नेपालबाट सोचेको जापान र यहाँ आइसके पछिको वास्तविक जापान निकै फरक छ। मुख्य कुरा त नेपालबाट जापान पढ्न आउने व्यक्तिका बुवा, आमा र कागजात मिलाउने कन्सल्टेन्सी सबै जिम्मेवारीपूर्वक लाग्नुपर्छ। कन्सल्टेन्सीले जापानको शिक्षा, सुरक्षा र सम्भावनाबारे साँचो जानकारी दिने र अभिभावक अनि आउने व्यक्तिले पनि राम्रोसँग बुझेर मात्रै परदेश आउने सपना बुन्ने पर्छ। हामी कसैले पनि भ्रमको खेती गरेर कलिला बालबालिकाहरू माथि झूटो सपना रोपिदिनु हुँदैन।
अहिले नेपालबाट जापान आउनेहरूको लर्को छ। दिनमै सयौँ हजारको सङ्ख्यामा जापान भित्रिरहेको देखिन्छ। एउटा भनाइ छ नि- काँचो माटोलाई जस्तो रूप दिइयो त्यस्तै बन्छ। अहिले त्यस्तै देखिन्छ। देशमा पढेर के हुन्छ? विदेशमा गएपछि त टन्न कमाउन र रमाउन सकिन्छ भन्ने भावना धेरै भाइबहिनीहरूमा देखिन्छ।
मलाई पनि धेरैले सोध्ने गर्नुहुन्छ, जापान कस्तो छ?
मेरो जवाफ हुन्छ, सङ्घर्ष गर्न सक्नेहरूका लागि ठिकै छ। जापान अनुशासित, प्रविधि क्षेत्रमा राम्रो र यहाँको वातावरण राम्रो छ। तर यहाँ आएपछि आत्मबल भने बढाउनु पर्छ, गुमाउनु हुँदैन। हामीले नेपालबाट जापान आउँदा राखेका हजारौँ सपनाहरूलाई बिर्सनुपर्छ र नयाँ योजना साथका यहाँको वातावरणसँग घुलमिल हुँदै नयाँ जीवनको सुरुवात गर्नुपर्ने हुन्छ।
नेपालबाट देखेका ती सुनौलो सपनामा यहाँ आएपछि कहिलेकाहीँ कालो आँधी चल्छ। सङ्घर्षमा एक्लोपन हुन्छ, भाषाको अवरोध दिनहुँ भइरहन्छ, आर्थिक चुनौती अनि भविष्यको चिन्ताले साहस बढाउनतिर होइन, निराशाको भारी थोपर्ने तिर लाग्छ। कहिलेकाहीँ त्यो भारी धेरै गाह्रो भएको महसुस गराउँछ। त्यति बेला हामीले सोच्नै पर्छ कि जीवन एक परीक्षा हो, हामी परीक्षार्थी हौँ जसले देशभन्दा बाहिर आएर पनि उज्यालो खोजिरहेका छौँ।
यो संघर्ष हाम्रो कमजोरी होइन, हाम्रो साहसको प्रमाण हो। हामी पढ्न जापान आउँदा हामीले केवल नेपालको डिग्री मात्रै पास गर्दैनौँ, जीवन जिउने कला अनि सफलता र असफलताको पनि पाठ सिक्छौँ।
हुन त म परदेश आएको धेरै समय भएको छैन, म पनि सङ्घर्षको मैदानमै छु। देश छोडेर परदेशी बनेको यो अवधिमा मैले परदेशमाबाट प्रत्यक्ष केही कुरा सिक्ने, देख्ने र भोग्ने अवसर पाएँ।
परदेश के रहेछ? घरदेश र परदेशमा के फरक रहेछ? परदेशमा नेपालीको अवस्था कस्तो छ? नेपाली,नेपाली बिचको व्यवहार र कस्ता हुँदा रहेछन्? के कस्ता काम गर्नुपर्ने रहेछ? काम पाउन र कमाउन कत्तिको सजिलो, असजिलो रहेछ भन्ने बारेमा मैले प्रत्यक्ष देखका, भोगेका अनुभव र थाहा पाएका केही कुरा प्रस्ट पार्ने कोसिस गरेको छु।
