। 'हात्ती मात्र होइन मेरो देशमा बाघ पनि धेरै छन्। बाघ धेरै हुने चौथो देश हो नेपाल। त्यहाँ लगभग साढे तीन सय बाघ छन्।'
उसले दंग पर्दै सुन्थी। अनि सोध्थी, 'तेरो देशको वेदर कस्तो छ, गर्मी छ कि जाडो?'
मैले सानका साथ गफ दिँदै थिएँ- 'मौसम र प्रकृतिमा मेरो देश विश्वमै सुन्दर देश छ। सानो छ तर निकै सुन्दर छ। त्यहाँ भौगोलिक विविधता छ, हिमाल पहाड तराई सबै छ। धार्मिक विविधता छ। सबै धर्मका मान्छेमा मेलमिलाप छ। सबै बिचमा आत्मीयता छ। ठिक्कको चिसो, निकै चिसो र गर्मी ठाउँ पनि छ।'
मैले यति भन्दै गर्दा उसले सोध्छे- 'तँ चिसो ठाउँमा बस्थिस् कि गर्मी ठाउँमा?’
'म टेक्सस जस्तै समरमा गर्मी, विन्टरमा जाडो हुने ठाउँमा बस्थेँ' भनेँ।
उसले हाँस्दै भनी- 'टेक्ससमा कहाँ विन्टर हुन्छ र? यहाँ त समर आउँछ, वर्षा आउँछ अनि फेरि समर आउँछ, यहाँ त जाडै हुन्न।'
हामी दुवै जना हाँस्यौँ।
यहाँका मान्छेहरू एसीको चिसोमा बस्छन्, यिनीहरूलाई जाडोमा पनि गर्मी नै हुन्छ। त्यसैले होला विदेशीहरू नेपालमा घुम्न आउँदा जाडोमा पनि पातलो लुगा लगाएर हिँडेको देख्थ्यौँ हामीले।
मैले नेपालको सुन्दरताको बारेमा बखान गरेको सुनेपछि मिस क्लाराले मसँग एउटा प्रश्न गरी। प्रश्न गम्भीर थियो।
'त्यति सुन्दर हुँदाहुँदै पनि तँ आफ्नो देश छोडेर किन यहाँ आइस्?'
उसको प्रश्न सुनेर मैले पिउँदै गरेको पानी झन्डै सर्किएन।
'आर यु ओके?' उसले सोधी।
'या आ'म ओके, लन्च टाइम इज अलमोस्ट ओभर' मैले घडी हेर्दै उसको प्रश्नको जवाफ नदिनको लागि कुरालाई अन्तै मोडेँ। मसँग तुरुन्तै दिनको लागि त्यसको जवाफ पनि त थिएन। उसको प्रश्नबाट तत्काल म तर्किए पनि मैले त्यसको जवाफ खोज्नु थियो। उसलाई जवाफ नदिए पनि मैले आफैले आफैँलाई त्यसको जवाफ दिनु थियो। मिस क्लाराले जस्तै अरूले पनि सोध्ला मलाई त्यो प्रश्न। के हरेक पटक मैले पानी सर्किएको बहाना गरेर त्यसको जवाफबाट तर्किन सकुँला? आखिर के जवाफ दिनु मैले?
के मैले मेरो देशमा राजनीतिक स्थिरता छैन, मेरो देशमा शिक्षा स्वास्थ्य रोजगारीको अवसर छैन भनेर भन्नु? यति सुन्दर भौगोलिक विविधता भएको देशमा बाटोघाटोको अवस्था बेहाल छ भनेर भन्नु? भ्रष्टाचार, कमिसन, कुर्सीको तानातान, फोहोरी राजनीति, देशको लागि केही गर्छु भनेर राजनीतिमा आउन खोज्ने युवाहरूलाई खुट्टा तान्ने प्रवृत्ति, युवाहरूमा नैराश्य, पुरानै सिस्टम, पुरानै शैली पुरानै पार्टीहरूको हालीमुहाली, मासुभात र पैसामा बिक्ने भोट। दक्ष जनशक्ति दिनहुँ पलायन भइरहँदा मौन बस्ने राज्य। यो सबै कुरा भनेर के मैले आफ्नै देशको बदनाम गर्नु? मैले यसो गर्न सकिनँ। मलाई मभित्रको राष्ट्रियताले यसो गर्न दिएन। विदेशमा भए पनि देशको माया मनभरि थियो।
यसो सोच्दा देशमा बस्न खानै नभएर यहाँ आएको पनि त होइन। यहाँ आउँदैमा बाटो-बाटोमा पैसा टिपेर सुखी जीवन बिताएको पनि कसैले छैन। जिन्दगी यहाँ पनि संघर्षपूर्ण छ। कमाएको पैसा यहीँ बस्न खान ठिक्क छ। धेरै वर्ष यहाँ बिताएपछि मात्र व्यवस्थित तरिकाले स्थायित्व ल्याउन सकिन्छ। करियर बनाउने उमेरमा आएकाहरूलाई ठिक छ तर आधा समय नेपालमै संघर्ष गरेर आउनेहरूलाई शून्यबाट सुरु गर्न झन् गाह्रो छ।
विद्यार्थीहरूलाई कलेजको चर्को शुल्क तिर्नुपर्ने प्रेसर छ। राति, बिहान नभनी, सानो ठुलो नहेरी जस्तो पनि काम गर्नुपर्ने बाध्यात्मक अवस्था छ। काम पाउनु नै ठुलो कुरा छ। आराम गर्नुभन्दा पनि धेरै घण्टा काम पाउनु प्राथमिकतामा पर्छ। तर पनि यो देश किन सबैको सपनाको देश बनेको छ? नेपालमा खाइरहेको सरकारी जागिर छोडेर पनि कति यहाँ हाम फालेका छन्, डाक्टर, इन्जिनियर, खेलाडी, कलाकार सबै यहीँ आउन मरिहत्ते गरेका छन्।
के यो देशमा भैलिनीले आशिष् दिएको जस्तो ढुंगा छुँदा सुन बन्छ? पात छुँदा पैसा बन्छ? अहँ! तर किन तानिरहेको यो देशले सबैलाई र किन धकेलिरहेको छ हाम्रो सुन्दर शान्त देश नेपालले?
