२०३६ सालमा शिक्षाशास्त्रीको उपाधि लिएको थिएँ। उमेर गधापच्चीसी पार भएकै थिएन। म मोरङको विराटनगरमा थिएँ।
त्यसै बेला मोरङकै इटहरास्थित सरस्वती प्रस्तावित माध्यमिक विद्यालयले भर्खरै स्थायी स्वीकृति पाएको थियो। माध्यमिक तहको स्थायी स्वीकृति पाएपछि प्रधानाध्यापक पदमा नियुक्ति लिएर म इटहरा पुगेँ।
म त्यहाँ पुग्दा विद्यालयको अवस्था राम्रो थिएन, एक हिसाबले बिजोग थियो। विद्यालय भवन काठले बनेको थियो जसमा एक तलामाथि २१ वटा कोठा थिए। तलामुनि बारबेर केही थिएन। खुला ठाउँमा डेस्कबेन्च राखेर पढाइने रहेछ। यस्ता कक्षा १० वटा थिए।
कक्षामा शिक्षक रहेकै बेला पनि एउटा कक्षाको विद्यार्थीले अर्को कक्षाकोसँग गफ गर्न सक्थ्यो, मौका परे जिस्क्याउन पनि सक्थ्यो। त्यस बेला कक्षा एकदेखि १० सम्ममा १५ सय जति विद्यार्थी थिए। कक्षा ९ र १० का केही विद्यार्थी त मभन्दा बढी उमेरका पनि थिए।
मैले प्रधानाध्यापक भएर काम सुरू गरेपछि शिक्षक बैठक राखेँ। शिक्षकहरूले बारबेर बिनाको खुला ठाउँमा पढाउनुपरेको गुनासो गरे।
मैले वचन दिएँ, 'केही महिनामै भुइँतलामा काठले बारबेर गरिनेछ। तपाईंहरू ढुक्क हुनुहोस्।'
सबै शिक्षकले जोडतोडले ताली बजाए।
म प्रधानाध्यापक भएको एक साता पनि भएको थिएन। बारबेर गरिनेछ त भनेँ तर त्यसको उपाय मलाई नै थाहा थिएन। भन्न जति सजिलो थियो त्यति नै कठिन थियो काम गरेर देखाउन।
इटहरा मेरा लागि नयाँ ठाउँ थियो, म इटहराका लागि नयाँ थिएँ।
विद्यालय सञ्चालक समितिका अध्यक्ष हुनुहुन्थ्यो डिल्लीराम गुरागाईं। उमेरले मभन्दा जेठा, थर एउटै भएका नाताले म उहाँलाई ससम्मान 'दाइ' भन्थे। उहाँ मलाई सम्मानजनक ढंगले 'हेडसर' भन्नुहुन्थ्यो। उहाँले नै मलाई प्रधानाध्यापक नियुक्त गराउनुभएको थियो।
डिल्ली दाइ आँट र साहसका लागि पहलमानसरह हुनुहुन्थ्यो। विद्यालयको खातामा शिक्षक र कर्मचारीलाई तलब दिनेबाहेक एक पैसा पनि थिएन। खुला ठाउँ बारबेर गर्न पैसा चाहिन्थ्यो, त्यसनिम्ति कुनै स्रोत थिएन।
अध्यक्ष भएका नाताले डिल्ली दाइ पनि खुला भुइँतलामा पढाइ हुने गरेको विषयमा जानकार नै हुनुहुन्थ्यो। मैले एक दिन डिल्ली दाइलाई समस्या सुनाएँ, आफूले शिक्षकहरूलाई दिएको वचन पनि सुनाएँ।
उहाँ एक छिन मौन रहनुभयो र एउटा उपाय बताउनुभयो — स्कुलहातामा रमाइलो मेला लगाऔं, जुवातास खेलाऊँ, जित्नेबाट स्कुलका लागि १० प्रतिशत रकम उठाऔं र त्यही पैसाले विद्यालय बारबेर गरौं।
अब मौन रहने पालो मेरो थियो। सरस्वतीको मन्दिर मानिने विद्यालयमा जुवातास खेलाउनु राम्रो होइन भन्ने लाग्यो।
मैरो मौनता भंग गर्दै डिल्ली दाइ बोल्नुभयो– कसो हेडसर! हुँदैन त!