हामी धेरैलाई थाहा भएकै कुरा हो हाम्रो देशको सिमानाभन्दा बाहिर जानु परदेशिनु हो। मानिसहरू विभिन्न कारणले परदेशिने गर्दछन्। जस्तै रोजगारी, अध्ययन, व्यापार व्यवसाय आदि। घरदेश र परदेश बिच धेरै कुराहरूमा भिन्नता छ। अहिलेलाई यसरी बुझौँ, जहाँ हाम्रो जन्म हुन्छ, हाम्रो पहिचान हुन्छ, समाज र संस्कृति हुन्छ। भाषा, परिवार र घर हुन्छ त्यो हाम्रो घरदेश हो। जहाँ हाम्रो लागि सबै चिज नयाँ हुन्छ। हामीले जानेको केही पनि हुँदैन। हाम्रो कोही पनि हुँदैन। हाम्रो बस्ने खाने वातावरण फरक हुन्छ। भाषा संस्कृति अपनत्वको कमी हुन्छ। संघर्ष र अवसर दुवै हुन्छन्, त्यो परदेश हो।
धेरैको मनमा लाग्न सक्छ घर छोडेर बिदेसिएका नेपालीहरूको परदेशमा व्यवहार कस्तो हुन्छ होला? उनीहरू बिचको सम्बन्ध कस्तो हुन्छ होला?
यो विषय व्यक्तिमा निर्भर हुने विषय हो। व्यक्तिले जन्मसिद्ध बोकेर ल्याएको र सामाजिक वातावरणले तयार गरेको आनीबानी उसले घरदेश वा परदेश जहाँ भए पनि अभिव्यक्त गर्दछ। कसैको सहयोगी, दयालु र समन्वयात्मक भावना हुन्छ। उनीहरूमा मानवीय पक्ष सबल हुन्छ। दुख अनि आपत् विपद्मा परेकाहरूलाई सहयोग गर्नु उनीहरूको आदत हुन्छ। अर्का थरीमा मानवीय भावनामा सहयोगी भाव कम हुन्छ। आफू भलो त जगत् भलो भन्ने सोच राख्ने उनीहरूमा दया, माया भन्दा आडम्बर, स्वार्थ र निर्दयीपना बढी हुन्छ। जसले कुनै प्रकारको मानवीय कार्यमा सहभागिता जनाउनुलाई फगत समयको बरबाद सम्झन्छन्।
परदेश आएका धेरै नेपालीहरू विभिन्न समस्याले जेलिएका हुन्छन्। भने जस्तो काम नपाउनु मात्र हैन, समय समयमा दुख बिरामी हुनु नेपालीहरूको समस्या हो। यति मात्र हैन, कहिलेकाहीँ त प्राणघातक रोगहरू पनि लाग्ने गर्दछ। यस्तो रोग लाग्दा समेत पहिलो थरीका नेपालीहरू सहयोग गर्न अघि सरेका हुन्छन्, अभियान सञ्चालन गरेर सहयोग गर्नु आफ्नो धर्म र कर्म दुवै सम्झन्छन्।
दोस्रो थरी मान्छेलाई यी सब चिज फगत जस्तो लाग्छ। मलाई यस्तो लाग्दैन कि परदेशमा सबैलाई राम्रो छ। यसको मतलब यो पनि होइन कि परदेशमा सबैलाई नराम्रो छ। यो सब आफ्नो भाग्य, मेहनत र परिश्रमको कुरा हो।
मैले यहाँ राम्रो कमाएर राम्रो प्रगति गरेका मान्छेहरू पनि देखेँ। अर्कोतिर यहाँ बिचल्लीमा परेका खान बस्न समेत समस्या भएका र कलेजको फी जुटाउन समेत धौधौ भएका मान्छेहरू पनि देखेँ। यस्तो समस्या मैले पनि भोगेँ।