सपनाको देश अमेरिका। तर यहाँ आएपछि सपना देख्ने समेत फुर्सद हुँदैन। यहाँ नआउँदासम्म मात्र हो सपनाको देश। यहाँ आएपछि एक पटक जसले पनि म नेपाल फर्किन्छु भन्छ। १०० मा २ प्रतिशत मात्र फर्केर जालान् तर आएपछि यसरी फस्छन् कि यहाँ बस्न मन पनि हुँदैन र नेपाल फर्किन पनि आँट आउँदैन। आइहालियो अब एक/दुई वर्ष बसेर फर्किन्छु भन्छन्।
१/२ वर्षमा छोराछोरी यतैको माहौलमा भिज्न थाल्छन्। छोराछोरीको पढाइ, स्वास्थ्य, यहाँको सुविधा, सफा वातावरण अनि छोराछोरीको खुसीको लागि भए पनि बस्नुपर्छ भनेर फस्छन्।
कोही नेपाल फर्किन्छु भनेर बिदामा नेपाल जान्छन्, यहाँको सिस्टम र सुविधा उपभोगको बानी परिसकेको हुन्छ अनि ओहो सकिन्न नेपाल बस्न भन्ने सोचेर फर्किन्छन्। अनि फेरि यहाँ फस्छन्। कसैले अब नेपाल फर्किएर साथीभाइ आफन्तको अगाडि कसरी मुख देखाउनु। त्यत्रो एयरपोर्टमा खादा लगाइदिएर, बधाई दिएर बिदाइ गरेको नेपाल फर्किनको लागि हो र भन्ने सोचेर फस्छन्।
कस्तो विडम्बना! देश रित्तिँदै छ, १२ कक्षा सकेपछि सबैको उद्देश्य एउटै छ- विदेश। अनि विडम्बना, आफ्नै छोराछोरीको विदेशको भिसा लाग्दा बधाई दिनुपर्ने अवस्था छ। यसरी पलायन भइरहेका दक्ष युवाहरूलाई देशमै रोक्ने वातावरण सृजना गर्नुपर्छ भनेर राज्यको ध्यानाकर्षण हुने कहिले होला? राज्यले नचिनेका कत्ति हिराहरू फसेका छन् यहाँ। जसको दक्षता र क्षमताको सदुपयोग राज्यले गर्न सकेन। यस्तो लाग्छ कुनै दिन नेपालमा एउटा डाक्टर हुने छैनन्, नर्स हुने छैनन्। नयाँ नयाँ सोच र सृजनशीलता भएका कोही पनि हुने छैनन्।
कुनै दिन नेपाल ज्येष्ठ नागरिकहरूको देश भनेर विश्वमा चिनिन बेर छैन भन्ने डर पो लाग्दै छ।
खाडी मुलुकमा पसिना बगाउनेहरूको अर्कै बाध्यता होला। तर विकसित देशमा आउनेहरू सबै जना बाध्यताले आएका हुँदैनन्। कोही नेपालमा भन्दा अझै सुख सुविधा हुन्छ यहाँ भन्ने भ्रमले आएका छन्, कोही छोराछोरीको भविष्यको लागि भनेर आएका छन्। यहाँ आउँदैमा सबै सुखी र सम्पन्न भएका छैनन्। सुख त नेपालमै छ। नेपालमा आत्मीयता छ, प्राकृतिक सुन्दरता छ, आफन्तहरू छन्, रमाइलो छ। घुम्न जाऊँ भने सस्तो खोजे सस्तो, महँगो खोजे महँगो ठाउँ छ। विदेशका जस्तै सफा सुग्घर होटेलहरू छन्। संस्कार छ, आफ्नोपन छ।
नेपाल विकसित होस् तर अमेरिका जस्तो नहोस्। नेपाल नेपालै जस्तो भएर विकसित होस्। सफा फराकिलो बाटो, शिक्षा र स्वास्थ्यमा प्राथमिकता, पर्यटन प्रवर्द्धनमा जोड, हरेक सिस्टम नियम कानुनअनुसार होस्। कसैको मामा, भिनाजु, कसैको ससुरा पावरमा भएको आधारमा होइन कुनै पनि मान्छेको दक्षताको मूल्यांकन होस्। काम गरेर बाँच्न चाहनेहरू कोही पनि खाली बस्न नपरोस्। यत्ति कुरा त हुन् हामीलाई चाहिएको।
तर मेरो देशमा त्यो सबै कुरा नभएरै आएकी हुँ म यहाँ भनेर मैले मिस क्लारालाई जवाफ दिन कहिल्यै पनि सक्नेछैन। आफू जन्मिएको हुर्किएको देशको बदनाम कसरी गर्न सक्छु मैले अर्काको देशमा आएर! आफूले आफैँलाई दिनको लागि जवाफ भए पनि अरूले सोध्दा दिने त्यो प्रश्नको जवाफ छैन मसँग- म किन आफ्नो देश छोडेर आएँ?