विद्यार्थीहरूको हल्लाका बीचमा खुला ठाउँमा पढाइ हुने गरेको र आफूले शिक्षकलाई दिएको वचन सम्झेँ। 'मर्नुभन्दा बहुलाउनु निको' भन्ने उखान सम्झेँ र हुन्छ भनेँ।
डिल्ली दाइ आफै लागेर प्रशासनिक प्रक्रिया पूरा गराउनुभयो। विद्यालयहातामा मेला लगाउने कार्यक्रम बनाएर म आफैले पर्चा–पम्लेट लेखेँ। अनि ठाउँठाउँमा टाँस्न लगाएँ। त्यसबाहेक प्रचारप्रसारको अर्को उपाय थिएन।
केही दिनपछि मेला सुरू भयो। एउटा कक्षाकोठामा तीन वटासम्म जुवाखाल राखिए। जुवाबाट उठेको पैसा जम्मा गर्न काठका बाकस बनाइए, खुत्रुकेजस्ता।
प्रत्येक जुवाखालमा उठेको पैसा बाकसमा राख्न विद्यालयबाट एक जना प्रतिनिधि राखिए। कुनै बेइमानी नहोस् भनेर निगरानीको व्यवस्था पनि गरियो।
बाकसमा ताला लगाउने व्यवस्था थियो। चाबी मेरा जिम्मामा र बाकस डिल्ली दाइका जिम्मामा थिए।
भोलिपल्ट बिहान डिल्ली दाइ, म र तोकिएका अन्य व्यक्तिको रोहवरमा बाकस खोलिन्थे। जम्मा भएको पैसा विद्यालयको आम्दानी हुन्थ्यो।
पन्ध्र दिनको मेला सकियो। जुवाखाल, सर्कस र मेलाका अन्य गतिविधिसमेतबाट आजभन्दा करिब ४५ वर्षअघि अपेक्षा गरेभन्दा बढी पैसा उठेको थियो।यति नै थियो भन्ने सम्झना छैन।
त्यही पैसा खर्च गरेर विद्यालय भवनको भुइँतला काठको तखताले बार्ने निर्णय भयो।
गाउँमा काठको काम गर्ने ठेकेदार मिस्त्री थिए सियाराम। मैले सियारामलाई बेलाएर सखुवाका रूख ढाल्ने, तखता चिरानी गर्ने र बार्ने ठेक्का दिएँ। विद्यालय रहेको ठाउँबाट करिब एक–डेढ किलोमिटर उत्तरपूर्व सातमिडी भन्ने ठाउँमा सखुवाका ठूल्ठूला रूख प्रशस्तै थिए। ती रूख ढालेर चिरानी गर्न भनिएको थियो।
पुरानो जंगल फाँड्दै बस्ती बस्ने क्रम तीव्र थियो। मानिसहरू बडेमानका रूख ढाल्दै घर बनाउँथे तैपनि रूख ढाल्नु जोखिमको काम थियो। वन कार्यालयले पक्राउ गर्ने र मुद्दा चलाउने डर हुन्थ्यो।
बेलुका भएपछि कामदारहरू रूख ढाल्थे र नाप अनुसारका टुना (मुढा) बनाउँथे। मसहित शिक्षक साथीहरू टीकेन्द्र पोमू, दिनेश्वर साह, रामप्रसाद बराल, राजेन्द्र सापकोटा रूख ढालेर बाँकी रहेका ठुटामा ज्यागन थुपारेर आगो लगाउँथ्यौं।
त्यसरी आगो लगाएपछि आलो ठुटो पनि पुरानोजस्तो देखिन्थ्यो र वन कार्यालयको आँखाबाट जोगिन सकिन्छ भन्ने ठानिन्थ्यो। रूखका मुढा राति नै विद्यालय परिसरमा पुर्याएर चिरान गरिन्थ्यो।
धमाधम गरेर भुइँतला बारबेर गरी २१ वटा कोठा तयार गरियो। माटोले पुरेर होचो भुइँ अग्लो बनाइयो। त्यसमाथि इँटा छापेर सिमेन्ट प्लास्टर पनि गरियो।