परदेश आएको एक वर्षको यो अवधिमा मैले करिब ६ महिना मात्रै राम्रोसँग काम गर्ने अवसर पाएँ। ६ महिना कमाएको पैसाले विदेशमा ६ महिना नै पनि खान पुग्दैन। नेपालबाट आउँदा लागेको ऋणको त के कुरा गर्नु र? एक दिन मात्रै काम नगरी खाली बस्ने हो भने पनि गाह्रो हुन्छ परदेशमा। त्यो विदेशमा आएर काम नपाएर बसेकालाई मात्रै थाहा हुँदो रहेछ।
परदेशमा एक्लै रहने अनि हर परिस्थितिमा खुसी हुँदै संघर्ष र परिश्रम गर्नुपर्ने हुन्छ। हामीले घरदेशबाट हेर्दा सामाजिक सञ्जालमा देखिने मनोरम र सुन्दर दृश्यहरू हाम्रा लागि बनेका हैनन् कि जस्तो लाग्छ। हाई फाई गर्दै ढल्कँदै हिँडेका, चिल्लो कारको अगाडि पछाडि बसेर चिल्ला सडकमा गगनचुम्बी महललाई दायाँ बायाँ पारेर खिचेका फोटाहरू घरदेशबाट हेरे जस्तो छैन परदेश। आफूभित्र अलिकति हिम्मत नभएपछि निकै गाह्रो हुनसक्छ परदेश।
कोही नभए पनि आफ्नो लागि भए पनि बाँच्नु पर्छ भन्ने सकारात्मक सोचको विकास गर्न सके जस्तो सुकै खराब परिस्थितिसँग पनि मुकाबिला गर्न सकिन्छ। आफूप्रतिको विश्वास टुट्न नदिनु मुख्य कुरा हो। मनोबल सधैँ उच्च राख्ने काम गर्नु पर्छ, कहिल्यै पनि हिम्मत हार्नु हुँदैन। परदेश आइसकेपछि समय परिस्थितिअनुसार जे जस्ता समय र परिस्थिति आए पनि म सहन सक्छु र जमेर सामना गर्ने औकात छ भन्ने उच्च स्तरको आत्मविश्वास हुनु पर्दछ।
परदेश आएपछि यति चाहिँ सोच्नै पर्छ कि घरमा रहेका ती बुढा आमाबुवाको आशीर्वाद लिएर निधारमा टिका लगाइदिँदा दिएको आशीर्वचन। बुवाआमाले आशीर्वचनका साथ बेलेको शब्दहरू हाम्रो मानसपटलमा सधैँ ताजा रहनु पर्दछ। उहाँहरूको खुसीका लागि भए पनि केही गर्ने पर्दछ।
परदेशी जीवन यस्तै हो। श्रम गर्दा पसिना बग्छ नै। आफन्तजन र प्रियजनहरूको यादले आँसु बग्छ। चाडपर्वको समयमा त अझ बेसी घरदेशको यादले मुटु पोल्छ अनि छाती चिरिएको भान हुन्छ। तर पनि हामीले कहिल्यै हिम्मत भने हार्नु हुँदैन। आफूले आफैसित प्रतिस्पर्धा गर्नु पर्छ न कि अरूसँग।
अरूको कमाइ कति छ? अरूको घर परिवार कस्तो छ? अरूको तलब कति छ? यस्ता कुरामा कहिल्यै ध्यान दिनु हुँदैन। मेरो कसैसँग प्रतिस्पर्धा छ भने त्यो म आफै हो भनेर सोचाइ राख्नु पर्छ। आफूलाई अरूको तुलना गर्दा मान्छे कहिल्यै सुखी र खुसी हुँदैन।
आफूलाई कमजोर बनाउने काम कहिल्यै गर्नु हुँदैन। आफूलाई हानी गर्ने सोच कहिल्यै राख्नु हुँदैन। हामी करोडौँ शुक्रकीटहरूलाई जितेर आएका हौँ। आमाको गर्भमा रहँदादेखि नै प्रतिस्पर्धा र संघर्ष गर्दै आएका हामी संघर्षदेखि किन डराउनु? हामी कहिल्यै पनि हार मान्नु हुँदैन। हामीले जस्तोसुकै परिस्थितिको पनि सामना गर्न तयार भएर बस्नु पर्छ। परिस्थिति अनुकूल भए ठिकै छ, प्रतिकूल भए अनुकूल बनाउने प्रयासमा लाग्नु पर्दछ।
