जब हाकिम साप मेरो चेम्बरमा आएर खुसी हुँदै आफूले चुरोट छाडेको खुसी मसँग बाँडे, मैले सोधेँ, ‘कति दिन भयो?’
उहाँले बिहानदेखि खाएको छैन भन्नुभयो।
‘आदत से मजबुर’ भनेझैँ नानीमा लागेको बानी कहिल्यै हटाउन सकिँदैन भनिन्छ नि, यस्तै हो। यस कारण सकेसम्म कुनै कुराको लत लगाउन हुँदैन।
हमेसा काममा जुटिरहने उनले चुरोट छाड्न धेरै प्रयास गरेका थिए। लामो समय उनीसँग रहँदाको अनुभवमा उनले चुरोट छाड्न के मात्र गरेनन्! निकोटिनको ट्याब समेत खाए। बिचरा तैपनि छोड्न सकेनन्।
अर्का हाकिम थिए, उनी पनि त्यस्तै। ‘सर, मैले चुरोट छाडेँ नि आजबाट’ भन्दथे। मुस्किल बिस बाइस दिनसम्म टिकाउन सक्थे। अनि फेरि ‘भएन मिटिङमा जाँदा साथीभाइसँग भेट्दा कर गरी हाल्छन्, एक पटक एक सर्को त लिनुस् भन्छन्, खायो अनि तलतल बढ्छ। फेरि सुरु गरेँ’ भन्दै आउँथे।
चुरोट रक्सी छुटाउन हरेक परिवारमा महाभारत छ, सबैले प्रयास गर्छन् सक्दैनन्। मेरो अनुभवमा हुने खाने भन्दा हुँदा खाने बढी लतको सिकार बनेका छन्। यतिसम्म कि रिहाबमा जाँदा पनि सुध्रन गाह्रो भएको पाइयो। तलतलले गर्दा घर परिवार सबै ध्वस्त भएको छ।
एक जना काम गर्ने नानीको श्रीमान् रक्सी नखाँदा त भगवान् जस्तो रक्सी खाएपछि राक्षस जस्तो छन् रे। श्रीमती, केटाकेटी सबैलाई कुट्ने, घरको सामान फुटाउने, मनपरी बोल्ने जस्ता समस्याले गर्दा श्रीमान् नै छाड्न पर्ने जस्तो बाध्यता परेको बताउँथिन्।
‘अहिले रिहाब पठाएपछि सुध्रेको छ, काम गर्ने सिप छ, पैसा पनि कमाउँछ’ भन्दथिन् ती बहिनीले। यति मात्र कहाँ हो र, बाउको उपस्थिति देख्दा बच्चा तर्सिने रहेछन्। बिचरा बाउ पनि कुल लाग्यो। नियत खराब छैन, संगत अगतिलाको गरेपछि कुलतमा फसिन्छ। नखाएको बेला त कसैले हेउ पाउन्न, यो मान्छे खाएपछि बहुलाउँछ भनेर।
यो वर्ष धेरै समयपछि गाउँ जाने मेसो मिल्यो। केही दिन उतै बसियो पनि। गाउँमा युवा, वयस्क, वृद्ध सबै जना रक्सीले मातेको देख्दा रुन मन लाग्यो। न गाउँमा रिहाब छ न त ती मानिस रिहाब जान नै मान्छन्। मलाई के भएको छ र अस्पताल जाने भन्छन्। गाउँमा समाज छ, टोल छ जनप्रतिनिधि छन्, सरकार छ र पनि कोही नभए जस्तो छ।
के गर्ने? कोही कसैको लागि बोल्दैनन्। महँगाई र एकल सोचले समाज बेफिक्र भएको छ। अरूलाई मात्र के दोष, म आफै पनि कसैको बाल मतलब गर्दिनँ। हुन त म न समाजसेवी, न राजनीति गर्ने, न जनप्रतिनिधि। तीन न तेह्रको मान्छे म के गर्न सक्छु र?
गाउँमा सप्रेका सद्दे मान्छे पनि छन्। विदेश गएका छन्। डाक्टर, इन्जिनियर भएका छन्। सबै स्कुटर बाइकमा कुद्छन्। सबै घरमा सुख शान्ति बढेको छ। खुसी लाग्छ गाउँ सप्रेको देख्दा पनि।
तर बिग्रेका मानिस कुलतमा लागेकाहरूको अवस्था सोचनीय छ। कुलत भन्ने चिजले सबैलाई सकाउँछ। अमेरिकी लेखक एरनेष्ट हेमिङ्गवेयको अनुसार ‘बुद्धिमान मानिस पनि कहिलेकाहीँ मूर्खहरूको दबाबमा पिउन र समय बिताउन बाध्य हुन्छन्।’
हाम्रो समाजमा दर्जनौँ गीत बनेका छन् चुरोट रक्सीको नाउमा जस्तै- हातमा चुरोट सलाई, एउटा चुरोट सल्काएर पल्लो घरमा झर्यो, इज्जत गयो पिउने बानिले आदि।
एक विदेशीकोमा जागिर माग्न जाँदा रक्सी चुरोट खान्छौ खान्नौ सोधे। मैले खान्न भन्दा यो फिल्डमा नखाई हुँदैन भन्दथे। नखाई वर्षौँ बिताएँ तर साँच्चै त्यो फिल्डको हुन सकिनँ।
कोही भन्दछन् चुरोट खराब, कोही भन्दछन् रक्सी। तर घरमूली भन्छिन् रक्सी खराब। डाक्टर भन्छन् चुरोट खराब। आखिर नसा नसा नै हो, सबै खराब नै हो। कोही आफूलाई सोसियल स्मोकर ड्रिङ्कर अर्थात् कहिलेकाहीँ साथीभाइ भेट्दा खाने भन्दछन्।
केटाकेटी हुँदा हजुरबाले हुक्का तानेको देखेर एक दिन हामी दुई भाइले घिरौँलाको पातलाई चिलिममा राखेर आगो बालेर धुवाँ तानेको याद आउँछ।
एक जना निकट आफन्त चुरोट पिउनु हुन्थ्यो। एक दिन डाक्टरकोमा जानु भयो। डाक्टरले ‘चुरोट खाएर मर्न मन छ’ भनेर गाली गरेपछि चटक्कै छाड्नुभयो। कोही कोही यसरी पनि लत हटाउन सक्छन्।
रक्सी खानेहरू भन्दछन्, अरू बेला चुरोट खान्न तर रक्सी खाएको बेला एक/दुई सर्को तान्न मन लाग्छ। बझाङमा ५३ साल ताका एउटा सर्भेमा गएको हरेकको बारीमा काँचो पात अर्थात् सुर्ती देखियो। सोधेँ किन? ‘बरु तरकारी नभए बाँचिन्छ तर यो काँचो पात त चाहिन्छ’ भन्दथे।
नेपाली धेरै चुरोट पिउँछन् लाग्थ्यो तर बेलायतमा अस्पताल अगाडि चुरोटका ठुटाहरू र चुरोटको गन्ध देख्दा नेपाली होइन विदेशी बढी खाँदा रहेछन् जस्तो लाग्यो। खैर जे खाऊ, जे लाऊ, जे गरौँ, आफूले थेग्ने गरी गरौँ। यो संसारमा कुनै पनि चिज त्यस्तो छैन अकाट्य आफैमा ठिक र बेठिक। हरेक कुरा सोच र चिन्तनले फरक पार्छ।