त्यति काम गर्दा रमाइलो मेलाबाट उठेको पैसा सकियो। झ्यालमा फलाममा रड लगाइयो तर झ्यालमा र ढोकामा पल्ला हाल्न पैसा पुगेन।
के गर्ने होला भनेर सोच्दै थिएँ, अचानक एउटा जुक्ति फुर्यो।
सबै कक्षामा गएर विद्यार्थीलाई उर्दी जारी गरेँ – तिमीहरू सबैले हेडसरले छलफलका लागि बोलाउनुभएको छ भनेर भोलि बुबा वा आमालाई लिएर आउनू।
विद्यालयप्रति अभिभावकहरूको आस्था थियो, करिब दुई सय जना भेला भए।
सबैलाई विद्यालयको चउरमा राखेर भनेँ – अभिभावकज्यूहरू, हजुरहरूलाई विद्यालयमा स्वागत छ। हामी हजुरहरूका मुटु–कलेजोका टुक्राजस्ता छोराछोरी पढाउँछौं, आफ्ना छोराछोरी पढ्ने ठाउँ हजुरहरूले हेरिदिनुपर्छ।
त्यति भनेर मैले उहाँहरूलाई भुइँतलामा झ्याल र ढोका नभएका कोठा घुमाउन लगेँ।
सबै हेरिसकेपछि फेरि सबैलाई चउरमा राखेर भनेँ – यही देखाउन आज हजुरहरूलाई बोलाएको हुँ, दुःख नमानिदिनुहोला।
त्यति भनेपछि सोधेँ – आफ्ना छोराछोरी पढ्ने ठाउँ हजुरहरूलाई कस्तो लाग्यो त?
थुप्रै अभिभावकले आआफ्ना धारणा प्रकट गरे।
सबैको भनाइको सार एउटै थियो – कोठामा झ्यालढोका रहेनछ, झ्यालको पल्ला नहुँदा जाडोमा चिसो हुन्छ, ढोका नहुँदा कुकुर पसेर फोहोर गर्छ।
उनीहरूका कुरा सुनेपछि मैले भनेँ – अभिभावकज्यूहरू, विद्यालयमा झ्यालढोका बनाउन काठ छैन, पैसा पनि छैन।
अभिभावकहरूबीच आपसमा गफगाफ चल्यो।
एक जना अभिभावक जुरूक्क उठेर भन्नुभयो – चार वटा ढोका बनाउन लाग्ने काठ, किलाकब्जा, अन्तरा जे जे चाहिने हो; म दिन्छु।
मैले एउटा रजिस्टर दिएर शिक्षक रामप्रसाद बराल (रामसर) लाई तैनाथ राखेको थिएँ। चार वटा ढोकाको जिम्मा लिने अभिभावक हुनुहुन्थ्यो देवीबहादुर कार्की।
उहाँले दिएको वचनको बेहोरा रजिस्टरमा लेखेर सही गराउन लगाएँ।
अर्का अभिभावक रामलाल ढुंगेल अघि सरेर भन्नुभयो – म पाँच वटा ढोकाका लागि लाग्ने सबै काठ र अरू सामान दिन्छु।
उहाँको वचन अनुसारको बेहोरा लेखेर रामसरले सही गराइहाल्नुभयो। खतिवडा थरका (नाम सम्झिन सकिनँ) अर्का एक जनाले तीन वटा ढोकाको वचन दिनुभयो।
टंकनाथ घिमिरे, गुरूप्रसाद कोइराला, कृष्णप्रसाद बाँस्तोला र अन्य केहीले जनही एक हजार रूपैयाँ चन्दा दिने वचन दिनुभयो। उहाँहरूलाई रामसरले बोलकबुलमा सही गराइहाल्नुभयो।
केही अभिभावकले एक सय, दुई सय रूपैयाँ चन्दा दिने वचन दिनुभयो। रजिस्टरमा साढे २७ हजार रूपैयाँ जम्मा हुने हिसाब देखियो।