परदेश आएपछि धेरै कुरामा तनाव हुन सक्छ। कहिले एक्लै भइएला। एक्लै भए भनेर निराश हैन, भोलिको आसमा अघि बढ्न पर्छ। धेरैमा त डिप्रेसनको समस्या देखिने गर्दछ। यस्तो बेला आफूमा आत्मविश्वास अधिक हुनु पर्दछ। सधैँ सकारात्मक सोच राख्नु पर्छ। आफ्नो मनलाई नियन्त्रण गर्ने क्षमताको विकास गर्नु पर्छ। आत्मविश्वास साथ आफैसँग लड्नु पर्छ, भिड्नु पर्छ।
परदेशमा हामी घरदेशमा सोचेको जस्तो सजिलो छैन। सपनाको गन्तव्य त कति टाढा छ कति। मेहनत गर्न मन लाग्दैन। मेहनत नगरेसम्म गन्तव्यमा पुग्न सकिँदैन। गन्तव्यमा नपुगेसम्म हाम्रो आत्मबल दह्रो हुँदैन र बनाउन सकिँदैन। त्यो गन्तव्यसम्म पुग्न निकै कठिन हुन्छ।
आएको चार पाँच वर्षसम्म नेपालबाट आउँदा लागेको ऋण तिरी नसकेकाहरू पनि थुप्रै भेटेको छु। परदेश आएपछि मान्छेलाई पैसाको मात्रै ऋण हुँदैन। यहाँ कतिपय गुनासाका पनि ऋण हुन्छन्। कसैको बैगुनको ऋण हुन्छ। कतिपयको वचनको ऋण हुन्छ। सबैभन्दा ठुलो कुरा, यहाँ आएपछि इज्जतको ऋण हुन्छ। सुनौलो भविष्य निर्माण गर्ने इच्छा हुन्छ। त्यसैले पीडा बिनाका मान्छे भेटाउनै गाह्रो हुन्छ।
पीडा कसलाई हुँदैन र? सबैलाई छ फरक यत्ति हो, कसैले रोएर देखाउँछन् त कसैले मनभित्रै गुम्साएर राख्छन्। त्यसैले आत्महत्या समस्याको समाधान कदापि होइन। बरु के भएको छ आफ्नो परिवारसँग कुराकानी गर्नु पर्छ। सबै कुरा बुझ्न सक्ने मान्छेलाई आफ्ना समस्या सुनाउनु पर्छ। कसैले पनि गलत निर्णय लिनु हुँदैन। एक दिन सबै सोचेको जस्तो हुन्छ भनेर मनलाई चित्त बुझाउनु पर्छ। सान्त्वना दिनु पर्छ।
विदेशमा बस्ने हामी पनि यहाँ गरिने संघर्ष र परिश्रमका कहानीहरूलाई वास्तविक रूपमा देखाउनु पर्छ। जस्तो कि विदेश आउँदा साहु महाजनबाट लिएको ऋण अनि हरेक महिना बैंकलाई तिर्नु पर्ने किस्ता आदिले दिन पीडा, परदेशमा आएपछि होटेल, रेस्टुराँ, अस्पताल, सुपरमार्केटमा खटेर गर्नु पर्ने काम। के कस्तो काम गर्दै हुनुहुन्छ, त्यो पनि बताइदिनु पर्छ। कामको सिलसिलामा हुने मानसिक तनाव र पीडाहरू पनि भनिदिनु पर्छ। विदेशमा बस्दा घरपरिवार, समाज रीतिरिवाज, चाडपर्व लगायत सामाजिक कारणले हुने पीडा पनि सुनाउनु पर्छ। कति समय खट्नु पर्छ त्यो पनि भनिदिनु पर्छ। सामाजिक सञ्जालमा देखिने तपाईंको मोजमस्तीको जीवनशैली, तडकभडकभन्दा सामान्य जीवनशैली जिउन सक्नु पर्छ।