बिहान उज्यालो हुँदा उडेका चराहरू साँझ परेपछि आफ्ना बचेरा सम्झिएर गुँड फर्किन्छन्। दिनभर चरणमा बिताएका गाई भैँसीहरू साँझ पर्नासाथ गोठ फर्किन्छन्। परदेशिएका तमाम छोराछोरीहरू वर्षौँदेखि टाढा रहे पनि अन्ततः आमा-बुबा सम्झेर, आफ्नो माटो सम्झेर, आफ्नो मान्छे सम्झेर देश फर्किन्छन्।
तर हजुरबुवा, तपाईं किन फर्किनु भएन?
मैले सुनेअनुसार म जम्मा ९ महिनाको थिएँ अरे जब तपाईं यो संसार छोडेर परलोक लाग्नु भयो। तपाईंको काखको माया मैले पाएँ कि पाइनँ, त्यो मैले सम्झिन सक्दिनँ र म सम्झिने अवस्थामा पनि थिइनँ होला। हजुरको काखमा कति बेर अडिन पाएँ होला, त्यो पनि मलाई याद भएन। तपाईंको हातले मलाई तेल लगायो वा लगाएन त्यो पनि मलाई याद छैन।
समयले मलाई हुर्कायो तर तपाईंको अभावले भने भित्रैभित्र म भत्किइरहेँ। तपाईंका तस्बिर हेरेर तपाईंको अनुहार सम्झिन्छु। हजुरआमाको आँखामा तपाईंको शून्यता देख्छु। बुवा, काका, ठुलोबुवा, फुपू सबैको अनुहारमा तपाईंको प्रतिबिम्ब खोज्छु। तर तपाईं स्वयं तपाईंको उपस्थिति, तपाईंको सास, तपाईंको बोली कहाँ हरायो हजुरबुवा? म त्यो पाउँदै पाउँदिनँ।
गाउँमा सबैले तपाईंको कुरा गर्नुहुन्छ। उहाँहरूले मलाई ‘तिम्रा हजुरबुवा त साह्रै असल थिए, धेरै राम्रा मान्छे थिए’ भन्नुहुन्छ। अझै पनि काइँला बा भन्दा गाउँका मान्छेहरूमा तपाईंप्रतिको सम्मान देख्दा म हजुरको सन्तति हुन पाउँदा निकै गर्व लाग्छ।
गाउँका केही मानिसले भन्ने गर्छन्- ‘तिम्रो हजुरबाको बोलीमा एउटा छुट्टै खालको मिठास थियो।’ तर विडम्बना! मैले त्यो बोली सुन्ने अवसर प्राप्त नै गरिनँ।
यी शब्दहरूले मेरो मनमा तपाईंको एउटा चित्र कोर्छ। तर त्यो चित्र अधुरो छ, अस्पष्ट छ। किनकि त्यो चित्र मेरो यादमा नै छैन। त्यो केवल अरूको वर्णनको भरमा बनेको चित्र हो।
अहिले म १९ वर्षको भएँ। अझै पनि कहिलेकाहीँ म कल्पना गर्छु, यदि तपाईं जीवित हुनुहुन्थ्यो भने म तपाईंको काखमा बसेर तपाईंको कथाहरू सुन्दै हुन्थेँ होला। तपाईंले मलाई जीवनका मार्ग सिकाउनु हुन्थ्यो होला, तपाईंको अनुभवहरूबाट म प्रेरणा लिन्थेँ होला।
हजुरबुवा, मेरो जिन्दगीका धेरै खण्डहरू तपाईं बिना नै लेखिँदै छन्। सायद तपाईंसँग भएका केही घडीहरूले मेरो आत्मालाई ढाडस दिने थियो। सायद तपाईंको अँगालोले मेरो जीवनको दिशा नै फरक बनाइदिने थियो होला। तर नियति यति कठोर रह्यो कि तपाईंको साया पनि मसँग लामो समय रहन पाएन।
तपाईंले त एउटा युग बोकेर जानु भयो। तर तपाईंको अनुपस्थितिले हाम्रो परिवारमा एउटा गहिरो खालीपन छोडेर गयो। आज हरेक चाडपर्वमा, हरेक पारिवारिक भेटघाटमा तपाईंको कुर्सी खाली रहन्छ। हजुरआमाको आँखामा सधैँ एउटा चमक गुमेको देखिन्छ। सायद त्यो तपाईंको अभाव थियो।
जीवन अगाडि बढिरहेको छ। म पनि जीवनसँग संघर्ष गरिरहेको छु, तपाईंले जस्तै। तर यो यात्रामा तपाईंको साथ पाएजस्तो लाग्दैन। तपाईंको माया, तपाईंको मार्गदर्शन, तपाईंको सुरक्षा यी सबै मेरो बालापनको कल्पना बनेर मात्र बाँकी छन्। सायद तपाईं जहाँ हुनुहुन्छ, त्यहाँबाट मलाई हेर्दै हुनुहुन्छ। सायद तपाईंलाई पनि मलाई जस्तै पीडा हुन्छ होला मलाई अँगालो हाल्न नसकेर।
मलाई थाहा छ, मृत्यु अन्तिम सत्य हो र त्यसपछि फर्कन सम्भव हुँदैन। यति बुझेर पनि मन मान्न तयार छैन। हजुरबुवा, तपाईं फर्किनुहुन्न मलाई थाहा छ। तर मन भने हरेक साँझ चराहरू फर्किने बेला, गाईभैँसी गोठ फर्किने बेला, तपाईं पनि फर्किनु हुनेछ भनेर आकाश हेर्छु। तपाईं त देखिनु हुन्न तर हर रोज म आकाशमा एउटा चम्किलो तारा देख्छु। सायद त्यो तपाईं नै हुनुहुन्छ।
सायद तपाईं मेरो मनभित्र सधैँ जीवित हुनुहुन्छ। मलाई लाग्छ तपाईं हामीभित्रै कतै हुनुहुन्छ; शब्दहरूमा होइन, हाम्रो मनमा, हाम्रो आत्मामा।