भेलामा आएका दुई जना अभिभावक काठको काम गर्ने मिस्त्री हुनुहुँदो रहेछ। उहाँहरूले ६ वटा ढोका र ६ वटा झ्याल सित्तैमा बनाइदिने वचन दिनुभयो।
भोलिपल्टै वचन अनुसारको सामान र पैसा जम्मा थाल्यो। सात दिनभित्र सबै पैसा उठ्यो। धमाधम काम भयो। अभिभावकहरूको सहभागिता र हौसलाबाट म निकै उत्साहित भएँ। एक महिनामा सबै कोठामा ढोका र झ्यालका पल्ला लागे।
भुइँतलाका कोठामा झ्यालढोका बनाउने काम सकिँदा पनि अभिभावकले चन्दा दिएको केही पैसा बचत भयो। त्यस पैसाले विद्यालय भवनको बीचबाट तलामाथि जाने काठको फराकिलो सिँढी बनाएर त्यसमा छानो हाल्न लगाएँ।
माग्न जान्यो भने हाम्रो समाजमा उदार मनका सहयोगी हातहरूको कमी रहेनछ भन्ने लाग्यो। इटहराका ती दानवीरहरूलाई आज पनि म स–सम्मान स्मरण गरिरहेको छु।
विद्यालयमा शिक्षक दरबन्दी चौबीस जनाको मात्र थियो। एकै दिन दुई–तीन जना शिक्षकले बिदा लिए भने पढाइ गोलमाल हुन्थ्यो। सरकारबाट शिक्षक पाइहाल्ने अवस्था थिएन। आवश्यकता अनुसार शिक्षक नहुँदा कक्षा व्यवस्थापन गर्न निकै कठिन थियो। कम्तीमा चार जना शिक्षक थप्नुपर्छ भन्ने मेरो निष्कर्ष थियो तर कसरी थप्ने!
विद्यालयले नै तलब दिने गरी शिक्षक नियुक्त गर्न आर्थिक स्रोत थिएन।
एक दिन सोचेँ – प्रत्येक अभिभावकका घरमा माटाको एकएक वटा गाग्रो राखिदिने र विद्यालयको सहयोगका निम्ति हरेक दिन चामल मुठीदान गर्न आह्वान गर्ने।
त्यसै अनुसार पत्र तयार गरेर लिथो मेसिनमा एक हजार प्रति छपाएँ। विद्यार्थीमार्फत पत्र पठाएँ। शिक्षकहरूमार्फत धेरै अभिभावकसम्म मौखिक आग्रह पनि पुर्याएँ।
अभिभावकहरूबाट सकारात्मक प्रतिक्रिया आयो।
रंगेलीबाट माटाका एक हजार गाग्रा झिकाएँ, मुठीदान गर्न इच्छुक अभिभावकको घरमा गाग्रो पुग्ने प्रबन्ध गरेँ। मुठीदान गरेर गरेर जम्मा भएको चामल हरेक महिनाको एक गते विद्यालयमा पठाइदिन आग्रह गरेँ।
पहिलो महिनामै ४० मन (१६ सय किलो) चामल संकलन भयो। त्यो चालम प्रतिमन १२० रूपैयाँका दरले बेच्दा चार हजार ८०० रूपैयाँ आम्दानी भयो।
त्यस बेला निम्न माध्यमिक तहको शिक्षकको तलब चार सय रूपैयाँ जति थियो। मैले निजी स्रोतमा (विद्यालयले नै तलब दिने गरी) चार जना शिक्षक नियुक्त गरेँ।
अभिभावकहरूले उदारताका साथ मुठीदान गरे। सबैलाई धन्यवाद–पत्र पठाएर सहयोग जारी राख्न आग्रह गरेँ।
हरेक महिना चामल जम्मा हुन्थ्यो। चार जना शिक्षकलाई तलब दिन मजाले पुग्थ्यो। अभिभावकले गरेको सहयोगले मलाई असीम आनन्दको अनुभूति भयो।
मैले 'प्रधानाध्यापक आदेश पुस्तिका' नामको एउटा रजिस्टर बनाएको थिएँ।
एक दिन त्यसमा लेखिदिएँ – शिक्षक ज्ञान दिने व्यक्ति हो, साँच्चै बिरामी भएको अवस्थामा बाहेक कोही पनि शिक्षकलाई बिदा दिइने छैन।
त्यो आदेशमा सबै शिक्षकलाई सही गर्न लगाएँ। सबै शिक्षकहरूले सही गरे तर उनीहरू बेखुस भए। मलाई सिधै केही पनि भनेनन् तर आपसमा मेरो चर्को आलोचना गरे।
कतिपय शिक्षकहरू देशबाट राणाशासन हटेको ३० वर्ष भयो तर हाम्रो विद्यालयमा कायमै छ भनेर कटाक्ष पनि गर्थे। म यस्तो सूचना एक जना पुराना शिक्षकबाट नियमित रूपमा पाउँथे। फाटफुट सोझै मेरो कानमा पनि पर्थ्यो।
म स्कुल राम्रो बनाउने रनाहामा थिएँ। त्यस्तो आलोचनाले छुँदैन थियो।
त्यो आदेशपछि केही साता एक जना पनि शिक्षकले बिदा लिएनन्। शिक्षणको गति निकै राम्रो भयो।
केही दिनपछि प्राथमिक तहका एक जना स्थायी शिक्षकले 'बिरामी बिदा पाऊँ' भनेर पठाएको पत्र मेरो टेबलमा आयो। शिक्षक आएका थिएनन्, पत्र एक जना विद्यार्थीले ल्याएको थियो।
मैले 'उहाँ बिरामी भएर सुत्नुभएको रहेछ भने तपाईं फर्किनू, कुनै काम गर्दै हुनुहँदो रहेछ भने हेडसरले बोलाउनुभएको छ भन्नू र साथै लिएर आउनू' भनेर एक जना कार्यालय सहयोगीलाई ती शिक्षकका घरमै पठाएँ।
बिरामी बिदाको पत्र पठाएर शिक्षक त खेत जोत्दै हुनुहुँदो रहेछ। कार्यालय सहयोगीले उहाँलाई लिएरै आउनुभयो।
मैले 'बिरामी बिदा साँच्चै बिरामी हुँदा मात्र स्वीकृत हुन्छ' भनेँ र शिक्षकलाई कक्षामा पठाएँ।
गाधापच्चीसी उमेरको त्यो घटना सम्झिँदा आज पनि मेरो मन अमिलो हुन्छ, ग्लानी हुन्छ। भोलिपल्ट सम्झाएको भए पनि भइहाल्थ्यो! अर्कोपटक यसो नगर्नू भनेको भए पनि हुन्थ्यो! शिक्षकले बिदा पाउने नियम पनि त थियो!
'कर्मचारीका लागि बिदा अधिकार होइन, सहुलियत मात्र हो' भनिन्छ। बिरामी नभई भएँ भनेर ढाँट्न पाइँदैन भन्ने मेरो मान्यता थियो। उहाँ शिक्षक विद्यालय राम्रो बनाउने मेरो युवा जोसको घानमा पर्नुभएको थियो। त्यो घानमा परेका शिक्षक साथी! म क्षमा चाहन्छु, मलाई क्षमा दिनुहोला!
दिन बित्दै जाँदा मेराविरूद्ध षड्यन्त्रको तानाबाना बुन्ने काम भयो। त्यसैको सिकार भएपछि प्रधानाध्यापक भएको अठारौं महिनामा शिक्षक साथी टीकेन्द्र पोमूलाई 'निमित्त प्रधानाध्यापक भई काम गर्नू' भन्ने पत्र दिएर म काठमाडौं पसेँ।